यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ। 

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

 कस्तो होला शनिबार र आइतबारको मौसम? 
२०८१ असोज १९ गते शनिबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८१ असोज २० गते आइतबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको पहल पुगेन : अध्यक्ष प्रचण्ड

असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ ।  काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।  प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्वतयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गर्दै आफूले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताउनुभयो । सोहीअनुसार हिजो आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै आज काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्न निर्देशन दिनुभयो । जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनस्र्थापनाका बारेमा भएका कामको जानकारी लिनुभएको थियो ।  त्यस्तै उहाँले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाडाको अवस्थाको अवलोकन गर्नुभएको थियो ।

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

पत्रकारलाई कैद सजाय प्रकरणः पत्रकार महासंघले उठायो आदेशमाथि प्रश्न

काठमाडौं ।  अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो । त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरुले दश/दश दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो। हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। सो केन्द्रीय राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ । त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। विपतको सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरुलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।  बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उहाँको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ । 

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।