कान्तिपुर मिडियाका अध्यक्ष पक्राउप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोसन पुरीले आज विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको भन्दै आपत्ति जनाएका छन् ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग माग समेत गरेको छ ।

यस्तो छ विज्ञप्ति

कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति  महासंघको ध्यानाकर्षण 
मितिः २०८१ जेठ ८ गते
कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको छ ।

सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ ।

कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार्दैन । यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ । 
रोसन पुरी
महासचिव

प्रधानमन्त्री सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।गत जेठ चार गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर रहेको उल्लेख छ। उक्त घर र जग्गा स्वर्गीय पत्नी सीता दाहालको नाममा रहेको र पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ। यसै गरी भरतपुर महानगरपालिकामा १२ मा स्वर्गीय दाहालको नाममा घर सहित १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ  । प्रधानमन्त्रीसँग ५ तोला सुन र प्रतिनिधि सभा सदस्यको हैसियतामा २५ लाख रुपैयाँ एभरेष्ट बैंकमा मौदात रहेको विवरणमा उल्लेख गरिएको छ । यसैगरी सरकारका  उपप्रधानमन्त्री एवम  मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ । कुन मन्त्रीको कति सम्पत्ति  हेर्न सम्पत्ति विवरण सूचीमा क्लिक गर्नुहोस । सम्पत्ति विवरण सूची 

सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन  : कानुनमन्त्री

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले प्रतिपक्ष दलहरुलाई पेलेर अघि बढन नचाहेको बताएका छन्।संसदमा जुनसुकै मूल्यमा पनि पेस गर्नैपर्ने विषय बाध्य भएर अघि बढाउनुपर्ने भएकाले मात्रै सरकारले कांग्रेसको अवरोधका बिच केही कार्यसूची अघि बढाउनुपरेको उनको स्पष्टीकरण थियो । मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कानुनमन्त्री गिरीले सरकारले कुनै प्रतिपक्षलाई बलमिच्याइँ गर्ने, पेलेर जाने भन्ने कुरा सत्य नभएको बताए। संसदमा अहिले अनिवार्य गर्नुपर्ने केही जिम्मेवारीहरु सरकारसामु रहेकाले संसदमा ती कुराहरु अघि बढेको मन्त्री गिरीको भनाइ थियो। उनले संसदीय छानबिन समितिको कार्यादेशको विषयमा पनि दलहरु सहमतिको नजिक पुगेको उल्लेख गर्दै दुईरतीन दिनभित्रै सहमति जुटने विश्वास व्यक्त गरे। ‘‘संसदमा अहिले अनिवार्य गर्नुपर्ने केही दायित्व र जिम्मेवारीहरु थिए। त्यो काम गर्नुपर्ने सरकारको बाध्यता थियो। त्यसकारणले गर्दा संसदमा ती कुराहरु टेबल भएका हुन्। त्यसलाई अन्यथा ढङ्गले बुझ्नुपर्छ भन्ने लाग्दैन।राजनीतिक दल दर्तासम्बन्धी जुन विधेयक दर्ता भएको थियो। त्यसमा थप अझै परिमार्जित गर्नुपर्ने, थप परिस्कृत गर्नुपर्ने, केही संशोधन गर्नुपर्ने आवश्यक महशुस सरकारलाई भएको कारणले गर्दा मात्रै त्यो फिर्ता लिइएको हो।’’ कानुनमन्त्री गिरीले भने, ‘‘त्यो कुनै दलसँग लक्षित पनि छैन। त्यसमा कुनै दललाई फुटाउने भन्ने उद्देश्य पनि छैन। त्यस ढङ्गले सरकार अगाडि बढदा पनि बढ्दैन। स्वाभाविक रुपमा प्रमुख प्रतिपक्ष दललेल त्यहाँ विरोध गरिरहँदा उहाँहरुले पनि नाराबाजी गर्नुभयो।’’ सहकारी संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलको संयोजकसमेत रहेएका मन्त्री गिरीले प्रतिपक्ष कांग्रेससँग छलफल निरन्तर भइरहकाले त्यसमा सहमति जुट्ने कुरामा ढिलाइ नहुने दाबी गरे।

