विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड नाघ्यो

काठमाडौंः  विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २० लाख ४६ हजार ४८८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८, ७४,५९६ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख २ हजार २१३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५२ लाख नाघेको छ । ब्राजिलमा १,३५,०३१ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८४,४०४ जनाको मृत्यु भएको छ । रुस १०,८५,२८१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,५०,०९८ व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

चम्बल नदीमा डुंगा पल्टिंदा ११ को मृत्यु, ४ युवाले जोगाए २५ जनाको ज्यान

इटावाः भारतको राजस्थान राज्यको कोटा–इटावामा डुंगा पल्टिंदा ११ जनाको मृत्यु भएको छ । आज बिहान नौ बजे चम्बल नदीमा यात्रु बोकेर गइरहेको डुंगा पल्टिंदा दुर्घटना भएको हो । दुर्घटनामा ३ जना वेपत्ता रहेका छन् । मृतक सबै ११ जनाको शव निकालिएको छ । डुंगा पल्टिएपछि स्थानीय युवाहरुले २५ जनाको भने सकुशल उद्वार गर्न सफल भएका छन् । भास्कर दैनिकका अनुसार, २५ जनाको सीट क्षमता भएको डुंगामा ४० जना यात्रु रहेका थिए । यतिमात्रै नभएर यात्रुहरुले मोटरसाइकललगायतका सामान पनि डुंगामा राखेका कारण भार सहन नसकी डुंगा पल्टिएको प्रहरीले जनाएको छ । डुंगा पल्टिएको स्थानमा नदीको गहिराई ४०, ५० फीट रहेको बताइन्छ । मृतकहरुमा ६ पुरुष, ४ महिला र एक बच्चा रहेका छन् । चार जना स्थानीय युवाहरुले २५ जनाको ज्यान जोगाएको समाचारमा उल्लेख छ । घटना चाणदा र गोठडा गाउँबीचमा भएको हो ।

मास्क लगाउन नमानेपछि जहाजबाट निकालिए दुई यात्री

टोक्यो, जापान । जापानमा मास्क लगाउन नमान्ने दुईजना यात्रुलाई जहाजबाट बाहिर निकालिएको छ । सिएनएनका अनुसार, शनिवारका दिन एयर सिष्टम कम्पनीकोजहाज हाकोडेतेद ओकुशिरीतर्फ गइरहेको बेला एकजना यात्रुले मास्क लगाएका थिएनन । जहाजका कप्तानले ती यात्रुका लागि मास्क मगाएपनि यात्रुले भने मास्क लगाउन मानेनन् । यही क्रममा जहाज आधा घण्टा ढिलो भएको थियो । यात्रुले भने मास्क लगाउँदा अनुहारमा रातो डाबर आएको र असहज भएको कारण लगाउन नमानेको बताएका छन् । तर एयरलाइन्सले भने यात्रुले असहयोग गरेको र अभद्र व्यवहार गर्दै मास्क लगाउन नमानेपछि बोर्ड गरिसकेको अवस्थामा पनि निकालिएको बताएको छ । जापानमा नै गत सेप्टेम्बर ७ का दिन पनि एकजना यात्रुलाई निकालिएको थियो । कुशिरोदेखि ओशाकोतर्फ उडान भर्न ठीक्क परेको पिच एभिएसनको जहानमा पनि एकजना यात्रुले मास्क लगाउन मानेका थिएनन । सिएनएनका अनुसार, एयरलाइन्सले यात्रुको अभद्र व्यवहारका कारण निजलाई जहाजबाट निकालेका थिए ।  

अफगानिस्तानमा सशस्त्र समूहले गोली चलाउँदा प्राध्यापकसहित ३ जनाको मृत्यु

काबुल : अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेका आक्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी हत्या गरेको स्थानीय सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । साहित्य संकायका अध्यापनरत प्राध्यापकमाथि कर्तव्यपालनाका शिलशिलामा विश्वविद्यालयतर्फ जाँदै गर्दा आक्रमण भएको थियो । त्यस्तै छिमेकी लोगर प्रान्तमा बाराकी बाराक जिल्लाका जिल्ला प्रमुखका भाइ र एक सुरक्षा गार्डको सोमबार राति गोली हानी हत्या भएको थियो । आक्रमणकारीहरूले जिल्ला प्रमुखलाई मार्न खोजेका थिए तर हमलाको समयमा उनी घरमा नभएका कारण भाइमाथि हमला गरेको हुनसक्ने बताइएको छ । कतारको दोहामा सरकारसँग शान्ति वार्ता भइरहेका समय उच्च पदाधिकारीलाई लक्षित गरी आक्रमण भएको छ । तालिवानी समूहले विगतका वर्षहरूमा नागरिक र सैनिक अधिकारीविरुद्ध अनेकौँ लक्षित आक्रमणहरू गर्नेगरेका थिए । यसअघि सोमबार नै पश्चिमी बग्गिस प्रान्तमा तालिवान आक्रमणमा एक पूर्व अफगान सिनेट, उनका पाँच सुरक्षा गार्ड र एक स्थानीय वृद्ध मारिएका थिए ।

