कांग्रेसले भन्यो -'समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ'

काठमाडौँ। सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । रातोपाटीसँग कुराकानी गर्दै लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ। राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ उनले यसबारे थप छलफल हुने बताए।

लेखकका अनुसार आजको बैठक धेरै लामो समय बसेन । बैठक करिब आधा घण्टा मात्र बसेको थियो। बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए। त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो।

यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । जेठ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका पछिल्ला निर्णयको बारेमा जानकारी दिइन् । हेर्नुहोस् यस्ता छन् निर्णय 

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरी स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो। सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर पर्सीसम्मका लागि स्थगित गरिएको छ।  प्रतिनिधिसभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्।  गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको दल नेपाली कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नजुट्दा आजको बैठक पनि प्रभावित भएको हो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बेलुका ६ बजे कांग्रेस नेताहरुलाई बोलाएका हुन् । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सो विषयमा सत्ता पक्ष र विपक्षी कांग्रेसबीच सहमति हुन सकेको छैन्। यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ । यही विषयमा विवाद हुँदा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो।शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गर्दै सभामुखको बैठक सन्चालन गर्दाको भूमिका माथि समेत प्रश्न उठाएको छ।

कांग्रेसले उत्ताउलोपन देखायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।शुक्रवार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभई कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् । उनले आफू बसेको ठाउँमा कांग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको आरोप लगाए।उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे । बिहीबारको प्रतिनिधि सभा बैठकमा धकेलाधकेल भएको थियो ।कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध , जेठ ६ गतेसम्मकालागि बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ।सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरूले सभा अवरुद्ध गरेका हुन् । बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे । उनले समस्या राष्ट्रियसभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरू समेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेगरी स्थगित भएको छ । 

विपक्षीको संयुक्त बैठक : सभामुखलाई चेतावनी- सदनमा जबर्जस्ती नहोस् !

काठमाडौं । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुको बैठकपछि सभामुखलाई भेटेर यस्तो ध्यानाकर्षण गराइएको थियो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार वेल विपक्षको भएको र प्रतिपक्षले आवाज उठाउँदा र माग राख्दा सदनमा जबर्जस्ती सदन चलाउने काम हुनुहुँदैन भनेर सभामुखलाई भनिएको छ । उनका अनुसार हिजोजस्तै सदन चलाउने सभामुखको मनसाय भएको भए कांग्रेसबाहेकका विपक्षी दल पनि वेलमा ओर्लने चेतावनी दिइएको छ । विपक्षले ध्यानाकर्षण गराएपछि सभामुख अहिले सत्तापक्षका नेताहरुसँगको छलफलमा छन् ।

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।  नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ । रासस

तीन सिडिओको सरुवा तथा पदस्थापन

काठमाडौँ ।सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ। गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव केदारनाथ शर्माको प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्ला प्रशासन कार्यालय पर्वत र सहसचिव नेत्र प्रसाद सुवेदीको प्रमुख जिल्ला अधिकारीको रूपमा बागलुङमा पदस्थापन गरिएको छ । यसैगरी, बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्। साथै, कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ। त्यसैगरी कांग्रेसले बिहिबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित कार्य गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीतको गतिविधि भएको बताए।

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गरेका छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे ।  “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरि भारतको प्रशारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मेरो कार्यकालमा यति महत्त्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो ।” बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुङ्गा सावित हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक भारत मात्र होइन, अर्को छिमेकी मुलुक बङ्गलादेशले समेत नेपालको बिजुली लैजानेगरी छिट्टै सम्झौता हुने विश्वास व्यक्त गरे ।  विद्युत् निर्यात मात्र होइन स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको बताए। उनले भन्नुभयो, “देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्त्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ ।”  प्रधानमन्त्री प्रचण्डले कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गर्दै यो अवस्था सिर्जना गर्नमा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे। “अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्,” प्रधानमन्त्रीले भने, “यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्त्वलाई दर्शाएको छ ।”  आन्तरिक खपत तथा निर्यातका लागि ऊर्जा उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा इप्पानको भूमिका महत्त्वपूर्ण रहने बताए। उनले विद्युत उत्पादनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए।  तेस्रो लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको र यसले लगानी भित्र्याउनका लागि स्वदेशी, विदेशी लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत् संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको स्पष्ट पारे । उहाँले निजी क्षेत्रले उठाउँदै आएका कतिपय मागहरू सम्बोधन भएको र बाँकी मागहरूलाई समेत क्रमशः सम्बोधन गरिँदै जाने बताए।  नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको उल्लेख गर्दै प्रधानन्त्री प्रचण्डले संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरेको स्पष्ट पार्नुभयो । उनले भने, “अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा छ ।” 

विपक्षी दललाई एकत्रित गरी सदन चल्न नदिने रणनीतिमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।  त्यस लगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको र त्यस लगत्तै जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएको जानकारी दिए।  कांग्रेस प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त बैठक बसी संसद् अवरुद्ध गर्ने रणनीतिमा लागेको हो । बैठकले संसद् अवरुद्ध गर्ने संयुक्त उद्देश्य बनाउने छ । बैठक बिहान ११ बजे बोलाइएको छ। 

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ। स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ।  महानगरको हटलाइन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिन इच्छुक सबैमा अनुरोध गरेको छ।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्।  प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो। गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‍मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो।  बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ।  हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।  पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ ।