नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आज र भोलि गरी २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

महाधिवेशन राष्ट्रिय सभागृहमा जारी छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए ।

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन्। केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् ।

केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ।

केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ। त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ।

यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने महासंघले जनाएको छ।

निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धिकरण समिति र संगठन समितिले टुंगो लगाउने बताइएको छ।

जनताका समस्या समाधानमा जिम्मेवार बन्न कर्मचारीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधनका लागि जिम्मेवार बन्न कर्मचारीलाई आग्रह गरेका छन्। बिहीबार महिला सशक्तीकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका समस्या समाधन गर्न कर्मचारीले विभिन्न वहाना देखाएर बाधक बन्न नहुने बताएका छन् । उनले सुकुम्वासीहरूको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए । उनले भत्काउने नभई बनाउने अभियान चलाउनुपर्ने बताए।  उनले भने, ‘सुकुम्वासी बस्तीमा हामीले डोजर देखाएर आतङ्क फैलाइरहेका छौँ । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ । सुकुम्वासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरूलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ ।’ जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिब विरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए ।  उनले भने, ‘अहिले हामी सरकारमा आएका छौँ । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् ।  जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन ।  सुकुम्वासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’ आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औँल्याए ।  उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिए भोकमरीले कोही मर्दैनन् । अर्को पटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दापनि सरकार चलाएको छु भन्न मिल्छ रु देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाऊ भन्न मिल्दैन ।’

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए।  सल्लाहकार सापकोटाअनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा  युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गरे।  राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन -'प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुनुहोस् '

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन्। हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा भेट गरी प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन्। पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट गरेका हुन्।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।” प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई निर्देशन दिए। 

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए। “यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।” पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताए । उनले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाए।  वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटन वहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताए। प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गरे। उनले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त व्यक्त गरे। 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार करिब दुई घण्टा भेटवार्ता भएको हो। भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गरिएको बताए। संसद्को बजेट अधिवेशन बोलाउने विषय संसद् र सरकार सम्बन्धित भएको उनले उल्लेख गरे। छिट्टै अधिवेशन बोलाइने उनले बताए । 

समयमा काम नगर्ने ठेकदारलाई कारबाहि गर्न मन्त्रीसँग सांसद सापकोटाको माग

काठमाडौं। माओवादी केन्द्रका सांसद माधव सापकोटाले सडक पुल आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै प्रश्न गरेका छन्।  बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा आयोजना पछि परेको बताउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका हुन्।  उनले चीनसँग सिमा जोडिएको तातोपानी नाका पुग्ने र वार्षिक हजारौं पर्यटक हिँड्ने अरनिको राजमार्गमा वर्षातको बेला गाडी गुड्न नसक्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण समेत गराए। उनले अरनिको राजमार्ग स्तरोन्नती गर्नुपर्ने बताए। यस्तै, निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई ध्यान दिन पनि आग्रह गरे।

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।  राष्ट्रपति पौडेललाई आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।    “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो,” प्रवक्ता भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  यही वैशाख १५ गते इलाम–२ मा प्रतिनिससभा सदस्य र बझाङ १ (क)मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो । 

ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरे।    त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गर्नुभयो । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारिन्। नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए। भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उनको भनाइ थियो। भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए। अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताउनुभयो । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे। विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे। भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।

सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकि छिन्। बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।  उनले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने बताइन्। अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानुन पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताइन्।  उनले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको चर्चा गरिन्। सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरु लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताइन्। मन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रको रुपमा स्थापित भएको दाबी गरिन्।  निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको, करिब एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताइन्। उनले सूचना, प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्न सके देशलाई समृद्धितर्फ अघि बढाउन सकिने प्रष्ट पारिन्।  उनले भनिन्, ‘सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ । सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदाय धेरै अगाडि बढेको भए पनि हामीसँग अझै डिजिटलाइज गर्न बाँकी छ। एकातिर सबै ठाउँका जनताको सूचनामा पहुँच स्थापित गर्नुपर्नेछ भने अर्कोतिर सबै नागरिकले समान रुपमा यसको प्रयोग गर्ने अवस्था पनि सिर्जना गर्नुपर्नेछ । यसका लागि सरकार गम्भीर र प्रतिबद्ध छ ।’  सरकारसँग हातेमालो गर्दै सूचना र प्रविधिको विकास र प्रयोगमार्फत समृद्धिको यात्रामा अगाडि बढ्न यो अभियानमा यहाँहरु सबैको साथ सहयोगका लागि अपेक्षा गर्दछु । सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको छ, यसमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने उहाँको भनाइ छ । ‘अबको युग सूचना र प्रविधिको युग हो । यसमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानुन पनि व्यवस्थित गरी अघि बढ्न सक्यौँ भने हामी हाम्रो लक्ष्यमा पुग्न सक्नेछौं’ उनले भनिन्। मन्त्री शर्माले सूचना तथा प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले सूचना तथा प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरेको बताइन्। उनले सूचना तथा प्रविधि क्षेत्रमा भएको विकास र बिस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको चर्चा गरिन्। 

म षडयन्त्रको शिकार भए, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार टी– २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले पहिलो पोष्टमा भनेका छन्, ‘मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले साथ दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’ त्यसपछि सन्दीपले अर्को पोष्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु । तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन् ।’ विस २०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।

