गण्डकी सरकारविरुद्ध कांग्रेसद्धारा सर्वोच्चमा रिट दर्ता
काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् ।
संविधानको धारा १८८ (३)अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो ।
सभामुखको आह्वानमा शीर्ष नेताहरूको बैठक बस्दै
काठमाडौं । आज सभामुखले देवराज घिमिरेको आह्वानमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । सभामुख घिमिरेले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।
अशोक राई नेतृत्वको जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी
काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो । आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको ब्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
वामपन्थी पार्टीहरुबीच एकताको आवश्यकता छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता औल्याएका छन्। लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उनले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गरे। “आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ, । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहान्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ”, उनले भने। उनले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने । उहाँले मुलुकको राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताए। अध्यक्ष ओलीले एमालेको वैचारिक रुपमा स्पष्टता, साङ्गठनिक रुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ”, उनले भने । अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन–२०८४ को सफलताको सुरुआत रहेको बताए। “हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन–८४ तर्फको सफलताको सुरुआत हो । मिसन–८४ लाई हामी सफल पारेर छाड्छौं । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरुलाई आग्रह गर्न चाहन्छु”, उनले भने। उनले सिद्धिलाल ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ र परिवर्तन साकार पार्नका लागि साच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताए। “उहाँसँग मेरो धनिष्ट सम्बन्ध रहेको थियो । २०५४ सालतिर अन्तिमतिर पार्टी अलि ठीक ढङ्गले नचल्ने, समस्या पैदा हुने र हेर्दाहेर्दै अनावश्यक ढङ्गले पार्टी विभाजन हुने काम भयो”, उनले भने, “त्यसपछि हाम्रो सम्बन्ध पातलियो र एकअर्कामा स्नेह र सद्भाव कहिल्यै हटेन।” कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमालेमा प्रवेश गर्न आफू तयार रहेको जानकारी दिए। उनले पार्टीले दिएको जिम्मेवार अहिले पनि आफूले पूरा गर्न सक्ने जनाउँदै भने, “मेरो कमजोरी के रु गल्ती, कमजोरी देखिएका भएका छन् । आत्म आलोचना गरेर पुनः पार्टीमा आएको छु । मान्छेबाट गल्ती, कमजोरी हुन्छन् । आत्म आलोचना गर्न ठूलो कुरा हो ।” उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पार्टी नफुटाएको स्पष्ट पारे। समारोहमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो।
रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए
क्षतिपूर्ति दिन रुस सहमत : परराष्ट्रमन्त्री
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन हुन नसकेको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको बताएका हुन् । उनले रुसी सेनामा रहेका नेपालीको संख्या रुसीको सरकारसँग माग गरिएको जानकारी गराए। रुसमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन र क्षतिपूर्ति समेत माग गरिएको उनले बताए । क्षतिपूर्तिका विषयमा रुस सरकारले सहमति जनाएको उनको भनाइ छ। प्यालेस्टाइनी लडाकु समूह हमासको कब्जामा रहेका भनिएका विपीन जोशीको आधिकारिक अवस्थाका बारेमा जानकारी पाउन नसकिएको पनि उनले बताए। उनले आर्थिक कूटनीतिलाई मात्र केन्द्रित गर्ने गरी छुट्टै महाशाखा बनाउने तयारी गरिएको जानकारी गराए । यसबाट विकास र समृद्धिको कार्यभार पूरा गर्न सहज हुने उनको धारणा छ। परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताए। अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनले उल्लेख गरे। बैठकमा समिति सदस्यहरूले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीको अवस्था सार्वजनिक गर्नुपर्नेलगायत धारणा राखेका थिए।
लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन्। छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए। प्रधानमन्त्रीले भने, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी बितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स बितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुस्।” छलफलमा उनले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए। प्रधानमन्त्रीले भने, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको सिष्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिष्टममा अगाडि जाने तयारी गर्नुस्।” सो क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए । छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो।
स्वतन्त्र प्रेसले लोकतान्त्रिक व्यवस्था सुदृढ गर्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ उति नै लोकतान्त्रिक व्यवस्था सुदृढ हुँदै जाने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा सोमबार गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरणको अभियानको महत्त्वपूर्ण पक्ष भएको बताए । राष्ट्रपति पौडेलले पत्रकारिताको धर्म र व्यावसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवर्द्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताए । उनले भने, ‘पत्रकारिता क्षेत्रमा खोज र नविनता प्रवर्द्धनमार्फत अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरी प्रेसाप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईंहरू लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे । पौडेलले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईंहरू अझ क्रियाशील हुनुहुनेछ,’ । राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसको माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने बताए । उनले व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढंगले अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन् । सो अवसरमा वरिष्ठ पत्रकार सम्मान, २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत भएका छन् ।
नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
काठमाडौँ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ।जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नरको ५७ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकाङ्क्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गरे । सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यापार अभिवृद्धिका लागि अन्तरआबद्धता, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए। “कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ । पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिमा सङ्कुचन पैदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ”, उनले भने, “आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ । म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु ।” सचिव मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए । नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले पर्यटन, जलविद्युत् र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी आउने वातावरण बनाउन एडिबीले महत्त्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने विश्वास आफूहरुले गरेको उल्लेख गरे। एसियाली विकास बैँकले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै सचिव मरासिनीले विकास यात्रामा भरपर्दो साझेदार भएकामा कृतज्ञता व्यक्त गरे । पछिल्लो दशकमा नेपालले सामाजिक समावेशीकरण र आर्थिक विकासलाई सँगै अगाडि बढाएको उनको भनाइ थियो।रासस
