क्यानडामा २७८ जनालाई मङ्की पोक्स पुष्टि

क्यानडा । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पोक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने बताइएको छ ।

 

उनले भनिन्– जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन् । यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।

युक्रेनको तर्फबाट लडिरहेका बेलायती सैनिकको रुसी सेनाको आक्रमणमा परी मृत्यु

एजेन्सी । युक्रेनको तर्फबाट युद्ध लडिरहेका एक पूर्वबेलायती सैनिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ । गत मार्चमा बेलायती सेनाबाट राजीनामा दिई युक्रेन युद्धमा सामेल भएका जोर्डन गेट्ली एक प्रभावशाली सैनिकको रुपमा परिचित रहेको बुझिएको छ । युक्रेनको पूर्वी शहर सेवेरोडनेत्स्कमा रुसी सेनासँग जुधिरहेका उनको रुसी सैनिकको गोली प्रहारबाट मृत्यु भएको हो । उनले रुस युक्रेन युद्धकाबीच युक्रेनी सेनालाई बेलाबेलामा प्रशिक्षण समेत दिने गरेको बताईएको छ। युक्रेनी सेनाको अग्रपंक्तीमा रहने गरेका गेट्लीलाई लक्षित गरी गोली प्रहार गरिएको र उनको मृत्युले युक्रेनी सेनाको मनोबल गिरेको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मायखाइलो पोडोलीकले गेट्लीको मृत्युले युक्रेन स्तब्ध भएको प्रतिक्रिया दिंदै बेलायती भएपनि देशले एक सच्चा नायक गुमाएको बताएका छन् ।

बंगलादेश डिपोमा विस्फोट: दर्जनौं घाइते, १६ जनाको मृत्यु

ढाका । बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरुलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो । घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको बताएको छ ।यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ । स्थानीय पत्रिका प्रोथोमालोका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका केही भवनका झ्यालसमेत भाँच्चिएको थियो । घटनास्थलबाट करिब चार किलोमिटरसम्म विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।देशको दोस्रो ठूलो सहर चटगाउँबाट सीताकुण्ड मात्र ४० किलोमिटर टाढा छ । दुर्घटनापछि सहरका अस्पतालहरू घाइतेहरूले भरिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोका कर्मचारी, आगो निभाउन आएका दमकल र घटनास्थलमा उपस्थित प्रहरी जवान घाइते भएका छन् । डिपोमा करिब ६०० जना कर्मचारी रहेको डिपोको फेसिलिटी डायरेक्टर मुजिबुर रहमानले बताएका छन् ।  

नो फ्लाइ जोनमा एक्कासी विमान घुसेपछि राष्ट्रपति बाइडेनलाई सेफ हाउस पठाइयो

अमेरिकी राष्ट्रपछि जो बाइडेनको सुरक्षामा खतरा देखिएपछि उनलाई सेफ हाउस लगिएको छ । रेहोथोक बीच क्षेत्रमा भ्रमणका लागि निस्केका राष्ट्रपछि जो बाइडेनको सुरक्षाका लागि ३० माइलसम्मको क्षेत्रलाई नो फ्लाइ जोन घोषणा गरिएको थियो । तर शनिवार राती एक्कासी एउटा विमान उक्त क्षेत्रमा पुगेपछि राष्ट्रपतिलाई सेफ हाउस लगिएको हो । व्हाइट हाउसका र सेक्रेट सर्भिसले शनिवारका दिन एउटा सानो नीजि विमान राष्ट्रपति बाइडेनको डेलाभेयरमा रहेको भेकेसेन होम नजिक भूलवस नो फ्लाइ जोनमा पसेको बताएका छन् । डेलावेयर अटलान्टिक महासागरमा रहेको एउटा शहर हो । यहाँ बाइडेन विदा मनाउन आएका हुन । विदा मनाउन त्यहाँ पुगेका बाइडेनका लागि निर्धारित गरिएको जोनका बारेमा आफूलाई थाहा नभएको पाइलटले जनाएका छन् । न्यूयोकर्प टाइम्सका अनुसार, विमानका पाइलटलाई नियन्त्रणमा लिइ सोधपुछ गरिएको छ । पाइलटले आफूले हालै जारी उडान निर्देशिका तथा जोन घोषणाबारे थाहा नभएको बताएको समाचारमा उल्लेख छ ।

