भारतको मध्य प्रदेशमा बस दुुर्घटना, ४२ जनाको ज्यान गयो

काठमाडौंः मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस नहरमा खस्दा ४२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्गलवार बिहान साढे ७ बजेतिर सिधीबाट सतना गइरहेको बस २२ फिट गहिरो नहरमा खसेको हो । दुर्घटनाको समय बसमा ५० भन्दा धेरै जना रहेको बताइएको छ ।

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ४२ जनाको शव नहरबाट बाहिर निकालिएको छ । अन्यको खोजी भइरहेको छ । यसका साथै ७ जनालाई बचाइएको बीबीसीमा उल्लेख छ ।

त्यहाँको प्रशासनले नहरमा डुबेको बसलाई क्रेनको मदतमा बाहिर निकालेको छ । उद्धार अभियानमा प्रशासनले गोताखोरको सहयोग लिएको छ ।

प्रशासनका अनुसार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्छ । प्रशासनले नहरमा बगेका भनिएकाहरूको खोजीमा जुटेको जनाएको छ । बसका ड्राइभरले भनेर पौडेर ज्यान बचाएको बताइएको छ ।

यस घटनाको कारणबारे थाहा भइसकेको छैन । बसमा क्षमताभन्दा धेरै जना सवार भएको हुन सक्ने मानिएको छ । ३२ सिट क्षमताको बसमा झण्डै ५५ जना रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडक जामका कारण बस अर्कै बाटो भएर गएको र सडक अप्ठ्यारो भएका कारण गाडी ड्राइभरको नियन्त्रणबाहिर जाँदा गहिरो नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

सउलः दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ। एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो। दक्षिण कोरियाको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करिब १० लाख रोजगारी कटौती गरिएको छ। यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एसियन वित्तीय सङ्कटपछिको पहिलो हो। कोभिड–१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन्। त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन्। कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको सङ्ख्या २५.८ मिलियन छ। हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्या आठ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएका छन्। त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ। जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरुपमा असर पर्ने बताउँछन्। कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार छ हजार ५०० बढी छन्। नयाँ श्रम सम्झौता र इपिएसको परीक्षासमेत हुन सकेको छैन। रासस  

गोदावरीमा अन्तर्राष्ट्रिय सम्मेलन हल निमार्ण हँदै

काठमाडौः ललितपुर गोदावरीमा निमार्णाधिन अन्तर्राष्ट्रिय सम्मेलन हल निर्माणकार्य तिब्र रुपमा भइरहेको छ। यही चैतभित्र सरकारलाई हस्तान्तरण गर्ने गरी सम्मेलन हलको निर्माण कम्पनीले जानकारी दिएको छ ।

अफगानिस्तानमा रक्षामन्त्रीका सवारी चालक र ५ वर्षीय छोराको हत्या

काबुल  : अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरूको हत्या भएको अधिकारीहरूले जनाएका छन् । देशमा शान्ति स्थापनाका लागि प्रयास भइरहेका बेला दर्दनाक हिंसात्मक घटना जारी नै रहेको छन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयास भइरहे पनि सफलता मिल्न सकेको छैन । एएनआई

भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

भारतः कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । ‘भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ’, विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भन । उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोवारसहित प्रदान गरिएको हो । माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए । भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्धिपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ । भारतमा कोरोनाभाइरसको विरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरु मध्येमा पर्दछ ।

सू चीको कार्यालयमा सेनाको कारबाही

म्यान्मार । म्यान्मारको सेनाले नेत्री आङ सान सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको दाबी उक्त दलले गरेको छ । मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोको फोरेर भित्र छिरेको जानकारी बीबीसी बर्मिजले प्राप्त गरेको छ। त्यतिबेला कार्यालयमा पार्टीका कुनै कार्यकर्ता थिएनन्। सेनाले रात्रिकालीन कर्फ्यूका बेला छापा मारेको थियो । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ । म्यान्मारमा सेनाले शासन आफ्नो हातमा लिएपछि सुरु भएको प्रदर्शनमा सहभागी एक महिला गम्भीर घाइते भएको बताइएको छ । ती महिला मङ्गलवार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएकी थिइन्। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो। मानवाधिकारवादी समूहहरूका अनुसार ती महिलाको टाउकोमा गोली लागेको थियो। प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन्। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन्। बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ। राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन्। बीबीसी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा आफूमाथि लागेको आरोप अस्वीकार

