कर्णालीमा नियुक्त भए ६ मन्त्री, लिए शपथ
काठमाडौँ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादीका ३ जना र नेकपा एमालेका ३ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मन्त्री हुनेहरूमा माओवादीबाट कालीकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही छन् ।
यस्तै एमालेबाट दैलेखका विनोद शाह, डोल्पाका शेरबहादुर बुढा र दैलेखकी गमता विक रहेको छन् ।
सुहाङको विजयोत्सवमा अध्यक्ष ओली सहभागी हुने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्। इलाम क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयोत्सव मनाउन उनी इलाम जान लागेका हुन्। आज दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना हुने विजयसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका हुन्।उनले कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५ हजार ८३० मत बढी ल्याएका छन्। खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। २०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो। सुहाङ स्वर्गीय सुवा नेम्वाङका छोरा हुन्।
यी हुन् इलाममा जमानत जफत भएका रास्वपासहित १६ उम्मेदवार
इलाम । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन्। यस्तै, तेस्रो स्थान हासिल गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गरे। इलाम–२ मा कूल १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जसमध्ये १६ जनाको भने जमानत जफत भएको छ। निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित १६ दलको जमानत जफत भएको हो। लिम्बूले ५ हजार ५० मत प्राप्त गरे। यस्तै, भाले चिह्न भएका मनिबहादुर लिम्बूले ८१६ मत प्राप्त गर्दा अन्य उम्मेदवार पाँचसय मत पनि कटाउन सकेनन्। जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु आवश्यक पर्दछ । इलाम–२ मा भएको निर्वाचनमा सदर मत ६८ हजार ४७२ रहेको छ । यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसअनुसार जमानत जोगाउन उम्मेदरवालाई ६ हजार ८५० मत आवश्यक पर्दथ्यो । तर एमाले, कांग्रेस र एक स्वतन्त्र उम्मेदवार बाहेक अन्य उम्मेदवारले सो मत कटाउन सकेनन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख गरिएको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर छन्। यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो।
इलाम २ मा माओवादीको साथ पाएका एमालेका सुहाङ नेम्वाङ विजयी
माओवादी केन्द्रको समेत साथ पाएका सुहाङ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।
लगानी सम्मेलनले नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट
काठमाडौँ । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको मुख्य आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा भएको यस सम्मेलनमा नेपाललगायतका विभिन्न ६० मुलुकका करिब एक हजार चार सयभन्दा बढी लगानीकर्ताको सहभागिता छ। सम्मेलनमा लगानीकर्ताको अपेक्षित सहभागिताले सरकार उत्साही भएको छ । यसै सन्दर्भमा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील भट्टसँग राससकर्मी भीष्मराज ओझा र प्रगति ढकालले सम्मेलनस्थलमा गरेको कुराकानीको सम्पादित अंशः लगानी सम्मेलनमा कस्तो भइरहेको छ ? हिजोदेखि काठमाडौँमा चलिरहेको तेस्रो लगानी सम्मेलनमा करिब ६० मुलुक लगानीकर्ता नेपालमा आउनुभएको छ । एकै छनामुनी भेला भएर नेपालका विभिन्न क्षेत्रमा लगानी सम्मेलनका विषयमा छलफल, बहस तथा पैरवी भइरहेको छ । सम्मेलनमा दिन एक हजार चार सयभन्दा बढी व्यक्ति सहभागी हुनुभएको थियो । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष)राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे बिस्तृत जानकारी लिनसक्ने व्यवस्थासमेत मिलाइएको छ । सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएको छ । सम्मेलनमा लगानीकर्तामा उत्साह कस्तो भएको पाउनुभएको छ ? सम्मेलनमा उपस्थित लगानीकर्ता उत्साही देखिनुभएको छ । जसले नेपाल भरपर्दो लगानीको गन्तव्य रहेको सन्देशसमेत प्रवाह भएको छ । उद्घाटन सत्रमा पनि लगानीकर्तामा उत्साह देखिन्थ्यो । सम्मेलनको उद्घाटन सत्रकै क्रममा भएका मुख्य दुई ओटा सम्झौताले सुरुवातमा नै सम्मेलन फलदायी रहने सन्देशसमेत प्रवाह भएको समेत भएको छ । ती सम्झौतामध्ये डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो । उक्त सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी अर्को सम्झौता