रुसले खारेज गर्यो सेनामा भर्ति हुने उमेर हद

काठमाडौं । युक्रेन युद्धमा फसेको रुसले सेनामा भर्ति हुने माथिल्लो उमेर हद खारेज गरेको छ । त्यहाँको संसदका दुवै सदनले एउटा विधेयक पारित गर्दै सेनामा भर्ति हुनका लागि यसअघि विद्यमान रुसी नागरिकका लागि १८ देखि ४० र विदेशी नागरिकका लागि १८ देखि ३० को उमेर हद हटाएको हो । युक्रेन युद्धका लागि थप सैनिक भर्ति गर्ने उद्देश्यले नयाँ कानुन बनाइएको अनुमान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेपछि उक्त विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउने छ । गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि सुरु भएको लडाईमा आफ्ना एक हजार बढी सैनिक मारिएको रुसको भनाइ छ । युक्रेनको निरस्त्रीकरण तथा नाजीवाद अन्त्य नभएसम्म सैन्य कारबाही जारी रहने पनि रुसको अडान छ । त्यसका लागि सेनालाई थप बलियो बनाउनु पर्ने भन्दै रुसी रक्षा मन्त्रालयले सेनामा भर्ति हुने माथिल्लो उमेर हद हटाउने प्रस्ताव गरेको थियो । रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा सैन्य कारबाही कतिन्जेल जारी रहन्छ भन्ने टुंगो नभएको बताए । उता, रुसले केही महिना अघि गाभेका युक्रेनका खर्सोन र जापोरिझियामा द्रूत गतिमा रुसी नागरिकता र पासपोर्ट वितरण गर्ने सम्बन्धि आदेशमा पनि राष्ट्रपति पुटिनले हस्ताक्षर गरेका हुन् ।

काबुलमा श्रृंखलाबद्ध बम विष्फोट, १६ को मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा गएराती भएका श्रृंखलाबद्ध विष्फोटमा १६ जनाको मृत्यु भएको छ । हजरत जकारिया मस्जिद क्षेत्रमा भएको विष्फोटमा ७ जना मारिनुका साथै २२ जना घाइते भएका छन् । काबुल प्रहरीका कमाण्डरलाई उल्लेख गर्दै भास्करले जनाए अनुसार, श्रद्द्दालुहरु मस्जिदभित्र भएको बेला विष्फोट भएको थियो । लगत्तै मस्जिदको केही टाढा एएटा मिनी भ्यानमा तीनवटा विष्फोट हुँदा नौ जना यात्रुको मृत्यु भएको छ ।

भारतले खाने तेल सस्तो हुने, सरकारले हटायो आयात कर

नयाँ दिल्ली । भारतमा खाने तेलको मूल्य आकासिएपछि केन्द्र सरकारले आयात कर हटाउने निर्णय गरेको छ । केन्द्र सरकारले ३० लाख मेट्रिक टन सोयाबीन र सूर्यमुखी तेलको आयातमा २ वर्षका लागि भन्सार र कृषि पूर्वाधार तथा विकास कर हटाउने निर्णय गरेको हो । अहिले यो कर ५ प्रतिशत रहेको छ । यो निर्णयबाट खाने तेल सस्तो हुने आशा गरिएको छ । तेलको आयातमा दिइएको छूट ३१ मार्च २०२४ सम्म लागु हुनेछ । भारतमा पछिल्लो तीन महिनादेखि तेलको खुद्रा मूल्यमा १५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । केन्द्रीय अप्रत्यक्ष कर एवं सीमा शुल्क बोर्डले यसको जानकारी दिँदै यसबाट उपभोक्तालाई ठूलो राहत पुग्ने बताएको छ । सरकारले तेलको बढ्दो मूल्यबीच गत हप्तामात्रै पेट्रोल र डीलमा उत्पादन शुल्क घटाएको छ । साथै इस्पात र प्लाष्टिक उद्योगमा प्रयोग हुने कच्चा मालमा आयात शुल्क हटाउने निर्णय गरेको थियो ।

