भारतमा चुलियो कोरोनाः एकैदिन १ लाख १७ हजार संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना महामारी आकासिएको छ ।
महामारीको तेश्रो लहर सुरुभएपछि पहिलोपटक देशमा एक लाख १६ हजार ९९० नयाँ सक्रमित फेला परेका छन् । यसअवधिमा ३०४ जनाको मुत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्यामा समेत ८५, ९५८ को बृद्धि भएको छ ।
एक हप्तामैं भारतमा ६ गुणाले कोरोना बढेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कोरोना बढ्दै गएपछि बिभिन्न राज्य सरकारहरुले रोकथामका उपायमा कडाइ गरेका छन् । बिहार सरकारले सबै शैक्षिक संस्थाहरु आगामी जनवरी २१सम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोनाको चपेटामा चिकित्सकहरु समेत परेका छन् । महाराष्ट्रमा मात्रै ३३८ जना रेसिडेन्स चिकित्सक संक्रमित भएको भास्कर दैनिकले उल्लेख गरेको छ ।
राजस्थान र दिल्लीका मुख्यमन्त्री समेत कोरोना संक्रमित भएका छन् । पश्चिम बंगालमा प्रवेशका लागि पिसिआर जाँच अनिवार्य गरिएको छ ।
चीनको सिचुवानमा ६ म्याग्नेच्युडको भूकम्प, २ जनाको मृत्यु
चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौमा स्थानीय समयअनुसार बिहीबार बिहान ४:३३ बजे भूकम्प गएको हो। भूकम्पले केही घरहरू भत्काएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको छ भने पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको छ। अहिलेसम्म ६ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको पिपुल्स डेलीले जनाएको छ।
ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित
ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिगत २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ । ब्राजिलमा बिगत केही महिना अघि मृत्युदर घटेपनि संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको बताईएको छ । ब्राजिलको साओपालो शहरका ६० प्रतिशत बासिन्दा संक्रमित भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ । ब्राजिलमा केही महिनादेखि जारी लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्यामा बृद्धी आएको हो । ब्राजिलमा खोप अभियान पनि प्रभावकारी नभएका कारण संक्रमितको संख्या बढिरहेको आंकलन गरिएको छ । ब्राजिल धेरै कोरोना संक्रमण हुने देशको सूचीमा तेश्रोे स्थानमा रहेको छ । ब्राजिलमा कोरोनाका कारण ५ लाख ४९ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।
हवाई आक्रमणमा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु
सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् । घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए ।त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकुहरुले प्रयोग गर्ने गरेको सामग्रीहरु पनि बरामद गरेका छन् । लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौंको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । –एएनआई
विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त
संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । सोमबार भएको मतदानमा बहुमत सदस्यहरूले उनकाे विपक्षमा मतदान गरेका थिए । ३४९ जना सांसद रहेकाे सदनमा १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो । मतदानमा ५१ जना अनुपस्थित भएका थिए । स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो । विपक्षीहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन् । वामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अर्पाटमेन्टका सम्वन्धमा भएको विवादका कारण उनीहरुले समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उनीहरुले अस्वीकार गरेपछि संसदमा मतदान गराउनुपरेको हो ।
इरानकाे नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित, इजराइलले दियो चेतावनी
