खोप लगाए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी कोरोना संक्रमित, पूर्व मुख्यमन्त्री अखिलेस पनि पोजिटिभ
लखनउ । उत्तर प्रदेशमा कोरोना संक्रमण लगातार बढिरहेको छ ।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेस यादवपछि वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथ पनि कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमित भएपछि दुबै जनाले आफूलाई एकान्तवासमा राखेका छन्।
विगतका केही दिनयता सम्पर्कमा रहेकाहरुलाई समेत कोरोना जाँच गराउन उनले अपील गरेका छन् ।
योगीले ट्विटमार्फत आफु कोरोना पोजिटिभ भएको बताएका हुन ।
उनको कार्यालयका कैयन कर्मचारीमा समेत कोरोना देखिएको छ ।
योगीले गत ५ अप्रिलका दिन कोरोना खोपको पहिलो मात्रा लगाएका थिए । आम मानिसलाई समेत खोप लगाउन र सतर्कता अपनाउन उनले अपील गरेका थिए ।
यसैबीच भारत सरकारले कक्षा १० र १२ को सम्पूर्ण परीक्षा रद्द गरेको छ । कक्षा १० का विद्यार्थीहरु स्वतः कक्षा ११ मा जाने निर्णय भएको छ भने १२ को परीक्षा लिने या नलिने भन्ने विषयमा भविष्यमा निर्णय गरिने छ ।
भारतमा कोरोना रेकर्डब्रेकः एकैदिन १ लाख ४४ हजार संक्रमित, हरेक १०० मध्ये ९ जनामा कोरोना
नयाँ दिल्ली । सरकारले खोप अभियानलाई तीब्रता दिएपनि भारतमा कोरोना संक्रमणले विकराल रुप लिएको छ । शुक्रबार मात्रै भारतमा एक लाख ४४ हजार ८२९ जनामा कोरोना संक्रमण देखिएको छ । सोही दिन ७७३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाबाट निको हुनेको संख्या भने ७७ हजार रहेको छ । भारतमा कोरोना संक्रमण देखिएपछि आजसम्मको तथ्यांक हेर्दा एकैदिन सबैभन्दा धेरै संक्रमण देखिएको यो पहिलोपटक हो । यसअघि बिहिबार १ लाख ३१ हजार ८७८ जना संक्रमित पाइएका थिए । कोरोना संक्रमणका कारण भारतीय राजनीतिमा निर्णायक भूमिका भएका राष्ट्रिय स्वयम्सेवक संघका प्रमुख मोहन भागवत समेत कोरोना संक्रमित भएका छन् । हरिद्वारको कुम्भ मेलामा सहभागी भएका भागवत नागपुर अस्पतालमा भर्ना भएका छन् । सरकारले खोप अभियान समेत तीब्र पारेको छ । अहिलेसम्म खोपका ९.७८ करोड डोज लगाइएको छ । शुक्रबार मात्रै ३२.१६ लाख मानिसलाई कोरोना खोप लगाइएको छ । कोरोनाबाट चिकित्सकहरु समेत संक्रमित हुने क्रम बढेको छ । बिहिबार मात्रै गंगाराम अस्पतालका ३७ जना चिकित्समा कोरोना देखिएको थियो । यता दिल्लीको एम्स अस्पतालमा चिकित्सकसहित ३२ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमण भने महाराष्ट्रमा देखिएको छ । कूल जनसंख्याका आधारमा हेर्दा भारतमा कोरोना बृद्धि दर ९.२१ प्रतिशत भएको छ । यसको अर्थ अब हरेक १०० जनामध्ये ९ जनामा संक्रमण देखिएको छ ।
भारतीय सहरमा फेरि लकडाउन
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण ह्वात्तै बढेपछि पश्चिम भारतको नागपुर पूर्ण लकडाउन पुनः लागु गर्ने पहिलो ठूलो सहर बनेको छ। मार्च १५ सोमवार सुरु हुने साताव्यापी लकडाउन नागपुर वरपरका जिल्लाहरू पनि लागु हुने बताइएको छ। नागपुर रहेको महाराष्ट्र राज्य पहिलेदेखि नै सबैभन्दा धेरै सङ्क्रमित भएका कारण सङ्क्रमणको केन्द्रमा रहेको छ। भारतमा हालसम्म एक करोड १० लाखभन्दा बढीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १५७,००० भन्दा बढीको मृत्यु भइसकेको छ। हालैका महिनामा सङ्क्रमण बढेको र महाराष्ट्रसहित छ राज्यमा फेरि बढ्न थालेको तथ्याङ्क छ। महाराष्ट्रकै अमरावती जिल्लामा फेब्रुअरीमै साताव्यापी लकडाउन गरिएको थियो। वैज्ञानिकहरूले नयाँ प्रकारको कोरोनाभाइरसका कारण सङ्क्रमण फेरि बढ्न थालेको हुनसक्ने बताएका छन्। भारतमा अहिलेसम्म दुई करोडभन्दा बढीलाई कोभिड खोपको कम्तीमा एक मात्रा दिइसकिएको छ। नागपुरमा गएको दुई साता प्रतिदिन एक हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो। गत २४ घण्टामा त्यहाँ २,००० भन्दा बढी सङ्क्रमित थपिएका छन्। भारतभरिमा महाराष्ट्रकै पुणेपछि नागपुर १३,८०० सक्रिय सङ्क्रमित सहित सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्लामा पर्छ।
ब्राजिलमा कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी
साओ पाउलो । ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको उल्लेख गरिएको छ । तर पनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको कोभिड–१९ को सङ्क्रमणबाट नै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत २४ घण्टामा ब्राजिलमा थप ७० हजार ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १ करोड ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना शुरु भएयता हालसम्म २ लाख ६८ हजार ३७० को मृत्यु भइसकेको छ । ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्यांकअनुसार गत मार्च ३ मा एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो । गत दुई हप्ता यता कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाहरुका आकस्मिक कक्षहरु ८० प्रतिशतभन्दा बढीे भरिएका बताइएको छ । कोभिड –१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो । त्यो क्रम अहिले पनि रोकिएको छैन । अहिले पनि सो महामारीको प्रकोप झन् बढेकोे फियोक्रुजका वरिष्ठ अधिकारी ओरेलानाले बताए । कोरोना विरुद्धको खोपका कारण हालको महामारीको परिस्थितिमा आमूल परिवर्तन भएको पनि उनले बताए । तर मृत्यु हुनेहरुको संख्या नघट्नु दुःखद भएको उनको भनाई छ ।
गिनी बिस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, ६१५ घाइते
याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् । गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन् । मन्त्रालयले घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २९९ जना अस्पतालमा उपचार गराइरहेको जनाएको छ । बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको बिस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो । किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो । घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए । बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो । बिस्फोट स्थलको आगो सोमबार अपराह्नसम्ममा नियन्त्रणमा ल्याइएको थियो । गिनीको बाटा शहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो ।
म्यान्मारमा सुरक्षा फौजद्वारा बिना चेतावनी गोली प्रहार, ३८ जनाको मृत्यु
म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ। म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्। बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ। राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन्। उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ। त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवत: मारिएको देखिन्छ। “म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्नसक्छन्, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ,” उनले भनिन्। सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ। कूपछि नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन्। सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो। सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ। अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन्। सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ। राष्ट्रसङ्घीय दूत बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसङ्घलाई आग्रह गरिन्। उनले म्यान्मार सेनाका उपप्रमुखसँगको कुराकानीमा दण्डनीय कदम उठाउने चेतावनी दिएकी थिइन्। न्यूयोर्कमा संवाददाताहरूसँग उनले भनिन्, “हामी थौरै साथीहरूसँग हिड्न सक्नुपर्छ भन्ने जबाफ थियो।” प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताएका अनुसार सुरक्षा फौजले कैयौँ नगर र सहरहरूमा छोटो चेतावनीमै गोली चलाएको छ। मध्य म्यान्मारको मोनयूआको प्रदर्शनमा कम्तीमा चारजना गोली लागेर मारिएका छन्। स्थानीय पत्रकारले बताए अनुसार कम्तीमा ३० जना घाइते भएका छन्। थप मृत्यु याङ्गुन, मान्डले र मिइनजानमा भएको समाचारमा जनाइएको छ। मिइनजानस्थित एकजना स्वास्थ्य स्वयमेवकले समाचार संस्था एएफपीलाई बताएका अनुसार कम्तीमा १० जना घाइते भएका छन्। उनले भने, “सुरक्षा फौजले अश्रुग्यास, रबरको गोली र गोली चलाएको थियो।” “उनीहरूले हामीमाथि पानीको फोहरा प्रहार गरेनन्, भिड तितरबितर पार्न कुनै चेतावनी पनि दिइएन, उनीहरूले एकैपटक बन्दुकबाट गोली चलाए,” एकजना प्रदर्शनकारीले रोयटर्सलाई भने। मान्डलेमा एकजना विद्यार्थी प्रदर्शनकारीले बीबीसीलाई बताएका अनुसार उनको घर नजिकै प्रदर्शनकारीहरू मारिएका छन्। “त्यस्तै बिहान १० देखि साढे १० को बीचमा प्रहरी र सेना त्यस क्षेत्रमा आए र सर्वसाधारणमाथि गोली चलाउन सुरु