भएको थियो । यो सम्झौतामा भने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाइले हस्ताक्षर गर्नुभएको हो । सम्मेलनको पहिलो दिन सञ्चालन भएको ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा बोल्दै स्वदेशी तथा विदेशी लगानीकर्ताले नेपालमा आफूहरुले गरेका सफल व्यवसायका बारेमा जानकारी गराउँदै प्रचुर लगानीको सम्भावनाबारे पनि धारणा व्यक्त गर्नुभएको थियो । यसले पनि लगानीकर्तामा उत्साह थपिएको देखिन्छ । सम्मेलनमा लगानीकर्ताको उत्साहले कस्तो महसुस भएको छ ? यसले हामीलाई अझै थप जिम्मेवार बनाएको महसुस गराएको छ । हामीसँग प्रचुर मात्रामा सम्भावना रहेका क्षेत्रमा मुलुकको आर्थिक सामाजिक विकासका लागि कस्तो परियोजना या उद्योग खोल्न आवश्यक छ । आन्तरिक खपतका लागि होस् या निर्यात गर्ने हिसाबले नै किन नहोस् उद्योग स्थापनाको जरुरी भइसकेको छ । यस्ता परियोजनाको हकमा राज्यका सबै निकायको जिम्मेवार बढेर गएको छ । त्यस्तै स्वदेशी निजी क्षेत्रको पनि जिम्मेवारी बढेर गएको छ । सम्मेलन उद्घाटनकै दिन जारी भएको लगानीसम्बन्धी अध्यादेशको प्रभाव कस्तो रह्यो ? लगानी सम्मेलनको उद्घाटन सुरु हुँदै गर्दा लगानीलाई सहजीकरणका लागि जारी अध्यादेशले नीतिगत सुधारको हकमा राम्रो सन्देश प्रवाह भएको छ । यसले नेपालमा लगानीका लागि नीतिगत सहजता र लगानीमैत्री वातावरणबारेमा स्पष्ट पारेको छ । सम्मेलनमा हामीले एक सय ५४ ओटा परियोजना सोकेस गरिसकेका छौँ । सम्मेलन गर्नुपूर्व सोकेस गर्न लागिएका परियोजनाको उद्देश्य के हो ? यसको अपेक्षित उपलब्धि के हुनसक्छ? यसले दुर्गगामी प्रभाव के पर्नसक्छ ? भन्नेबारे गृहकार्य गरेर नै हामी अगाडि बढिरहेका थियौं ।सम्मेलनपछि प्रतिबद्धता कार्यान्वयनको अवस्था कसरी अगाडि बढ्छ ? सम्मेलनपछि हामीले निरन्तर ‘फलोअफ’ संयन्त्रका साथ अगाडि बढ्छौँ । उदाहरणका लागि लगानी बोर्डसँग गाँसिएको या कार्यक्षेत्रमा भएका १२ ओटा परियोजानाको हकमा ४५ दिनको म्याद दिएर आइतबार नै सूचना प्रकाशन पनि गरिसकेका छौँ । त्यो सुरु भइसकेपछि ती प्रस्तावकको आर्थिक प्राविधिक पक्षलाई मूल्याङ्कन गरेर सूचीकृत गर्नेछौं । त्यसमा सिलबन्दी प्रस्ताव माग गर्ने छाँै र ठोस् आयोजनाबाट अगाडि बढ्ने छौं । कस्ता परियोजनामा लगानीकर्ता बढी उत्साहित देखिन्छन् ? हामीसँग बिजनेस टु बिजनेस प्लेटफममार्फत पनि गुणस्तरीय परियोजना छन् । नेपालमा कार्यान्वयनयोग्य परियोजना पनि प्रशस्त छन् । ती परियोजना पनि उहाँले सोकेस गर्दै हुनुहुन्छ । जस्तै इप्पानका पनि ३१ ओटा परियोजना छन् । यी परियोजनामा बजारको स्रोत सुनिश्चित भइसकेपछि पनि वित्त स्रोत, ऋण पुँजी, वा स्वपुँजी, र अरु लगानी साझेदार खोज्ने थलो त यही सम्मेलन हो । लगानीकार्ताका प्रथामिकताका कस्ता क्षेत्र देखिएका छन् ? सम्मेलनमा प्रस्तुत गरिएको परियोजनामध्ये अहिले आशयपत्र माग गरिएको छ । यी परियोजनाको हकमा एक खालको निश्चित अवधिपछि मात्रै स्पष्ट हुन सकिएला । तर उहाँहरुको चाहना बहुपरियोजनामा नै देखिएको छ । निश्चित रुपमा हाम्रो लगानीको प्रचुर सम्भावना भएको क्षेत्र जलस्रोत र पर्यापर्यटन पनि हो । यो दुई निजी क्षेत्रबीच भएको सम्झौताले पनि प्रष्ट पार्छ । पर्यटन विकासका लागि सुविधासम्पन्न पूर्वाधार विकासका लागि लगानी गर्न उत्सुक देखिनुभएको छ । अर्को उहाँहरुको चाहना भनेको सूचना प्रविधि क्षेत्रमा पनि छ । योसँगै जलविद्युत् आयोजनामा पनि उहाँहरुको चासो छ। नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गरेर मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सम्मेलनको उद्घाटन समाहरोलाई सम्बोधनको क्रममा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरको उल्लेख गर्नुभएको थियो । यसले पनि निजी लगानीकर्तामा उत्साह थपिएको देखिन्छ । उनले जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै पर्यटन क्षेत्रकोमार्फत पनि समृद्ध हासिल गर्ने उहाँको जोड रहेको छ । नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको छ। करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी)मा निर्माण चरणमा छन् । सम्मेलनको उद्घाटन समाहरोमा नेपालको तर्फबाट भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउनेमा जोड दिइएको थियो । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरिएको छ । यसले पनि जलविद्युत् परियोजनालाई प्रथामिकता दिइएको देखिन्छ । लगानी सम्मेलनको मुख्य सन्देश के हो ? लामो समयपछि गरिएको यो सम्मेलनले साझेदार निकायमा लगानीको सकरात्मक सन्देश प्रवाह भएको छ । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकसमेत भएको छ । यसले लगानीमैत्री वातावरण भएको सन्देश दिएको छ । सम्मेलनमा विकास साझेदारको सक्रिय सहभागिताले उत्साहित भएका छौँ । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको ठानेका छौँ । सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको छ ।
