आँधीमा फँस्यो स्पाइसजेटको विमान, ४० यात्रु घाइते

मुम्बई । आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी७३७ विमान आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

तर, पाइलटको चेतनाका कारण विमान सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मिडिया रिपोर्टका अनुसार विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा आँधीमा फसेको थियो । त्यसपछि विमानको क्याबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका थिए ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पाइलटले खतरा महसुस गर्नेबित्तिकै सिट बेल्टको साइन अन गरेका थिए। त्यसपछि पनि खानाको ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका छन् । सबै यात्रुहरू आफ्नो सिटमा पुग्नुपर्ने थियो, तर यी सबै कुरालाई बेवास्ता गरिएको एक अधिकारीले बताए । विमान अवतरण गर्ने वित्तिकै घाइतेहरुलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै स्पाइसजेटका प्रवक्ताले घाइतेलाई हरसम्भव सहयोग गर्ने बताएका छन् ।

पुटिन र जेलेन्स्कीबीच ४८ घण्टाभित्र वार्ता हुने टर्कीको दावी

रुसले युक्रेनमाथि आक्रमण जारी राखेको दुई महिना बितिसकेको छ । तर दुबै देशबीच युद्द भने निरन्तर जारी नै छ । यो बीचमा रुस र युक्रेनका कुटनीतिज्ञहरुबीच तीन चरणमा वार्ता भएपनि त्यसले कुनै निश्कर्ष निस्किने सकेका छैन । रुसले युक्रेनका कतिप भागमा पूर्ण कब्जा जमाएको छ भने युक्रेनको सैन्य क्षमता निशस्त्र गर्न ठूलो सफलता प्राप्त गरेको छ । यसैबीच टर्कीका राष्ट्रपति एर्डोगनले रुस र टर्कीबीच युद्धबिराम हुने दावी गरेका छन् । आफूले युक्रेन र रुसका राष्ट्रपतिसँग निरन्तर वार्ता र संवाद गरिरहेको बताउँदै उनले आगामी ४८ घण्टाभित्र जेलेन्स्की र पुटिनबीच वार्ता हुने बताएका हुन । उनले मिति र स्थान भने स्पष्ट पारेनन् ।

फिलिपिन्समा मेघीका कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

काठमाडौं । फिलिपिन्समा समुद्री मेघी नामक आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेकाले सयौं सवारीसाधनमा क्षति पुगेको छ । बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ । आँधी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। भारी वर्षा र आँधी अझै केही दिन रहने भन्दै सचेत रहन अपील गरिएको छ । फिलिपिन्समा विगत ४ महिनामा आएको यो दोस्रो शक्तिशाली आँधी हो । गत डिसेम्बरमा आएको राइ नामक आँधीले ३ सय ७५ जनाको मृत्यु भएको थियो भने ५ लाख सर्वसाधारण समेत प्रभावित भएका थिए ।

पाकिस्तानका २३औं प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

एजेन्सी । पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन । शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । उनको विपक्षमा कुनै पनि मत परेन । इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिंदै निर्वाचन नलड्ने घोषणा गरेका छन । प्रधानमन्त्री चुनिएका शहबाज शरीफले सोमबार राति ८ बजे शपथग्रहण गर्नुहुने पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । यसअघि आइतबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उनले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन ।

हङकङमा चर्चित पत्रकार एलन पक्राउ

काठमाडौं । हङकङको केबल च्यानल नाउ टेलिभिजनका चर्चित पत्रकार एलन अउ देशद्रोहको आरोपमा पक्राउ परेका छन। टेलिभिजनबाट देशद्रोहरूसँग सम्बन्धित सामग्री प्रकाशित गर्ने तयारी गरेको भन्दै हङकङ सरकारले उनलाई पक्राउ गरेको हो। उक्त च्यानलमा गत वर्ष सुरक्षाकर्मीले छापा मारी वरिष्ठ कर्मचारीहरुलाई पक्राउ गरेका छ । पक्राउ परेका पत्रकार एलन अउ चाइनिज युनिभर्सिटी अफ हङकङको स्कुल अफ जर्नलिज्मका सल्लाहकार समेत हुन । सन् २०२० देखि हङकङ प्रहरीले पत्रकार, र विपक्षी दलका कार्यकर्ताहरुलाई निशाना बनाई कारबाही गर्दै आएको छ । गत साता मात्रै अदालतको सुनुवाईको क्रममा ताली बजाएको आरोपमा देशद्रोहको अभियोग लगाएर ६ जना पत्रकार विरुद्ध मुद्दा चलाइएको थियो ।

