जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्। नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

उक्त अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताए । उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गरे । विगतमा राजा चार्ल्सले गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए ।  

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताए । उनले नेपाालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी उसको मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताए ।  

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गरे । उनले मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उल्लेख गरे ।  

नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल भएका प्रगतिबारे जानकारी दिँदै राजदूत आचार्यले नेपालको विकासमा बेलायतले पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गरे । रासस

सहकारी प्रकरणमा समिति बनाउन कांग्रेस तयार भएन :  गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा समिति बनाउन कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको बताएका छन् । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिनिधि सभामा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन् ।  सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने बताउँदै उनले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदिएको बताए। उनले आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टीकरण दिए।समाचारमा आएकै भरमा आफूमाथि छानबिन गर्ने हो भने अरुमाथि पनि छानबिन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरीबन्धु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए ।गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।

इरानका राष्ट्रपति रइसीको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको घटनाले आफुलाई दुःखी बनाएको बताएका छन्।  आज प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तिगत एक्स हेन्डल मार्फत राष्ट्रपति इब्राहिम रइसी निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकको यस घडीमा दिवंगत राष्ट्रपति रइसीको परिवार र इरानको सरकार र मित्र राष्ट्र इरानका जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । हिजो पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार थिए । I am deeply saddened by the tragic demise of H.E. Dr. Seyyed Ebrahim Raisi, President of the Islamic Republic of Iran. At this hour of grief, I extend my heartfelt condolences to the family of the late President Raisi, and to the government and friendly people of Iran. — ☭ Comrade Prachanda (@cmprachanda) May 20, 2024

प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीको बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।  संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएलगत्तै अध्यक्ष ओलीले संसद् भवनमै प्रधानमन्त्री प्रचण्डको कार्यकक्षमा गएर बधाई ज्ञापन गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठकको बेल घेराउ गरी विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए। सोअघि प्रमुख नेता तथा कार्यदल र कार्यव्यवस्था परामर्श समिति बैठकमा सदन खुलाउनेबारे छलफल भए पनि सहमति जुटेको थिएन् ।

सडकमा जाने प्रतिपक्षी दलको चेतावनी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच वटा विपक्षी दलले आपत्ति जनाएका छन् । प्रतिनिधिसभा भएको नाराबाजीका बिच सभामुखले नियमावलीको धज्जी उडाउने गरी बैठक सञ्चालन गरेको आरोप विपक्षी दलहरुले लगाएका हुन् । बैठकले सहकारी ठगीको बारेमा छानबिन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने र संसद् बन्द गरे सडकमा जाने निर्णय गरेको छ।प्रतिपक्षी दलको अवरोधका बिच प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत प्राप्त गरेका छन् । आज नेपाली कांग्रेसको अवरोधकाबीच भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले यसअघिको भन्दा बढि सदनको विश्वास प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा मत र विपक्षमा१५७ मत खसेको हो ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् ।एक जना सांसद तटस्थ रहे ।प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा)  नेपाल  विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु  परेको हो । 

कांग्रेसले विश्वासको मत लिन अवरोध गरेर नराम्रो उदाहरण प्रस्तुत गर्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । “आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”

प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वास थप बढेको छ : उपाध्यक्ष विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार प्रतिको विश्वास थप बढेर गएको बताएका छन् ।सोमबार प्रधानमन्त्रीको विश्वासको मतबारे छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद पौडेलले सो कुरा बताएका हुन् ।  सांसद पौडेलले सत्ता नपाएको बेचैनीलाई त्यागेर आफ्नो भूमिकामा पुनर्विचार गरी प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसलाई आग्रह गरे ।  सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातिएको बताए। उनले माकुराको जालो च्यातिएपछि कांग्रेसले संसद्‌मा अहिले क्रिया प्रतिक्रिया देखाइरहेको आरोप लगाए ।  उनले विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै उनले आक्रोश पोखे ।  उनले  बोल्दै गर्दा कांग्रेसका सांसदहरूले बेल घेरा गर्दै निरन्तर होहल्ला र नाराबाजी गरेका थिए ।

