भारत र पाकिस्तानका सेना गोली हानाहान रोक्न सहमत
काठमाडौं । भारत-पाकिस्तानका सेनाबीच भएको वार्तामा दुवै पक्ष फेब्रुअरी २४ मध्यरातदेखि सीमाक्षेत्रमा गोली हानाहान रोक्न सहमत भएको बीबीसी न्यूज हिन्दीले जनाएको छ।
दुवै देशका सेनाका डीजीएमओबीच हटलाइनमार्फत वार्ता भएको थियो। सो वार्ता दुवै देशबाट सीमामा रहेको बुरी गाउँ नजिक लगातार गोली हान्ने काम भएपछि भएको थियो।
भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रमा ३,३२३ मिटर लामो सीमा रहेको छ।
वार्तापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ: ‘दुवै पक्षले सीमारेखा र अन्य क्षेत्रमा पूर्वसहमति, आपसी समझदारी र युद्धविरामलाई फेब्रुअरी २४-२५ रातिदेखि पूर्ण रूपमा पालना गर्ने छ।’
फेसबुकले अस्ट्रेलियामा न्यूज पेज खुल्ने बनाउने
काठमाडौं । फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने घोषणा गरेको छ। एउटा प्रस्तावित कानुनको विरोधमा गत बिहीवारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो। उक्त कानुनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो। अस्ट्रेलियाका एक वरिष्ठ अधिकारीले फेसबुकमा न्यूज पेजहरू “आगामी दिनमा” फेरि खुल्ने बताएका छन्। उनका अनुसार त्यसका लागि कानुनमा संशोधन गरिनेछ। ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे “न्यायोचित” संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ। विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए। फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको मङ्गलवार जनाएको छ।
कंगोमा इटालियन राजदूतको हत्या
एजेन्सीः प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् । उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए । राष्ट्रसंघको उक्त टोली विश्व खाद्य कार्यक्रमसँग आवद्ध रहेको बताइन्छ । उक्त टोलीमा इटालीका एक प्रहरी अधिकारी पनि सामेल थिए । सो हमलामा उनको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ । ४३ वर्षीय राजदूत अटानासियो सन् २०१७ देखि कंगोमा कार्यरत थिए । कयौं वर्ष गृहयुद्ध झेलेको कंगोमा सन् १९९४ देखि २००३ बीचको अवधिमा करिब ५० लाख मानिसको मृत्यु भएको बताइन्छ । देशको पूर्वी क्षेत्रमा अझै पनि दर्जनौं सशस्त्र समूह क्रियाशील छन् ।
भारतमा फेरि बढ्यो
काठमाडौं । भारतको केही राज्यमा कोरोनाको जोखिम बढेको छ । महाराष्ट्र, मध्यप्रदेश, केरला, जम्मु काश्मिरमा दैनिक थपिने सङ्क्रमितको संख्यामा वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा पछिल्लो चौबीस घण्टामा १४ हजार १९९ जना सक्रिय सङ्क्रमित थपिएको छ । जसमध्ये महाराष्ट्रमा मात्रै छ हजार ९७१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । जुन पछिल्लो १२१ दिन यताकै सबैभन्दा बढी हो । आर्थिक महानगर मुम्बईमा मात्रै नौ सयभन्दा बढी सङ्क्रमित थपिएका छन् । जुन पछिल्लो ८४ दिन यताकै सबैभन्दा बढी हो । मुम्बईमा हालसम्म तीन लाख १९ हजार १२८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । महाराष्ट्रमा सङ्क्रमितको संख्या २१ लाख ८८४ पुगेको छ । यद्दपी दैनिक थपिने सङ्क्रमितको संख्या पछिल्लो सेप्टेम्बर महिनामा हालसम्मकै उच्च २० हजारभन्दा धेरै टाढा रहेको छ । भारतीय सञ्चारमाध्यमहरुले दैनिक थपिने सङ्क्रमितको ८५ प्रतिशत महाराष्ट्र, केरला, मध्यप्रदेशसहितका पाँच राज्यका छन् । महाराष्ट्रमा लगातार छैठौं दिनसमेत दैनिक सङ्क्रमितको संख्यामा वृद्धि भएको हो । भारतमा हालसम्म एक करोड दश लाख पाँच हजार ८५० जनामा सङ्क्रमित भएका छन् । हाल एक लाख ५० हजार ५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । एक करोड छ लाख ९९ हजार ४१० जना कोरोनामुक्त भएका छन् । भारतको स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार हालसम्म एक करोड ११ लाख १६ हजार ५८४ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।
