फ्रान्समा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिने घोषणा

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नयाँ वर्षको सुरुवातदेखि नै औषधीका पसलमा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिइने घोषणा गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, ‘जनवरी १ देखि १८ देखि २५ वर्ष उमेर समूहका सबै युवाहरूले फार्मेसी पसलहरूमा निःशुल्क कन्डम पाउन सक्नेछन् ।’

यौनजन्य रोग फैलिन नदिन र अनिच्छित गर्भधारण हुन नदिन यो कदम चालिएको सरकारको भनाइ छ ।डाक्टर वा मिडवाइफको प्रिस्क्रिप्शनमा कण्डम खरिद गर्दा लाग्ने खर्च फिर्ता पाउने व्यवस्था देशमा पहिले नै छ ।

यसै वर्ष फ्रान्स सरकारले १८ देखि २५ वर्ष उमेरका सबै महिलालाई निःशुल्क गर्भनिरोधक सुविधा लागू गरेको थियो ।फ्रान्सका स्वास्थ्य अधिकारीहरूले सन् २०२० र २०२१ मा देशमा यौनजन्य रोगहरू फैलिने दर ३० प्रतिशत रहेको अनुमान गरेका छन् ।

वेपत्ता महिलाको शव अजिङ्गरको पेटभित्र भेटियो

इन्डोनेसियामा हराइरहेकी एक जना महिलाको शव सर्पको पेटभित्र भेटिएको छ। द गार्डियनका अनुसार सुमात्रा टापुमा पर्ने जाम्बु प्रान्तकी ती महिला रबर खेतीमा काम गर्थिन्। ५४ वर्षकी जहरा आइतबार बिहान काम गर्न घरबाट हिँडेकी थिइन्। साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए। बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाएका थिए। invotech प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखिएको थियो। उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। पाइथन सर्प सात मिटरसम्म लामो हुन्छ। यसले आहाराका रूपमा स-साना जनावरलाई सिंगै निल्ने गरेको भए पनि मान्छेलाई सिंगै खाएका घटना बिरलै हुने गर्छन्।

एलेस बियालियात्स्कीले पाए नाेबेल शान्ति पुरस्कार

यसपालीकाे नाेबेल शान्ति पुरस्कार बेलारुसका ले पाएका छन् । बेलारुसमा मानवअधिकारका पक्षमा लड्दै आएका अहिले जेलमा रहेका छन् । बेलारुसमा भइरहेको मानव अधिकार विरोधी गतिविधि अन्त्य गर्न सक्रिय रहेका एलेस र उनको संस्थाले जेलमा राखिएका प्रर्दशनकारी र तिनका परिवारलाई सहयोग गर्दै आएको थियो । राजनीतिक कारणले बन्दी बनाइएकाहरूलाई सहयोग गर्दै आएका एलेसलाई नोबेल पुरस्कार समितिले प्रजातन्त्र र शान्ति विकासका लागि आफ्नो जीवन अर्पण गरेका व्यक्तिका रुपमा चित्रित गरेकाे छ ।

फ्रेन्च साहित्यकार एनी एर्नोलाई नोबेल साहित्य पुरस्कार

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रेन्च साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार दिने द स्विडिश एकेडेमीले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकी छन्। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी जनाएको छ। उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नो लेखक बन्नुअघि एक शिक्षिका थिइन्। उनका अ म्यान्स प्लेस र अ वुमन्स स्टोरी लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्। नोबेल पुरस्कार दिने कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोर्म्यान्डी फ्रान्समा बाल्यकाल बिताएकी र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्त्वाकाङ्क्षी’ रहेको बताए। यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर जतिको छ। गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए। सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार साहित्य, विज्ञान र अर्थशास्त्रमा प्रदान गर्ने गरिन्छ। विगतमा अर्नेस्ट हेमिङ्गवे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसन जस्ता उपन्याकार तथा लुइ ग्लक, पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ टेगोर तथा ह्यारोल्ड पिन्टर र युगीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्। रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार बुधवार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको थियो। यो वर्षको भौतिक शास्त्रतर्फ दिइने नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने मङ्गलवार घोषणा गरिएको थियो। सोमवार चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कार मानव विकासक्रमसम्बन्धी काम गरेका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा गरिएको थियो। पर्सि शुक्रवार शान्ति तर्फका विजेताका नाम घोषणा गरिनेछ। आउँदो सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ। स्विडिश उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेखेका थिए।

