लेनिन दिवसमा प्रचण्डको शुभकामना सन्देश ‘लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धनलाई जिताउँ’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन्।

शुक्रबार अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन भएको बताएका हुन्। अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनु पर्ने बताएका छन्।

यस्तो छ शुभकामना सन्देशको पूर्णपाठ

सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जनसमुदाय एवं विश्वभरिका सर्वहारा र श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु। महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको संघर्षमा बलिदानी गर्नुहुने महान् शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो। रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको छ। कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको छ, देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा छ। यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो। वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन। तसर्थ, दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको छ।

प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ। यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपील गर्दछु, धन्यवाद १

९ वैशाख, २०७९ ९२२ अप्रिल २०२२०

……………………………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

जसपा, विप्लव नेकपा र एमाले परित्याग गर्दै हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा प्रवेश(तस्बिर)

कैलाली । बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्केका छन् । आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा फर्केका हुन् । चुनावको निकटतासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको व्यस्तता निकै बढेको छ । पार्टी प्रवेश गराउने,भेला सम्मेलनलाई सम्बोधन गर्ने नेताकार्यकर्तालाई प्रशिक्षित गर्ने र गठबन्धनका भागबन्डा मिलाउनेमा प्रचण्डलाई भ्याई नभ्याई हुने गरेको छ । उनले माओवादी केन्द्र २०६४ सालकै अवस्थामा फर्कन लागेको भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरेर माओवादी प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा गोलबन्ध हुने क्रम तिब्र हुने बताउने गरेका छन् । आज कैलालीमा प्रचण्डले भने झै भएको छ मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टीबाट १७ सय बढी नेता तथा कार्यकर्ता, विप्लव नेतृत्वको नेकपाबाट दुइ सयजना तथा नेकपा एमालेबाट तीनसय नेता तथा समर्थक  प्रवेश  गरेका छन् । जनता समाजवादीका प्रदेश अध्यक्ष कृष्ण चौधरि यसअघि नै माओवादीमा प्रवेश गरेका थिए । जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरुको ठुलो संख्या माओवादी केन्द्रमा धुब्रिकृत भएका हुन् । उनीहरुलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्न कैलाली र कञ्चनपुर जिल्लाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । कैलाली जिल्लाको मसुरियामा आयोजना गरिएको कार्यक्रममा दस हजार बढी जनताको उपस्थिति रहेको छ । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड रहेका छन् । माओवादी प्रदेश इन्चार्ज , अध्यक्ष, पदाधिकारि, केन्द्रीय सदस्य लगायत प्रदेश समिति सदस्य, वाइसिएलहरुको समेत उपस्थिति छ । हेर्नुस् तस्वीरमा    

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार नेपालमा रहँदा उनलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि अप्‍नाएका उपायहरुका बारेमा जानकारी दिइने छ भने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि भ्रमण गर्ने छन् । उनले नेपाल रहदाँ राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेट गर्ने छन् । यस्तै कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्नुहुने छ । नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि उनले जानाकारी लिने छन् । महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा छिन् । उनीहरु भारतको भ्रमण गरेर नेपाल आउन  लागकी हुन् । डा. ट्रेडोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य स‌ंगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिएका छन् । इथियोपियाका नागरिक टेड्रोस महानिर्देशक चयन हुनु अघि त्यहाँका परराष्ट्र मन्त्री थिए । उनलाई दोस्रो कार्यकालका लागि यूरोपियन राष्ट्रहरु र केही अफ्रिकी राष्ट्रले समर्थन गरेपनि आफ्नै देशले भने समर्थन गरेको छैन । महानिर्देशक पदका लागि टेड्रोस बाहेक अन्यले मनोनयन पनि दिएका छैनन् ।

देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।   बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा.शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ । बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् । काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताएकी छन् । चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उनले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने बताइन् । नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उनले यो अघिल्लो समयको भन्दा ६३ प्रतिशतले बढी रहेको बताए । उनले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइन् । तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको चिनियाँ राजदूत होउ यान्छीको भनाई थियो।

निर्वाचन चिह्न अंकित प्रचार सामाग्री प्रयोग गरे १ लाख जरिवाना

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ । आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ । आयोगले साङ्केतिक सामाग्री लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्रि वितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकोले त्यस्ता सामाग्रीको उत्पादन तथा विक्रिवितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आग्रह गरेको छ ।

