रविलाई बोल्न दिएर संसद्‌ अवरुद्ध गर्ने कांग्रेसको निर्णय

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए पछि संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । पार्टीको जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा वैशाख २८ गतेबाट सञ्चालन हुने सदनको बजेट अधिवेशनमा रास्वपा सभापति समेत रहेका लामिछानेलाई आफ्नो कुरा राख्न दिने र त्यसपछि अवरुद्ध गर्ने पक्षमा कांग्रेस पुगेको हो । 

बैठकमा सहभागी एक पदाधिकारीले दिएको जानकारीअनुसार कांग्रेस लोकतान्त्रिक दल भएकाले कसैको बोल्न पाउने अधिकार कुण्ठित नगर्ने विषयमा छलफल भएको हो । उनका अनुसार गृहमन्त्री लामिछानेले बोले पनि संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक भने चल्न नदिने कांग्रेसले तयारी गरेको छ। 

कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेलाई संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ।यसअघि सो विषयमा छलफल गरी संसद चलाउन सभामुखले बोलाएको बैठकमा कांग्रेसले परानै अडान कायम राखेको थियो ।

हामी कानुनी र राजनीतिक लडाइँमा जान्छौंः यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध आफुहरु कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।  जसपा विभाजनपछि आज पार्टी केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले जसपा विभाजनपछि बनेको नयाँ दल असंवैधानिक भएको दाबी गरे ।  त्यसविरुद्व अदालत जाने उनले चेतावनी दिए । ‘नयाँ दलको दर्ता असंवैधानिक छ,’ यादवले भने, ‘त्यसविरुद्ध हामी अदालत जान्छौँ । कानुनी र राजनीतिक लडाइँ लड्छौँ।’ यादव अमेरिका भ्रमणमा रहेका बेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सात जना सांसदलाई साथमा लिएर जसपा विभाजन गरेका थिए ।  पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा ५ जना मात्रै सांसद रहेका छन् । जनता समाजवादी पार्टी विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेर मान्यता दिइसकेको छ ।

सुनकोशी मरिनको कार्यान्वयनबाट अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।  सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे।  “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।” सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।उनले भने, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।” कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए।   नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताए। प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए। उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गरे। यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए ।  आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा तालरजलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गरे। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

प्रधानमन्त्रीद्धारा सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सिन्धुली। सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार (आज) छिचोलिएको छ ।औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बल थिचेर ब्रेक थ्रुको सुभारम्भ गरेका हुन् । १३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ भएको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको छ। राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ। २२ महिनाभित्रको लक्ष्यभित्रै सुरुङको काम सकिएको हो। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो। उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का लिएरका काम सुरु गरेको थियो। यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।

आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन्।  नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोटमा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष  प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए। “म प्रधानमन्त्री भएपछि ठूलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ”, उनले भने।  राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने नीति लिइने बताए। नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए।  सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष  प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए। वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।      माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेका जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने स्पष्ट पारे। वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै उहाँले पछिल्ला समय भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए। 

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिएपछि  प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिए ।  “बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोंच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देन दिए ।  सुरुङमार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला भने । मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।  

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर सबै सरोकारवालाहरुको विषय भएको बताएका छन्।  कानुन दिवसको अवसरमा बुधबार शुभकामना दिँदै प्रधानन्यायाधीश श्रेष्ठले भने,’न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायापालिका मात्रको विषय नभई यसका सबै सरोकारवालाहरूको साझा चासो र सरकारको विषय हो भन्ने कुरामा म विश्वस्त छु।’ प्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय अदालतमा पुराना मुद्दाहरूको फर्छ्यौटको क्रम बढेको बताएका छन्। उनले स्वच्छ एवं स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन्।   विसं २००८ साल बैशाख २६ गते प्रधान न्यायालय ऐन बनेपछि स्वतन्त्र न्यायपालिका स्थापना भएको मानिन्छ। त्यसैको सम्झनामा हरेक दिन बैशाख २६ गते कानुन दिवस बनाइन्छ। आजको दिन देशभरिका अदालतहरू बन्द रहन्छन्।

आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन

काठमाडौं। आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ।  वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहि आएको छ।  धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका छन् ।  मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।   

ममाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानले काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन् । उनले आफू कानुनले नभएर अनुमान र एकतर्फी भनाइका आधारमा दोषी भएको दाबी गरेका छन् । मंगलबार राति सामाजिक सञ्जालबाट सन्दीपले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका  छन् । 'मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ । तर, पनि धेरै चुप लागेर बसेँ । कानुन व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ । तर, मैले कति सहनु ?,' सन्दीपले लेखेका छन् । उनले आफू न्याय माग्दामाग्दै शिथिल भइसकेको पनि बताएका छन् । आफूमाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाएको पनि उनको भनाइ छ । 'ती तथाकथित र भनौदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन,' उनले लेखेका छन् । यस्तो छ सन्दीपको स्टाटस धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकारमा राखी रहेँ । अनि प्रतीक्षामा पलपल बाँचिरहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसेँ । कानुन व्ययवसायले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ । तर, मैले कति सहनु ? म न्याय माग्दामाग्दा शिथिल भइसकेँ । सामाजिक संस्था र सामाजिक सञ्जालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरू रहेछन्, अनि केही प्रभाव पार्ने पत्रपत्रिका । ती तथाकथित र भनौदा सामाजिक अभिन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन । तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैलेमात्र होइन दुनियाले बुझेको छ । म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु । त्यो अनुमान मेरा लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारका लागि गम्भीर दुर्घटना हुनेछ । लेखिराख्नु, भगवान्‌ले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि । ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरू यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरू हुन्, तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ, ती तथाकथित अभियन्ताहरू, जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन् । मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान्। तर, झुटा आरोप जब लाग्छ नि, अनि बल्ल सद्बुद्धि आउला । म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्नि परीक्षामा तपाईहरूले आफ्नो कर्मको फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकीँ छ। फेरि भन्छु, यो घटना घटेको होइन, घटाइएको हो। वास्तविक अनुहार आफैँ निस्केला म चाहिँ विश्वस्त छु। अन्तमा म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहनेछु । फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध। चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फासी होस्, मेरा लागि ८ वर्षले पुग्दैन फाँसी नै सही हुनेछ। म त फसेँ, बोलेकै भरमा । अब अरू कोही नफसोस् । बिन्ती छ। सन्दीप लामिछाने

सत्ता समिकरण विरुद्ध दायाँबाया गर्दैनौं : नेकपा(एस)

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सत्ता सहकार्यबाट दायाँबायाँ हुने कुनै योजना नरहेको र सत्ता सहकार्यविरुद्ध नलाग्ने स्पष्टीकरण दिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडा सो जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा सांसदहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न निर्देशन दिने निर्णय समेत भएको छ ।

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम गरेको हो  । पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम समेत भइसकेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सुरुआती समयमा भएको सम्झौताअनुसार ७० प्रतिशत काम भएको भए पनि ठेक्काको काम थप भएसँगै प्रगति कम भएको हो। आगामी एक साताभित्र ११ केभिए लाइन जडान भएका पाँच वटा फिडरसमेत भूमिगत तवरबाट सञ्चालनको तयारी गरिएको छ ।पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत गर्दै लगिने उनले जानकारी दिए । नले भने, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ”, । केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको सुवेदीले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको उनले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै गएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका सहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ । तार भूमिगत भएसँगै यो समस्या हट्ने र सहरी क्षेत्रको सौन्दर्यता बढ्ने छ ।

नेशनल पेमेन्ट गेटवे प्रकरण : निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उनको सजाय निर्धारण गर्दै ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुल गर्ने फैसला सुनाएको हो । यस प्रकरणमा उनलाई गत वैशाख ७ गते विशेष अदालतले दोषी ठहर गरेको थियो । तर सजाय र जरिवाना निर्धारण गर्न भने बाँकी थियो । पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन् । विशेषले गत वैशाख १३ गते पौडेललाई थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेषले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उनलाई अदालतले थुनामा पठाएको थियो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको थियो । अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ जम्मा रहेको जनाएको थियो।

दुई अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा बन्द भएको हो । यस दिन दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भयो । १२० कम्पनीको सेयर मूल्य बढेको छ । ११४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९तराई०को सेयर मूल्य सर्वाधिक ६.२३ अंकले घटेको छ । मंगलबार कारोबारमा आएका १३ मध्ये चार समूहबाहेक सबै घटेका छन् । विकास बैंक, माइक्रो फाइनान्स, म्युच्युअल फन्ड र अन्य समूहको समूहगत परिसूचक बढेको हो । अरू नौ समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्स समूहको समूहगत परिसूचक २.४३ प्रतिशतले बढेको छ । ट्रेडिङको समूहगत परिसूचक १.०९ प्रतिशतले घटेको छ ।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ बुधबार छिचोलिँदै, प्रधानमन्त्रीले  ‘ब्रेक थ्रु’ गर्ने

सिन्धुली ।  सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार छिचोलिने भएको छ । औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् ।  १३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ हुन लागेको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने छ। राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ । २२ महिनाभित्रको लक्ष्यभित्रै सुरुङको काम सकिन लागेको हो। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो । उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का लिएरका काम सुरु गरेको थियो। यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज(सोमबार) अपरान्ह ४ बजे सिन्धुली तर्फ प्रस्थान गर्दैछन् ।

सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बिरामी, नर्भिक ल्याइदै

काठमाडौँ । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन्। श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ। मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयले जनाएको छ । उनको प्रेसर पनि अत्यधिक लो रहेको बताइएको छ । सेनाको हेलिकोप्टरले उनलाई काठमाडौँ ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ। त्यसअघि उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको जनाइएको छ। मुख्यमन्त्री जम्कट्टेल खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाँदै थिए ।

गण्डकी सरकारविरुद्ध कांग्रेसद्धारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् ।  संविधानको धारा १८८ (३)अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो ।