अफगानिस्तानमा आँधी र बाढी : दुई सय बढिको मृत्यु
एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताए। विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १५ सय भन्दा बढि घरहरुमा बाढिले क्षति पुर्याएको छ भने सयौंको संख्यामा हताहत भएको छ ।
तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिवार बताए । उनका अनुसार ३ सय घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति पुगेको छ।
अफगानिस्तानले गत महिनादेखि भारी वर्षा र बाढीको सामना गरिरहेको छ । तुफान र बाढीले बदख्सान र सामंगन लगायत अन्य उत्तरी प्रान्तका अधिकांश भागहरूमा पनि क्षति पु¥याएको छ ।
राष्ट्रियहितलाई सर्वोपरि ठानेर नीति तथा कार्यक्रम आउँछ : अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्वोपरि परी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन्।नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए। त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजजीकरण गरिदिन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि उनले बताए। अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै त्यसलाई उकास्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजीकरणका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए। अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएकाले शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्नेबारे छलफल गरिएको उनले बताए। वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ। अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि पनि अविलम्व पहल गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरिएको बताए।
संसद्को संयुक्त बैठक मंगलबार, राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद् सचिवालयले आज एक सूचनामार्फत मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएको छ । संसद् सचिवालयले सबै सांसदलाई मंगलबार दिउँसो २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइसक्न आह्वान समेत गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार संयुक्त बैठक आह्वान गरेका हुन् ।मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ ।
ऋण लिएको प्रमाणित गर्न गगन थापालाई रविको चुनौति
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबा ऋण लिएको कुरा प्रमाणित गर्न चुनौति दिएका हुन्। उनले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताए। गृहमन्त्री लामिछानेले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौति दिए। उनले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राखे। उनले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताए। उनले चुनौति स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गरे। गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताए। आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उनको भनाई छ।
गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : 'दीर्घकालीन निर्णय नगर्नू'
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले नवनियुक्त मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई नियमित काम बाहेक दीर्घकालीन असर पर्ने निर्णय नर्गन आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ । उक्त दिन अन्तरिम आदेश जारी हुने नहुने टुंगो लाग्ने छ । यस्तै सर्वोच्चले प्रदेश सभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरीत रहेको भन्दै कांग्रेस गण्डकीले सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । वैशाख २३ गते प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध रिट दायर भएको थियो । संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्ना धाराण प्रस्तुत गर्दै अध्यक्ष दाहालले यस्तो बताए । अध्यक्ष दाहालले सरकारको तर्फबाट संसदमा पेश गर्ने विधेयकहरू निक्र्यौल गरी अधिवेशन प्रारम्भ हुनु अगावै संसदमा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रुप प्रदान गर्न सहज हुने बताए । उनले सभाका गतिविधिहरूलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुने जिकिर गरे। अध्यक्ष दाहालले सभाको पन्ध्रौं अधिवेशन अवधिमा दुवै सभाबाट ३ वटा विधेयक पारित भएको र त्यसमध्य दुई वटा विधेयक राष्ट्रिय सभामा नै उत्पत्ति भएका विधेयक रहेको बताए। उनले सभामा दर्ता भएका हालसम्मका ५९ विधेयकमध्ये ३० वटा विधेयक प्रमाणीकरण भइसकेका बताए। उनले २ वटा विधेयक सभाअन्तर्गत विचाराधीन रहेका छन् भने १० वटा विधेयक राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको बताए। अध्यक्ष दाहालले विचाराधीन रहेका १० वटा विधेयक यसै अधिवेशन अवधिमा प्रमाणीकरण हुने आशा व्यक्त गरे।
नेपाल टेलिकमलाई पाँच वर्षका लागि प्राधिकरणले दियो नयाँ लाइसेन्स
काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षका लागि नयाँ लाइसेन्स पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार टेलिकमलाई जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र दिएको हो । २०५६ सालको वैशाख २९ गते टेलिकमले लाइसेन्स लिएको थियो । त्यसको २५ वर्षे अवधि शुक्रबार सकिएको हो । शुक्रबार नै प्राधिकरणले २१ करोड रुपैयाँ शुल्क लिएर पाँच वर्षका लागि नयाँ लाइसेन्स दिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का २५ वटा निर्णय
काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । बिहिबार बसेको बैठकले गरेका निर्णय आज शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २५ वटा निर्णय
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री
सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताए। “योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन् ।” आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा बढी ध्यान सङ्घीयता कार्यान्वयनमा लगाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठकहरू सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू भएको बताए। स्थानीय तहले सङ्घीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक साधनस्रोतको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्त्वका कामहरूको साथै सेवाप्रवाहका क्षेत्रमा महत्त्वपूर्ण काम गर्न सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सही अभ्यास हुँदा स्थानीय तहले ग्रामीण अर्थतन्त्रको सवलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। सरकार भन्नेवित्तिकै नागरिकको मन मस्तिष्कमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू नै अग्रपङ्क्तिमा आउने उल्लेख गर्दै उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अङ्गको सोच्ने तरिकाले नै त्यहाँका