काठमाडौंः भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् । इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ । अदालतबाट निस्कनेक्रममा उनले पत्रकारहरुसँग भने, ‘मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।’ उनलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । सुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै पेश गरेका हुन् । प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरुमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । उनलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उनी १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ ।

उत्तर भारतको बाढीः १८ शव फेला, २०२ अझै बेपत्ता

भारत । उत्तर भारतमा हिमनदीमा हिजो आएको बाढीका कारण बेपत्ता १८ जनाको शव फेला परेको छ भने २०२ भन्दा बढी बेपत्ता छन् । उत्तराखण्डका पुलिस महानिदेशक अशोक कुमारले बाढीका कारण बेपत्ता १८ जनाको शव फेला परेको सो कुराको पुष्टि गरे । २०२ भन्दा बढी बेपत्ता छन् र उनीहरूको खोजी कार्य भइरहेको छ । उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो । त्यहाँ राहत र उद्धारको कार्य जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

बंगलादेशमा पनि सर्वसाधारणलाई कोरोना खोप लगाउन सुरु

ढाका : बंगलादेशले कोरोना खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रूपमा अभियानस्वरूप सुरु भएको बताइएको छ । बंगलादेशी स्वास्थ्यमन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङगका माध्यमबाट स्वास्थ्यकर्मीलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गरेका हुन् । यो खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका १ हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान सुरु भएको हो । यस परीक्षणमा देशका ५२९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए । प्रधानमन्त्री शेख हसिनाले संसदमा गरेको सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा १ करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताइएको छ । बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो । बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ । उक्त खोप जनवरी २५ मा नै बंगलादेश आइपुगेको थियो ।

कोरोनाको नक्कली खोप बनाएको आरोपमा चीनमा ८० भन्दा धेरै पक्राउ

काठमाडौः चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा ३ वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ । स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट ३ हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ । न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खोपमा पहिले नै भरिएको सिरिन्ज समावेश गरिएको र उच्च मूल्यमा बेचिँदै आएको अधिकारीहरूले बताएका छन् । चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी २ कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।

डब्लुएचओको टोली कोभिड–१९ फैलिएको वुहानमा

वुहान, चीन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको वुहान बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ । एएफपीका पत्रकारहरुका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए । चीनले गरेको ढिलाइ एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ । तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । वुहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा उभिएको छ । आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालिरहेका छन् । चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत वुहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ । चिनियाँ अधिकारीहरुले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् । चीनमा कोभिड–१९ को संक्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख छ ।

कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । योसहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

मृत आमाको शरीर १० वर्षसम्म आफ्नै कोठाको फ्रिजरमा राख्ने महिला गिरफ्तार

जापानमा आफ्नी मृत आमाको शवलाई फ्रिजरमा राखेको पाएपछि प्रहरीले एक महिलालाई गिरफ्तार गरेको छ। ४८ वर्षीय युमि योशिनोले दश वर्ष अघि आफ्नी आमालाई मृत भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको बताएकी छन्। आमा र आफू बस्दै आएको टोक्योस्थित घर छोड्न मन नलागेर आमाको शव ती महिलाले फ्रिजरमा राखेको प्रहरी स्रोतलाई उल्लेख गर्दै जापानी सञ्चार माध्यमले समाचार छापेका छन्। प्रहरीका अनुसार मृत महिलाको शरिरमा कुनै डाम देखिन्न। अधिकारीहरूले महिलाको निधन भएको समय र कारण पत्ता लगाइसकेका छैनन्। भाडा नतिरेका कारण योशिनोलाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव फेला पारेका थिए। ती महिलाको शरीरलाई बङ्ग्याएर फ्रिजरमा कोचिएको पाइएको प्रहरीले बताएको छ। युमि योशिनोलाई शुक्रवार टोक्यो नजिकैको शहर चिबाको एक होटलबाट गिरफ्तार गरिएको छ।

