ओलीले समाजवादको भाष्य बिगारेः भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाउनुभएको छ ।

हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताउनुभयो । 

आजै रेल आउँछ, टावर बनाएर समाजवाद आउँछ भन्नेजस्ता ओलीको अभिव्यक्तिले समाजवादको भाष्य बिगारेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पछिल्लो दुई वर्षमा पपुलिजमले हाम्रो समाजवाद बिगार्‍यो । व्यक्तिगत दोषारोपण पनि सुनिनसक्छ । हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो। चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो ।’

उहाँले हाम्रो जस्तो समाजमा सबै मान्छे प्युअर हुँदैन, तर मूलभूत रुपले दलाल पुँजीवादबाट मुक्त भएको नेता होस्, त्यस्तो पार्टी होस् । घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कुनै कुरामा आत्मनिर्भर हुन नसक्ने बताउनुभयो । उहाँले भ्रष्टहरु पालितपोषित भएर नेताहरु बनिरहेको बताउनुभयो ।
 

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छः प्रचण्ड

काठमाडौं, २१ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुमलमटारमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक  प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो । उहाँले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गर्नुभएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताउनुभयो । ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’– उहाँले भन्नुभयो– ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’ खेलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन् ।’ पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उहाँले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । यो जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उहाँले धन्यवाद र बधाई दिनुभयो । पलेशाको परिवारलाई विशेष बधाई दिंदै उहाँले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय नभएको बताउनुभयो ।  यसअघिका विभिन्न खेलहरुमा अरुभन्दा धेरै पदक जितेको र यसपटक ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो क्षेत्र नेपालका लागि विशेष खेल बन्न पुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा राज्यले बढी लगानी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा खेल क्षेत्रमा लगानी वृद्धि, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थालगायतका थुप्रै काम गरेको स्मरण पनि गर्नुभयो । उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा एशियन क्वालिफायरमा मेडल लिएर आउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बधाई दिंदै पाराओलम्पिक यात्रामा सफलताको शुभकामना व्यक्त गरेको स्मरण गर्दै अझै माथिल्लो पदक प्राप्तिको संभावना रहेको बताउनुभयो ।  सो क्रममा पदक विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा गोल्ड मेडलका लागि तयारी गर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ लगायत पदाधिकारी, राखेप सदस्य सचिव टंकलाल घिसिङ र पलेशाका बुवा प्रदीप गोबर्धनले आफ्ना अनुभव सुनाउनुभएको थियो । 

मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं यात्रु बिचल्लीमा

बाग्लुङ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक बन्द भएको हो। लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिनुभयो ।  लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन्  भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन्। पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको रअहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रूपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन्।’ बाढीले बगाउँदामा दुईको मृत्यु, एक बेपत्ता बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।  ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।

तीजको अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरितालिका तीजको अवसरमा शुभकामना दिनुभएको छ। उहाँले नेपाली महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचचण्डले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ– ‘नेपाली महिलाहरुले परापूर्वककालदेखि धार्मिक सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात गर्दै यसलाई लैंगिक समानता र सामाजिक सशक्तिकरणको अवसरका रुपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु।’ सामन्तवादविरुद्ध भएको तमाम् आन्दोलन र विशेषतः जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनको बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयन गर्दै महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको कार्यभार भएको उल्लेख गर्दै उहाँले यसका लागि समेत तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । 

