त्रिशूलीमा खसेको ट्रक चालक सम्पर्कविहीन

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने स्थानबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । 

ट्रकका चालक चालक यमबहादुर घलेको मोबाइल अफ रहेको छ । ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको थाहा भएको छ । ट्रकमा २२ सय २५ काटुर्न तेल लोड गरिएको बताइएको छ ।


 

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन् : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो- 'उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’  अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताउनुभयो। तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि रु भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो-'झप्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’ उहाँले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताउनुभयो । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताउनुभयो । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ उहाँले भन्नुभयो।  उहाँले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भन्नुभयो-‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।अर्को एक प्रसङ्गमा उहाँले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने बताउनुभयो ।'  ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुदैन।झ( उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

उपाध्यक्ष, वडाध्यक्षसहित तीन जना गुमाएपछि शोकमा पुथाउत्तरगंगा गाउँपालिका

रुकुमपूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले उपाध्यक्ष र वडाध्यक्ष सहित ३ जना व्यक्ति गुमाएको छ । आज बिहान काठमाडौँबाट रुकुम पूर्व आउँदै गरेको गाउँपालिकाकाे गाडी बागलुङको गलकोट नगरपालिका २ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ बर्सिया भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ बर्सिया आमा गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष  ३७ बर्षीय जसबहादुर सिर्पाली रहनुभएको छ ।  गाडी चालक भूमे गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालककाे धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । शुक्रवार बिहान रा १ झ २०० नम्बरको गाडी सडकदेखि ३ सय मिटर तल खेसेको थियो । आमा छोरीको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो । वडाध्यक्षको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो ।  आकस्मिक दुर्घटनाको कारण गाउँपालिकाले नसोचेको क्षति बेहोर्नु परेको गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले बताउनुभयो ।

रेकर्डबाट ‘हिंसा’ शब्द नहटाइएसम्म सदन अवरोध जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।  शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  ‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ । त्यो शान्ति सम्झौता र संविधानविपरित छ । संसद्‌मा तपाईँहरूले जसरी प्रतिवाद गर्न भएको ठिक छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ । आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  यस्तै सभामुखले २६ गते गरेका रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ । एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए । संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर घिमिरेले हिंसा शब्द असंसदीय नभएको बैठकलाई जानकारी गराएका थिए । सभामुख घिमिरेको रुलिङप्रति असहमति जनाउँदै माओवादीले बैठक अवरोध गरेको थियो ।

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताउनुभएको छ । पत्रकारहरुसँग कुरा गर्दै उहाँले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताउनुभयो । सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उहाँले त्यो सम्भव नभएको बताउनुभयो ।  ‘‘प्रथम दृष्टिमै विचार गर्दाखेरी त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटी भएको बुझिँदैन। उहाँहरूको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्‌मा निर्णय गर्नका लागि सहज बनाउनका लागि यो एजेण्डालाई अगाडी ल्याएको हो। सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ। त्यसो भएको हुनाले यो सम्भव पनि छैन’– उहाँले भन्नुभयो । सरकार संवैधानिक परिषद्‌मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने तयारी गरेको छ । उहाँले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने पनि बताउनुभयो ।

