भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक
काठमाडौंः भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । यसअघि दैनिक ६ हजारको हाराहारीमा संक्रमित थपिने भारतमा आइतबार ७ हजार पार गर्दै रेकर्ड ब्रेक भएको हो ।
भारतमा शनिबार लगातार कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै ६ हजार ६५४ पुगेको थियो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ आइतबार ७ हजार १ सय ११ संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै उच्च हो । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ । संक्रमितमध्ये साढे ५७ हजार बढी निको भएका छन् ।
आइतबार कोरोना संक्रमणबाट १ सय ५६ ले ज्यान गुमाएसँगै त्यहाँ मृतक संख्या ४ हजार २४ पुगेको छ ।
कहाँ कति संक्रमित ?
थप समाचारः
रिपोर्ट नेगेटिभ आएको खबरपछि ढुक्क भएर घर फर्केका युवकमा देखियाे संक्रमण
कान्तिपुरः महामारीको बेला सरकारले काम दिन सकेन, ३ सय बढी रेजिडेन्ट डाक्टर घर फर्कंदै
यी हुन् काठमाडौंमा निर्माण हुने चार नयाँ सहर, तयार भयो डीपीआर
काठमाडौंमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, कुन–कुन ठाउँका हुन् ?
त्रासदीपूर्ण घटनाः घर फर्किंदै गरेका १७ मजदूरको रेलले किचेर मृत्यु
औरंगाबाः लकडाउनका कारण अलपत्र परेपछि घर फर्किंदै गरेका १७ जना मजदूरको मृत्यु भएको छ । आफ्नो गाउँ जाने रेलमा चढ्न जालनादेखि औरंगावाददेखि पैदल हिंडेर गइरहेका मजदूरलाई रेलले किचेको न्यूज १८ले जनाएको छ । राति हिंड्दै गइरहेका प्रवासी मजदूर सटाना शिविर क्षेत्रमा पुग्दा थाकेर रेलकै पटरीमा सुत्न पुगेका थिए । तर आज बिहान करिब साढे ६ बजे एउटा मालगाडी ट्रयाकमा सुतिरहेका मजदूरमाथिबाट जाँदा एक दर्जनबढी मजदूर किचिएर मरेका हुन् । अहिले रेलका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेका छन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । यसअघि हिजो बिहान भारतको विशाखापट्टनममा रहेको एउटा पोलिमर कम्पनीबाट ग्यास लिक हुँदा ११ जनाको मृत्यु भएको थियो । ग्यास लिकका कारण हजारौं मानिस प्रभावित बनेका छन् । सोही फ्याक्ट्रीबाट गए राति समेत ग्यास लिक भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतमा तीव्र बन्दै कोरोना
नयाँ दिल्लीः कोरोना संक्रमणका कारण भारतमा मर्नेको संख्या तीव्र रुपमा बढिरहेको छ । बिहीबार मात्र १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ८९ पुगेको छ । बिहीबार ३ हजार ३ सय ६४ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ । कुन राष्ट्रमा कति ?