कांग्रेस-एमालेले गठबन्धन गरून्, हामी जनतासँग गठबन्धन गर्छौं : सांसद आचार्य

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रदेश १ का सांसद जीवन आचार्यले माओवादी केन्द्रले भ्रष्टाचारविरूद्ध सुशासन अभियान लिएर जनताको घर-घरमा जाने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले सो कुरा बताउनुभएको हो। पहिलेदेखि नै देशमा लुटको धन्दा चलाएका पार्टी र सो वर्गका केही बिचौलिया व्यापारीले माओवादी र पार्टी अध्यक्ष प्रचण्डका विरुद्ध भ्रम छर्ने काम गरेको भएपनि जनताले प्रचण्ड नै यो देशलाई सहि नेतृत्व दिन सक्ने नेता हो भन्ने कुरा थाहा पाएको उहाँले बताउनुभयो । सांसद आचार्यले भन्नुभयो -'आज जनताले बुझ्न थालेका छन्, देशभर माओवादीको पक्षमा माहोल बन्दै गैरहेको छ। अध्यक्ष प्रचण्ड नै देशलाई सहि ढंग्गले नेतृत्व गर्न सक्ने नेता हो, भन्नेमा जनता आशावादी भएको देखिन्छ।प्रचण्ड नेतृत्वको सरकारले शुसासनको अभियान चलाएपछि भ्रष्टहरु अत्तालिएर एकजुट भएका छन्।' 'यो देश भ्रष्टाचारले जरजर बनाइएको अवस्थामा अब यो तरिकाले भएन भनेर कमरेड प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान चलाउँदा के भयो ? भ्रष्टाचारीहरु एक ठाउँमा आएर हाम्रो सरकार ढाल्ने प्रयास भयो।' सांसद आचार्यले थप्नुभयो । भ्रष्टाचारी र माफियाहरुको योजनामा बनेको सरकारको जग कमजोर रहेको बताउँदै माओवादी केन्द्रले चाहे जुनसुकै बेला सरकार ढल्ने उहाँले बताउनुभयो ।यद्यपी माओवादी केन्द्र जनतासँग सुशासनको अभियानलाई जोड्न घर-घर जाने योजनामा रहेकाले सरकार ढाल्ने र बनाउने तर्फ समय खेर नफाल्ने उहाँको भनाई थियो । माओवादी केन्द्र आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने बताउँदै कांग्रेस एमालेलाई पार्टी एकता गरेर आउन चुनौती समेत दिनुभयो । सांसद आचार्यले भन्नुभयो -'म ती सरकार ढाल्ने माफिया र भ्रष्टहरुलाई यो स्टेजबाट भन्न चाहान्छु । कमरेड प्रचण्ड र माओवादीले चाहने हो भने यो सरकार हामीले चाहेकै दिन ढल्छ । तर हामीलाई अहिले सरकार चाहिएको छैन । हामी आगामी निर्वाचन हामी एक्लै लड्छौं। कांग्रेस-एमालेले गठबन्धन मात्रै होइन्,पार्टी एकता नै गरे हुन्छ । माओवादीलाई कसैको साहारा चाहिएको छैन ।म यहाँबाट चुनौती दिन चाहान्छु।'

पशुपतिमा तीजको तयारी पूरा, बिहान ३ बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं । यस वर्ष शुक्रबार परेको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तीजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो । मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले जानकारी दिए । यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले बताए । दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने अधिकारीले जानकारी दिए । उनले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरे । नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिने उनको भनाइ छ । यसैगरी भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको कोषले बताएको छ । कोषले जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायतका स्थानहरु छुट्याइएको पनि जानकारी दिएको छ ।

सरकार असंवैधानिक नियुक्तिलाई संवैधानिक बनाउन प्रयासरत छ  : महासचिव गुरुङ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संवैधानिक इजलासको विश्वसनीयता, निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठ्न नदिन सजगता अपनाउनु पर्ने देखिएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत महासचिव गुरुङले गैरसंवैधानिक नियुक्तिसम्बन्धी करिब चार वर्ष अघिको रिट निवेदनमा संवैधानिक इजलासले सुनुवाइ नगरी विलम्ब गराइनुले प्रश्न उब्जाएको बताउनुभएको हो । उहाँले असंवैधानिक नियुक्तिलाई संवैधानिक बनाउन प्रयास भइरहेको आंशका व्यक्त गर्नुभयो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ मङ्सिर ३० गते संवैधानिक परिषदबाट गरेको असंवैधानिक सिफारिससम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ। तर, उक्त मुद्दा अझै फैसला भइसकेको छैन। पुनः ओली नेतृत्वको सरकार बनिसकेको अवस्थामा पनि उक्त मुद्दामा विलम्ब हुनु असंवैधानिक नियुक्तिलाई संवैधानिक बनाउनका लागि प्रयासरत रहेको यथार्थता प्रष्टै देखिएको महासचिव गुरुङको भनाई थियो। उनले लेख्नुभएको छ  ‘न्यायालयमा राजनीतिक प्रभाव र दबाबको पराकाष्टता ५२ जना संवैधानिक अङ्गका पदाधिकारीहरूको गैरसंवैधानिक नियुक्तिसम्बन्धि ३ वर्ष ९ महिना अगाडीदेखिको रिट निवेदन संवैधानिक इजलासमा अझै विलम्बताले देखाएको छ। २०७७ मङ्सिर ३० गते ओली सरकारको पालामा तत्कालीन संवैधानिक परिषदबाट गरेको असंवैधानिक सिफारिससम्बन्धि मुद्दा, यतिखेरको ओली सरकारकै पालासम्म लम्बिँदा असंवैधानिक नियुक्तिलाई संवैधानिक बनाउनका लागि प्रयासरत रहेको यथार्थता पनि प्रष्टै देखिन्छ। मुद्दाको अङ्ग पुगिसक्दा पनि विलम्बताले त्यही यथार्थताको पुष्टि गरिरहेको देखिन्छ। फेरि पनि यो मुद्दाको फैसला नभइसकेको स्थितिमा प्रधानन्यायाधीशसहित ५ जना वरिष्ठ न्यायाधिशहरु रहेको र संवैधानिक व्याख्याको क्षेत्राधिकार रहेको संवैधानिक इजलासको विश्वसनीयता, निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठ्न नदिन सम्पूर्ण न्यायप्रेमीहरुले सजगता अपनाउनै पर्ने देखिन्छ।’

