ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

वासिङ्टनः संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट सम्बोधन गरेका छन् ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनीबाट कोरोना भाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोराना भाइरसका लक्षणहरु नदेखिएको र उनी पूर्ण स्वस्थ रहेको बताए ।

अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोरानाभाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ । राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यंज्ञ गर्दै आएका छन् ।

ह्वाइट हाउसको शनिबार आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाएनन् । तर उनका वरिपरि अरु व्यक्ति थिएनन् । कोरोना उपचारपछि उनी गत सोमबार ह्वाइट हाउस फर्किएका थिए ।

राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिएका राष्ट्रपति ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ ।

राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा सम्बोधन गरी मंगलबार र बुधबार क्रमशः पेन्सिलभेनिया र आयोवा राज्यमा चुनावी सभामा सम्बोधन गर्नेछन् ।

ह्वाइट हाउसको सम्बोधनमा उनी निकै आत्मबलका साथ बोलेका थिए । उनले विगतमा झैं विपक्षी डेमोक्रेटमाथि समाजवादी र वामपन्थी एजेन्डा बोकेको आरोप लगाएका थिए । आफूले कानुनी शासन र अर्थतन्त्रलाई सही बाटोमा ल्याउन निरन्तर कार्य गरिरहेको दाबी गरेका थिए । रासस–एपी

अस्पतालबाट फर्किए ट्रम्प, भने, ‘कोरोनासँग डराउनु पर्दैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट व्हाइट हाउस फर्केका छन् । तीन दिनअघि अस्पताल भर्ना गरिएका ट्रम्प सोमबार राती फर्किएका हुन । फर्केपछि उनले मास्क खोल्दै फोटो खिचाएका थिए । ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए। अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्। त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ूसाँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।ू ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ। जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ। अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्। डा सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए। उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए। परस्पर विरोधी विवरणहरूपछि ट्रम्पको अस्वस्थताको गम्भीरताबारे प्रश्नहरू बाँकी नै छन्। ह्वाइट हाउसभित्र देखिएको सङ्क्रमणको दायराबारे पनि अझैँ अस्पष्टता छ। अस्पतालबाट बिदा हुँदै उनले सबैलाई धेरै धन्यवाद भन्दै प्रश्नहरूको बेवास्ता गरेका थिए। जसमा एकजना संवाददाताको प्रश्न थियो, राष्ट्रपति के तपाईँ सुपर स्प्रेडर हो ? ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गरेका छन्। उनले भनेका छन्, ूहामीले ट्रम्प प्रशासन अन्तर्गत साँच्चिकै राम्रो औषधी र ज्ञानको विकास गरेका छौँ, मैले २० वर्षअघिभन्दा राम्रो महसुस गरिरहेको छु।ू अमेरिकामा कोभिड(१९ का ७४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन्। भाइरसबाट सङ्क्रमित दुई लाख १० हजार अमेरिकीको मृत्यु भएको छ। ट्रम्पसँग नजिक रहेका कम्तीमा १२ जनामा भाइरस पोजेटिभ देखिएको छ। त्यसमा कैयौँ कनिष्ठ कर्मचारी छन्। यसअघि कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेकै बेला केही बेर गाडीमा बाहिर निस्किएको घटनालाई लिएर विज्ञहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए। उनले अस्पताल बाहिर रहेका समर्थकहरूप्रति आभार व्यक्त गर्न त्यसो गरेका थिए। तर त्यसो गर्दा उनको सुरक्षाका लागि खटिएका सदस्यहरू जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको थियो। जसमा उनीसँग गाडीमा सवार व्यक्तिले १४ दिन क्वारन्टीनमा बस्नुपर्ने बताइएको छ।

अफगानिस्तानमा बम आक्रमण, जिल्ला प्रमुखको मृत्यु

काबुल : अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ । आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो । हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराएका छन् । उनले तालिबानीहरूले गरेका बम आक्रमणमा परी उनको ज्यान गएको जानकारी दिए । रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहनुभएको जानकारी गराइएको छ । प्रान्तीय गभर्नर जवाकले उक्त जिल्लामा रहेका अर्का कानुनी अधिकारी पनि नराम्ररी घाइते भएको जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमलाई दिएका छन् । पछिल्ला केही दिनहरुमा उक्त क्षेत्रमा तालिबानीले बम हमलाका घटना गराइरहेका छन् । अफगान सरकार र तालिबानीकाबीचमा कतारको दोहामा हालै वार्ता सुरु भएको बताइएको थियो । तर, यता अफगानिस्तानमा भने तालिबानीहरुले भने हिंसात्मक हमला जारी नै राखेका छन् । एजेन्सी

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

नयाँदिल्लीः भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४०२ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६२८ जना निको भएका छन् । कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार ५३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार ८०१ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ ।

संकटमा मोदीः किसान विधेयकको विरोधमा अकाली दलले तोड्यो २४ वर्षदेखिको सम्बन्ध, समर्थन फिर्ता

नयाँ दिल्ली । भारतीय जनता पार्टीको सरकारले सदनबाट पारित गरेका तीनवटा किसान विधेयकको बिरोधका कारण मोदी सरकार संकटमा परेको छ । भाजपा सम्मिलित नेशनल डेमोक्र्याटिक एलायन्सबाट अकाली दलले समर्थन सम्बन्ध तोडने निर्णय गरेको हो । अकाली दलबाट मोदी मन्त्रीमण्डलमा रहेकी हरसिमरत कौरले यसअघि नै राजिनामा दिइसकेकी थिइन । पञ्जाबमा मुख्य जनाधार भएको अकाली दलले किसानहरुको पक्षमा रहेकोले मोदी सरकारलाई समर्थन नसक्ने जनाएको छ । शनिबार बसेको अकाली दल केन्द्रीय कार्यसमितिको बैठकले एनडीएबाट अलग हुने निर्णय गरेको हो । अकाली दल र भारतीय जनता पार्टीबीच २४ वर्षदेखि गठबन्धन थियो । सरकारले कृषि क्षेत्रमा सुधारको नाममा तीनवटा विधेयक गत साता सदनबाट पारित गरेको थियो । यी विधेयकहरु यसअघि अध्यादेशका रुपमा जारी भएका थिए । किसानहरुले भने यी विधेयकहरुले किसानहरु मार्कामा पर्ने र कृषि क्षेत्रमा बजार र विचौलियाहरुले कब्जा गर्ने आरोप लगाएका छन् । गत साता मात्रै किसान संगठनहरुले भारत बन्दको आव्हान समेत गरेका थिए । अकाली दलले समेत समर्थन फिर्ता लिएपछि आन्दोलन झनै चर्किने देखिन्छ ।

भारतमा साढे ९ लाख बढी सक्रिय कोरोना संक्रमित

नयाँदिल्ली : भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट कुल सङ्क्रमितमध्ये ९ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार कुल नौ लाख ६० हजार ९६९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोनाबाट सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये एक हजार ८९ सङ्क्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो । कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भारतमा ४८ लाख ४९ हजार ५ सय ८५ रहेको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन् । भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ ।

युक्रेनमा सैनिक विमान दुर्घटना : मृतकको संख्या २६ पुग्यो, एक दिन राष्ट्रिय शोक

किभ : युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । सैन्य प्रशिक्षणका लागि उडानमा रहेका र विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको सम्झनामा शनिबार राष्ट्रिय शोकको घोषणा गरिएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा हस्ताक्षरित एक शोक विज्ञप्तिमा उल्लेख छ । शुक्रबार २७ जनासहित उडेको विमान दुर्घटना हुँदा यस पहिले २५ जनाको मृत्यु भइसकेको युक्रेनीका सैनिक अधिकारीहरुले जानकारी गराएका छन् । थप एक व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएको उल्लेख गरिएको छ । राजधानी किभ क्षेत्रमा भएको विमान दुर्घटनामा परेका प्रायः सबै व्यक्ति सैनिक रहेको पनि सेनाले बताएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भइसकेको सरकारले बताएको छ । युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनामा परेको बताएका छन् । किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो समाचार दिएका हुन् । रक्षा मन्त्रालयले विमान इन्जिन फेल भएको कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट भएको जनाएको छ ।

युक्रेनमा सैनिक विमान दुर्घटना : कम्तिमा २२ जनाको ज्यान गयाे

काठमाण्डौंः युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बीबीसीले जनाएको छ । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने २ जना घाइतेको उद्धार गरिएको छ । अझै पनि ३ जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

