सभामुखले ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि माओवादी केन्द्रद्वारा सदन अवरोध

काठमाडौं । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको छ ।

बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाउनुभएको थियो । सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताउनुभएको थियो । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिनुभएको थियो । 

पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए। सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभाको बैठक असोज ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।

माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु

महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ । उहाँले रुपान्तरण संभव भएको र यसको विकल्प नभएको बताउनुभयो । ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ’– उहाँले भन्नुभयो– ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन।’ उहाँले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । आज र भोलि अब मधेश प्रदेशको बैठक सम्पन्न भएपछि केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ ।

भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउछौं : प्रचण्ड

सिरहा, २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताउनुभएको छ   । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उहाँले त्यसकै लागि आफूहरु देशब्यापी बैठक र छलफलमा जुटेको बताउनुभयो । पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुग्नुभएका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशब्यापी आन्दोलन गर्ने बताउनुभयो । ‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’– उहाँले भन्नुभयो– ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौं । सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए । जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहर छट्पटाए ।’ मिटरब्याज लगायत तमाम बेथितिका विरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ संघर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसबाट दलाल, सामन्तवादका अवेशष, भूमाफिया र नोरकाशहरु हामीसँग आतंकित भए । माओवादी केन्द्रका नेताहरुले विस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए ।’ उनीहरुले कांग्रेस र एमालेलाई आफ्नो नेता ठानेर भ्रष्टाचारी र बिचौलियाले जुटाइदिएको उल्लेख गर्दै उहाँले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरु बिजेता कमाण्डरजस्तो गरी निस्केको बताउनुभयो । तर, कांग्रेस एमाले कायरजस्तो गरी सरकारमा गएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोंचमा छौं । पहिले पार्टी बलियो बनाउने र बलियो पार्टीका आधारमा देशब्यापी रुपमा भ्रष्टाचारविरोधी आन्दोलन सुरु गर्ने सोचिएको छ।’ आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेण्डाप्रति मधेशी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उहाँले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी संगठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीलाई मधेशमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र संघीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेश प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । आज विहान मात्रै अध्यक्ष प्रचण्डले गोलबजार र मिर्चैयाका पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँग छलफल गर्नुभएको थियो । हिजो साँझदेखि सप्तरीहुँदै मधेश प्रदेश प्रवेश गर्नुभएका अध्यक्ष प्रचण्ड आज र भोलि मधेशमै रहनुहुनेछ ।  

अखिल क्रान्तिकारी गण्डकीमा निर्वाचन, अध्यक्षमा गुरुङ बिजयी

पोखरा । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी गण्डकीको नेतृत्व चयनका लागि निर्वाचन भएको छ । निर्वाचनबाट १३७ मत प्राप्त गरेर त्रिदिप गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धी आरके भट्टले ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षहरुमा वसन्त भट्टचन (१५७), सरोज वल्लभ भट्टराई (१६४) र अशोक मरहट्टा (१४० विजयी) विजयी हुनुभएको छ । अध्यक्षका अन्य उम्मेदवार पवन ढकालले ७२ र नवीन पाठकले ५९ मत प्राप्त गर्नुभएको छ । समावेशी उपाध्यक्षमा कुल बहादुर बुढा ‘प्रेम’ र महिला उपाध्यक्षमा सिता बराल निर्वाचित हुनुभएको छ । प्रमुख सचिवमा सुजन बास्तोला १३२ सहितविजयी हुनुभएको छ भने प्रतिष्पर्धी सन्जय जैसीले ७२ मत प्राप्त गर्नुभएको छ ।  सचिवमा प्रदिप ढकाल (१८३), विसद उपाध्याय (१४०) र सन्दिप महतो (१४०) विजयी हुनुभएको छ । सचिवका प्रतिष्पर्धीहर किरण खड्काले ७२, प्रकाश ढुङगानाले ६१ मत प्राप्त गर्नुभएको छ । महिला सचिवमा जुना तामाङ र समावेशी सचिवमा दुर्गा विक निर्बिरोध हुनुभएको छ भने कोषाध्यक्षमा अनिल सुनार निर्विरोध हुनुभएको छ । सम्मेलनले १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । कूल २६९ प्रतिनिधि मतदाता भएकोमा २०७ मत खसेको थियो । गण्डकी प्रदेशमा मनाङबहेक सबै जिल्लामा सम्मेलन सम्पन्न भइसकेको छ भने गोर्खामा समिति सर्बसम्मत भए पनि पदाधिकारी चयन हुन बाँकी रहेको केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिनुभयो । 