पेट्रोलियम भण्डारण गृहको निर्माण तीव्र

रुपन्देही । रुपन्देहीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि तीव्र गतिमा काम अगाडि बढेको छ। भण्डारणगृह निर्माणका लागि सुरुमा जग्गा व्यवस्थापनको काम अगाडि बढाइएको हो। ओमसतिया र रोहिणी गाउँपालिकाको सिमानामा पर्ने रोहिणी नदी किनारमा भण्डारण गृह बन्ने छ। जसका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेशस्तरीय पेट्रोलियम इन्धन भण्डारण डिपो निर्माण गर्न गत जेठ १८ गतेदेखि जग्गा व्यवस्थापनको काम थालिएको थियो। नेपाल आयल निगमका उपनिर्देशक तथा भण्डारण निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवका अनुसार निर्माणस्थलमा अहिले ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएको छ। निर्माणस्थलमा रोहिणी खोलामा आउने बाढीबाट हुन सक्ने क्षति रोक्नका लागि ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउन थालिएको हो। परियोजनाको पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्की निर्माण गरिने यादवले बताउनुभयो। निगमले तीन वटा ठेकेदारमार्फत भण्डारणगृहको जग्गा व्यवस्थापनको काम जारी राखेको छ। भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणीमा आएको बाढीले ढिला भएको यादवले बताउनुभयो। निर्माणस्थलमा छ मिटर उचाइको ६२० मिटर ग्याबिन र उत्तरतर्फ ४.२ मिटर उचाइको १५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ। भण्डारणगृहलाई बाढीबाट सुरक्षित राख्न परियोजना स्थलभन्दा माथि करिब १८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ। रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ। एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउन्ड’ निर्माणको काम थालिने योजना छ। करिब तीन अर्ब रुपियाँको लागतमा भण्डारणगृह निर्माण गर्न थालिएको हो।