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ  : महासचिव गुरुङ

काठमाडौँ  । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताएका छन्। काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उहाँले दलहरुबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गरे।  आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताए। विश्वमा शान्ति नचाहनेहरुले चलखेल गरी नेपालमा शान्ति प्रक्रियालाई पूरा गर्न नदिइरहेको गुरुङले उल्लेख गरे। 

पक्राउ पुर्जी जारीपछि सिरोहिया भेट्न कांग्रेस नेताको लर्को

काठमाडौँ । पक्राउ पुर्जी जारी भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न लाइन लागेर पुगेका छन्।  सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् । जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो। सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो। अदालतले जारी गरेको पुर्जीका आधारमा सरकारले कारबाही अगाडि बढाए आफुहरुले साथ दिने भन्दै कांग्रेसका नेताहरु लर्को लगाएर उनलाई भेट्न पुगेका हुन् ।

कान्तिपुर अध्यक्ष सिरोहियाको प्रतिक्रिया- 'गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधे'

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको भन्दै गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गरेका छन्। नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ। जसलाई सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रुपमा बुझेको बताएका छन्। मंगलबार दिउँसो वक्तव्य जारी गर्दै सिरोहियाले यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको बताएका छन्। उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै बेथितिको ढाकछोप प्रयास नगर्न चेतावनी पनि दिएका छन्। सिरोहियाको वक्तव्यको पूर्णपाठ  कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन । सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन । समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो रु अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ? सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र श्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो । कैलाश सिरोहिया अध्यक्ष कान्तिपुर मिडिया ग्रुप

कांग्रेस सम्हालिनुपर्छ : अध्यक्ष ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’ आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ । ‘पेलेर जाने होइन । अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ ६ गते तोड्छ । यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याई गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो । कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ ।’ उनले अहिलेको देशमा धेरै समस्याहरू देखिएको अवस्थामा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही कुरा नदेखेको आरोप लगाए । ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन् । साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । उ नबुझी बुढो भयो,’ ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ ।’ कांग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो। त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन। त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गर्‍यो। चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन। त्यो सहकार्यको आवश्यकता थियो। त्यो हामीले पनि भन्यौँ। हामीले त्यो प्रयास गर्‍यौँ। कांग्रेसले त्यो बाटो नै छोड्यो ।’ कांग्रेससँग मिल्न के का लागि भन्ने प्रश्न रहेको भन्दै उनले थप भने, ‘के का लागि मिल्ने, कसका लागि मिल्ने । स्थिरता भनेको सोचहरूको एकता हो, प्रतिबद्धताको एकता हो। लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो। तर, कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’ ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको बताए ।

आत्महत्या प्रयास गर्दागर्दै प्रहरीले उद्दार गरेको थियो कृष्णका छोरालाई, यस्तो छ विवरण

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको छ। छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ । आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो। उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो । यस्तो छ प्रहरीले जनाकारी दिएको विवरण 

संसद्‌मा गृहमन्त्री लामिछाने बर्बराउनुभयो :  कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले सदनमा बर्बराएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले करोडौं मानिसलाई बरालेको पनि बताए ।  यही जेठ ६ गते बसेको प्रतिनिसभा बैठकमा गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । “हामीलाई थाहा छ । यसक्रममा गृहमन्त्रीले बोल्ने काम गनुभयो । हामीले ठानेका थियौँ, गृहमन्त्रीले हामीलाई राम्रै पढाउनुहोला,” उनले भने, “तर, उहाँ रोष्ट्रममा बोल्न उभिनुभएन । बर्बराउनुभयो । लामो समय बर्बराउनुभयो । लामो समय बर्बराउनु भएन करोडौं मानिसलाई बराल्ने काम गर्नुभयो ।”

कांग्रेसको नाराबाजीकाबीच कार्यसूचीमा अघि बढ्यो संसद्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र अवरोधकाबीच प्रतिनिधि सभा बैठक निर्धारित कार्यसूचीमा अगाडि बढेको छ । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् भने संसद्मा अन्य कामकारबाही पनि सँगसँगै अगाडि बढाइएको छ ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो। आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो।