काठमाडौंः अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ । आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका थिए । तालिबानी सशस्त्र लडाकूले गरेका ती हमलाहरुमा परी २५ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । उरुज्गान प्रान्तको गिजाब जिल्लामा तालिबानीहरुले सो हमला गरेका बताइएको छ । आइतबार तालिबानहरुले उत्तरी अफगानिस्तानका सुहादा र खास जिल्लाका पनि कैयौँ स्थानमा हमला गरेका थिए । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकू मारिएका बताइएको थियो । आइतबारै बिहानीपख भएको सो हमलामा परी चार जना प्रहरी पनि मारिएका थिए । आइतबारै तालिबानहरुले यो अर्काे हमला गरेका छन् । उनीहरुले सुनियोजितरुपमा एकै पटक ती सहरमा हमला गरेका अधिकारीले जनाएका छन् । उनीहरुले सुरक्षा जाँच चौकीमा ठूलो संख्याका लडाकूसहित आक्रमण गरेका थिए । हालैमात्र अफगान सरकार र त्यहाँका तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । वार्ता जारी नै रहेका बेला यता तालिबानले भने आक्रमण शुरु गरेका छन् तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन । एजेन्सी

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

भारतले माल्दिभ्सकोे कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी २४० मिलियन डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द भएपछि यहाँको अर्थतन्त्रमाआएको सङ्कटबाट छिमेकी मुलुकलाई उकास्न भारत सरकारले उक्त सहयोगको घोषणा गरेको बताइएको छ । माल्दिभ्समा जुलाईको मध्यदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गरिएपनि विदेशी पर्यटकहरूको ठूलो सङ्ख्या यहाँ फर्कन सकेका छैनन् । माल्दिभ्सस्थित भारतीय उच्च आयोगले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ‘कठिन आर्थिक अवस्थालाई पार गर्न आर्थिक सहयोग’ को अनुरोध गरेपछि यो ऋण सहयोग उपलब्ध गराइएको हो । “माल्दिभ्स आफ्नै प्राथमिकता अनुरुप घरेलु आर्थिक स्थिति सुधार गर्न यो रकम प्रयोग गर्न स्वतन्त्र रहनेछ,” भारतीय उच्च आयोगले आइतबार जारी विज्ञप्तिमा भनिएको छ । स्टेट बैंक अफ इण्डिया (एसबीआई) मा माल्दिभ्स सरकारले जारी गरेको ट्रेजरी बन्डको बिक्रीले उक्त रकम जम्मा गरिनेछ जसको चुक्ता गर्न १० वर्षको अवधि दिइनेछ । एक हजार १९२ टापुहरूकोे मुलुकमा पूर्व पश्चिममार्गमा पुल तथा कजवे ९पानीमाथि निर्माण गरिने सडक० निर्माण गर्न अगस्टमा नयाँ दिल्लीले ४० करोड डलरको सहयोग गरेको थियो । पूर्व राष्ट्रपति अब्दुल्ला यामीनको शासनकालमा मालदिभ्सले बेइजिङबाट महत्वपूर्ण पूर्वाधार निर्माणका लागि सन् २०१८ एक अर्ब ४० करोड ऋण लिएको सोलीह नेतृत्वकोे सरकारले बताएको छ । भारतको परराष्ट्र मन्त्रालयका अनुसार सोलीह सत्तामा आएपछि भएको सम्झौता अनुसार मालदिभ्सलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग दिल्लीले दिनेछ । कोरोना भाइरस सङ्क्रमणको महामारीसँग जुझ्नका माल्दिभ्समा अहिले पनि रातको समयमा कर्फ्यू रहेको छ । मालदिभ्समा अहिलेसम्म कोभिड-१९सङ्क्रमितको सङ्ख्या ९ हजार ६ सय रहेको छ भने ३३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । एसियाली विकास बैंकले गत वर्ष ५.९ प्रतिशतको आर्थिक वृद्धि रहेको माल्दिभ्सको अर्थतन्त्र यो वर्ष २०.५ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ । एजेन्सी

चीनमा गरिबी निवारणका लागि ५ वर्षमा १५ खर्ब युआनकाे ऋण परिचालन

बेइजिङ : चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले १५ खर्ब चिनियाँ युआनको ऋण परिचालन गरेको बताएको छ । बैङ्कले गरिबी निवारणका लागि अल्पसङ्ख्यक तथा गरिब समुदायको आर्थिक तथा सामाजिक दिगो विकासका लागि उक्त ऋण सहयोग दिएको हो । केही वर्षयता सरकारको गरिबी निवारणको नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरिब समुदाय रहेका क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको छ । बैङ्कले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ्ग सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ । एजेन्सी

