बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताएका हुन् ।
“पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।”
सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशव्यापी रूपमा सडक सञ्जालको बिस्तार भएसँगै आगामी दिनमा गुणस्तरता एवं दिगोपनलाई विशेष प्राथमिकता दिने बताए।

यातातायात सेवालाई सहज तुल्याउनेगरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए। उनले यातायात पूर्वाधारले बहुराष्ट्रिय कम्पनिबाट उत्पादित वस्तुहरू दूरदराजमा पुर्याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे।
‘देशभित्रै सम्भव छ, गरे सकिन्छ’
प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।
“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”

पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए।
“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”

सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए।
“काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको छ ।”
अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उनले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे।

“सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,” प्रधानमन्त्रीले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”
सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो
काडमाडौं। वर्ल्डलिङ्क कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका वभिन्न आठ वटा रिट खारेज भएका छन्। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा.नहकुल सुबेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दावी अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ। यो फैसलासँगै सरकारलाई रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असरउपर गर्ने बाटो असुलीको बाटो खुलेको छ । महालेखापरीक्षकले आर्थिक वर्ष २०७२र०७३ को वार्षिक प्रतिवेदन देखि हरेक वर्ष निरन्तर रुपमा इन्टरनेट सेवा प्रदायकहरुले नेपाल सरकारलाई तिर्नु बुुझाउनुपर्ने रोयल्टी राजश्व नेपाल सरकारलाई प्राप्त नभएकाले कानुन बमोजिम असुलउपर गर्नुपर्ने बेरुजु भनी औंल्याउँदै आएको थियो। सोही विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष गरेको अनुसन्धानबाट वल्र्डलिङ्क लगायत सेवा प्रदायकले कर छली गरेको खुलासा भएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालयको नेतृत्व लिएपछि इन्टरनेट सेवा प्रदायकहरुले कर छली गरेको विषयमा अनुसन्धान गर्न सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति गठन गर्नुभएको थियो । समितिले आर्थिक वर्ष २०६९/७० देखि आव २०७८र७९ सम्मको अवधिमा कूल एघार वटा इन्टरनेट सेवा प्रदायकहरुले बुझाएको रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्कको विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा वल्र्डलिङ्क कम्युनिकेसन लगायत नौ वटा इन्टरनेट सेवा प्रदायकले करिव दुई अर्ब ४६ करोड रकम नेपाल सरकारलाई बुझाउन बाँकी रहेको तथा अदालतमा विचाराधीन मुद्दामा रहेको थप २७ करोड ३३ लाख रकमसमेत असुल गर्न बाँकी रहेको उल्लेख थियो। यो प्रतिवेदनका आधारमा रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्क असुल गर्न मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई अध्ययन गर्ने जिम्मा दिएको थियो । चार्टर्ड एकाउन्टेन्टले समेत केही इन्टरनेट सेवा प्रदायकहरुले नेपाल सरकारलाई रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क तिर्न बुझाउन बाँकी रहेको भनी रकमसमेत खुलाई प्रतिवेदन पेश गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार नौ वटा इन्टरनेट सेवा प्रदायकबाट रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत कूल तीन अर्ब ६४ करोड रकम असुल गर्न बाँकी रहेको छ । जसअनुसार वल्र्डलिङ्क कम्युनिकेसनले १ अर्ब ९६ करोडभन्दा बढी तिर्न बाँकी छ । त्यसैगरी भायानेट कम्युनिकेसनबाट ४१ करोड भन्दा बढी, सुविसुबाट ३३ करोडभन्दा बढी, क्लासिक टेकबाट ३१ करोडभन्दा बढी, टेकमाइण्डबाट ३० करोड भन्दा बढी, वेफसर्फरबाट १२ करोडभन्दा बढी, मर्कन्टायलबाट १० करोडभन्दा बढी, पोखरा इन्टरनेटको ४ करोड भन्दा बढी र नेटम्याक्सबाट २ करोडभन्दा बढी रकम असुल गर्न बाँकी रहेको छ । दूरसञ्चार निमयमावली, २०५४ को नियम २६ अनुसार दूरसञ्चार सेवा प्रदायकहरुले वार्षिक कूल आम्दानीको ४ प्रतिशत रोयल्टी राजश्व वापत