यी हुन नेपालको दिगो विकासका लागि बिआरआईका संभावना

काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) चीनद्वारा २०१३ मा शुरू गरिएको एक विश्वव्यापी पूर्वाधार विकास र आर्थिक सहकार्य कार्यक्रम हो, जसको उद्देश्य भौतिक पूर्वाधार सुधार गरेर व्यापार प्रवर्द्धन गर्नु हो। नेपाल, जुन चीन र भारतबीचको रणनीतिक रूपमा महत्त्वपूर्ण स्थलमा अवस्थित छ, २०१७ मा BRI मा हस्ताक्षर गर्‍यो। त्यसपछि, BRI ले नेपालको विकास रणनीतिमा पूर्वाधार, व्यापार, ऊर्जा, र पर्यटन जस्ता क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यो लेखले BRI ढाँचामा नेपाल र चीनबीचको सहकार्यका प्रमुख क्षेत्रहरूको चर्चा गर्दै नेपालको विकासमा यस पहलको भूमिकालाई विश्लेषण गर्नेछ। १. पूर्वाधार विकास र सम्पर्क विस्तार BRI को मुख्य उद्देश्य साझेदार राष्ट्रहरूमा यातायात र सम्पर्क पूर्वाधार विकास गर्नु हो। नेपालका लागि, जुन हिमाली भू-भागका कारण जटिल छ, सम्पर्क सञ्जाल विकासमा चुनौतीहरू छन्। BRI ले नेपाललाई यी चुनौतीहरू समाधान गर्न ऐतिहासिक अवसर प्रदान गरेको छ। प्रमुख परियोजनाहरू: ट्रान्स-हिमालयन सम्पर्क: BRI अन्तर्गत नेपालमा मुख्य परियोजना भनेको ट्रान्स-हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क हो, जसमा काठमाडौं र तिब्बतलाई रेलमार्गमार्फत जोड्ने योजना छ। प्रस्तावित काठमाडौं-केरुङ रेलमार्गले नेपाललाई चीनको तिब्बतको शिगात्सेसँग जोड्नेछ। यस परियोजनाले भारतमा निर्भरता घटाएर अन्तर्राष्ट्रिय बजारमा नयाँ पहुँचको सम्भावना खोल्नेछ। सडक सञ्जाल: BRI अन्तर्गत नेपालको सडक सञ्जालको विस्तार र सुधारको योजना छ। सडक पूर्वाधारको सुधारले चीन र नेपालको बीचको व्यापारलाई सहज बनाउनुका साथै नेपालभित्र सम्पर्क सञ्जाल सुधार गरेर ग्रामीण क्षेत्रलाई आर्थिक केन्द्रहरूसँग जोड्नेछ। यी पूर्वाधार सुधारहरूले यातायातमा सुधार, लागत घटाउने, र आर्थिक गतिविधिहरूका नयाँ सम्भावनाहरू खोल्नेछन्। साथै, यसले नेपाललाई दक्षिण एशिया र चीनबीचको महत्त्वपूर्ण व्यापारिक केन्द्र बनाउन सहयोग गर्नेछ। २. व्यापार र आर्थिक वृद्धि BRI को प्रमुख लक्ष्यहरू मध्ये एक भनेको व्यापारको प्रवर्द्धन हो। यातायात मार्गहरूको सुधार र नयाँ व्यापारिक मार्गहरूको विकास गरेर, BRI ले व्यापार वृद्धि र आर्थिक विकासलाई टेवा दिन्छ। नेपालले चीन र अन्य BRI राष्ट्रहरूसँग व्यापारिक सम्बन्ध विस्तार गरेर आर्थिक फाइदा लिन सक्छ। प्रमुख विकासहरू: व्यापार मार्गहरूको विविधीकरण: हाल, नेपालको अधिकांश व्यापार भारतको बन्दरगाहहरूमा निर्भर छ। BRI अन्तर्गत चीनतर्फका वैकल्पिक मार्गहरूको विकासले नेपाललाई व्यापारको लागि नयाँ विकल्पहरू उपलब्ध गराउनेछ। यसले एकल देशमा निर्भरता घटाएर थप विविधीकरणको अवसर प्रदान गर्नेछ। निर्यात-उन्मुख उद्योगहरूको प्रवर्द्धन: BRI मार्फत सम्पर्क र बजार पहुँचमा सुधारले नेपालमा निर्यात-उन्मुख उद्योगहरूको प्रवर्द्धनमा मद्दत गर्नेछ। कृषि, हस्तकला, र अन्य निर्मित वस्तुहरूको निर्यात बढ्ने सम्भावना छ, जसले रोजगारी सिर्जना गर्दै औद्योगिक वृद्धि गर्नेछ। ३. ऊर्जा सहकार्य नेपालसँग विशाल जलविद्युत् सम्भावना छ, जसले ४०,००० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्छ। तर, लगानीको अभाव र प्राविधिक चुनौतीहरूका कारण यो सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न कठिनाइ भएको छ। BRI अन्तर्गत, चीन र नेपालको ऊर्जा सहकार्य विशेष गरी जलविद्युत् क्षेत्रमा वृद्धि हुने अपेक्षा गरिएको छ। प्रमुख परियोजनाहरू: जलविद्युत् विकास: चीनले BRI मार्फत नेपालका ठूला जलविद्युत् परियोजनाहरूमा लगानीको रुचि देखाएको