परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार चीन भ्रमणमा जाने भएकी छन् ।

कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन लम्साल सोमबार चीन जान लागेकी हुन् ।

परराष्ट्र सचिवले फोरमलाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ । फोरममा सहभागीहरूसँग सचिव लम्सालले उच्चस्तरीय साइडलाइन वार्ता गर्ने परराष्ट्र स्रोतले जानकारी दियो ।

लम्साल शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राजेन्द्र लिङ्देनको व्यंग्यः 'यो देशमा कांग्रेस-एमाले मात्रै भए देश कस्तो होला ?'

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र एमाले मिलेर मात्रै देश र जनताको आवश्यकता सम्बोधन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै लिङ्देनले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस र एमालेले राज्यका विभिन्न तहमा भएको समाजवेसी सहभागीको अधिकार खोस्न नसक्ने समेत बताए। नेपाली जनताले नेपाली कांग्रेस र एमाले मिलेर चलाएको देश देखेको बताउँदै व्यग्य कस्दै प्रश्न गरे -'यो देशमा कॉंग्रेस(एमाले मात्रै भए देश कस्तो होला ?' लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताए ।  ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै प्रश्न समेत गरे । ‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्‍यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ? तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने ।   

ओलीसँग वर्षमान पुनको प्रश्न- 'यो देश नेताले चलाउने कि बिचौलियाले ?'

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सांसद वर्षमान पुनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने शंका व्यक्त गरेका छन् । सरकार निर्माण गर्नुअघि गठबन्धन बनाउने बेलामा नै यसको पक्षमा सक्रिय भएका मानिसहरूको क्रियाकलापले देश कसले चलाउँदैछ भन्ने प्रश्न उठ्ने अवस्था देखिएको बताए ।  प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताएका हुन्। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो।आफूभन्दा अघि अर्थमन्त्री भएका काँग्रस नेता डा.प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।  ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो।मैले पनि सकिन। अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ।म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’, उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाइदिनुस । पार्टीहरुले देश चलाइदिनुस् । बिचौलियाहरुले होइन ।’  पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले  सुशासन र भष्टाचारका मुद्धामा छानबिन र कारबाही अगाडि बढाएपछि काँग्रेस–एमाले मिलेको टिप्पणी गरे ।  उनले गिरिबन्धु ‘टी स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए । प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा काँग्रेसलाई पनि प्रश्न उठाइने जनाए। ‘ कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्न गर्दा। त्यसै गरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली काँग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौं भन्नुभएको छ। त्यसमा निश्चिय पनि नेपाली काँग्रसलाई पनि प्रश्न हुन्छ’, उनले भने, ‘हिजो यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्दधु टी स्टेश गिरीबन्धु टी स्टेट भन्नुभएको थियो।  यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन्।’ उनले दमकमा भ्यू टावर निर्माण गरी उर्जा(उत्पादनमा लगानी गरेको हो वा रोजगारी सिर्जनाको क्षेत्रमा लगानी गरेको भन्दै प्रश्न गरेका छन्। ‘विकासको मोडल कस्तो छ सम्माननीय प्रधानमन्त्री ज्यूको एक पटक फर्केर हेर्नुस् साढे तीन वर्षमा। दमकको भ्यू टावर कति अर्बको हो, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर सुरू गरेपछि देशैभरिका ७५३ पालिकाहरूले गाउँगाउँमा भ्यूटावर बनाउन सुरू भएको होइन?,’ उनले प्रश्न गरे, ‘नेतृत्वले उर्जा उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्नेमा लगानी गरेको हो?’ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्दै विदेशबाट लिइएको ऋणलाई त्यसमा प्रयोग गरेको पनि आरोप लगाए। त्यस्तै प्रकृतिको काम गर्न नहुने पनि उनले बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा ऋण लिएर लगाएको अभ्यास छ।  जसमा जंगलको झारहरू उखेल्दै, क्याप लगाउने, केही ड्रेस लगाएर हिँड्ने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर केही कार्यकर्तालाई रोजगारी दिने अनि विदेशी ऋणलाई खर्च गर्ने ढंगले हुँदैन,’ उनले भने।

हामीले अनुसन्धान गर्दै गरेका व्यक्तिहरूलाई मन्त्री पुरस्कृत गरियो : रवि लामिछाने

काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गीत गाएपछि आफूहरुलाई झस्काएको बताएका छन् । उनले विश्वासको मत दिन मन भए पनि प्रधानमन्त्रीको सुरुवातकै संकेतले झस्क्याएको बताए । उनले नेपाली कांग्रेसका नेता विनोद चौधरीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । साथै, उनले अहिले प्रधानमन्त्रीले मन्त्रीहरु छनोट गर्दा आफुहरुले अनुसन्धानको दायरामा ल्याका व्यक्तिहरुलाई जोगाउँदै मन्त्री उपहार दिएर पुरस्कृत गरिएको उनले बताए ।   

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

बुटवल। लुम्बिनी प्रदेशका  मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले वाचन गरे काँग्रेस-एमालेबीचको सहमति, यस्ता छन् ७ बुँदा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँग भएको सात बुँदे सहमति वाचन गरेर सार्वजनिक गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेससँग भएको सहमतिबारे जानकारी गराएका हुन्। राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताए। प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावना अनुरूप प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषय समेटिएको बताए ।उनले सबै कुरा बाहिर आइरहेकाले लुकाउनुपर्ने कुरा केही नभएको बताए।यद्यपी उनीहरुले हस्ताक्षर गरेको सहमति पत्र भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यस्ता छन् सहमतिका बुँदा १.आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ ९२० अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।  २.राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।  ३.अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने। आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।  ४.राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने।  ५.राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीब्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।  ६.राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागीता रहने र अन्य दललाई समेत सरकारमा समावेश गर्ने।  ७.राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीब्रता दिने।

उपसभामुख रानाको चरित्र हत्या गरेर मिडिया ट्रायल गर्न खोजियो : संसदमा सुमना

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई काँग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर प्याड प्रयोग गरेर असम्बन्धित मानिसहरूलाई अमेरिका लैजान पत्र लेखेको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए । सांसद खतिवडा पछि बोलेकी रास्वपा सांसद श्रेष्ठले उपसभामुख राना माथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै सबै सांसदको लेटर प्याडबाट के(के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् । ‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो। ल डिक्लियर गरौँ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ?’, श्रेष्ठले भनिन्, ‘एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’ उनले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन्। साथै उनले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सबैलाई विधि पद्धति बनाउन आग्रह गरिन्।

संवैधानिक परिषद्लाई हेरेर उपसभामुखको चरित्र हत्या गरिएको हो भने सशक्त प्रतिवाद गर्छौँ  : माधव सापकोटा

काठमाडौँ । माओवादी केन्द्र सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद  गर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले राजनीतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिएका छन् ।  उनले भने– ‘उपसभामुखको एक वर्ष अगाडिको कुरा, राजनीतिक र नैतिक प्रश्न हो यो । यसलाई स्वीकार गर्नुपर्छ । संवैधानिक परिषदमा तपाईंहरु अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाई लाइट गरिएको छ, साँच्चै यदि त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारका प्रति, मान्छेको चरित्र हत्या गर्नेका प्रति यो संसद्ले पनि न्याय गर्नुपर्दछ । राजनीतिक र नैतिक प्रश्नमाथि छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरुलाई रातारात के निर्णय गर्नुपरेको छ, त्यो उद्देश्यद्वारा प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले यसलाई सशक्त ढङ्गले प्रतिवाद गर्छौं । यो कुरा सबैलाई हेक्का होस् ।’  यस्तै सत्तापक्षका वरिष्ठ नेताले भारतमा गएर अर्को चुनावमा माओवादीलाई नबोक्ने बताएको उल्लेख भ्रष्ट्राचारले डुङ्डुङुती गन्हाएकाहरूले बोक्न आवश्यक नभएको बताए ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची  छ । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । यसैगरी, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।  

संसद् बैठक सुरु हुन अघि सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेट

काठमाडौँ । संसद् बैठक सुरु हुनु अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।  दुई नेताबिच आइतबार सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुअघि  नेताहरू प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् ।  माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ‘ह्विप’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ‘ह्विप’ जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए। उनले भने, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ।”

