व्यापार सम्झौताका लागि अमेरिका र ताइवानबीच वार्ता

काठमाडौं । चीनको विरोधकाबीच पनि अमेरिका र ताइवानबीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु भएको छ । त्यसका लागि अमेरिका र ताइवानबीच छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

केही दिनअघि चीनले विरोध जनाउँदा जनाउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । र चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य अभ्यास पनि गरेको थियो ।

पेलोसीको भ्रमणपछि चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यस लगत्तै अमेरिका र ताइवानबीच व्यापार सम्झौताका लागि वार्ता सुरु भएको हो । एक चीन नीतिलाई माने पनि अमेरिकाले चीनले आफ्नो एक हिस्सा मान्दै आएको ताइवानसँग छुट्टै सम्झौता गर्न लागेको हो ।

अमेरिकाका अनुसार प्रारम्भिक वार्तामा व्यापारमा सहुलियत, डिजिटल ट्रेड र भ्रष्टाचार नियन्त्रणबारे कुराकानी हुने छ । २१ औ शताब्दीको व्यापारका लागि भन्दै गत जुनमा अमेरिका ताइवान इनिसिएटिवको घोषणा भएको थियो । त्यो घोषणा कार्यान्वयनका लागि नै अहिले वार्ता सुरु भएको हो ।

अमेरिकी उपव्यापार प्रतिनिधि सारा बियान्चीले निष्पक्ष, समृद्ध तथा उदार अर्थव्यवस्थाका लागि आफूहरुले समयसीमामै रहेर काम गर्ने बताएकी छिन् । ताइवान र अमरिकाबीच यसअघि पनि व्यापार हुने गरेको थियो । सन् २०२० मा दुई देशबीच १०६ अर्ब डलरको व्यापार भएको थियो ।

रहेनन् भारतका चर्चित सेयर लगानीकर्ता ‘वारेन बफेट’ राकेश झुनझुनवाला

काठमाडौं । भारतीय अर्बपति राकेश झुनझुनवालाको आइतबार निधन भएको छ। ६२ वर्षीय झुनझुनवालाको आइतबार ब्रिच क्यान्डी अस्पतालमा निधन भएको स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। ‍ सेयर मार्केटमा लगानी गरेर पैसा कमाएमा झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो।मुटुको समस्याका कारण उनको मृत्यु भएको हो। पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए। उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो। सन् १९६० मा हैदरावादमा जन्मिएका झुनझुनवालाले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए। उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ। झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्।

‘लकडाउन’का कारण चीनको सान्यामा अड्किए ८० हजार पर्यटक

बेइजिङ । कोभिड–१९ को प्रकोप रोक्न ‘लकडाउन’ घोषणा गरिएपछि चीनको हाइनान टापुको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक अड्किएका छन् । कोरोनाका कारण सार्वजनिक यातायात बन्द गरिएपछि उनीहरु त्यही फसेका हुन् । सहरभित्र मानिसको आवागमनमा शनिबार बिहानैदेखि रोक लगाइएको छ । फसेका पर्यटकले सात दिन त्यहीँ बस्नुपर्ने र छोड्नुअघि कोभिड–१९ का पाँच परीक्षणहरू पास गर्नुपर्ने अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । उपमेयर हे शिगाङले करिब ८० हजार पर्यटक सहरमा अड्किएको बताएका छन् । हाल सान्यामा रहेका सबै मानिसलाई स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेपछि हाइनान प्रान्तबाट बाहिर निस्कन अनुमति नदिइएको प्रान्तीय अधिकारीहरूले बताए । ग्रीष्मकालीन पर्यटन सिजनको समयमा लकडाउन घोषणा गरिएको हो । सान्या चीनको एक लोकप्रिय गन्तव्य हो । यो बलौटे समुद्री तटहरू, जंगलहरू र महँगा होटेलहरूका लागि चर्चित छ । शनिबार मात्र सान्या छोड्ने उडानहरूमध्ये ८० प्रतिशत उडान रद्द गरिएको छ । सान्याबाट प्रस्थान गर्ने सबै रेलहरू बन्द गरिएको राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

बंगलादेशमा तेलको मूल्य ५० प्रतिशतसम्म वृद्धि, मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन

ढाका । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन भएको छ। शुक्रबार सरकारले पेट्रोलको भाउ ५१.७ प्रतिशत तथा डिजेलको भाउ ४२.५ प्रतिशतले बढाएको थियो। त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। तेलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनको क्रममा धेरै सहरमा आगजनी र ढुङ्गा प्रहारका घटना भएका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि बल प्रयोग गर्नुपरेको थियो। शनिबार तेलको मूल्यवृद्धिको निर्णय लागू हुनुभन्दा पहिला नै ठूलो संख्यामा मानिसहरु देशभरका पेट्रोल पम्पमा पुगेका थिए। यससँगै पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थिए। त्यसपछि प्रदर्शनले उग्र रुप लिएको हो। प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लाखौंको रोजीरोटीमा असर परेको बताएका छन्। बंगलादेशको ऊर्जा संकटको असर बिद्युत् आपूर्तिमा पनि परेको छ। अहिले बंगलादेशको केही क्षेत्रमा दैनिक १३ घण्टासम्मको विद्युत् कटौती भइरहेको छ।

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका पश्चिम बंगालका पूर्वगभर्नर धनखडले विपक्षी गठबन्धनका उम्मेदवार मार्गरेटलाई पराजित गरी उपराष्ट्रपति बन्न सफल भएका हुन्। धनखडले ५ सय २८ मत प्राप्त गर्दा विपक्षी मार्गरेट उम्मेदवारको पक्षमा १ सय ८२ मत परेको थियो । सत्तारूढ गठबन्धनकोतर्फबाट राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी थिइन्। भारतको १४ औं उपराष्ट्रपति बन्नुभएका धनखडले यही अगस्ट ११ मा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

पाकिस्तानमा बाढीका कारण एक महिनामा ५ सय ४९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा वर्षापछि आएको बाढीमा परि एक महिनामा ५ सय ४९ जनाको ज्यान गएको छ । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका दुर्गम गाउँ बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पाकिस्तानका सरकारी निकायले जनाएको छ । बाढी प्रभावित क्षेत्रहरूमा सरकारी निकाय र सेनाले सहायता र राहत शिविर स्थापना गरी परिवारलाई स्थानान्तरण गर्ने र खाना तथा औषधि उपलब्ध गराईरहेका छन् । बाढीले ४६ हजार बढी घरमा क्षति पुर्‍याएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री शहबाज सरिफले प्रभावित क्षेत्रको भ्रमण गरी बाढी पीडितको उद्धार, राहत र पुनस्थापनाको लागि सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । यता, बलुचिस्तान प्रान्तीय सरकारले थप कोषको आवश्यकता रहेको र सहयोगका लागि अन्तर्राष्ट्रिय संस्थाहरूलाई अपील गरेको बताएको छ । बाढीले प्रभावित प्रत्येक जिल्लामा खाद्यान्न अभाव भएको छ भने सात सय किलोमिटर बढी सडक बगेका कारण कतिपयको प्रदेशसँग सम्पर्क विच्छेद भएको छ । पाकिस्तानमा विगत ३० वर्षको अवधिमा औसतभन्दा १ सय ३३ प्रतिशत बढी वर्षा भएको र सबैभन्दा चिसो महिना भएको प्रकोप प्राधिकरणले जनाएको छ ।

जेलेन्सीद्वारा सुरक्षा प्रमुख बर्खास्त

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सीका प्रमुख तथा महाअभियोजकलाई राजद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट बर्खास्त गरेका छन् । उनले रुस नियन्त्रित क्षेत्रमा ६० भन्दा बढी कर्मचारी युक्रेनको विपक्षमा काम गरिरहेको आरोप लगाए । सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले उल्लेख गरेको छ । बर्खास्तीमा परेका इभान बाकानोभ र इर्याना भेनेडिक्टोभाले यसबारे प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । आइतबार राति भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले उनीहरुले राष्ट्रको सुरक्षाको आधारशिला विरुद्धका शृङ्खलाबद्ध अपराध गरेको आरोप लगाए । यसले दुई प्रमुखमाथि ठूलो प्रश्नचिन्ह खडा भएको र यसको उपयुक्त जवाफ आवश्यक रहेको उनले जिकिर गरे । यसैबीच रुसी रक्षामन्त्री सर्गेई शोइगुले शनिबार पूर्वी युक्रेनमा रुसी नियन्त्रित क्षेत्रको भ्रमण गरेका छन् ।उनले कमाण्डरहरूलाई रुसको नियन्त्रणमा रहेका क्षेत्रहरूमा विशेष गरी डोनबासमा युक्रेनको आक्रमणलाई विफल पार्न आग्रह गरेका छन् ।