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् ।विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए।  “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,” प्रधानन्त्री प्रचण्डले भने, “ राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।” सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले भने, “सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु ।” नीति तथा कार्यक्रम पेश गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताउनुभयो ।  “सार्वभौम संसदको लामो समय लिन चाहन्नँ । यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ”, प्रधानमन्त्री प्रचण्डले भने, “म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।” सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए।  “आगामी दशक तीव्र विकासको दशक भनेका छौँ । त्यसका लागि बृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “भारत र बङ्गलादेशससँग विद्युत् व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेका बेला गेमचेञ्जर ठूला विद्युत् आयोजनामा धेरै काम गर्न बाँकी छ ।” उनले समष्टिगत आर्थिक परिसूचकहरू त सकारात्मक भए, तर अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसदले एकीकृत प्रयास आवश्यक रहेको बताए। “म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु,” प्रधानमन्त्री प्रचण्डले भने, “लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप माग्दछु ।” सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, “नागरिक राज्यसँग ठोकिने सबै विन्दुमा शासकीय सुधारका लागि म कृतसङ्कल्पित छु ।” उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसदको हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो सङ्ख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास आवश्यक रहेको बताए।  व्यवहारिक र नीतिगत सुधारमा सरकारले लिएको अग्रसरताले लगानीकर्तामा एकदमै सकारात्मक प्रभाव परेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतारका राजा, जापानका विदेशमन्त्री लगायतका उच्चस्तरीय भ्रमणबाट राष्ट्रको प्रतिष्ठा र अन्तर्राष्ट्रिय आयाम फराकिलो भएको बताए।  “जलवायु परिवर्तनमा अब नेपालले पर्वतीय देशहरूका तर्फबाट विश्वव्यापी नेतृत्व गर्ने अवस्था बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटक आगमनमा कीर्तिमान कायम भएको छ । रासायनिक मलदेखि पाठ्यपुस्तकसम्मको अभावका समाचार अब इतिहास भएका छन् ।”

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड (प्रत्यक्ष प्रशारण)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै छन् । अहिले संसद्मा नेपाली कांग्रेसले नारा लगाइ रहेको छ भने सरकारले विश्वासको मत लिने प्रक्रियामा अगाडि बढेको छ ।

कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो। सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए।   

कांग्रेस सांसद्‌हरूद्धारा वेल घेराउ

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको वेल घेराउ गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सभामुख देवराज घिमिरेले बसेर संसद्को कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरिरहेका छन् ।

द्रुत गतिको इन्टरनेट सेवा ७६ जिल्लामा विस्तार

काठमाडौँ । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) को सुरुवात भएको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्वसँग जोडिएको हो ।  सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ जिल्लामा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पुर्‍याउन सफल भएको छ । हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१/८२ मा एफटिटिएच सेवा प्रदान गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको माध्यमबाट सरकारले कर्णालीलाई सिंहदरबारसित प्रत्यक्ष रूपमा जोड्न सफल भएको बताइन् ।  सिंहदरबारमा आइतबार भर्चुअल माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवाको शुभारम्भ गर्दै उनले सरकारले भर्खरै जारी गरेको नीति तथा कार्यक्रममा आगामी दशक सूचना प्रविधिको दशकका रूपमा मनाउने घोषणा गरेको उल्लेख गरेकी हुन् ।  उनले नेपाललाई सूचना प्रविधिमा आत्मनिर्भर बनाउँदै यस क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गरेर मुलुकको आर्थिकस्तर बढाउन लाग्नुपर्ने बताइन्। डिजिटल रूपान्तरणका लागि दूरसञ्चार सेवा अनिवार्य आवश्यक रहेको भन्दै उनले कुनै बेला सरकारले ‘हात हातमा मोबाइल घर घरमा इन्टरनेट’ को नारा ल्याउँदा असम्भव जस्तै ठानिएको विषय अहिले आएर सम्भव भएको उल्लेख गरिन् ।  “सूचना प्रविधिको अधिकतम उपयोग गरेर मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल हुन सक्छ । यसलाई सार्थक बनाउन सबैको साथ र सहयोगको अपेक्षा सरकारले गरेको छ,” मन्त्री शर्माले भनिन् । नेपालको नयाँ समृद्धिको ढोका खोल्ने प्रदेश कर्णाली भएको भन्दै उनले यो प्रदेश आफैँमा थुप्रै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गरिन्।  मन्त्री शर्माले रारा घुम्न जाने पर्यटकलाई केन्द्रमा राखेर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको प्रबन्ध गर्दा त्यसबाट जिल्लालाई मात्रै नभई देशलाई आर्थिक लाभ हुने बताइन्। “दु्रत गतिको इन्टरनेट सेवा पुग्न बाँकी रहेको जिल्ला अब हुम्ला जिल्ला हो । आउँदो आर्थिक वर्षमा यहाँ पनि हामीले यो सेवा पुर्‍याउँछौँ । दु्रत गतिको इन्टरनेट सुविधा पुर्‍याउने भनिरहेका छौँ । अर्कोतर्फ विद्युत्को असुविधा छ । छिटोभन्दा छिटो बिजुलीबत्ती पुग्यो भने यो काम सहज ढङ्गले गर्न सकिन्थ्यो,” उनले भनिन्। सञ्चारमन्त्री शर्माले यहाँका मुख्य पर्यटकीय स्थल तथा जिल्लाका चार वटै पालिकालाई केन्द्रमा राखेर दु्रत गतिको इन्टरनेट सेवा पुर्‍याउन निर्देशन दिइन्।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विकट र दूरदराजका नागरिकलाई गुणस्तरीय र सर्वसुलभ रूपमा इन्टरनेट पुर्‍याउने सरकारको दायित्वका साथै नीति रहेको उल्लेख गरिन् । उनले भनिन्, “प्रविधिलाई समात्न सकिएन भने सरकारले लिएका लक्ष्य हासिल गर्न सकिँदैन । इन्टरनेटको पहुँचले मात्र पुग्दैन, गुणस्तरीय सेवा पनि दिनु पर्छ । यसका लागि तीनै वटा तहका सरकारको आवश्यक समन्वय चाहिन्छ ।”  नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले आउँदो वर्ष हुम्लामा समेत टेलिकमको दु्रत गतिको इन्टरनेट सेवा पुर्‍याउन आफूहरू प्रयत्नरत रहेको जानकारी दिइन्। उनले दुर्गम स्थानमा बिजुलीको अभावमा सहज रूपमा सेवा विस्तारमा कठिनाइ हुने गरेको भन्दै ती कठिनाइको समाधान गर्न सञ्चार मन्त्रालयलगायत सरोकारवाला पक्षबिच समन्वयात्मक भूमिका आवश्यक रहेको बताइन्। सङ्घीय सांसद ऐनबहादुर शाहीले सरकारले मुगु जिल्लामा टेलिकमले विस्तार गरेको एफटिटिएच सेवाले आमनागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइन्। जिल्लामा अझै पनि गुणस्तरीय मोबाइलमा टुजी सेवा उपलब्ध नभएको भन्दै उहाँले मोबाइलमा फोन नलाग्ने समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।  मन्त्रालयका अनुसार एक वर्षयता ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला, कालीकोट, रुकुमपूर्व, डोल्पा र मुगुसमेत गरी ७६ जिल्लामा एफटिटिएच विस्तार गरिएको र हुम्लामा पनि चाँडै पुर्‍याउने गरी काम थालिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७९ माघ ३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आधारभूत डिजिटल पूर्वाधारका रूपमा रहेको दूरसञ्चारको विकासमा ध्यानकेन्द्रित गरेर पहलकदमी लिएको र पहिलो निर्णय नै राजमार्ग क्षेत्रमा दूरसञ्चारको सहज पहुँच स्थापित गर्ने उद्देश्यले ‘हाइवे कभरेज’ कार्यक्रमसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको र त्यसै अनुसार नेपाल टेलिकमले सुधारका काम गरिरहेको छ । यस्तै मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको काम अघि बढाउने अभियान तीव्र रूपमा सञ्चालन भएको, कोशी प्रदेशभित्र ६८३ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएपछि गत पुसमा धनकुटामा कोशी खण्डको महामार्ग उद्घाटन गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि उद्घाटनको तयारी छ । मध्यपहाडी लोकमार्गको गण्डकी र लुम्बिनी खण्डमा निर्माणको जिम्मा लिएको कम्पनीले काम नगरी उल्टै अदालत गएकाले केही वर्ष अवरुद्ध हुन पुगेकामा केही समयअघि यो मुद्दा सरकारले जितेकाले अब चाँडै काम सुरु गर्ने आधार तयार भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गर्ने कार्य अन्तर्गत हालसम्म १५ हजार किलोमिटरसहित देशभर २५ हजार किलोमिटर भूभागमा अप्टिकल फाइबर बिछ्याउने कार्य पूरा भएको छ । नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाका रूपमा विकास गर्नका लागि १९ जिल्लालाई छनोट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको वितरण प्रभावकारी बनाउने नमुना जिल्ला कार्यक्रम सुरु गरिएको छ । दूरसञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको र दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार सहप्रयोगका नीति अघि सार्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।  यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ र सेवाप्रदायकबाट पनि कुल आम्दानीको हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागु गर्ने गरी ऐन संशोधनको काम भइरहेको मन्त्रालयले जनाएको छ । फाइभजीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागु गरिएको र त्यसबाट फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजस्व नतिर्ने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास सरकारको छ ।  फ्रिक्वेन्सी नीतिलाई परिमार्जन गरी जारी गरिएको फ्रिक्वेन्सी नीति, २०८० को कार्यान्वयनबाट २०८१ साउन १ गतेदेखि प्रविधि तटस्थताको नीति लागु हुने र त्यसबाट राजस्वमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा सरकारको छ । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली पनि संशोधन गरी सम्पत्तिको व्यवस्थापन गर्नुको साथै प्रयोग नभएको रेडियो फ्रिक्वेन्सी स्वतः फिर्ता हुने र सीमित प्राकृतिक स्रोतका रूपमा रहेको राज्यको महत्वपूर्ण सम्पत्ति रेडियो फ्रिक्वेन्सीको दुरूपयोग रोक्न नीतिगत व्यवस्था गरिएको छ ।  सूचना तथा सञ्चार प्रविधि नीति २०७२, दूरसञ्चार नीति २०६० र ब्रोडब्यान्ड नीति २०७१ लाई पुनरवलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ । विदेशबाट ब्यान्डविथ खरिदलाई थप प्रतिस्पर्धी बनाउँदा नेपाल टेलिकमको मात्रै औसतमा वार्षिक डेढ अर्ब बचत हुने अवस्था सिर्जना भएको छ । यसबाट सेवाप्रदायकको लागत कम हुँदै जाँदा उपभोक्ताले तिर्ने शुल्क घटाउँदै लैजान सकिने विश्वास मन्त्रालयको छ । 