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप

काठमाडौँ । प्रधानमन्त्रीलाई विश्वासको मत नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको हो ।  नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले प्रतिनिधिसभामा आज विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको सो प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको जानकारी दिएका हुन् । 

विद्यार्थीहरूसँग प्रचण्डले भने- 'भ्रष्टाचारविरुद्धको लडाइँ जित्छौं'

काठमाडौं । सरकारबाट बाहिरिएसँगै दिनहुँ जसो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न युवा विद्यार्थी पुग्ने गरेका छन्।भेटमा उनीहरूले पार्टी नेतृत्वले राम्रो काम गर्दा गर्दै जनतामा आशा र भरोसा जगाउँदा जगाउँदै सरकार छोड्न परेको नेतृत्वप्रति उच्च सम्मान रहेको बताउने गरेका छन्। सरकारबाट बाहिरिए पनि पार्टी नेतृत्व र  माओवादी केन्द्र विजय जस्तो बनेको बताउँदै उनीहरुले यो उत्साहलाई संगठन निर्माणमा प्रयोग गर्ने अध्यक्ष प्रचण्डसमक्ष प्रतिबद्धता जनाएका छन्। शनिवार (आज) माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्षहरू क्षितिज साप्कोटा, मदन भूल, अमर जंग शाही लगायतका विद्यार्थी नेताहरुले अध्यक्ष प्रचण्डसँग भेट गरी सरकारको नेतृत्वका रुपमा गरेका राम्रा कामले आफुहरुलाई नेतृत्वप्रति गर्व रहेको बताए ।उनीहरूले प्रधानमन्त्रीका रुपमा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले १८ महिनाको कार्यकालमा गरेका कामलाई जनता र विद्यार्थीमाझ लिएर जाने समेत बताए। विद्यार्थीहरूसँगको छलफलका क्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीहरूसँग आफु आशावादी रहेको बताए। उनले माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि विजयी मुडमा रहेको बताउँदै हरेक युद्धका मोर्चामा माओवादी सफल बनेको बताए । आफु नेतृत्वको सरकार शान्ति समृद्धि र सुशासन नचाहने हरूले ढालेको बताउँदै उनले अब सुशासन र समृद्धिको निम्ति भ्रष्टहरूसँगको लडाइँ जित्ने गरी लड्ने बताए । अध्यक्ष प्रचण्डले भने- 'राजनीति हामीले जितेका छौं । अब हामी पार्टीको बैठक बसेर एउटा नयाँ अभियान चलाउँछौं । युवाविद्यार्थीको जो साथ र समर्थन पार्टी लिडसिप प्रति दिनुभएको छ।यसले भ्रष्टहरुविरुद्ध हामीले लड्ने लडाइ जित्ने छौं। हामी बिजेता थियौं, विजेता रहनेछौं र विजेता हुनेछौं ।' उनले अहिलेको परिस्थिति माओवादी केन्द्रको निम्ति नयाँ अवसर र चुनौति भएको बताउँदै पार्टी लिने निर्णयमा युवा विद्यार्थी र आम जनताको साथ रहने विश्वास व्यक्त गरे।

