नयाँ दलमा अशोक राई अध्यक्ष, यस्तो छ कार्यसमिति

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् ।

प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा.वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।पार्टी निर्वाचन आयोगमा दर्ता पछि अध्यक्ष अशोक राईले आफुहरु अस्थिरताको कारक बन्ने बताउँदै सरकारलाई समर्थन गरेर अघि बढ्ने बताएका छन् ।यससँगै कांग्रेसले माधव नेपाल नेतृत्वको नेकपा(ऐस) र उपेन्द्र नेतृत्वको समाजवादीसहितको नयाँ गठबन्धन बनाउन खोजेको प्रयास कमजोर बनेको राजनीतिक विश्लेषण हुन थालेको छ ।

null

फुटेका जसपा एमाले-माओवादी गठबन्धनमा रहने

काठमाडौं । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको हाे। आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताए । मनमौजी तरिकाले निर्णय गर्ने प्रवृत्ति बढेकाले आफूहरूले पहिलेदेखि विरोध गर्दै आएको उनले बताए । श्रेष्ठले प्रचण्ड नेतृत्वको गठबन्धनकै निरन्तरताको पक्षमा रहेको बताए । राजनीतिक अस्थिरताले नेपालमा संघीयताप्रतिको भ्रमण उत्पन्न भएकाले आफूले राजनीतिक स्थिरताका लागि कदम चालेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेटमा के भयो छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छिन् ।   प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताए। उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे।  “नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।”    सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिए। उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा। दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो । 

एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयसँग भारत असन्तुष्ट

काठमाडौं । नेपाल सरकारले चुच्चे नक्सासहितको रु एक सयको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् ।  शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको आरोप लगाए ।  ‘नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो ?, भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने,‘मैले पनि त्यो रिपोर्ट देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन ।’  अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनेकी थिइन्, ‘हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।’ अहिले प्रचलनमा रहेको सय रुपैयाँको नोटमा पुरानै नक्सा रहेको छ ।  नयाँ नक्सा जारी भएपछि सोहीअनुसार डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।   नेपाल सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको हो ।  भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । नेपालको नयाँ नक्सामा लिम्पियाधुरामाथिबाट बग्ने कालीनदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ । ती क्षेत्र नेपाली नक्सामा समेटिएपनि भोगचलन भने भारतले नै गर्दै आएको छ । 

नेपाल र जापानका परराष्ट्रमन्त्रीबिच भेटवार्ता

काठमाडौँ। उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए। भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबिचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए। “दुवै प्रतिनिधिमण्डलबिच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”, उपप्रधानमन्त्री श्रेष्ठले भने। जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमणभएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे।  विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उहाँले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गरेका थिए । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रासस

फुट्यो उपेन्द्र यादवको पार्टी, सात सांसदले नयाँ दल दर्ता गर्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।उक्त दलका ७ जना सांसदहरू नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोगमा पुगेका छन् ।गत फागुन २१ गते नेकपा एमाले र माओवादीसँग यादवले सहकार्य गरेपछि जसपामा विवाद बढेको थियो ।विवाद बढिरहेको अवस्थामा अध्यक्ष यादव अमेरिकामा रहेका बेला यता अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो । राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठ र राजकिशोर यादवसहितका सांसद नयाँ पार्टीको पक्षमा उभिएका छन् । उनीहरू सबैजना एमाले(माओवादी गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए।अशोक राई, प्रदीप यादव र राजकिशोराई उपेन्द्रले मिलाएर मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।पूर्व शिक्षा मन्त्री तथा पार्टीका वरिष्ठ नेता राईले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोग पुगिसकेका छन् । जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको बताइन् ।अहिले प्रतिनिधिसभामा जसपामा हाल १२ जना सांसदहरु छन् ।राईले आइतबार नै निर्वाचन आयोगमा दर्ता गर्ने गरी गएका छन् । दलकाे नाममा नेपाल हटाएर जसपा मात्रै राखिने बताइएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले यूएनको कार्यक्रमका लागि अमेरिकामा छन् । उनी अमेरिकाबाट फिरेर अहिले कतार ट्रान्जिटमा छन्।

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।आज मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । सो प्रयोजनका लागि बोलाइएको बैठक  आधा घण्टाका लागि स्थगित भएको हो। मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरूले धारणा राखेका छन् ।त्यसपछि सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । आधा घण्टापछि अधिकारीले विश्वासको मत लिने छन् ।

राष्ट्रपतिद्वारा खाद्य गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेश भएको थियो ।

सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौं  : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एकीकृत समाजवादी नभएको बताएका छन्।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरी उनले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् ।  उनले पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने भनाइ राखेका छन् ।खनालले अहिले पार्टीको ध्यान सत्तामा भन्दा पनि महाधिवेशनतर्फ रहेको बताए ।  

राजस्व अनुसन्धान महानिर्देशकमा चक्र बुढा, नवराज ढुंगाना परराष्ट्रमा

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ। ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ । बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो। बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ।कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ । गत असार २०८० मा राजस्व अनसन्धान विभाग महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए। उनी त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गर्नुका साथै राजस्व अनसन्धानको कामलाई तिब्रता दिएका थिए ।

जापानी विदेशमन्त्री काठमाडौंमा

काठमाडौं ।जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी उनी मध्यान्नमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्। उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका अधिकारीहरूले स्वागत गरे। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी आजै  फर्कने मन्त्रालयले जनाएको छ। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ।” गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० शैया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैयाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।” संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने विश्वास दिलाए। आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए। 

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाप्रति अहसमति जनाउँदै लामिछानेले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो। तर न्यायाधीशद्वको इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखेका हुन् । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए। जिल्ला अदालतले जबरस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको थियो । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपअघि यो मुद्दा छिनोफानो हुन सके सन्दीप राष्ट्रिय टोलीमा पर्ने सम्भावना छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो। सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आउन लागेकी हुन् । विदेशमन्त्री योकोले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता हुनेछ। वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसपछि नेपाल आउने योको चौथो विदेशमन्त्री हुन्।

कानूनसहित तीन समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ । आज कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा विधायन व्यवस्थापन समिति गरी तीनवटा समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरुका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ। यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण, राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता र समितिले संघीयता सबलीकरणका लागि गर्नुपर्ने थप कार्यहरूका विषयमा छलफल हुनेछ । यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।