साउदीले तेलको उत्पादन क्षमता बढाउने

काठमाडौं । साउदी अरबले तेल उत्पादन बढाएर प्रतिदिन १३ लाख ब्यारेल पुर्याउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेट लगत्तै खाडी सहयोग परिषद्को जेद्दामा भएको शिखर सम्मेलनमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अलले उक्त घोषणा गरेका हुन्। राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने भन्दै तेल उत्पादन बढाउँदा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने विश्वास ब्यक्त गरे । उक्त अवसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय प्रयासको लागि आह्वान समेत गरेका छन् ।

इमरान खानले गरे क्लिनस्वीप: विधानसभा निर्वाचनमा २० मध्ये १५ सीटमा विजयी

आइतबार भएको पञ्जाब विधानसभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक–इ–इन्साफ ९पीटीआई० विजयी भएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० ले पञ्जाब विधानसभाको २० सिटमा भएको महत्वपूर्ण उप चुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ । आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेद्वारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधानसभा सिटमा विजय हासिल गरेको छ, जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ । आफ्नो पार्टीको उपचुनाव अभियानको नेतृत्व गरिरहेकी पीएमएल–एन उपाध्यक्ष मरियम नवाजले सत्तारुढ दलले चुनावी नतिजालाई खुला हृदयले स्वीकार गर्नुपर्ने बताइन् ।

युक्रेनका सुरक्षा सेवा प्रमुख बर्खास्त, रुससँग साँठगाँठ गरेको जेलेन्स्कीको आरोप

कीभ । युक्रेनका राष्ट्रपति भोलोमिदिर जेलेन्स्कीले दुईजना उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । रुससँग मिलेमतो गरेको आरोपमा उनीहरुलाई निश्कासन गरिएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । आज मैले प्रोसेक्यूटर जनरल र युक्रेनको सुरक्षा सेवाका प्रमुखलाई बर्खास्त गरेको घोषणा गर्दैछु । जेलेन्स्कीले भिडियो पोष्ट गर्दै भनेका छन् । प्रोसेक्यूटर जनरल भेनेदिकक्टोभा र स्टेट सेक्युरिटी सर्भिस प्रमुख इभान बाकानोभ लामो समयदेखि जेलेन्स्कीका सहयोगी रहँदै आएका थिए । प्रोसेक्यूटिंग विभाग युद्धबन्दी तथा युद्धमा अपराधसम्बन्धी मुद्दा हेर्ने निकाय हो । जेलेन्स्कीले ६५१ वटा यस्ता मुद्दामा उक्त विभागका प्रमुखले रुससँग सहकार्य गरेको जनाएका छन् । अल जजिराका अनुसार, इभान चाहिँ जेलेन्स्कीका बाल्यकालदेखिकै साथी समेत हुन ।

ग्रिसमा कार्गो जहाज दुर्घटना

काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानको इन्जीनमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । दुर्घटनामा चालक सहित दुईजनाको निधन भएको पुष्टि भएको छ ।

