युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसले राख्याे चार शर्त
काठमाडौं । युक्रेनमा जारी युद्धकाे अन्त्य गर्न लागि रुसले चार सर्त अघि सारेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार राती टर्कीका राष्ट्रपति रिसेप एर्डोगानसँगको टेलिफोन संवादका क्रममा चार श्रेणीका सर्त राख्नुभएको हो । टर्कीस अधिकारीहरुका अनुसार पुटिनले पहिलो सर्तको रुपमा युक्रेन नाटोमा संलग्न हुन नहुने र उसको भूमिका युरोप तथा रुसकाबीच न्युट्रल हुनुपर्ने रहेको छ ।
त्यस्तै रुसका लागि युक्रेन चुनौती बन्ने छैन भन्ने ग्यारेन्टीका लागि युक्रेनको निशस्त्रीकरण गरिनुपर्ने अर्को सर्त रहेको छ । युक्रेनमा रुसी भाषाको संरक्षण तथा रुसी भाषीहरुको अधिकार सम्बन्धि माग पनि पुटिनले राख्नुभएको टर्कीस अधिकारीहरुले बताएका छन् ।
पुटिनले दुई देशबीच शान्ति सम्झौता हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग आम्नेसाम्ने वार्ताको सर्त पनि राखेका छन् ।
त्यस्तै रुसले कब्जा गरेको क्राईमिया तथा हालै रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएका दोनेत्स्क र लुहांग्सलाई युक्रेनले पनि मान्यता दिनुपर्ने सर्त पनि रुसको रहेको छ ।
निर्णायक मोडमा रुस–युक्रेन विवाद, आज बाइडेन र पुटिनबीच फोनवार्ता हुने
काठमाडौं । युक्रेनमा जबर्जस्ती युद्धको माहौल बनाइरहेको अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच आज टेलिफोन संवाद हुने भएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी मिडियाले जनाए अनुसार, अमेरिकी पक्षको लिखित अनुरोधमा टेलिफोन वार्ता हुने भएको हो । यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको विषयमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम भएको जनाइएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै यूक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसका सेनाले उत्पन्न गरेको खतराका कारण अमेरिकी नागरिकहरूलाई यूक्रेन छोड्न बिहिबार बाइडेनले निर्देशन दिएका थिए । कीभ (युक्रेन)ले तनावलाई शान्त पार्ने कोसिस गरेको छ । साथै कुनै पनि बेला सम्पूर्ण युद्ध सुरु हुन सक्छ भन्ने अमेरिकी गुप्तचरको मूल्याङ्कनसँग यूक्रेन सहमत छैन । युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले बाइडेनले अमेरिकी विदेश मन्त्रालयबाट राज्य विभागबाट पहिलेको मार्गदर्शनलाई मात्र पुनः स्थापित गरेको भन्दै यो भनाइमा कुनै नयाँ कुरा नभएको बताएका छन् ।
आलियाको चलचित्र “गंगुबाई काठियाबाडी”माथि सेन्सर बोर्डको कैंची
मुम्बई । बहुप्रतिक्षित चलचित्र गंगुबाई काठियावाडी का कतिपय दृश्यमा सेन्सर बोर्डले कैंची चलाएको छ । युए सर्टिफिकेट प्रदान गर्नका लागि सेन्सर बोर्डले चलचित्रका केही दृश्य हटाएको हो । युए सर्टिफिकेट भनेको अभिभावकको निगरानीमा बच्चाहरुले समेत हेर्न सक्ने चलचित्र बुझिन्छ । मिडिया रिपोर्ट अनुसार, चलचित्रमा ४ मोडिफिकेसन र २ सिन हटाइएका छन् । यसअघि दुई वटा डाइलग पनि परिवर्तन गरिएका थिए । चलचित्रमा एउटा यस्तो दृश्य पनि थियो जहाँ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले गंगबाईको कपालमा गुलाब लगाइरहेका हुन्छन् । सेन्सर बोर्डले यो दृश्यलाई पनि परिमार्जन गरेको छ । सञ्जय लीला भंसालीको चलचित्र गंगुबाई काठियाबाडी वास्तविक कथामा आधारित छ । यो कथा “माफिया क्विन अफ मुम्बई” नाम किताबाट लिइएको हो । यसमा काठियावाडीकी एक सामान्य युवतीको ‘गंगुबाई’ बन्नेसम्मको यात्रा देखाइएको छ । चलचित्रमा मुख्य अभिनेत्री आलिया भट्ट छिन् भने अजय देवगन र विजय राज मुख्य अभिनेताको भूमिकामा देखिनेछन् । चलचित्र आगामी २५ फेब्रुअरीमा सिनेमा घरमा रिलिज हुने छ ।
