हप्तामा ८ उडान गर्न अमेरिका-चीनबीच सहमति
वासिङ्टन : संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा ८ वटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ ।
अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म ४ ओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो ।
नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरूलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ ।
कोरोना भाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी २ देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो ।
अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उठान सेवा बृद्धि गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।
ट्रम्पले पत्रकार सम्मेलन गर्दागर्दै ह्वाइट हाउस बाहिर गोली चलेपछि…
पत्रकार सम्मेलनको बीचमै ट्रम्पलाई जानकारी दिँदै अमेरिकी सिक्रेट सर्भिसका एजेन्ट काठमाडौंः एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन्। उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए। पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्पले पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए। तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राखे र भने, “स्थिति नियन्त्रणमा छ।” उनले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको बताए। उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ। ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे। पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुन: सम्मेलनस्थल फर्केका थिए। उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए। अमेरिकी सिक्रेट सर्भिसले पनि एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा हरेको जनाएको छ।
चीनमा एकैवर्ष १ हजार ३१० किलोमिटर रेलवे विस्तार
बेइजिङ : चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ । कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ । रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११।३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ । पहिलो सात महिनाको अवधिमा एक हजार ३१० किलोमिटर नयाँ रेलवे लाइन सुरु भएको छ जसमा ७३३ किलोमिटर उच्च गतिको रेलवे समेत रहेको कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१ सय ९१ यात्रु सवार एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना
एजेन्सी : एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ। विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो। विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी छ। हिन्दुस्तान टाइम्सले प्रारम्भिक जानकारी अनुसार ४० हाराहारी यात्रु घाइते भएको उल्लेख गरेको छ। भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।
श्रीलङ्काकाे निर्वाचनमा राजपक्ष दाजुभाइको दललाई अत्याधिक बहुमत
काठमाडौंः श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षले देशमा भएको संसदीय निर्वाचनमा आफू विजयी भएको घोषणा गरेका छन्। गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका उनका दाइ महिन्द राजपक्षलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ। उनीहरूको दल ‘श्रीलङ्का पीपल्स फ्रन्ट’ र साझेदार दलहरूले दुईतिहाइ बहुमत प्राप्त गरेका छन्। यो विजयसँगै उनीहरूको चुनावी वाचानुरूप संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुलेको छ। उक्त दलले २२५ मध्ये १४५ स्थानमा जितेको छ। उसलाई समर्थन गर्ने दलहरूले पाँच स्थानमा जितेका छन्। महिन्द राजपक्षले भारतका प्रधानमन्त्रीले आफूलाई बधाई दिन फोन गरेको भन्दै ट्वीट गरेका थिए। श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजपक्ष परिवारको प्रभाव रहेको छ। तर राजपक्ष बन्धुहरू विवादास्पद पनि छन्। महिन्द राजपक्ष सन् २००५ देखि २०१५ सम्म देशका राष्ट्रपति थिए। पूर्वप्रधानमन्त्री रनिल विक्रमसिङ्घले नेतृत्व गरेको प्रतिपक्षी दल नराम्ररी पराजित भएको छ। अघिल्लो निर्वाचनमा जितेको १०६ स्थानमध्ये उनको दलले १०५ वटा स्थान गुमाएको छ। अहिलेको परिणामपछि पूर्वराष्ट्रपति रणसिङ्घ प्रेमदासका छोराले गठन गरेको नयाँ दल दोस्रो ठूलो शक्तिका रूपमा उदाएको छ। प्रेमदासको सन् १९९३ मा हत्या भएको थियो। कोरोनाभाइरस महामारी फैलिएकै बेला श्रीलङ्कामा निर्वाचन भएको थियो। यसअघि दुई चोटि मतदानको मिति सारिएको थियो। श्रीलङ्कामा अहिलेसम्म ३,००० भन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। दुवै दाजुभाइलाई विगतमा महिन्द राजपक्षको राष्ट्रपतीय कार्यकालमा तमिल विद्रोहीविरुद्ध हासिल भएको सैनिक विजयको श्रेय दिने गरिन्छ। अहिलेका राष्ट्रपति तथा उनका दाइ गोटाबय राजपक्ष त्यति बेला रक्षामन्त्री थिए। गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि गोटाबय राजपक्षविरुद्ध लागेका भ्रष्टाचारका सबै अभियोगहरू फिर्ता भएका थिए। राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका कारण ती अभियोग फिर्ता गरिएको बताइएको छ। पहिले गोटाबय राजपक्षलाई राज्यकोषको दुरुपयोग गरेर सङ्ग्रहालय तथा आफ्ना मातापिताको स्मारक बनाएको अभियोग थियो। तमिल विद्रोह दमनपूर्वक अन्त्य गर्न उनीहरूले बर्बर सैनिक कारबाही गरेको आरोप लाग्ने गरेको छ। बीबीसी
बोलिवियाकी अन्तरिम राष्ट्रपतिमा कोरोना पुष्टि
काठमाडौंः बोलिवियाकी अन्तरिम राष्ट्रपति जीनिन आन्जलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार यसबारे आफैं जानकारी दिएकी छन् । उनले अब आइसोलेसनमा बस्नेछन् र आफ्नो काम भने जारी राख्नेछन् । हालसम्म बोलिवियामा ४३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन् । जसमध्ये १५ सय बढीको मृत्यु भइसकेको छ ।
अष्ट्रेलियाको मेलबर्नमा ६ हप्ते लकडाउन सुरू
मेलबर्न : कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुने गरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा संक्रमण देखिएको थियो । यस राज्यमा अरु राज्यबाट हुने आवातजावतमा पूर्ण रुपमा प्रतिबन्ध समेत लगाइएको छ । लकडाउनको सम्भावना रहेसँगै छिमेकी राज्य न्यू साउथ वेल्सबाट मानिसहरु बुधबार ठूलो संख्यामा भिक्टोरिया प्रवेश गरेका छन् । प्रहरीका अनुसार ३६ घण्टाभन्दा कम अवधिमा ३० हजारभन्दा बढी कार भिक्टोरिया प्रवेश गरेका छन् । यसबाट भिक्टोरियाका अरु क्षेत्रमा पनि कोरोनाभाइरसको संक्रमण अरु बढ्ने खतरा औंल्याइएको छ । न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज बेरेजीक्लियानले सीमावर्ती शहर अल्बरीमा दुई जना नयाँ संक्रमित भेटिएको जनाउँदै अन्य राज्यको भ्रमण गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिए । क्विन्सल्यान्ड राज्यले पनि बिहीबार भिक्टोरियाबाट हुने आवागमनलाई निषेध गरिएको घोषणा गरेको छ । क्विन्सल्यान्डले यसअघि अन्य राज्यबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने नियम पनि हाल स्थगित गरेको जनाएको छ । मेलबोर्नमा लकडाउनका कारण उत्पन्न हुनसक्ने आर्थिक तथा मानसिक स्वास्थ्यमाथिको असरका बारेमा चासो र चिन्ता