२ लाख ७० हजारको मृत्यु, ३९ लाख नाघे संक्रमित
काठमाडौंः विश्वभर कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघेको छ । वर्ल्डओमिटरका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७० हजार ७ सय ९ को मृत्यु भएको छ । त्यस्तै, संक्रमितको संख्या ३९ लाख १६ हजार २ सय ४४ पुगेको छ । बिहीबार मात्रै ९६ हजार नयाँ संक्रमित फेला परेका छन् भने ५ हजार ५ सय ८९ जनाको ज्यान गएको छ । संक्रमितमध्ये अहिलेसम्म १३ लाख ४१ हजार जना उपचारपछि निको भएका छन् भने २३ लाख उपचार गराइरहेका छन् । त्यस्तै, ४९ हजारको अवस्था गम्भीर छ ।
कोरोनाको अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या
वासिङ्टनः अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत फेला परेका छन् । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत फेला परेका थिए । उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली लागेको बताइएको छ । प्रहरीले उनको हत्या आफ्नै साथी इन्जिनियर हाउ गुले गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसन्धान अनुसार हाउले उनको हत्यापछि आत्महत्या गरेका थिए । अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रोफेसर लीले पछिल्लो समय कोभिड–१९ को गहन खोज गरिरहेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको घटनालाई चासोका साथ हेरिएको छ । तर, प्रहरीहरुले उनको हत्याको कारण कोभिड १९ को अध्ययन र उपलब्धिसँग सम्बन्धित रहेको कुनै प्रमाण हालसम्म नभेटिएको जनाएको छ । एजेन्सी
भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, उक्लियो टप-१४ मा
काठमाडौंः भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ५३ हजार नाघेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबारको तथ्यांकअनुसार यो भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमणबाट निको भएका विरामीको संख्या १५ हजार ३३१ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्म यो रोगका ३५ हजार ९ जना संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् । भारत यो समाचार तयार पार्दासम्म सर्बाधिक कोरोना संक्रमित हुने देशको सूचीको चौथौं स्थानमा उक्लिएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतमा महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १६ हजार ७५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना विरामी छन्। कोराना भाइरसको (कोभिड-१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरू भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । कोरोनाबाट बढी प्रभावित १४ देशको पछिल्लो विवरण
अन्ततः कोरोनालाई लिएर चिन्तित भए ट्रम्प, भने, ‘हमलाभन्दा घातक’
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा घातक भएको बताएका छन्। उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाए। ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए। ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरिरहेको छ। चीनमाथि निरन्तर हमला उनले भने, “चीनमा रहेको भाइरसको मुहानै यो रोकिनुपर्थ्यो तर त्यसो भएन।” ट्रम्पका भनाइमा यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन। बीबीसी संवाददाता बारबरा प्लेट अशर भन्छिन्, “विदेशमन्त्री माइक पोम्पेओले पनि चीनविरुद्धको आफ्नो कठोर आलोचना दोहोर्याएका छन्। चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ।” उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोहोर्याए। तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन। चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ। उसले अमेरकामाथि भाइरसविरुद्ध प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउँदै मानिसहरूको ध्यान अन्तै मोड्न खोजिरहेको भनि प्रतिवाद गरेको छ। अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन्। अमेरिका विश्वमै सबैभन्दा प्रभावित देश हो।
पाकिस्तानमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो
इस्लामावादः विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट पाकिस्तानमा सङ्क्रमितको संख्या १९ हजार नाघेको छ । पाकिस्तानी अधिकारीले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १९ हजार १०३ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४४० पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा ६ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा २ हजार ९०७ जना र बालुचिस्तानमा १ हजार १७२ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् । विश्वभर संक्रमितको संख्या ३५ लाख ७ हजार नाघेको छ । जसमध्ये ११ लाख ३० हजार निको हुँदा २ लाख ४५ हजारले ज्यान गुमाएका छन् ।
युरोपमा लकडाउन खुकुलो बनाउन पहल सुरू
कोरोना भाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी नागरिकहरु पहिलोपल्ट जगिङ गर्न, साइकल कुदाउन र रोलरस्केटमा हुँइकिन सडकमा देखिएका छन् । विश्वभर कोरोनाबाट २ लाख ४२ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यहीबीच युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । कोरोनाभाइरसको संक्रमण रोक्न विश्वको आधाभन्दा बढी जनसंख्यालाई लकडाउनमा राखिएको छ भने विश्व अर्थतन्त्रमा व्यापक मन्दी छाएको छ । संक्रमणको फैलावट नियन्त्रणमा आएको संकेत देखिएसँगै युरोप र संयुक्तराज्य अमेरिकामा केही सातादेखि बन्द रहेका उद्योग व्यवसाय खोल्न थालिएको छ । लकडाउनमा बन्धकझैं जीवन बिताउनु परेका मानिसले जनजीवन खुकुलो बनाउन दिनहुँ दबाब दिएपछि सरकारहरुले पनि बैकल्पिक सोच अघि सारेका छन् । विश्वमै कोरोनाभाइरसका कारण ठूलो संख्यामा नागरिक गुमाएको इटालीमा दुई महिनाको लकडाउनपछि सोमबार मानिसहरूलाई पार्कमा घुम्न र आफन्तहरूलाई भेट्न अनुमति दिइने छ । रेस्टुरेन्टबाट खानेकुरा किनेर लैजान पाइने छ भने ठूला होलसेल स्टोरहरूले व्यवसाय पुनः सुरु गर्न सक्ने छन् । हंगेरीमा केही स्टोरहरू र संग्रहालयहरू, रेस्टुरेन्ट र होटलहरूको बाहिरी ठाउँ, समुद्र तट र नुहाउने ठाउँ सोमबारदेखि पुनः खोल्न पाइने छ । तर राजधानी बुडापेस्टमा प्रतिबन्धहरु यथावत रहनेछ किनभने यहाँ देशभित्र कोरोना संक्रमितको कूल संख्याको झण्डै ७० प्रतिशत घटनाहरू रेकर्ड गरिएको छ । जर्मनीमा पनि यस साताको सुरूदेखि नै लकडाउनलाई अझ खुकुलो पारिँदैछ । केही क्षेत्रका स्कूलहरू फेरि खोल्ने अपेक्षा गरिएको छ भने स्लोभेनिया र पोल्याण्डमा केही व्यवसाय र सार्वजनिक ठाउँहरूमा मानिसलाई जमघट हुन दिइने छ । फ्रान्सले आगामी मे ११ पछि आंशिक रूपमा आफ्नो लकडाउन खुकुलो बनाउने जनाएको छ । स्वास्थ्य विशेषज्ञहरूले सामान्य लापरवाहीले पनि यो रोग पुनः फैलिने खतरा औंल्याएसँगै युरोपेली सरकारहरुले सामाजिक दूरीलाई कडाईका साथ पालना गर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने तथा बढीभन्दा बढी परीक्षण गर्नेमा जोड दिएका छन् । चिन्ताका बाबजुद शनिबार स्पेनमा लकडाउन खुकुलो पारिएसँगै मानिसहरुमा खुसी छाएको थियो । सात हप्तादेखि सरकारले लगाएको कडा प्रतिबन्धका कारण घरभित्रै बस्न बाध्य नागरिकहरु व्यायाम गर्न र स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउँदा खुसीले रमाएका थिए । कोरोनाभाइरसकै कारण स्पेनमा २५ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो । उता, संयुक्तराज्य अमेरिकामा कोरोनाका कारण लकडाउनमा बस्न विवश नागरिकहरुले नेताहरुमाथि जनजीवनलाई सहज तुल्याउन दबाब दिइरहेका छन् । अमेरिकामा उद्योग व्यवसाय बन्द हुँदा करोडौं मानिस बेरोजगार भएका छन् भने लकडाउनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । हतियार सहितका केही प्रदर्शनकारीको भीडले न्यु ह्याम्पशायर र केन्टकीमा लकडाउन विरुद्ध चर्को विरोध प्रदर्शन गरेको छ जबकि क्यालिफोर्नियाको हन्टिङ्टनको समुद्री बीचमा केही सर्फरहरूले स्थानीय सुरक्षाकर्मीको आदेशको समेत बेवास्ता गरेका थिए । संयुक्तराज्य अमेरिकामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक पीडा कम गर्न निकै उत्सुक देखिएका छन् । अमेरिकाका कतिपय क्षेत्रमा महामारीको असर कम हुँदै गएको देखिएको छ । न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा निर्माण गरिएको आपतकालीन फिल्ड (अस्थायी) अस्पताल बन्द गर्न लागिएको छ । अमेरिकाका जेलमा संक्रमणको ठूलो लहर देखा परेको अधिकारीहरुले बताएका छन् । अमेरिकी कारागारमा हाल २३ लाख कैदीबन्दी छन् । एजेन्सी
कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढीको मृत्यु
काठमाडौंः ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको जनाइएको छ। कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर आक्रोशित बनेका थिए। कैदीहरूले जेल तोड्ने प्रयत्न गरेको भन्ने अधिकारीहरूको दाबीबारे सन्देह व्यक्त गर्दै उक्त सङ्गठनले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको छ। घटनामा गभर्नरसहित कारागारका कर्मचारी समेत घाइते भएका छन्। कारागारसम्बन्धी मामिला हेर्ने मन्त्री आइरिस भारेलाले घटना भएको पुष्टि गरे पनि मृतकको सङ्ख्याबारे केही नबताएको एउटा स्थानीय पत्रिकाले जनाएको छ। उक्त पत्रिकाको समाचारमा घटनालाई कारागार तोडेर भाग्ने प्रयासको रूपमा चित्रण गरिएको छ। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भेनेजुएला सरकारले विभिन्न कदमहरू चालेपछि देशका फोहोर र कैदीले खचाखच कारागारहरूमा दङ्गाका घटना बढ्दो छन्। क्वारन्टीनसम्बन्धी नियमहरूका कारण कैदीहरूले आफन्तले ल्याइदिएका खानेकुरा लिन पाउँदैनन् जुन खानेकुरामा उनीहरू निर्भर रहन्छन्। भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार दङ्गामा ४६ जना कैदीको ज्यान गएको छ र एउटा स्थानीय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेहरूले भरिएको छ। बीबीसी
स्पेनमा सार्वजनिक स्थलमा जाँदा मास्क अनिवार्य
स्पेन सरकारले सार्वजनिक स्थलमा जाँदा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने नियम बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी न्यूनिकरण गर्न गरिएको लकडाउन खुकुलो पार्दै लगेको स्पेनले सार्वजनिक यातायातमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम बनाएको हो । बीबीसीका अनुसार उक्त नियम सोमबारदेखि लागू हुनेछ । सरकारले सार्वजनिक यातायातका विभिन्न स्थलमा ६० लाख र स्थानीय अधिकारीलाई ७० लाख मास्क उपलब्ध गराउने प्रधानमन्त्री पेड्रो सान्चेजले बताएका छन् । सात हप्ता लामो लकडाउनपछि शनिबार स्पेनका वयस्क मानिसलाई घरबाहिर पनि व्यायाम गर्न दिइएको थियो । यसअघि एक साता पहिले बालबालिकालाई बाहिर खेल्न दिइएको थियो । यस्तै भाइरस संक्रमण र मृत्युदर न्यून हुँदै गएपछि अन्य यूरोपियन मुलुकले पनि सामाजिक दूरी कायम गर्दै लकडाउनलाई खुकुलो पार्दैै लगेका छन् । गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाबाट हालसम्म स्पेनमा २ लाख १६ हजार ५८२ संक्रमित भइसकेका छन् । जसमध्ये १ लाख १७ हजार २४८ निको भएका छन् भने २५ हजार १ सयले ज्यान गुमाएका छन् । एजेन्सी
फ्रान्समा २४ जुलाईसम्म लम्बियो स्वास्थ्य संकटकाल
पेरिसः फ्रान्समा कोरोना भाइरसको कारण घोषणा गरिएको ११ मेसम्मको स्वास्थ्य संकटकाल २४ जुलाईसम्मका लागि लम्ब्याइएको छ । स्वास्थ्यमन्त्री ओलिभिय भेरँले शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संकटकाल लम्ब्याउने घोषणा गरेका हुन् । यसअघि मार्च २४ मा लागू भएपछिको संकटकाल लगाउनुपर्ने स्थिति अझै विस्तार भएको, अहिले नै संकटकाल खोल्नु समयअघि नै जोखिमको स्थिति देखा परेको, कोरोना भाइरसको महामारी रोक्न चालिएका कदमहरुकोबीचमा थप समस्याहरु देखिनाले संकटकाल लगाउनुपर्ने तर्क उनले दिएका हुन् । जुलाई २४ अघि नै संकटकाल खुकुलो पार्ने सरकारी प्रस्तावमाथि केही प्रावधानहरुलाई पुन परिवर्तित गरिने छ । यसअघि मे ११ बाट डेकेयर र शिशु कक्षाहरु सञ्चालन गर्ने सरकारले घोषणा गरेपछि अभिभावकहरुले यस्तो अवस्थामा आफ्ना बालबालिकाहरुलाई स्कुल पठाउन नसकिने भन्दै विरोध भएको थियो । फ्रान्समा हालसम्म १ लाख ६७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये साढे २४ हजार व्यक्तिले ज्यान गुमाएका छन् । फ्रान्समा ५० हजार बढी स.क्रमित उपचारपछि निको भएका छन् ।
बेलाबेला किन गायब भइरहन्छन् किम जोङ्ग उन ?