काँग्रेस-एमालेबीचको सहमति कार्यान्वयनमा अविश्वास छ : महामन्त्री थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसएमालेबीच भएको सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्। विगतमा दलहरुबीच सहमति हुने तर कार्यान्वयन नहुने अवस्था रहेको उल्लेख गर्दै उनले अहिले पनि हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा सहमति कार्यान्वयनको विषयमा अविश्वास रहेको बताएका हुन्। ४२ औँ बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहमतिको एउटा बुँदामा स्थिरता दिने भनिए पनि ढुक्क हुने अवस्था चाहिँ नरहेको बताए। नेपालमा सरकारहरू धेरै बदलिएको प्रसङ्ग उल्लेख गर्दै उनले एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार र अर्को चरणमा काँग्रेस सभापतिको नेतृत्वमा सरकार बनाउने सहमति भएपनि त्यसअनुरूप सरकार बन्छ कि बन्दैनन् भन्ने विषयमा सबैको मनमा आशंका रहेको बताए। उनले भने, ‘मनमा सबैको आशंका छ, यहाँ भाषण एउटा कुरा भनेपनि बाहिर निस्केपछि भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै हुन्छ त भन्ने सबैको मनमा छ। सदनमा ताली ठोक्नेको मनमा पनि त्यही छ। किनकि एकले अर्कालाई यति पटक ढाँटिसकेको छ। उसले उसलाई छक्क्याएको छ, अहिले हस्ताक्षर गर्नेहरूको पनि सदनमा बसेर हेर्दा ढाटेको १५र१६ पटक पुग्ने रहेछ। त्यहाँ कसले कसलाई ढाटेको भनेरै झुक्किने रहेछ। यो स्थितिमा हामी मिलेको छौं। यो तहको अविश्वास छ, हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा अविश्वास छ।’ महामन्त्री थापाले एमालेसँग भएको समझदारी काँग्रेसको कारणले तलमाथि नहुने पनि प्रष्ट पारे। काँग्रेसले विगत देखि त्यस कुराको पुष्टि गर्दै आएको उनको भनाई थियो। ‘अहिले एमालेसँग भएको लिखित समझदारी हाम्रो कारणले कहीँ पनि तलमाथि हुँदैन,’ उनले भने, ‘दुई वर्ष ओली नेतृत्वको सरकार चलाउने भनिएको छ, हाम्रो चकचकले कहीँ तलमाथि हुँदैन। यो कुरा हामीले प्रमाणित गर्दै आइरहेका छौं।’ सहमतिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको महामन्त्री थापाको टिप्पणी छ। उनले काँग्रेसएमालेबीच भएको सहमतिका बुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग पनि गरे। उनले भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले उक्त सहमति संसदमा पढेर सुनाउनुपर्ने जिकिर गरे। ‘हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा यति बुँदामा नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ,’ उनले भने, ‘नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ। ७ बुँदामा सहमति भयो भनेको छ। ७ बुँदा के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु। किनभने हामीले त पढ्यौं त्यसलाई। पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं। पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तीमा त्यसको एउटा मर्यादा राखौं भनेर हामीले सोच्यौं।’

ओलीमाथि उठेका गिरीबन्धुलगायतका मुद्दामा कांग्रेस मौन बस्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन् । शनिवार काठमाडौंमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिने, तर उनका विगतमा उठेका मुद्दाका विषयमा भने कांग्रेस मौन नबस्ने बताए ।  प्रधानमन्त्री ओली गिरीबन्धु चिया बगानको जग्गा अनियमिततालगायतका मुद्दामा मुछिएका छन् ।  महामन्त्री शर्माले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए । उनले सरकार बनाउन १३८ भए पुग्ने भएपनि संविधान संशोधनका लागि १८४ सांसद संख्या चाहिने भएकाले सबै राजनीतिक दलहरुलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताए ।  उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनले बेला(बेला अलि धङ्धङ्गीमा हुनुपर्छ वा बौद्धिकतामा हुनुपर्छ, वा आवेग, विचारमा हुनुपर्छ। के भनिदिनुहुन्छ भने कम्युनिष्ट आन्दोलनको निर्धारित कार्यभार पूरा भएको छैन । कार्यभार पूरा हुँदै गर्दा अमूर्त प्रकृतिको समाजवादको परिकल्पना बन्ने भन्दा नयाँ प्रकृतिको समाजवादको परिकल्पनामा जानुपर्छ भनेर डा. भट्टराईले भनेको सन्दर्भ यो पुस्तकमा रहेको छ । यो बेलामा नयाँ सरकार बनेको छ। नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बन्छ । बन्नुपर्छ । कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी कांग्रेसका सबैले नै साथ दिन्छौँ । तर उत्तिकै खरो भुमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुने छैन की कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका छौँ, त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिल्कुल होइन । उहाँको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन ।'  महामन्त्री शर्माले प्रतिपक्षी दलहरु संसद्‌मा सरकारका कामकारबाहीप्रति खरो रुपमा उभिनुपर्ने बताए ।