कांग्रेस र समाजवादीका नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश
काठमाडौं। नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायत विभिन्न दलका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कांग्रेसनिकट स्थापित निर्माण व्यवसायी जीतनारायण बिसी, नेपाली कांग्रेसकी महिला नेतृ रञ्जिताकुमारी थापा, स्वास्थ्यकर्मी रिजा बोहरा, लक्ष्मी बोहरा, एकीकृत समाजवादीका सुर्खेत जिल्ला कमिटी सदस्य प्रेम महतरा लगायत कर्णाली प्रदेशका नेता कार्यकर्ता सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रधानमन्त्री एंव नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो।
सभामुखद्धारा मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान
काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् ।बैठक सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारमा सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको काम कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुसँग बैठक गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्षे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरे। नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानलाई पूर्ण तुल्याउन पनि सबैको एक्यबद्धता जनाउनुपर्नेमा जोड दिए । “नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो । जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि आफ्नो असली प्रतिनिधिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जाहेर गर्नुहुन म यस ऐतिहासिक अवसरमा हार्दिक अपील गर्दछु ।” इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने प्रधानमन्त्री प्रचण्डको विश्वास छ । संविधानले नेपाली भाषाको अतिरिक्त प्रदेशले प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भाषा आयोगको सिफारिसमा बागमती प्रदेशसभाले पारित गरेको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरे। आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको स्पष्ट पारे। पहिचान र अधिकार स्थापितसहित आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले देशको स्वाधीनता, स्वाभिमान र समृद्धि चाहनेहरूका निम्ति आजको दिन विशेष गौरवको दिन भएको बताए । “देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, क्षेत्रीय उत्पीडनको अन्त्य गर्दै समाजवादउन्मुख समुन्नत राष्ट्र निर्माणको आकाङ्क्षा र प्रतिबद्धतामा आजको दिनले महत्त्वपूर्ण प्रेरणा र ऊर्जा दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ तसर्थ, आजको दिन नेवा, तामाङ लगायतका उत्पीडित जातिहरूको देशकै निम्ति महत्त्वपूर्ण दिन हो ।” नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारका निम्ति आफूले लगातार सङ्घर्ष गर्दै आइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरूलाई पनि संविधानले व्यवस्था गरेबमोजिम प्रादेशिक कानुनहरू निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्ने विश्वास व्यक्त गरे।
पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेपाल फर्किंदै
काठमाडौं । पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किने भएका छन् । उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्यमन्त्री समेत रहेका यादव गएको हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिन उनको कार्यक्रम थियो । उनी अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका थिए । सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौं फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष यादव आज राति ११ बजे पछि काठमाडौं आइपुग्ने बताइएको छ । पार्टी विभाजनपछि उपेन्द्र यादव पक्षका नेताहरु आन्तरिक र अनौपचारिक छलफलमा जुटेका छन् । जसपाका प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष यादव काठमाडौं फर्किएपछि औपचारिक बैठक बसेर पार्टी विभाजनबारे छलफल गर्ने बताए ।
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरिएको हो। वैशाख १२ गतेको निर्णयअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। काठमाडौँको वसन्तपुरमा आज एक समारोहको आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने लिपिको कार्यान्वयन घोषणा कार्यक्रमको बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
चोरेको एक तोला सुन निलेपछि...
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका - १ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार, गएको चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए। परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यसक्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरिएको थियो। तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स - रे गरिएको थियो। एक्स - रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,” सूचना अधिकारी कुशवाहाले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो। चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले वैशाख २३ गते (हिजो) प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए। रासस
अर्थतन्त्रको जग बलियो बनाउने गरी नीति तथा कार्यक्रम ल्याउँछौं : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । अर्थतन्त्र सङ्कटोन्मुख छैन, चलायमान पनि हुन नसकेको बताउदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्। “अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन,” प्रधानमन्त्रीले भने, “अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको छ ।” मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्नका लागि सरकारले प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको धारणा राखे। नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल प्रचण्डको ध्यानाकर्षण गराएको छ। सो अवसरमा चेम्बरले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिएको हो। “विगतमा लिएका सङ्कुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, सेयर बजारको सङ्कुचन, घरजग्गा कारोबारमा सुस्ततालगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।” अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरू स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्व देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै घरजग्गा खरिद बिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यलयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ । भेटमा चेम्बरले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अविलम्ब पहल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ । सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरू पीडित भएका छन्, सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान हुनु पर्दछ, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीलाई कुनै जरिबाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने माग चेम्बरले राखेको छ । यस्तै, करका कारण विवादित मुद्दाहरूको यथाशीघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरको छ ।