बझाङमा गठबन्धनबीच भागबण्डा, माओवादी भन्दा एकीकृतलाई बढी स्थानीय तह

बझाङ, सत्तारूढ गठबन्धनबीच बझाङमा निर्वाचन तालमेलकाे सहमति जुटेकाे छ । बुधबार बसेको गठबन्धनकाे बैठकले जिल्लाका १२ स्थानीय तहमध्ये ७ नेपाली काँग्रेसलाई, ३ ओटा नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रको भाग लगाउने निर्णय गरेको छ। माओवादीका कतिपय नेता तथा कार्यकर्ताले भने यने सहमतिकाे बिराेध गरेका छन् । जिल्लामा माओवादीकाे संगठन बलियाे भएपनि दावी छाेडेकाे भन्दै विवाद बढेकाे हाे । सहमति अनुसार, नेपाली काँग्रेसको भागमा २ नगरपालिकासहित ५ गाउँपालिका परेका छन्। जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ । नेकपा एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ। माओवादी केन्द्रले भने दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ। यस्तै उपप्रमुखमा नेपाली काँगेसले ६, समाजवादीले २ र माओवादी केन्दले ४ पाएको छ।

दार्चुलाका सबै तहमा गठबन्धन गर्ने सहमति, ९ मध्ये ४ मा माओवादी केन्द्र

काठमाडौं । दार्चुलाका सबै स्थानीय तहहरुमा चुनावी तालमेल गर्ने गरि सत्ता गठवन्धनका दलहरुबीच सहमति भएको छ । सत्ता गठवन्धन दलहरुको बैठकले नौ स्थानीय तहमध्ये पाँचमा नेपाली कांग्रेस र चारमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने गरि सहमति भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक मानवहादुर धामीले दिएको जानकारी अनुसार जिल्लाका दुबै नगरपालिका महाकाली र शैल्यशिखरको प्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने छ । यस्तै, कांग्रेसले तीन गाउँपालिकाहरु मालिकार्जुन, दुँहु र ब्यास गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने सहमति भएको छ । माओवादी केन्द्रले अपि हिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ । माओवादीले व्यास र मालिकार्जुन गाउँपालिकाको उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेद्वारी दिने छ । गठबन्धनभित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले पालिकामा दावी गरेको छैन । गठबन्धनको बैठकमा एकीकृत समाजवादी अनुपस्थित रहेको थियो । आफूहरुको पालिकास्तरमा दावी नरहेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वीरबहादुर ठगुन्नाले बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ । मधेसमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो । प्रहरीले मधेशमा स्थानीय तहको निर्वाचनमा सुरक्षा थ्रेटभन्दा पनि सुरक्षा चुनौति रहेको बताएको छ । विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, स–साना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहे पनि अहिले राजनीतिकको मूल प्रवाहमा आइसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको प्रहरीको मुल्याँकन छ । खुला सीमाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रुपमा बोर्डर बन्द गरिने जनाएको छ । मधेस प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ । मधेसमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरेकोमा सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको छ ।

केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना

काठमाडौं । देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना रहेकाे छ । आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार राती भने देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ। प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

स्थानीय भाषामा एमबिबिएस र इन्जिनियरिङ पढाउने मोदीको अभिव्यक्ति विवादमा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमबिबिएस र इन्जिनियरिङ विषय स्थानीय भाषामा पढाउनुपर्ने भन्दै दिएको अभिव्यक्ति विवादमा परेको छ । चिकित्सक शिक्षामा स्थानीय भाषाको प्रयोग गर्ने अभिव्यक्ति दिएपछि भारतका विभिन्न शिक्षाविद र बौद्धिक जगत र व्यवसायिक क्षेत्रमा बहस सिर्जना भएको हो । आसाममा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री मोदीले गरीब विद्यार्थीले पनि आफ्नो क्षेत्रीय भाषामा चिकित्सा र ईन्जिनियरिङ पढ्न पाउने कुरा सुनिश्चित गर्न सबै प्रदेशमा कम्तिमा एकवटा शैक्षिक संस्थामा स्थानीय भाषामा पढाउनु पर्ने धारणा राखेका थिए । गत वर्ष भारतको एआइसिटिईले ईन्जिनियरिङ पठ्यक्रममा शैक्षिक सत्र २०२१(२२ का लागि क्षेत्रीय भाषा लागु गरेको थियो । भारतको नेसनल मेडिकल कमिशन (एनएमसी)ले ० ले त्यस्तो केही योजना नभएको जनाएको छ । स्थानीय भाषामा प्राविधिक शिक्षा पढाउने विषयमा फरक फरक धारणा सार्वजनिक हुँदै आएका छन् । भारतका कतिपय राज्यमा भने इन्टरमिडिएट तहमा हिन्दीमा भाषामा विज्ञान संकायको पढाई हुँदै आएको छ ।

शशांक कोइरालालाई गत निर्वाचनको खर्च विवरण माग्यो निर्वाचन आयोगले

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । आयोगले सोमबार आयोजना गरेको नियमित प्रत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले गत निर्वाचनमा गरेको खर्चको यथार्थसहित सात दिनभित्र जवाफ पेश गर्न उनीलाई ध्यानाकर्षण गराइएको बताए । उनले निर्वाचन खर्चसम्बन्धी विवरणमा डा. कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराए । विभिन्न सञ्चार माध्याममार्फत नेता कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