भारतको उत्तर प्रदेश राज्यमा आजदेखि विधानसभा निर्वाचन
लखनऊ, भारतको उत्तर प्रदेश राज्यमा आजदेखि विधानसभा निर्वाचन शुरु भएको छ । मुख्यमन्त्री आदित्यनाथ योगी नेतृत्वको भारतीय जनता पार्टीको सरकारमा रहेको राज्यमा आज ११ जिल्लामा मतदान भइरहेको हो । निर्वाचनमा २६ हजार बुथ तोकिएका छन् भने सवा दुइ करोड मतदाता रहेका छन् । मार्च ७ तारिखमा सम्पन्न हुने उत्तर प्रदेश विधान सभा निर्वाचनको परिणाम मार्च १० तारिखमा सार्वजनिक हुने बताइएको छ । यस पटक पनि भारतीय जनता पार्टीले बहुमत ल्याउने स्थिति भने नभएको मत सर्वेक्षणहरुले देखाएका छन् । निर्वाचनको मुखैमा भाजपाबाट अन्य पार्टी जानेहरुको ओइरो नै लागेको कांग्रेस र समाजवादी पार्टीले सिसट संख्या बढाउने अनुमान गरिएको छ । भाजपाले बर्तमान मूख्यमन्त्री योगी आदित्यनाथलाई नै मूख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । सबैभन्दा ठूलो जनसंख्या र मुस्लिम मतदाताको पनि उल्लेख्य प्रभाव हुने भएकाले भारतीय राजनीतिमा उत्तर प्रदेशको निर्वाचनले ठूलो महत्व राख्ने गर्दछ ।
टर्की र ग्रीसको सीमा नजिकै चिसोले १९ आप्रवासीको मृत्यु, नेपाली पनि हुन सक्ने आशंका
काठमाडौं । टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ। टर्की सरकारका एक मन्त्रीले टर्कीबाट ग्रीसतर्फ प्रवेश गर्न खोजिरहेका आप्रवासीहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको बताएका हुन्। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुले ट्वीटरमा मृतक कुन देशका हुन् भन्ने नखुलेको तर ग्रीसको सीमानजिकै चिसोले उनीहरुको मृत्यु भएको लेखेका छन्। चिसोले मरेका ती व्यक्तिहरुको बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरुले बताएका छन्। कतिपय आप्रवासी जुत्ता/चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको बताइन्छ। यस घटनापछि टर्कीका मन्त्री सोयुलुले युरोपेली युनियनले मानवीय व्यवहार नदेखाएको आरोप समेत लगाएका छन्। उता ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको भन्दै उक्त आरोपको खण्डन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले लेखेका छन्। ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दुःखद हो। उनीहरू ग्रीस छिर्न खोजेका थिएनन्।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन्। टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको ‘वास्तविक तस्बिर’ उजागर गर्ने बताएका छन् । Tarih: 2.2 2022 Yer: İpsala Yunanistan Sınırı Ayakkabıları çıkarılmış, elbiseleri soyulmuş Yunan sınır birlikleri tarafından geri itilmiş 22 göçmenden 12’si dondu AB çaresiz, cılız ve insanlıktan yoksun. Yunan sınır birlikleri, mağdura cani, FETÖ’ye müşfik Allah rahmet eylesin pic.twitter.com/yBFObmdSxk — Süleyman Soylu (@suleymansoylu) February 2, 2022 पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ। ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो। पछिल्लो घटनामा नेपाली नागरिक परे/नपरेकोबारे बुझ्ने काम भइरहेको टर्की मामिलासमेत हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए। टर्कीको राजधानी इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङले उक्त घटनामा नेपाली र बंगाली नागरिक पनि परेको हुन सक्ने बताएका छन्। एक जना नेपाली चार दिनदेखि ग्रीसको सीमा नजिकै पुगेपछि हराइरहेको भनेर नेपालबाट आफन्तले सन्देश पठाएको उल्लेख गर्दै घिसिङले घटनाका बारेमा बुझ्ने प्रयास गरिरहेको बताए। वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर-२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवारले सोधखोजका लागि हारगुहार गरेका छन्। इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका आफन्तले बताएका छन्।
लद्दाखको प्याङ्गोङ तालमा चीनले बनाउदै गरेको पुल अबैध भएको भारतको आरोप
काठमाण्डौं । पूर्वी लद्दाखमा रहेको पैंगोङ तालमा चीनले अवैधरुपमा पुल बनाइरहेको भारतले आरोप लगाएको छ । दुई आणविक शक्तिहरूबीचको सैन्य गतिरोधबीच चिनले उक्त तालमा पुल निर्माण अगाडि बढाको हो । केन्द्र सरकारले शुक्रबार संसद्लाई यसबारे जानकारी दिएको हो । विदेश राज्यमन्त्री वी मुरलीधरनले संसदमा लिखित जवाफ दिँदै भने, ‘चीनको तर्फबाट पैंगोङ झिलमा पुल बनाउने काम भइरहेको छ । यो पुल त्यो क्षेत्रमा बनाइदैछ जुन सन् १९६२ देखि चीनको अवैध कब्जामा छ । भारत सरकारले यो अवैध कब्जालाई कहिले पनि स्वीकार गरेको छैन । सरकारले जम्मू–कश्मीर र लद्दाखको केन्द्र शासित प्रदेश भारतको अभिन्न अंग हो स्पष्ट पारेको छ र हामी आशा गर्छ कि अन्य देश भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरोस् ।’ उनले पूर्वी लद्दाखको एलएसीमा शान्ति कायम राख्नका लागि भारतले चीनसँग कूटनीतिक र सैन्य स्तरमा वार्ता जारी राखेको पनि जानकारी दिए । ‘हाम्रोको छलफल जहिले पनि तीन विन्दुमा केन्द्रित रहेको छ । पहिलो दुवै पक्ष एलएसीको कडाइले पालना र सम्मान गर्नुपर्छ । दोस्रो यथास्थितिलाई कायम राख्ने र तेस्रो कुनै पनि सम्झौता दुवै पक्षको पूर्ण सहमतिका साथ हुनेछ,’ सरकारको भनाइ छ । चीनको यो पुलको४०० मिटर लम्बाई र चौडाइ आठ मिटर रहेको छ । यो पैंगोङको उत्तरी तटमा रहेको छ । यस क्षेत्रमा सन् २०२० मा भारतीय र चिनियाँ सैनिकबीच गतिरोध हुँदा चिनियाँ सेनाको फिल्ड अस्पताल र आवास पनि देखिएको थियो । दुई आणविक शक्तिहरू बीचको वास्तविक सीमा उच्च रिजोल्युसन भएका स्याटेलाइटबाट भारतीय मिडिया रिपोर्टहरू मार्फत देखाईएको थियो ।
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ३७औं जन्मदिन मनाउदै,यी हुन उनी बारे जान्नै पर्ने ४ तथ्य
काठमाण्डौं । पर्चुगलका कप्तान तथा म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले आज आफ्नो जन्मदिन मनाउदै छन् । रोनाल्डले आज आफ्नो ३७औं जन्मदिन मनाउदै छन् । सन् १९८५ फेब्रुअरी ५का दिन रोनाल्डो पोर्चुगलको फञ्चल,म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता जोस डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो । उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ । उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८०० भन्दा बढी गोल गरिसकेका छन् । यी हुन उनी क्रिस्टियानो रोनाल्डो बारे ४ तथ्य अमेरिकी राष्ट्रपतिको नामबाट क्रिस्टियानो रोनाल्डोको खास नाम डोस सान्तोस एभिरो हो तर पछि रोनाल्डोको नाम ४० औं अमेरिकी राष्ट्रपति पोटस रोनाल्डो रेगनबाट प्रेरित भएर राखिएको थियो । उक्त निर्णयलाई रोनाल्डोका बुबा जोस डिनिसले प्रशंसा गरेका थिए। मनपर्ने खाना रोनाल्डोलाई पोर्चुगाली डिश खान मनपर्छ जुन नुनिलो प्याज, भुटेको आलुको