नेपाल सरकारलाई बुुझाउनपुर्ने तथा दूरसञ्चार ऐन २०५३ को दफा ३० बमोजिम वार्षिक आयको २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । दूरसञ्चार निमयमावली, २०५४ को नियम २६ मा ‘वार्षिक कूल आम्दानी’ भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि करलगायत अन्य अप्रत्यक्ष कर तथा दूरसञ्चार सम्बन्धी उपकण विक्री गर्दा प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदान गरे वापत अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको आम्दानीलाई जनाउँछ भनी स्पष्ट गरिएको छ। सोही बमोजिम महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा रोयल्टी राजश्व असुलउपर गर्न बेरुजु औंल्याइएको थियो। अदालतको फैसलासँगै राज्यकोषको अर्बौं रकम सुरक्षित भएको छ। यसबाट तत्काल पौने चार अर्ब रोयल्टी राजश्व र दूरसञ्चार विकास शुल्क प्राप्त हुने भए पनि दीर्घकालीन रुपमा राज्यको बीसौं अर्ब रकम सुरक्षित भएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ। स्रोतका अनुसार यदि अदालतको फैसला सेवा प्रदायकको पक्षमा भएको भए अन्य सेवा प्रदायकले भुक्तान गरिसकेको अर्बौं रकम पनि फिर्ता गर्नुपर्ने हुन्थ्यो।
सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ।सत्तासाझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आइतबार मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जसपा, नेपालले पनि केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको हो। उक्त पार्टीले सोमबार (भोलि) केन्द्रीय समितिको बैठक बोलाइएको छ। सोही बैठकमा सरकारबाट बाहिरिने निर्णय लिइने एक नेताले बताएका छन्। जसपा, नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री र दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री छन्।जसपा, नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने विभाजित पार्टी जसपामा आबद्ध भएका छन्।बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे निर्णय लिनेछ ।
त्रिविको जग्गा व्यवस्थापन गर्न उच्चस्तरीय समिति बन्ने
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी गरेको छ । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले समितिका लागि टिओआर (कार्य जिम्मेवारी) तयार भैरहेको जानकारी दिइन् । उनले भनिन्, “त्रिविको सबै जग्गा छानबिन वा अध्ययन गरौँ भन्न समय सीमाका कारण सम्भव हुँदैन । त्यसैले निश्चित ठाउँमा केन्द्रित भई तीन महिने अवधि दिएर कामका लागि प्रस्ताव तयार गर्दै छौँ ।” त्रिविको शैक्षिक पात्रोका लागि विद्यार्थी सङ्घ/सङ्गठनसँग छलफल भएको बताउँदै मन्त्री श्रेष्ठले शैक्षिक पात्रो बनाउने मुख्य भूमिका प्रशासन र कर्मचारी सङ्गठन भएको भन्दै सोका लागि सबैको एउटै धारणा हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “जबसम्म दलगत रूपमा रहेका प्रशासन र कर्मचारी सङ्गठनको निचोट एउटै आउँदैन, तबसम्म शैक्षिक पात्रोले पूर्णता पाउँदैन। एउटा कर्मचारी सरुवा गर्दा पनि आन्दोलन गर्ने, धम्की दिने तथा काम गर्नेलाई पनि धम्की दिने काम भइरहेको छ, यो अन्त्य हुनुपर्छ ।” त्रिविमा पटक-पटक तालाबन्दीलगायत समस्या राजनीतिक हस्तक्षेपका कारण आएको भन्दै यसको समाधानका लागि राजनीतिक दलका शीर्ष नेतासँग नै छलफल गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । विश्वविद्यालयलाई राजनीतिकरण नगर्न उनले आग्रह गरिन्। बङ्गलादेशको छात्रवृत्तिका विषयमा मन्त्री श्रेष्ठले दुई देशबिचको सम्बन्धको विषय भएकाले कूटनीतिक रूपमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले विदेशी विश्वविद्यालयको अनुमतिका लागि समिति बनाएर नीतिगत कमजोरी के हो भन्नेबारेमा बुझ्न लगाइएको जानकारी दिइन् । बैठकमा त्रिवि सेवा आयोगको सदस्य नियुक्ति प्रक्रिया अगाडि बढिसकेको मन्त्री श्रेष्ठले जानकारी दिइन् । शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। छलफलमा त्रिवि पदाधिकारीले यसको जग्गा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मल, गुठी, अस्पताल, पार्कका नाममा प्रयोग भइरहेको र फिर्ता ल्याउन नसकिएको विवरण प्रस्तुत गरे। तीन हजार ७०३ रोपनीमध्ये दुई हजार रोपनीभन्दा बढी जग्गा अरू निकायले ओगटेको विवरण बैठकमा प्रस्तुत गएिको थियो । यसरी प्रयोग गरिएका अधिकांश जग्गामा सरकारी कार्यालय छन् । केही निजी र संस्थानका कार्यालय र बसपार्क समेत राखिएको छ ।