अफगानिस्तानमा बम विस्फोटमा ५ सैनिकको मृत्यु

अफगानिस्तानः पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ । पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो । प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो । त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएका सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ । सोही स्थानमा केही दिनमत्र अघि सडकमा नै यसैगरी राखिएको बम विस्फोट हुँदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको बताइएको थियो । सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो । अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । उक्त समाचारका अनुसार बागदिस जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो र त्यसमा रहेका अफगान सेनाका कम्तीमा पाँच जना अधिकारीको ज्यान गएको छ । तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ । यद्यपि यस विषयमा तालिबानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी रहेको छ । एएनआई  

दिल्लीमा जनस्वास्थ्य मापदण्ड पालना गराउन प्रहरी परिचालन गरिने

नयाँ दिल्ली : नयाँ दिल्लीको प्रहरीले यहाँको सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरू पालना गरे नगरेको कडाइका साथ अनुगमन गर्ने भएको छ । यसका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने भएको दिल्ली प्रहरीले बुधबार जानकारी गराएको समाचारमा जनाइएको छ । दिल्लीमा रहेका हरेक प्रहरी युनिटमा कोभिड-१९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने र सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो । दिल्लीको प्रहरीले सो कुराको जानकारी दिएको छ । कोभिड-१९ को नियन्त्रणका लागि सरकारले लागू गरेका मापदण्ड पालना गराउन प्रहरी खटाइने सो प्रहरीले जानकारी गराएको हो । हाल दिल्लीमा मात्र २२ हजार ३ सय ७७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका बताइएको छ ।

शी जिनपिङलाई ‘राष्ट्रपति’ भन्न नमिल्ने भन्दै अमेरिकी संसदमा प्रस्ताव

काठमाडौंः चिनियाँ राष्ट्रपति शी जिनपिङलाई राष्ट्रपति शी भन्न नहुने भन्दै अमेरिकी संसदमा बिल पेश गरिएको छ । चीनमा लोकतन्त्र नभएको र शी जिनपिङ लोकतान्त्रिक तरिकाले नचुनिएका भन्दै उनलाई राष्ट्रपति भन्न नहुने कुरा विधेयकमा उल्लेख छ । ट्रम्पको पार्टीका सांसद स्कट पेरिले यो विधेयक दर्ता गरेका छन् । नेम द एनमी एक्ट नामक उक्त विधेयकमा जिनपिङ या अन्य कुनै पनि चिनियाँ शासकलाई अमेरिकाको सरकारी दस्वताजमा राष्ट्रपति भन्न नहुने उल्लेख गरेको छ । बिल अनुसार, चीनमा राष्ट्रपति भन्ने कुनै पद नै छैन । त्यहाँ कम्युनिष्ट पार्टीको महासचिव हुन्छ । यदि हामी उसलाई राष्ट्रपति भन्दाखोरि कुनै व्यक्ति लोकतान्त्रिक तरिकाले निर्वाचित भएजस्तो लाग्छ जबकि चीनमा लोकतन्त्र नै छैन ।

भारतमा ९ देखि १२ कक्षाका स्कूल खुले, अभिभावकको अनुमतिले विद्यालय जान पाइने

नयाँ दिल्ली । कोरोना महामारीले उच्चरुप लिइरहेकै बेला भारत सरकारले स्कूल खोल्ने निर्णय गरेको छ । भारतको केन्द्र सरकारले एक निर्देशिका जारी गर्दै २१ सेप्टेम्बरदेखि स्कूल खोल्ने निर्णयगरेको हो । आशिंकरुपमा विद्यालय खोल्ने सम्बन्धमा जारी गरिएको स्टेण्डर्ड प्रोटोकलका अनुसार कक्षा नौ देखि १२ सम्मका विद्यार्थीका लागि मात्रै स्ूल खुल्ने भएको हो । तर स्कूल जान चाहने या नचाहने कुरा भने विद्यार्थी र अभिभावको स्वेच्छामा भर पर्ने छ । स्कूलमा कम्तिमा ६ फिटको दूरी कायम राख्नुपर्ने छ । यसैगरी सरकारले घोषणा गरेका अति उच्च जोखिम क्षेत्र (कन्टेनमेन्ट जोन)का स्कूल भने बन्द नै रहने छन् । योसँगै अनलाईन र दूरशिक्षा भने जारी नै रहनेछ । तर विद्यार्थीहरुलाई जम्मा हुने, एसेम्बली या खेलकुदसँग जोडिएका गतिविधि भने गर्न पाइने छैन ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति डोनाल्ड ट्रम्पद्धारा दुःख व्यक्त

