गोदावरीमा नेकपाको हीरक महोत्सव : गएनन् मावध नेपाल
काठमाडौं । नेकपा स्थापनाको अवसरमा हीरक महोत्सवमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोह जारी छ। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो।
समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा उपस्थित छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा(माले)का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी छन्।
नेकपा एसका अध्यक्ष माधव नेपाल भने गएका छैनन्।कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’पदकबाट सम्मानित गरिएको छ।

कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा
काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकतामा जानैपर्छ : प्रधानमन्त्री प्रचण्ड
ललितपुर। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्। सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’ कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’ प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए। उनले भने, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’ प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए।उनले भने, ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’
नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए। “उहाँको ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको छ।” दिवंगत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये एक भएको स्मरण गरे। चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिस्ट पार्टीको गठनपश्चात मजदुर सङ्गठन स्थापना गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। उनले मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गर्नुभएको बताए। निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्मचार्याले समन्वय र समझदारीका लागि सदा प्रयत्नशील रहनु भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताए।
गण्डकी सरकारको वैधानिकताबारे मुद्दा : पूर्ण पेसी आज
पोखरा।गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ।गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए। रिटबारे सुनुवाइ गर्दै न्यायाधीश शर्माले वैशाख ७ गतेभित्र लिखित रूपमा कारण पेस गर्न अन्तरिम आदेश दिएका थिए।मुख्यमन्त्री कार्यालयको तर्फबाट लिखित जवाफ पठाइसकिएको मुख्य न्यायाधिवक्ता कृष्ण अधिकारीले जानकारी दिएको छ। सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्ति दिएका हुन्। निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दिए। पूर्वमुख्यमन्त्री पाण्डेले सभामुखलाई सरकारको जोड घटाउमा सामेल गर्न नमिल्ने बताउँदै आएका छन् भने मुख्यमन्त्री अधिकारीले दलको सङ्ख्याका आधारमा सरकारमा दाबी गर्न पाइने बताएका छन्। नयाँ मन्त्रिपरिषद्ले संसद् बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेर आयोजित प्रदेशसभाको बैठक कांग्रेस र राप्रपाको बहिष्कारका कारण चल्न सकेन। प्रतिपक्षीले बहिष्कार गरेपछि बैठक प्रदेश प्रमुख कार्यालयबाट आएको पत्र पढेर सुनाइएको थियो । मुद्दाबारे आजबाट सुनुवाई हुने भएपछि कांग्रेस गण्डकी प्रदेशका सांसदहरु काठमाडौं आएका छन् ।
समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन् अपिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेका हुन् । पछिल्लो समय वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका बताउँदै प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ विश्वास समेत व्यक्त गरेका छन् । कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । यस्तो छ प्रधानमन्त्री प्रचण्डद्धारा व्यक्त शुभकामना
आज हिरक जयन्ती मनाउँदै एमाले,शीर्ष नेताहरू सहभागी हुने
काठमाडौँ। नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सव मनाउँदै छ । पार्टी स्थापनाको ७५औँ वर्षको अवसरमा एमालेले हिरक महोत्सव मनाउन लागेको हो । एमालेले हिरक महोत्सवमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगात विभिन्न दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरेको छ। हिरक महोत्सवको अवसरमा एमालेले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्न लागेको छ। शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकलो पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान गर्ने निर्णय गरेको थियो ।कार्यक्रम दिउसो १२ बजे ललितपुर गोदावरीमा हुनेछ ।
सूचना प्रविधि क्षेत्रमा निर्वाध लगानी गर्न मन्त्री शर्माको आह्वान
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त मुलुक भएकाले यस क्षेत्र लगानी भित्र्याउन लगानीकर्ताहरुलाई आह्वान गरेकी छिन् । एशिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका सूचना प्रवधि उद्योग सञ्चालकहरुको संस्था एशिया प्यासिफिक आइसिटी अलाइन्स (एपिक्टा)का पदाधिकारीहरुसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आह्वान गरेका हुन् । ‘आगामी वैशाख १६ र १७ गते काठमाडौँमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । यो लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने गरी तयार अगाडि बढाइएको छ र सोका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारहरु समेत भइरहेका छन्’– मन्त्री शर्माले भनिन्– ‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज हामी विच उपस्थित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिहरुलाई सूचना प्रविधिको क्षेत्रमा विना हिच्किचाहट लगानी भित्र्याउन र र आफ्नो संघसंस्था मार्फत आवश्यक पहल गर्न अनुरोध गर्दछु ।’ यसका लागि नेपाल सरकार आवश्यक सहजीकरण गर्न एवं विश्वासको वातावरण निर्माण गर्न तयार रहेको जानकारी गराउँदै उनले सूचना प्रविधिको विकास, विस्तार, प्रयोग र लगानीका सम्वन्धमा विभिन्न देशका प्रतिनिधहरुको अनुभव आदानप्रदानले नेपाल सरकार र निजी क्षेत्रलाई समेत सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन्। सूचना प्रविधियुक्त राष्ट्र निर्माण गर्ने सोचका साथ आमसञ्चार, दूरसञ्चार तथा सूचना प्रविधिमा सबै नागरिकको पहुँच तथा उच्चतम उपयोग सुनिश्चित गरी आम नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सूचना प्रविधि क्षेत्रको विषेश महत्व रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकाससँगै नेपाल सरकारले पनि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिंदै आएको छ। फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ । हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रूपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको सञ्चालन व्यवस्थापन गरिरहेका छन् ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवोर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिंदै उहाँले डिजिटल फाउन्डेसनका डिजिटल सार्वजनिक पूर्वाधारहरुलाई सुरक्षित र अन्तक्र्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई बृद्धि गरी सुशासन र विकासमा टेवा पुर्याउने सरकारको लक्ष्य रहेको बताइन्। प्रविधि र प्रणालीहरुको सुरक्षित र जवाफदेही प्रयोग तथा डिजिटल इकोसिष्टम निर्माणका लागि आवश्यक कानूनहरु सूचना प्रविधि तथा साइवर सूरक्षा विद्येयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्वन्धि विद्येयक निर्माणलाई तिव्रता दिइएको जानकारी दिंदै उनले विश्व अर्थतन्त्र नै सिथिल भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै सूचना प्रविधिमैत्री संरचना र सोही बमोजिम दक्ष जनशक्ति व्यवस्थापन गर्न सके सुशासन र आर्थिक समृद्धि हाँसिल गर्न सकिने सरकारको वुझाइ रहेको बताइन्। प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको उल्लेख गर्दै उनले युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र बिना अवरोध स्वतन्त्र रूपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरिन्। हाल देशभर दुरसंचार सेवाको पहुँच पुगेको, सबै स्थानीय तहका वडा कार्यालयसम्म ब्रोडव्याण्ड ईन्टरनेट सेवाको पहुँच पुगेको जानकारी दिंदै मन्त्री शर्माले शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रमा समेत सूचना प्रविधिको प्रयोगमा वढोत्तरी भएको स्पष्ट गरे। नेपाल जस्तो भूपरिबेष्ठित देशले सूचना प्रविधि उद्योग मार्फत रोजगारी श्रृजनाको साथै निर्यात प्रवर्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ र विकसित गर्नसक्ने विश्वास पनि उनले व्यक्त गरिन्। यसका लागि देशभर गुणस्तरीय पूर्वाधार पुर्याउने, स्टार्टअपको प्रवर्धनका लागि इन्कुबेशन र एक्सलेरेसनको कार्यक्रम संचालन गर्ने, सूचना प्रविधि उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सूचना प्रविधि प्रर्दशनी गर्ने,सूचना प्रविधि उद्योगलाई एकै थलोबाट सञ्चालन गर्न आइटी पार्क, सूचना प्रविधि हब जस्ता अवधारणालाई अघि बढाउने सरकारको योजना रहेको पनि मन्त्री शर्माले स्पष्ट गरिन्।
विपिनलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री
महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे। “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे। “अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”
कतारका अमिर शेखको नेपाल भ्रमणः ९ वटा सम्झौताको तयारी
काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने निश्चित भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको छ । मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका हुन् । उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने बताइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् भने कतारबाट सरकारी टोली नेपाल आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ । यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान पनि भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुनेछ । यसैगरी, कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । यस्तै, कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । सम्झौतामा कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी) मार्फत आउने बताइएको छ । नेपालमा अहिलेसम्म यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुनेछ । सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने मन्त्रालयले विश्वास गरेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणको अवसरमा सम्झताका लागि विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ । यस्तै केही श्रम सम्झौता पनि हुने बताइएको छ । कतारका अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेपनि अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।
विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छः प्रधानमन्त्री
महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताए । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए । “युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।” विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उनले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्याएको योगदान प्रशंसनीय छ ।” प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताउँदै उनले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गरे । ‘राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग रहन्छ’ प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए । “यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेका छन् ।” उनले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयको प्राज्ञिक स्तर सुधार्नु छ’ प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने बताए । उनले सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा जोड दिए । “विश्वविद्यालयको प्राज्ञिक स्तर उकास्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एकापसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ,” प्रधामन्त्री प्रचण्डले भने, “विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।” विश्वविद्यालयको नेतृत्वले भौतिक एवं शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै एउटा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याए । ‘पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ’ प्रधानमन्त्री प्रचण्डले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताए । उनले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे । “अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”
ओलीको स्वास्थ्यमा समस्या भएपछि परिषद बैठकमा अनुपस्थित, समापन पोखरेलले गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अनुपस्थित भएका छन् । उनी बैठकमा नगएपछि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक चलिरहेको छ । आफुलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने समेत जानकारी गराएका थिए । ओली आज भने गोदावरी नै गएका छैनन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष ओलीले निवासमै आराम गरिरहेको जानकारी दिए । अध्यक्ष ओलीले गोदावरीमा जारी बैठकको समापन वरिष्ठ उपाध्यक्ष पोखरेलबाटै हुने सूचना पनि पठाएका छन् । तर, भोलिको हिरक उत्सवमा भने अध्यक्ष ओली गोदावरी जाने तय भएको छ । एमालेले गोदावरीको सनराइज हलमै भोलि प्रधानमन्त्री सहित अरु पार्टीका प्रमुखहरुलाई समेत बक्ता बनाएर कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष उत्सव मनाउँदैछ ।
सत्ता समीकरण वामपन्थीबीच एकताका गर्न बनाइएको होइन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबीच तत्काल एकताको सम्भावना नभएको बताएका छन्। आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन्। ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन्। त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौं। राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ’, उनले भने, ‘त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ । जे भए पनि अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ।’ यस्तै, उनले सरकारको नीति तथा कार्यक्रम, बजेट परम्परागत भन्दा फरक तरिकाले ल्याउने प्रयास गरिरहेको बताए । बजेटलाई विगतको भन्दा वैज्ञानिक, वस्तुवादी बनाउने, जनवादी बनाउने किसिमले तयारी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
रिटर्नी नेपालको अध्यक्षमा सम्वाहाङ्फे, महासचिवमा भट्टराई
काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे र महासचिवमा घनश्याम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष चुनिएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट पाए। चितवनमा आयोजित प्रथम महाधिवेशन माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले गत चैत ८ गते उद्घाटन गरेका थिए।महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो।तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख ८ गते (शनिबार)काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो। ७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन्। यसैगरी, महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् । यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये चार सचिव चुनिएका छन् । बाँकी ३ सचिवको भने टुंगो लागेको छैन । कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ । अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी र सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताए । ‘प्रदेश कमिटीले सिफारिस गर्ने र चुनाव गर्ने भन्ने हो तर बागमती, गण्डकी र सुदूरपश्चिममा सचिवका आकांक्षीहरु धेरै भएपछि प्रदेश कमिटीले सिफारिस नै गरेन,’ अध्यक्ष सम्वाहाङ्फेले भने, ‘अब प्रदेशले आवश्यक निर्णय गर्छ ।’ वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको हो । यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो। आफूहरुले ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको र १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको अध्यक्ष सम्वाहाङ्फेले बताए।
अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित
वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो। सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन्।यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन्। विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ । यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ ।गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ ।
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिदै
काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ । शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।

