नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल
काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दैछ। आज दिउँसो ३ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची रहेको छ।

नीति तथा कार्यक्रम प्रस्तुतीका लागि राष्ट्रपति पौडेल संसद भवन नयाँबानेश्वर जाने भएपछि सवारी पूर्वको तयारीलाई तिव्रता दिइएको छ।सोहि सन्र्दभमा नीति तथा कार्यक्रम पस्तुत गर्नुअघि संसद भवनमा रिहर्सल गरिएको हो।

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । आज बिहान सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको हो । त्यसपछिका अरू संसदीय प्रक्रिया अघि बढाउन नदिने रणनीति तय गरिएको एक सांसदले जानकारी दिए । बैठक जारी छ । सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ । लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक चल्न नदिने कांग्रेसको अडान छ । आजै बिहान कांग्रेसका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगर्न अनुरोध गरेका थिए ।
गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन्। उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कि अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन्। सरकारले विसं २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ। नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको छ । बैठकले सङ्घीय सरकार तथा केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी (केन्द्र), जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रमसमेत तय गरेको छ। बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमितिलगायतका विभिन्न उपसमिति गठन गरेको छ ।
गणतन्त्र दिवस मूल समारोह समिति गठन
काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समिति, २०८१ गठन गरिएको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सदस्य सचिव गृहमन्त्रालयका सचिव रहनेगरी गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको हो । जेठ १५, २०६५ देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको सन्दर्भमा जेठ १५, २०८१ मा गणतन्त्र दिवस भव्यतासाथ मनाउन गणतन्त्र दिवस मूल समारोह समिति, २०८१ गठन गरिएको हो । बैठकले जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपाल भित्र र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायतका कार्यक्रमहरु गर्ने तथा जेठ १५ गते गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । बैठकले गणतन्त्र दिवस मूल समारोह समितिसँगै विभिन्न पाँच उपसमितिहरु गठन समेत गरेको छ । साथै, अहिलेको गणतन्त्र दिवसमा नागरिकहरु पनि सहभागी गराउने गरी तयारी गरिएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते शैनिक मञ्चमा हुने कार्यक्रमको अध्यक्षता गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले गर्नेछन् भने प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।
प्रधानमन्त्री र कांग्रेस नेताहरुबीचको छलफल, यस्तो छ निष्कर्ष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको कांग्रेससँगको छलफल सकिएको छ । आज बिहान बालुवाटारमा कांग्रेस नेता रमेश लेखक र गगन थापासँग भएको छलफल सकारात्मक रहेको बैठकमा सहभागी कांग्रेस नेताहरुले बताएका छन् । बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्रीले आग्रह गरेका छन् । बैठक पछि कांग्रेस मुख्य सचेतक लेखकले प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रयासरत रहेको बताएको जानकारी दिए। लेखकले समस्या समाधानका लागि कोसिस गरिरहेकाले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रममा अवरोध नगरिदिन प्रधानमन्त्रीले आग्रह गरेको बताए । प्रधानमन्त्रीले कांग्रेसले उठाइरहेको माग सम्बोधनको विषय रहेकाले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको उनको भनाइ छ। उनले भने, ‘प्रधानमन्त्रीले पहिलो कुरा राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिन आग्रह गर्नुभयो भने अर्को कुरा सहकारी प्रकरणको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो। हामी यो व्यवहारमा देख्न चाहान्छौं ।’ प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि कांग्रेस केही लचिलो देखिएको छ। लेखकले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताए । कांग्रेस संसदीय दलको बैठक केहीबेरमा बस्दैछ।
सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ।
जसपाका मन्त्रीले लिए शपथ
काठमाडौँ । जनता समाजवादी पार्टी -जसपा_बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।
माधव नेपालको प्रतिवेदन : विभिन्न दलबारे धारणा सार्वजनिक, यस्तो छ पूर्णपाठ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पार्टीको पोलिटब्युरो बैठकमा छलफलका लागि पेस गरेका छन् । सोमबारदेखि सुरु पार्टीको पोलिटब्युरो बैठकमा नेपालको प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ । प्रतिवेदनमा नेपालले सांसदभित्रका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पारिएको छ । उनले तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष समेत निकालेका छन्। यस्तै प्रतिवेदनमा एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गरेको बताइएको छ। एमालेले कम्युनिस्ट पार्टी विधि पद्धतिमा चल्नुपर्छ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्छ भन्ने मान्यतासमेत परित्याग गरेको नेपालको प्रतिवेदनमा भनिएको छ। नेकपा एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि नभएर एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुन्डमा परिणत भएको नेपालको प्रतिवेदनमा उल्लेख छ। नेपालको प्रतिवेदन २२ शीर्षकमा समेटिएको छ। यहाँ एमालेबाट आफूहरूले गरेको विद्रोह सफल भएको समेत बताइएको छ।क्रियाशील राजनीतिक दलहरूका बारेमा पनि विभिन्न कुराहरू प्रस्तुत गरेका छन् । उनले नेकपा माओवादीलाई सैद्धान्तिक अन्योलमा फसेको बताएका छन्। यस्तै रवि लामिछाने नेतृत्वको रास्वपालाई संविधान गणतन्त्र र संघीयताको विरोधी पार्टी भएको बताएका छन् ।उनले वर्तमान सरकारलाई तत्कालीन राजनीति परिस्थितिको उपज भएको बताएका छन् । उनले कुनै पनि दलको एकल सरकार नबनेको अवस्थामा गठबन्धन सरकारको विकल्प नभएको बताएका छन् । यस्तो छ पूर्णपाठ
जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए । सांसद यादवले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाए। उनले सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको जानकारी दिए। उनले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी समेत दिए। ‘‘सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात् राष्ट्रिय राजनीतिमा जुन घटनाहरू भइरहेका छन्, त्यहाँ नैतिक रूपले बसिरहन मिलेन। हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ। एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ। तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो। नैतिक रूपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ।,’’ सांसद यादवले भने, ‘‘१२ को सङ्ख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रूपमा पनि बसिरहन उचित लागेन। सरकारले गैरजिम्मेवारी काम गर्यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ।आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ।आन्तरिक किचलो छ, विभाजनले गर्दा।’’ सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताए।
स्थानीय सरकारले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन्। खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा प्रवाह हुने सेवालाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। “स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन र सुशासन कायम भएमा मात्रै सङ्घीयताको औचित्य स्थापित हुन सक्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले स्थानीय जनप्रतिनिधि जिम्मेवार र जनउत्तरदायी हुनुपर्छ ।” गाउँमा आएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अङ्गको सोच्ने तरिका कस्तो छ भन्ने विषयले सेवाप्रवाहमा अवस्था स्पष्ट हुने बताए। उनले आगामी दिनमा खैरहनी नगरपालिकाले खैरहनी बासीको आवश्यकता र आकांक्षाहरूको सम्बोधन मात्रै नभएर सङ्घीय शासन प्रणालीलाई मजबुत बनाउने गरी कार्यसम्पादन गर्ने विश्वास व्यक्त व्यक्त गरे। “सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ,” प्रधानमन्त्रीले भने, “यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधलाई केन्द्रमा राखेर प्रभावकारी काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” सरकारले सुशासन र सामाजिक न्यायका क्षेत्रमा उल्लेख्य कामहरू गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे। तेस्रोपटक सरकारको नेतृत्व सम्हालेको १६ महिनाको अवधिमा सबैभन्दा बढी आफूले सङ्घीयता कार्यान्वयनमा ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई वटा बैठकहरू सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी दिए। प्राकृतिक साधनस्रोतको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्वका कामहरूका साथै सेवाप्रवाहका क्षेत्रमा स्थानीय सरकारहरूले महत्त्वपूर्ण काम गर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सहीरूपमा लागू गर्दा ग्रामीण अर्थतन्त्रको सवलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने बताए। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज सबैका लागि गौरवको विषय भए पनि बेलाबेलामा मानव र वन्यजन्तु बीचको द्वन्द्वले निकुञ्ज वरिपरिका नागरिकको जीउधनको क्षति भएको खबर सुन्दा आफूलाई दुःख लाग्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले मानव र वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन गर्दै चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका जनताले अधिकतम लाभ लिने वातावरण सिर्जना गर्न वन ऐनमा संशोधन गरिने जानकारी गराए। “वर्षायाममा डुवान तथा कटानको समस्याले खैरहनीलगायत पूर्वी चितवनमा वर्षेनी जनधनको क्षति हुने गरेको छ,” प्रधानमन्त्रीले भने, “राप्ती खोला, कयर खोला, ढुङ्ग्रे खोला लगायतका खोलामा तटबन्ध गरी नगरबासीको सुरक्षाका लागि सरकारले स्थानीय तहहरूसँग समन्वय गरी कार्य सम्पादन गर्नेछ।”
गणतन्त्र स्थापनापछि राजतन्त्रकालिन २५० वर्षमा भन्दा कयौँ गुणा बढि विकास भएको छ : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन्। नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताएका हुन्। “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।” पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए। “विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।” सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए। “काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको छ ।” अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उनले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध गर्छौ : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरिए राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध गर्ने संकेत गरेको छ। सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो संकेत गरेका हुन्। कांग्रेसले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने अडान कायमै राखेको हो ।
चितवनबाट फर्केलगत्तै संसद् सञ्चालनबारे प्रधानमन्त्रीले संवाद सुरू गर्ने
काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सोमबार बिहान सभामुख घिमिरेले टेलिफोन गरेर प्रधानमन्त्रीसँग नीति तथा कार्यक्रमको विषयमा छलफल गरेका हुन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको छ। सो क्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी सभामुख घिमिरेलाई गराएका छन् । प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र सोमबार साँझसम्म निष्कर्षमा पुगिने जानकारी गराए। प्रधानमन्त्री प्रचण्डले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरू गर्ने बताए। उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका छन् । सहकारीको रकम अपचलन गरेको विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। सदनको गतिरोध अन्त्यका लागि आइतबार सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । यसअघि नै सदनको गतिरोध अन्त्यका विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।
उपप्रधानमन्त्री यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल
काठमाडौँ ।उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले राजीनामा दिएपछि जसपा नेपाल सरकारबाट बाहिरिएको छ। उनले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ। आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ। आज स्थगित भएको बैठक (भोलि) जेठ १ गते बस्नेछ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।
कोशी प्रदेश सरकारलाई एकीकृत समाजवादीले विश्वासको मत दिने
विराटनगर । केन्द्रीय सता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । केन्द्रीय नेताहरूको निर्देशनपछि नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई विश्वासको मत दिन तयार भएका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी छ ।११ बजेका लागि संसद् बैठक बोलाए पनि कांग्रेस संसदीय दलको बैठक नबस्दा बैठक सर्ने संसद सचिवालयले जनाएको छ ।