गरे, उनीहरूले कुनै चेतावनी दिएनन्,” उनले भनिन्। “रबरको गोली पनि चलाए तर हिंसात्मक ढङ्गले नागरिकको हत्या गर्न गोली पनि चलाए।” सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे टिप्पणी गरेको छैन। पछिल्लो हिंसा दक्षिण पूर्वी एशियाका छिमेकी देशहरूका विदेशमन्त्रीहरूसँगको बैठक लगत्तै भएको छ। उक्त समूहले संयम अपनाउन आग्रह गरेको थियो तर केही मन्त्रीहरूले मात्र नेत्री सू चीलाई रिहा गर्न सैनिक सरकारलाई दबाव दिएका थिए। आइतवारको हिंसामा १८ जना मारिएका थिए। निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यान्मारको सेनाले सङ्कटकाल घोषणा गरेको छ। पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको देखिन्छ। बिबिसी नेपालीबाट
कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
एजेन्सी । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो । सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ । कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो । त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् ।
अस्ट्रेलियाका महान्यायाधिवक्ताद्वारा बलात्कार आरोप अस्वीकार
काठमाडौं । अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। प्रधानमन्त्री स्कट मरिसनलाई गत हप्ता पठाइएको एक पत्रमा उनले एक १६ वर्षीय किशोरीलाई सन् १९८८ मा बलात्कार गरेको आरोप लगाइएको थियो। ती महिलाले गत वर्ष आत्महत्या गरेकी थिइन्। न्यू साउथ वेल्स प्रहरीले यसबारेको अनुसन्धान पूरा गरेको जनाएको छ। प्रधानमन्त्री मरिसनले यसअघि पोर्टरलाई पदबाट बर्खास्त गरिनुपर्ने माग अस्वीकार गरेका थिए। ५० वर्षीय पोर्टरले बुधवार भनेका थिए, “दावी गरिएको त्यो घटना भएको थिएन।”
अफगानिस्तानमा बन्दुकधारीले गरे ३ पत्रकारको हत्या
काठमाडौंः पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले ३ महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन्। युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको छ। कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतीफीले एएफपीसँग बताए। टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरे पनि यसबारे विस्तृत समाचार आइनसकेको बताए। घटनास्थललाई समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ। अफगानिस्तानमा तालिवान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन्। वार्तामा तालिवान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ। सरकार र अमेरिका लगायतका विश्व समुदायले तालिवान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन्। अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिवान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन्।
नाइजेरियामा विद्यालय पढ्ने ३ सय छात्रा अपहरणमुक्त
काठमाडौं । उत्तर पश्चिमी नाइजेरियाबाट गत साता अपहरणमा परेका तीन सय विद्यालय पढ्ने छात्रा अपहरणमुक्त गरिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जामफ्रा राज्यको जंगिबेस्थित एक निजी विद्यालयमा अध्ययनरत तीन सय छात्रालाई गत साता अज्ञात बन्दूकधारी समूहले अपहरण गरेका थिए । सोमबार उक्त राज्यका गभर्नरले सबै छात्रालाई मुक्त गरिएको र उनीहरु सुरक्षित रहेको बताएका छन् । बीबीसीका अनुसार सोमबार नै जामफ्रास्थित एक सरकारी भवनमा अपहरणमुक्त भएका छात्राहरु जम्मा भएको देखिएको छ । गभर्नर बेल्लो म्यानवल्लेले आफ्नो ट्वीटर खातामा अपहरणमा परेका छात्राहरु मुक्त भएको भनिरहँदा आफू अत्यन्तै हर्षित भएको उल्लेख गरेका छन् । अधिकारीहरुले २७९ जना छात्रा अपहरणमुक्त भएको जनाएको छ । गत साता प्रहरीले ३१७ छात्रा अपहरणमा परेको भनेर दिएको विवरण गलत रहेको समेत अधिकारीहरुले दाबी गरेका छन् ।
ट्रम्पले नयाँ दल नखोल्ने, राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नै पार्टीबाट उम्मेदवार हुनसक्ने बताएका छन्। ह्वाइट हाउसबाट बाहिरिएपछिको पहिलो प्रमुख राजनीतिक सम्बोधनमा उनले त्यस्तो बताएका हुन्। उनलेकन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्सलाई फ्लोरिडामा सम्बोधन गर्दै नयाँ पार्टी खोल्ने कुनै योजना नभएको उल्लेख गरे। सीमा सुरक्षा र आप्रवासनबारेको आफ्ना कडा नीति उल्टाउने जो बाइडनको प्रशासनको कडा आलोचक बन्न उनको आग्रह थियो। उनले फेरि पनि नोभेम्बरको चुनावको वास्तविक विजेता आफू रहेको दाबी दोहर्याए। ट्रम्पले राष्ट्रपतिको रूपमा बाइडनको पहिलो महिना निकै विध्वंसक रहेको टिप्पणी गरे।