एजेन्सीः उत्तर कोरियाली नेता किम जोङ्ग उन कमैमात्र सार्वजनिक हुन्छन् । उनी संसारमै सबैभन्दा कडा सुरक्षा दिइएका नेतामध्ये पर्छन् । किम जब सार्वजनिक हुन्छन् तब सर्वत्र चासो हुन्छ । जब अज्ञात हुन्छन् तब पनि चासो हुन्छ । यसपटक किम २० दिन गायब भए । उनको बारेमा विभिन्न शंका उपशंका जन्मियो । कतिपयले उनको मृत्यु भइसकेको पनि भने । कतिपयले कोमामा रहेको भने । विभिन्न कथाहरु बुनिए । तर, संसारलाई चकित पार्दै किम सार्वजनिक भए । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले किम तीन हप्तापछि पहिलोपटक सार्वजनिक भएको खुलाइसकेका छन् । उत्तर कोरियाको न्युज एजेन्सी केसीएनएले किम मल उत्पादन कम्पनिको उदघाटनमा सहभागी भएको खुलाएको हो त्यो पनि मे दिवस पारेर । शुक्रबार उक्त कम्पनीको निर्माण सम्पन्न भई उदघाटन गरिएको थियो । किमले उदघाटनको रिबन काटे । ११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका थिएनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको विषय बाहिर आयो । मुटुको शल्यक्रियाको हल्ला चल्यो । यसको कुनै आधिकारिक समाचार आएको छैन । उनले १५ अप्रिलमा हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्तीमा सहभागिता जनाएका थिएनन् । किम गम्भीर विरामी परेपछि चिनियाँ स्वास्थ्य टोली उत्तर कोरियामा उपचारका लागि पुगेको खबर आएको थियो । किम सन् २०१४ मा ४० दिन गायब भएका थिए । उनी एउटा कनसर्टमा भाग लिएपछि गायब भएपछि विभिन्न आशंकाहरु जन्मिएको थियो । उत्तर कोरियाको राष्ट्रिय मिडियाले किमकाबारे केही उल्लेख गरेन । दक्षिण कोरियाको खुफिया एजेन्सीले किम देब्रे गोलीगाँठोमा समस्या भई शल्यक्रिया गरी आराम गरेको खुलाएको थियो । उनी बेला बेला किन गायब हुन्छन् त्यसबारे अहिलेसम्म कसैले केही खुलाएका छैनन् । त्यसबारे उत्तर कोरियाका सञ्चारमाध्यम पनि बेखबर छन् ।
पाँच मिनेटमै कोरोना पत्ता लगाउने किटको अन्तिम परीक्षण हुँदै
एजेन्सीः बेलायतको साउद वालेस विश्वविद्यालयले आधा घन्टाभित्रै कोरोना भाइरस परीक्षण गर्ने किटको विकास गरेको छ । उक्त किटले ठीकसँग काम गर्छ या गर्दैन भन्ने अन्तिम मेडिकल परीक्षण भइरहेको छ । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले भने प्राथमिक चरणमा किटको नतिजा सकारात्मक देखिएको बताएको छ । यसका किसिमका परीक्षण किटहरू अन्य देशहरूमा पनि विकास भइरहेका छन् । लन्डनको नर्विच अनुसन्धान केन्द्रले पनि यस्तै किसिमको परीक्षण किटको विकास गरिरहेको छ । त्यस्तै बेलायतको एक्सटर विश्वविद्यालयले पनि हाल कोरोना संक्रमण भए–नभएको तथा संक्रमण भएर निको भएको वा नभएको दुवै परीक्षण गर्न सक्ने किसिमको किटको विकास गरेको छ । यो किट पनि अन्तिम परीक्षणका क्रममा रहेको छ । एक्सटर विश्वविद्यालयको टिमले अहिले बेलायतका एसटी थोमस अस्पतालमा किटको परीक्षण भइरहेको जनाएको छ । परीक्षण किटले सकारात्मक काम गऱ्यो भने परीक्षणको नतिजा पाँच मिनेटमै देखिने विश्वविद्यालयले जनाएको छ ।
भारतमा कोरोना विष्फोटः संक्रमित संख्या १८,५५० बढी, मुम्बईमा मात्रै २३२ को मृत्यु