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुदेवीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नु कार्यसूची छ ।  त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनुसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । साथै उहाँले ‘नेपाल विश्वविद्यादलय विधेयक २०८१ लाई पारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ।

नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसला विरुद्ध ‘भ्याकेट’मा जान्छौं : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताउनुभएको छ । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले अदालतको आदेश व्यहारिक नदेखिएकाले पुनरावलोकनमा जाने बताउनुभएको हो । ओलीले अदालतको आदेशले जनतालाई असर पार्ने धारणा राख्नुभएको हो । अदालतको अहिलेको आदेशपछि जनतालाई मुआब्जासमेत दिन सक्ने अवस्थामा राज्य नरहेको उहाँको तर्क थियो । अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो ।

रुस–यूक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, ज्यान गुमाउने नेपालको संख्या ४३

काठमाडौं । रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मारिने नेपालीको संख्या ४३ पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । रञ्जितको ठेगाना खुलेको छैन । रुसले मस्कोस्थित नेपाली दूतावासलाई थप ३ जनाको मृत्यु भएको मेडिकल रिपोर्ट पठाएको हो । त्यस्तै रुसले थप ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाललाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । यसअघि २२ जनाको डीएनए परीक्षणको नमुना पठाइएको थियो । २२ जनाको पछिल्लो विवरण रुसले पठाएको छैन । नेपाली दूतावासले भदौ १७ गते कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । जसमा लालबहादुर पुन मगर, भरत कुँवर, लक्ष्मण बस्नेत, मख्खनबहादुर पुन, राजन राउत, अर्जुन दत्त भट्ट, रोनल मिश्र, महेन्द्र शाही, मदन गुरुङ, नरबहादुर दर्लामी, टीकाराम गुरुङ, सुमन मेचे, भीमबहादुर घर्ती मगर, कपिल घर्ती मगर र माइतमान घर्ती रहेका छन् । त्यस्तै चन्द्रबहादुर घिमिरे, सन्दीप कामी, हिराबहादुर गुरुङ, श्यामध्वज गुरुङ, छमबहादुर घर्ती, सुजन जवेगू, जितेन्द्र केशी, गणेशबहादुर कुमाल, सादुराम प्रधान, भुवन पुन मगर, रोहन तामाङ, सुजन शर्मा, ज्ञानबहादुर मगर, भीमबहादुर नेगी, देव तामाङ, विजयकुमार टमाटा, विपिन बिक, चन्द्रप्रकास बिसी, ओमबहादुर मगर र सुवास तामाङ रहेका छन् । कन्सुलर विभागले सर्म्पकमा आएका परिवारका सदस्यलाई डीएनए परीक्षणको नमुना लिन काठमाडौं बोलाएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीको सम्बोधन असोज १० गते

न्युयोर्क- ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलीदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा भोलीदेखि सुरु हुनेभए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नुहुने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् । यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ । नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ । नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए÷गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।

नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।  सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराउनुभएको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गर्नुभएको थियो । नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नुहुनेछ । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपतकालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ । प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गर्नुभएको छ । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उहाँले आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गर्नुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिनुभएका प्रधानसेनापति सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । अड्तीस वर्षको सैन्य जीवनमा उहाँसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमाण्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड गरेको अनुभव छ । प्रधानसेनापतिले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्याण्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गर्नुभएको थियो । कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सचिवका रूपमा पनि उहाँले काम गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासोका साथ हेर्नुहुने प्रधानसेनापति सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाउनुभएको छ । उहाँले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेना अन्तर्गत पूर्वी युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसक्नुभएको छ । सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप प्रधानसेनापति सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुनुहुन्छ । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उहाँले दुईपटक ‘प्रधानसेनापति प्रशंसा पदक’समेत पाउनुभएको छ । सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानवअधिकार प्रवर्द्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय २३ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्याइसकेका छन् । हाल विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा स्थापना भएका ११ मिसनमा छ सय ७५ महिलासहित पाँच हजार नौ सय १६ नेपाली सैनिक कार्यरत छन् ।