व्यक्त हुन थालेको छ । अधिकारीहरुका अनुसार यस लकडाउनबाट राज्यमा करिब ४ अर्ब २० करोड डलर बराबरको आर्थिक क्षति हुनेछ । मेलबोर्नमा रेस्टुराँ र क्याफेहरु आंशिक खुल्न दिइने छ, तर जिम, सौन्दर्य सैलुन र चलचित्र प्रदर्शनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । आम मानिसलाई घरभित्रै बस्न भनिएको छ, तर कार्यलयका काम, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा अत्यावश्यक सामान खरिद गर्नेगरी काममा निस्कन दिइने छ । सरकारले कडा नियम घोषणा गरे पनि धेरैजसो मानिसले प्रतिबन्धहरुको स्वागत गरेका छन् । मेलबोर्नमा सरकारी स्वास्थ्य अधिकारीहरु मानिसको स्वास्थ्य परीक्षणका लागि अहिले घरघरमा पुगेका छन् । अस्ट्रेलियामा हालसम्म कोविड-१९ बाट करिब ९ हजार व्यक्तिमात्र संक्रमित भएका र १०६ जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यबाहेक अस्ट्रेलियामा ज्यादै न्यून संख्यामा संक्रमित भेटिएका छन् । अधिकांश संक्रमित व्यक्तिहरु विदेशबाट फर्किएका र होटलमा क्वारेन्टिनमा बसेकाहरू रहेका छन् ।
अमेरिकामा कोरोना भ्याक्सिनको परीक्षण जारी
वासिङ्टन : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले ४ किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उनले अरु ६ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए । अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड-१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ । यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन् । उनले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरण आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिए ।
अमेरिकामा दैनिक सङ्क्रमण एक लाख पुग्ने चेतावनी
काठमाडौंः अमेरिकाका सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन्। आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ छ। थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ। अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन्। उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिए।अमेरिकी सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा उनले भने, “हामीले अहिले सङ्क्रमण नियन्त्रण गर्न सकेका छैनौँ भन्ने स्पष्ट छ।” अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण व्यापक रूपमा बढीरहेको देखिएको छ। डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिए। त्यस क्षेत्रका १६ वटा राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित वा फिर्ता लिएको समाचार संस्था सीएनएनले जनाएको छ। डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन्। उनले भने, “हामीले जहाँ सङ्क्रमण बढी छ त्यहाँमात्र ध्यान दिन सक्दैनौँ त्यसैले सिङ्गो देश नै जोखिममा छ।” उनले सबै अमेरिकीलाई नि:शुल्क वितरण गर्ने गरी मास्क उत्पादन गर्न अमेरिकी सरकारलाई आग्रह पनि गरे। विज्ञले त्यस्तो बताइ रहँदा सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा सिनेटर एलिजाबेथ वारेनले भनिन्, “मैले निश्चित पूर्वानुमान गर्न त सक्दिन तर यो निकै अत्याउने ढङ्ले बढिरहेको छ, त्यो निश्चित हो।” डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार जो बाइडले कोरोना भाइरस महामारीसँग जुध्न सरकारले चालेका कदमको चर्को आलोचना गरेका छन्। उनले त्यसको निम्ति राष्ट्रपति डोनल्ड ट्रम्पलाई निशाना बनाए। आफ्नो गृहक्षेत्रमा बोल्दै उनले ट्रम्पलाई विज्ञान अस्वीकार गर्ने व्यक्तिको संज्ञा दिए। र, राष्ट्रपतिकै कारण नागरिकले भयानक बलिदान दिन नसक्ने बताए। बीबीसी
ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौंः इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र दर्जनौँ अमेरिकी अधिकारीविरुद्ध जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरेको हो । साथै इरानले अमेरिकी राष्ट्रपति ट्रम्पलगायतको पक्राउमा सहयोग गर्न इन्टरपोलसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानका अभियोक्ता अली अलाकसिमेरका अनुसार सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पसहित अन्य ३० जनाविरुद्ध गत जनवरी ३ मा भएको आक्रमणमा जर्नेल कासिम सुलेमानीको हत्याका साथै हत्या र आतंकवादी गतिविधि गरेको अभियोग लगाइएको छ । अलीले ट्रम्पबाहेक कस–कसलाई आरोप लगाइएको हो भन्नेबारेमा केही खुलाएका छैनन् । उनले ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिएपछि पनि कानुनी कारबाहीका लागि इरान लड्ने बताए । इरानका लागि अमेरिकी दूत ब्रायन हूकले भने इरानी कदमलाई ‘प्रचारबाजी फन्डा’ को संज्ञा दिएका छन् । ‘इन्टरपोलले राजनीतिक प्रकृतिका विषयमा हस्तक्षेप गर्दैन र रेड नोटिस जारी गर्दैन भन्ने हाम्रो ठम्याइ छ,’ अमेरिकी दूत हूकले साउदी अरबमा भएको पत्रकार सम्मेलनमा भने । ‘यो विषय राजनीतिक प्रकृतिको रहेको छ । राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको प्रवर्द्धनमा यसको कुनै सम्बन्ध छैन । यो केबल प्रचारबाजी र फन्डा मात्रै हो । यसलाई कसैले पनि गम्भीरताका साथ लिँदैनन्,’ हूकले भने । तेहरानका अभियोक्ता अलीले भने अमेरिकी राष्ट्रपति ट्रम्प र अन्यविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलसँग आग्रह गरेको दाबी गरेका छन् । फ्रान्सको लियोनमा रहेको इन्टरपोलले भने इरानको आग्रहलाई विचार नगर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । इन्टरपोलले आफूलाई राजनीतिक, सैन्य, धार्मिक र नश्लीय प्रकृतिको चरित्रका गतिविधिमाथि कारबाही गर्ने अधिकार नभएको बताउँदै इरानको आग्रहमाथि केही नगर्ने बताएको छ । राजनीतिक विश्लेषकहरुले इरानले पक्राउ पुर्जी जारी गर्नु एउटा सांकेतिक प्रतिक्रियाभन्दा केही बढी मात्रै भएको बताएका छन् । तर यसले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति इरानको वैरभाव निकै बढेको देखिने उनीहरुले बताएका छन् ।
अमेरिकामा फेरि बढ्यो कोरोना
काठमाडौंः अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ८४९ जनाको मृत्यु भएको छ । पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा ह्वात्तै कमि आएको थियो । तर, मंगलबार भने मृत्युको संख्यामा वृद्धि भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १९ हजार १३२ पुगेको छ । त्यस्तै मंगलबार २५ हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या २२ लाख ८ हजारभन्दा बढी पुगेको छ । ९ लाख ३ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ । पछिल्लो समय अमेरिकामा भड्कीएको प्रदर्शनका कारण कोरोना संक्रमण फैलिएको अधिकारीरुले बताएका छन् । रंगभेदविरुद्ध प्रदर्शनले उग्ररुप लिएपछि अमेरिकामा यतिबेला तनावको स्थिति रहेको छ । प्रदर्शनकै कारण पनि संक्रमण झन् फैलिने माहौल बनेको अधिकारीहरूले बताएका छन् । कुन राज्यमा कति ?
चिनियाँ सेनासँग हात हालाहालमा २० भारतीय सैनिकको मृत्यु
