ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा प्रस्ताव प्रस्तुत
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ।
डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
डेमोक्र्याटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।
उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्।
ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जित उल्टाउने प्रयासमा गत बुधवार संसद्मा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।
उनको पार्टीले अघि सारेका दुवै योजनाको उद्देश्य ज्यानुअरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नु हो।
त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई तयार गर्ने देखिन्छ।
त्यसप्रक्रिया अनुसार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ।
संसद्को त्यो प्रयासमा तल्लो सदनको समितिमा रिपब्लिकन सांसदको असहमतिका कारण अवरोध उत्पन्न भएको छ।
त्यसैले छलफल र सम्भवतस् मतदानको निम्ति मङ्गलवारको समय निर्धारण गरिएको छ।
यदि पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने कैयौँ विज्ञले महाभियोग लगाउने प्रक्रियाको निम्ति प्रस्तुत प्रस्तावमा बुधवार छलफल सुरु हुने ठानेका छन्।
महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आफूहरूसँग आवश्यक सांसद सङ्ख्या रहेको बताएका छन्।
तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषी ठहर्याउने या नठहर्याउने भन्ने विषयमा माथिल्लो सदन सिनेटमा सुनुवाइ हुनेछ।
त्यहाँबाट पारित हुन दुई तिहाइ मत आवश्यक हुन्छ। तर त्यो प्रक्रिया तत्काल टुङ्गोमा पुग्नेमा डेमोक्र्याटहरू नै विश्वस्त देखिएका छैनन्।
कोरोनाका कारण जेलमा दङ्गाः ८ को मृत्यु, ४५ घाइते
कोलोम्बोः श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएको सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् । कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन । बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहना बताएका छन् । सो दङ्गामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएका छ । श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ ।
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु
काठमाडौंः करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन् । त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला आजै काठमाडौं आएका हुन् । भारतका विदेशसचिव हर्षवर्ध्दन काठमाडौंमा
अन्ततः सत्ता हस्तान्तरण गर्न तयार भए ट्रम्प
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन् । उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आएका थिए । उनले बाइडेनको जित र आफ्नो पराजय अस्वीकार गर्दै आएका थिए । निर्वाचनमा धाँधली भएको भन्दै उनले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दावीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरुले मुद्दा नै खारेज गरिदिएका थिए । अदालतबाट समेत आफ्नो दाबी पुष्टि नहुँदा पनि उनले आफू अन्यायमा परेको र आफूलाई नियोजित रुपमा पराजित गरिएको भन्दै न्याय माग्ने क्रमलाई निरन्तरता दिने दाबी गरेका छन् । यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएका थिए । उनीहरुले आगामी सन् २०२१ जनवरी २० मा सपथ ग्रहण गर्दै जिम्मेबारी सम्हाल्नेछन् । त्यसका लागि उनीहरुले पनि आआफ्नो तर्फबाट तयारी थालेका छन् । बाइडेनले आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नामावली तयार पर्न थालिसेका छन् । पूर्व विदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्ने भएका छन् भने यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ ।
अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल
लन्डन: बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा यस्तो भेटिएको हो । अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताएका छन् । अस्ट्राजेनिकाका खोपको तथ्याँक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ । अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ । अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ । कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।
अमेरिकामा लगातार बढ्दै कोरोना