नयाँ दिल्ली । एशियामा इरानपछि भारतमा संक्रमणले विष्फोटको रुप लिएको छ । पछिल्लो तीन दिनमा प्रतिदिन एक हजार बढी संक्रमणका घटना फेला परेका छन् । आइतबारका दिन १५९० नयाँ संक्रमण देखिएको भारतमा सोबार समेत १३७१ जनामा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५९२ पुगेको छ भने ३२७३ जना निको भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपनि संक्रमण रोकिन सकेको छैन । केही खास खास समुदाय र क्षेत्रमा संक्रमण फैलिएकोले संख्या अझै थप हुने बताइन्छ । खासगरी दिल्लीको निजामुद्दिनमा भएको तब्लिगी जमातको भेलाका कारण मात्रै एक तिहाई संक्रमण भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणको सबैभन्दा बढी मार भने महाराष्ट्र राज्यलाई परेको छ । महाराष्ट्र भित्र पनि मुम्बई अहिले संक्रमणको मुख्य केन्द्र बन्न पुगेको छ । मुम्बईमा संक्रमितको संख्या २४५५ पुगेको छ भने २३२ जनाको मृत्यु भएको छ । महाराष्ट्र सरकारले केन्द्र सरकारको अनुमतिमा ७५ हजार आरडिटी परीक्षण गर्ने बताएको छ । मुम्बईका लागि सबैभन्दा ठूलो तनाव धारावी क्षेत्र बन्न पुगेको छ । डेढ दुई किलोमिटर क्षेत्रभित्र लाखौं जनसंख्या बसोबास गर्ने यो गरिबहरुको बस्तीमा कोरोनाले डढेलोको रुप लिएको छ । शुरुमा एकजनामा देखिएको कोरोना अहिले सय भन्दा बढीमा देखिएको छ भने दर्जनबढीको निधन भएको छ । महाराष्ट्र सरकारले धारावी क्षेत्रमा क्लोरोक्विन औषधीको प्रयोग गर्ने जनाएको छ । तर यो ६५ वर्ष माथिका र दीर्घ रोग भएका बिरामीलाई भने दिइने छैन । महाराष्ट्रपछि दिल्लीमा संक्रमण फैलिएको छ । दिल्लीमा २ हजार ८१ जना संक्रमित देखिएका छन् । यसैबीच लकडाउनको विषयमा केन्द्र र पश्चिम बंगाल सरकारबीच विवाद चर्किएको छ । पश्चिम बंगालमा लकडाउन तथा कोरोनाविरुद्धको प्रयासको अवस्था बुझ्न केन्द्रले ६ सदस्यीय अन्र्तमन्त्रालय टीम पठाउने निर्णय गरेपछि मुख्यमन्त्री ममता बनर्जीले बिरोध गरेकी छिन् । प्रदेश सरकारले काम गरिरहेको बेला त्यसको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै केन्द्रले टीम पठाएको बनर्जीको आरोप छ । यो संघीय ढाँचाविरुद्ध भएको उनले बताएकी छिन् । यहाँ प्रयोग भएका तथ्यांक मंगलबार बिहान ५ बजेसम्म अपडेट भए अनुरुप हुन ।
भारतमा ५३ पत्रकारलाई कोरोना संक्रमण
काठमाडौंः भारतमा ५३ जना पत्रकारमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्थानीय सञ्चारमाध्यम हफपोष्टले सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै यो संख्या अझै बढ्न सक्ने उल्लेख गरेको छ । बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेले हफपोस्टलाई बताए अनुसार १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । ‘परीक्षणका लागि पठाइएको १ सय ६७ पत्रकारहरुको नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ’, उनले भने, ‘यो संख्या अझै बढ्न सक्छ ।’ कोभिड १९ रिपोर्ट पोजेटिभ आएका ५३ जनामा समाचार च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् ।