दिल्ली सरकारी स्कूलको शौचालयमा बालिकामाथि सामूहिक बलात्कार

नयाँ दिल्ली । दिल्ली महिला आयोगकी अध्यक्ष स्वती मालिवालले दिल्लीको एउटा सरकारी स्कूलको शौचालयमा ११ वर्षीय बालिकामाथि भएको सामूहिक बलात्कारको घटनामा दिल्ली प्रहरी र स्कूललाई नोटिस जारी गरेकी छिन् । स्वातीले ट्विटरमार्फत यसको जानकारी दिएकी हुन । पीडित छात्राले घटनाको जानकारी शिक्षकलाई दिँदा स्कूल शिक्षकले यो विषयमा चुपचाप रहन भनेको स्वातीले जनाएकी छिन् । ती बालिकामाथि स्कूलकै दुईजना सिनियर विद्यार्थीले बलात्कार गरेको आरोप छ । यो घटनामा केन्द्रीय विद्यालय संगठनलेको क्षेत्रीय कार्यालयले पनि जाँच गर्नुपर्ने माग गरेको छ । दिल्ली प्रहरीले प्राथमिक रिपोर्ट दर्ता भएको जनाएको छ । घटना भने गत जुलाईमा भएको बताइन्छ । पीडित बालिकाले महिला आयोगद्वारा घटनामाथि चासो ल्याएपछि मंगलबारका दिन प्रहरीसँग सम्पर्क गरेपछि रिपोर्ट दर्ता भएको हो । महिला आयोगले यो घटनाका बारेमा प्रहरीलाई किन जानकारी नगराइएको भनेर स्कूललाई सोधको छ ।

सनकी पूर्व प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा २४ बालबालिकासहित ३६ को मृत्यु

बैंकक, थाइल्याण्डमा एकजना पूर्व प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा छत्तीस जनाको ज्यान गएको छ । थाई मिडियाले उल्लेख गरे अनुसार बिहिबारका दिन ती पूर्व प्रहरीले एउटा चाइल्ड केयर सेन्टरमा अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा २४ बच्चाहरुसहित ३६ जनाको मृत्यु भएको छ । मृतकहरुमा गर्भवती महिलादेखि दुई वर्षका बच्चा समेत रहो छन् । थाइल्याण्डको उत्तरी प्रान्त नान्गबुआ लम्फूमा रहेको एउटा बालबालिका स्याहार केन्द्रमा ती व्यक्तिले गोली चलाएका थिए । प्रहरीले जनाए अनुसार, उच्च शिक्षा लिएका ती व्यक्ति केही समयअघि प्रहरीमा भर्ना भएका थिए । तर उनी सेवामा रहेकै बेला लागु औषध ओसारपसारमा संलग्न देखिएपछि उनीमाथि कार्वाही गरिएको थियो । प्रहरीबाट निकाला गरिएपछि उनी पूर्णकालिनरुपमा लागु औषधको कारोबारमा लागेको बताइन्छ । यही आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा समेत चलिरहेको प्रहरीले जनाएको छ । मानसिकरुपमा तनावमा रहेको बताइएका ती व्यक्तिले बिहिबारका दिन शिशु स्याहार केन्द्रमा गोली चलाएका थिए । लगत्तै उनले श्रीमती र आफ्नै छोरालाई समेत गोली हानेर मारेपछि आफूले पनि आत्महत्या गरेका छन् । उनी मोष्ट वान्टेड सूचिमा रहेको बताइन्छ । गोली चलेको बेला स्थानीय प्रहरी अधिकारी नजिकै काममा थिए । उनका अनुसार, गोली चलेको बेला कतै पटाका पडकिरहेको जस्तो आवाज सुनिएको थियो । दिउँसो दुईबजे शिशु स्याहार केन्द्रमा पुगेका ती व्यक्तिले सबै बच्चामाथि गोली चलाएका थिए । घटनामा केही बालबालिका भने सुतिरहेकोले बाँचको बताइन्छ । गोली चलाउँदा उक्त केन्द्रमा लन्चको समय रहेका थियो । ती व्यक्तिले स्टाफमाथि गोली चलाएपछि शिशुहरु आराम गरिरहेको कोठामा पसेर गोली चलाएको प्रहरीले जनाएको छ ।

