आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ ।
गोरखा जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न निर्देशन दिए।
जिल्लामा रहेका सङ्घीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले भने, “केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला ।”
स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा कर लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायबीच पनि आवश्यक समन्वय हुनुपर्ने बताए ।
कार्यालयमा भेटेर आफ्ना गुनासो सुनाउने जनताको अधिकार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासा सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्नुपर्छ भने ।
शान्ति सुरक्षाका कामलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिँदै उनले सुरक्षा संवदेशनशीलताका आधारमा सम्भावित परिस्थितीको आंकलन गरी काम गर्न निर्देशन दिए ।
एक दिवसीय क्रिकेटमा नेपालको लज्जास्पद हार
काठमाडौँ। तीन एक दिवसीय शृंखलाअन्तर्गतको आज भएको तेस्रो खेलमा नेपालको लज्जास्पद हार भएको छ । म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल एविरुद्धको तीन एक दिवसीय शृंखला २–० ले आफ्नो पक्षमा बनाएको छ। शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको हो। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको १७५ रन पछ्याएको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्रै बनायो। नेपालका भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ६ विकेट लिए। ४.५ ओभर बलिङ गरेका उनले १ मेडनसहित ८ रन खर्चिए। यस्तै,फिओन ह्यान्ड र थोमस मेयसले २२ विकेट लिए।
प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे। गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए। गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।
समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।” विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए । उनले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिए । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।
जिल्ला न्यायाधीशमा १० जनाको नाम सिफारिस (सूचीसहित)
काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको हो । जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेकोमा परिषद्ले १० जनाको नाम सिफारिस गरेको छ भने बाँकी ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगले तयारी गरेको छ ।
आठ महिनामा २ खर्ब ३३ अर्ब विदेशी मुद्रा सञ्चित
काठमाडौं । पछिल्लो आठ महिनामा मुलुकमा कुल विदेशी मुद्रा सञ्चिति २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । गत असार मसान्तको तुलनामा यो २१.७ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । गत फागुन मसान्तसम्म आइपुग्दा यो बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । गत फागुन मसान्तसम्ममा २०.८ प्रतिशतले बढेर १४ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत फागुनसम्मको विदेशी मुद्रा सञ्चितिले १४.८ महिनाका लागि वस्तु र १२.४ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
माओवादीका महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउने सहमति
तुलसीपुर । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरू सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् । लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो । सहमतिअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलहरूको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजना, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको हो ।
राष्ट्रपति सी चिन फिङ वृक्षारोपणमा सहभागी
काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ अप्रिल ३ तारिख बिहान राजधानीको वृक्षारोपण स्वयंसेवा कार्यक्रममा सहभागी भएका छन्। सो वृक्षारोपणका क्रममा उनले छिङ मिङ पर्वको अवधिभर चीनमा जताततै जीवित शक्ति रहनेहुनाले वृक्षारोपणका लागि सुहाउँदो बेला रहेको भन्दै सँगै मिलेर रुख रोप्ने उद्देश्य सबै चिनियाँहरुलाई वृक्षारोपण कार्यमा सक्रिताका साथ भाग लिएर संयुक्त रुपमा सुन्दर चीनको निर्माण गर्न र मानव जाति तथा प्रकृति बीच मेलमिलापयुक्त सहअस्तित्व हुने चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ अध्याय लेख्नका लागि आह्वान गरे। चीनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय नेताहरु सी चिन फिङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाई छि, तिङ श्वे श्याङ, ली सी तथा हान चङले अप्रिल ३ तारिख १० बजेर ४० मिनेट जाँदा सामूहिक रुपमा पैचिङ शहरको थोङ चौ जिल्लामा सर्वसाधारणसँगै वृक्षारोपण स्वयंसेवा कार्यक्रममा भाग लिए।
अब मन्त्रीहरूले प्रत्येक दिनको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने
काठमाडौँ । अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफ्नो काम प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफूले दिनभरि गरेको काम बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने निर्णय आज चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको बताएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै आजकै क्याबिनेटबाट यो निर्णय गराएको जानकारी गराए। ‘आज मैले एउटा निर्णय पनि क्याबिनेटबाट गराएको छु। अब सबै मन्त्रीहरूले गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने, प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठूलो र राम्रो काम प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। त्यसले सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ। हामी बल गर्दैछौं।’समितिको बैठकमा प्रधानमन्त्रीले भनेका छन् ।
मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णय
काठमाडौं ।चैत २२ गते बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले विविध निर्णय गरेको छ । यस्ता छन् २०८० चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सो को सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने । २. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. विरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने । ३. वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने ।