इजरेलले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ। इजरेलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन्। ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन्। आइतवार रइसीलाई इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो। इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन्। इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाइएको छ। रइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्नेछन्। राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ। तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ। अहिले इरानका प्रधानन्यायाधीश रहेका रइसी अतिरूढिवादी विचार राख्छन्। अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए। चुनाव जितेपछि उनले सरकारप्रतिको जनविश्वासलाई बलियो पार्ने र पूरा देशको नेता बन्ने वाचा गरेका छन्। “म मिहिनेती, क्रान्तिकारी र भ्रष्टाचारविरोधी सरकार बनाउनेछु,” सरकारी सञ्चारमाध्यमले उनलाई उद्धृत गर्दै लेखेको छ। एउटा आलोचनात्मक ट्विटको लहरोमा इजरेली विदेश प्रवक्ताले उनी ‘इरानको परमाणु कार्यक्रमलाई तीव्र गतिमा बढाउन प्रतिबद्ध एक अतिवादी व्यक्तित्व’ भएको उल्लेख गरेका छन्। लामो समयदेखि इरान र इजरेल एउटा ‘छाया युद्ध’मा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ। तर अहिलेसम्म दुई देश चौतर्फी द्वन्द्वको अवस्थालाई छल्दै आएका छन्। पछिल्लो समयमा यी दुईबीच तनाव पुनः चर्किएको थियो। तनावको मुख्य स्रोत इरानको परमाणु गतिविधिहरू हुन्। इरानले इजरेलमाथि गतवर्ष आफ्ना शीर्ष परमाणु वैज्ञानिकको हत्या गरेको र एप्रिलमा आफ्नो एउटा युरेनियम प्रशोधन केन्द्रमा हमला गरेको आरोप लगाएको छ। इजरेलले भने इरानको आणविक कार्यक्रम पूर्ण रूपले शान्तिपूर्ण हुनेमा विश्वास गर्दैन र तेहरान परमाणु हतियार विकासमा लागि परेको ठान्छ। आफ्नो ट्वीटमा प्रवक्ता हैअतले रइसीलाई सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उनलाई ‘तेहरानको निर्दयी हत्यारा’ भनेका छन्। रइसी ‘मृत्युदण्डसम्बन्धी समिति’का चारमध्ये एक न्यायाधीश थिए जसले पाँच हजार पुरुष तथा महिलालाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टर्न्याश्नलको भनाइ छ। इजरेली विदेश प्रवक्ताले ३०,००० भन्दा धेरै मानिसहरू मारिएको दाबी गरेका छन् जुन इरानी मानवअधिकारवादी समूहहरूले समेत बताइरहने सङ्ख्या हो। इरानले कहिल्यै पनि सामूहिक मृत्युदण्ड दिइएको स्वीकारेको छैन र रइसीले पनि उनीमाथि लागेको आरोपबारे सफाइ दिएका छैनन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाई दिँदै आफूहरूबीचको ‘परम्परागत रूपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्ध’लाई स्मरण गरेका छन्। सिरिया, इराक, टर्की र यूएईका नेताहरूले रइसीलाई बधाई दिएका छन्। गाजापट्टिमा नियन्त्रण राख्ने प्यालेस्टेनी लडाकु समूह हमासका एक जना प्रवक्ताले इरानको ‘प्रगति र समृद्धि’को कामना गरेका छन्। यद्यपि मानव अधिकारवादी समूहहरूले रइसीमाथि अमानवीय अत्याचारको कसीमा अनुसन्धान हुनुपर्ने बताएका छन्। ह्युमन राइट्स वाचका माइकल पेजले भनेका छन्, “इरानको दमनकारी न्यायपालिकाको प्रमुखका रूपमा रइसीले इरानको पछिल्लो समयका निकै जघन्य अपराधको नेतृत्व गरेका छन् जसको अनुसन्धान र उत्तरदायित्व बहन गर्नु आवश्यक छ।” विश्वका लागि रइसीको विजयको अर्थ के? बीबीसी पर्सियनका कास्रा नाजीका अनुसार रइसीको नेतृत्वमा इरानमा कट्टरपन्थी एउटा शुद्धतावादी इस्लामिक सरकार गठन गर्ने कोसिस हुनेछ। त्यसको अर्थ भनेको सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रण हो। कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन्। तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको ठानिन्छ। सन् २०१५ मा हस्ताक्षर भएको उक्त सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका पछि हट्ने निर्णय गरे। उनले इरानमाथि पुन: व्यापार प्रतिबन्धहरू लगाए। पश्चिमी प्रतिबन्धले सामान्य इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ। उक्त सम्झौताअनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुन: सुरु गरेको छ। भियानामा जारी वार्ता उक्त सम्झौतालाई पुनर्जीवित पार्ने कोसिसमा रहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडन पनि यसलाई पुन: सुरु गर्ने पक्षमा छन्। तर दुवै पक्षले अर्को पक्षले पहिलो कदम चाल्नुपर्ने बताइरहेका छन्।