प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु
सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले १८ जनाको मृत्यु भएको पुष्टि गर्दै कम्तीमा ३० जना घाइते भएका जनाएको हो । यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्यधिक बल प्रयोग गरेको जनाइएको छ । त्यसक्रममा प्रहरीले गोली, अश्रुग्यास, लाठी तथा पानीका फोहोरा हानेको बीबीसीले उल्लेख गरेको छ । म्यान्मारमा फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि विरोधमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । तर आइतबार सुरक्षाकर्मीले गरेको दमन त्यसयताकै हिंसात्मक भएको जनाइएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका दृश्यहरूमा प्रहरीले प्रदर्शनकारीलाई लखेटीलखेटी कुटेका र कैयौं मानिसहरू रक्ताम्य भएका देखिन्छन् । तर सामाजिक सञ्जालमा सार्वजनिक अपुष्ट विवरणअनुसार आइतबारका प्रदर्शनमा प्रहरीले गरेको दमनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । सबैभन्दा ठूलो सहर यांगुनमा अश्रुग्यासले प्रदर्शनकारीलाई भगाउन नसकेपछि प्रहरीले गोली तथा स्टन ग्रिनेट प्रहार गरेको हो । यांगुनमा कम्तीमा ५ जनाको मृत्यु भएको चिकित्सक तथा मानवअधिकारवादीले पुष्टि गरेका छन् । ‘हामी प्रदर्शनस्थलमा आउनेबित्तिकै प्रहरीले गोली चलायो । उनीहरूले चेतावनीको एक शब्दसम्म पनि उच्चारण गरेनन् । केही शिक्षकहरू गम्भीर घाइते भएका छन् र केही नजिकैका घरहरूमा लुकेका छन्,’ प्रदर्शनकारी एमी क्याबलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । उनका अनसार केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, दावेई सहरमा गरिएको र्यालीका क्रममा प्रहरीले दर्जनौं राउन्ड गोली चलाएको थियो । त्यहाँ कम्तीमा ४ जनाको मृत्यु भएको हो । अन्य प्रदर्शनकारीको म्यान्डले, लास्हिओ, मेइक, बागो र पोकोक्कु सहरमा ज्यान गएको हो । यसअघिका प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा ३ जनाको मृत्यु भएको थियो । मानवअधिकारवादीहरूका अनुसार करिब एकहजार जना पक्राउ परिसकेका छन् । बिहीबार मात्रै ७ सयभन्दा बढी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । लोकतन्त्र पक्षधरहरूले सैनिक नियन्त्रणमा रहेकी नेत्री आङ सान सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् । पछिल्ला दिनहरूमा प्रदर्शन दबाउन सेना समर्थित हतियारधारीहरूसमेत आक्रमणमा उत्रिन थालेका छन् । बिहीबार आफूहरूले गरेको प्रदर्शनलाई हिंसात्मक बनाउने उद्देश्यले झन्डै एक हजार सैनिक समर्थक खटाइएको विद्यार्थीहरूले दाबी गरेका थिए । उक्त प्रदर्शनका क्रममा पत्रकार तथा मानवअधिकारकर्मीहरूलाई समेत निसाना बनाइएको थियो । सैनिक अधिकारीले विरोधीमाथि लोकतान्त्रिक व्यवहार गरिरहेको सेना प्रमुख ह्लाइङको भनाइ छ । त्यसका साथै प्रदर्शनका क्रममा निकै न्यून संख्यामा सुरक्षा फौज परिचालन गरिएको उनको दाबी छ । ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् । नोभेम्बरमा भएको चुनावमा एनएलडीले झन्डै ८० प्रतिशत मत प्राप्त गरेको थियो । तर चुनावका क्रममा व्यापक धाँधली गरिएको र निर्वाचित सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । त्यसयता शीर्ष नेताहरूलाई नजरबन्दमा राखिएको छ । निर्वाचन आयोगले भने चुनाव निष्पक्ष र धाँधलीरहित सम्पन्न भएको जनाएको थियो । प्रदर्शन चर्कंदै गएसँगै सैनिक शासकमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएको छ । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन् । अमेरिका, बेलायत र क्यानाडाले वरिष्ठ सैनिक अधिकारीहरूलाई प्रतिबन्धको घोषणासमेत गरिसकेका छन् । यसैबीच, ‘कु’ को विरोधमा अभिव्यक्ति दिएको भोलिपल्ट संयुक्त राष्ट्रसंघका लागि म्यान्मारका राजदूतलाई बर्खास्त गरिएको छ । राष्ट्रसंघका लागि म्यान्मारका राजदूत क्याव मोए तुनले शनिबार एक भावुक भाषणका क्रममा ‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण नगरेसम्म सेनासँग कसैले पनि समन्वय गर्न नहुने’ बताएका थिए । तुनको भनाइ सार्वजनिक भएसँगै म्यान्मारको सैनिक सरकारले उनलाई बर्खास्त गरिएको जनाएको हो । राष्ट्रसंघीय महासभामा शुक्रबार बोल्दै तुनले ‘म्यान्मारमा लोकतन्त्र