इङ्ग्ल्याण्डमा लकडाउन खुकुलो पार्ने तयारी
लन्डनः बेलायतमा कोरोना संक्रमणदर घटेसँगै हाल जारी तेस्रो चरणको लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । यसअघि पनि गतवर्ष मार्च २३ देखि ३ महिना र नोभेम्बर ५ देखि ४ हप्ता लकडाउन जारी गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आइरहेको सरकारी तथ्यांकले देखाएको छ । हाल देखिएको निरन्तर सुधारका कारण लकडाउन सहज पार्ने उद्देश्यस्वरूप आउँदो मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु खोल्ने घोषणा यसअघि नै प्रधानमन्त्री बोरिस जोन्सनले गरिसकेका छन् । हाल जारी लकडाउन थप सहज बनाउने सम्बन्धमा प्रधानमन्त्री बोरिस जोन्सनले भोलि सोमबार घोषणा गर्ने तयारी गरेका छन् । प्राप्त जानकारी अनुसार लकडाउनलाई ३ तहमा खुकुलो पार्दै लैजाने योजना छ । जसअनुरुप मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु सञ्चालन, दोस्रो चरणमा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालन र तेस्रो चरण अन्तर्गत पब तथा रेष्टुरेन्टहरु सञ्चालन गरिने छ । यसबारेमा अन्तिम निर्णय आज बस्ने कोभिड ओ’ कमिटीले गर्ने बताइएको छ । प्रधानमन्त्रीले भोलि अपरान्ह क्याबिनेट बैठकको अध्यक्षता गर्नेछन् र साँझ लकडाउन सम्बन्धि भावी योजना घोषणा गर्ने कार्यक्रम छ । आगामी जुलाई अन्तसम्ममा बेलायतका सम्पूर्ण वयस्कहरुलाई कोरोना विरुद्धको खोप दिइसक्ने प्रधानमन्त्रीले आजै उद्घोष गरेका छन् । बेलायतमा जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएसँगै संक्रमणमा पनि कमी आएको छ । कोभिडविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने विश्वकै पहिलो मुलुक बेलायतमा हाल फाइजर र एस्ट्रानजेनेका खोप एक करोड ७० लाख बढी वितरण गरिसकिएको डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोसल केयरले जनाएको छ । शनिबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म बेलायतमा एक लाख २० हजार ३६५ जनाकोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ ।
युनाइटेड एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो
डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए । विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो । आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो । विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य थिए । विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै नभएको बताए । युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ । विमानका पाइलटले विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पाऔं भन्दै टावरसँग सम्पर्क गरेका थिए । एएफपी
म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु
काठमाडौंः म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा २ जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा २ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा २ व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए । एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको सङ्ख्या २ पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ ।
कोरोना खोपको दुरुपयोग भएपछि अर्जेन्टिनाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