दुर्गा पण्डालमा आगलागि हुँदा २ काे मृत्यु, ६४ घाइते

लखनउ, भारतकाे उत्तर प्रदेश भदाेहीमा आइतबार साँझ भएकाे भीषण दुर्घटनामा साठी जना भन्दा बढी पाेलीएका छन् । नवरात्रीका अवसरमा आयाेजना गरिएकाे दुर्गा पंडालमा आगलागी भएपछि दुर्घटनामा दुई जनाकाे निधन समेत भएकाे छ । मृतकहरुमा एकजना महिला र बालक रहेका छन् । घाइतेहरुमध्ये ३३ जनाकाे अवस्था गम्भीर रहेकाे छ । दुर्घटनाका समयमा करिब डेढ सय जना पंडालमा रहेकाे बताइन्छ। प्रहरिका अनुसार, आरतीकाे क्रममा आगलागी भएकाे थियाे ।

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्यक्ष अन्ना बजेर्डेले भन्नुभयो, “युक्रेनमा विनाश, क्षति र विस्थापनको सङ्ख्या अनपेक्षित छ र यो अझै बढ्दै गइरहेको छ ।” “युक्रेनी जनताको पुनरुत्थानको लागि लामो बाटो छ र विकास साझेदारहरूले युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न एक साथ आउन जारी राख्नुपर्छ । विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्र्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ । अमेरिकी संसद (कङ्ग्रेस) ले युक्रेनका लागि १२ अर्ब ३० करोड अमेरिकी डलरको नयाँ सहायता प्याकेज स्वीकृत गरेको छ, जसमा तीन अर्ब ७० करोड अमेरिकी डलरका सैन्य उपकरण पनि समावेश छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो ।

मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प

काठमाडौं । मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण एक जनाको मृत्यु भएको हाे । मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घरहरु समेत चर्केका छन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेजले भूकम्प लगतै भिडियो सन्देश जारी गर्दै म्यानजानिलोमा रहेको स्टोर भत्किदा एक जनाको मृत्यु भएको बताउनुभएकाे हाे । भूकम्प जाँदा अधिकांश मानिस घरबाहिर निस्केका थिए । मेक्सिकोमा सन् २०१७ मा आएको भूकम्पका कारण ३ सय ५० जनाको मृत्यु भएको थियो । भूकम्पले पुर्याएको क्षतिकाे विषयमा थप विवरण आउन भने बाँकी रहेकाे जनाइएकाे छ ।

बेलायतकी महारानी एलिजाको अन्त्येष्टि आज, परराष्ट्रमन्त्री खड्का सहभागी हुने

काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज (सोमबार) एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने भएका छन् । यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना पनि अन्त्येष्टि समारोहका लागि बेलायत पुगेका छन् । साथै नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुगेका छन। अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थिति रहने भएको छ । वेस्टमिन्स्टरको दरबारमा राखिएको महारानी एलिजाको पार्थिव शरीर सोमबार बिहान चर्चमा सारिने भएको छ । महारानीको एलिजाको यही सेप्टेम्बर ८ तारिखमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको थियो ।