इन्धन आपूर्तिका लागि कोलम्बो र मस्कोबीच छलफल

कोलम्बो । श्रीलङ्कामा ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । श्रीलङ्कामा इन्धन संकट पैदा भएपछि इन्धन आपूर्तिका सहज पार्नकालागि कोलम्बो र मस्कोबीच छलफल भएको हो । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट लाइन दिएकोमा भारत सरकारको प्रशंसा गरे । ‘हामीले विभिन्न देशहरूमा इन्धनको आपूर्तिका लागि अनुरोध गरेका छौं । हामीलाई मदत गर्न आउने जुनसुकै देश भए पनि हामी त्यसको मूल्यांकन गर्छौं । अहिले, भारत सरकारले मात्र हामीलाई क्रेडिट लाइन प्रदान गरेको छ’, विजेसेकेराले भने । ‘हामी रुस सरकारसँग पनि छलफलमा छौं । सुरुको इन्धनका लागि भएको बैठक रूसमा सम्पन्न भएको छ । हामीले आफ्नो आवश्यकता पूरा गरेका छौं र त्यसैअनुसार काम गरिरहेका छौं । श्रीलङ्कामा कस्तो प्रकारको सुविधा हुनेछ भन्ने कुरा सुन्न हामी पर्खिरहेका छौं’, उनले थपे । विजेकाराले आज ‘राष्ट्रिय इन्धन पास’ योजना शीर्षकमा इन्धन वितरण योजना ल्याएको छ । नयाँ पासले साप्ताहिक आधारमा इन्धनको कोटा बाँडफाँडको ग्यारेन्टी गर्नेछ । सवारी साधन नम्बर र अन्य विवरण पुष्टि भएपछि राष्ट्रिय परिचय पत्र नम्बर अनुसार आवश्यक व्यक्तिलाई ‘क्यूआर कोड’ दिइनेछ । दर्ता भएका सवारीसाधन भएका व्यक्तिहरूले आफ्नो दर्ता नम्बरको अन्तिम अङ्कको आधारमा पालो पाउनेछन् । जारी इन्धन संकटबीच कोलम्बोमा सवारी साधनमा इन्धन भर्न पर्यटक र विदेशीलाई प्राथमिकता दिइनेछ । द्वीप राष्ट्र श्रीलङ्का ठूलो आर्थिक संकटको चपेटामा परेका कारण खाद्यान्न, इन्धन, चिकित्सा आपूर्तिको तीव्र अभाव झेलिरहेको छ ।

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

मेक्सिकोसिटी। मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकोप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले शनिबार जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकोप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ । राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो । रासस/सिन्ह्वा

श्रीलङ्का पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

कोलम्बो । श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ । अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ । अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेबार रहेको लगायतका आरोप लगाउदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनु परेको थियो । त्यही प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाड्नु भएको छ ।

श्रीलंकाको कार्यवाहक राष्ट्रपति बने प्रधानमन्त्री विक्रमसिंहे

काठमाडौं । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् ।यससँगै उनी राष्ट्रपति र प्रधानमन्त्रि दुवै बनेका छन् । आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् । एनले प्रधानमन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन् । राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा नियुक्त गरेका थिए । संविधान अनुसार विक्रमसिंहेले अबको केही समयसम्म कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी बहन गर्नेछन् भने शनिबारबाट सुरू हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरू गर्ने बताइएको छ ।

अभिनेता राजपाल यादवविरुद्ध नोटिस जारी, २० लाख ठगेको आरोप

मुम्बई, वलिउडका चर्चित अभिनेता राजपाल यादवविरुद्ध प्रहरीले नोटिस जारी गरेको छ । भूल भुलैया २ को अभियनमा व्यस्त रहेका राजपाल यादवले एकजना ठेकेदारलाई धोका दिएर २० लाख लिएको आरोप छ । उनीविरुद्ध मुद्दा दर्ता भएपछि इन्दौर प्रहरीले सोधपुछका लागि बोलाएको हो । समाचार अनुसार, राजपालाई १५ दिन भित्र प्रहरीसामु उपस्थित हुन भनिएको छ । सुरिन्दर सिंह नाम गरेका ठेकेदारले उनको छोरालाई चलचित्र उद्योगमा सहयोग गर्ने र अगाडि बढाउने आश्वासन दिएर २० लाख रुपैयाँ लिएको तर कुनै सहयोग नगरेको आरोप लगाएका छन् । ठेकेदारका अनुसार, पैसा माग्न जाँदा यादव वेपत्ता भएको र फोन समेत उठाउन छोडेको थिए । त्यसपछि प्रहरीमा रिपोर्ट गरेको उनले बताएका छन् । यसअघि पनि राजपालविरुद्ध ५ करोडको ठगी आरोप लागेको थियो । अता पता लापता नामक चलचित्र निर्देशनको बेला चलचित्र निर्माणका लागि एकजनासँग ५ करोड लिएका राजपालले ऋण चुक्ता नगरेको भन्दै मुद्दा दर्ता भएको थियो । अदालतको आदेश हुँदा समेत राजपालले पैसा नदिएपछि उनलाई जेल सजाय भएको थियो । यद्यपी उनले पछि जमानत पाएका थिए ।