कोरोना भाइरस: एक लाख ३५ हजार संक्रमित, करिब ५ हजारको मृत्यु
पेरिस : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ ।
यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ ।
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।
रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ ।
पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ ।
इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।
पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।
पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।
सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् । एजेन्सी
भूकम्पको ऋण तिर्दै चीनमा नेपाली विद्यार्थी
काठमाडौंः कोभिड १९ को संक्रमण फैलिएपछि चीनका विभिन्न स्थानमा स्वयंसेवक सक्रिय रहेका छन् । उनीहरुले बसोवास क्षेत्रबाट बाहिर जाने तथा भित्र पस्ने स्थानीयको परिचयपत्र जाँच्ने, अनावश्यक व्यक्तिलाई त्यस्ता ठाउँमा पस्न नदिने, शरीरको तापक्रम नाप्ने, मास्क लगाउन भन्ने, बाहिरबाट घरमा गएपछि साबुनपानीले हात धुन सम्झाउने, भिडभाडमा नजान र वृद्धवृद्धा तथा बालबच्चाको ख्याल गर्ने सल्लाह दिने गरेका छन् । कोभिड १९ संक्रमण बढेपछि डेढ महिनादेखि यस्ता स्वयंसेवक चीनमा लाखौंको संख्यामा सक्रिय छन् । यसरी जनचेतना फैल्याउने स्वयंसेवकमध्ये एकजना नेपाली विद्यार्थी यति बेला चीनमा चर्चित बनेका छन् । चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा एक महिनादेखि भक्तपुरका सन्देश देउजा स्थानीयलाई सचेत गराउन सक्रिय छन् । शाङहाईमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत सन्देश आफैं घुम्न गएको बेला क्वाङ्सी प्रान्तमा थुनिएका थिए । उनी चिनियाँ नयाँ वर्ष सुरु हुनुभन्दा दुई दिन अगाडि गत जनवरी २३ मा क्वाङ्सी पुगेका थिए । क्वाङ्सीमा रहेका साथीको घरमा नयाँ वर्ष मनाएर उनी जनवरी २५ मा साथीसहित युन्नान प्रान्ततिर लागे । राजमार्गबाट एक दिन एक रातमा उनीहरु युन्नान प्रान्त पुगे । त्यतिन्जेलसम्म नयाँ कोरोना भाइरसले चीनलाई गाँजेको न सन्देशलाई भेउ थियो न उनका साथीलाई । युन्नान प्रान्तमा पुगेपछि उनीहरुलाई सांग्रिला पर्यटकीय स्थलमा प्रवेश गर्न सुरक्षाकर्मीले दिएनन् । अनि बल्ल उनीहरुले थाहा पाए– चीनका सबै पर्यटकीय स्थलहरु कोरोना भाइरले गर्दा बन्द भइसकेका रहेछन् । उनीहरु जुन बाटोबाट आएका र्थि, त्यही बाटो क्वाङ्सी फर्किए । त्यसपछि सन्देशको बसोबास डेढ महिनादेखि क्वाङ्सीमै छ । क्वाङ्सी प्रान्त हुपेईजस्तो पूरै बन्द नभए पनि त्यहाँबाट हवाईजहाज अथवा रेलमा चढेर शाङहाई जाँदा कोरोना संक्रमण हुने ठानेर सन्देश त्यहीं साथीको घरमा बस्न थाले । एक दिन दुई दिन गर्दागर्दै उनको