भारतमा गहना व्यापारीको परिवारका ४ जना झुन्डिएको अवस्थामा फेला

काठमाडौंः ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झुन्डिएको अवस्थामा फेला परेका छन् । घटना भारतको जयपुरको हो । कानोता इलाकास्थित राधिका बिहारमा यशवन्त आफ्नो परिवारसँगै बस्दै आएका थिए । प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृतक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्रताडित गरेका थिए । अन्तत बाध्य भएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले, यो परिवारको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । फरेन्सिक टिमले पनि चेकजाँच गर्दैछ । शनिबार परिवारलाई बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । ढोकाभित्रबाट लगाइएको थियो । उनीहरुले ढोकाढक्ढक्याउँदा कुनै आवाज आएन । त्यसपछि उनीहरुले झ्यालबाट चिहाएर हेर्दा पुरै परिवार झुन्डिएको अवस्थामा थियो । यसपछि उनीहरुले प्रहरीलाई सूचना दिए । प्रहरीका अनुसार तीन बाबुछोरा एउटै कोठामा झुन्डिएका थिए भने श्रीमती अर्कै कोठामा भुन्डिएकी थिइन् । श्रीमतीको आँखामा पट्टी थियो । दुबै छोराको खुट्टा बाँधिएको थियो । छिमेकीहरुका अनुसार राति केही मानिस घर आएका थिए । लेनदेनका विषयमा उनीहरुसँग केही विवाद चलेको सुनिएको थियो । तर त्यसपछिका घटनाक्रम कसैलाई थाहा भएन । यशवन्त गहनाको काम गर्थे । मिडिया रिपोर्टमा बताइएअनुसार प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ। यद्यपी, यसबारे प्रहरीले प्रतिक्रिया दिन अस्विकार गरेको छ । छोराहरुको खुट्टा र आमाको आँखामा पट्टी किन बाँधियो भन्ने विषयमा पनि प्रहरीले कुनै सुचनामा बाहिर ल्याएको छैन । प्रहरी अनुसन्धानअनुसार यशवन्तले झन्डै एक महिना पहिले आत्महत्याको प्रयास गरेका थिए । उनले हातको नशा काटेका थिए । यतिबेला परिवारले अस्पताल लगेकाले उनको ज्यान बचेको थियो । ऋणले हैरान थियो परिवार घटनास्थलमा पुगेका एडिशनल एसपी मनोज चौधरीका अनुसार गहनाको काममा यो परिवार सक्रिय थियो । उनीहरुले कोही व्यक्तिसँग ब्याजमा पैसा लिएका थिए र ब्याज माफियाले उनीहरुलाई प्राडित गरिदिएका थिए । त्यसैकारण परिवारले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले यस विषयमा छिमेकीहरुसँग पनि बयान लिएको छ भने केही व्यक्तिहरुलाई छानविनका लागि हिरासतमै राखेको छ । चारै मृतकको शवलाई पोस्टमार्टका लागि जेएनयु अस्पतालमा राखिएको छ । पहिले उनीहरुको कोरोना जाँच र त्यसपछि पोस्टमार्टम गरिने अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आयोः प्रधानमन्त्री जोन्सन

एजेन्सीः बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका छन् । उनले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी नै दिए । साथै उहाँले भनेका छन्, ‘अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ ।’ बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि यस विषयमा जानकारी दिएको छ । सो विभागले केही हप्तायताको अवस्था निकै नै नाजुक बन्दै गएको बताएको छ । सो मन्त्रालयले गएको २४ घन्टा यता यहाँ ४ हजार ३२२ जना सङ्क्रमित भेटिएको जनाएको छ । यो संख्या गएको मे महिनापछिकै एकै दिनमा देखा परेको सबैभन्दा ठूलो संख्या हो । यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो । बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको समाचारमा जनाइएको थियो । तर कतिपयले भने गत महिनामात्र सार्वजनिक भएको सो प्रतिवेदनको अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो सङ्क्रमण लहरबाट पहिलेको भन्दा बढी असर नगर्ने जनाएका थिए । प्रधानमन्त्री जोन्सनले भने, ‘यो अवस्था निकै नै खराब हो र अब यो दोस्रो पटक आएको लहरको नियन्त्रणका लागि हालको भन्दा कडा अवस्थाको प्रतिबन्धहरु लगाउनुपर्ने हुनसक्छ ।’ तर बेलायतले कस्तो प्रकारको प्रतिबन्ध लगाउन सक्छ भन्ने बारेमा भने उनले केही बताएका छैनन् ।