वासिङटन : भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । उनले भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको र आफूलाई निकै दुःख लागेको बताएका छन् । मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भारतका पूर्वराष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका हुन् । पूर्व राष्ट्रपति मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र संयुक्त राज्य अमेरिकाका तर्फबाट मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि तथा भारत र भारतीय जनताप्रति समवेदना व्यक्त गरेका छन् । मङ्गलबार ट्वीट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच झडप, १ भारतीय सैनिकको मृत्यु

काठमाडौं: भारतले सीमा क्षेत्रमा उत्तेजना फैलाउने अभिव्यक्ति नगरी वार्ता र सहमतिका आधारमा सीमांकनको विवाद टुंग्याउन सहयोग गर्नुपर्छ भनेर चिनियाँ विदेश मन्त्रालयले भनेको भोलीपल्ट नै सीमा क्षेत्रमा झडप भएको छ । लद्दाखको दक्षिण पैगान्गको विवादित क्षेत्रमा चिनियाँ सेनासँग झडप हुँदा एक भारतीय सैनिकको मृत्यु समेत भएको छ । झडपमा एकजना सैनिक घाइते भएका छन् । तिब्बती मुलका स्पेशल फ्रन्टियर फोर्समा कार्यरत ती सैनिकको मृत्युका बारेमा भारतीय सेनाले भने आधिकारिकरुपमा कुनै बयान दिएको छैन । भारतले चीनका करिब ५ सय सैनिकहरुले एउटा पहाडीमा कब्जा गर्ने कोशिस गरेको जनाएको छ । जबकि चीनले भने यसअघि सहमति भएको सीमा रेखाको भारतीय सैनिकहरुले उल्लंघन गर्दै चिनियाँ भूमिमा हिंडने गरेको आरोप लगाएका छन् । यसअघि ५ जुनका दिन गलवानमा भएको यस्तै झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । तिब्बतका निर्वासित सांसद डोलघर लघियारीले एएफपी समाचार एजेन्सीलाई जनाए अनुसार २९ र ३० अगस्तको रातीदेखि ३१ अगस्तका दिनसम्म लाइन अफ कन्ट्रोल (एलओसी) मा उत्तेजनापूर्ण कार्वाही गरेको थियो ।

खोपको मानव परीक्षण ढिला गरेको भन्दै ट्रमले गरे एफडीएको आलोचना

वाशिङ्गटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस खोपको मानव परीक्षणलाई सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचनागरेका छन् । ‘एफडिए वा यसका अधिकारीले औषधि कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई धेरै जटिल बनाइरहेका छन्,’ शनिबार ट्रम्पले भने । उनले ट्वीट गर्दै भनेका छन्, ‘स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु । नागरिकको जीवन बचाउने गतिमा ध्यान दिनै पर्छ ।’ संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोभिड-१९ विरूद्धका ३ खोपहरू पर्खाइमा रहेका छन् । जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६५ हजार ४०० भन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने एक लाख ७६ हजार ३३२ सङ्क्रमितको मृत्यु भएको छ । निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उहाँको यो भनाइ आएको हो । राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोना नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ । एजेन्सी

भारतमा १६ दिनमा थपिए २० लाख कोरोना संक्रमित

नयाँदिल्ली : कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ । भारतमा कोरोनाबाट कूल सङ्क्रमितको सङ्ख्या आइतबारसम्ममा ३० लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ । बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरु अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार ५६६ जना सङ्क्रमणमुक्त भइसकेका हुन् । पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना सङ्क्रमित भएका छन् भने ९१२ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको कुल सङ्ख्या ५६ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट सङ्क्रमित भएकामध्ये १.८६ प्रतिशतको मृत्यु भएको देखिएको छ । भारतमा अहिलेपनि ७ लाख सात हजार ६६८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