संसद्सामु गरिएका प्रतिबद्धता कार्यान्वयन भइरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताएका छन्।राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताएका हुन्। “सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्प अनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीहरूबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन लेटर लगायतका सेवा लिन सहज भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “संसद्मा व्यक्त प्रतिबद्धता अनुरूप रसायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ ।” गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने कार्य प्रारम्भ भइसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी दिने कार्य सुरु भइसकेको बताए। सेवा प्रवाहमा नागरिकको गुनासालाई प्रभावकारीरूपमा सम्बोधन गर्न हेलो सरकारलाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूतिका लागि सरकारी सेवामा ‘टाइम कार्ड’ अभ्यासमा ल्याइएको र यसलाई सबै जिल्लामा क्रमशः विस्तार गरिँदै लगिएको बताए। विकास आयोजनाहरूलाई समयमा नै सम्पन गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने कार्य भइरहेको बताए। “नागरिकलाई ६ महिनाभित्रै नागरिकताको सुनिश्चितता गर्ने प्रतिबद्धता कार्यान्वयन भएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाका लागि मस्यौदा तर्जुमा भएको छ ।” सुधार आफैबाट सुरु गर्नुपर्दछ भन्ने मान्यताका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उत्कृष्ट निकायकारूपमा विकास गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तदनुरूप सङ्गठन पुनःसंरचना गरी दरबन्दी कटौति गरिएको बताए। सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पारे। उनले भने, “यो अवधिमा भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, बाँसबारी जग्गा प्रकरण लगायतका विषयहरूमा सरकारले गम्भीर अनुसन्धान अगाडि बढाएको र नतिजा समेत देखिने क्रममा छ ।” भूमिहीन, सुकुम्बासी, स्ववासी लगायतका समस्या समाधानका लागि निवेदन सङ्कलन र तथ्याङ्क प्रविष्टिलगायत क्षेत्रगत तयारी करिब सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमिसम्बन्धी तथा वनसम्बन्धी ऐनमा केही संशोधन आवश्यक देखिएकोले यी कानुनमा सुधारका लागि संशोधन भइ संसदमा पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताए। “सामाजिक न्यायका क्षेत्रमा माननीय सांसदहरूले सङ्घीय संसद्मा उठाएका कतिपय विषयको निरुपण गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मिटरब्याज पीडित जनताले न्याय पाएका छन् ।” शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने विषयमा सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक सम्मानित संसदमा दर्ता भएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा रहेको उल्लेख गरे। “खासगरी डेंगी, लम्की स्किन, बर्ड फ्लूलगायतका महामारीजन्य प्रकोपको कुशलतापूर्वक व्यवस्थापन गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “बझाङ र जाजरकोटको भूकम्पमा सरकारले उद्धार, राहत र पुनःस्थापनाको कार्यमा उदाहरणीय पहल गरेको विदितै छ । पुनःनिर्माणका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने सुनिश्चित गरिएको छ ।”
रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको अध्यक्षमा पशुपति चौधरी
काठमाडौँ । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा। डा। पशुपति चौधरीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको हो । यस्तै, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।
पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध मुद्दा दायर
काठमाडौँ । दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गरे । उनले विस्तृत जानकारी केही समयमा सार्वजनिक गर्ने बताए । यो प्रकरणमा बहालवाला सहसचिव बुद्धसागर लामिछाने पनि अभियुक्त बनाइएका छन् । उनी पर्यटन मन्त्रालयमा सहसचिव छन् । वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा,ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौैला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाह लगायत पनि प्रतिववादी छन् । यो प्रकरणको अनुसन्धानमा तानिएका पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र दिलनाथ गिरीको भने संलग्नता पुष्टि नभएकाले अभियोग दायर नभएको अख्तियारले जनाएको छ ।
राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।
कांग्रेसले टुंग्यायो उप–निर्वाचनका लागि उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले उप–निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम र बझाङमा हुने उप–निर्वाचनका लागि उम्मेदवार तय गरेको हो। कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको हो।
यस्ता छन् आजको लगानी बोर्ड बैठकका निर्णय
काठमाडौं । लगानी बोर्डको कार्यालयले चार जलविद्युत् आयोजनाको ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको लगानी बोर्डको ५७ औं बैठकले चार जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । जसमा १६६ मेगावाटको सुपर तमोर (३४ अर्ब ५९ करोड रुपैयाँ), ४२ मेगावाटको अप्पर मोदी ‘ए’ (१० अर्ब ८ करोड रुपैयाँ) , २५० मेगावाटको सोलार राइजन इनर्जी (२१ अर्ब १० करोड रुपैयाँ) र १३९.२ मेगावाटको लोवर मर्स्याङदी (३३ अर्ब ४१ करोड रुपैयाँ) रहेको छ । राइजन इनर्जी र लोवर मनाङ मर्स्याङदी विदेशी लगानी भएका आयोजना हुन् । राइजनमा सिंगापुर र लोवर मनाङ मर्स्याङदीमा चिनियाँ लगानी रहेको छ । लोवर मनाङ मर्स्याङदी बुटवल पावर कम्पनीसहित तीनवटा चिनियाँ कम्पनी छन । सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत सेयर छ । लोवर मनाङ मर्स्याङदी पिकिङ रन अफ दी रिभर (अर्ध जलाशय) प्रकृतिको आयोजना हो । गण्डकीमा निर्माण हुने यो आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ। त्यसै गरी बोर्डको बैठकले ६ अर्ब ६३ करोड रुपैयाँ हुवासीन सिमेन्टको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लगानी सम्मेलनको प्रभावकारी तयारी गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।