कांग्रेस र एमालेनिकट विद्यार्थीको झडपले कृषि विश्वविद्यालय दश दिनदेखि बन्द

चितवन । सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडप र तालाबन्दीले चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) १० दिनदेखि बन्द छ । विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन ठप्प हुनुका साथै परीक्षा पनि प्रभावित भएको छ ।  विश्वविद्यालयको रामपुरस्थित छात्रावासमा कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनका समर्थकबीच भदौ १३ मा झडप भएको थियो । त्यसको भोलिपल्ट विश्वविद्यालय प्रशासनले छात्रावास खाली गराएको थियो । भदौ १५ मा विश्वविद्यालयका निमित्त उपकुलपतिको अध्यक्षतामा बैठक बसिरहेका बेला कांग्रेसनिकट नेविसंघले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्‍यो । त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रशासनले पठनपाठनलगायत गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । झडप र तालाबन्दीका कारण स्नातक तहका विभिन्न सेमेस्टरका मौका र नियमित परीक्षा प्रभावित भएको छ । स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा भदौ १४ देखि सुरु हुँदै थिए । ‘स्नातक तहको चारवर्षे कोर्सको परीक्षा सन् २०२४ भित्रै सकेर नतिजा पनि निकाल्ने योजना हो । तर अचानक यस्तो असहज परिवेश बन्यो । यसलाई व्यवस्थापन गर्न गाह्रो हुने खतरा बढेर गएको छ’– विश्वविद्यालयका परीक्षा नियन्त्रक सहदेव चौधरीले भन्नुभयो ।  नेविसंघको रामपुर इकाइले भदौ १५ मा जारी गरेको विज्ञप्तिमा भदौ १३ मा दिउँसो ३ बजे एमालेनिकट अनेरास्ववियु समर्थकले नेविसंघका निवर्तमान इकाइ अध्यक्ष शुभमसिंह ठकुरी, निवर्तमान उपाध्यक्ष अभिषेक ओली, सुशील क्षेत्री, इकाइ सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, नरेश बस्नेत, जेनिश लामालाई आक्रमण गरेर घाइते बनाएको आरोप लगाइएको छ । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको र बाँकी उपचारपछि डिस्चार्ज भइसकेको नेविसंघले जनाएको छ । घटनाको छानबिन गर्न विश्वविद्यालयले प्राध्यापक भूमिनन्दन देवकोटाको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । विश्वविद्यालय खुल्ने वातावरण बनाउन आग्रह गर्दै रजिस्ट्रारले भदौ १७ मा अपिल नै जारी गरेका थिए । विश्वविद्यालयका पदाधिकारीहरू भने सिनेट बैठकका लागि काठमाडौंमा छन् । भदौ २६ मा विश्वविद्यालयको सिनेट बैठक राखिएको छ ।

अघिल्लो सरकारले नै तोकेको थियो कर्मचारीको खाजा समय (राजपत्रसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको भन्दै खाना समय निर्धारण गरिएको जानकारी गराउनुभएको छ । ‘छ।  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ’– उहाँले फेसबुकमार्फत भन्नुभएको छ– ‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’ उहाँले अब खाजा समय घटाइएको बताए पनि अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी राजपत्रमा सूचना प्रकाशन गरेरै खाजा समय निर्धारण गरेको पाइएको छ । २०८० माघ २९ गते प्रकाशित राजपत्रको पेज १२ (घ)मा खाजा समय १ः३० देखि २ बजेसम्मका लागि निर्धारण गरिएको स्पष्ट गरिएको छ । यस सम्बन्धी सूचना हरेक सरकारी कार्यालयको सूचना पाटीमा टाँस गर्नुपर्ने र खाजा समय बाहेकको अन्य समयमा सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने राजत्रपत्रमा उल्लेख छ । सोही राजपत्रमा २०८१ मा लागु हुने सार्वजनिक विदाको विवरण सार्वजनिक गर्दै सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह सुचारु गर्नुपर्ने उल्लेख छ । यस्तो छ– २०८० माघ २९ गते प्रकाशित राजपत्रः  

अदालतमा आत्मसमर्पण गरेका कांग्रेस सांसद केसी कारागार चलान

रुकुमपूर्व । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)ले अदालतमा पुगेर आत्मसर्मपण गर्नुभएको छ । रुकुम जिल्ला अदालत पुगेर केसीले उहाँले आत्मसमर्पण गर्नुभएको हो । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिनुभयो । अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार चलान गरेको छ छ । ३३ वर्ष पहिले उहाँलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उहाँ फरारको सूचीमा रहँदै आउनुभएको थियो ।  श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो। केसी २०७९ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित हुनुभएको थियो । 