त्रिविलाई अहिले नैकापमा रहेको आफ्नो नामको जग्गा फिर्ता ल्याउन सबैभन्दा गाह्रो भइरहेको त्रिवि पदाधिकारीले जानकारी दिए । त्रिविका रजिस्ट्रार केदार रिजालका अनुसार, गणतन्त्र पार्कले ६० रोपनी, कृषि बागवानीले २८१ रोपनी, ल्याब्रोटरी स्कुलले १०८ रोपनी जग्गा ओगटेका छन् । यस्तै, खानेपानी संस्थान, आयुर्वेद अस्पताल, कीर्तिपुर आँखा अस्पताल, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर र ललितपुरस्थित लबिम मल रहेका जग्गा समेत त्रिविकै नाममा छ । लबिम मलले नियमित भाडा बुझाइरहेको छ । वर्ल्ड ट्रेड सेन्टरले चार करोड २६ लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको रिजालले जानकारी दिए।बैठकमा अतिक्रमित सबै जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन समितिले शिक्षा मन्त्रालय र त्रिवि दुवैलाई निर्देशन दिएको छ ।
माओवादीले दिएको समर्थन फिर्ता, मधेस सरकार अल्पमतमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार मधेस सरकारमा सहभागी माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएपछि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।यससँगै मधेस सरकार अल्पमतमा परेको छ । मधेस प्रदेशसभाका १०७ सदस्यहरूमध्ये सरकार बनाउन ५४ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । पछिल्लोपटक ६१ प्रदेशसभा सदस्यहरूको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा माओवादी केन्द्रका ९ प्रदेशसभा सदस्य छन् । आइतबार मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा बुझाएका थिए। साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न अस्वीकार गर्दै आएका थिए । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए।
सभामुख-सचेतकको छलफल निष्कर्षविहीन
काठमाडौं । सदनको गतिरोध खुलाउनेलगायतको विषयमा सभामुख प्रमुख सचेतक र सचेतकबीचको छलफल विनानिष्कर्ष टुंगिएको छैन। सभामुख देवराज घिमिरेले मंगलबार संयुक्त सदनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए।
नीति तथा कार्यक्रम तयारी सम्बन्धमा सभामुखको कार्यकक्षमा छलफल
काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीको विषयमा सिंहदरबारमा छलफल गरेका छन्। सभामुख कार्यकक्षमा भएको छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पद्म गिरीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतक सहभागी छन्। दिउँसो २ बजेका लागि बोलाइएको छलफल जारी रहेको सभामुख घिमिरेको निजी सचिवालयले जनाएको छ। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
चैतसम्मको आर्थिक अवस्था नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
काठमाडौं। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरू सुधारोन्मुख देखिएका हुन्। राष्ट्र बैङ्कका अनुसार चैतमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो। चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव १४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२ दशमलव ६४, तरकारीको १६ दशमलव ९९, दाल तथा गेडागुडीको १० दशमलव ९४, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ५९ प्रतिशत र गैर मदिराजन्य पेय पदार्थको छ दशमलव ०६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १० दशमलव १० प्रतिशतले घटेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्यसूचकाङ्क १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२ दशमलव ६१ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क शून्य दशमलव ३३ प्रतिशतले घटेको छ। गत चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ०६, तराईको चार दशमलव ५८, पहाडको पाँच दशमलव ३३ प्रतिशत र हिमालको चार दशमलव ३२ प्रतिशत रहेको छ। राष्ट्र बैङ्कका अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख २९ हजार चार सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ। चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ। वि.सं.२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ। चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। यो अवधिमा सरकारको कुल खर्च नौ खर्ब नौ अर्ब ३९ करोड र राजस्व परिचालन सात खर्ब ४८ अर्ब चार करोड रुपियाँ रहेको छ। त्यसैगगरी, विस्तृत मुद्राप्रदाय सात दशमलव पाँच प्रतिशतले बढेको छ। चैतमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव दुई प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव नौ प्रतिशत छ। तेस्रो त्रैमासिक अवधिसम्ममा आयात दुई दशमलव आठ, निर्यात तीन दशमलव सात र कुल वस्तु व्यापार घाटा दुई दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ। रासस