तेस्रो लगानी सम्मेलन सम्पन्न, एक दर्जन समझदारीपत्रमा हस्ताक्षर
सम्मेलनका क्रममा ऊर्जा, सूचना प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा महत्त्वपूर्ण छलफल भएको र एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ।
लगानी सम्मेलन : उद्योग विभागमार्फत रु नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ । विभागले आज स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ । तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली तयार गरिसकेको छ । विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन् भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् । सूचना प्रविधिमा आधारित उद्योगहरूका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन । उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ । रासस
सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ : केपी ओली
केपी ओली भन्छन् -‘यो सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ । यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।'
गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज
पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।
डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र मानवीय सहायता व्यवस्थापनमा खटिन नेता(कार्यकर्ता एवं स्वयंसेवकलाई निर्देशन दिएको छ। देशव्यापी रुपमा आगलागी र डढेलोलगायत विपद्का घटना बढेसँगै माओवादीले मातहतका पार्टी कमिटीलाई उक्त निर्देशन दिएको हो। माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षाजस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्। माओवादीले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन स्थानीय तहलाई अपिल गरेको छ। माओवादीले विपद्का जोखिम कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार अवस्थामा राख्न पनि आह्वान गरेको छ। प्रवक्ता सापकोटाले विपद्मा प्रभावकारी उद्धार तथा तत्काल राहतका लागि स्थानीय तहलाई सहयोग गर्न, पालिकालाई सबल बनाउन तथा आवश्यक सामग्रीको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराए। माओवादीले विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र पीडित एवं प्रभावितमा सहानुभूति प्रकट गरेको छ। गर्मी र सुक्खापन बढेसँगै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका घटना वृद्धि भएका छन्। डढेलोका कारण जनधनको क्षतिका साथै हजारौं नागरिक पीडित हुन पुगेका छन्। देशैभरि वायु प्रदूषणको उच्च मात्रा र तापक्रममा उच्च वृद्धिका कारण तराईरमधेसका जिल्लामा तातो हावाको लहर चल्दा दैनिक जनजीवन कष्टकर बनेको छ।
इलाम–२ मा आधा मत गनिसक्दा, सुहाङलाई ५३ सयको अग्रता, लिम्बुले कटाए २ हजार
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ५ हजार ३०२ मतले अग्रता लिएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत पाएका छन् । इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मतगणना भइसकेको छ। देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३५ हजार ६११ सदर मतगणना भएको छ । १ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ मत खसेको थियो । २०७९ को चुनावमा विजयी भएका एमाले उम्मेदवार सुवास नेम्वाङको निधन भएपछि यहाँ उपचुनाव भएको हो ।
उद्योग विभागअन्तर्गतको ९ अर्ब विदेशी लगानी स्वीकृत
काठमाडौं । लगानी सम्मेलनको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन् । उद्योग मन्त्रालयले उद्योग विभागमा आएका ९ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रस्तावलाई स्वीकृत गरेको हो। सोमबार मन्त्री भण्डारीले ती लगानीकर्ताहरुलाई प्रमाणपत्र समेत दिएका छन् । स्वीकृतमध्ये बहुउद्देश्य राखिएको एउटा चिनियाँ व्यक्तिगत लगानी पनि छ। मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता रहेको जनाएको छ। त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ भने यसबाहेक दोस्रोमा एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ। बिजनेस कम्प्लेक्स बनाउने भनिएको प्रस्तावमा ३ अर्बको लगानी हुनेछ। तेस्रोमा बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ । यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने भनिएको छ। नेपालमा विदेशी लगानी स्वीकृत गर्ने दुई निकाय लगानी बोर्ड र उद्योग विभागले मध्ये बोर्डले ६ अर्बभन्दा माथिको लगानी स्वीकृत गर्ने गर्छ भने सोभन्दा कम विदेशी लगानी उद्योग विभागमार्फत स्वीकृत हुन्छ।