छ। उदाहरणका लागि, पश्चिम सेती जलविद्युत् परियोजनामा चिनियाँ लगानीले ७५० मेगावाटको उत्पादन गर्ने योजना छ, जसले नेपालको ऊर्जा आवश्यकता पूरा गर्न ठूलो भूमिका खेल्नेछ। अन्य परियोजनाहरू, जस्तै अपर त्रिशुली जलविद्युत् परियोजना, पनि चिनियाँ सहयोगमा छन्। ऊर्जा निर्यातको सम्भावना: जलविद्युत् स्रोतको विकास भएपछि, नेपालले भारत र चीन जस्ता छिमेकी देशहरूमा बिजुली निर्यात गर्नसक्ने सम्भावना छ। यसले नेपाललाई स्थिर आयको स्रोत दिनेछ। ४. पर्यटन प्रवर्द्धन पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो। BRI परियोजनाहरू कार्यान्वयन भएपछि नेपालमा पर्यटनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। प्रमुख फाइदाहरू: पहुँचमा सुधार: BRI अन्तर्गत विमानस्थल, सडक, र रेलमार्गहरूको विकासले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पहुँच सुधार्नेछ। यसले पर्यटनको वृद्धि गराउनेछ। चीन-नेपाल पर्यटन सहकार्य: चीन नेपालका लागि बढ्दो पर्यटक स्रोत हो। BRI मार्फत बढेको सम्पर्कले चीनबाट आउने पर्यटकहरूको संख्या वृद्धि गर्नेछ, जसले नेपालको पर्यटनमा ठूलो योगदान दिनेछ। ५. प्रविधि र डिजिटल पूर्वाधार BRI ले नेपालमा प्रविधि र डिजिटल पूर्वाधारको क्षेत्रमा परिवर्तनकारी भूमिका खेल्न सक्छ। नेपालको ICT (सूचना तथा सञ्चार प्रविधि) क्षेत्रमा सुधार गर्न ठूलो सम्भावना छ। प्रमुख क्षेत्रहरू: दूरसञ्चार: BRI अन्तर्गत, चीनले नेपालमा ४जी र ५जी नेटवर्क विस्तारमा सहयोग गर्न सक्छ। यसले ग्रामीण क्षेत्रमा डिजिटल पहुँचको सुधारमा मद्दत गर्नेछ। इ-कमर्स र डिजिटल व्यापार: डिजिटल पूर्वाधारको सुधारसँगै, BRI ले नेपालमा इ-कमर्स र डिजिटल व्यापारको वृद्धिमा सहयोग गर्ने सम्भावना छ। यसले साना र मझौला व्यवसायहरूलाई नयाँ बजारमा पुग्न सहयोग पुर्‍याउनेछ। ६. क्षमता विकास र मानव संसाधन BRI ले केवल भौतिक पूर्वाधारमा मात्र नभई क्षमता विकास र ज्ञान साझेदारीमा पनि जोड दिन्छ। नेपालले यसबाट विभिन्न क्षेत्रमा आफ्नो जनशक्ति क्षमता सुधार गर्न फाइदा उठाउन सक्छ। प्रमुख पहलहरू: सीप विकास कार्यक्रमहरू: चीनले नेपालका विद्यार्थी र व्यवसायीकर्मीहरूलाई छात्रवृत्ति, प्राविधिक तालिम, र शैक्षिक आदान-प्रदानको अवसरहरू प्रदान गर्दै आएको छ। यसले नेपाललाई ठूला पूर्वाधार परियोजनाहरूलाई व्यवस्थापन गर्न सक्षम जनशक्ति विकासमा मद्दत गर्छ। सांस्कृतिक आदान-प्रदान: BRI अन्तर्गत सांस्कृतिक आदान-प्रदान कार्यक्रमहरूले नेपाल र चीनका जनताबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदैछ। चुनौतीहरू र चिन्ताहरू BRI ले नेपालको विकासमा ठूलो सम्भावना ल्याए पनि, यससँगै चुनौतीहरू र चिन्ताहरू पनि छन्। ऋण जोखिम: BRI परियोजनाहरूले नेपालको ऋण भार बढाउन सक्छ भन्ने चिन्ता छ। नेपालले BRI अन्तर्गतको लगानीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न ध्यान दिनु आवश्यक छ। पर्यावरणीय चिन्ता: ठूला पूर्वाधार परियोजनाहरूले पर्यावरणमा नकारात्मक असर पार्न सक्छन्, विशेष गरी हिमालयन क्षेत्रहरूमा। निष्कर्श बेल्ट एन्ड रोड इनिसिएटिभले पूर्वाधार सुधार, व्यापार प्रवर्द्धन, ऊर्जा सहकार्य, र पर्यटन प्रवर्द्धन गरेर नेपालको आर्थिक परिदृश्यलाई परिवर्तन गर्ने सम्भावना बोकेको छ। चीनसँगको BRI ढाँचाअन्तर्गत रणनीतिक रूपमा योजनाबद्ध सहकार्य गरेर, नेपालले आफ्नो विकासलाई तीव्र गतिमा अगाडि बढाउन र दक्षिण एशिया र चीनबीचको पुलको रूपमा आफ्नो भूमिका थप मजबुत बनाउन सक्छ। यद्यपि, BRI ले नेपालको दीर्घकालीन विकास लक्ष्यहरूलाई फाइदा पुर्‍याउन, यसलाई सावधानीपूर्वक व्यवस्थापन, पारदर्शिता, र दिगोपनमा ध्यान दिनु अत्यावश्यक छ।

