कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)
काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।


अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित
काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो ।
बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता
काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।
सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।
अखिल क्रान्तिकारीको बन्दसत्र सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ । विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् । नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।
पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने
काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ । शुक्रबार राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।
नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’ उहाँले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताउनुभयो । ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारें, जो निर्माण सम्पन्न हुने चरण छ’– पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ ।’ त्यस्तै आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको बताउनुभयो । आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा हजारौं किसानको ऋण मिनाह गरेको स्मरण गर्दै उहाँले शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई उर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रीबाट मुक्त गरेको बताउनुभयो । त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलको बीचमा मधेशी दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको उहाँले स्पष्ट गर्नुभयो । आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताउनुभयो । ‘हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरु कारवाहीमा परेको पहिलोपटक हो’– उहाँले भन्नुभयो– ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।’ उहाँले आर्थिक समृद्धिको सवालमा लिएका महत्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको बताउनुभयो। उहाँले तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभाहुँदै कोप २८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरकरुपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताउनुभयो । आफूले अल्पविकसित राष्ट्रहरुको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताउनुभयो । उहाँले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताउनुभयो । त्रिविमा मेरिटोक्रेसी लागु गर्ने, वर्षौदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीय शिक्षा ऐन सदनमा पुर्याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गर्नुभयो । ‘अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं’ अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताउनुभयो । ‘सरबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं’– उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ ।’ भर्खरै श्रीलंकामा भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरेर बामपंथी राष्ट्रपति निर्वाचिन भएको घटना विद्यार्थीहरुलाई सुनाउँदै उहाँले यो अभियान नेपालमा पनि शसक्तरुपमा अघि बढ्ने बताउनुभयो । सरकारमा रहँदा दलाल पूँजीपतिहरुको राइदाईमाथि जेहाद छेडेको उल्लेख गर्दै उहाँले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने बताउनुभयो । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो । बिरोधीहरुले सँधै षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने अध्यक्ष प्रचण्डको भनाई थियो । ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाइँ विद्यार्थीहरु तयार हुनुहोला ।’ ‘राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो’ अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताउनुभयो । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वब्यापीरुपमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गर्नुभयो । बिदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने बामपंथीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्न सक्ने उल्लेख गर्दै उहाँले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । ‘पार्टीभित्र विचार संश्लेषण र समाजवादी क्रान्तिको तयारीलाई प्राथमिकता’ अध्यक्ष प्रचण्डले एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौं राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताउनुभयो । अब धेरै विषय केन्द्रीय समिति बैठकले टुंग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उहाँले स्पष्ट गर्नुभयो । माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताउनुभयो । गुटबन्दीमा नलाग्ने निर्देशन अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि उर्जा हुने बताउनुभयो । उहाँले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरुले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि उर्जाको अवसरको रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधिमा जाने भएपछि जो जितेर आउँछ उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी गर्न विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।
अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्नुभएको हो । सम्मेलन उद्घाटनमा पार्टीका अधिकांश केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको छ । अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा नेताहरुले शुभकामना दिने क्रम सुरु भएको छ । सम्मेलनको बन्दसत्र भोलि ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । भोलि नै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ । असोज १२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समूहका नेताले प्रस्तुत गर्नेछन् । १२ गते निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ । असोज १३ गते उम्मेदवारी दर्ता दाबी बिरोध आदि सकेर असोज १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको सो संगठनले जनाएको छ ।
गंगादेवको नाम र केन्द्र पुरानै कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र पुरानै कायम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अदोश दिएको हो । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४(५)मा गाउँपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र नाम वा केन्द्र परिवर्तनका लागि एकपटकका लागि गाउँसाभाको बहुमतबाट नेपाल सरकारमा सिफारिस गर्नसक्ने र सो बमोजिम नेपाल सरकारले नाम वा केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था गरेको, गाउँपालिकाको पहिलो निर्वाचनपछि मिति २०७४ फागुन १४ गते सुकिदह गाउँपालिकाको नाम गंगादेव गाउँपालिका र केन्द्र जिनावाङबाट सानाडाँडामा सार्ने निर्णय भइसकेको अवस्थामा पुनः सो गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेकोमा अवस्था देखिदा प्रस्तुत निवेदनमा अन्तिम निर्णय नभएसम्म गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने गरी गंगादेव गाउँपालिकाको सभाको मिति २०७९ असार ३१ गतेको निर्णय तथा नेपाल सरकारको २०८१ भदौ २० को निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु साविककै गंगादेव गाउँपालिकाको नाम तथा सानाडाँडा केन्द्रबाट पूर्ववत् गाउँपालिका सञ्चालन गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम प्रत्यार्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’ यो गाउँपालिकामो पहिलो निर्वाचनबाट नेकपा माओवादी केन्द्र बिजयी भएको थियो । तत्कालीन गाउँपालिकाको गाउँसभाबाट सहिदको नामाम गंगादेव गाउँपालिका बनाइएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस विजयी भएपछि उसले पुरानो निर्णय उल्ट्याउने निर्णय गरेको थियो भने पछिल्लोपटक संघीय सरकारमा एमाले–कांग्रेसको सरकार बनेपछि पालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको थियो ।
आजदेखि लगातार चारदिन वर्षा हुने, यी हुन् उच्च जोखिमका क्षेत्र
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । आज दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि धेरै ठूलो वर्षासम्म हुनसक्ने भएकाले ५६ जिल्ला यसको असर पर्नसक्ने भन्दै सचेत गराएको छ ।
आजदेख अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन, यस्तो छ कार्यतालिका
काठमाडौं । नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले २३औं राष्ट्रिय सम्मेलन आज असोज १० गतेदेखि सुरु हुँदैछ । यससँगै क्रान्तिकारीले सम्मेलनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । उपाध्यक्ष केशव रावलले जानकारी दिए अनुसार असोज १० गते मध्यान्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उदेघाटन गर्नुहुनेछ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने सम्मेलनको बन्द सत्र ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । ११ गतेनै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ ।१२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समुहका नेताले प्रस्तुत गर्नेछन् । १२ गते नै सम्मेलन सम्पन्न गर्न गठित निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ । १३ असोजको विहानैदेखि चुनावी कार्यक्रम सुरु हुनेछ । नयाँ नेतृत्व चयनका लागि हुने चुनावी कार्यक्रमलार्ई सौहार्द र मर्यादित बनाउन सवै प्रयास गरिएको क्रान्तिकारीले जनाएको छ । १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको रावलले बताउनुभयो । मतदान सकिएपछि तत्काल गणना थल्ने र मतपरिणाम घोषणा गर्ने क्रान्तिकारीको तयारी छ । क्रान्तिकारीको नयाँ नेतृत्वका लागि एक दर्जन नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दावेदावी पेश गरिरहेका छन् ।
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले भन्यो– मनगढन्ते धारणा, अराजनैतिक प्रचार
काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भन्नुभएको छ– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’
श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)
काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

