बक्यौता उठाइछाड्ने अडानमा रहेका कुलमानलाई प्रधानमन्त्रीको निर्देशन-'तत्काल लाइन जोड्नू'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

यसअघि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नतिरेको भन्दै उद्योगहरूको बिजुली प्राधिकरणले काटेको थियो ।

शुक्रबार उद्योगी र प्रबन्ध निर्देशक घिसिङसहित प्राधिकरणका पदाधिकारीलाई छलफलका लागि बोलाएका ओलीले विद्युत काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्न निर्देशन दिएका हुन् ।

यसअघि घिसिङले कुनैपनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम उठाएरै छोड्ने घोषणा अधुरो हुने भएको छ। यता उद्योगीहरुले भने नक्कली बिल नतिर्ने बताउँदै आइरहेका छन् ।

आजका छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तथा मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता थियो ।

मौद्रिक नीति कठोर हुनुहुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको बताए  । उनले भने, ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।’ करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने धारणा राख्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिए । त्यस अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरे । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिँदै उनले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । मौद्रिक नीतिमार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउनसक्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

कोटा प्रणालीविरुद्ध बंगलादेशमा चर्कियो विद्यार्थी प्रर्दशन, कम्तिमा १७ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा केही दिन देखि सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका विद्यार्थीहरुको प्रर्दशन चर्किएको छ भने प्रर्दशनलाई दबाउन खोज्दा हिंसात्मक बनेको छ । सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए। निजामति सेवाका प्रावधान र जागिरको ग्यारेन्टीको माग गर्दै भएको प्रर्दशनमा परि कम्तिमा १७ जनाको मृत्यु भएको सञ्चार माध्यामहरुले जनाएका छन् । सरकारले प्रर्दशनलाई कमजोर पार्न टेलिफोन र इन्टरनेट सेवा बन्द गरिदिएको छ भने हजारौं विद्यार्थीहरु ढुङ्गा र लाठि लिएर प्रर्दशनमा निस्किएका छन्।सरकारको अवरोधकाबीच प्रर्दशनमा आएका विद्यार्थीहरु र प्रहरीबीच झडप हुँदा प्रर्दशनमा अप्रिय घटना घटेको हो। सो क्रममा प्रहरीले गोली चलाउदा ११ जनाको प्रर्दशन स्थलमै मृत्यु भएको बताइएको छ। भने कम्तिमा १७ जनाको प्रर्दशनका क्रममा मुत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । साथै, प्रहरीको गोली लागि एक जना बस चालकको समेत मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।त्यसैगरी, ढाकाको दक्षिणपूर्वमा रहेको सहर नारायणगञ्जमा दुई जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।प्रर्दशनमा प्रहरी दनमन हुँदा हजारौं घाइते भएका छन् । बंगलादेशका सायक सूचना प्रविधि मन्त्री जुनैद अहमद पलकले सामाजिक सञ्जालमा 'विभिन्न अफवाहहरू र अस्थिर अवस्था सिर्जना भएको कारण, सो रोक्न मोबाइल इन्टरनेट' अस्थायी रूपमा बन्द गरिएको बताए। बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ। प्रर्दशनमा संलग्न विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्। राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन्। यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग (बीसीएल) पनि संलग्न देखिएको छ।  