बेइमानी र जालझेललाई राउण्ड किक भन्नेहरुले अब जनताको राउण्ड देख्नेछन्ः प्रचण्ड

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आह्वान गर्नुभएको हो । सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको ब्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’  प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’ हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पोलिटब्यूरो बैठकमा ‘प्रचण्डलाई राउण्ड किक’ हानेको अभिव्यक्ति दिनुभएको थियो । जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘यो हामी सबैका लागि खुशी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’ त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताउनुभयो । जनयुद्धका महान सहिदहरुलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उहाँले नेता कार्यकर्ताहरुलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो । आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उहाँले संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताउनुभयो । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठबाट सहिदको स्मृति दिवसबारे एकरुपता कायम गर्ने गरी नीगितरुपमा व्यवस्था गरिने जानकारी दिनुभयो ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

नेपाली चिकित्सक डा. बिवेक सिंह मलेसियामा सम्मानित

क्वालालम्पुर, मलेसिया ।नेपाली चिकित्सक डा.बिवेक सिंह मलेसियास्थित क्वालालम्पुरमा सम्मानित हुनुभएको छ । डा. बिवेक सिंहलाई मलेसिया सेप्टेम्बर २-४, २०२४ मा आयोजित ट्रिपल ई अवार्ड्स (Entrepreneurship and Engagement Excellence Awards) ले सम्मानित गरिएकाे हाे । नेपाली चिकित्सक सिंहले उच्च शिक्षा क्षेत्रमा उद्यमशीलता र संलग्नतामा आधारित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको हो।  नेपाली चिकित्सक डा. बिवेक सिंहलाई मोस्ट एंगेज्ड एकेडेमिक अफ द इयर पुरस्कारका लागि पाँच उत्कृष्ट व्यक्तित्वहरूमा समावेश गरिएको थियो। उहाँलाई दोस्रो चरणको छनोटमा विजेता घोषणा गरिएको हो।  पुरस्कार कार्यक्रम एसीईईयू (Accreditation Council for Entrepreneurial and Engaged Universities, जर्मनी) र एमएसयू (Management and Science University, मलेसिया) द्वारा आयोजना गरिएको हो। प्रतिस्पर्धामा डा. बिवेक सिंहका साथ अन्य चार प्रतिस्पर्धीहरू थिए: 1.    मनीषा सिंह - ICFAI Business School, Bangalore (भारत) 2.    रिचा अवस्थी - University of Canberra (अष्ट्रेलिया) 3.    मिनयोंग ली - Shandong University (चीन) 4.    युआन्तो कुसनाडी - Singapore Management University (सिंगापुर)। डा. बिवेक सिंहलाई यो प्रतिष्ठित सम्मानको लागि छनोट गरिनुको प्रमुख कारण उहाँले उच्च शिक्षामा पुर्‍याएको महत्त्वपूर्ण योगदान हो। उहाँको चिकित्सा शिक्षामा दशकभन्दा बढीको अनुभवले नेपाल मात्र नभई एशियाका विभिन्न मुलुकहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। उहाँलाई यसै योगदानको आधारमा यो सम्मान प्रदान गरिएको हो। सम्मानित चिकित्सक सिंह नेपालमा लोकप्रिय स्वास्थ्य लोकसेवा प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले एशियालका विभिन्न मुलुकहरूमा चिकित्सा विज्ञानका विद्यार्थीहरूलाई प्रशिक्षण दिनु भएको छ । साथै कम उमेरमै शैक्षिक समन्वयकको रूपमा परिचित हुनुहुन्छ। डा. सिंह नेपालिज डक्टर्स लाउन्ज (NEDOL) का संस्थापक हुनुहुन्छ। सो संस्थाले चिकित्सा क्षेत्रका डाक्टरहरूलाई जोडेर राख्ने एउटा महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्छ। उहाँले तीन पुस्तक लेख्नुभएको छ ।   जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक सराहना गरिएको छ। साथै, उहाँले भूकम्प, स्वाइन फ्लू र कोविड-१९ महामारीका बेला स्वयम्‌सेवकको रूपमा उल्लेखनीय योगदान दिनु भएको छ। उहाँले १२ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरूमा लेखहरू प्रकाशित गर्नु भएको छ भने ९ वटा अनुसन्धान पत्रहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन्। यस वर्ष, डा. बिवेक सिंहलाई दुई अन्य देशबाट पनि सम्मानित  1.    फिलिपिन्स - एशियाको उत्कृष्ट युवा शिक्षक २०२४ को रूपमा मे २५, २०२४ मा मनीलास्थित द हेरिटेज होटलमा आयोजित समारोहमा Instabright International Guild of Researchers and Educators, Inc. द्वारा सम्मानित। 2.    थाइल्यान्ड - शिक्षामा उत्कृष्ट योगदान का लागि नोभेम्बर ९, २०२४ मा बैंककस्थित होटल अमारी मा आयोजित एशियन एजुकेशन अवार्ड्स २०२४ मा सम्मानित गरिने। यस प्रतिष्ठित ट्रिपल ई अवार्ड्समा सहभागी भएर डा. बिवेक सिंहले नेपाल र नेपाली चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाउन सफल हुनु भएको छ। उहाँको यो सफलता सम्पूर्ण नेपाली चिकित्सा क्षेत्रका लागि प्रेरणादायी बनेको छ। विजेताहरूको सूची: 1.    Geoffrey Whitcher, ONZM
: Lifetime Achievement Award in University Transformation Award
 - The University of Auckland (न्यूजिल्याण्ड) 2.    Amir Sagi: Lifetime Achievement Award in University Transformation Award
 - Ben Gurion University of the Negev (इजरायल) 3.    Management and Science University
: Engaged & Sustainable University of the Year Award
 - Management and Science University (मलेसिया) 4.    Chaoyang University of Technology: Engaged & Sustainable University of the Year Award
 - Chaoyang University of Technology (ताइवान) 5.    The University of New South Wales
: Entrepreneurial University of the Year Award
 - The University of New South Wales (अष्ट्रेलिया) 6.    Dessy Aliandrina: Entrepreneurial Leader of the Year Award
 - Sociopreneur Indonesia (इन्डोनेशिया) 7.    Saima Mujtaba Ran: Entrepreneurship Educator of the Year Award
 - LUMS Centre for Entrepreneurship, LUMS Lahore (पाकिस्तान) 8.    Integrated Innovation Network (I2N): Innovation and Entrepreneurship Activators of the Year Award
 - University of Newcastle, Australia (अष्ट्रेलिया) 9.    ARC Research Hub for Driving Farming Productivity and Disease Prevention: Impactful Research Team of the Year Award। क्वालालम्पुरमा आयोजित सम्मान समारोहमा बोल्दै डा. बिवेक सिंहले चिकित्सा क्षेत्रको शैक्षिक पाठ्यक्रममा सुधारको आवश्यकतामा जोड दिनुभयो। उहाँले आगामी पाठ्यक्रमहरूमा चिकित्सकहरूको सिर्जनशीलता, नवप्रवर्तन, उद्यमशीलता, सहानुभूति, नैतिकता, मानविकी, र कौशल विकासको समावेश आवश्यक रहेको कुरा बताउनुभयो। साथै, उहाँले चिकित्सकहरूले आफ्नो प्रारम्भिक पाँच-छ वर्षको यात्रामा सिर्जनशीलता गुमाउने र केवल किताबी ज्ञानको आधारमा मूल्यांकन हुने प्रवृत्ति वैज्ञानिक दृष्टिकोणले अनुचित भएको उल्लेख गर्नुभयो। उहाँलाई यसअघि फिलिपिन्सबाट पाठ्यक्रम विकासका लागि निमन्त्रणा गरिएको थियो । उहाँले मलेसियामा पनि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने प्रस्ताव पाउनु भएको छ।डा. बिवेक सिंहको यो सम्मानले नेपाली चिकित्सा क्षेत्रको गरिमा अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गरेको चिकित्सा क्षेत्रका जानकारहरु बताउँछन् ।