पुन:स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले आवश्यक कदम चाल्नुपर्ने’ बताएका थिए । आफू सैनिक सरकारको नभई आङ सान सुचीको सरकारको प्रतिनिधिका रूपमा रहेको उनको भनाइ थियो । ‘सैनिक ‘कु’ तथा निर्दोष जनतामाथिको दमन रोक्न र राज्यसत्ता जनतामा फिर्ता गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल अन्य कडा कदम चाल्नैपर्छ,’ तुनले भनेका थिए । म्यान्मारको सरकारी टेलिभिजनले शनिबार ‘तुनले देशद्रोही कार्य गरेका तथा राजदूतको शक्ति र जिम्मेवारीको दुरुपयोग गरेका’ जनाएको थियो । तर राष्ट्रसंघीय एक अधिकारीले म्यान्मारको सैनिक सरकारलाई आफूहरूले पहिचान नगर्ने बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले ‘क्याव मोए तुनलाई नै म्यान्मारको राजदूतका रूपमा पहिचान गर्ने’ बताएका छन् ।
अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
वासिङ्टन : कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड-१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ । राष्ट्रपति बाइडेनले जारी गर्नु भएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ । एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित गरेसँगै जोन्सनको खोपले पनि अमेरिकी एफडीएबाट स्वीकृति पाएको छ । यस राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने लगायत आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सोझै १४०० डलर राहत दिने कुरा समेटिएको छ । यो प्रस्तावलाई अब सिनेटले पारित गर्नु पर्नेछ । अमेरिकी प्रशासनले कोभिड विरुद्ध जुध्न यसअघि पनि २२ खर्ब डलरको आर्थिक राहत प्याकेज स्वीकृत गरिसकेको छ । अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म झण्डै पाँच लाख व्यक्तिको ज्यान गइसकेको छ । शनिबार पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक हजार ८४९ जनाको ज्यान गएको थियो । यसैबीच, युरोपेली मुलुकहरुमा कडा लकडाउन गरिएका छन् । फ्रान्समा अझ कडा लकडाउन गरिएको छ ।
डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ
कोपेनहेगन । कोरोना भाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । प्रदर्शनमा सुरुमा झण्डै ६०० सय सहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ ।
बाइडेन पनि उही बाटोमाः इरान समर्थित विद्रोहीहरुमाथि अमेरिकी हवाई आक्रमण
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो आक्रमणको अनुमति दिएपछि अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको छ। आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो । पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ। यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो । यसका साथै उक्त आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए । यसअघि बगदादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको थियो । जहाँ हरित क्षेत्र सहित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरू थिए।
एक सशस्त्र समूहद्वारा ३ सय १७ विद्यार्थीकाे अपहरण
कानो (एएफपी) : नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय १७ विद्यार्थीलाई अपहरण गरेको छ । अपहृत विद्यार्थीको खोजी भइरहेको बताइएको छ । ‘सशस्त्र समूहले एउटा माध्यमिक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन्’, प्रहरी प्रवक्ता मोहम्मद सेहुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘जाम्फारा राज्यको प्रहरी कमान्डले सेनाको समन्वयमा संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।’ स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तर–पश्चिम क्षेत्रको विज्ञान विषय पढाइ हुने उक्त विद्यालयबाट विद्यार्थीलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महŒवपूर्ण सम्पत्ति लुट्ने गरेका घटना सञ्चारमाध्यममा पटक–पटक आएका छन् । उक्त समूहले गत साता पनि यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेको थियो । डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उनी त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका ३ सय किशोर अपहरणमा परेका थिए । दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विद्यार्थीलाई छाडिएको थियो । पछिल्लो अपहरणबारे नाइजेरियाको संघीय सरकारको कुनै प्रतिक्रिया आइसकेको छैन ।