अमेरिकासँग ‘नयाँ मार्ग’ स्थापनाका लागि भेनेजुयला इच्छुक : राष्ट्रपति मदुरो

कराकस : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउससँग वर्षौंको तनावपछि राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अमेरिका-भेनेजुयलाबीच ‘नयाँ मार्ग’ स्थापनाका लागि आफू इच्छुक रहेको बताएका छन् । ‘हामी राष्ट्रपति जो बाइडेनको सरकारसँग आपसी सम्मान, वार्तालाप, सञ्चार र समझदारीमा आधारित हाम्रो सम्बन्धको नयाँ धारमा चल्न इच्छुक छौँ,’ भेनेजुयलाका वामपन्थी नेता मदुरोले आफ्ना समर्थकलाई गरेको एक सम्बोधनमा शनिबार भने । उनले थपे, ‘नयाँ अमेरिकी प्रशासनसँग दुई मुलुकबीचको सम्बन्धमा विगतलाई परिवर्तन गर्न भेनेजुयला तयार छ ।’ ट्रम्प प्रशासनले भेनेजुयलाका वामपन्थी नेता मदुरोलाई सत्ताबाट हटाउन भेनेजुयलाविरुद्ध सन् २०१९ देखि प्राकृतिक ग्यास र तेलको कारोबारलगायतका कैयौँ आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो । मदुरोलाई अमेरिकाले एक ‘तानाशाह’ का रूपमा हेर्ने गर्छ । वर्षौंको चीसो सम्बन्धपछि अमेरिकी सरकारले विपक्षी नेता जुआन गुएइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएपछि कराकस र वाशिङ्गटनबीच जनवरी २३, २०१९ मा कूटनीतिक सम्बन्धलाई पूर्णरूपमा तोडिएको थियो । नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि मदुरोले लामो समयदेखि अमेरिकामा राजनीति गरेका बाइडेनलाई बधाइ दिएका थिए । भेनेजुएला ‘संयुक्त राज्य अमेरिकाको जनता र सरकारसँग वार्ता र समझदारीमार्फत् राम्रो सम्बन्ध राख्न तयार रहेको बताउँदै डिसेम्बरमा मदुरोले पुनः आफ्ना भनाइलाई दोहोर्‍याएका हुन् । बाइडेन प्रशासनले भेनेजुएलाबारे निकै नरम अडान लिनेछ र नयाँ सङ्क्रमणकालीन सरकार निर्माणका लागि अन्तर्राष्ट्रिय मध्यस्थतामा अघि बढ्ने विश्वास विश्लेषकहरूले लिएका छन् ।

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

ब्युनस आयर्सः दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ । भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराईमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र सान जुआन प्रान्तको पोसिटी नगर क्षेत्र नजिक रहेको थियो । यो ठाउँ अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट करिब एक हजार किलोमिटर टाढा छ । भूकम्पका कारण सान जुआन प्रान्तका कतिपय शहर बजारमा केहीबेर विद्युत आपूर्ति बन्द भएको थियो । भूकम्पको धक्का मेन्डोजा, कोर्डोबा, सान्ता फे, ला रियोजो र ब्युनस आयर्स प्रान्तमा पनि महशुस गरिएको थियो । एएफपी  

कोरोना खोप: गरीब देशहरुको पालो नमिच्न डब्लुएचओको अपील

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए। त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन्। डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए। कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ। उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन्। सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, “मैले केही खरो बोल्नु पर्ने भएको छ: विश्व नैतिक विफलताको डिलमा पुगेको छ – अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।” आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, “अन्तत: यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।” संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए। हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन्। सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन्। “मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड-१९ का खोप लगाउन थालियोस् भन्ने छ। जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्,” डा टेड्रोसले भने। हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन्। यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस्। यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन्। “हामीले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेका छौँ। थप एक अर्ब मात्राको पनि विकल्प रहेको छ। हामी फेब्रुअरीबाट आपूर्ति सुरु गर्ने लक्ष्यमा छौँ,” डा टेड्रोसले भने।