टुक्रा र अण्डाले छोपिएको हुन्छ। आफ्नो क्यारियरमा ३४ प्रमुख ट्रफीहरूजितेः पोर्चुगल स्टार रोनाल्डोले आफ्नो करियरमा कुल ३४ ट्राफीहरू जितेका छन् जसमध्ये ३२ फुटबल क्लबबाट र दुई पोर्चुगल राष्ट्रिय टोलीबाट जितेका हुन् । सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता सन् २०२१ मा क्रिस्टियानो रोनाल्डोले पूर्व इरानी अलि डेईलाई पछि पार्दै अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन्। उनको नाममा हालसम्म ११५ गोलको किर्तिमानि छ। पाँच बालोन डीओर र तीन विश्व प्लेयर अफ द इयर अवार्डबाट विभुषित क्रिस्टियानो रोनाल्डोले तीनवटा फिफा वर्ल्ड प्लेयर अफ द इयर अवार्ड (२ उत्कृष्ट फिफा अवार्ड) जितेका छन्। उनि जिनेदिन र ब्राजिलका तर्फबाट संयुक्त अवार्ड सहित सर्वाधिक पटक अवार्ड जित्ने खेलाडि हुन् । उनले पाँचवटा बालोन डी’ओर अवार्ड पनि जितिसकेका छन् ।
अफगानिस्तानदेखि भारतसम्म हिन्दकूश क्षेत्रमा भूकम्पको झटका
काबुल । अफगानिस्तानको हिन्दकुश क्षेत्रमा भूकम्पको झटका महसुस भएको छ । युरोपियन मेडिटेरनियन सिस्मोलोजिकल सेन्टरका अनुसार, उक्त क्षेत्रमा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि भूकम्पको तीब्रता ६.७ रेक्टरको बताइएको थियो । भूकम्पको झटका अफगानिस्तान, पाकिस्तान र भारतको कश्मिर क्षेत्रसम्म पुगेका थियो । भूकम्पको गहिराई २१० किलोमिटर भएको बताइन्छ । यद्यपी अहिलेसम्म धनमालको क्षति भने थाहा हुन सकेको छैन । आज बिहानै भूकम्पको झटका आउँदा कश्मिर, दिल्ली लगायतका क्षेत्रमा मानिसहरु पनि घरबाहिर निस्केका थिए ।
पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना ७ जनाको मृत्यु
पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। मृत्यु हुनेमा तीन डच पर्यटक, दुई चिलीका पर्यटक र दुई पेरुका चालक दलका सदस्य रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
चीनमा शीतकालीन ओलम्पिक सुरु हुँदै,अन्तिम समयमा किन गर्यो भारतले कुटनीतिक बहिष्कार
काठमाण्डौं । चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ । भारतले बिहीबार बेइजिङमा हुने शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको घोषणा गर्ने घोषणा गरेको छ । दुई देशहरू बीच २०२०मा भएको सीमा झडपमा संलग्न एक कमाण्डरलाई ओलम्पिक टर्चवाहकको रूपमा राखेको भन्दै अन्तिम समयमा भारतले कुटनीतिक बहिष्कार गर्ने जनाएको सिएनएनले जनाएको छ । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गरेका छन् । यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् । पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद आएको छ । दुई देशबीच उच्च तहमा वार्ता भए पनि निष्कर्षमा पुग्न नसक्दा तनाव घटेको छैन ।
ट्रम्पको चेतावनीः युक्रेनको चिन्ता छोड,अमेरिकाको सीमा जोगाउ
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्न आग्रह गरेका छन् । अहिले अमेरिकाले आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्नेमा टम्पको जोड छ। ट्रम्पले शनिबार निकालिएको टेक्सासको र्यालीमा आफ्ना समर्थकहरूलाई भने“वाशिङ्गटनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौं ।” ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नु पर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’को कुरामा व्यस्त रहेको टिप्पणी गरेका छन् । “उनीहरूले यस देशको आक्रमण रोक्न आवश्यक छ,” ट्रम्पले जोड दिदै भनेका छन् , “जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनु अघि, उनले टेक्सासमा हाम्रो सीमा रक्षा गर्न सेना पठाउनु पर्छ।” ट्रम्पले बाइडेनलाई तेस्रो विश्वयुद्धको जोखिम सिर्जना गरिरहेको चेतावनी दिएका छन् । शुक्रबार, अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेले रुसले युक्रेनी सीमामा कुनै पनि क्षण आक्रमण गर्न पर्याप्त सेना जम्मा गरेको दाबी गरे र संकटको कूटनीतिक समाधानको लागि खोजी जारी राख्न आग्रह गरेका थिए । मस्कोले बारम्बार आफ्नो छिमेकीलाई आक्रमण गर्ने तयारी नरहेको जनाएको छ ।रुसले कसैलाई धम्की दिएको छैन भन्दै रुसको सिमाना नजिक नाटोको बढ्दो उपस्थिति र युक्रेनको सैन्यकरणमा चिन्ता व्यक्त गरेको जनाएको छ। बुधबार रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले युरोपको लागि रुसको सुरक्षा प्रस्तावमा वाशिंगटनको प्रतिक्रिया दिएका छन्। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रुसले उक्त प्रतिक्रियाको समीक्षा गरिरहेको तर संयुक्त राज्यले नाटो विस्तार नगर्ने मुख्य प्रश्नलाई अनुत्तरित छोडेको टिप्पणी गरेका छन्
उत्तर कोरियाद्वारा २०१७ यताकै सबैभन्दा लामो दूरीको मिसाइल परीक्षण
सियोल । उत्तर कोरियाले वर्ष २०१७ यताको सबैभन्दा लामो दूरीको ब्यालिष्टिक मिसाइलको परीक्षण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपतिको भनाई उद्दृत गर्दै सिएननले जनाए अनुसार, यो परीक्षणले उत्तर कोरियाले अझै लामो र बिशाल प्रकृतिका मिसाइल परीक्षण गर्ने संकेत दिएको छ । दक्षिण कोरिया र जापान दुबैले उत्तर कोरियाले इन्टरमिडियट रेन्ज ब्यालिष्टिक मिसाईल (आइआरबिएम)को परीक्षण गरेको र यो २ हजार किलोमिटर माथि र ८०० किलोमिटरको रेन्जमा पुगेर समुद्रमा खसेको बताएका छन् । यदि मिसाइललाई सामान्य शिखरबाट पठाइएको भए यसको दूरी ३५ सय देखि ५५ सय किलोमिटर हुने सिएनएनले उल्लेख गरेको छ । योमिसाइलले गुयाममा रहेको अमेरिकी क्षेत्रमा आक्रमण गर्न सक्ने क्षमता राख्छ । उत्तर कोरियाले यो वर्षमात्रै ६ वटा मिसाइल परीक्षण गरिसकेको छ । आफूविरुद्धको नाकाबन्दी नखोलिएमा परीक्षण नरोक्ने उसले अडान लिएको छ ।
इटालीमा ८० वर्षीय सर्जियाे दोश्रोपटक राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । उमेरको हदको चर्चा जति गरेपनि यदि कनिष्ठहरुले कमाण्ड लिन सकेनन् भने जतिसुकै उमेर भएपनि वरिष्ठकै खोजी हुने कुरा इटालीको घटनाले पुष्टि गरेको छ । इटालीका राष्ट्रपति सग्रियो मतारेल्लाको पदावधि समाप्त भएपनि उनको स्थानमा अरु नेताको नाममा सहमति जुट नसकेपछि उनी नै पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि संसदमा ८ पटकसम्म मतदान हुँदा समेत अरु कसैले बहुमत हासिल गर्न नसकेपछि उनको नाममा सहमति जुटेको हो । इटालीको संविधान अनुसार, पहिलो तीन चरणमा दुई तिहाई बहुमत आवश्यक हुन्छ । त्यसपछि चौथोचरणपछि साधारण बहुमत आवश्यक हुन्छ । नयाँ राष्ट्रपतिको चुनावका लागि सोमबार पहिलो चरणको र मंगलबार दोश्रो चरणको निर्वाचन भएको थियो । यो क्रम शनिबारसम्म ८ औं चरणमा आइपुग्यो । तर कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सक्ने अवस्था नभएपछि सेर्गेइको नाम उम्मेदवारको रुपमा राखिएको थियो । संवैधानिक अदालतका पूर्व न्यायाधिश गेएतानो अजारितीले सेर्गेइलाई दोश्रो कार्यकाल दिन अस्वीकार गरेका थिए । तर आठौं चरणसम्म पनि कुनै अरु उम्मेदवारले बहुमत ल्याउन नसकेपछि उनी दोश्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिने भएका हुन।