काठमाडौंः विश्वमै कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मृतकहरु रहेको अमेरिकामा दैनिक संक्रमण र मृत्युदर पनि सबैभन्दा उच्च रहेको छ । अमेरिकामा बितेको २४ घन्टामा मात्रै १ लाख ९१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी एकैदिन मृत्यु हुनेको संख्या पनि २ हजार नजिक पुगेको छ । यो सँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ भने संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्यु दुबैमा लगातार वृद्धि भइरहेको छ । संक्रमितको संख्याका आधारमा भारत दोस्रो बढी प्रभावित मुलुक रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या ९० लाख ५० हजार नाघको छ भने १ लाख २३ हजारभन्दा बढीको संक्रमणकै कारण ज्यान गएको छ । भारतमा संक्रमण र मृत्युदर घट्दो क्रममा छ । तेस्रो बढी प्रभावित मुलुक ब्राजिलमा पनि संक्रमण घट्दो क्रममा छ । बेलायत, इटाली, फ्रान्स, स्पेन, जर्मनी र पोल्याण लगायतका युरोपेली मुलुकमा पछिल्लो समय संक्रमण व्यापक रुपमा वृद्धि भएको छ । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख नाघेको छ भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजारभन्दा बढी छ ।
अमेरिकी राष्ट्रपति चुनाव : बाइडेनको अग्रता कायमै
वासिङटन : अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरूले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेको देखाएका छन् । एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता बनाएपनि चुनावी परिणामका बारेमा यसै भन्न नसकिने अवस्था रहेको बताएका छन् । चुनाव अघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत विन्दुले मात्र अग्रता बनाइराखेको देखाएका थिए । चुनावी नतिजालाई फेरबदल गर्न सक्ने मुख्य राज्यहरुमा एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यू ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन रहेका छन् । गत अक्टोबर २९ देखि ३१ तारिखसम्मको मतसर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् । चुनावी नतिजा उलटफेर गर्न सक्ने “ब्याटलग्राउन्ड” नाम दिइएका केही राज्यहरुमा मतदातालाई आफूतिर तान्न राष्ट्रपतिका दुबै आकाँक्षीले अन्तिम चुनावी सभाहरु गरिरहेका छन् । अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो ।
भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख २९ हजार नाघ्यो
नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड-१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभरी हाल पाँच लाख ६१ हजार ९०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २५ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितलाई भेटेपछि डब्ल्यूएचओ प्रमुख क्वारेन्टाइनमा
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस क्वारेन्टाइनमा बसेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनी सेल्फ क्वारेन्टाइनमा बसेको जनाकारी दिएका हुन् । कोरोना संक्रमितको सम्पर्कमा आएपछि उनी क्वारेन्टाइनमा बसेको ट्वीटरमार्फत जनाकारी दिएका हुन्। उनले आफूले कोरोना संक्रमितलाई भेटेको र अहिले क्वारेन्टीनमा बसेको जनाएका हुन्। आफू पूर्णरूपमा स्वस्थ रहेको र कुनै लक्षण नरहेको जनाएका छन् । डब्लूएचओको प्रोटोकल अनुसार आफू घरमै रहने ग्रेब्रेसियसले जनाएका छन् ।
चीनको सहयोगमा पाकिस्तानमा पहिलोपटक मेट्रो रेल शुरु
लाहौर । पाकिस्तानमा पहिलोपटक मेट्रो रेल सेवा शुरु भएको छ । पञ्जाब सुबेको राजधानी लाहौरमा पाकिस्तानको पहिलो मेट्रो रेल सेवा शुरु भएको हो । यो रेल सेवा निर्माण गर्न चीनले सहयोग गरेको हो । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत यो महत्वपूर्ण परियोजना मानिएको छ । २७ किलोमिटर लामो यो रेलमा दुई दर्जन बढी स्टेशन रहेका छन् । निकै व्यस्त लाहौर सहरमा यो रेलबाट आम जीवन सहज हुने अपेक्षा गरिएको छ । अढाई घण्टा लाग्ने यात्रा अब २५ मिनेटमा नै पुरा हुने छ । पूर्णरुपमा रेल सुरु भएमा प्रतिदिन अढाई लाख मानिस यात्रा गर्ने अधिकारीहरुले बताएका छन् । यसअघि यो रेलबाट केही ऐतिहासिक संरचनामा क्षति पुग्ने भन्दै बिरोध समेत भएको थियो । यो परियोजनाको लागत ५ सय अरब रुपैयाँ रहेको बताइन्छ । आज एक समारोहबीच रेल सेवाको उदघाटन भएको छ । उदघाटन समारोहमा चिनियाँ महावाणिज्यदूत लाङ डिङ बिनले यो मेट्रो प्रणालीलाई पाकिस्तान र चीनको मित्रतामा कोशे ढुंगा भएको बताए ।
फ्रान्समा फेरी गोली चल्यो, पादरी गम्भीर घाइते