बसाइ डेढ महिना लम्बिसकेको छ । केही दिन यत्तिकै बसेपछि उनी स्वयंसेवामा लागेका हुन् । चीनमा स्वयंसेवा गर्न सजिलो छैन । नाम दर्ता गरेपछि विभिन्न मापदण्ड पूरा गर्नुपर्छ । जो साथीले उनलाई क्वाङ्सी घुम्न बोलाएका थिए, उनी चिनियाँ कम्युनिस्ट पार्टीको स्थानीय कमिटीमा आबद्ध रहेकाले उनले स्वयंसेवा गर्न सन्देशलाई पार्टीमा सिफारिस गरिएि । त्यसपछि सन्देश सडकमा रमाउन थालेका हुन् । मास्क लगाएकाले स्थानीय चिनियाँले उनलाई तुरुन्तै विदेशी हो भनेर चिन्दैनन् । सन्देश राम्रोसँग चिनियाँ बोल्न सक्छन् । तर क्वाङ्सीमा स्थानीय भाषा बोलिने भएकाले कसैले उनलाई केही सोध्यो भने उनी ‘कृपया मान्डारिनमा भन्नुहोस्’ भन्छन् । त्यसपछि स्थानीय चिनियाँले ‘तपाईं कुन प्रान्तको हुनुहुन्छ’ भनेर सोध्छन् । सन्देश आफूलाई नेपाली बताउँछन् । धेरै चिनियाँलाई नेपाल कहाँ छ भन्ने कुराको हेक्का हुँदैन । जसले थाहा पाउँछन् उनीहरु सन्देशलाई अँगाल्न खोज्छन् तर कोभिड १९ को संक्रमणले त्यसो नगर्न उनी सम्झाउँछन् । सन्देशले क्वाङ्सी प्रान्तमा स्वयंसेवामात्र होइन, नेपालको प्रचारप्रसार पनि गरिरहेका छन् । चिनियाँ सामाजिक सञ्जालमा गीत गाउने र छोटाछोटा भिडियो बनाएर पोस्ट गर्ने उनले चीनभरि थुप्रै घनिष्ट साथी बनाएका छन् । सामाजिक सञ्जालबाटै बनाएका साथीको घरमा उनी डेढ महिनादेखि निःशुल्क पाहुनाका रुपमा बसिरहेका छन् । मनोरञ्जनका रुपमा लिइने चिनियाँ सामाजिक सञ्जालमा सबैभन्दा लोकप्रिय तौयिङ हो । चिनियाँहरु टिकटकलाई तौयिङ भन्छन् । तौयिङमा सन्देशले छोटाछोटा भिडियो बनाएर हाल्ने गर्छन् । तौयिङमा सन्देशलाई पछ्याउने चिनियाँको संख्या साढे तीन लाख छ । नेपालले चीनलाई सहयोगस्वरुप प्रदान गरेको मास्क तथा भूकम्पको समयमा चीनले नेपाललाई गरेको सहयोगलाई जोडेर उनले बनाएका छोटो भिडियो अहिलेसम्म पाँच करोडभन्दा बढीले हेरिसकेका छन् । तौयिङको भिडियो देखेपछि चिनियाँ केन्द्रीय टेलिभिजन सिसिटिभीले समेत सन्देशले गरिरहेको स्वयंसेवाको छायांकन गरी समाचार प्रसारण गरेको छ । त्यसो त सन्देशले यसअगाडि नै सिसिटिभीमा दर्जनौंपटक उपस्थित भएर चिनियाँ र नेपाली गीत गाएका छन् । उनले केही चिनियाँ टेलिशृंखलामा काम पनि गरेका छन् । उनले कतै भिलेनको भूमिका निर्वाह गरेका छन् भने कतै गीत गाउने पात्रको भूमिका निर्वाह गरेका छन् । एउटा टेलिशृंखलामा उनले म्यान्मारको पात्रको भूमिका पनि निर्वाह गरेका छन् । २०७२ सालमा भूकम्प जाँदा सन्देश भक्तपुरमा थिए । भूकम्पपछिको उद्धार कार्यमा चिनियाँले गरेको सहयोगलाई उनले नजिकैबाट हेरेका थिए । नेपालीलाई आपत् पर्दा चिनियाँले गरेको सहयोगले आफू सधैं ऋणी भएको उनले अनुभव गरिरहेका छन् । यतिबेला कोभिड १९ बाट चीन आक्रान्त हुँदा आफूले चिनियाँलाई थोरै भए पनि सहयोग गर्न पाएकोमा गौरवबोध भएको उनले बताए । उनले भने, ‘भूकम्पले नेपाललाई तहसनहस बनाउँदा चिनियाँले गरेको सहयोगको ऋण त हामी कहिल्यै पनि तिर्न सक्दैनौं। समुद्रको पैंचो थोपा भए पनि फर्काउने प्रयास गरेको छु ।’ नागरिक दैनिक