लगानी सम्मेलन सफल भयो : अर्थमन्त्री पुन
काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए । उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए । बैठकमा विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं ।’ सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वर प्रवाह भएकामा खुसी व्यक्त गरे । नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए । ‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौं’, उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो ।’ उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे । मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानूनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे । यस्तै विकास साझेदारहरुले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्याङ्कन ९सोभरेन क्रेडिट रेटिङ० को प्रक्रिया अघि बढेको जानकारी उनले गराए । यस्तै मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानीे अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे । मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । उनले नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए ।नेपालको जैविक विविधता तथा प्राकृतिक श्रोतहरुको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो । आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनको प्रतिबद्धता जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए ।
बझाङ १ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाए । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने बताए । उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाए भने चौथो भएको एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।
लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी साझेदारी ९पीपीपी० प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप)बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद(अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् । समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक(निजी साझेदारी ९पिपिपी०सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् । यस सहकार्यले नेपालमा पीपीपीसम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पिपिपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुपकुमार उपाध्यायले बताए । “यस समझदारीले पिपिपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यवहारिक ज्ञान हासिल गरेको र विशिष्टीकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ”, उपाध्यायले भने । वापका अध्यक्ष जियाद(अलेक्जेण्डर हायकले पीपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पीपीपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए । स्वीजरल्याण्डको जेनेभामा मुख्यालय रहेको वाप पीपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पीपीपी अभ्यासकर्ताहरूको संस्था हो । आजै, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी १० करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । रासस
सुहाङले कटाए ११ हजार मत, डम्बरसँग ३७३४ को अग्रता
काठमाडौं। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका हुन् । यसैगरी दोस्रो स्थानमा रहेर उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७ सय ३४ मतको अन्तर छ । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् । चौथो स्थामा रहेका स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ५ सय ९ मत पाएका छन् । २६ हजार ४३९ सदर मत गणना हुँदा स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् । अर्का उम्मेदवार धनराज राना मगरले २ मत पाएका छन् । शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि भैरहेको छ ।