लखनउमा भारी वर्षाका कारण पर्खाल ढल्दा ९ को मृत्यु

लखनउ । भारतकाे लखनउमा वर्षाका कारण पर्खाल ढल्न पुग्दा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बालक र ३ जना महिला रहेका छन् । विगत केही दिनदेखि अविरल वर्षाका कारण लखनउको जनजीवन अस्तव्यस्त बनेको छ । सबैजसो स्कूल बन्द गरिएका छन् भने मानिसहरुलाई सुरक्षित हुन प्रशासनले अपील गरेको छ । दुर्घटना हजरतगन्ज क्षेत्रमा भएको बताइन्छ । २४ घण्टादेखि लगातार पानी परेपछि एउटा घरको पर्खाल ढलेको थियो । लखनउका अन्य स्थानमा समेत व्यापक क्षति भएको समाचारमा उल्लेख छ ।

युरोपमा उर्जा संकटको त्रास, नाकाबन्दी नहटाएसम्म रुसले ग्याँस आपूर्ति नगर्ने

काठमाडौं । पश्चिमा देशहरुले रुसविरुद्ध लगाएको नाकाबन्दी नहटेसम्म युरोपमा ग्याँस आपूर्ति सुचारु नहुने भएको छ । गत साता केही दिनका लागि भन्दै युरोपमा ग्याँस आपूर्ति गर्ने नोर्डस्ट्रिम वान पाइपलाइन बन्द गरेको रुसले नाकाबन्दी कायम रहेसम्म ग्यास आपूर्ति सुचारु नहुने प्रष्ट पारको हो । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले ग्याँस आपूर्ति बन्द हुने मुख्य कारण नै पश्चिमा नाकाबन्दी हो भनेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसोकोभले बेलायत, जर्मनीलगायत पश्चिमा देशहरुले रुसका केही ठूला कम्पनीहरुविरुद्ध नाकाबन्दी गरेपछि समस्या उत्पन्न भएकाले त्यसको सम्बोधन नभई ग्याँस लाइन नखुल्ने बताएका छन् । बढ्दो उर्जा संकटले दिन प्रतिदिन कठिनाई भोगिरहेका युरोपेली जनताले रुसले कहिले ग्याँसलाइन खोलिदेला भन्ने प्रतिक्षा गरिरहेको बेला रुसको यस्तो भनाइ आएको छ ।

बेलायतको नयाँ प्रधानमन्त्रीमा ४७ वर्षीया लिज ट्रस

एजेन्सी । बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गतशुक्रबार मतदान गरेका थिए । सोमबार प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३९९ र ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् । खसेको कुल मत मध्ये ट्रसले ५७।४ प्रतिशत र सुनाकले ४२।६ प्रतिशत मत रहेको छ । सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद्का पाँच दर्जन सदस्यले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । बेलायतमा बढ्दो मुद्रास्फीति तथा बैंक ब्याजदर, आर्थिक मन्दी, खाद्यान्न तथा ऊर्जामा उच्च मूल्यवृद्धि, युक्रेन–रुस युद्धलगायतका मुख्य चुनौती नयाँ प्रधानमन्त्री ट्रसले सामना गर्नु पर्ने छ । यसअघि उनले आफू प्रधानमन्त्री बनेमा एक साताभित्र ऊर्जामा बढ्दो उच्च मूल्यवृद्धि घटाउने, राहताका प्याकेज घोषणा गर्ने बताएकी थिइन् ।