अमेरिकाको टेक्सासमा भयानक हत्याकाण्ड: १८ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउँदा १८ छात्र र ३ शिक्षकको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा गएराती एकजना किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । रोब एलिमेन्टे्री स्कूलमा एकजना १८ वर्षीय युवकले गोली चलाएका थिए । घटनामा १८ जना विद्यार्थी तथा ३ जना शिक्षकको मृत्यु भएको छ । यसैगरी १३ जना बच्चा र स्कूलका स्टाफसहित केही प्रहरीसमेत घाइते भएका छन् । प्रहरीले हमलाकारीलाई मारेको दावी गरेको छ । तर उसको पहिचानबारे भने अहिलेसम्म स्पष्ट भएको छैन । टेक्सासमा भएको यो घटनाको सम्बन्ध सन् २०१२ मा कनेक्टिकटमा भएको घटनासँग मिल्दोजुल्दो रहेको छ । उक्त घटनामा पनि एउटा प्राथमिक विद्यालयमा १२ डिसेम्बरका दिन २० वर्षीय युवकले गोली चलाउँदा २० जना बालबालिकासहित २६ जनाको मृत्यु भएको थियो । घटनापछि अमेरिकामा राष्ट्यि शोकको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार, सन्दिग्ध व्यक्तिले गोली चलाउनु अघि आफ्नै हजुरआमालाई गोली हानेका थिए । उनी अहिले अस्पतालमा भर्ना भएकी छिन् । ् अमेरिकी राष्ट्रपति जो बाइडेनले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले प्रहरीसँग घटनाबारे विस्तृत विवरण मागेका छन् । टेक्सासका गभर्नर एबोट जबले हत्याराको पहिचान सल्भाडोर रामोसका रुपमा भएको बताएका छन् । सामाजिक सञ्जालमा एउटा युवकको तस्वीर भाइरल भएको छ । यसैगरी पेजमा राइफलको तस्वीर पनि सार्वजनिक गरिएको छ । तर यो तस्वीरको आधिकारिक पुष्टि भने भएको छैन । केही व्यक्तिहरुले हत्याराले शुरुमा हतियार किनेर त्यसको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेको बताएका छन् । त्यसपछि करिब ११ मिनेटमा स्कूल पुगेर उसले गोली चलाउन सुरु गरेको थियो । उसको हातमा जस्तो हतियार देखिएको थियो । अहिले प्रहरीले स्कूलको घेरा हालेर अनुसन्धान गरिरहेको छ ।

पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण, सुरक्षा गार्डको मृत्यु

पेरिस — फ्रान्सको राजधानी पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण हुँदा एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजे दूतावासभित्र एक जना संदिग्ध व्यक्ति पसेका थिए । त्यसपछि उनी दूतावासका गार्डलाई आक्रमण गरेका थिए । आक्रमणमा परी गार्डको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण आतंकवादी घटनासँग नजोडिएको पनि प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारी राजदूतावासले ट्विट गर्दै उक्त घटना ‘जघन्य र अक्षम्य’ भएको बताएको छ । फ्रान्सेली पत्रिका ला पेरिसियनले आक्रमणमा संलग्न ३८ वर्षीय व्यक्ति मानसिक रूपमा ठीक नभएको बताएको छ । पत्रिकाले लेखेको छ, ‘सेभरानका स्थायी बासिन्दा उनी प्रहरीविरुद्ध नै हिंसा भड्काउने खालका व्यक्ति हुन् । घटनाका बेला उनले कोकिनसमेत सेवन गरेका थिए । उनको स्वास्थ्य परीक्षण भइरहेको छ ।’