सरकारले मनपरी र बेथिती जारी राखे प्रतिवाद गर्छौं :  माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारले जनताको अधिकार खोस्ने र बेथितीलाई प्रसय दिने काम गरे त्यसविरुद्ध प्रतिवादमा उत्रने बताएको छ ।  पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको बताउँदै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्षलाई चर्काउने तयारीमा आफूहरु रहेको बताउनुभएको हो। प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताउनुभयो । उहाँले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको समेत बताउनुभयो ।  प्रवक्ता सापकोटाले भन्नुभयो, ‘भ्रष्टाचारका फाईलहरु बन्द भइराखेका छन् । लोकतन्त्रको पक्षमा पनि दुई दलीय यो सरकार त्यति इमान्दार देखिएन । अब यो जनजीविकाको सवालमा पनि अब त्यति इमान्दार र गम्भिर देखिएन । त्यसकारण यी तीन वटै पक्षमा जनताका असन्तुष्टिहरु बढ्दैछन् । सरकारप्रति त मैले भनिरहनु पर्दैन–विभिन्न कार्यक्रमहरुमा प्रधानमन्त्री तथा सत्ता साझेदारहरुको नेताका विरुद्ध जनमत उर्लिन थालेको छ।’  ‘जनताको अधिकार बढाउने, अग्रगमनतिर जाने, परिवर्तनतिर जाने, जनताको अधिकारको झन विकास गर्ने कुरामा हामी तयार छौं । जनताको अधिकार खोस्ने कुनै चेष्टा गरिन्छ भने त्यसको विरुद्ध हामी जमेर प्रतिवाद गर्छौं । सदनमा पनि प्रतिवाद गर्छौं । र सडकमा पनि हामी प्रतिवाद गर्छौं । अहिले त्यसको तयारी हामीले गरिरहेका छौं’ उहाँले थप्नुभयो । प्रवक्ता सापकोटाले सरकार राष्ट्रियताको सवालमा पनि गम्भिर नभएको बताउनुभयो ।  

जेलेंस्की सरकारबाट मन्त्रीहरूको राजीनामा, जारी युद्धमा के पर्ला प्रभाव ?

एजेन्सी । युक्रेनमा सरकार फेरबदल हुने सम्भावना बढेको छ ।हतियार उत्पादनको जिम्मा लिने रणनीतिक उद्योग मन्त्रीसहित युक्रेनी सरकारका छ जना अधिकारीहरूले राजीनामा दिएका छन् । जसले सरकार परिर्वनको सम्भावनालाई बलियो बनाएको बताइएको छ ।  सत्तारूढ़ 'सर्भेन्ट अफ द पीपल्स' पार्टीका संसदीय दलका नेताले यस हप्ता मन्त्रीपरिषद्को हेरफेर हुने घोषणा गरेपछि  सरकारबाट मन्त्रीहरूको राजीनामा आएका हाे। लामो समयदेखि चलेको युक्रेन–रुस युद्धका कारण युक्रेनले आफ्नो शहरहरूमा दैनिकी रूसको बमबारीको सामना गर्दै आइरहेको बेला सरकार परिर्वतनको हल्ला र सरकार फेर बदलको घट्नाले युक्रेनको राष्ट्रिय राजनीतिमा नयाँ तर​​​​​​​ङ्ग पैदा भएको छ ।  मंगलबार राजीनामा दिनेहरूमध्ये रणनीतिक उद्योग मन्त्री अलेक्जान्डर कम्याशिन, न्याय मन्त्री डेनीस मलिउसका, पर्यावरण संरक्षण मन्त्री रूसलान स्ट्रिलेस्त, उपप्रधानमन्त्री ओल्हा स्टेफानिशिना र इरीना वेरेशचुक, र युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख विटाली कोवाल रहेका छन्। मन्त्रीहरूसँगै राष्ट्रपतिका वरिष्ठ सहयोगी रस्तिस्लाव शुर्मालाई पनि राष्ट्रपति आदेश अनुसार बर्खास्त गरिएको छ ।  युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेंस्कीले सरकारलाई मजबुत बनाउन र सरकारको संरचनागत परिवर्तन तयार गरिएको र सोही अनुसार मन्त्रीहरु फेरबदल गरिएको बताएका छन् ।  विपक्षी सांसद इरीना गेरेसचेनको सरकारले गरेको फेरबदलको आलोचना गरेका छन् उनले जेलेन्स्की सरकारलाई मन्त्रीविहीन सरकार भएको समेत आरोप लगाएकी छिन् ।उनले सरकारले बहुमत गुमाएको र  सरकारमा बौद्धिक जनशक्ति संकट रहेका कारण राष्ट्रिय एकताको सरकार बनाउनु पर्ने समेत बताएकी छिन् । 

माओवादी केन्द्रका तीन आयोगको परामर्श बैठक सम्पन्नः ४० जनाले दिए सुझाव

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ।  हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए । आज विहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक सकिएको छ ।  आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब प्रदेश नम्बर १ र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ । 

किन छाडे बाह्र घण्टामा ६३ हजार युवाले प्रधानमन्त्री ओलीको साथ ?