युद्धले युक्रेनको अर्थतन्त्रमा धक्का, अन्य यी देशमा पनि आर्थिक मन्दी आउनसक्ने

काठमाडौं । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचन हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि उसले बताएको छ। विश्व बैंक युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ। युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो युद्धका कारण अहिले ठप्प भएको छ। त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ।   अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व बैंकको प्रक्षेपण छ। साथै उसले बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउन सक्ने बताएको छ ।  

नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप

काठमाडौं । नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएको समाचार सार्वजनिक भएपछि लण्डनस्थित पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफको निवास अगाडि उनका समर्थकहरुले खुशियाली मनाउने क्रममा झडप भएको छ । शरिफको समर्थनमा नारा लगाउँदै नाचगान गरिरहेको भीडमा इमरान खानका समर्थकहरुले हस्तक्षेप गर्दा झडप भएको हो । झडप नियन्त्रणका लागि सुरक्षाकर्मीलाई कठिन भएको थियो । इमरान खानका समर्थकहरुले लण्डनमा नभई पाकिस्तानमै गएर खुशियाली मनाउन धम्की दिएपछि झडप भएको हो । सो झडपका क्रममा दुबैतर्फका केही समर्थक घाइते समेत भएका छन्।

पाकिस्तानमा निर्णायक संघर्षः इस्लामाबादमा सत्तापक्षको विशाल प्रदर्शन, विपक्षीकाे प्रदर्शन भाेली, हिंसाको सम्भावना

इस्लामाबाद । विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याउने भएपछि पाकिस्तानमा सत्ता संघर्ष निर्णायक अवस्थामा पुगेको छ । विपक्षी दलहरुले प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध भोली सदनमा अविश्वास प्रस्ताव ल्याउने भएका छन् । सत्तारुढ गठबन्धनले भने पाकिस्तानको भविष्य नै दाउमा लागेको भन्दै आज इस्लामाबादमा ऐतिहासिक प्रदर्शनको आयोजना गरेका छन् । “आज पाकिस्तानका लागि लडाई हो, सत्तारुढ गठबन्धनका लागि होइन ।” इमरान खानको तस्वीर अंकित पोष्टरमा लेखिएको छ, को छ, “यो हाम्रो देशको भविष्यका लागि लडाईं हो ।” प्रधानमन्त्री खानले सबै जनतालाई प्रदर्शनमा उत्रिन आव्हान गरेका छन् । इस्लामाबादमा भारी संख्यामा सेनासहित सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनको उद्देश्य भोली सोमबार प्रस्तुत हुने अविश्वास प्रस्तावलाई असफल पार्नु रहेको छ । प्रधानमन्त्री इमरान खानले आज पाकिस्तानको इतिहास निर्माण गर्ने दिन भन्दै सबैलाई समयमा नै घर छोडेर प्रदर्शनमा आउन अपील गरेका हुन । उनले करिब १० लाख मानिस परिचालन गर्न निर्देशन दिएका छन् । अहिले केहीबेरमा शुरु हुने र्यालीका लागि बिभिन्न स्थानबाट प्रदर्शनकारी इस्लामाबाद पुगेका छन् ।                          पाकिस्तानकाे सदनमा दलहरुकाे अवस्था पाकिस्तानी मिडिया डनले जनाए अनुसार, प्रदर्शनपछिको सभास्थल भव्य किसिमले तयार पारिएको छ । महिला, पत्रकार, जेष्ठ नागरिक आदिका लागि बेग्लै स्थान तोकिएको छ । करिब ३० हजार सीटको व्यवस्था गरिएको आयोजनकले जनाएका छन् ।                                     इमरान खानसँग भएका दलका सा‌सदकाे स‌ख्या   विपक्षीको पनि प्रदर्शन यसैबीच विपक्षी जेयुआई–एफ, पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट लगायतका विपक्षी दलहरुले समेत भोली श्रीनगर राजमार्गमा प्रदर्शनको आयोजना गरेका छन् । आज समेत केही स्थानमा विपक्षीले प्रदर्शनको आयोजना गरेका छन् । पाकिस्तानको सत्तारुढ गठबन्धनसँग स्पष्ट बहुमत भएपनि केही सांसदहरुले विपक्षी दलसँग मिल्ने आशंका भएपछि इमरान खान सरकार संकटमा परेको हो । इमरान खान सरकारको पालामा अर्थतन्त्र धराशायी भएको भन्दै विपक्षीहरुले बिरोध गर्दै आएका छन् । इमरान खानले भने यथास्थितिवादीहरुका विरुद्ध सरकारले आक्रामक कदम चालेपछि बिरोध गरिएको भन्दै चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री रहे पनि या नरहेपनि विपक्षी दलका नेताहरुको मुकुण्डो उतार्ने उनले घोषणा गरेका छन् ।  

