खालिस्तानको माग गर्दै आएका अमृतपाल सिंह भारतमा पक्राउ
काठमाडौं । खालिस्तानको माग गर्दै आएका अमृतपाल सिंहलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुखसमेत रहेका खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको हो।
शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।
प्रहरीले गत १८ मार्चदेखि उनको खोजी गरिरहेको थियो। यसबीचमा उनका काकासहित अन्य कयौं साथीहरुलाईसमेत पक्राउ गरिएको थियो । तर केहीलाई राखेर अरुलाई छाडिएको थियो । पञ्जाब प्रहरीले आफ्नो ट्विटरमा पक्राउबारे जानकारी दिएको हो । पञ्जाबको मोगाबाट सिंहलाई गिरफ्तार गरिएको हो।
साथै नागरिकलाई शान्ति र सद्भाव कायम राख्न प्रहरीले अनुरोध गरेको छ। साथै कुनै पनि झुट्टा खबर सामाजिक सञ्जालमा साझा नगर्न पनि अनुरोध गरेको छ।
लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए ।उनका बुवा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद् विस्तार हुँदै, परराष्ट्रमन्त्रीको सपथ ग्रहण गर्दै साउद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ बुझाइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई शपथको तयारी गर्न सूचना पठाइ सकेका छन् । आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने कार्यक्रम छ । साउद सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाट प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्। परराष्ट्रमन्त्री नियुक्त गर्दा पनि प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी रहने छ। बाँकी मन्त्रीको टुंगो भने वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै हुने गठबन्धनका नेताहरुले बताएका छन्। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।
युक्रेनमाथि रुसको आक्रमण दुई वर्षीय बालकसहित ८ जनाको मृत्यु
एजेन्सी । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसको आक्रमणमा दुई वर्षीय बालकसहित करिब ८ जनाको ज्यान गएको छ । आक्रमणमा अन्य २१ जना घाइते भएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बीबीसीले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् । रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको त्यहाँका अधिकारीहरुले बताएका छन् । सोही शहरका अन्य ७ स्थानमा विस्फोट गराएको सरकारी अधिकारीहरुको दावी छ । विस्फोटपछि विद्यालय क्षेत्रमा बालबालिकाका किताब तथा पोशाकहरु सडकमा छरिएका दृष्य देखा परेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । रुसले युक्रेनको स्लेभ्यान्स्लाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । सोही क्रममा रुसका धेरै सैनिकको मृत्यु भएको युक्रेनको दावी छ । युद्धका क्रममा युक्रेनतर्फ पनि ठूलो क्षति भएको जनाइएको छ । बीबीसीका अनुसार युद्ध सुरु भए यता २० हजार ५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको छ । जस मध्ये पछिल्ला दुई हप्तामा करिब २ हजार रुसी सैनिकको मृत्यु भएको जनाइएको छ ।
युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनलाई जर्मनीको आग्रह
एजेन्सी । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन् । शुक्रबार चिनियाँ विदेशमन्त्री छन् सङसँगको भेटवार्तामा जर्मनीकी विदेशमन्त्रीले रुसमा चीनभन्दा अरू कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेकी हुन् । चीनका विदेशमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै जर्मनीकी विदेशमन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानवअधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिइन् । उनले चीनले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेकामा आफू आश्चर्यचकित भएको पनि बताइन् । गत साता चीनको राजकीय भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङको प्रमुख भूमिका हुने बताउँदै राष्ट्रपति सीलाई युद्ध रोक्नेतर्फ लाग्न आह्वान गरेका थिए । युक्रेन युद्धलाई लिएर चीन तटस्थ रहेको छ । बेइजिङले रुसी आक्रमणको निन्दा गरेको छन् । राष्ट्रपति सीको हालैको मस्को भ्रमणलाई लिएर पश्चिमा शक्ति राष्ट्रले चीनलाई रुसको परम्परागत सहयोगी भन्दै चीन रुसको पक्षमा रहेको आरोप लगाएका छन् । चीनले युक्रेन सङ्कटको एक मात्र उपाय शान्ति प्रवद्र्धन तथा वार्ता भएको बताउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयले गत महिना शान्तिको अवधारणापत्र सार्वजनिक गर्दै वार्ताको माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।
ट्युनिसियामा डुंगा डुब्दा २० बेपत्ता , १७ जनाको उद्धार
एजेन्सी । ट्युनिसियाको दक्षिणपूर्वी तटमा डुंगा डुब्दा २० जना आप्रवासी बेपत्ता भएका छन् भने १७ जनाको उद्धार गरिएको छ । कम्तीमा ३७ आप्रवासी बोकेको डुंगा ट्युनिसियाका स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गर्ने क्रममा दक्षिणपुर्वी तटमा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।
ताइवान प्रमुखको वेनको अमेरिका भ्रमणपछि चीनका सैन्य विमानको ताइवान भ्रमण
एजेन्सी । ताइवानका प्रमुखले अमेरिकी सभामुखलाई भेटेको प्रति चीनले आपत्ति जनाएको छ । त्यसको प्रतिक्रिया स्वरुप चीनले ताइवानको आकाशमा तीन दिने सैन्य अभ्यास सुरु गरेको छ । चिनियाँ सेनाको पूर्वी कमाण्डले शनिबार अभ्यासको घोषणा घोषणा गर्दै भनेको छ,–‘बाह्य शक्तिहरूसँग ताइवानको पृथकतावादी मिलेमतोको बिरूद्ध चीनियाँ सेना गम्भीर छ, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न शैन्य अभ्यास आवश्यक बन्यो ।’ अभ्यास देशको संयुक्त लडाई प्रणालीको पक्षमा समुद्र, वायु र सूचनाको नियन्त्रण कब्जा गर्न सक्ने क्षमताहरूमा केन्द्रित हुने सेनाले जनाएको छ । अप्रिल ५, २०२३ मा ताइवानका राष्ट्रपति साई इङ्ग–वेन अमेरिका भ्रमणमा थिइन् उनले क्यालिफोर्नियाको सिमी भ्यालीमा रहेको रोनाल्ड रेगन प्रेसिडेंसियल लाइब्रेरीमा अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीसँग भेटवार्ता गरेकी थिइन भने सँगै कार्यक्रममा सहभागी भएकी थिइन् । रोनाल्ड रेगन प्रेसिडेंसियल लाइब्रेरीमा भएको उनीहरूको भेटमा ताइवान र वाशिंगटनबीचको सम्बन्धलाई बलियो बनाएको बताएको छ । यद्यपि सो भेटमा ठोस कुरा के भयो भन्ने औपचारिक जानकारी दिइएको छैन् । सन् १९७९ मा अमेरिकाले ताइवानलाई दिएको कूटनीतिक मान्यता फिर्ता लिएको थियो । अहिलेपनि अमेरिकाले ताइवानलाई आधिकारिक रूपमा देशको रूपमा मान्यता दिँदैन। तर हतियार बेचेर आफूलाई रक्षा गर्ने ताइवानको क्षमतालाई बढाउन समर्थन भने गर्दै आइरहेको छ । अमेरिकाले साई इङ्ग–वेनको भ्रमणलाई खास रुपमा लिएको बताएको थियो भने चीनले सो भ्रमण नगर्न आग्रह गरेको थियो ।
सुरक्षाकर्मीको गोली लागेर एक पर्यटकको मृत्यु
एजेन्सी । इजरायलको गाजापट्टीमा सुरक्षाकर्मीको गोली प्रहारबाट एक पर्यटकको मृत्यु भएको छ । आक्रमणमा सात जना घाइते भएका छन् । इटालीको विदेश मन्त्रालयले इजरायलमा मारिएका व्यक्ति आफ्ना नागरिक अलेसेन्ड्रो परिनी भएको दाबी गरेको छ ।गाजापट्टीमा सुरक्षाकर्मीको गोली प्रहारबाट ती व्यक्ति मारिएको बताइएको छ । स्थानीय प्रहरीले भने समुद्री तटीय क्षेत्रमा ती व्यक्तिले चलाएको कारले धेरै पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रणका लागि गोली चलाएको दाबी गरेका छन् । सुरक्षाकर्मीले रोक्न खोज्दा ती व्यक्तिले कार दौडाएपछि सो घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आतंकवादीविरुद्ध सेना प्रहरीले सामान्य बल प्रयोग गरेको बताएका छन् । इजरायली सेनाले दक्षिणी लेबनान र गाजापट्टीमा प्यालेस्टाइनी लडाकू समूह हमासविरुद्ध हवाइ हमला गरेलगत्तै सो घटना भएको बताइएको छ ।
