लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थाको भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र दिवस २०८० मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले सबैलाई आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउादै सबैमा शुभकामना व्यक्त गरे । यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको उनले सम्बोधनका क्रममा बताउनुभयो । 

सन् २०३० सम्ममा कम विकसित मुलुकको सूचिबाट विकसित राष्ट्रमा सूचिमा परिणत गर्नुपर्ने जरुरी भएको र रोजगारी सृजना गरी बौद्धिक पलायन रोक्नु पर्ने दायित्व सरकारको रहेको उनले बताए । त्यसैले नागरिकको सक्रिय सहभागीबाट मात्र समुन्नत र सार्वभौम मुलुक बनाउन सकिने भएकाले सबैले प्रजातन्त्र र लोकतन्त्रको रक्षामा उभिन आग्रह समेत गरे । 

भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, गजेन्द्रकुमार ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्याट बाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ ।  आयोगले मेलम्ची खानेपानी  विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन्  । सचिवहरु क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी लिएको छ । यसैगरी परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर भएको अख्तियारले जनाएको छ ।

‘कर्णालीमा लगानीको लगन कहिले आउँछ?’

अहिले प्राप्त भएको पहुँचलाई संस्थागत विकास गर्दै अब कर्णालीमा आवश्यकताका आधारमा कर्णालीका साधन र स्रोतको सहि ढंगले प्रयोग गर्न अझै आवश्यक रहेको उनले बताए। यसका लागि सरकारका तर्फबाट गर्ने प्रयासहरू अघि बढाएको उनको भनाई थियो।

सुशासन मेरो 'संकल्प' हो 'नारा' होइन : प्रधानमन्त्री प्रचण्ड

'कुर्सी हल्लिने डर हुन्थ्यो भने छानवीन नै शुरु हुने थिएन'

चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गुरुयोजना संशोधन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, “चुरे क्षेत्रको जैविक विविधता, प्राकृतिक स्रोत, पानी र स्थानीय वासिन्दाको समग्र संरक्षण र दिगो उपयोगमा सरकार प्रतिवद्ध छ ।” चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका कामहरु सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत चुरे र मधेस संरक्षणका अरु पनि कार्यक्रमहरू वार्षिक रुपमा सञ्चालन भईरहेको बताए । “अर्थतन्त्रका प्रायः सूचकहरु सकारात्मक छन् तर केही क्षेत्रमा अझै चाप रहेको छ । अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ । ” प्रधानमन्त्री प्रचण्डले भने, “कृषि, पशुपछींपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामुहिक उद्यमशिलतामार्फत उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम ७५३ वटै पालिकाहरुमा कार्यान्वयन गर्ने गरी अघि बढाइदै छ। स्वदेश फर्किएर आफ्नै भुमिमा रोजगारी÷ स्वरोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागि हुन विदेशबाटै आवदेन दिन सक्ने गरी नयाँ व्यवस्था गरिदैँछ ।”

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

काठमाडौं, ६ फागुन । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दुई पार्टीले मन्त्री ज्वालाको राजिनामा मागेका हुन् । यो विषयमा जाँचबुझ आयोगले ज्वालालाई प्रमुख जिम्मेवार ठहर गरिसकेकाले उनले पदमा बसिरहन नमिल्ने ती दलको दावी छ ।  बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगले मुख्य दोषी भनेर किटान भएको २८–३० घण्टा बित्दा पनि ज्वाला मन्त्रीमै बहाल रहिरहेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले ज्वालालाई बर्खास्त गरेको सूचना अहिलेसम्म नदिएको भन्दै दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुनेमा जोड दिए । उनले प्रश्न गरे– ‘सिपाइलाई डण्डा, मन्त्रीलाई झण्डा यो कुन खालको सुशासन हो ?’ सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट नहटाइए एमाले चुप लागेर नबस्ने उनले चेतावनी समेत दिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ज्वालालाई जोगाउने कि कारबाही गर्ने भन्नेमा प्रधानमन्त्रीको आजकै बैठकमा परीक्षा हुने बताए । उनले भने–  ‘आज प्रधानमन्त्रीको जाँच हुनेछ’ ।  उनले जाँचबुझ आयोगले दोपी ठहर गराउँदा पनि अन्य कार्यक्रममा जाने नैतिकता विभागीय मन्त्रीलाई कसरी हुन्छ भन्दै प्रश्न गरे । उनले आफ्ना मान्छे बचाउन सरकारले फाइल खोज्ने नाटक गर्दै आएको पनि आरोप लगाए ।  शुक्रबार बालकुमारी घटनाको छानबिन गर्न गठन भएको आयोगले ज्वालालाई दोषी देखाउँदै प्रतिवेदन बुझाए पछि उनीमाथि राजीनामा दिन दवाव बढेको छ ।

समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं, ६ फागुन । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए । नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले सम्हालेका थिए । उनले भने, ‘मोर्चाको संयोजक चार–चार महिनामा रोटेसन गर्ने, आलोपालो गर्ने कार्यविधि बनेको अवस्थामा अहिलेसम्म दुई टर्म कमरेड माधव कुमार नेपालले नेतृत्व गर्नुभयो । अबको टर्म चाहिँ नेकपाको महासचिव कमरेड विप्लवले नेतृत्व गर्ने भन्ने कुरा भएको छ । आज संयोजक परिवर्तन गर्ने निर्णय भएको छ ।’