घण्टी बजाउँदै र लौरो ठटाउँदै आए भनेर छेक्न दुई ठुला पार्टी मिले : रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव निर्वतमान गृहमन्त्री रबि लामिछानेले देशमा राम्रो गर्न भन्दा पनि राम्रो गर्नेहरु आउँछन् कि भन्ने डरले देशका दुई ठुला पार्टी एक ठाउँमा आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज मौद्रिक नीति लक्षित नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । देशमा सुधारका काम गर्न धेरै रहेको बताउँदै उनले राम्रो गर्नेहरु आए भनेर छेक्न र घेराबन्दी गर्न लागिएको बताए । रास्वपाले नेतृत्व गरेका मन्त्रालयले गरेका राम्रा काम उल्टाउन थालिएको उनले बताए ।उनले देश कसरी र कस्ले चलाएको सिक्नका लागि आफुहरु सरकारमा सहभागी भएको बताए । ‘पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा खेरी गल्ती खानेबाहेक केही काम भएको रहेनछ । हामीलाई त केही सिक्नु थियो, केही गर्नु थियो, हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने जान्नका लागि सिंहदरबार कसरी चल्छै छ भन्नै हेर्नैपर्छ । त्यही हेर्न जति गाली खाएर भएपनि जसरी पनि सरकारमा जानु नै थियो ।’, लामिछानेले भने, ‘पहिलो पटक पर्याप्त थिएन । ३४ दिन म मन्त्री भएँ अरु साथीहरु २२/२४ दिन मन्त्री बन्नुभयो । अहिले जुन ४ महिनाको अवधि हामीले सरकारमा बस्यौँ । यो अवधिले अब चाहीँ हामीलाई धेरैकुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको सपथ खाएका छौँ । सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने राम्रो हिन्ट हामीले पाएका छौँ ।' त्यस्तै उनले आफूहरुले ४ महिना सरकार चलाएर देशलाई केही घाटा नलगाएको बरु ४ जना भष्ट्रहरुलाई रोक्यौँ कि भन्ने लागेको बताएका छन् । ‘हामीले यो समय लिएर अनुभव लिँदा राज्य घाटा लगाएका छैनौँ है ।’, उनले थपेका छन्, ‘...बरु ४ वटा मन्त्रालय लिएर ४ वटा भ्रष्टहरुलाई रोक्यौँ कि भन्ने लागेको छ हामीलाई ।’

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ।  जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ। बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ।  यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ। बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ।

अण्डामा बिचौलियाको जगजगी,अकाशियो मूल्य

काठमाडौं।अन्डाको व्यापारमा विचौलियाको जगजगी चलेका कारण मुल्य अकाशिएको छ। एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका छन् ।  यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ। अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन्। यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन।  केही महिनाअघि अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा निकालेको थियो। फार्म मूल्य ठुलो प्रतिगोटा १६ रुपियाँ ३३ पैसा र मध्यम अन्डाको मूल्य १६ कायम गरेको छ । यो मूल्य लागत मूल्यको नजिक हो तर फाइदा नभएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए। दिनदिनै व्यवसाय घाटामा गएपछि किसान विस्थापित हुँदै गएको उनले बताए।  करिब ७५ प्रतिशत किसान यो व्यवसायबाट विस्थापित भएका छन् । कोही ऋण लिएर व्यवसाय चलाइरहनुभएको छ भने कोही लिएको ऋण तिर्न नसक्दा अन्डा उत्पादन गर्ने व्यवसायबाट नै विस्थापित भएको उनले बताए। अन्डा उत्पादन सङ्घका महासचिव प्रवीण केसीले किसानले लागत मूल्य उठाउन पाएको छ, अझै थोरै मूल्य बढ्यो भने फाइदामा जान सकिने बताए। किसानभन्दा पनि उपभोक्ता निकै मारमा परेको उनले बताए ।उनले भने, “किसानले एउटा अन्डाको लगभग १७ रुपियाँ पाउँछन् तर त्यही अन्डा उपभोक्ताले २० रुपियाँदेखि २२ रुपियाँसम्म तिर्नुपरेको छ बिचौलियाले बिचमा एउटा अन्डामा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म खान्छन् ।” उनले अन्डाको मूल्यका कारण उपभोक्ता मारमा परेको बताए । नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या घटरे दुई हजारमा पुगेको उनले बताए। पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले किसानले उचित मूल्य नपाएका कारण विस्थापित भइरहेको बताए। दानाको कच्चा पदार्थ र औषधीको मूल्यवृद्धि भएको छ, कामदारको ज्याला पनि बढेको छ त्यसले गर्दा लागत खर्च नै धेरै भएको उनले बताए । नेपालमा अहिले अन्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान तथा फार्मको सङ्ख्या १५ रहेका छन् । हाल ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अन्डा दैनिक उत्पादन हुँदै आएको उनले बताए। गोरखापत्रबाट ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौँ ।निर्वाचनमा होमिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ। बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भएको थियो । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए।  गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा  खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यही समयमा यो रोग आएको हो ।  राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ ।  त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ । 