उपाध्यक्ष बुढाको निधनप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

शी लीड्स आइकनको उत्कृष्ट २७ जनप्रनिधिमा छानिएकी थिइन् भुपेन्द्रा

काठमाडौं । बाग्लुङमा भएको सवारी दुर्घटना ज्यान गुमाएकी रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा ‘शी लिड्क आइकन’को उत्कृष्ट २७ मा छनौट भएर फाइनलका लागि प्रतिष्पर्धामा रहेकी थिइन्। कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत सञ्चालित ‘शी लिड्क आइकन’को अन्तिम प्रतिष्पर्धाका लागि भोटिङ चलिरहेकै बेला बुढाको दुर्घटनामा ज्यान गएको हो ।  सो संस्थाले देशभरिका उत्कृष्ट एक सय ४० जनप्रतिधिबाट उत्कृष्ट २७ जना छनौट गरेको थियो भने त्यसमध्ये पनि अन्तिम तीन उत्कृष्ट प्रतिनिधिका लागि भुपेन्द्रा प्रतिष्पर्धामा रहनुभएको थियो ।  रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको राजनीतिक पृष्ठभूमिको परिवारमा जन्म भएको थियो । उहाँका बुवा प्रधानपञ्च र आमा महिला स्वास्थ्यस्वयंसेविका भएकाले पनि सानैदेखि राजनीतिक आन्दोलनमा लाग्न सहज भयो । पालिका उपाध्यक्ष भइसकेपछि भुपेन्द्राले महिला अधिकारलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि सार्नुभएको थियो । गर्भवतीसँग उपाध्यक्ष, किशोरीसँग उपाध्यक्ष, खाडीपाखी बुनाईमा महिला, महिला परामर्श भवन निर्माण, मानसिक रोग पहिचान, आमा समूहको सशक्तिकरणलगायतका कार्यक्रममार्फत उहाँले पालिकामा महिला अधिकार स्थापित गर्न महत्वपूर्ण सुरुवात गर्नुभएको थियो ।   

अपडेटः दुर्घटनामा ज्यान गुमाउने गाउँपालिका उपाध्यक्ष भएको पुष्टि

बाग्लुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भपुेन्द्रा बुढासहित तीनजनाको निधन भएको छ। उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित निर्वाचित हुनुहुन्थ्यो । यसअघि एभरेष्ट दैनिकले उपाध्यक्ष बुढा दुर्घटनामा परेको आशंकासहितको समाचार प्रकाशन गरेको थियो । रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा उपाध्यक्ष बुढासहित तीन जनाको निधन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो।  अन्यको शव पहिचानको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा घाइते अर्की महिलाको उपचार भइरहेको छ ।   

पुथाउत्तरगंगा गाउँपालिकाको जीप बाग्लुङमा दुर्घटना, उपाध्यक्ष पनि दुर्घटनामा परेको आशंका

बाग्लुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज विहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो। रा १ झ २०० नम्वरको जीप रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाको रहेको खुलेको छ । मृतक र घाइतेहरुको सनाख हुन नसकेपछि दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा पनि परेको आशंका गरिएको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनास्थलमा उपाध्यक्षको कार्ड भेटिएको जानकारी दिनुभयो । एक जना घाइते भीरमा अडिएकाले उद्धारको प्रयास भइरहेको छ । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा भारी वर्षा, कस्तो छ आज दिउँसो र रातिको संभावना ?

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । दुई प्रदेशसहित कर्णालीका केही जिल्लामा समेत भारी वर्षा भएको हो । गएराति दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ, दार्चुला, र आसपासका जिल्लामा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  लगातारको वर्षाका कारण कैलालीस्थित कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैगरी बर्दियास्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । यहाँ पनि जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  कञ्चनपुरस्थित दोदा (मछेली) नदी जलमापन केन्द्रमा पनि हालको जलसतहले सतर्कता तह पार गरेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। आज राति सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काडमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै नेपालमा चलेको दश वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताउनुभएको छ । भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उहाँहरुले यस्ता धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताउनुभयो । ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौं लाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध नै हो’– उहाँले भन्नुभयो– ‘लाखौं जनताले यसमा भाग मात्र लिएनन्, वर्षौदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ, यति ठूलो आन्दोलन ल्याटिन अमेरिकी मुलुक वा यूरोपतिर भएको हुन्थ्यो भने विश्वब्यापी परिवर्तनको घटनाको रुपमा दर्ज भइसक्ने थियो।’ कतिपय शक्तिहरुले लाखौं जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताउनुभयो । ‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’– उहाँले प्रश्न गर्नुभयो– ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्यौं ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौं। अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’ इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र बिद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौं जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नेसपाका अध्यक्ष डा. भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना भएको औल्याउँदै भन्नुभयो– ‘सुगौली सन्धिअघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौं जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो । यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तह तप्काका जनताले भाग लिए ।’ जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा. भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताउनुभयो । ‘बच्चा जन्मदा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुशीयाली हो’– उहाँले भन्नुभयो– ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुशी नै जनयुद्धको मूल पक्ष हो ।’  कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठ ‘बल्छीध्रुवे’ले टेलिश्रृङ्खला ‘राधाकृष्ण’ले जनयुद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रवार साँझ प्रसारण हुने जानकारी दिनुभयो । कार्यक्रममा हास्यकलाकार जितु नेपाललगायतले शुभकामना दिनुभएको थियो ।  