इराकस्थित अमेरिकी–बेलायती सैन्य शिविरमा आक्रमण, तीनको मृत्यु
एजेन्सीः इराकस्थित अमेरिकी र बेलायती सैन्य शिविरमा गरिएको रकेट आक्रमणमा तीन जनाको मृत्यु भएको छ । इराकको राजधानी बगदादको उत्तरी भेगमा अवस्थित ताजी सैन्य शिविरमा गरिएको आक्रमणमा कम्तिमा १२ जना घाइते भएका छन् । अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै बीबीसीले अमेरिकी सिपाही, ठेकेदार र बेलायती सिपाही गरी तीन जनाको मृत्यु भएको उल्लेख गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा इरानका वरिष्ठ कमाण्डर कसीम सुलेमानीको मृत्युपछि इराकमा उब्जिएको तनाब यथावत रहेको छ । इराक र सिरियास्थित अमेरिकी सैन्य गठबन्धनले एक वक्तब्य जारी गरी सैन्य शिविरमा १८ वटा रकेट प्रहार गरिएकोमा तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध
काठमाडौंः कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा सोधपुछ र स्वास्थय जाँच हुने छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधनमार्फत सो प्रतिबन्धको घोषणा गर्दै सबै खाले युरोप यात्र माथि ३० दिनका लागि प्रतिबन्ध लगाइएको बताए । उनले भने, ‘कठोर तर आवश्यक प्रतिबन्ध हो तर यो बेलायतका लागि भने होइन ।’ बेलायतमा पनि अहिलेसम्म ४६० जनामा यो संक्रमण देखिएको छ ।
जब मतदाता परिचयपत्रमा कुकुरको तस्वीर छापियो…
एजेन्सीः भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा नाम, ठेगाना सबै सही छन् तर तस्वीर राख्नुपर्ने ठाउँमा कुकुरको फोटो राखिएको छ । कुकुरको फोटो भएका व्यक्ति सुनील करमाकर हुन् । उनी पश्चिम बंगालको मुर्शिदाबादमा बस्छन् । करमाकरले भारतको निर्वाचन आयोगविरुद्ध मानहानिको मुद्दा दायर गर्ने बताएका छन् । ६४ वर्षीय करमाकरले भने, ‘आयोगका अधिकारीले मेरो मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखेछन् । मैले सुधारका लागि निवेदन दिएको थिएँ । तर उनीहरूले सुधार गरेनन् ।’ कर्मचारीहरूले जानीबुझी गल्ती गरेको करमाकरको भनाइ छ । यसले गर्दा आफ्नो सार्वजनिक बेइज्जती भएको र मजाक उडाइएको उनले बताए । आयोगका अधिकारीलाई यसबारेमा सोध्दा गल्ती कसरी भयो, थाहा नभएको बताए । तर करमाकरको मतदाता परिचयपत्रमा भएको गल्ती सुधारिएको अधिकारीको भनाइ छ । मुर्शिदाबादमा सुनील करमाकर मात्र नभई ८ लाख ३० हजार मानिसले मतदाता परिचयपत्रमा भएका गल्ती सुधार्न निवेदन दिएको बताइएको छ ।
निर्भया काण्डः दोषीलाई फाँसीका लागि नयाँ मिति कहिले ?