घरको छत खस्दा अफगानिस्तानमा एकै परिवारका सात जनाको मृत्यु
एजेन्सी । फगानिस्तानमा एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ । आज अपरान्ह अफगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित माटोको घरको छानो खस्दा एकै परिवारका सात जनाको ज्यान गएको हो । प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिलासम्बन्धी प्रान्तीय निर्देशक खैर मोहम्मद गाजीका अनुसार दुर्घटनामा बाबुआमासहित पाँच जना बालबालिकाको ज्यान गएको हो । छतले किचेर एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी तर उनको अवस्था पनि गम्भीर रहेको निर्देशक गाजीले बताए । घाइते ती बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । वर्षौँको युद्धले तहसनहस भएको अफगानिस्तानका ग्रामीण क्षेत्रका घरहरू प्रायः माटोले बनेका छन् । भूकम्प, वर्षा र आँधीबेहरीलगायत प्राकृतिक प्रकोप झेल्न नसक्ने त्यस्ता घरमा बस्नेहरूको जीवन सधैँ जोखिमपूर्ण हुने गरेको छ ।
श्रीलङ्काको विप्रेषण आयमा वृद्धि, ५६ करोड अमेरिकी डलर प्राप्त
एजेन्सी । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानषा नानायक्काराले बताए । मन्त्री नानायक्काराका अनुसार अघिल्लो वर्षको सोहि महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८ दशमलव ५ प्रतिशतले अधिक हो । गत जनवरीमा ४३ करोड ७५ लाख तथा फ्रेब्रुवरीमा ४० करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्कको वैदेशिक राजस्वको प्रमख स्रोत हो ।
कोरोना संक्रमितको संख्यामा वृद्धि : १५ जनाको मृत्यु
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एक वर्ष यताकै उच्च हो । संक्रमितको हिसाबले विश्वमा पहिलेनै १० मुलुकभित्र रहेको भारत अहिले कोरोनाबाट बढी ज्यान गुमाउने मुलुकमा पनि १० मुलुकभित्र परेको छ । अहिले सक्रिय संक्रमित २३ हजार भन्दा बढी रहेको छ । भारतमा कोरोना सुरु भए यता साढे चार करोड बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ५ लाख ३० हजार ९ सय १६ जनाले ज्यान गुमाएका छन् । आईआईटी कानपुरका वरिष्ठ वैज्ञानिक प्रा मनिन्द्र अग्रवालले देशमा बढ्दै गएको कोरोना संक्रमणबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । यो सामान्य रुघाखोकी र चिसो जस्तै हुनेछ । मुलुकमा बढ्दो कोरोना संक्रमितबीच बुधबार सरकार अधिकार प्राप्त समूह एकको बैठक बसेको थियो । बैठकमा कोभिड व्यवस्थापनबारे छलफल भएको थियो ।
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै ट्रम्पले अवैध तरिकाले पैसा दिएको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप रहेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि पोर्नस्टारसँग सम्बन्ध राखेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । उद्यपि, पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
आन्दोलन चर्किन थालेपछि भारतीय अदालतले सच्यायो नेपालीभाषीलाई विदेशी भनेको टिप्पणी
काठमाडौं । चौतर्फी आन्दोलन र दबाबपछि भारतको सर्वोच्च अदालतले हालै गरेको एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ । सिक्किमका पुराना बासिन्दाहरुको संगठन एसोसिएसन अफ ओल्ड सेटेलस सिक्किम (एओएसएस)ले नेपाली, भुटिया र लेप्चा समुदायहरुलाई झै आयकर छुटको मागसहित सन् २०१३ मा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले गत जनवरी १३ मा उनीहरुको पक्षमा फैसला गरेको थियो । फैसलाका क्रममा सर्वोच्चले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय तरङ्गित बनेको थियो । सिक्किम लगायत क्षेत्रमा भने विशाल प्रदर्शन भएको थियो । केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सार्वोच्चसँग माग गरेका थिए । बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शव्द हटाउने निर्णय भएको हो ।