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक: प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ। चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपंथी रुझानबाट अघि बढाउदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीति सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि विरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताउनुभयो। धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपंथी झुकावहुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ठ व्यक्तित्वहरु सधै समाजको अग्रस्थानमा रहने बताउनुभयो। जुत्ता सिलाउने पेशा अङ्गालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुनसक्छन् भन्ने थप पुष्टि भएको पनि बताउनुभयो । नेपाली समाजको रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाहरुले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीति व्यवस्था स्थापना भएको चर्चा गर्दै उहाँले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताउनुभयो। दिवङ्गत बुद्धराम दुलालको जीवनीबारे उहाँका जेठा छोरा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर दुलालले प्रकाश पार्नुभएको थियो । उहाँले पञ्चायतकालमै वाम अन्दोलनलाई समर्थनमा लाग्नुभएका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताउनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायत ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा बिष्ट, निर्धारित मितिमै चुनाव गर्न पहल गरिने

काठमाडौं । नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज बसेको बैठकसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हाल्नुभएको छ । अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिंदै बिष्टिलाई कार्यवाहक तोक्नुभएको थियो । ‘बैठकले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै कार्यबाहक अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आजैदेखि कार्यभार सम्हाल्ने निर्णय गरेको छ’– बैठकपछि महासचिव रोशन पुरीले जारी गरेको  विज्ञप्तिमा भनिएको छ– ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय ग¥यो । महासंघले अध्यक्ष पोख्रेलले अहिलेसम्म पुर्‍याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो ।  महासंघले असोज ५ गते निर्वाचन गराउने घोषणा गरेको थियो । तर, अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि देखिएको अन्योलका बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सुवासको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्नुभएको छ।  बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो।  उहाँले सुवासचन्द्र नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उहाँको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताउनुभएको हो।   उहाँले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पार्नुभयो।  प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकाङ्क्षा र प्रवृत्ति अनुरूप चल्नुपर्ने बताउनुभयो।  

सकियो माओवादी केन्द्र मधेश प्रदेशको बैठक, ४८ नेताले दिए सुझाव

महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गर्नुभएको थियो । बैठकमा हिजो ४६ जना र आज थप दुई जना गरी ४८ जना सहभागीले बोल्नुभएको थियो ।  बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले मधेश प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न गरेको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।  अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।   

सरकार साना पार्टी सखाप गर्ने षड्यन्त्रमा जुटेको छः सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकार साना पार्टीलाई सखाप पार्न लागेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राउतले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताएका हुन् ।  सरकारको 'भिजिबिलिटी' नै नदेखेको र आफूहरू सत्ता पक्ष हो कि विपक्षी थाहा नभएको उल्लेख गर्दै उनले भने, 'न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले । हामी सत्ता पक्ष हो कि विपक्षीमा हो त्यो मलाई पनि थाहा छैन खासमा । म चाहिँ खासै काम, कारबाही अगाडी बढेको जस्तो, सरकार भएको जस्तो महसुस देख्दिनँ । उल्टै के देखिन्छ भन्दाखेरी साना पार्टीहरुलाई अरु पार्टीहरुले कसरी सखाप पार्ने ? केही सिमित नेताहरुलाई मात्रै कसरी प्रतिशोध साँध्ने ? त्यसमा प्रतिनिधि सभा पनि केन्द्रित भएको र सरकार पनि केन्द्रित भएको मैले देखेको छु ।’ त्यस्तै अध्यक्ष राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । सरकारले संवैधानिक परिषद्‍मा आफ्नो बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताए । ‘एकदम गलत नियतका साथ भइरहेको छ । संवैधानिक परिषद्मा बहुमत पुर्‍याउनका लागि भइरहेको छ । अहिले आधि आधि भयो । ३–३ वटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ । जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ,’ उनले भने ।