मंकीपक्स रोग विश्वव्यापी रुपमा फैलिन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको छ। हाल १२ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म विश्वका विभिन्न १२ वटा देशमा ९२ जनामा यो रोग पुष्टि भईसकेको छ भने अन्य २८ जनामा संक्रमण भएको आशंकामा निगरानीमा राखिएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स रोग ज्यादै घातक नभए पनि विश्वव्यापी संक्रमण भएमा स्वास्थ्य क्षेत्रमा अर्को समस्या ल्याउन सक्ने बताएको छ। मंकीपक्सको संक्रमणलाई न्यूनीकरण गर्ने विषयमा छिट्टै उपाए सुझाउने पनि डब्ल्युएचओले बताएको छ । स्मलपक्सकै जस्तो लक्षण हुने मंकीपक्सको संक्रमण भए दुईदेखि चार साताभित्रमा अस्पताल भर्ना समेत नभएर पनि बिरामी निको हुन सक्छन् । तर कहिलेकाहीं यो रोग घातक पनि हुनसक्ने पनि डब्ल्युएचको तर्क छ। यौन सम्पर्क जस्ता ज्यादै निकट सम्पर्कबाट यो रोग समुदाय स्तरमा सर्न सक्ने देखिएको छ। निकट सम्पर्कबाट मात्रै सर्ने भएकाले पनि यसको नियन्त्रण सजिलो हुने विज्ञहरूको भनाइ छ ।

अष्ट्रेलियाको आम निर्वाचनमा विपक्षी लेबर पार्टी विजयी,एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्ने

काठमाडौं। अष्ट्रेलियामा हालै सम्पन्न आम निर्वाचनमा विपक्षी दल लेबर पार्टी विजयी भएको छ। लेबर पार्टीको यो जितसँगै एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्नेछन्। चुनावी परिणाम अनुसार लेबरले ९ वर्षपछि पुनः सरकार बनाउने अवसर पाएको छ। शनिबार सम्पन्न चुनावमा करिब १ करोड ७० लाख जनताले मतदान गरेका थिए। जसमध्ये ४ लाख ५० हजार नयाँ मतदाता समावेश भएका थिए। जसमा लेबर पार्टीले ७२ सिटमा जित हासिल गरेको छ। अष्ट्रेलियामा सरकार गठनका लागि कुनै पनि दललाई तल्लो सदनमा ७६ सिट र माथिल्लो सदनमा ४० सिट आवश्यक पर्छ। निर्वाचनले ३ वर्षका लागि नेतृत्व छनोट गरेको हो। अष्ट्रेलियाको ६ राज्य तथा २ टेरीटोरीबाट तल्लो सदनका लागि १ सय ५१ निर्वाचन क्षेत्र र माथिल्लो सदन सिनेटका लागि ७६ सिटमा मतदान भएको थियो। वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार्दै नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएका अल्बानिजलाई बधाई दिएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकहरू माझ सम्बोधन गर्दै मरिसनले पदबाट राजीनामा समेत घोषणा गरेका छन्। आफ्नो पार्टीले जित हासिल गरेपछि अल्बानिजले अष्ट्रेलियालाई एकताको सुत्रमा बाँध्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले भ्रष्टाचारबिरुद्ध राष्ट्रिय आयोग गठन गर्ने र महिला तथा जनजातिको अधिकार सुनिश्चित गर्ने बचन दिएका छन्।

हट्यो श्रीलंकाको संकटकाल

कोलम्बो । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो । ​सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए ।   शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको रुसको घोषणा

एजेन्सी । रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी बन्दरगाह सहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले छोडेसँगै मारिउपोल सहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिनुभएको थियो । मारिउपोल सहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीमा थियो ।