अन्निटा डिमेट्रिओ साइप्रसकाे पहिलो महिला सभामुखमा चयन
काठमाडौं : साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन हुनु भएको छ। साइप्रसको कुल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुसी लागेको बताउनुभयो । उनले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो । डिमेट्रिओ मध्य-दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु भएको थियो । बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यहरुले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो । साइप्रसको राजनीतिमा महिलाको सहभागिता पुरुषको दाँजोमा निकै कम हुने गरेको छ । अहिले साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीन जना मात्र मन्त्री छन् । राष्ट्रपति अनास्तासियाडेसले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा महिलाको सहभागिता वृद्धि गर्ने घोषणा पनि गर्नु भएको छ ।
अमेरिकासँग प्रतिस्पर्धा गर्दै चीनले पनि पठायो मंगल ग्रहमा ‘रिमोट कन्ट्रोल्ड रोभर’
गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दैछ । यसले कुनै सतह, पानी वा हिऊँमा जीवन छ या छैन भन्ने संकेत पनि हेर्नेछ । गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन–१ मिशन लन्च गरिएको थियो । यस मिशनका प्रमुख सहायक कमाण्डर झाङ युहुवाले ९२ दिनसम्म मंगलग्रहमा सञ्चालन गर्नका लागि यस रोभेर डिजाईन गरिएको जानकारी दिएका थिए । यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने पनि उनले जनाएका थिए । गत बुधबार झुरोङले मंगलग्रहमा खिचिएको तस्विर अर्बिटरमार्फत पठाएको थियो । यतिबेला यो रोबर्ट ल्यान्डिङ प्लेटफर्ममा थियो र उसको अगाडिको भूभाग तस्विरमा देखिएको थियो ।
भारतमा घटदै कोरोना, मृत्यु भने दैनिक ४ हजार
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण दर पछिल्ला दिनहरुमा घटेको छ । एकसाता अघि दैनिक ४ लाख संक्रमित थपिन पुगेकोमा पछिल्ला केही दिनयता भने साढे तीन लाख हाराहारीमा संक्रमित देखा परिरहेका छन् । संक्रमण दर सबैभन्दा धेरै नयाँ दिल्लीमा घटेको छ । यसले भारतमा कोरोनाको दोस्रो लहर उच्चतम विन्दुमा पुगेर विस्तारै ओरालो लाग्न थालेको संकेत गरेको छ । पछिल्लो एक साताको अवस्थालाई हेर्दा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९ दशमलव ५ प्रतिशतलाई कोरोना देखिएको छ । जबकी अघिल्लो साता त्यो दर २२ दशमलब ४ प्रतिशत थियो । मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने हिजो त्यो संख्या ३ लाख ५४ हजारमा झरेको छ । संक्रमितहरुको मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ । भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ । तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय संक्रमित छन् ।
अफ्रिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४६ लाखभन्दा बढी
अदिस अबाबा : अफ्रिकामा पुष्टि भएका कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार जानकारी गराएको छ । अफ्रिकामा कोभिड–१९ को महामारीबाट प्रभावित सङ्क्रमितमध्ये ४२ लाख ३२ हजार ९७४ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु भएका सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ८९० पुगेको ५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य निकाय, अफ्रिका सीडीसीले पुष्टि गरेको छ । अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरू हुन्। सङ्क्रमित सङ्ख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभाबित रहेका छन् भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो । दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख आठ हजार ३९३ सङ्क्रमित फेला परेका छन् भने दोस्रो बढी प्रभाबित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाच लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