इरानमा राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना :  खोजी जारी

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ ।राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ । “राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ”, सरकारी टेलिभिजनले भनेको छ । खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको थियो, मुलुकको सरकारी सञ्चारमाध्यमले बताएको छ । हेलिकोप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि थिए । “खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ”, सरकारी टिभीको अन–स्क्रिन समाचार अलर्टमा भनिएको छ । सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ । आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो । त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए। उनको सवारीमा तीनवटा हेलिकोप्टर थिए । अन्य दुई हेलिकोप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकोप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकोप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ । सुधारवादी शार्ग दैनिकले पनि ‘राष्ट्रपति बोकेको हेलिकोप्टर दुर्घटनामा परेको र दुई अन्य हेलिकोप्टर सकुशल अवतरण भएको’ बताएको छ । पछि गृहमन्त्री अहमद वाहिदीले हेलिकोप्टरहरूमध्ये एउटा ‘खराब मौसमका कारण कठिन अवतरण भएको र विमानसँग सञ्चार स्थापना गर्न गाह्रो’ भएको बताएका थिए। रासस/एएफपी

गृहमन्त्रीको सम्बोधन र संसदबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।  बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्ने बताइएको छ । काँग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए ।  कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधन, अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नेछ। गृहमन्त्रीको सम्बोधन लगत्तै आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताइसकेका छन् ।  संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । काँग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकीकन मुद्दा केन्द्रीति भएर सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार विश्वासको मत लिंदै