प्रधानमन्त्रीसँगको भेट र द्विपक्षीय वार्तापछि आजै स्वदेश फर्किंदै कतारका अमिर

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ। 

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।आज १०ः३० बजे बिहान दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

कतारी अमिर र प्रधानमन्त्री प्रचण्डनेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।

दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री प्रचण्डले दिवाभोजको आयोजना गर्नेछन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् । अमिर अलथानी आज दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यसअघि हिजो अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए। 

राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले फेरि स्वागत गरेका थिए ।  भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता छ ।  राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पनि स्वागत गरेका थिए ।  राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुगेका हुन् ।   कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यक्रम छ ।

कतारका राजा काठमाडौँमा

काठमाडौं। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।  कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि विमानस्थलमा पुगेका छन् ।  बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको भ्रमण सकेर काठमाडौँ आएका हुन् ।  अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम छ । सोल्टी होटेलमा विभिन्न राजनीतिक भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन् । सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरू पनि सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डसँग बुधवार १०ः३० बजे द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै विभिन्न सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम पनि छ । अमिर शेख बुधबार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कतारका अमिरको स्वागतमा तम्तयार काठमाडौं (तस्बिर)

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार (आज) नेपाल आउँदै छन् ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा हिलोपल्ट कतारका अमिर नेपाल आउन लागेका हुन् ।दुई निजी जहाज लिएर आउन लागेका उनका लागि काठमाडौंका सडकमा स्वागतद्वारा बनाइएका छन्।सडकहरू पखालेर चिटिक्क पारिएको छ। दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी)विमान मंगलागिरहेछ बार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ देखी ५ बजेसम्म एक घन्टाकालागि उड्डयनकर्मीहरूकालागि जारी हुने सूचना (नोटाम)लागू गरेको छ ।

लगानी सम्मेलनमा १४८ वटा आयोजना शोकेसमा राख्न स्वीकृति

काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ । मंगलबार काठमाडौँमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्राविधिक समितिबाट सिफारिस भई आएका उक्त आयोजनाहरूलाई शोकेसमा राख्नका लागि स्वीकृति दिइएको हो।बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेसमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने छ। त्यसमा केही परियोजनाहरू छुटेको भए थप गर्न पनि प्रधानमन्त्री प्रचण्डले बोर्डलाई निर्देशन दिएका छन् । त्यसैगरी, बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानीसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ । ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो। त्यसमा लगानी गर्नुअघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैगरी डाबर नेपाल प्राइभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ । बैठकमा निजी क्षेत्रले लगानी सम्मेलनको तयारीका विषयमा प्रसन्नता व्यक्त गरेको र विभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उपाध्यायले बताए। बैठकमा बोर्डका पदाधिकारीले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरे। “व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।” नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए।  नयाँ परिस्थितीमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए। भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटीरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिती रहेको थियो ।  

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभामुख घिमिरले सन्देशमा लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्ने उल्लेख गरेका छन् । उनले भने, ‘जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो, यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्न जरुरी छ, नेपालको लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा नेपालको संसद्ले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।’ विसं २०६२–६३ को आन्दोलनपछि राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

आज १८औँ लोकतन्त्र दिवस

काठमाडौं । १८औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।वैशाख ११ गते, २०६२/०६३ को जनआन्दोलन सफल भई लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस मनाइन्छ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागअनुसार विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए।तानाशाही व्यवस्था अन्त्य भएर जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । त्यसअघि तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीनजनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन जनयुद्धमा सहभागी नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाउँदै आइएको छ । जुन दिन संसद् पुनःस्थापना भयो यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्न पुग्यो। विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो। यसलाई नेपाली म्याग्नाकार्टा समेत भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएर आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।  संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्थामा देश गएको छ। तीन तहको सरकार बनेका छन्। गाउँगाउँमा अधिकार पुगेका छन्।परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ। 

राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बन्छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताए। उनले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पारे। “सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरुमा कस्तो प्रभाव पर्छ भनेर लगानीकर्ताले चासो राख्ने गर्नुभएको छ । सरकार परिवर्तन हुँदा पनि हाम्रा नीतिहरु परिवर्तन हुँदैनन् र घरेलु समस्याले लगानीकर्तालाई अप्ठ्यारो पार्दैन”, पुनले भने, “पुँजीको विशेषता भनेको लगानीको वातावरण र प्रतिफल प्राप्ति हो । कुनै वाद वा व्यवस्थासँग लगानीकर्ताको मतलब हुँदैन । लगानीकर्ताले वातावरण छ वा छैन भनेर हेर्ने हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ ।” लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने उनको भनाइ छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनले बताए। भारतमा पनि लगानी प्रतिवद्धताको तुलनामा प्राप्ति करिब ३० प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले नेपालको अवस्था यो भन्दा राम्रो रहेको बताए। नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उनको भनाई छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने उनले स्पष्ट पारे। “यो सरकारको मात्र सम्मेलन होइन । राष्ट्रकै सम्मेलन हो । यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । आन्तरिक तथा वैदेशिक लगानीमा हामी सबैको समान धारणा छ भन्ने देखाउन चाहान्छौँ”, अर्थमन्त्री पुनले भने । निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत् कानूनी सुधारको प्रयास गरेको उनले बताए। अहिले संसद नचलेको बेला कानुन संशोधन गर्नुपर्ने अवस्था आएकाले अध्यादेशमार्फत् प्रक्रिया अघि बढेपनि संशोधित कानुनहरु पारित हुनका लागि संसदमा जाने र त्यहाँबाट पारित भएपछि कार्यान्वयनको चरणमा जाने उनले स्पष्ट पारे। नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उनले लगानीकर्तालाई आह्वान गरे। नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी मुलुकका बजारसम्म पु¥याउन समस्या नरहने बताए। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुशील भट्टले लगानी प्रवद्र्धन निरन्तरको प्रयास र प्रक्रिया भएकोले आन्तरिक वातावरण सुधारबाटै यसलाई थप परिस्कृत र नतिजामुखी बनाउनुपर्ने बताए। नेपालमा लगानीका वातावरण छ भन्ने आधार स्पष्ट हुँदै गएको भट्टको भनाइ छ । लगानी सम्मेलनमा सार्वजनिक/निजी साझेदारी (पिपिपी) अवधारणाका परियोजना मात्र नभई अन्य सरकारी र निजीक्षेत्रका परियोजनासमेत सोकेसमा राखिने उनको भनाइ छ । वैशाख १६ र १७ गते दुई दिन चल्ने सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट एक सय ५० हाराहारी आयोजना सोकेसमा लैजाने तयारी सरकारले गरेको छ । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । जसमा ५० जनाको हाराहारीमा वक्ता रहनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने जनाइएको छ ।

कतारका अमिर शेखको नेपाल भ्रमण आज : ९ वटा सम्झौताको तयारी

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।उनलाई अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल लगायतले स्वागत गर्नेछन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ ।  कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उनी दुईदिने बंगलादेशको भ्रमणको सिलसिलामा सोमबार ढाका पुग्नेछन् । कतारका अमिरको बंगलादेश भ्रमणको बेला कतार र बंगलादेशबीच ६ वटा सम्झौतापत्र र ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बंगलादेशका मिडियाले उल्लेख गरेका छन् ।  आज बंगलादेशको ढाकाबाट कतारका अमिर थानी काठमाडौं आउनेछन् । कतारका अमिरको नेपाल भ्रमणका समयमा नेपाल र कतारबीच सुरुमा नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रपति पौडेलले अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने बताइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ। वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् भने कतारबाट सरकारी टोली नेपाल आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ । यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान पनि भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुनेछ । यसैगरी, कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । यस्तै, कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । सम्झौतामा कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी) मार्फत आउने बताइएको छ । नेपालमा अहिलेसम्म यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुनेछ।उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका छ ।  सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने मन्त्रालयले विश्वास गरेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणको अवसरमा सम्झताका लागि विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ ।  यस्तै केही श्रम सम्झौता पनि हुने बताइएको छ ।  कतारका अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेपनि अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।