भारत: राजधानी दिल्लीमा सन् २०१२ मा भएको एउटा जघन्य घटनामा दोषी ठहर भएका चार जनालाई फाँसीको नयाँ सजाय तोकिएको छ । बीबीसीका अनुसार नयाँ मितिअनुसार २० मार्च २०२० बिहान ५:३० मा उनीहरूलाई फाँसी दिने बताइएको छ । यस अघि चारमध्येका एक जना दोषी पवन गुप्ताले राष्ट्रपति रामनाथ कोविन्द समक्ष पेश गरेको दया याचिका खारेज भएको थियो । यस अघि तोकिएको फाँसीको मिति गुप्ताले दया याचिका माग गरेपछि स्थगन भएको थियो । निर्भया काण्डका चारै जना दोषी मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई पटियला हाउस कोर्टले फाँसीको सजाय सुनाएको हो ।
संसद बैठक चलिरहँदा जब सांसदहरूबीच कुटाकुट भयो…
अंकारा: टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो । प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए । झगडाको क्रममा केही सांसदले त कुर्सीमाथि टेकेर मुड्की प्रहार गरेका थिए । केहीले भने रोक्ने प्रयास गरे । केही सांसद त हुलमुलमा भुइँमा समेत पल्टिएका थिए । टर्किस संसदको झगडाको भिडिओ फुटेज समेत सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि हुन् । जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए । उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए । टर्कीले २०१८ मा रुससँग सम्झौता गरे अनुरुप सिरियाली फौजलाई सहयोग गर्दैआएको छ । प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दैआएको छ ।
कोरोना भाइरसबाट इटालीमा १०७ जनाको मृत्यु
एजेन्सी:कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कूल बन्द गर्ने घोषणा गरेको छ । कोरोनाबाट १०७ जनाले ज्यान गुमाएपछि इटालीले बिहीबारबाट १० दिनका लागि सबै स्कूल बन्द गर्ने घोषणा गरेको हो । उसले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिलाई अप्रिल ३ सम्मका लागि बन्द रंगशालामा गर्ने घोषणा पनि गरेको छ । इटालीको सरकारको निर्णय अनुसार हुनैपर्ने खेल गतिविधिहरू बन्द रंगशालामा खेलाइनेछ । यसमा घरेलु फुटबल लिग र अन्तराष्ट्रिय फुटबल खेलहरू रहेका छन् । युरोपमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभित इटालीमा हालसम्म यस सम्बन्धी ३ हजार मामिलाहरू दर्ता भएका छन् । यसको संक्रमणबाट इटालीको उत्तरी भूभाग धेरै प्रभावित बनेको छ ।
‘मिस वर्ल्ड’ टोनी नेपाल आउँदै
काठमाडौंः ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह आज नेपाल आउने भएकी छन् । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा बिहीबार नेपाल आउने विश्वसुन्दरी टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन् । उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने भएकी हुन् । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् । नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न उनीसहित मिस वर्ल्ड आयोजक संस्थाका प्रतिनिधि पनि आउने भएका छन ।
कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुग्यो, क्यालिफोर्नियामा आपतकाल घोषणा
कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा ज्यान गुमाउनको संख्या ११ पुगेको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । क्यालिफोर्नियामा पहिलो व्यक्तिको ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेको छ । ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने बताएको छ । अमेरिकाको १६ राज्यमा कम्तीमा एक सय ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ । चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । एजेन्सी
कोरोना विरुद्धको भ्याक्सिन पत्ता लागेको चीनको दाबी