बमको त्रासः बंकरमा लुकेर ज्यान बचाउँदै इजराइलमा रहेका नेपाली
जरेल र प्यालेस्टीनको उग्रवादी समूहबीच हवाई आक्रमण चर्किँदा इजरेलमा रहेका नेपालीहरूले त्रासमा बङ्करमा रात कटाइरहेको अनुभव सुनाएका छन्। इजरेलमा गाजाबाट रकेट आक्रमण हुन थालेपछि आफ्ना पछिल्ला रात बङ्करमा बितिरहेको त्यहाँ एक दशकदेखि कार्यरत बर्दियाकी जानुका घर्ती क्षेत्री बताउँछिन्। इजरेल र प्यालेस्टीनी विद्रोहीहरू बीचको पछिल्लो आक्रमणको शृङ्खलालाई सन् २०१४ यताकै सबैभन्दा खराब हिंसा भनिएको छ। गाजा नजिक इजरेलको दक्षिण क्षेत्रमा केअर गिभर रूपमा कार्यरत क्षेत्री जतासुकै खतराको अवस्था भएकाले छिनछिनमै डर लागिरहेको बताउँछिन्। उनले बीबीसीसँग भनिन्, “पहिला म सहरतिर थिएँ, यस्तो सुनिँदैन थियो। तर अहिले सीमा नजिकै छु र छिनछिनै विस्फोटनको आवाज सुनिएकाले डर लागिरहेको छ।” उनले थपिन्, “मैले हेरचाह गर्ने ८५-८६ वर्षकी आमा हुनुहुन्छ। उहाँलाई नुहाइदिँदै गर्दा चेतावनी दिने साइरन बज्यो अनि पड्कियो। म डरले पसिनै पसिना भएँ।” आफू चार दिनदेखि बङ्करमा बसेको उल्लेख गर्दै उनले बाहिर निस्कने स्थिति नभएको बताइन्। घर्ती भन्छिन्, “गाजा क्षेत्र नजिकै भएकाले म काम गर्ने निजी घरभित्रै बङ्कर छ। हामी बङ्करमा नै सुत्ने र भान्सामा खाना बनाएर त्यही लगेर खाने गरिरहेका छौँ।” घर्तीजस्ता झन्डै दुई हजार नेपाली वैधानिक रूपमा हाल इजरेलमा रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ। अरू करिब ८०० नेपाली गैरकानुनी रूपमा इजरेलमा बसिरहेको हुनसक्ने नेपाली अधिकारीहरू बताउँछन्। तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरेले हालसम्म सबै नेपाली सकुशल नै रहेको उल्लेख गर्दै सावधानी अपनाउन भनिएको जानकारी दिए। उनी भन्छन्, “हामी यहाँ भएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा नै छौँ र राजदूतावासले उहाँहरूलाई सूचना पनि दिइरहेकै छ। अहिलेसम्म कतै पनि नेपालीहरूलाई समस्या नपरेको बुझिएको छ।” उनले पछिल्लो द्वन्द्वबाट बढी प्रभावित दक्षिणी इजरेलमा कृषिसम्बन्धी अध्ययन र आयआर्जनका लागि लगभग डेढ सय विद्यार्थी आएको र उनीहरूको अवस्था पनि सुरक्षित रहेको जनकारी दिए। घिमिरे भन्छन्, “त्रासमा हामी सबै छौँ किनभने चेतावनी दिने साइरन राति पनि दुई-तीन पटक सम्म बज्ने गर्छ। म पनि आफ्नो सानो छोरा च्यापेर साइरन बज्ने बित्तिकै सुरक्षित ठाउँतर्फ दौडिने गरेको छु।” घिमिरेले इजरेलमा लगभग सबै घरमा त्यस्ता सुरक्षित बङ्कर हुने भन्दै उनले खतराको सङ्केत दिँदै साइरन बजेको डेढ मिनेटभित्र त्यहाँ गइसक्नुपर्ने बताए। प्यालेस्टीनी विद्रोही र इजरेलबीचको पछिल्लो आक्रमणमा गाजा र इजरेलका लगभग सबै क्षेत्रमा हवाई आक्रमणहरू भइरहेका छन्। गाजातर्फबाट आफ्नो भूमिमा प्रहार हुने अधिकांश रकेट इजरेलको आफ्नो आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय तुल्याउने गरेको छ। उक्त प्रणालीका कारण रकेट भुइँमा खस्न नपाउने भएकाले इजरेलतर्फ मानवीय क्षति कम भएका विवरणहरू आएका छन्। रकेट खस्ने अवस्थामा पनि बङ्करमा जान पूर्वचेतावनी दिने साइरन बज्ने भएकाले त्यसैअनुसार सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरिएको छ। बुधवार राजदूतावासले विज्ञप्ति जारी गर्दै जेरूसेलम र दक्षिण इजरेली क्षेत्रमा सयौँ रकेट आक्रमण भइरहेकाले सबैलाई त्रसित तुल्याएको जनाएको थियो। नेपाली राजदूत अन्जान शाक्यद्वारा जारी गरिएको सन्देशमा सम्भव भएसम्मका सुरक्षा उपाय अपनाउन र साइरन बज्ने बित्तिकै बङ्कर, वा अन्य सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो। घिमिरेका अनुसार इजरेलको परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई नियमित रूपमा अवस्थाको जानकारी उपलब्ध गराइरहेको छ। उनले भने, “हामीले आफ्नो तर्फबाट सबैलाई