कतारका राजालाई स्वागत गर्न राष्ट्रपति त्रिभुवन विमानस्थल जाने

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी मंगलबार नेपाल आउने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको छ।राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री लगायत उच्च पदस्थले उनलाई स्वागत गर्नेछन् ।

वैशाख ६ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

काठमाडौं ।सरकारले २०८१ साल वैशाख ६ र १० गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको वैशाख ६ गतेको बैठकले विविध २० वटा निर्णय गरेको छ भने वैशाख १० गते बसेको बैठकले विविध ९ वटा निर्णय गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका ती निर्णयहरुः

दलहरूबीच सहकार्य गरेर जनतालाई विकास र राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलहरुले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा (एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलहरू एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिए।  “हामीले जे–जति राजनीतिक उपलब्धी प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवम् एकताबाटै प्राप्त गरेका छौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “हामीले समझदारी गर्दा ठूला–ठूला उपलब्धी हासिल गरेका छौँ, तर जतिबेला हामी विमति तिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौैँ, नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीति दललाई अपिल गर्दछु ।” विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताए।  “सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसका विरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलका सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्नका लागि पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिए।  सबै राजनीतिक दलले एकअर्का राजनीति दलका योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको भनाई छ ।  “हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमीकमजोरीको पनि समीक्षा गरौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा अझ उन्नत विचारको विकास गर्ने र जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने संकल्प गरौँ ।”

कम्युनिस्ट फुट्नुको कारण समिक्षा हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुको कारण समिक्षा गर्नुपर्ने बताएकी छिन् । नेकपा स्थापनाको ७६ वर्ष पुगेको अवसरमा नेकपा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट पार्टी फुट्नुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवादले भनेर समीक्षा गर्नुपर्ने बताएकी हुन् ।  ‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिनता हुन्छ’, भण्डारीको भनाइ छ ।   साथै, उनले अरू लोकतान्त्रिक वामपन्थी र गैरवामपन्थी पार्टीले लिएका नीति र विचारमा समेत विचलन आएको छ छैन भनेर बेलाबेलामा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

देउवालाई ओलीले किन भने -'मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ '

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘पुरानो मित्र’ बताउँदै घरीघरी जोशिने बताएका छन् । देउवाले मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै प्रश्न गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दैै ओलीले देउवाप्रति यस्तो टिप्पणी गरेका हुन् ।   “मेरा पुरा मित्र घरीघरी अलि जोशिनुहुन्छ,” देउवाप्रति संकेत गर्दै ओलीले भने । देउवाले भनेका थिए, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छरु कांग्रेसलाई गाली गरेर मात्रै हुँदैन ।’

हतारिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।  ‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । कहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ’, उनले भने ।  यस्तै उनले कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएको बताए ।  ‘जब सम्पूर्ण कम्युनिस्ट शक्तिहरूबिच एकता र सहकार्य भएको त्यतिबेला ठुला उपलब्धि भएका छन् । दुई तिहाइ बहुमत ल्याएका छौँ । जब एक अर्काविरुद्ध विद्वेष फैलाउने काम गरेका छौँ, त्यतिबेला कमजोर भएका छौँ । विगतका तितो यथार्थ सबैले मनन गरेर अगाडि जानु आजको आवश्यक हो’, उनले भने ।  प्रतिक्रान्तिबाट लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन चुनौती रहेको भन्दै उनले प्राप्त उपलब्धिका लागि सम्पूर्ण गणतन्त्रवादीहरू एक ठाउँमा आउन आवश्यक रहेको बताए ।