रोकियो लाइसेन्सको ट्रायल, कहिलेबाट खुल्ने अन्योल
काठमाडौं । काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ । बागमती प्रदेश अन्तर्गत रहेको यातायात कार्यालयहरुमा आजबाट ट्रायल रोकिएको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र राधेराधे भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिल, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र एकान्तकुनाका ट्रायल सेन्टरहरुमा ट्रायल रोकिएको हो ।रोकिएको ट्रायल कहिले खुल्छ भन्नेबारे भने अनिश्चित रहेको छ ।
यातायात व्यवस्था कार्यालयले आजबाट एक्कासी कुनै सूचना नै प्रकाशन नगरी ट्रायल रोक्दा सेवाग्राहीहरुले हैरानी पाएका छन् । लाइसेन्सको ट्रायल दिन सेवाग्राहीहरुको भिड भएपछि मात्रै यातायात कार्यालयहरुले आज अबेर सूचना निकालेका थिए । उक्त सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट परिएको छैन् ।
राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थतलगत अध्ययन गरेर र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते निर्देशन जारी गरेको थियो । सो निर्देशनमा काठमांडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु संचालनगर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको भनेको छ। साथै, टोकन र मेडिकलको नाममा मनोमानी शुल्क लिएको भन्ने उजुरी आएको बताएको छ ।
ट्रायल सेन्टरहरुलाई बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नियमन गर्ने हो । सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट नभएको भए पनि मन्त्रालयले आइतबारसम्म राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनअनुसार ट्रायल सेन्टरलाई सुधार गर्न भन्ने र सँगसँग ट्रायल पनि चल्ने बताइएको छ ।

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संवर्द्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । मदन(आश्रितको ३१ औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए। आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गरे। अध्यक्ष ओलीले भने, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित संवर्द्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’ सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन(आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गरे। आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिद्ध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछि लागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, “हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नु परेको छ ।’’ देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरूले घुँडा नटेकेको स्मरण गर्दै उनले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाइमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो । रासस
कांग्रेसले भन्यो– 'सरकार रबिलाई जोगाउन लाग्यो, सदन चल्दैन'
काठमाडौं । सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने प्रयास स्वरुप छलफल गरिरहेका बेला आज संसद्को अवरोध खोल्ने चर्चाकाबीच कांग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए। उनले सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ भन्दै एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम जोगाउन लागेको समेत आरोप लगाए। आज संसद् खुलाउनका लागि डाकिएको बैठकमा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसले अडान राखेको थियो। सत्ता पक्षले भने कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित भएर भने संसदीय समिति नबनाउने बताएको छ । आज भएको सहमति प्रयासमा यहि विषयमा कुरा नमिलेपछि संसद् सुचारु अनिश्चित भएको छ ।
यस्ता छन्, आजको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय
काठमाडौँ । सरकारले आज बसेको बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो । ती निर्णय मध्ये आज प्रमुख निर्णय सार्वजनिक गरिएको छ । संवत २०८१ साल जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने। २. नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने । ३. नेपाल कृषि वन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने । ४. नीति तथा अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने । ५. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्का (काठमाडौं)लाई नियुक्त गर्ने ।
मन्त्रिपरिषद् बैठक : दुई जना सहसचिव सचिवमा बढुवा
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गरेको छ ।त्यसैगरी कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।
एकीकृत समाजवादीको बैठकले पारित गर्यो १८ बुँदे प्रस्ताव
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले इजरायलमा अध्ययन गर्न गएका विपीन जोशीलाई सकुशल फिर्ताको पहल गर्न सरकारसँग माग गरेको छ। आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो। त्यस्तै, बैठकले रुसी सेनामा भर्ती भएका युवालाई स्वदेश फिर्ता गर्न पनि माग गरेको छ । “यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न र गैरकानुनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गर्दछ,” बैठकले पारित गरेको १८ बुँदे प्रस्तावमा उल्लेख छ । यस्ता छन् बैठकले पारित गरेको प्रस्ताव
संसद् खोल्न राजी भयो कांग्रेस, गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् खुलाउन सहमत भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेर कांग्रेसले सदनमा अवरोध गर्दै आएको थियो। उसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको थिए। तर आज (बिहीबार) शीर्ष नेताहरूबीचको भएको गम्भीर छलफलमा गृहमन्त्री लामिछानेलगतै बोल्न पाउने सर्तमा कांग्रेस सदन खुलाउन सहमत भएको हो।गृहमन्त्रीले बोलेपछि आफूहरूले बोल्ने सांसद खतिवडाले बताए। अन्य कार्यसूचीमा पनि अघि बढाउने दिने नदिने भन्नेबारे भने गृहमन्त्रीको तर्क सुनेपछि अवस्था हेरेर निर्णय हुने पनि कांग्रेस सांसद खतिवडाले बताए। योसँगै अब अपरान्ह ४ बजेका लागि सरेको प्रतिनिधिसभा बैठक चल्ने भएको छ। दलहरूबीच सदन खुलाउने प्रयासस्वरूप भइरहेको छलफल लम्बिएकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको हो।
सदनको अवरोध हटाउने प्रयास : छलफलमा शीर्ष नेताहरू