भनेका छौँ। जहाँसम्म स्थिति बिग्रन्छ कि भन्ने कुरा छ त्यसमा अहिले त्यति अघि पुगेर कुराकानी भएको छैन। इजरेलमा सबै कुरा व्यवस्थित भएका हुनाले डराइ हाल्नुपर्ने अवस्था छैन।” दुई दिनअघि नेपालको परराष्ट्र मन्त्रालयले इजरेल र प्यालेस्टीनबीच चुलिएको तनावलाई लिएर नेपाल चिन्तित रहेको भन्दै दुवै पक्षलाई अत्यधिक संयम अपनाएर जनधनको थप क्षति रोक्न अपिल गरेको थियो। नेपालले शान्तिपूर्ण रूपमा समस्याको समाधान खोज्न पनि भनेको थियो। गएको सेप्टेम्बरमा थप पाँच सय नेपाली कामदारलाई रोजगारी दिने विषयमा नेपाल र इजरेलबीच सम्झौता भएको थियो। त्यस बेला हिउँद महिनामा नै कामदारहरू लैजाने र यो कार्यक्रमलाई निरन्तरता दिने सहमति भएको भए पनि कोरोनाभाइरसको महामारी सहितका कारणले कार्यान्वयन अघि नबढेको बताइन्छ बिबिसी नेपालीबाट
अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु
काबुल । अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् । अफगान वायुसेनाको मद्दत समेत लिएर गरिएको त्यस कारबाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ । सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए । तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाई छ । उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै लाग्दा युद्धग्रस्त अफगानिस्तानमा हिंसाका घटनामा लगातार वृद्धि भएका छन् । आगामी सेप्टेम्बर ११ भित्रै अफगास्तिानमा तैनाथ करिब तीन हजार ५०० अमेरिकी सेना र करिब ७ हजार नेटो फौज स्वदेश फिर्ता हुँदैछन् ।
३५ % अमेरिकी र ८५ % चिनियाँहरूआफ्नो सरकारप्रति सन्तुष्ट
स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ। चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान् नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ। पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दावी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरूचाइने गरेको उल्लेख छ। जिुलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेका बताए। रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरु मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् तर चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ।
इरानसँगको आणविक सम्झौतामा अमेरिका फर्कनेबारे उच्चस्तरीय वार्ता पुनः सुरु हुने सङ्केत
भियना : विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् । शुक्रबार सरूु भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भब भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ । सन् २०१५मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौताले अमेरिकालाई कुनै हित नगर्ने भन्दै बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सम्झौताबाट पछि हटेको सन् २०१८ मा घोषणा गर्नुभएको थियो । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पुनः गर्नु आवश्यक रहेको भन्दैछ इरानमाथि सन् २०१५ भन्दा पहिले लगाइएका प्रतिबन्धहरूलाई पुनः लगाइएको थियो । सम्झौताले इरानलाई आफ्नो आणविक कार्यक्रममा लगाइएको प्रतिबन्धको बदलामा आर्थिक प्रोत्साहनको प्रतिज्ञा गरेको थियो र ट्रम्प प्रशासनले तेहरानलाई नयाँ वार्तामा ल्याउने असफल प्रयासमा इस्लामिक गणतन्त्रमाथि ठूलो प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धले अहिलेसम्म निरन्तरता पाएको छ । अमेरिका सम्झौताबाट फिर्ता भएको बताएपछि इरानले पनि सम्झौताबाट क्रमशः पछि हटेको थियो । देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै युरेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ । यसले आर्थिक राहतका लागि फ्रान्स, बेलायत, रसिया र चीनसहितका सम्झौतामा रहेका विश्वशक्तिहरुलाई पनि दबाब दियो । सङ्केत अमेरिकी राष्ट्रपति जो बाइडेनले एक संयुक्त बृहत्तर योजनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताउनुभएको छ । सम्झौताका लागि इरानले सम्झौतामा तोकिएका