सिमलताल दुर्घटना : १९ वटा शव प्राप्त, ४३ जना अझै बेपत्ता

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव प्राप्त भएको छ । जसमध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन ।अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ। यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ। गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस यात्रुसहित पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए भने अझै ४३ जनाको अवस्था अज्ञात छ।बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले पौडिएर ज्यान जोगाएका थिए।नदीमा बेपत्ता बस र यात्रुको खोजीकार्य भइरहेको छ ।

प्रधानमन्त्री भन्दा उपप्रधानमन्त्री सिंह एक कदम अगाडि, देशको शान्ति सुरक्षाबारे लिए जानकारी

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री केपी शर्मा ओली भन्दा एक कदम अगाडि देखिएका छन् ।प्रकाशमान सिंहले आज सिंहदरबारमा राज्यका तीन वटा सुरक्षा अंगसँग छलफल गरेका छन् ।  देशमा केही बाढिपहिरो र दुर्घटनाका कारण भएको जनधनको क्षतिबारे जानकारी समेत लिन नभ्याइ बधाई तथा शुभकामनामा प्रधानमन्त्री ओली व्यस्त भैरहेका बेला सत्ता साझेदार पहिलो दल नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर ओली नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका सिंहले प्रधानमन्त्री ओली भन्दा एक कदम अगाडि बढेर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।  उनले आज सिंहदरबारमा भएको छलफल पश्चात भनेका छन्-' सिंहदरबारस्थित मन्त्रालयलमा तिनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक  र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसंग भेटघाट गरी देशको पछिल्लो शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिएको छु।' प्रकाशमानले सत्ता साझेदार प्रमुख दलको सरकारको नेतृत्व कर्ताका हिसाबले बैठक बोलाएको बताएका भएपनि सहरी विकास मन्त्रालयको जिम्मेवारी समालेका प्रकाशमानले आफुसँग असम्बन्धित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठक बोलाएर छलफल गरी प्रधानमन्त्रीलाई चुनौती दिएको भन्दै नेकपा (एमाले) वृतबाट भने उनको आलोचना भएको छ ।

अड्किएका सबै यात्रुको सकुशल उद्धार, दुई घण्टापछि चन्द्रागिरि केवलकार सुचारू

काठमाडौं । विद्युत् अवरूद्ध भएपछि रोकिएको चन्द्रागिरि केवलकार करिब दुई घण्टापछि सञ्चालनमा आएको छ।विद्युत् अवरुद्ध हुँदा केवलकारका ८ वटा डब्बामा करिब ७५ जना यात्रु दिउँसो साढे १ बजेदेखि अड्किएका थिए। महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकालाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएपनि जेनेरेटर नचलेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको हो । प्रहरीको सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झारेपछि ८ वटा डब्बामा अड्किएका यात्रु सकुशल तल्लो स्टेशन झरेका छन्।८ वटा डब्बामा अड्किएका सबै यात्रुलाई बुधबार दिउँसो पौने ४ बजे सकुशल झारियो भने विद्युत प्रवाह भएपछि  केवलकार सञ्चालनमा आएको छ।

चितवनको भरतपुरमा रेलमार्ग सर्भे टोलीको गाडी स्थानीयले जलाइदिए

  चितवन । चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी स्‍थानीयबासीले जलाइदिएका छन्।बुधबार दिउँसो भरतपुर महानगरपालिका-७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि जलाइदिएका हुन्। गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले गुगल म्याप सर्भे गर्न आएको टोलीलाई आफूहरूले रोक्न खोजेको बताए।सचिव नेपालका अनुसार टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो। बुधबार  वडा नं.७ मा सर्भे गर्दागर्दै भेला भएका करिब २ सय स्थानीयले प्राविधिकहरूलाई नियन्त्रणमा लिएका थिए। पूर्वपश्चिम रेलमार्ग भरतपुरका घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको स्थानीयको आरोप छ। त्यसपछि उनीहरू चरणबद्ध आन्दोलमा छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने बताउँदै उनीहरूले अहिलेको सर्भे नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिका-४, ७ र ८ हुँदै नवलपरासीतर्फ लाने योजना छ।  यसअघि भरतपुर महानगरपालिकाको पहलमा संघर्ष समिति र रेल विभाग तथा सरकारी निकायबीच छलफल भएको थियो। छलफलमा रेलमार्गको सर्भे रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो। तर, पुरानै क्षेत्रमा सर्भे थालिएपछि स्थानीय आक्रोशित छन्।

