बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक
काठमाडौं । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज सुरु गरिने भएको छ । मतगणना अघि बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।उनले सबै मतपेटिका बझाङ सदरमुकाम चैनपुरमा आइसकेकाले सर्वदलीय बैठक लगत्तै गणना सुरु गर्ने बताए ।
लामिछानेका अनुसार विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणनाको तयारी गरिएको हो ।मतगणना सदुरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने जनाइएको छ ।
हिजो भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो।
बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
बझाङमा ४९.१२ प्रतिशत मतदान, आजै मतगणना नगरिने
धनगढी। शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१)को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९.१२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको बताए। सो क्षेत्रमा २०७९ को प्रदेश सभा निर्वाचन भन्दा कम मतदान भएको छ। २०७९ को चुनावमा अहिलको भन्दा मतदाता कम भए पनि ३१ हजार २७९ मत सदर भएका थिए। बझाङ प्रदेश सभा क्षेत्र नं.१ को मतगणना आज नगरिने भएको छ । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने देखिएकाले मतगणनामा ढिलाइ हुने भएको हो । दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था भएका कारण आजै मत गणना सम्भव नभएको हो ।
इलाममा खस्यो ५७ प्रतिशत मत, आज रातिदेखि मत गणना गरिने
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए । ५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ । मतपेटिका सोझै इलाम नगरपालिका ७ मा रहेको गौतम बुद्ध सम्मेलन केन्द्रमा लगिनेछ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान जिल्ला निर्वाचन आयोगको छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु गरिनेछ ।
लगानी सम्मेलनलक्षित अध्यादेशको विरोधमा कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन संशोधनप्रति विरोध जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै अध्यादेशप्रति ‘घोर निन्दा र भर्त्सना’ गरेका हुन् । सरकारले भोलि र पर्सी (वैशाख १६ र १७ गते) गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गरेको थियो । सरकारको सोही कदमलाई लिएर कांग्रेस सचेतक लेखकले विज्ञप्तिमार्फत विरोध जनाएका हुन् । ‘संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गर्यो,’ लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लेखकद्वारा जारी विज्ञप्ति
लगानी सम्मेलन : कुन देशबाट आउँदैन कति प्रतिनिधि ?
काठमाडौ । तेस्रो लगानी सम्मेलनका निम्ति स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता निश्चित भएको छ । दुईदिने लगानी सम्मेलन आइतबारदेखि सुरु हुँदै छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणानुसार, सम्मेलनका लागि दुई हजार ४०० भन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका निम्ति आउँदै छन् । सम्मेलनमा नेपालका ३८५ जनाको सहभागिता निश्चित भइसकेको छ । चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई)का १३, जर्मनीका १० जना सहभागी हुँदै छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौजना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचारजनाको सहभागिता रहने जनाइएको छ। यसैगरी, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीनरतीनजना सम्मलेनका निम्ति नेपाल आउँदै छन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुईरदुईजना सम्मेलनमा सहभागी हुने निश्चित भएको छ। इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहनेछ। आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ । आइतबारदेखि काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनका निम्ति १५० आयोजना ‘सोकेस’मा राखिँदै छ। सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछ। सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका निम्ति आशयपत्र आह्वान गर्न लागिएको छ। आशयपत्र आह्वान, सोकेस, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल १५० परियोजना प्रस्तुत गरिनेछ। पहिलो दिन उद्घाटनसत्र र दुई मुख्य सत्र सञ्चालन गरिनेछ। दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन गरिनेछ। रासस