पेरिस, फ्रान्समा एकजना शिक्षकको घाँटी रेटी हत्या गरिएको घटनाको प्रतिक्रिया अझै रोकिएको छैन । गएराती मात्रै फेरी एकजना अर्थोडक्स पादरीमाथि गम्भीर हमला भएको छ । बिबिसीका अनुसार, फ्रान्सको लियोन शहरमा भएको घटनामा पादरी गम्भीर घाइते भएका छन् । प्रहरीले एकजना शंकाष्पद व्यक्तिलाई हिरासतमा लिएको छ । यसअघि दक्षिणी शहर निसमा एउटा चर्चमा भएको हमलाईमा तीनजनाको मृत्यु भएको थियो । त्यसअघि आइफेल टावरमुनि दुईजना मुस्लिम महिलामाथि आक्रमण भएको थियो । पैगम्बर मोहम्मदको कार्टुन बनाएको भन्दै एकजना शिक्षकको घाँटी रेटेर हत्या गरिएपछि राष्ट्रपति इम्यानुअल मेक्रोनले घटनाको निन्दा गरेका थिए । उनले शिक्षकको कार्टुनको मूल्य चुक्ता गर्ने प्रतिक्रिया दिएपछि विश्वभरीका मुस्लिम देशहरुमा बिरोध भएको थियो । दक्षिण एशियाका पाकिस्तान, बंगलादेश भारत लगायतका देशमा फ्रान्सेली सामान बहिस्कार गर्न माग गर्दै विशाल प्रदर्शन समेत भएका छन् । राष्ट्रपति मेक्रोनले घटनाको निन्दा गरेका छन् । प्रहरीका अनुसार, शटगन बोकेर आएका व्यक्तिले चर्च बन्द गर्दै गरेको बेला पादरीमाथि हमला गरेर फरार भएका थिए । पादरीको पेटमा गोली लागेको छ । यो घटनाको सम्बन्ध पूर्ववर्ती घटनासँग छ या छैन भन्ने विषयमा अनुसन्धान चलिरहेको छ ।
जम्मु कश्मिरकी पूर्वमुख्यमन्त्री महबुबा रिहा
एजेन्सी : जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीलाई रिहाई गर्ने निर्णय भएको छ । पीडीआईका अध्यक्षसमेत रहेकी मुफ्तीलाई रिहा गर्ने निर्णय भएको जम्मु कश्मिर प्रशासनका प्रवक्ता रोहित कंसलले जानकारी दिए । महबुबाकी छोरी इल्तिजाले ट्वीटमार्फत भनेकी छिन्, ‘अब मिस मुफ्तीको अवैधानिक हिरासतको अन्त्य भएको छ । यो कठिन समयमा सहयोग गर्ने मानिसहरुलाई धन्यवाद दिन चाहान्छु । म धेरै मानिसप्रति ऋणी छु ।’ मुफ्तीलाई सन् २०१९, अगष्ट ५ मा पक्राउ गरिएको थियो । भारतीय केन्द्र सरकारले त्यहाँको संविधानको धारा ३७० अनुसार जम्मु कश्मीर राज्यको विशेष दर्जा रद्द गर्ने निर्णय गरेसँगै मुफ्ती पक्राउ परेकी थिइन् । महबुबाकी छोरी इल्तिजाले आमालाई नजरबन्दमा राखिएको कदमको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र उनका बुबा फारुख अब्दुल्ला पनि गत अगष्टदेखि नै नजरबन्दमा रहेका थिए । तर उनीहरू भने पहिले नै रिहा भइसकेका छन् ।
क्रिस्टियानो रोनाल्डोलाई कोरोना पुष्टि
काठमाडौं : स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना पोजिटिभ देखिएको पोर्चुगलको फुटबल संघले पुष्टि गरेको हो । संक्रमण पुष्टि भएपछि उनी राष्ट्रिय टिमबाट बाहिरिएका छन् । उनले बुधबार हुने स्वीडेनविरुद्धको खेल पनि गुमाउने भएका छन् । नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो ।
अमेरिकामा १ व्यक्तिलाई दोस्रो पटक कोरोना सङ्क्रमण
काठमाण्डौंः अमेरिकामा १ व्यक्तिलाई दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पहिलो पटकको सङ्क्रमणबाट निको भएका व्यक्तिमा फेरि सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ । दोस्रो पटकको सङ्क्रमण पहिलोभन्दा धेरै खतरनाक हुने डाक्टरहरुले बताएका छन् । २५ वर्षीय ती व्यक्तिको फोक्सोले शरीरलाई चाहिने जति अक्सिजन प्राप्त गर्न नसकेपछि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । उनी अहिले निको भइसकेका खबरमा उल्लेख छ । डाक्टरहरुका अनुसार कोरोना भाइरस फेरि दोहोरिने सम्भावना निकै कम हुने मानिन्छ । वैज्ञानिकहरुले ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पनि फेरि देखा परेको नभइ २ पटक नै सङ्क्रमण भएको बताएका छन् । ती व्यक्तिको फरक-फरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवांशिक संरचनामा भिन्नता आएको पाइएको वैज्ञानिकले बताएका छन् ।
इजरायलमा कोरोनाका कारण १ नेपाली महिलाको मृत्यु
काठमाण्डौंः इजरायलमा कार्यरत सिन्धुपाल्चोककी १ महिलाको कोरोनाको कारण ज्यान गएको छ । अक्टोबर ४ मा १ महिलाको कोरोनाको कारण ज्यान गएको र उनको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ । इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा. अन्जना शाक्यले अनुरोध गर्नुभएको छ ।
ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार
एजेन्सीः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोना भाइरसले गर्न सक्ने क्षतिलाई बेवास्ता गरेको आरोप लागिरहेका बेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो । राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमहरुलाई बेवास्ता गर्दै ठुल्ठूला सभाहरु गरेका थिए । उनले गभर्नर र मेयरहरुले लकडाउन गर्न र कडा नियमहरु अगाडि सारे पनि त्यसलाई अस्वीकार गरेका थिए । यहीबीच गत जुलाईमा उनी स्वयंलाई कोरोना संक्रमण भएको थियो । तर पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ । विगत एक डेढ महिनाको अवधिमा भाइरसको वृद्धिदरमा कमी देखिएको छ । विगत सात दिनमा दैनिक ५९८ जनाको मृत्यु भइरहे पनि यो गत मे महिनाको तुलनामा निकै कम हो ।