सेवाप्रवाह थाहा हुने बताए। “सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्तिसमेत स्थानीय सरकार र जनप्रतिनिधिहरूले काम गर्नुपर्दछ ।” दार्माको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रूकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिइने बताउँदै प्रधानमन्त्रीले दुग्ध सहकारीहरूमार्फत दार्मालाई दुध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन सङ्घीय सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए। जाजरकोट भूकम्पका लाभग्राहीहरूको आवास निर्माण, विद्युतीकरण, कृषि र पशुपालनको आधुनिकीकरण र व्यवसायीकरण, आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, समानीकरण अनुदान लगायतका कुरामा सङ्घीय सरकारको गम्भीर ध्यान जाने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन जारी हुनेबित्तिकै रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहज हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शहीदहरूको सम्मान, द्वन्द्वपीडित परिवारमा राहत, सन्ततिहरूको शिक्षादीक्षा र अभिभावकत्व लगायतका विषयहरूको उचित सम्बोधन हुने बताउनुभयो । उहाँले नेपालको परिवर्तनकारी आन्दोलनमा गुणात्मक योगदान पुर्याउँदै आएको सल्यान जिल्ला र दार्मा गाउँपालिकाले परिवर्तनकारी नीति र नेतृत्वका पक्षमा जाहेर गरेको ऐक्यवद्धताप्रति आभार व्यक्त गर्नुभयो ।
इजरायलमा निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ, छानबिन गर्न उपसमिति गठन
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ‘नाइन एन–एकेएक्स’ जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गरेको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । “नेपाल वायुसेवा निगमको नाइन एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा २०८१ वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।” विज्ञप्तिमा भनिएको छ । उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्टस्ट्री (आईएआई)मा मर्मत सम्भार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। यसभन्दा अगाडि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा निगम र आईएआर्यबीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्न गत फागुन २२ गते निर्देशन दिएका थिए।
गगन थापा भन्छन्, ‘संसदीय छानविन समिति नबन्दासम्म बैठक अबरोध हुन्छ’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् । विरोध लगत्तै समय लिएर सम्बोधन गरेका काङ्ग्रेस सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै प्रश्न गरेका छन्। थापाले कहिले प्रधानमन्त्री र कहिले प्रहरीलाई बोल्न लगाएर गृहमन्त्री रवि लामिछाने डराएको आरोप लगाए। ‘सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्। यो समिति बनाउँदै गर्दा त्यसबाट सबै दलहरू बस्ने होला, ढिकिजाँतो तपाईंहरूकै हातमा होला,’ उनले भने, ‘समिति बनाइदिए हुन्थ्यो भन्ने लाग्छ, किन डराएको ? किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ। किन डराएको ? किन आत्तिएको ?’ थापाले छानबिन समिति बनाएर अघि बढ्दा आफूहरू हेरेर बस्ने पनि बताए । संसदीय छानविन समिति नबन्दासम्म काङ्ग्रेसले संसद चल्न नदिने उनले चेतावनी दिए ।
सदनमा कांग्रेसको वेल घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित
काठमाडौं । सदनमा नेपाली कांग्रेसले नाराबाजी गरेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारीपीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेको हो । कांग्रेसका सांसदहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी ठगलाई कारबाही गर’लगायतका नारा लगाएका छन् । संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने कांग्रेसको माग छ । सभामुख देवराज घिमिरेले कांग्रेस सांसदको नाराबाजी चलिरहेका बेला राष्ट्रपतिको पत्र पढेर सुनाउन थालेपछि कांग्रेसका सांसद बेल घेराउमा पुगेका हुन् । उनीहरूले पेलेर जान नपाइने बताए । त्यसपछि समामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
भरतपुरको सडक अब ब्रुमरबाट चिटिक्क
चितवन । चितवनको भरतपुर महानगरपालिकाको सडक अब बु्रमरबाट सफा गर्न थालिएको छ । महानगरपालिकाले अब ब्रुमर प्रयोग गरेर सडक सफा गर्न सुरु गरेको हो । भरतपुर महानगरकी मेयर रेनु दाहालले ब्रुमरमार्फत् सडक सफा गर्दा भरतपुरलाई स्वच्छ र सफा राख्न सहयोग पुग्ने बताएकी छन्। सडक बडार्दै गरेको ब्रुमरको तस्बिर शुक्रबार बिहान सामाजिक सञ्जालमा राख्दै उनले लेखेकी छन्, ‘निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइलाई ध्यान दिनेछ। भरतपुरलाई हामी स्वच्छ, सफा र हराभरा महानगर बनाउनेछौँ ।’ महानगरले एक महिनाअघि मात्रै ८४ लाख रुपैयाँ खर्च गरेर ब्रुमर भित्र्याएको थियो । महानगरको आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलककुमार श्रेष्ठले ८४ लाख रुपैयाँ खर्चेर महानगरले काठमाडौँबाट खरिद ब्रुमर ल्याएको जानकारी दिए ।
कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने भएको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका शीर्ष नेतालाई बोल्न दिने सम्भावित कार्यसूचि भए अनुसार यस्तो निर्णय भएको हो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोग गर्न रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ ।
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।” यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए । नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ । “हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उहाँले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्नुभयो । “भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।” उनले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए ।
अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलको जवाफ– 'आवश्यक परे नङले लड्छौं'
काठमाडौं । अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन् ।इजरायलले गाजाको रफाहमा पूर्ण मात्रामा आक्रमण गर्न आदेश दिए हतियारको ढुवानी रोक्ने चेतावनी अमेरिकाले दिएको थियो। तर, जवाफमा इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफूहरूले आवश्यक परे नङले लड्ने बताएका छन् ।'आवश्यक परे हामी एक्लै उभिनेछौँ । आवश्यक परे नङले लड्छौँ,' उनले भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रफाहमा आक्रमण भए केही हतियारहरू रोक्ने बताएका छन् ।उता नेतान्याहुले १९४८ को युद्धलाई स्मरण गरेका छन् । ७६ वर्षअघिको स्वतन्त्रता संग्राममा आफूहरू धेरै देशविरुद्ध एक्लै लडेको बताएका छन् । 'त्यतिबेला हामीसँग हतियार थिएन । इजरायलमा हतियार प्रतिबन्ध थियो । तर ठूलो शक्ति, वीरता र एकताका साथ हामी विजयी भयौँ,' उनले भने ।