भारत र चीनबीच गलबाङ उपत्यकामा भएको हात हालाहालमा मारिने भारतीय सैनिकको संख्या २० भन्दा बढी रहेको भारतीय समाचार एजेन्सीहरूले पुष्टि गरेका छन्। सोमबार राति भएको उक्त हिंस्रक झडपमा एक जना उच्च सैनिक अधिकारीको समेत ज्यान गएको बताइन्छ। दुई देशबीच १९६२ को युद्धयता सबैभन्दा ठूलो सैन्य हताहति भएको बताइएको छ। सुरुमा सार्वजनिक समाचारहरूमाँ यस भिडन्तमा एक कर्नेललगायत तीन सैनिक मारिएको समाचार आएको थियो । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्थाहरूले दुई देशका सेनाबीचको कुटाकुटमा घाइते भएका कम्तिमा पनि १७ जनाको हाइपोथर्मियाका कारण मृत्यु भएको जनाएको छ। चलेन गोली भिडन्तमा गोली हानाहान नभई कुटाकुट भएको हो। जवानहरूबीच भएको कुटाकुटमा रड, लट्ठी र ढुङ्गा हानाहान भएको बताइएको छ। गलवाङ उपत्यका लद्दाखनजिक भारत र चीन सीमानामा पर्दछ। भारतीय समाचार संस्था एएनआईले उक्त भिडन्तमा चीनतर्फ पनि ठूलो हताहति भएको जनाएको छ। चीनले भने आफ्नोतर्फ कुनै हताहति भएको आधिकारिक पुष्टि गरेको छैन। चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमाण्डका प्रवक्ता झाङ्ग सुइली भारतीय सेनाले चिनियाँ क्षेत्रमा अनधिकृत गरेको र उक्साउने कारवाही गरेपछि दुई देशका सेनाबीच भीषण शारीरिक भिडन्त भएको बताएका छन्। चिनियाँ सामाजिक सञ्जाल वीबोमा स्टेटस प्रकाशित गर्दै सुइलीले लेखिका छन्, “भारतीय सेनाले आपसी समझदारी भङ्ग गर्दै एकपल्ट फेरि लाइन अफ एक्चुअल कन्ट्रोलमा गैरकानूनी रूपमा प्रवेश गरेका थिए। “ उनले अगाडि भनेका छन् “भारतीय पक्षलाई सीमामा रहेका सैनिकलाई सबै उक्साहटका कारवाही बन्द गर्न र चीनसँग मिलेर वार्ता र संवादबाट असहमतिहरूबारे समाधान निकाल्न माग गर्छौं।” विवादको कारण भारतले बनाउँदै गरेको सडक गलवाङ उपत्यकामा केही दिन यता दुई देशबीच तनाव रहँदै आएको छ। दुई देशबीच विवादित रहेको उक्त क्षेत्रमा भारतले सडक बनाउन थालेपछि देशका सेनाबीच तनाव सुरु भएको हो। चीन र भारतबीच अक्साइचीन र अरुणाचल प्रदेश लगायतका क्षेत्रमा गम्भीर सीमा विवाद रहेको छ। अहिले दुबै सेना एक-अर्काबाट टाढा गइसकेको जनाएको छ। उक्त स्थानमा शून्य डिग्री सेंटिग्रेडभन्दा मुनि रहने गरेको बताइएको छ।
अमेरिकामा कोरोनाको उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध
वासिङ्टनः अमेरिकी नियामक निकायले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् । बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आएका थिए । राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए । स्वयं अमेरिकी वैज्ञानिक पनि राष्ट्रपति ट्रम्पको सल्लाहमाथि विश्वस्त हुन सकेका थिएनन् । अमेरिकाको शक्तिशाली नियामक निकाय अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन प्रभावकारी नदेखिएको जनाएको छ । यी औषधिको सेवन गर्दा मानिसको मुटुमा समस्या देखिएको प्रतिवेदन प्राप्त भएको भन्दै एफडीएले कोरोना संक्रमित व्यक्तिलाई यी औषधिले केही राहत दिएपनि स्वास्थ्य जोखिम लिन नसकिने स्पष्ट गरेको छ । एफडीएले कोरोनाको उपचारमा प्रयोग भइरहेको अर्को औषधि रेमडेसिभरसँग हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन मिसाएर बिरामीलाई नदिन पनि चिकित्सकलाई चेतावनी दिएको छ । एफडीएले औलोको औषधिले रेमडेसिभरको प्रभावकारीतामा पनि कमी ल्याउने बताएको छ । हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन औषधि सामान्यतया आर्थराइटिसका बिरामीको उपचारमा प्रयोग हुने गर्दछ । तर यी औषधिका केही खतरनाक नकारात्मक असरहरु पनि हुने गर्दछ । यस औषधिको सेवनबाट मुटुमा समस्या देखिनुका साथै रक्तचात निकै घट्ने तथा मांसपेशी वा स्नायू प्रणालीमा क्षति पुग्दछ । एफडीएले यी औषधिका ३९० जना प्रयोगकर्ताहरुबाट स्वास्थ्य जटिलता उत्पन्न भएको गुनासो प्राप्त भएको जनाएको छ । यीमध्ये पनि १०० जनाभन्दा बढीमा मुटुको गम्भीर समस्या उत्पन्न भएको थियो । कोरोनाको उपचारमा प्रयोग गर्नेगरी अमेरिकी संघीय निकायमा रहेको ठूलो परिमाणको औलोको औषधि अब राज्य र स्थानीय तहमा वितरण गरिने छैन । क्लिभल्यान्ड क्लिनिकका अनुसन्धाता डा. स्टिभन निस्सेनले एफडीएको पछिल्लो निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । उहाँले हाइड्रोक्सिक्लोरोक्वीनको औषधिको प्रामाणिकतामा कुनै विश्वासिलो आधार पहिल्यैदेखि नदेखिएको र यसले शरीरमा नकारात्मक असर पार्ने भएकाले यो औषधिको जथाभावी सेवन गर्न नहुनेमा जोड दिए । बिहीबार अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच) को एक विज्ञ समूहले पनि अध्ययन प्रयोजन बाहेक आमरुपमा यो औषधि सेवनमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो । एफडीए र एनआइएच दुबैले कोरोनाको उपचारमा यी औषधिको प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना फैलिन सुरू भएलगत्तै हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न सकिने भन्दै व्यापक वकालत गरेका थिए । राष्ट्रपति ट्रम्पको लगातारको प्रयासपछि धेरै अमेरिकी र विश्वका कतिपय मुलुकका नागरिकले औलोको औषधि खोजीखोजी सेवन गर्न थालेका थिए जसका कारण बजारमा यी औषधिको अभावसमेत हुन थालेको थियो । केही अनुसन्धानले कोविड-१९ को उपचारमा औलोका औषधिहरु केही मात्रामा उपयोगी हुन सक्ने देखाएका थिए, तर ती त्यति विश्वासयोग्य थिएनन् । पछिल्लो समय ठूलो जनसमूहमा गरिएका अध्ययनले औलोको औषधिले फाइदा भन्दा पनि बढी मानव स्वास्थ्यमा हानि गर्ने ठहर गरेका थिए । एजेन्सी
भारत–चीन सीमा भिडन्तः तीन भारतीय सैनिकको मृत्यु, के भन्छ चीन ?
काठमाडौंः भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ । भारत सेनाले ‘दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थिति सामान्य बनाउन वार्तामा रहेको’ बताउँदै दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ । चीनले भारतलाई तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ । समाचारसंस्था एएफपीका अनुसार चीनले भारतलाई सीमा उल्लङ्घन गरेर चिनियाँ सैनिकमाथि आक्रमण गरेको आरोप लगाएको । बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । भारतका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो । के भन्छ चीन ? चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ । बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन । तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि पनि हताहत भएको दाबी गरेको छ । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । विवाद कहिलेदेखि? भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो । भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत नराम्ररी पराजित भएको थियो । चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ । सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो ।
तेस्रो लिङ्गीसम्बन्धी अमेरिकी सर्वोच्च अदालतको ऐतिहासिक फैसला