रुसद्धरा फिनल्याण्डमा ग्यास आपूर्ति बन्द

एजेन्सी । रुसले भुक्तानी सम्बन्धी विवादका कारण फिनल्यान्ड तर्फको ग्यास आपूर्ति बन्द गरेको छ । फिनल्याण्डमा ठूलो मात्रामा ग्यास निर्यात गर्दै आएको रुसले भुक्तानी विवाद बढ्दै गएपछि पूर्णरूपमा आपूर्ति बन्द गरेको हो ।​ युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । जसकारण, रुसले डलर र यूरोमा नभइ रुबलमा भुक्तानी गर्न फिनल्याण्डसँग माग गरेको थियो । जुन, माग फिनल्याण्डले अस्वीकार गरेपछि आपूर्ति बन्द गरेको हो ।   रुसको ग्यास आपूर्तिकर्ता कम्पनी ग्याजप्रोमले शनिबारदेखि फिनल्याण्डतर्फको आपूर्ति रोकेको रोयटर्सलाई पुष्टी गरेको छ । ग्यास आपूर्ति रोक्ने रुसको निर्णय मा भुक्तानी विवाद मात्र नभइ नाटोमा जोडिने फिनल्याण्डको चाहनाबाट समेत प्रभावित छ । यसैगरी, फिनल्याण्डको ग्यास आपूर्ति कम्पनीले समेत रुसबाट आपूर्ति रोकिएको जानकारी दिएको छ । उसले रुसबाट पूर्ण प्रशोधिन ग्यासको आपूर्ति रोकिएको पुष्टी गरेको हो । फिनल्याण्डमा प्रयोग हुने प्रकाकृतीक ग्यासको धेरै हिस्सा रुसबाट आयात हुने गरेको छ । यद्यपी, यो फिनल्याण्डमा प्रयोग हुने कुल ऊर्जाको ५ प्रतिशत मात्रै हो । यस्तै, रुसको ग्यास बिना नै ऊर्जाको कूल मागको आपूर्ति धान्न फिनल्याण्ड तयार रहेको सरोकारवालाहरूले जनाएका छन् ।

उत्तर कोरियामा कोरोना फैलिएपछि देशव्यापी लकडाउन

काठमाडौं । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएकाे छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक काेराेना संक्रमण फैलिएको हाे । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो । अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै महिना फैलिएको संक्रमणले त्यहाँ मानवीय संकट ल्याउने खतरा औंल्याइएको छ । तीब्र रुपमा फैलिने ओमिक्रोन भेरियन्टकै संक्रमण भएको बताएपनि समाचार एजेन्सीले कति संख्यामा संक्रमित छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने खुलाएको छैन । विगत २ वर्ष ३ महिनासम्म सुरक्षित रहेको देश ठूलो आकस्मिक अवस्थामा पुगेको भन्दै संक्रमण नियन्त्रणका लागि प्योङ्याङमा सक्दाे प्रयास गरिएको जनाइएको छ । सर्वोच्च नेता किम जोङ उनले घातक भाइरसलाई विस्तार हुन नदिन सिंगो देशलाई लकडाउनमा राख्न भन्दै कारखानानाहरु, व्यापारिक क्षेत्र, निजी आवासहरुमा अचुक लकडाउन लागू गर्न आदेश दिएको पनि समाचारमा जनाइएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकले संक्रामक रोग नियन्त्रण विभागको लापरबाही र अक्षमताले कोरोना संक्रमण फैलिएको आरोप लगाएको छ ।

अल जजिरा टिभीकी पत्रकार अकलेहको इजरायली फौजद्वारा गोली हानी हत्या

एजेन्सी । अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ । वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा रहनुभएकी पत्रकार शिरिनलाई इजरायली फौजले गोली हानी हत्या गरेको हो । प्रेसको पहिचान खुल्ने ज्याकेट लगाएर रिपोर्टिङ गरिरहेको अवस्थामा पत्रकार शिरिनमाथि गोली प्रहार भएको अल जजिराले जनाएको छ । इजरायली सेनाको आक्रमणबाट अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते हुनुभएको छ । अल जजिराले विज्ञप्ति निकालेर हत्याको घटनाप्रति आपत्ति जनाउँदै इजरायली सेनालाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । इजरायली सेनाले बेस्ट ब्याङ्क क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अल जजिराको भनाइ छ । ह्युमन राइट्स वाचका लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाले पत्रकारमाथि गरेको आक्रमण असामान्य रहे