अमेरिकामा झन् चर्कियो विद्यार्थी आन्दोलन : ३०० भन्दा बढी पक्राउ, केही निलम्बन

क्यालिफोर्निया । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वद्यिालयबाट सुरु भएको विद्यार्थी आन्दोलन देशका विभिन्न भागमा फैलँदै गएको छ । यसक्रममा प्रहरीले बुधबार विभिन्न स्थानबाट ३०० भन्दा बढी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। प्यालेस्टाइनको पक्षमा करिब दुई साताअघि यो आन्दोलन सुरु गरिएको थियो । प्रहरीले मंगलबार रातिबाट हस्तक्षेप गरेपछि आन्दोलन झन् चर्किएको छ । न्युयोर्कमा प्यालेस्टाइनको समर्थनमा धेरै विद्यार्थी लागेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेल्समा भने इजरायल र प्यालेस्टाइन पक्षधर विद्यार्थीबीच झडप नै भएको छ । त्यहाँ युनिभर्सिटी प्रशासनले प्रहरीलाई हस्तक्षेप गर्न आग्रह गरेको थियो । त्यसपछि प्रहरी पुगेको थियो । तर, प्रहरीका तर्फबाट आवश्यक सहयोग नभएको भन्दै क्यालिफोर्नियाका गभर्नरका तर्फबाट नै आलोचना गरिएको छ । गभर्नर गाभीन न्युसोमका प्रवक्ताले भनेका छन्, “सीमित रूपमा र ढिलो मात्र गरिएको प्रहरी हस्तक्षेप अस्वीकार्य छ ।” सयौँ प्रहरी बुधबार क्याम्पस र आसपासका स्थानमा खटिएका थिए । मंगलबार राति प्रहरी खटिनुअघि नै स्थानीय डिक्सन प्लाजामा दुई पक्षका विद्यार्थीबीच झडपको अवस्था सिर्जना भएको थियो । सो क्षेत्रमा केही मानिसले सुरक्षाकर्मीले छिटो कदम नचालेको आरोप लगाएका छन् । झडप करिब दुई घण्टा चलेपछि प्रहरीले बुधबार बिहानसम्ममा अवस्था नियन्त्रणमा लिएको जनाइएको छ । गभर्नर न्युसोमले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “कानुन प्रस्ट छ । स्वतन्त्र अभिव्यक्ति हिंसा, तोडफोड वा कानुनविहीनताको अवस्थामा पुर्‍याउने गरी उत्तेजना बढाउने हुनु हुँदैन ।”  आन्दोलनरत विद्यार्थीहरू निलम्बन अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले क्याम्पस हातामा खडा गरेको विरोध शिविरहरू नहटाएका कारण विद्यार्थीहरूलाई निलम्बन गर्न थालेको छ। ती विरोध शिविर हटाउन दिइएको समयसीमालाई सयौँ प्रदर्शनकारी विद्यार्थीहरूले अटेर गरेका थिए। दुई सातादेखि जारी त्यस्ता विरोधका गतिविधि सोमवारसम्म अन्त्य नगरिए अनुशासनको कारबाही गर्ने कलेज अधिकारीहरूले चेतावनी दिएका थिए। सोमवारको समयसीमा नजिकिँदै गर्दा अध्यापनमा सामेल दर्जनौँ कर्मचारीहरूले विद्यार्थीहरूलाई बचाउ गर्न वरिपरि घेरा हालेका थिएबीबीसीबाट ।

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा बजेट अधिवेशन बोलाउने विषयका साथै सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बुझिएको छ। मन्त्रिपरिषद बैठक विशेष परिस्थितिमा बाहेक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

सूचना-प्रविधिलाई सुशासन र समृद्धिको लिडिङ फ्याक्टरको रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यही यथार्थलाई आत्मसात गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ ।” कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अरबौँको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरिन्।  उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने स्पष्ट पारिने बताए। उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको स्पष्ट पारे। सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम नागरिकको  आर्थिक, सामाजिक जीवनमा उन्नयन र रूपान्तरणका निम्ति सम्वद्ध सबैमा अपिल गरे। ‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’ प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए। सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइवर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दिनानुदिन बढ्दै गइरहेको साइवर अपराधसम्वन्धी घटनाहरू नियन्त्रण गरिने बताए।  “संवेदनशील प्रणालीहरूमाथिको अनधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरूपयोगको विषयलाई प्रभावकारी रूपमा नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै  नीति, कानुन  र संरचना निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय साइवर सुरक्षा नीति, २०८० तर्जुमा गरी कार्यान्वयनको अवस्थामा छ । साइवर सुरक्षाको जोखिम पहिचान, प्रतिकार्य अनुगमन गर्न राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गरिएको छ ।” ‘अन्तर्राष्ट्रि यस्तरको डाटा सेन्टर स्थापना प्राथमिकतामा छ’ प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टरहरूको स्थापनालाई प्राथमिकता दिने बताए। उनले विद्युतीय ऊर्जाको प्रचुर सम्भावना एवं भौगोलिक अवस्थितिलाई समेत मध्यनजर सेन्टर स्थापना गर्न आवश्यक रहेको बताए। “विश्वस्तरका तालिम प्रदायकहरूलाई आकर्षित गरी सीपयुक्त दक्ष जनशक्तिको निर्माण गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भनिन्, “सूचना प्रविधि उद्योगको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गरिनेछ। साथै निर्यात प्रवर्द्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ गर्ने लागयतका विषयहरू सरकारको प्राथिमिकतामा छन्।” सञ्चार तथा सूचना प्रविधिको  विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप नै डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई पुनरावलोकनसहित कार्यान्वयनमा ल्याउने रणनीति सरकारको बताए।

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी श्रीमती ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । उनले राति साढे ११ बजे घरमा आगलागी भएको खबर प्राप्त हुनासाथ हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उनीहरुको जलेर मृत्यु भइसकेको बताए । प्रहरी उपरीक्षक गौतमले ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल समेत पूर्ण रूपमा नष्ट भएको  जानकारी दिए ।

डिजिटल रूपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको बताएकी छिन् । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा शुभकामना दिंदै उनले यस्तो बताएकी हुन् । समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने मूल नाराका साथ आज यो दिवस मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्। आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको समेत उनले बताइन्।