उत्तर कोरियाद्वारा प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

काठमाडौं । उत्तर कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र (आईसीबीएम) को परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ। सन् २०१७ यता पहिलो पटक उसले आईसीबीएमको परीक्षण गरेको बिबिसीले जनाएको छ । एक घण्टाभन्दा बढी समय उडेको क्षेप्यास्त्र जापानदेखि दक्षिणतर्फ पानीमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्रले अनुमानित १,१०० किलोमिटर टाढासम्म मार हान्न सक्छ जसको अर्थ हो सैद्धान्तिक रूपमा त्यो क्षेप्यास्त्र अमेरिकासम्म पुग्न सक्छ। उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको प्रक्षेपण गरेको छ। तीमध्ये केही प्रक्षेपण आईसीबीएम प्रणालीको परीक्षणको रूपमा रहेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन्। संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणुअस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ। यसअघि उत्तर कोरियाले गरेका त्यस्ता परीक्षणलाई लिएर राष्ट्रसङ्घले उसमाथि प्रतिबन्धहरू पनि लगाएको छ।

युक्रेनबाट अर्बौं रुपैयाँ लिएर देश छोड्न खोजेकी अर्बपति नेताकी मोडेल श्रीमती पक्राउ

युक्रेन । रुसले युक्रेनमा हमला तीब्र बनाउँदै गएपछि देश छोडेर जानेहरुको संख्या बढ्दो छ । यस्तै परिस्थितिमा एकजना महिलाले भने युक्रेनको सीमामा आफूसँग भएको अर्बौं रकम प्रहरीले खोसेको आरोप लगाएकी छिन् । हंगेरीको शरणार्थी सीमामा ग्पुगेकी महिला युक्रेनका एकजना अर्बपति नेताकी श्रीमती भएको बताइन्छ । उनले सुटकेसमा करिब ४ अर्ब रुपैयाँ बोकेर लगेकी थिइन । डेलि मेलका अनुसार, यो रकम डलर र युरोपमा रहेको छ । यसलाई हंगेरीको कष्टम विभागले पक्राउ गरेको हो । ती महिलाको नाम पूर्व सांस्द इगथोर कोटवित्स्कीकी श्रीमती अनास्तासिया कोटवित्स्का रहेको बताइन् छ। सांसद पत्नीविरुद्ध युक्रेनमा मुद्दा दर्ता गरिएको छ । कुनै बेला ती सांसद युक्रेनकै सबैभन्दा धनी मानिन्थे ।

रुस–युक्रेन युद्धबारे संयुक्त राष्ट्रसंघको महासभामा पुनः मतदान हुने

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्ने भएको छ । महासभाका प्रवक्ताका अनुसार रुस–युक्रेन युद्ध शुरु भएयता यो दोस्रो छलफल प्रस्ताव हो ।   महासभाको ११ औं आपतकालीन विशेष सत्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले पुनःशुरु गर्न अनुरोध गर्ने पत्र प्राप्त गरेपछि आयोजित हुनेछ । प्रवक्ता पाउलिना कुबियाकले एक इमेलमा पत्रकारहरूलाई सम्प्रेषण गरेअनुसार युक्रेन र अन्य सदस्य राष्ट्रहरूद्वारा प्रायोजित मस्यौदा प्रस्ताव पेश गरिएको छ र त्यो छलफलको प्रक्रियामा छ। कूटनीतिक स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको नयाँ मस्यौदा प्रस्तावमा मानवीय अवस्थालाई केन्द्रित गर्दै नागरिक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष आह्वान गरिएको छ ।