चन्द्रागिरी केवलकारमा विद्युत अवरुद्धपछि अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै

काठमाडौं । विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् ।विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ। महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ ।  

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते)विश्वासको मत लिने भएका हुन्।  त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्ने र त्यसपछि उनले विश्वासको मत लिने बताइएको छ । प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः थालियो

काठमाडौं । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेपछि काठमाडौं नगरपालिकाले आज बिहानैदेखि फुटपाथ विस्तार गर्ने योजनाअन्तर्गत पुनः काम थालेको छ । यसैक्रममा महानगरपालिको उक्त क्षेत्रमा राखिएको बारको छेउको सडक भत्काएर फुटपाथ बिस्तारको काम अघि बढाएको हो । काठमाडौं महानगरले फुटपाथ बिस्तार गर्न लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओली मेयर बालेन शाहबीच सामाजिक सञ्जाल र मिडियामा वार नै परेको थियो । एमाले नेतृत्वको मन्त्रालय अन्तरगत रेहेको भौतिक पूर्वाधार मन्त्रालयले बालेनको योजनालाई निषेध गरेको थियो । महानगरपालिकाले फुटपाथ बिस्तारका लागि शुक्रपथमा सडक काट्न थालेपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले हस्तक्षेप गरी काटेको सडक तत्काल पिच गरेपछि महानगरको उक्त कार्ययोजना अलपत्र परेको थियो । उच्च अदालत पाटनको आदेशपछि सडक डिभिजन कार्यालय पछि हटेको छ । सधै भिडभाड हुने यस क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न असहज भएपछि महानगरले फुटपाथ बिस्तारको योजना ल्याएको हो । यसअघि काठमाडौं महानगरले न्युरोडको विशाल बजार क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने नियम लागु गरेको थियो ।

युवा-विद्यार्थीले खुमलटार पुगेर प्रचण्डलाई भने-“सुशासनको नायक हो तपाईं, तपाईप्रति गर्व छ"

काठमाडौं । नेकपा(माओवादी केन्द्र)निकट युवा विद्यार्थीले माओवादी केन्द्रका अध्यक्ष एंव निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट तथा अन्तरक्रिया गरेका छन् । बुधबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर युवा विद्यार्थीको एउटा टोलीले समसामयीक विषयमा छलफल गरेको हो। अध्यक्ष प्रचण्डसँगको भेटमा युवा विद्यार्थीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध सुशासनको लडाई लडेकाे बताए। उनीहरुले सरकारले र नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डले खेलेको भुमिका गर्व गर्न लायक भएको भन्दै प्रशंसा गरेका थिए। “अध्यक्ष प्रचण्ड तपाई नेतृत्वको सरकार जनपक्षिय काम गर्दा गर्दै राम्रो गरेकै कारण ढलेको छ।तपाँई भ्रष्टाचारविरुद्ध सुशासनको लडाइ लडेर आउनुभएको छ।सुशासनको नायक हो तपाईं, तपाईप्रति गर्व छ" अध्यक्ष प्रचण्डसँग युवा विद्यार्थीले भने । भेटका क्रममा अध्यक्ष प्रचण्डले सरकारको १८ महिना नेतृत्व गरेर प्रमुख प्रतिपक्षको रुपमा बाहिर आउँदा आफुले राम्रो बाहेक नराम्रो नगरेको बताए। अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गरेर कुनै दाग नलगाईकन बाहिर निस्केको बताउँदै पार्टीलाई जनता समक्ष लैजाने आधार बनेको बताए। सुशासनको लडाईबाट डराएर देशका दुई ठुला दल एक भई सरकार बनाउँनू लोकतन्त्र, सुशासन,संविधान र देशको निम्ति सकारात्क संकेत नभएको उनले बताए ।  सो क्रममा अध्यक्ष प्रचण्डले आफ्नो भरोसा युवा विद्यार्थीमा रहेको बताउदै देश र पार्टीको नेतृत्व दुवैमा आफुले युवा पुस्तालाई अगाडि बढाउन चाहेको बताए । साथै, आफुले युवा पुस्तामा भरोसा गरेको समेत उनले बताए। भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री हितबहादुर तामाङ लगायत नेताहरु सहभागी थिए ।