युक्रेनद्वारा पश्चिमी देशहरुलाई चेतावनीः युद्धको हल्ला पिटेर अनावश्यक तनाव सिर्जना नगर
काठमाडौं । अमेरिकाले बारम्बार रुसले आक्रमण गर्दैछ भन्ने प्रचार गर्न थालेपछि युक्रेनले अनावश्यक तनाव सिर्जना नगर्न चेतावनी दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई रुस युक्रेन विवादलाई अतिरिञ्जत नबनाउन भनेका हुन । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न थालेको चेतावनी दिने कुराले युक्रेनको अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । अमेरिकाले भने युक्रेनमाथि रुसले आक्रमण गर्न गइरहेको भन्दै त्यसविरुद्ध नाटो र आफ्नो देशले प्रतिवाद गर्ने धम्की दिँदै आएको छ । अमेरिकी धम्की र चेतावनीका कारण तनाव बढेको भन्दै युक्रेनका राष्ट्रपतिले पश्चिमी देशहरुलाई हैसियतमा बस्न भनेका हुन । रुसले समेत आफूले आक्रमण गर्ने कुनै मनशाय नभएको बारम्बार बताउँदै आएको छ । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै युक्रेनका राष्ट्रपतिले यूरोप र अमेरिकालगायतका देशहरुले युक्रेनबाट कुटनीतिज्ञ फिर्ता बोलाउने निर्णयको समेत बिरोध गरे । युद्दको हौवा दिएर गरिएका हर्कतका कारण अर्थतन्त्र र सामाजिक जीवनमा असर परेको उनले बताए । भोली युद्ध हुन्छ, पर्सी युद्ध हुन्छ भन्ने त्रास फैलाउँदा युक्रेनलाई निकै ठूलो नोक्सानी भएको छ । यसअघि युक्रेन र अमेरिकाका राष्ट्रपतिबीच भएको टेलिफोन संवादमा समेत उनले अमेरिकालाई युद्धको खतरा नभएको बताएका थिए । अमेरिकाले भने रुसले युद्धकै तयारी गरिरहेको दावी गरेको छ ।
सिरिया जेलमा भएको आक्रमणमा १२० बढीको मृत्यु
सिरियामा अमेरिका समर्थित कुर्दिस फोर्स र आईएसबीचको युद्धमा कम्तीमा १२० जनाको मृत्यु भएको छ। अल जाजिराका अनुसार सिरियाको जेलमा भएको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको हो। हेसाकेह सहरमा रहेको जेलमा सो आक्रमण भएको हो। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ७७ आईएसका लडाकु र ३९ कुर्दिस लडाकुको मृत्यु भएको छ। जसमा आन्तरिक सुरक्षाकर्मी, जेलका सुरक्षाकर्मी र आतंकवादविरोधी सुरक्षा बल पनि रहेका छन्। यो युद्ध गत बिहीबारदेखि सुरु भएको हो। युद्धमा थप सात जना आम नागरिक मारिएका छन्। जेलमा भएको आक्रमणपछि भागेका ११० कैदीहरु पुनः समातिएको कुर्दिसको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सले बताएको छ।
अमेरिकाले हाई अलर्टमा राख्यो ८,५०० सैनिक, जुनसुकै बेला युक्रेनतर्फ जानसक्ने
काठमाडौं । अमेरिकाले आफ्ना आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा बस्न भनेको छ। युक्रेनमाथि रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने र त्यसको प्रतिरोधमा नाटोले गर्ने प्रत्याक्रमणका लागि ती सैनिकहरुलाई अलर्टमा राखिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। अल जजिरामा प्रकाशित समाचार अनुसार यूरोपियन युनियन, बेलायत र अमेरिकाले युद्धको त्रास देखाउँदै आफ्ना स्टाफहरुलार्इ युक्रेनबाट फिर्ता बोलाएपछि अवस्था झनै तनावपूर्ण बनेको हो। यसैबीच नाटोले पूर्वी यूरोपका देशमा रहेका आफ्ना सैन्य ठेगानाहरुमा सैनिक, युद्धपोत र अन्य सामग्रीहरु तैनाथ गरेको छ। उता रुसले समेत युुक्रेनको सीमामा दस हजार बढी सैनिक तयारी अवस्थामा राखेको छ। यद्यपि रुसले भने युक्रेनमाथि आक्रमण गर्न गइरहेको समाचारहरुको खण्डन गर्दै आएको छ। युक्रेनलाई नाटोको सदस्य बनाएर आफूविरुद्ध घेराबन्दी गर्न खोजेको रुसको आरोप छ।