आजदेखि मेलम्चीको पानी काठमाडौं पठाइने, खानेमन्त्री चौधरीले पुनः उदघाटन गर्ने

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ। मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरूङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो। असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो। मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा आज प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो। तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नपाएको खानेपानी मन्त्रालयले जनाएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको पुनः उद्घटना गर्ने भएका छन्। मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएको छ। अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो। गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो। मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए। ‘सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न एक-दुई दिन लाग्ला,’ आचार्यले सेतोपाटीसँग भने। अम्बाथान पुग्नुअघि प्रधानमन्त्री देउवा र मन्त्री चौधरी सुन्दरीजल जाने कार्यक्रम थियो। त्यहाँ सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो। भट्टराईको प्रधानमन्त्रीकालमा २०४८ सालमा मेलम्चीको पानी काठमाडौं ल्याउने अवधारणा आएकाले सरकारले सुन्दरीजलमा उनको शालिक बनाउने भएको हो। त्यसपछि देउवा र चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, खानेपानी मन्त्रालयका सचिवलगायतको टोली अम्बाथान पुग्ने कार्यक्रम राखिएको थियो। मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले अनुसार अस्थायी रूपमा पानी ल्याउनका लागि सबै संरचना तयार भएको बताए। अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम सकिएपछि मन्त्रालयले त्यहीँ उद्घाटनको कार्यक्रम राखेको छ। मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्। आयोजनाले कफरड्याम पनि अस्थायी नै बनाएको छ। चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार थियो। गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो। गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो। सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो। मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ। मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको छ।

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगित

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार सर्वोचले स्थगित गरेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिए पनि बिना निर्णय सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो । जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो । सूचीबाट हटेसँगै स्थानीय तहको निर्वाचन रोक्न आदेश आउनसक्ने सम्भावना तत्कालका लागि टरेको छ । पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले फागुन १३ गते दर्ता गराएका उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा परेको थियो । उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि बोलाउने आदेश दिएको छ । उक्त आदेशमा सञ्जिवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत दिइएको छ । उक्त रिटमाथिको सुनुवाई फागुन २९ गतेका लागि तोकिएको भए तापनि उक्त दिन हेर्न नभ्याइने सूचीमा राखिएको थियो । त्यसपछि उक्त रिटमाथिको छलफलका लागि चैत २८ गते सोमबार पेसी तोकिएको थियो । सोमबारको पेसीबाट अदालतले अन्तरिम आदेश दिने र स्थानीय तहको निर्वाचन रोकिने आशंकासमेत गरिएको थियो । तर सोमबारको पेसी सर्वोच्चबाट नै स्थगित भएपछि अब उक्त मुद्दाको पेसी कहिले हुने हो टुङ्गो लागेको छैन । सोही प्रकृतिको अर्को मुद्दा पनि सर्वोच्चमा विचाराधीन अवस्थामै रहेको छ । नेपालको संविधानले जनप्रतिनिधिको अवधि पाँच वर्षको हुने भनेको बताउँदै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले गत फागुन ५ गते सर्वोच्च अदालतमा यस्तै रिट दायर गरेका थिए । उक्त रिट निवेदन गत फागुन ११ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परी विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी भएको थियो । यद्यपि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको कार्यक्रम नियमितरुपमा अगाडि बढिरहेको छ । मेयर साहले दायर गरेको उक्त मुद्दाको पेसी नतोकिए पनि साधारण तारेखका लागि साहलाई वैशाख २ गतेको म्याद दिइएको छ । अन्तरिम आदेश जारी नभएकाले कारण देखाउ आदेश र छलफलमा बोलाउँदैमा निर्वाचनको कार्यक्रम रोकिने सम्भावना भने निकै कम छ ।

गठबन्धन गर्ने बिषयको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाइँदै

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन सोमबार शीर्ष नेतृत्वलाई बुझाउने भएको हो । आइतवार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो । गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।

अर्थमन्त्री शर्माद्वारा दुई दर्जनबढी राजदूत र नियोग प्रमखुहरुसँग छलफल, रेमिट्यान्स र पर्यटक बढाउन निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन । दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला बिदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईहरुले विशेष भूमिका खेल्नुपर्छ’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभीड १९ बाट तंग्रिसकेको सन्देश दिदै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने बाताबरण सृजना गर्नुस् ।’ चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिदैं यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए। ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरुलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने। आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरुसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा बिदेशी लगानी बढाउने बातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौं’ उनले भने, ‘गैरआवासिय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’ त्यस्तै कुन देशमा कस्तो बस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौं । यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए । कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याएका थिए ।

बढ्यो ट्याक्सीको भाडा, शुरुमैं ५० रुपैयाँ उठने

बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाइएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी ट्याक्सीको भाडा बढाएको हो। मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने मन्त्रालयले जनाएको छ।