काठमाडौं । संसद्मा जारी अवरोध हटाउन शीर्ष नेताहरू अन्तिम कसरतमा जुटेका छन्। बालुवाटारमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरूबीच सदनको अवरोध हटाउनेबारे छलफल भइरहेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै सदन अवरोध गर्दै आएको छ। तर संसदीय छानबिनका लागि सत्तारूढ दलहरू तयार नहुँदा सदन चल्न सकेको छैन। जारी छलफललाई निष्कर्षमा पुर्याउने प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन्। उनले सहमति हुने चरणमा छलफल अघि बढेकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयासका लागि ४ बजेका लागि सार्न सभामुख देवराज घिमिरेलाई टेलिफोन गरेर भनेका छन् । सोही अनुसार संसद् बैठक सरेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली काँग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच भएको विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे। काँग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिएका थिए। लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे। त्यसपछि काँग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए ।सत्ता पक्षका सांसदहरु मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए। विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्यो । यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएका सभामुख भण्डारीले जानकारी गराएका छन् ।
संसद अवरोध रोक्न सभामुखद्धारा प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् । सभामुखले प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामूहिक छलफल गरेका हुन् । सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि संवाद जारी राखेका छन् ।नेपाली काँग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।
गिरीबन्धु टिस्टेटको जग्गा बेच्ने ओली हुन् : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि(स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे। उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए। उनले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए। बुधबार एमाले अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका थिए। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने मागसमेत गरेका थिए। उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताएका थिए। ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए। कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो। उनले भनेका थिए, ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानविन हुनुपर्छ। अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली कांग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं। हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छरु पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, कांग्रेस कराईरहने रु यो चल्दैन । अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ।' अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएका थिए।
हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्री फिकोको अवस्था चिन्ताजनक
हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्री फिकोको अवस्था चिन्ताजनककाठमाडौँ ।हत्याको प्रयास गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिकोमाथि बुधबार ब्राटिसलाभाबाट उत्तर–पूर्वी गाउँमा गोली प्रहार भएको थियो। बुधबार साँझ रक्षामन्त्री रोबर्ट कालिनाकले फिको तीन घण्टादेखि शल्यक्रिया कक्षमा रहेको र अवस्था ‘खराब’ भएको बताए। स्लोभाक राजनीतिज्ञका साथै राष्ट्रपतिले यो घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भनेका छन्। गोली प्रहार गर्ने सन्दिग्धलाई सुरक्षाकर्मीले घटनास्थलबाट नियन्त्रणमा लिएका छन्। यद्यपि, उनको परिचय औपचारिक रूपमा खुलाइएको छैन। घटना स्थानीय समयअनुसार बुधबार दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा हान्डलोभामा भएको थियो । एउटा बैठकपछि फर्किएर स्थानीयहरूलाई अभिवादन गरिरहेका बेला प्रधानमन्त्री फिकोमाथि एक व्यक्तिले ५ पटक गोली प्रहार गरेका थिए। उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि उनलाई बान्सका बाइट्रिकास्थित अर्को अस्पतालमा सारिएको थियो।
बेइजिङमा पुटिन र सीबिच भेटवार्ता
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीनमा छन्। दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । पुटिन र सीबिच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले महत्वका साथ नियाली रहेका छन् । रुस र चीनबिचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङबिचको भेटमा छलफल हुने बताइएको छ । रुस र युक्रेनबिच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ। यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ। चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब बढिरहेको छ । चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना भने गरेको छैन ।
आज ३१ औं मदन-आश्रित स्मृति दिवस
काठमाडौं । आज(बिहीबार) ३१ औं मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ।रहस्यमय जिप दुर्घटना हुँदा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। दुवै नेताको निधन भएको दिनको सम्झनामा जेठ ३ गते ‘मदन-आश्रित स्मृति दिवस’ मनाइन्छ। मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित तीनका भातृ संगठनले विभिन्न कार्यक्रम गरी मदन-आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन्। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए। चालक लामाको २०६० सालमा हत्या भएसँगै घटना झनै रहस्यमय बनेको छ। रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै नेकपा एमालेको आलोचना हुने गरेको छ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बोलाइए पनि संसद् चल्ने नचल्ने निश्चित भने छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको कांग्रेसको आरोप छ। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ। माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ। जसका कारण नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेको छैन।
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
स्लोभाकिया। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई उपचारार्थ अस्पताल लगिएको छ । स्थानीय सञ्चारमाध्यमले उनको पेट पाखुरा र खुट्टामा गोली लागेको जनाएका छन् । सरकारी बैठकबाट बाहिरिने क्रममा उनीमाथि ह्यान्डलोभा सहरमामा गोली प्रहार भएको हो । घटनास्थलमा रहेका पत्रकारका अनुसार थुप्रै गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाएको आरोप एक जनालाई नियन्त्रणमा लिएको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले एक्समा घटनाबाट आफू ‘सक’ भएको जनाएका छन् ।अन्तर्राष्ट्रिय विभिन्न व्यक्तित्वले घटनाको निन्दा गरेका छन् । स्लोभाकियाको आन्तरकि मामिला सम्बन्धी मन्त्रालयले प्रधानमन्त्रीको हत्या गर्न प्रयास भएको जनाएको छ । WATCH: Slovakia's Prime Minister Fico taken to his car after shooting, current condition unknown pic.twitter.com/l7S2eaAEHp— BNO News (@BNONews) May 15, 2024