रुसले फेरि बनायो अर्को प्रभावकारी कोरोना खोप

काठमाडौंः कोरोनाको पहिलो भ्याक्सिन बनाएको केही दिनमै रुसले फेरि अर्को प्रभावकारी भ्याक्सिन ‘एपी–भ्याक’ सार्वजनिक गरेको छ । यो भ्याक्सिन थप प्रभावकारी, सुरक्षित र यसको साइडइफेक्ट पनि नरहेको दाबी रुसले गरेको छ । दोस्रो भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने रुसले बताएको छ । रुसले साइबेरियास्थित एक पूर्वशीर्ष गुप्त सोभियत जैविक हतियार अनुसन्धानशालामा एप–भ्याक भ्याक्सिन विकसित गरिरहेको बताइन्छ, त्यो स्थान अहिले विश्वको अग्रणी भाइरोलोजी संस्थानका रूपमा सक्रिय छ । रुसी वैज्ञानिकहरूका अनुसार यो भ्याक्सिन ५७ जना भोलिन्टिरयमाथि परीक्षण गरिएको र कसैमा पनि यसको दुष्प्रभाव देखिएको छैन । इन्टरफ्क्यासले २३ दिन भोलिन्टियर्सलाई अस्पताल भर्ना गरिएको बताएको छ । यो भ्याक्सिनको उद्देश्य १४ देखि २१ दिनको अन्तरालमा दुई इन्जेक्सन दिएपछि एउटा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्नु रहेको छ । यो भ्याक्सिनको उत्पादन अक्टुबरदेखि नोभेम्बरसम्ममा हुन सक्ने रुसी जनताको अपेक्षा छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘स्पूतनिक भी’ नामको कोरोनाभाइरस भ्याक्सिन बनाएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनका थुप्रै साइड इफेक्ट भएको भन्दै रुसको अत्यधिक आलोचना भएको थियो ।

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा लागू

सउल : दक्षिण कोरियाले कोरोना भाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीले जनाएका छन् । सरकारले भेला हुन, रात्रीकालिन गतिविधि गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँका गतिविधिमा रोक लगाइएको छ । स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन्। दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ । सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो ।

मालीमा सैनिकहरूले नागरिक सरकार गठन गर्ने

काठमाडौंः पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ। सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको छ। उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ। ‘शक्ति हस्तान्तरण गर्ने’ अफ्रिकी सङ्घले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ। अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन्। तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन्। नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ। राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए। उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्‍यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेका छन्। तर उक्त वार्तापछि यसअघि भएका सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका एक चर्चिक धार्मिक अगुवा महमुद डिको राजनीतिबाट पछि हट्ने घोषणा गरिएको छ। केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए। तर उनले जुन महिनादेखि भ्रष्टाचार, आर्थिक अवस्था र विवादित संसदीय चुनावलाई लिएर ठूलो सडक प्रदर्शनको सामना गर्दै आएका थिए। माली विश्वका गरिब देशहरूमध्ये पर्छ, जसले कैयौँ पटक सैनिक सत्तापलटको अनुभव बेहोरेको छ। अहिले उक्त देश जातीय हिंसा र जिहादी आक्रमणको लहर नियन्त्रणको निम्ति लडिरहेको छ। बीबीसी

भारतमा कोरोनाको फेरि नयाँ रेकर्ड

काठमाडौंः भारतमा कोरोनाले फेरि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखा पर्दै कोरोनाले नयाँ रेकर्ड कायम गरेको हो । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका छन् । उक्त अवधिमा त्यहाँ ९७९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुग्दा ५३ हजार ९९४ जनाको मृत्यु भएको छ । बुधबार रेकर्ड ५९ हजार ३६५ जनालाई निको भएको छ । अहिलेसम्म २० लाख ९६ हजार ६८ जनालाई निको भएको छ । हाल ६ लाख ८५ हजार २३१ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा बुधबार १३ हजार १६५ जना संक्रमित थपिँदा ३४६ जनाको ज्यान गएको छ । निको हुनेको संख्या ९ हजार ११ रहेको छ । तमिलनाडुमा ५ हजार ७९५ संक्रमित थपिँदा ११६ जनाको ज्यान गयो । राजधानी दिल्लीमा १ हर ३९८ जना संक्रमित थपिँदा ९ जनाको ज्यान गएको थियो । तीव्र गतिमा पछिल्ला दिनमा भारतको अवस्था भयावह बन्दै गएको छ । भारतमा कोरोनाले नयाँ–नयाँ रेकर्ड बनाउँदै आइरहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो । धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार नयाँ संक्रमित थपिएका छन् भने १२ सय १४ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४८ हजार ५४१ जना संक्रमित थपिँदा ११ सय ७० जनाको मृत्यु भएको छ । रसियामा झण्डै ५ हजार संक्रमित थपिँदा ११७ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ हजार ९ सय संक्रमित थप भएका छन् भने १५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५८ हजार नयाँ संक्रमित थपिएका छन् । ६ हजार ४ सय जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कुल संक्रमितको संख्या २ करोड २५ लाख ५६ हजार पुगेको छ भने ७ लाख ८९ हजार जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड ५२ लाख पुगेको छ ।