अर्जेन्टिना : अर्जेन्टिनाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । प्राथमिकताको सूचीमा नपरेका मानिसले अनधिकृत रूपमा कोरोना विरुद्धको खोप लगाएपछि स्वास्थ्यमन्त्री गीन्स गोन्जालेज गार्सियाले शुक्रबार राजीनामा दिएका हुन् । आफू बाहिर भएका बेला अनावश्यक रूपमा गोलमाल गरेर केही व्यक्तिहरुले खोप लगाएकोमा आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन् । यसबारे अनधिकृत रुपमा खोपको दुरुपोग गरेको भन्दै मिडियामा समेत समाचार आएपछि मन्त्रीलाई दबाब सिर्जना भएको थियो । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले मन्त्री गीन्समाथि आरोप लागेपछि राजीनामाका लागि सोधेको पनि स्थानीय मिडियाले जनाएका छन् । जहाँ १० व्यक्तिले उचित प्रक्रिया विना नै खोप लिएको र तीमध्ये वरिष्ठ पत्रकार समेत भएको बताइएको छ ।
काबुल विस्फोटमा ५ को मृत्यु
अफगानिस्तान । राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् । यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।
बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त
लण्डन : बेलायतका राजकुमार ह्यारी मान पदवीमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरूले नै मानपदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर, शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरूको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरूको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् । राजपरिवारको सदस्यका रूपमा उनीहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।
फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किँदा दक्षिण फ्रान्समा पुरै अन्धकार
जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत् काटिएको छ। घटना बुधवार अपराह्न म्यानोस्क नजिकै ला क्यास्टले गाउँमा भएको हो। जमिनको सतह नजिकै उड्ने तालिमका लागि उडेका दुई रफाल विमानले तार काटेको ‘दुर्लभ घटना’बारे अनुसन्धान सुरु गरिएको छ। “यो यति तल आएको थियो कि यसले निकै ठूलो आवाज निकालेको थियो। मैले माथि हेरेँ र दोस्रो विमान देखेँ,” गाउँका मेयरले स्थानीय पत्रिकालाई बताएका छन्। “विमान यति तलबाट उडेको थियो कि मैले आफैँलाई भनेँ: यो विद्युत्को तारभन्दा तल जाँदैछ,” गाडी चलाइरहँदा विमान देखेका बेनोइट् ग्वाङ्गले बताए। अलि पर पुग्दा उनले तार जमिनमा झरेको देखे। “दुईमध्ये एक विमान तारमा ठोक्कियो र तार चुँडायो। मैले तत्काल आपत्कालीन सेवा र विद्युत् सेवा दिने कम्पनीलाई फोन गरेँ,” उनले भने। तार झरेपछि लागेको आगो तत्कालै नियन्त्रण गरिएको अर्को एउटा स्थानीय पत्रिकाले जनाएको छ। उक्त गाउँमा केही घण्टा विद्युत् बन्द भयो। सुरक्षाको कारण देखाउँदै केही समय सडकसमेत अवरुद्ध पारिएको थियो। “कोही पनि घाइते भएन। घटनाले विमानचालकलाई सुरक्षित रूपमा विमान अवतरण गराउन बाध्य पार्यो,” फ्रान्सेली एअर फोर्सका प्रवक्ताले ला प्रोभेन्स पत्रिकालाई भने।
म्यान्मार प्रदर्शनमा गोली लागेकी युवतीको मृत्यु
काठमाडौं । म्यान्मारमा एक २० वर्षीया महिला जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी बनेकी छन्। गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा, रबरको गोली र गोली प्रयोग गर्दा मा थ्वे हाइङको टाउकोमा गोली लागेको थियो। राजधानीमा रहेको अस्पतालले बिहान ११ बजे उनको मृत्यु पुष्टि गरेको हो। उनको अन्तिम संस्कारको तयारी भइरहेको बताइएको छ। एक चिकित्सकले एएफपी समाचारसंस्थालाई उनका लागि न्याय खोज्दै अगाडि बढ्ने बताएका छन्। उनी अस्पतालमै रहँदा २० वर्ष पुगेकी थिइन्।
४० करोड किमि यात्रा तय गर्दै ७ महिनामा मंगल ग्रहमा पुग्यो नासाको रोभर, ऐतिहासिक कदम भन्दै खुशियाली
अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको । नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। “हामीले गर्यौँ। हामी त्यहाँ पुग्यौँ,” उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो। सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ/छैन भनेर हेरिने छ। उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ। यदि उचित वातवारण पाए जीवन ब्युँतिन्छ कि भन्ने प्रश्नको जवाफ खोजिनेछ यो सन् १९७०को दशकको भाइकीङ मिसन पछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ। संयुक्त अरब एमिरेट्सको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण चीनको मङ्गल ग्रह अभियान अन्तर्गत अन्तरिक्षमा यान पठाइयो छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो। मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो। पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन। आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मङ्गल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ। एउटा ग्रहमा बसेर अर्कोमा उडान गरिने यो पहिलो फ्लाइट हो। अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ। पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो। हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ।
विष्फोटमा परी ४ बालबालिकाको मृत्यु
कम्पाला । युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त बम विस्फोट हुँदा बालबालिकाहरु ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य छ जना गम्भीर घाइते भएका प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । घाइतेहरु मध्ये एक बालकको मृत्यु भएको जनाइएको छ । घाइते अन्य पाँच बच्चाहरुलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ । संयुक्तराष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजार भन्दा बढी शरणार्थीहरु रहेका छन् ।
अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न रोक
काठमाडौं । अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार हेर्न तथा शेयर गर्न रोक लगाएको छ । यसबाट महत्पूर्ण सूचनामा आम मानिसको पहुँच कम हुने खतरा बढेको छ फेसबुले आफ्नो पेजमा समाचार राखे बापत सम्बन्धित सञ्चार माध्यमहरुलाई पैसा दिनु पर्ने प्रस्ताविक कानुन अष्ट्रेलिया सरकारले ल्याउन लागेको सन्दर्भमा सरकारले सो प्रतिवन्ध लगाएको हो । बीबीसीका अनुसार अष्ट्रेलियाका बासिन्दाले विहीबार सबेरैबाट फेसबुक पेजमा सबै स्थानीय र विश्वका अन्य समाचार माध्यमका समाचारहरू हेर्न पाएनन् । यो कदमसँगै अष्ट्रेलिया बाहिरबाट पनि कुनै पनि अष्ट्रेलियाली समाचार तथा प्रकाशनहरु हेर्न सकिएको छैन । यस किसिमको समाचारहरु माथिको प्रतिवन्धले समुदायमा ठूलो असर पुगेको बताइएको छ । यस कदमपछि अष्ट्रेलिया सरकारको कडा अलोचना भएको छ र यस किसमको सामाजिक सञ्जालको बाजारमा व्यापक प्रभाव रहेको यसबाट स्पष्ट भएको छ । कानुननै पास नहुँदै सरकारबाट भएको यो कदमको धेरै क्षेत्रबाट आलोचना भएको छ । साथै फेसबुकले गुगलसँग सम्झौता गरी केही सञचार माध्यमलाई समाचार वापत केही रकम भुक्तानी दिन शुरु पनि गरेको छ ।
पूर्वराष्ट्रपतिले नियम मिचेर खोप लिएको आरोप
पेरू । पूर्वराष्ट्रपति मार्टिन भिज्कार्रालाई नियम मिचेर आफूले कोभिड-१९ खोप लिएको आरोप लागेको छ। उनले आफूले सपत्नीक गत अक्टोबरमा खोपको परीक्षण चलिरहँदा स्वयंसेवक बनेर खोप लिएको दाबी गरेका छन्। तर मङ्गलवार संसद्मा भएको सुनुवाइमा उपस्थित भएका एक चिकित्सकले पूर्वराष्ट्रपतिको दाबीको खण्डन गरेका छन्। खोप परीक्षणको नेतृत्व गरेका डा. जर्मन मलागाले भने, “उनले मसँग दुईवटा खोपका लागि अनुरोध गरे।” भिज्कार्रालाई गत वर्ष नोभेम्बरमा भ्रष्टाचारको छुट्टै आरोपमा महाभियोग लगाएर पदमुक्त गरिएको थियो। एउटा पत्रिकाले उनले तथा अन्य सरकारी अधिकारीहरूले सुरुमै खोप लिएको विषयमा समाचार प्रकाशित गरेपछि पूर्वराष्ट्रपति फेरि विवादमा परेका हुन्। पेरूका राष्ट्रपति फ्रान्सिस्को सागास्टीका अनुसार ४८७ व्यक्तिले नियम मिचेर चीनमा बनेको कोभिडविरुद्धको खोप लिएका थिए। बीबीसी