काठमाडौंः तेस्रो लिङ्गी भएका कारण कामबाट कर्मचारी हटाउने रोजगारदाताले मुलुकको कानुन तोडिरहेको अमेरिकाको सर्वोच्च अदालतले फैसला गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले सङ्घीय कानुनमा लिङ्गका आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ। फैसलामा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान उक्त कानुनमा समावेश गरिएको बुझ्नुपर्ने बताइएको छ। उक्त फैसला तस्रो लिङ्गी समुदायका लागि ठूलो जीत भएको बताइएको छ। अमेरिकी अदालत रूढिवादी हुँदै बेला आएको यो फैसलालाई महत्त्वपूर्ण मानिएको छ। विपक्षी वकिलहरूले भने सन् १९६४ को सिभिल राइट्स एक्टका निर्माणकर्ताहरूले उक्त प्रावधानमा लिङ्ग वा कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने लैङ्गिक पहिचानका विषयमा लागु हुने उद्देश्य नराखेको जिकिर गरेका थिए। ट्रम्प प्रशासनले पनि यही तर्कको साथ दिएको थियो। तर राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधीश नील गोर्सचले भने कुनै कर्मचारीलाई तेस्रो लिङ्गी भएकै आधारमा कारबाही गर्नुले लिङ्गलाई ध्यानमा राखेको देखिएको बताएका थिए। उनले लेखेका छन्, “कानुन लेख्नेहरूको कल्पनाको सीमाका कारण कानुनको उद्देश्यलाई नजरअन्दाज गर्न सकिँदैन।” फैसलाको अर्थ सन् १९६४ को सिभिल राइट्स एक्टले रोजगारदातालाई लिङ्ग, जात, रङ्ग, जन्मेको बेलाको राष्ट्रियता र धर्मका आधारमा भेदभाव गर्नबाट रोकेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले नेतृत्व गरेको प्रशासन अन्तर्गतको रोजगारीको समान अवसरबारे हेर्ने एउटा सङ्घीय आयोगले उक्त कानुनमा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान समावेश भएको बताएको थियो। तर ट्रम्प प्रशासन भने स्वास्थ्य सेवाका साथै अन्य क्षेत्रहरूमा दिइएका संरक्षण फिर्ता लिन अग्रसर देखिएको छ। बीबीसी
अर्का अश्वेत नागरिकको हत्या, अमेरिकामा फेरि चर्कियो आन्दोलन
वासिङ्टनः एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ । मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको हत्याले धेरैलाई क्रुद्ध बनाएको छ । एटलान्टाका २७ वर्षीय रेसार्ड ब्रुक्सको हत्या नै भएको स्वास्थ्य परीक्षणबाट खुलेपछि अमेरिकी शहरहरुका सडकमा प्रदर्शन हुनुका साथै स्थानीय प्रहरी प्रमुखले राजीनामा गर्नु परेको छ । क्रुद्ध प्रदर्शनकारीले ब्रुक्सको हत्या भएको स्थान नजिकको वेन्डी रेस्टुराँमा आगो लगाइदिएका छन् । ब्रुक्सले यही रेस्टुराँमा जाने बाटोमा कार तेस्र्याएर मानिसको आवतजावतमा अबरोध गरेको भन्दै प्रहरीले उनीमाथि गोली चलाएको थियो । एटलान्टाका मेयर केशा लान्स बटम्सले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिइसकेको घोषणा गरेका थिए । मेयर बटम्सले प्रहरीले शक्तिको दुरुपयोग गरेको भन्दै क्षमा माग्नु भएको थियो । ब्रुक्समाथि गोली चलाउने प्रहरी अधिकृत ग्यारेट रोल्फलाई सेवाबाट बर्खास्त गरिएको छ । फुल्टोन काउन्टीका न्यायाधीवक्ता पल होवार्डले दोषी प्रहरी अधिकृत रोल्फमाथि फौजदारी अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा चाँडै निर्णय हुने जानकारी दिए । गत शुक्रबारको यो घटना हुँदा ब्रुक्स आफ्नो कारमा सुतिरहेका थिए । वेन्डी रेस्टुराँमा आवतजावत गर्ने मार्गमा अवरोध गरेको भन्दै उक्त रेस्टुराँले प्रहरीलाई खबर गरेको थियो । तत्काल उक्त स्थानमा पुगेको प्रहरी र कारभित्र सुतिरहेका ब्रुक्सबीच भनाभन हुनुका साथै हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन् । भिडियो फुटेजमा दुई जना श्वेत प्रहरीले ब्रुक्सलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको देखिएको छ । यहीबीच प्रहरीकै हतियार खोसेका ब्रुक्समाथि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर प्रहरीबाट खोसिएको हतियार घातक नरहेको र त्यसबाट मानिसको मृत्यु नहुने अनुसन्धान अधिकारीहरुले बताएका छन् । प्रहरीसामु अन्य थुप्रै विकल्पहरु हुँदाहुँदै प्रहरीले गोली चलाएको आरोप प्रहरीमाथि लागेको छ । एजेन्सी