चिनियाँ सेनाको मेजर जनरलको टीमले कोरोना भाइरस (कोविड १९) बिरुद्धको ब्यक्सिन पत्ता लगाएका छन । विश्वभरका ७० भन्दा बढी देशमा महामारीको रुपमा फैलिएको कोरोनाले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा चिनियाँ सेनाले उक्त भ्याक्सिन बनाएको हो । चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो । शेनको टीमले कोरोनाविरुद्धको खोपको ‘क्लिनकल एप्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो । ‘यो महामारीको रोकथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्रमण रोकिने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने, ‘वैज्ञानिकहरुको एक शक्तिशाली नेतृत्व प्रणाली । ताकि तिनीहरूले विशिष्ट प्रकारका भाइरस र कीटाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।’ मेजर जनरल चीनको सबैभन्दा चिनिएको जैव रासायनिक विशेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा निमोनियाजस्ता हजारौं मानिसलाई बिरामी पारेको अज्ञात भाइरस बुझ्नको लागि प्रयास गरिरहेका छन् । चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ । यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ । एजेन्सी ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ पुग्यो
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै भारतका स्वास्थ्यमन्त्री हर्ष बर्द्बनले भारतमा कोरोना संक्रमितको संख्या २८ पुगेको जानकारी दिए। क्वारेन्टाइनमा राखिएका १६ इटालीका पर्यटकमा कोरोनाको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढेको हो। हर्ष बर्द्बनका अनुसार पछिल्लो समय आगराका छ जनामा कोरोनाको संक्रमण देखिएको छ। कोरोनाको परीक्षणको लागि चारवटा प्रयोगशाला थपिने उनको भनाई छ। पहिले १५ वटा प्रयोगशालामा संक्रमितको परीक्षण गरिरहेको थियो। यससँगै भारतमा १९ वटा प्रयोगशालामा कोरोना संक्रमितको परीक्षण हुने छ। भारत आउने प्रत्येक विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए। यसभन्दा अगाडि १२ वटा मुलुकका नागरिकका स्वास्थ्य परीक्षण गरिन्थ्यो। –एजेन्सी
भारतले लगायो औषधि निर्यातमा प्रतिबन्ध, विश्वभरि अभाव हुने
काठमाडौंः विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ। अहिलेसम्म चीनबाहेक ८० वटा देशमा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परिसकेका छन्। एशियाबाहेक युरोप, अमेरिका र अफ्रिकाम पनि सङ्क्रमण फैलिएको छ। नब्बे हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण र झन्डै ३,२०० जनाको मृत्यु भएको पुष्टि भएको छ। सिटामोल पनि भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ। यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो। भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो। भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए। “चीनमा नबन्ने औषधिका कच्चा पदार्थ पनि चीनबाटै मगाइन्छ। यदि भारत र चीन दुवै प्रभावित भए भने विश्वभरि नै अभाव हुनसक्छ,” चाइना मार्केट रिसर्च ग्रूपका विश्लेषक शउन रेनले बताए। निर्यात नियन्त्रणका निम्ति सूचीकृत भएका सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतजति हुन्छ। यसमा टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी१२ पर्छन्। अक्सफोर्ड इकोनोमिक्सका अगुवा अर्थविद् स्टीभन फोरम्यानले बीबीसीसँग कुरा गर्दै यी घटनाक्रमले बजारमा सामग्रीको अभाव र मूल्यवृद्धि देखिइसकेको बताए। “भारतमा सामग्रीको आपूर्तिमा कमी हुनासाथ त्यहाँ मूल्य बढेको सङ्केत पाइसकिएको छ,” उनले भने। शान्त रहन आह्वान भारत सरकारले उसले सर्वसाधारणलाई यो घोषणाबाट विचलित नहुन तथा शान्त रहन आह्वान गरेको छ। उसले देशमा तीन महिनाका लागि पुग्ने औषधिको भण्डार रहेको बताएको छ। भारतका केही स्थानमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्। भारतले चीन तथा जापानमबाट सयौँ भारतीय नागरिकलाई उद्धार गरी स्वदेश ल्याएको थियो। अमेरिकाको खाद्य तथा औषधि प्रशासन निकाय एफडीएका अनुसार सन् २०१८ मा अमेरिकाले गरेको कुल औषधि आयातमा भारतको हिस्सा झन्डै एकचौथाइ थियो भने औषधिको कच्चा पदार्थको आयातमा भारतको हिस्सा ३० प्रतिशत थियो। एफडीएका आयुक्त स्टीभन हानले भारतको पछिल्लो निर्णयले अमेरिकामा औषधि आपूर्तिमा कति असर पार्छ भनेर निर्क्योल गर्ने प्रयास भइरहेको मङ्गलवार अमेरिकाको माथिल्लो सभाका सदस्यहरूलाई जानकारी दिए। अमेरिकाका ठूला औषधि निर्माता कम्पनीहरूले उनीहरूले आपूर्ति प्रणालीको निगरानी गरिरहेको बताएका छन्। गत साता माइलन कम्पनीले औषधिको अभाव हुने चेतावनी दिएको थियो। तर अर्को कम्पनी इली लिलीले इन्सुलिनसहित आफ्ना उत्पादनमा कोरोनाभाइरसका कारण कुनै अभाव हुने नठानिएको बताएको छ। बीबीसी