मापदण्डलाई अक्षरश पालना गर्नुपर्ने आवश्यक रहेको उहाँको धारणा रहेको छ । इरानले पनि आणविक बम उत्पादन गर्न नचाहेको बताएको छ तर यसका लगि वाशिङ्गटनले आणविक सम्झौता बाहेकका ट्रम्पको कार्यकालमा लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने बताएको छ । वार्ता अगाडि एक वरिष्ठ अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा अमेरिकी स्थितिबारे छलफल गर्न वाशिङ्गटन तयार रहेको र इरान पनि सहमतिहरू स्वीकार्ने राजनीतिक निर्णय गर्नुपर्ने बताए । उक्त अधिकारीले अप्रिलको सुरुमा सुरु भएको वार्ताको चौथो चरणले सफलता हासिल गर्ने हो कि भनेर भविष्यवाणी गर्न अस्वीकार गरेका छन् । तर इरानको जूनको राष्ट्रपति चुनाव अघि कुनै सम्झौतामा पुग्न सम्भव रहेको उनले बताए । अधिकारीले भने, “दुबै पक्षले के गर्नुपर्छ भन्ने कुराको रूपरेखा स्पष्ट छ । हामीलाई लाग्छे परिणामलाई परीक्षण पहिले बताउन नसकिने यो रकेट विज्ञान होइन ।” अमेरिकी अधिकारीका अनुसार सफलता इरानले सन् २०१५ मा गरिएको मूल सम्झौताको शर्तमा हकदार भएभन्दा बढी माग नगर्नेमा निर्भर गर्दछ । वार्तामा इरानका प्रतिनिधि, उप विदेश मन्त्री अब्बास अरघाचीले बिहीबार आफ्नो देशको सरकारी समाचार संस्था, आइआरएनए, सँग भन्नुभयो, उहाँको टोलीले चाँडोभन्दा चाँडो कुनै सम्झौतामा पुग्न खोजिरहेको इरानको राष्ट्रिय हितमा कार्य गर्ने तर हतारमा कदम नचाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सौभाग्यवश सम्झौताहरू हामीमाँझ छन् । मैले पहिले भनेझैं हामी सम्झौताले निर्दिष्ट गरेको बाटोमा छौं । तर त्यहाँ इमान्दार भएर नबढेको खण्डमा गम्भीर अवरोधहरू पनि आउन सक्छन् ।” वार्तालाई ध्यानमा राख्दै रूसी प्रतिनिधि मीखाईल उल्यानोभले ट्वीट गर्दै भनेका छन्, “इरानी मन्त्रीको भनाइबाट सकारात्मक संकेत दखिएको छ ।“भियना वार्तामा रहेका इरानी प्रतिनिधिमण्डलका प्रमुखले अमेरिकी प्रतिनिधिमण्डलहरूको मूल्याङ्कनसँग मिल्दोजुल्दो धारणा राख्नुभएको छ । दुबै मुलुक इरान र अमेरिका निराशावादी धारणाबाट टाढा रहेका छन् । यो क्षणले खराब संकेत जस्तो देखिदैन ।” रासस
हिमताल फुटेपछि जोशीमठमा सेनाको उद्धार अप्रेशन जारी, ४३० जनाको उद्धार, ८ को मृत्यु
चमोली । भारतको उत्तरखाण्डस्थित चमोलीमो फेरि हिमताल विष्फोट भएपछि सेनाले उद्धार कार्य जारि राखेको छ । भारत–चीन सीमा नजिकै रहेको निति घाटीको सुमना क्षेत्रमा आइटिबिपी बटालियनको पोष्ट नजिकै हिमताल विष्फोट भएको थियो । हिमताल विष्फोट भएपछि भागदौड मच्चिन पुग्दा कैयन मानिस पहिरोमा फसेका छन् । लगत्तै सेनाले उद्धार अप्रेसन शुरु गरेको छ । आजतकका अनुसार, अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ४३० जनाको उद्धार भएको छ । सेनाले अझै पनि चारसय बढी मानिस फसेको हुनसक्ने अनुमान गरेको छ । राहत र उद्धार कार्य जारी छ । सेनाले सुराई ठोटादेखि मलारी क्षेत्रमा समेत हिम पहिरो खसेको बताएको छ । घाइतेहरुलाई वायुसेनाको विमानबाट जोशिमठकै अस्पतालमा लगिएको छ । यसअघि पनि उत्तराखण्डमा हिमताल विष्फोट हुँदा सयौं मानिसको मृत्यु भएको थियो ।
अस्पतालमा अक्सिजनको कमी हुँदा २४ घण्टामा २२ जना कोरोना बिरामीको मृत्यु
नयाँ दिल्ली । मध्यप्रदेशको शहडोल मेडिकल कलेजमा अक्सिजनको आपूर्ति नहुँदा २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । यी सबै बिरामी अस्पतालको आइसियु वार्डमा भर्ना भएका थिए । शनिवार राति १२ बजे अक्सिजन कमी भएपछि बिरामीहरु छटपटिन थालेका थिए । अस्पताल प्रशासनले सिलिण्डरको व्यवस्था गर्न नसकेपछि अवस्था झनै बिग्रिन गएको थियो । समयमा अक्सिजनको व्यवस्था नहुँदा १२ जना बिरामीको मृत्यु हुन पुगेको जागरण दैनिकले उल्लेख गरेको छ । त्यसअघि शनिवार मात्रै सोही वार्डमा १० जना बिरामीको मृत्यु भएको थियो । घटनाको एक दिन अघि मात्रै कमिश्नर राजीव शर्माले अस्पतालको निरिक्षण गरेका थिए । अक्सिजनको कमीका कारण बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनको चर्को आलोचना भएको छ ।