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न रोस्टम तर्फ अगाडि बढ्दै प्रधानमन्त्री प्रचण्ड

कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए ।  विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।" ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भने। सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे ।  पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकतावद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे ।

६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु

काठमाडौं, ४ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताकी छिन् ।  हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐतिहासिक व्यक्तिहरुको योगदानकै कारण आजको राजनीतिक परिवर्तन संभव भएकाले उनीहरुको सम्मान आवश्यक रहेको बताइन्।  सरकारले यो वर्ष सहिदहरु कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । हुलाक टिकटमा मुखाकृत ऐतिहासिक व्यक्तित्वहरुको योगानको चर्चा गर्दै मन्त्री शर्माले आजको पुस्तालाई अग्रजहरुले गरेको त्याग बलिदान र वीरताका गाथा अनुभूत गराउनुपर्ने बताइन्।  कम्युनिष्ट आन्दोलनको विजारोण गर्दै दुर्गम क्षेत्रमा पुगेको बेला विसं २०१० सालमा जुम्लामा गिरफ्तार गरी हत्या गरिएका कामी बुढालाई २०७४ सालमा मात्रै राज्यले सहिद घोषणा गरेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले देश र जनताका लागि योगदान गर्नेहरुको इतिहासले कुनै न बेला सम्झन्छ भन्ने यो महत्वपूर्ण दृष्टान्त भएको बताइन् ।  ‘आज हामीले गरेको संघर्षको परिणाम आजै चाहिन्छ भन्छौं तर देश र जनताका लागि राम्रो काम गर्नेहरुको सम्झना दशकौं पछि पनि इतिहासले गर्ने गर्दछ’– उनले भने– ‘हामी जो जुन क्षेत्रमा छौं, इमान्दारितापूर्वक देश र जनताका लागि योगदान गर्नुपर्छ भन्ने आदर्श र निष्ठा अग्रज पुस्ताबाट सिक्नुपर्छ ।’ आजको परिवर्तन हजारौंको रगत, पसिना र आँसुको योगफल भएको उल्लेख गर्दै उनले कतिपयले नयाँ पुस्तामा आजको परिवर्तन केही पनि होइन वा यो आफै प्राप्त भएजस्तो गरी सन्देश प्रवाह गर्ने गरेकाले पनि नयाँ पुस्तालाई अग्रजहरुको योगदानको कथा सही रुपमा सुनाउनु र बुझाउनु आवश्यक रहेको बताइन् ।  मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।   हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोलेका थिए ।  ६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु यसैबीच सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो । विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि भने विभिन्न देशमा छाप्ने गरिएको थियो । यो वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको छ । यसबाट सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको वचत हुन जाने सरकारको विश्वास छ ।

पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका नीति निर्माताहरूबीच वार्ता आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउँदै पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका सांसदहरू र नीति निर्माताहरूबीच वार्ता गर्नुपर्ने आवश्यकता औल्याएका छन् । जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए ।  विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा गम्भीर अवसर पार्ने उल्लेख गर्दै उहाँले अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको स्पष्ट पारे।  “हाम्रा जनता पहिरो, बाढी, जङ्गलको डढेलो, हीम पहिरोको प्रकोप, खडेरी आदिजस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,” उनले भने, “जोखिममा परेका त्यस्ता मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यस विषयमा संसारको ध्यान जानुपर्छ ।”  जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने योजनाहरू कार्यान्वयन गर्ने प्रयासमा गम्भीर वित्तीय र प्राविधिक खाडलहरू देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पारिस्थितिकी प्रणाली र जलवायु परिवर्तनसँग जनतालाई लचिलो बनाउन एवं स्थानीयस्तरमा जलवायु अनुकूलन गर्नेगरी योजनाएर कार्यान्वयन गर्नका लागि थप स्रोतहरू जुटाउनुपर्ने आवश्यकता रहेको बताए।  जलवायु न्यायको पक्षमा वकालत गर्न र पारिस्थितिकी प्रणाली, मानिस र पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका सांसदहरू र नीति निर्माताहरूबीच वार्ता गर्नुपर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सहज तवरले हानी र नोक्सानी कोष कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।  अध्यक्ष प्रचण्डले भने, “एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन चाहन्छु ।”  अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूलाई सहयोग गर्न आग्रहसमेत गरे।  स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत वनले ढाकेको जमिनलाई कायम राख्न नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध छ । हामी सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौँ ।”

६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने

काठमाडौं । ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए । कार्कीका अनुसार जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सम्पन्न

अधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि विभिन्न २० समूहहरुबाट सुझाव लिइएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरे।

माओवादीको विधान अधिवेशन: आज समूहगत धारणा प्रस्तुत गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेको अधिवेशनमा आज २० वटा समुहले आआफ्नो धारणा प्रस्तुत गर्ने छन् । महासचिव देव गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतिकरण हुन लागेको जानकारी दिए । अध्यक्ष प्रचण्डले आज दिउँसो १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसीमा तोकेका छन् । भोलिसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरे । सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं, समीक्षा गरौं । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।” सामाजिक न्याय र सुशान कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे । जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताए। सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भब्यरुपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए । “नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णयक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन ।” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँ दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।” संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धीको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।

२९ वटा मैनबत्ती बालेर माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो । २०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।