‘नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन’
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन्। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे।आइतबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सोमबार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए। उनले भने, ‘‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगेपनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’’ यता, प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन सकारात्मक रहेको प्रतिक्रिया दिए।
नर्सहरूको सेवा–सुविधा सुधार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन्।चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताए। “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए। “नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।” नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए। उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताए।
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएकाे छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेताहरूबीचको बैठकमा सहकारी प्रकरणको अनुसन्धान समिति बनाउन सकारात्मक भएको नेताहरूले बताएका हुन्। छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताए। उनले भने, 'हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो। हामीले आफ्ना कुरा राखेका छौँ। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ। सकारात्मक कुरा नै छ। हामीले हाम्रो कुरालाई यथावत् राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ। भोलि हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौँ।' प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए ।
राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ। नेपालले दिएको राजीनामा राष्ट्रपतिले आइतबार स्वीकृत गरेका कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए। यस विषयमा राष्ट्रपति स्वयंले बोलाएर उनीसँग सोधपुछ गरेका थिए।
सभामुखद्धारा कानुन मन्त्रीसहित प्रमुख दलहरूको बैठक आह्वान
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलसहितको बैठक आह्वान गरेका छन्। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार दिउँसो २ बजे बस्नेगरी उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलको बैठक बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख दलका प्रमुख सचेतक, सचेतकसहितको बैठक बोलाएका हुन्। सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।
कामिरिताले तोडे आफ्नै रेकर्ड, चुमे २९औँ पटक सगरमाथाको चुचुरो
काठमाडौं । कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। उनले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखर पुगेका थिए। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थालेका थिए। ५४ वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसकेका छन्।
संसद सञ्चालनको प्रयास : कांग्रेस नेताहरुसँग छलफलमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल सुरु गरेका हुन् । संसदमा जारी अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । नेपाली कांग्रेसले बजेट अधिवेशन सुरु भएको दिन शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो ।सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा सत्ता पक्ष सहमत नहुँदा संसद चल्न सकेको छैन । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहँदा छानबिन समिति गठनमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि प्रधानमन्त्रीले समस्याको समाधान खोज्ने प्रयास गरेका हुन् ।
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।हिजोदेखि जारी बैठकमा आज बोल्न बाँकी रहेका नेताहरूले धारणा राख्नेछन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ। पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हिजोको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा धारणा राखेका थिए। यस्तै, महासचिव घनश्याम भुसालले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए। यसैबीच, स्थायी कमिटी बैठक पछि आजै साँझ पोलिटब्यूरो बैठक पनि बोलाइएको छ।