पूर्वमन्त्री गोविन्दराज जोसीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोसीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा यही जेठ १ गतेदेखि हेर्दाहेर्दैमा राखिएको मुद्दामा मंगलबार(आज) फैसला आउने सम्भावना रहेको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेकोमा २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जोसीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासु दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले मुद्दा खारेजी गरेपछि जोसीले सफाइ पाएका थिए। त्यसविरुद्ध अख्तियार र जोसीको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ०७० भदौ १२ मा झगडिया झिकाउने आदेश गरेका थियो।

सहकारी प्रकरण : कार्यदलको बैठक फेरि बस्ने सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक सम्पन्न भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल भएको हो । छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उनको नाम उल्लेख गर्दै छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेको थियो भने रास्वपाले रविको नाम उल्लेख गर्न चाहेको थिएन।अब बिचको बाटो पहिल्याएर अगाडि बढ्ने गरी छलफल अगाडि बढेको हो।

आईसीसीको पक्राउ पुर्जी तयारी प्रकरण : यस्ता छन् विश्वका शक्ति राष्ट्रको प्रक्रिया

जेरुसेलम ।नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीसी)मा गाजा क्षेत्रमा गरिएको नरसंहारका विषयमा इजरायलका प्रधानमन्त्री र हमासका स्थानीय नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न उक्त अदालतका अभियोजककै तर्फबाट निवेदन दिइएको छ । उक्त घटनालाई लिएर विश्वव्यापी रुपमा विभिन्न प्रतिक्रिया आएका छन् । आईसीसीको निर्णयसँग असन्तुष्ट हुँदै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले निन्दा गरेका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त विषय अपमानजनक भएको र इजरायल तथा हमासबीच समानता नभएको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि उक्त प्रकरणलाई लाजमर्दो बताउँदै त्यसमा आईसीसीको कार्यक्षेत्र नरहने बताएका छन् । तर सो निर्णयलाई फ्रान्सले भने आईसीसीको समर्थन गरेको छ। फ्रान्स लामो समयदेखि पश्चिमी खेमामा रहेको भए पनि यसपालि भने फरक धारमा उभिएको छ। इजरायली सांसदहरूले पनि आईसीसीका अभियोजकको पछिल्लो भनाइको आलोचना गरेका छन् । हमासले समेत उक्त विषयको विरोध गरेको छ।अन्तर्राष्ट्रिय कानुनका विज्ञले भने आईसीसीको तयारीको समर्थन गरेका छन्। ह्युमन राइट्स वाचले आईसीसीको तयारीको सराहना गरेको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक विज्ञप्ति जारी गरी आईसीसीको तयारीले गाजा क्षेत्रको अवस्थामा अझ असर गर्ने भन्दै आलोचना गरेका छन्। आईसीसीका अभियोजक करिम खानले यो विषयको सबैभन्दा पहिला खुलासा गरेपछि विश्वव्यापी रूपमा तरंग उत्पन्न भएको हो।इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आईसीसीको पछिल्लो तयारी अस्वीकार्य रहेको जनाएका छन्। नाकाबन्दीको सम्भावना यसैबीच, अमेरिकी संसद्‌ले आईसीसीविरुद्ध नाकाबन्दी लगाउन सकिनेसम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको छ। आईसीसी अभियोजकको पछिल्लो वक्तव्यपछि हाउस रिपब्लिकनका नेताहरूले यस्तो तयारी गरेको जनाइएको छ। तर, के गर्ने भन्ने बारेमा अन्तिम टुंगो लगाउन बाँकी छ । सीएनएनबाट ।

इब्राहिमको सम्झनामा इरानमा ५ दिने राष्ट्रिय शोक, २८ जुनमा राष्ट्रपति निर्वाचन

काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका राष्ट्रपति इब्राहिम रायसीको सम्मान तथा सम्झनामा इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि सोमबार भएको थियो । लगत्तै इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार अब २८ जुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन तय गरिएको छ । यसैबीच इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रुपमा सत्ता सम्हालेका छन्। इरानको मन्त्रिपरिषद्ले उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेशमन्त्री नियुक्तमा गरेको छ।