ट्रम्प प्रशासनद्वारा कडा आदेशः लक्षण नदेखिए पनि कोरोना टेष्ट गर्नुपर्ने

वाशिङ्गटन डिसीः अपेक्षाविपरित अमेरिकी सरकारले कोरोना जाँचबारे नयाँ निर्देशन जारी गरेको छ । यसअघि जाँच र उपचारमा वेवास्ता गरेको भन्दै आलोचना खेपिरहेको राष्ट्रपति ट्रम्प सरकारले कोरोना जाँचका लागि लक्षण देखिएको हुनैपर्ने नियम परिवर्तन गरेको हो । अब संक्रमित व्यक्तिको सम्पर्कमा आएका जोकोहीले पनि अनिवार्यरुपमा कोरानो संक्रमणको जाँच गर्नुपर्ने छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले गत अगस्तमा लक्षण नभएकाहरुमा जाँच गर्नुनपर्ने बताएका थियो । सिडिसीको यो निर्णयको चर्को आलोचना हुँदै आएको थियो । नयाँ जारी गरिएको निर्देशनमा अगस्तमा गरिएको पूववर्ती निर्णय खारेज गरिएको हो । अमेरिकामा ६३ लाख भन्दा बढीमा संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले भने मास्कको आवश्यकता नभएको र अमेरिकाले सबैभन्दा राम्रो काम गरेको दावी गर्दै आएका छन् ।

डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये ३ महिला प्रतिस्पर्धी

एजेन्सी : विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारहरुमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ । अन्तर्राष्ट्रिय व्यापार संगठनले अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन । यो संगठनमा अहिलेसम्म अफ्रिकी व्यक्तिले नेतृत्व पनि गरेको पाइदैन । रोबेर्टो अजेवेदोको स्थानमा हुन लागेको निर्वाचनमा आकांक्षी देखिएका आठ उम्मेदवारमध्ये शुक्रबार पाँचको नाम आगामी प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । अजेवेदोको कार्यकाल सन् २०२१ सम्म रहेको भए तापनि उनले गत महिना पदबाट राजिनामा दिएपछि नयाँ नेतृत्वका लागि छनोट प्रक्रिया अघि बढेको छ । केन्याकी महिला उम्मेदवार अमीना मोहम्मद, नाइजेरियाको नोगोजी ओकोन्जो–इवैला र दक्षिण कोरियाकी यू म्युङ-हीसहित बेलायतका लियम फक्स र साउदी अरबका मोहम्मद अल-तुवाइजरी प्रतिस्पर्धाका लागि छनोट भएका भएका उम्मेदवारहरू हुन् । पछिल्ला केही दिनमा डब्ल्यूटीओको भिडियो कन्फरेन्समार्फत् गरिएको परामर्शपछि उम्मेदवारहरूलाई सानो समूहमा सङ्कुचित पारिएको हो । उम्मेदवारीबाट बाहिरिएका तीनमध्ये जेसस सैयद कुरी (मेक्सिको), टुडोर युलियानोभस्की (मोलदोभा), अब्देल हमिद माम्दो (इजिप्ट) रहेका छन् । डब्लुटीओको विधानले नेतृत्वको लागि क्षेत्रगतरूपमा जिम्मेवारीको चक्रीय स्वरूपलाई आवश्यक मानेको छैन ।

इंग्ल्याण्डमा फेरि लकडाउन हुन सक्ने

 लण्डन : बेलायत सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, ‘हामीले राष्ट्रियरूपमा लकडाउन गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।’ ‘हामी ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छौं,’ उनले भने । शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उनले दिएका हुन् । बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड-१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । गत अप्रिलदेखि थप सङ्क्रमितको सङ्ख्या उच्च रहेको थियो । यद्यपि बीचमा सङ्क्रमण पुष्टिका घटनामा निकै कमी आएको भएपनि पछिल्ला केही हप्तादेखि यो सङ्ख्यामा उच्च वृद्धि देखिएको छ । ह्यान्ककले भने, ‘हामीले दुःखको साथ यो पनि देख्यौं कि कोरोनाभाइरसका साथ अस्पतालमा भर्ना भएका व्यक्तिहरूको सङ्ख्या हरेक आठ दिनमा लगभग दोब्बर हुँदैछ, त्यसैले हामीले नियन्त्रणका कार्य गर्नु आवश्यक छ ।’ नर्दम्बरल्याण्ड, उत्तर र दक्षिण टाईनेसाइड, न्यूक्यासलको टाइन क्षेत्र, गेट्सहेड, र काउन्टी डरहममा २० लाख भन्दा बढी मानिसहरूलाई असर पार्ने सामाजिक दूरी कायमसहितका उपायका कडा विकल्पलाई लागू गरिएको छ ।