भारतमा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढ्यो

नयाँ दिल्ली । भारतीय आयल निगमले मंगलबार एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढाएको छ । आजदेखि १४.२ किलोको सिलिन्डरका लागि थप ८० रुपैयाँ बढाएको हो।   मूल्य बढेसँगै दिल्लीमा एलपी ग्यास सिलिन्डरको मूल्य बढेर १,५१९.२५ रुपैयाँ पुगेको छ, जुन पहिले १,४३९.२४ रुपैयाँ थियो। उत्तर प्रदेशको राजधानी लखनउमा ग्यासको मूल्य बढेर १,५८०.०५ रुपैयाँ पुगेको छ भने पटनामा १,६७६.०५ रुपैयाँ पुगेको छ। कोलकातामा पनि नयाँ मूल्य १,५६१.६५ रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य १,४८१.६५ रुपैयाँ थियो । यसअघि ग्यासको मूल्य ६ अक्टोबर २०२१ मा बढेको थियो। बीबीसीबाट

चुनाव हारेपनि भाजपाले धामीलाई नै उत्तराखण्डको मुख्यमन्त्री बनाउने

खटिमा, भारतको उत्तराखण्ड राज्यमा पुष्करसिंह धामी नै पुनः मुख्यमन्त्री बन्ने भएका छन् । हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा धामी पराजित भएका थिए । तर भाजपा हाइकमानले भने पराजित भएपनि धामीले मुख्यमन्त्री भएको ६ महिनामा नै जनतामा गहिरो छाप छोडेको भन्दै उनलाई दोहोर्याउने भएको हो । मार्च १० मा आएको विधान सभा चुनावको परिणाममा बहालवाला मुख्यमन्त्री रहेका धामी कंग्रेस आईका उम्मेदवारसँग ६ हजार बढी मतले पराजित भएका थिए। चुनाव हारे पनि भारतीय जनता पार्टीका विधान सभा सदस्यले सोमबार धामीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको भास्कर दैनिकले जनाएको छ। उत्तराखण्डको ७० सदस्यीय विधान सभामा भाजपाले ४७ सिट जितेको छ। भारतको संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ। धामीका लागि पनि सिट खाली गर्न ६ जना भाजपा सांसद तयार रहेको बताइएको छ। ४७ वर्षीय धामीले बुधबार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ। धामी नेपालको कञ्चनपुर जिल्लासँग जोडिएको सीमावर्ती क्षेत्र खटिमा निवासी हुन ।

१३२ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना

काठमाडौं । चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना भएको छ । १३२ यात्रु बोकेको विमान गुआङ्सी प्रान्तमा दुर्घटना भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्। विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य सवार थिए, चीनको नागरिक उड्डयन प्रशासन (सीएए)ले जनाएको छ। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । बोइङ ७३७ ८०० विमान वुझाउको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ र विस्फोटले जंगलमा आगो लगाएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