सुरक्षा परिषद् बैठक: तालिबानीमाथिको यात्रा छुट दिन जुटेन सहमति

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्ले तालिबानी अधिकारीहरुमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने विषयमा सहमति जुटाउन असफल भएको छ । सुरक्षा परिषद्को बैठकमा अफगान तालिबान अधिकारीहरुलाई विदेश यात्रा छुट विस्तार गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुटाउन नसकेको हो । योसँगै १३ अफगान तालिबान अधिकारीहरूलाई विदेश यात्रा गर्न दिने संयुक्त राष्ट्रसंघले दिएको छुटको म्याद शुक्रबार सकिएको छ । चीन र रुसले विस्तारको लागि आह्वान गरेका छन् भने अमेरिका र पश्चिमा राष्ट्रहरूले तालिबानले महिला अधिकार र वाचा गरे अनुसार समावेशी सरकार गठन गर्न असफल भएको भन्दै यात्रा अनुमति दिन नहुनेमा जोड दिएका छन् । अमेरिकाले आफ्नो प्रस्तावलाई परिमार्जन गर्दै सात तालिबान अधिकारीहरूलाई यात्रामा प्रतिबन्ध लगाउने र अन्य छ जनालाई ९० दिनसम्म कुनै भौगोलिक सीमा बिना यात्रा छुट दिने बताएको छ । रुस र चीनले उक्त प्रस्तावमाथि विचार गरिरहेका छन् । सन् २०११ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव अन्तर्गत १ सय ३५ तालिबान अधिकारीहरूमाथि सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाइएको छ । यद्यपी तीमध्ये १३ जनालाई शान्तिवार्ताका लागि विदेशका अन्य देशका अधिकारीसँग भेट्न यात्रा प्रतिबन्धमा छुट दिइएको थियो । यता, अफगान राजदूत ओमर समदले अफगान जनतालाई मद्दत गर्न तालिबानसँग संलग्नता आवश्यक रहेको भन्दै यात्रा प्रतिबन्ध फुकुवा हुनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

क्यालिफोर्नियामा दुई जहाज ठोक्किए, २ को मृत्यु

न्यूयोर्क । अमेरिकाको क्यालिफोर्नियामा दुई साना विमानबीच ठक्कर हुँदा दुई जनाको मृत्यु भएको छ । युएस टुडेका अनुसार, उत्तर क्यालिफोर्नियाको स्थानीय विमानस्थलमा अवतरण गर्ने बेला दुबै जहाज ठोक्किएका थिए । विमानहरु ठोक्किएपछि उद्दार टीम विमानस्थल पुगेका छन् । यो घटना स्थानीय समय अनसार, २ बजेर ५६ मिनेटमा भएको बताइन्छ । दुबै साना जहाजमध्ये एउटामा दुइजना र अर्कोमा चालक एकजनामात्रै रहेको बताइन्छ ।

कमेडी बादशाह राजु श्रीवास्तवकाे ब्रेन डेड, चिकित्सकले हार माने

नयाँ दिल्ली । भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवकाे स्वास्थ्य अवस्था जटिल बनेकाे छ । जिमखानामा कसरत गरिरहेकाे बेला कार्डियाक अरेष्ट (ह्रदयघात) भएपछि उनकाे भेन्टिलेटरमा राखेर विगत नाै दिनदेखि उपचार हुँदै थियाे । स्थिर अवस्था बताइएकाे उनीलाइ बुधबार राति झनै समस्या देखिएकाे थियाे । बिहिबारका दिन श्रीवास्तवको निधन भएको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर चिकित्सकहरुले भने उनको निधन नभएको बरु मष्तिष्कले काम गर्न छोडेको बताएका हुन । मष्तिष्का सुन्निएपछि त्यहाँ पानी भरिएकाे र नसा च्यापिएका कारण उनकाे ब्रेन डेड भएकाे चिकित्सकले जनाएका थिए । कुनै चमत्कार भएमात्रै उनी जीवित हुनसक्ने चिकित्सकले बताएका छन् । राजुका साथी एहसान कुरैशीका अनुसार, पछिल्लो ३० घण्टादेखि उनी बेहोस अवस्थामा रहेका छन् । उनको मष्तिष्कले काम गर्न छोडेको छ । अवस्था बिग्रेपछि चिकित्सहरुले प्रार्थना गर्नुबाहेक अरु विकल्प नभएको उनले बताए । दिल्लीकाे एम्स अस्पतालमा भर्ना श्रीवास्तवकाे स्वास्थलाभकाे लागि परिवार र समर्थकहरुले बिभिन्न उनकाे कामना गरेका छन । उनीलाई पछिल्ला दिनहरुमा १०० डिग्री भन्दा बढी ज्वराे समेत आइरहेकाे थियाे । सन् २००५ मा लाफ्टर च्यालेन्जबाट उदाएका राजु त्यसपछि भने एकपछि अर्काे लाेकप्रियताकाे सिंढी चढ्दै अघि बढेका थिए ।