नेताहरुलाई बालेनको प्रश्न– कानुन आफूले बनाउने, दोष महानगरलाई ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कानुन र अदालतको फैसला कार्यान्वयन गर्दा खोज्दा महानगरलाई दोषी देखाउन खोजिएको टिप्पणी गर्नुभएको छ । उहाँले गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न पनि आग्रह गगर्नुभएको छ । १ुखोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै– बालेनले फेसबुकमार्फत भन्नुभएको छ– ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’ उहाँले काठमाडौं महानगरपालिकालाई गाली गरेर न्याय पाउन नसक्ने पनि उल्लेख गर्दै बरु यस्तो कानुन बनाउने नेतालाई नै प्रश्न गर्न आग्रह गर्नुभएको छ । ु‘तपाईंहरू न्याय खोज्नुहुन्छ भने काठमाडौं महानगरलाई गाली गरेर तपाईंले न्याय पाउनुहुन्न । तपाईंकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नुहोला’– मेयर बालेनले भन्नुभएको छ ।  उहाँले नयाँ मापदण्डअन्तर्गत गर्ने कुनै घर भने नभत्कने भएकाले निश्चिन्त रहन पनि आग्रह गर्नुभएको छ । भत्काउने नै भए सरकारले मुआब्जा दिनुपर्ने तर ५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले अहिले दिन नसक्ने र भत्काउन पनि नसक्ने स्पष्ट गर्नुभएको छ ।

जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्यसहित दुई बेपत्ता

जाजरकोट । जाजरकोटमा गए राति  पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका  ६ धुमा गाउँमा राति २ बजे  पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।   जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उहाँकी श्रीमती वडा नं ६ की  महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जानकारी दिनु भयो ।  घटनास्थल वाट चलाउनेकी  छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको  तर २ जनाको शव निकाल्न नसकिएको  जानकारी गाउँले मार्फत आएको उपप्रमुख सिंहले बताउनु भयो । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनु भयो ।  राप्ती नदीमा बगेका दुई जना पनि भेटिएनन्  चितवनस्थित राप्ती नदीमा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ। शुक्रबार दिउँसो २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका २५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारलाई राप्ती नदीले बगाएको हो।  शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो । भरतपुर महानगरपालिका २७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए। तस्विरः एआई जेनेरेटेड

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यकः  प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताउनुभयो । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताउनुभयो । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं’– उहाँले भन्नुभयो– ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’ आफूहरु शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रुपमा जारी रहने बताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौं– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौं । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं, अब राजनीतिक त्यतै जाँदैछ । दलाल पूँजीपति र नोकरशाहीहरुसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’ नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट गदर्दै उहाँले विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा आफूहरु बलियो भएकाले संघर्षमा विजय प्राप्त गरेरै छाड्ने बताउनुभयो । जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरुलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उहाँले बताउनुभयो । सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिंगो पार्टीपंक्तिमा बलिदानी भाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताउनुभयो । तत्कालीन सरकारले जनयुद्धलाई केही वर्षमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न दमनका अभियानका चलाएको भए पनि सहिदहरुको बलिदानका कारण जनयुद्ध झनपछि झन् शक्तिशाली हुँदै गएको उहाँले स्पष्ट गर्नुभयो । यसप्रकारका उच्च बलिदानीले युवा क्रान्तिकारीहरुलाई क्रान्तिमा होमिन प्रेरित गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै हजारौं युवाहरु जनमुक्ति सेनामा भर्ती भएर जनयुद्धलाई नयाँ उचाईँमा उठाउने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले सुरेश वाग्लेले पार्टीभित्रका अन्तरसंघर्षमा सन्तुलित र सही लाइनको पक्षमा आफूलाई उभ्याएको र नेतृत्व केन्द्रिकरणमा जोड दिने गरेको स्मरण गर्दै वाग्लेले आफ्नो चरित्र र विशेषताका कारण नैतिक बल र बौद्धिक क्षमताका आधारमा बहस गर्ने गरेकाले आजको पुस्ताले त्यसबाट पनि सिक्नुपर्ने बताउनुभयो ।

नेपालबाट बिहारमा पहिलोपटक ४० मेगावाट बिजुली निर्यात सुरु

काठमाडौं ।  नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेको जानकारी दिंदै उहाँले बिहारमा १२५ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति पाइसकेको र बिस्तारै परिमाण बढाउँदै लैजाने बताउनुभयो । प्राधिकरणले आन्तरिक खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गर्नेछ ।  प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात भएको थियो ।