काठमाडौं । पछिल्लो बाह्र घण्टामा युवाहरुले चलाएको अनफ्लो अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका फ्यान फ्लोअर निरन्तर घट्ने क्रममा छन् । हिजो रातिसम्म ६ लाख ६२ हजार फ्यान फ्लोअर रहेकोमा अहिले यो समाचार तयार पर्दासम्म (विहान साढे ९ बजे) त्यो संख्या ५ लाख ९९ हजारमा झरेको छ । औसत घण्टामा एक हजारका दररले फ्यान फ्लोअर घटिरहेका छन् ।  खासगरी काठमाडौंका प्रमुख बालेन साहसँग विवाद भएपछि उहाँका फ्यान फ्लोअर घट्न थालेका हुन् । पछिल्लो दुई दिन यता एमाले र बालेनबीच वाकयुद्ध चलिरहेको छ । एक प्रदेशसभा सदस्यले श्रम शोषण गरेको भन्दै बालेनले उहाँलाई पक्राउ गर्न आह्वान गरेर स्ट्याटस लेख्नुभएको थियो । सो स्ट्याटस हिजो फेसबुकले हटाइदिएपछि बालेनका शुभचिन्तकहरुले यो सरकारको दबाब हटाइएको अर्थमा बुझेर प्रधानमन्त्री ओलीको पेजप्रति आक्रामक भएको देखिन्छ । त्यसो त स्वयं बालेनले पोष्ट हटाउने होइन दोषीलाई पक्राउ गर्न आग्रह गरेर पुनः स्ट्याटस लेखेपछि उहाँका सथर्मकहरु अभियानमा लागेको देखिन्छ । यो अनफ्लो अभियान प्राविधिक रुपमा सामाजिक सञ्जालको मात्र नभएर राजनीतिक रुपमा सरकारप्रतिको आक्रोशको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् । केही दिनअघि प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध टुडीखेलमा नाराबाजी भएको थियो । अहिले अनफ्लो अभियानलाई पनि उनीहरुले सरकारप्रतिको आक्रोश पोख्ने माध्यमको रुपमा प्रयोग गरेको देखिन्छ। पछिल्लो समय प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई आफ्नो प्रभाव विस्तारको माध्यम बनाउन थाल्नुभएको थियो । राजनीतिबाहिर रहेका युवाहरुसँग सामाजिक सञ्जालमार्फत पहुँच पुर्‍याउने रणनीति उहाँले अघि सार्नुभएको. थियो । एमाले पार्टीले नै पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगलाई प्राथमिकता दिंदै आएको छ । एमालेले संविधान दिवसका दिन ३ असोजमा ‘सेल्फी विथ नेसनल फ्ल्याग’ कार्यक्रम आयोजना गरको होस् वा नारायणचौरमा ‘मर्निङवाक ड्रेसअप’ होस्, सबै सामाजिक सञ्जालका सदस्यहरुलाई प्रभावित पार्ने कार्यक्रम थिए । त्यसो त संस्थागतरुपमा नै एमालेले राजनीतिक कार्यक्रम र निर्वाचन प्रचारमा सामाजिक सञ्जाल शक्तिशाली देखिएपछि एमालेले वडा तहसम्म प्रचार सञ्जाल बनाएर सामाजिक सञ्जालको प्रचारलाई महत्व दिने निर्णय गरिससकेको छ । सोही निर्णयपछि गत जेठबाट ओलीले सामाजिक सञ्जाललाई भरपूर उपयोग गर्न थाल्नुभएको यिो । कतिपय नेताहरुले आन्तरिक प्रशिक्षणमा पार्टी अध्यक्षको फेसबुक पेजमा लाइक र फ्लो बढाउन निर्देशन नै दिने गरेका थिए । सोही क्रममाउपमहासचिव विष्णु रिमालले धरानका मेयर हर्क साङपाङलाई बिम्ब बनाएर आन्तरिक बैठकमा दिएको एउटा अभिव्यक्तिका कारण विवादनै भएको थियो ।  ६ जेठमा अनेमसंघको बैठकमा मिसन २०८४ अनुसार पार्टीले बहुमत ल्याउने हो भने अध्यक्ष केपी ओलीको फेसबुक पेजमा दैनिक ५० हजार लाइक गर्नुपर्ने भन्दै रिमालको निर्देशन थियो । प्रधानमन्त्री ओली र उहाँको पार्टीले सामाजिक सञ्जालको महत्व दिने नीति अघि सारेकै बेला १२ घण्टामै ६३ हजार युवाले साथ छाड्नुलाई धक्काकै रुपमा लिन सकिन्छ ।