चीनको विदेशमन्त्रीमा चिन काङ नियुक्त
काठमाडौं । चीनको नयाँ विदेशमन्त्रीमा चिन काङ नियुक्त भएका छन्। राष्ट्रपति सी चिनफिङले हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका चिन काङलाई विदेशमन्त्री बनाएका हुन्। छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन्। उनी चीनका वरिष्ठ कूटनीतिज्ञ हुन्।उनले विदेश मन्त्रालयमा प्रवक्ताको पनि जिम्मेवारी सम्हालिसकेका छन्। प्रवक्ता बन्नुअघि उनी बेलायतस्थित चिनियाँ राजदूत थिए। उनी सन् २०१४ देखि २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयको चिफ अफ प्रोटोकल थिए। चिनले वाङ यीलाई विस्थापन गरेका छन्। वाङ दस वर्षयता चिनियाँ विदेशमन्त्री थिए।वाङ हालै चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्यमा बढुवा भएका छन्। वाङलाई विदेश नीतिसम्बन्धी अझ माथिल्लो जिम्मेवारीमा लग्ने तयारी रहेको बताइएको छ।
डरलाग्दो दुर्घटनामा परेका भारतीय क्रिकेटरको स्वास्थ्य अवस्था स्थिर
काठमाडौं । आज बिहान कार दुर्घटनामा परेका भारतका स्टार क्रिकेटर ऋषभ पन्तको टाउकोमा गम्भीर चोट लागेको छ । उनको निधार दुई ठाँउमा काटिएको छ भने दाहिने घुँडाको लिगामेन्ट च्यातिएको बताइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पन्तको दाहिने नाडी, खुट्टासहित ढाडमा घर्षणको चोट लागेको जनाएको छ । हाल उनको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइराखेको छ । बीसीसीआई ऋषभको परिवार र उनको उपचारमा खटिएका डाक्टरहरुसंग निरन्तर सम्पर्कमा छ । उनका लागि सबैभन्दा राम्रो चिकित्सक सुविधाको व्यवस्था गरिने बीसीसीआईको भनाइ छ । द इन्डियन एक्सप्रेसका अनुसार अहिले उनको अवस्था स्थिर छ । म्याक्स अस्पतालका सुपरिटेन्डेण्ट डा.आशिष याज्ञिकले ऋषभको शरीरको विभिन्न अंगमा चोटपटक लागेको बताए । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले उनको स्वास्थ्य लाभको कामना गर्दै छिटो सन्चो होस् भनेर आफुले प्राथना गरेको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। नरेन्द्र मोदी आफैंले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी दिएका छन्। शानदार शताब्दी का ईश्वर चरणों में विराम… मां में मैंने हमेशा उस त्रिमूर्ति की अनुभूति की है, जिसमें एक तपस्वी की यात्रा, निष्काम कर्मयोगी का प्रतीक और मूल्यों के प्रति प्रतिबद्ध जीवन समाहित रहा है। pic.twitter.com/yE5xwRogJi — Narendra Modi (@narendramodi) December 30, 2022 उनले आमामा तपस्वीको यात्रा, कर्मयोगीको प्रतीक र आफ्नो मान्यतामा प्रतिबद्ध जीवनको रुपमा त्रिमूर्तिको अनुभूति गरेको उल्लेख गरेका छन्।
२० औं सताब्दीका महान् खेलाडी पेलेको निधन
काठमाडौँ । २० औं सताब्दीका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । मृगौला र प्रोटेस्ट क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए । चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् । उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो । पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी केली न्यासीमेन्टोले आफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् ।उनले आफ्नो इन्स्टाग्राम मार्फत प्लेको निधन भएको पुष्टी गरेकी हुन् । उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्त गरेका छन् ।