अमेरिकाको टेनिसीमा आँधीः २५ जनाले ज्यान गुमाए
अमेरिकाः अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी २५ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्। स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण २५ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ। न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पुर्याएको बताएको छ। क्षतिका विवरणहरू सङ्कलन भइरहेको पनि विभागले बताएको छ।
कोरोना भाइरस संक्रमणका कारण इरानमा ५४ हजार कैदी रिहा
एजेन्सीः कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि इरानले करिब ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । जुन जेलमा कैदीको संख्या अत्यधिक छ त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो कदम उठाइएको हो । न्यायपालिकाका प्रवक्ता घोलमहुसैन इस्मालीले पत्रकारसँगको कुराकानीमा यी कैदीको स्वास्थ्य परीक्षण गरिएको र नतिजा नकारात्मक पाइएको जानकारी दिए । उनीहरुलाई जमानतमा अस्थायी रुपमा रिहा गरिएको उनले बताए । यद्यपि, ‘सिक्योरिटी प्रिजनर्स’ जसलाई पाँच वर्षभन्दा बढी सजाय सुनाइएको छ, उनीहरुलाई छोडिएको छैन । ब्रिटिश–इरानी च्यारिटी वर्कर नाजनीन जघारी–र्याटक्लिफलाई पनि निकै चाँडै नै छोडिनेछ । नाजनिनका श्रीमान्ले शनिबार भनेका थिए, ‘मलाई पूर्ण विश्वास छ कि मेरी श्रीमती कोरोना भाइरसले ग्रसित छिन् । उनी यतिबेला तेहरानको एविन जेलमा छिन् ।’ यद्यपि, अधिकारीले उनको स्वास्थ्य परीक्षण गर्न अस्विकार गरेका छन् । नाजनिनलाई जासुसीको आरोपमा दोषी ठहर गरेपछि सन् २०१६ मा पाँच वर्षको सजाय सुनाइएको थियो । ब्रिटेनले उनी निर्दोष भएको बताउँदै आएको छ । इरानका थुप्रै अधिकारीसमेत कोरोना भाइरसद्वारा संक्रमित छन् । इरानी संसदको २ सय ९० सदस्यमा २३ जनाको रक्त परीक्षण सकारात्मक देखिएको छ ।
तालिवानी लडाकूहरुले अफगानिस्तानमा जारी हिंसालाई निरन्तरता दिएपछि….
एजेन्सीः तालिवानी लडाकूहरुले अफगानिस्तानमा जारी हिंसालाई निरन्तरता दिएपछि आगामी हप्ता हुने भनिएको शान्ति वार्तामा आशंका उत्पन्न भएको छ । तालिवानी लडाकूहरुले सरकारसँग वार्ता गर्ने भन्दै शान्ति सम्झौता गरेपनि दुवै पक्षले आफ्ना गतिविधिलाई निरन्तरता दिएपछि आशंका उत्पन्न भएको हो । शान्ति सम्झौतापछि पनि तालिवानी लडाकूहरुले १६ भन्दा बढी प्रान्तमा गरेको हमलाका कारण सुरक्षाकर्मी र सर्वसाधारण मारिएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानी लडाकूहरुसँग हुन लागेको शान्ति वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले अफगानिस्तानको शान्तिका लागि आफूले गरेको पहलका कारण वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् । तालिवानीसँग अमेरिकाले गरेको सहमति अनुसार यही मार्च १० सम्ममा पाँच हजार तालिवानी कैदी र एक हजार अफगान सुरक्षाबलका कैदीहरु रिहा हुने छन् । तर अफगानी राष्ट्रपति असरफ घानीले गत आइतबार तालिवानीको सर्त अनुसार वार्ता नहुने प्रतिक्रिया दिएका थिए । राष्ट्रपतिको प्रतिक्रिया आएसँगै वार्ता सफल हुनेमा आशंका व्यक्त हुन थालेको हो । सन् २००१ मा अमेरिकाको जुम्ल्याहा भवनमा भएको आक्रमणको केही समयपछि अमेरिकाले अफगानिस्तानमा रहेको अलकायदा समूहमाथि कारवाही थालेको थियो । त्यसलगत्तै सत्ताबाट बाहिरिएको तालिवानी लडाकूको समूह विद्रोही शक्ति बन्न पुगेको हो ।