लगानीकर्तासँग गरेका प्रतिज्ञा अनुसारको वातावरण बनाउन चुक्नु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री
काठमाडौं। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एंव नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरदीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन्। आइतबारदेखि यहाँ सुरु हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा रासससँग कुरा गर्दै उनले भने, “लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौ, त्यो कुरा अक्षरशः कार्यान्वयन गर्छौं। अहिले नै हामीले उनीहरुसँग गरेका प्रतिज्ञाअनुसार सुविधा दिने वातावरण छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ।” लगानीकर्ताको चित्त बुझ्यो भने मात्र लगानी गर्न तयार हुने उल्लेख गर्दै योजनाविद् क्षेत्रीले लगानीका लागि विश्वासको वातावरण ‘ज्ञारेन्टी’ गर्नुपर्ने सुझाव दिए। “लगानीकर्ता आफ्नो लगानीबाट मिल्ने लाभ हेरेरै जोखिम लिन तयार हुन्छन,” उनले भने, “स्वभाविक रुपमा फजुलमा खर्च गर्न मात्र लगानीकर्ता आउँछन् भन्ने अपेक्षा राख्नु हुँदैन।” लगानीकर्तासँँग प्रचुर मात्रामा पैसा भए पनि त्यसको विवेकशील ढङ्गबाट लगानी गर्न मात्र उनीहरु आउँछन् भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ छ। पूर्वउपाध्यक्ष क्षेत्रीले भने, “देशभित्र पूँजीको अभाव भएको अनुभव गरिरहेका छौँ तर विडम्बना हामीसँग भएको सीमित पूँजी पनि सरकारले बजेटमार्फत विनियोजन गरेको तर खर्च हुन नसकेको अवस्था छ।” यो परिस्थितिमा वैदेशिक लगानीका लागि गरिरहेको आह्वान पैसाका लागि मात्र नभई प्रविधि र व्यवस्थापन पनि भित्र्याउने गरी गरिएको हो भनी विश्वस्त पार्नसक्नुपर्नेमा उनले जोड दिए। “हामीले ‘सार्वभौम साख’ मूल्याङ्कन गर्न सकिरहेका छैनौँ। मुलुकको कर्जा योग्य हुने अवस्था के हो भन्ने कुराको अहिलेसम्म लेखाजोखा छैन, त्यो अहिलेको आवश्यकता हो,” उनले भने, “उसो त लगानीकर्ताले विकासशील देशहरुमा यस्ता कुरा सामान्य हो भन्ने बुझेका हुन्छन तर पनि वस्तुगत परिस्थितिलाई आँकलन गरेर उनीहरुले लगानी गर्ने कि नगर्ने भन्ने कुरा त्यही थलोमा गएर निर्णय गर्ने हिसाबले आएका हुन्छन्।” लगानी सम्मेलनका लागि यस पटक राम्रै प्रयास भएको उल्लेख गर्दै पूर्वउपाध्यक्ष क्षेत्रीले स्वदेश तथा विदेशमा सम्मेलनको तयारी गर्न सरकारका विभिन्न निकायले दौडधुप गरेर प्रयास भएको देखिएको बताए। “एक सय ४८ परियोजना हामीसँग छन् भन्नुको अर्थ पनि तयारी राम्रै हो,” उनले भने। यसका अतिरिक्त त्यस्ता उद्योगी र व्यवसायीको सम्पर्क व्यक्तिसँग सम्पर्कमा रहिरनुपर्ने उल्लेख गर्दै उनले अहिले लगानीकर्तालाई आतिथ्यताको उत्कृष्ट व्यवस्थापनमा विशेष ध्यान दिन सुभाव दिए। लगानीकर्तासँग प्रस्ताव राख्ने र सम्झौता गर्ने तौरतरिकाका लागि पनि उपयुक्त जनशक्तिको सहयोग अपरिहार्य हुने उनको धारणा छ। रासस
वेस्ट इन्डिजविरुद्ध नेपालको शानदार जित
काठमाडौँ । नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो। नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए। उनले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाए। दिपेन्द्रसिंह ऐरी २४, कुशल भुर्तेल १६, कुशल मल्ल १६, अनिल शाहले ५ रन बनाए। गुल्सन झा नटआउट ९ रन बनाउनुभयो भने प्रतिस जिसीले नटआउट ५ रन जोडे। वेस्ट इन्डिजका लागि म्याथ्यू फोर्ड, ओबेद म्याकोएले दुई दुई विकेट हात पार्नुभयो भने किमो पलले १ विकेट लिए। टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको थियो। नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले शानदार अर्धशतक पूरा गरे। उनले ४६ बल खेल्दै ७४ रन बनाए। एलिक एथेनाजेले ४७ रन बनाउँदा केसी काटीले ३८ रन बनाए। वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट हात पारे।
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालका कप्तान रोहितको शतक
काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले ४७ बलमा १० चौका र पाँच छक्कासहित १०० रन पूरा गरेका हुन् । जारी खेलको १७.२ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका ओपनरद्वय अनिल साह पाँच र कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्लले १६ र दीपेन्द्रसिंह ऐरीले २४ रन जोडे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।
इलाममा ४३ र बझाङमा ४० प्रतिशत मत खस्यो
काठमाडौं । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको र बझाङमा ४० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। जिल्ला निर्वाचन कार्यलयका इलामका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ । इलाम-२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यसैगरी बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। २ः३० सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।०७९ को निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यो पटक ५५ प्रतिशत कट्ने जिल्ला निर्वाचन कार्यालयको अंकलन छ। बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि आज उपनिर्वाचन भएको हो ।
मतदानका क्रममा सुहाङले भने– 'बुवालाई सम्झेर भावुक भएको छु'
काठमाडौं । इलाम–२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उमेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । “उत्साह महसुस भएको छ । बुवा (सुवास नेम्वाङ)लाई सम्झेर भावुक भएको छु,” उनले भने, “उमेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो । उत्साहजनक रह्यो । जित निश्चित भन्नेमा म आशावादी छु । इलाम नयाँ युगमा अग्रसर भएको छ ।” बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा सबेर इलाममा मतदाताले मतदान गरिरहेका छन् । इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ। रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो। निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।
रविविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ
काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता गर्न योग्य नभएको भन्दै दरपिठ (रिट) निवेदन दर्ता गर्न अस्वीकारको आदेश गरेका हुन् । रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको भन्दै सर्वोच्च अदालत प्रशासनले असाधारण अधिकार क्षेत्र (रिट निवेदन)को प्रयोग गर्न नपर्ने जनाएको हो। ‘निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन’ आदेशमा भनिएको छ, ‘रिट निवेदकको माग साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।
३०० शैया अस्पताल र विराटनगर रिङरोड बनाउने घोषणाले हामी हर्षित छौं : सांसद आचार्य
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि वर्ष सुरु गर्ने घोषणा गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्न ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गर्ने घोषणा गरेका हुन् । मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा १ का सांसद रहेका पूर्वमन्त्री जीवन आर्चायले विराटनगर क्षेत्रको मुहार फेर्न जनताका जनजिविकाका कामसँगै त्यस क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने बताउँदै आएका थिए। पूर्वमन्त्री आर्चायले निर्वाचनको दौरान त्यस क्षेत्रका जनतालाई भरोसा दिलाएका थिए र चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भए सो बाचा पुरा गरिदिने बताएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको केहि दिनमै पुर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेजको अनुमति दिएका थिए। यस सन्दर्भमा प्रदेश सभा सदस्य आचार्य भन्छन, “मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं।” संसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो। सो अभियानलाई लिएर सांसद आचार्य अभियन्ताको भुमिकामा लामो समय देखि संघर्षरत थिए।अन्ततः आज दिक्षान्त समारोहमा बोल्दै काम सुरु गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका ती योजनाले सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सांसद आर्चायले व्यक्त गरेका छन् ।
विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
ललितपुर । काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ। विद्युत् प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो। काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन नेतृत्वको टोलीले बिहीबार अर्थमन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग विद्युत् महसुलको बक्यौता राफसाफ गरिदिन आग्रह गरेको छ । अध्यक्ष महर्जनले आगामी आवदेखि स्थानीय तहले आफ्नो विद्युत् महसुल तिर्ने बताए। “चालु आवसम्मको राफसाफ होस्, आउने आवदेखि ६०÷४० मा जाऔँ । विद्युत् महसुलबापत उठेको रकममध्ये ६० प्रतिशत स्थानीय तहले र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्नुपर्ने व्यवस्था हुनुपछ” उनले भने। विद्युत् प्राधिकरणले २०७४ सालदेखिको महसुल असुल्न स्थानीय तहलाई पत्राचार गरेपछि उपत्यकाभित्रका स्थानीय तहहरु र मेयर्स फोरमले विरोध जनाउँदै आएको छ । अर्थमन्त्रीलाई भेट्न पुग्नुभएका जनप्रतिनिधिले नगरपालिकालाई प्राप्त बिलमा उल्लेखित रकम तथ्यपरक नभएको गुनासो गर्नुभएको छ । “कहिले देखिको बिल हो भन्ने थाहा छैन, कसरी त्यति उठ्यो भन्ने पनि थाहा छैन, यो बिलले स्थानीय तहको ढाड सेक्छ”, अध्यक्ष महर्जनले भने । काठमाडौँ उपत्यकालाई उज्यालोसहित सुरक्षित बनाउने अभियानमा लागेका जनप्रतिनिधिलाई विद्युत् प्राधिकरणले निराश बनाएको उनको आरोप छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख तथा फोरमका महासचिव घनश्याम गिरीले आगामी आवदेखि विद्युत् महसुल तिर्न आफूहरु तयार भएको बताए। यसअघि फोरमका टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर स्थानीय तहलाई विद्युत् महसुल भुक्तानीको रकमउपर पुनर्विचार गर्न अनुरोध गरेका थिए । फोरमको गोकर्णेश्वरमा बसेको छैटौँ बैठकले विद्युत् प्राधिकरणबाट विद्युत् महसुलको बक्यौता तिर्न आएको पत्रको बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने निर्णय गरेको थियो ।उक्त निर्णयअनुरुप फोरमका पदाधिकारीहरु ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न ऊर्जा मन्त्रालय पुगेका थिए । त्यसबखत मन्त्री बस्नेतले विद्युत् महसुल बक्यौताको बारेमा छलफल गर्न अर्थ मन्त्रालय जान अनुरोध गरेका थिए। अर्थमन्त्री वर्षमान पुनले काठमाडौँ उपत्यका मेयर्स फोरमका जनप्रतिनिधिले राखेको मागमा छलफल गरेर अघि बढ्ने बताउनुभएको छ । प्राधिकरण पनि सरकारको अङ्ग भएकोले यो विषयमा सकारात्मक ढङ्गबाट अघि बढ्न सकिने उनले प्रष्ट पारे । “प्राधिकरण, ऊर्जा मन्त्रालयमा छलफल गरौँ, सकारात्मक ढङ्गबाट अघि बढौँ”, उनले भने। आफू ऊर्जा मन्त्री हुँदा पनि यो विषयमा छलफल गरेको उनले स्मरण गरे । विद्युत् महसुलको बक्यौता तिर्ने सन्दर्भमा कानुनी छलफल, कानुन संशोधनलगायतका विषयमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे। अर्थमन्त्री पुनले विद्युत् महसुल नतिरेका कारण विद्युत् लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिए।
विद्यार्थीलाई समय सान्दर्भिक पाठ्यक्रम पढाऔं : प्रधानमन्त्री
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन्। “युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।” युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए। “युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा जनसाङ्ख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नैपर्छ ।” शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए। लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिए।
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । “पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।” कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्त्व बोकेको बिराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वर्द्धन गर्नुपर्छ । कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर् याउनुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले अलैँची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए।