पोल्याण्ड जाँदै अमेरिकी राष्ट्रपति बाइडेन, नाटोले युक्रेनमा सेना तैनाथ गर्नसक्ने

मास्को । युक्रेन–रुसको युद्ध तिब्र भैरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेन पोल्याण्ड जाने भएका छन् । युक्रेनको सीमा देश पोल्याण्ड नाटोको सदस्य समेत रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डबाटै नाटो र अमेरिकालगायतका देशहरुले ठूलो मात्रामा हतियार र सैन्य सामग्री पठाइरहेका छन् । २५ मार्चका दिन पोल्याण्ड जानेबेला बाइडेनले युक्रेनमा नाटो देशका सेना तैनाथ गर्नेबारे औपचारिक छलफल गर्नसक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । अमेरिकी राजदूत लिन्डा थोमसले संयुक्त राष्ट्रमा सम्बोधन गर्दै अमेरिका आफूले युक्रेनमा सेना परिचालन नगर्ने तर कुनै अरु नाटो देशले यस्तो गर्न सक्ने बताएकी थिइन । यी सबै घटनाक्रम हेर्दा अमेरिका र नाटो देशहरुले पोल्याण्डलाई ढाल बनाएर युक्रेनमा नाटोका सैनिक उतार्ने योजना बनाउन खोजेको बुझिन्छ । यसअघि पनि पोल्याण्डले युक्रेनलाई लडाकु जहाज दिने र त्यसको प्रतिस्थापन अमेरिकाले गर्ने घोषणा गरेको थियो । तर रुसले चर्को बिरोध जनाएपछि यो योजना तुहिएको थियो । रुसले युक्रेनका सामरिक महत्व बोकेका सहरहरु कब्जा गर्ने क्रम बढेपछि नाटोले अप्रत्यक्षरुपमा रुसविरुद्ध युद्ध छेडनसक्ने सम्भावना देखिएको छ । रुसले मेरिपोल शहरलाई पूर्णरुपमा कब्जामा लिएको छ भने राजधानी कीभलाई समेत चौतर्फी घेराबन्दी गर्न थालेको छ । यसैबीच कतिपय सैनिक महत्वका स्थान रुसले नष्ट गरेको छ ।

भारतले रुसबाट सस्तो मूल्यमा तेल किन्ने, पेट्रोलियम पदार्थको मूल्य घटने सम्भावना

नयाँ दिल्ली । रुसले युक्रेनमा आक्रमण गरेपछि क्रूड तेलको मूल्यमा भारी बृद्धि भएको छ । यसको असर नेपालमा पनि परेको छ । नेपालले भारतबाट तेल र ग्यास किन्ने हुँदा भारतीय बजारमा तेलको मूल्य बृद्धिसँगै नेपालमा पनि बृद्धि हुने गर्दछ । पश्चिमी देशहरुले प्रतिबन्ध लगाएपछि रुसमा उत्पादन हुने तेलले बजार नपाएको अवस्थामा भारतले रुसबाट तेल किन्ने सम्भावना बढेको छ । अमेरिका लगायत कतिपय देशले रुसमाथि प्रतिबन्ध लगाएपनि भारतले भने तटस्थ नीति अपनाएको छ । यसैबीच भारतले रुससँग तेल किनेपछि अमेरिकाले यसै कारणले भारतमाथि प्रतिबन्ध भने नलगाउने आधिकारिक भनाई आएपछि भारतले रुससँग तेल किन्ने सम्भावना बढेर गएको हो । अमेरिकाले यही कारण प्रतिबन्ध नलगाउने तर भारतले नैतिक दृष्टिले युक्रेनमा आक्रमण गर्ने रुसको साथ दिने या नदिने भन्ने विषयमा सोच्नुपर्ने बताएको छ । भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशत क्रूड आयल –कच्चा तेल आयात गर्दछ । यसमा ६० प्रतिशत खाडी देशबाट लिने गर्दछ । यसअतिरिक्त अमेरिका, इराक, इरान, ओमान, कुबेत र रुसबाट समेत भारतले तेल आयात गर्दछ । रुसबाट भने अहिलेसम्म जम्माजम्मी २ प्रतिशत कच्चा तेल भारतले किन्ने गरेको छ । यसबाहेक करिब ६ अर्ब डलरको अन्य पेट्रोलियम पदार्थ भारतले रुसबाट आयात गर्दछ । तर अहिले रुसमा तेलको मूल्य निकै कम भएपछि भारतले क्रुड तेल र अन्य बस्तुहरुलाई सस्तो दरमा किन्ने बारेमा छलफल सुरु गरेको हो । केही रिपोर्टमा भने इण्डियन आयलले ३० लाख ब्यारल क्रूड आयल किनिसकेको समेत उल्लेख गरेका छन् । यो व्यापार बजार मूल्य भन्दा २० देखि २५ डलरको छूटमा भएको बताइन्छ । रुस संसारकै तेश्रो ठूलो तेल उत्पादक देश हो । यसले हरेक दिन १०.७ मिलियन ब्यारेल कच्चा तेलको उत्पादन गर्दछ ।