क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ: प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुग्नुभएको छ। चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उहाँले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गर्नुभयो।
संयोजक प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो। “सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार रुकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ। “यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,” प्रचण्डले भन्नुभयो। रुकुमपूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको उल्लेख गर्दै उहाँले त्यसले ठूलो जिम्मेवारीको अनुभूति गराएको बताउनुभयो। अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै संयोजक प्रचण्डले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गर्नुभयो। “देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुमपूर्व आएको हुँ। यहाँबाट जाने सन्देश देशकै लागि महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो।
जनयुद्धको आधारभूमिमा आएर जनयुद्ध दिवस मनाइएको र त्यसको स्मरणमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान गरी प्रमाणपत्र वितरण गरिएको जानकारी दिँदै उहाँले देशभरिका सहिद परिवार, बेपत्ता परिवार तथा घाइते–अपाङ्गहरू यसबाट उत्साहित भएको बताउनुभयो।
रुकुमपूर्व जनयुद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएको १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक स्थल रहेको उल्लेख गर्दै उहाँले यहाँको सामुदायिक जीवनशैली र परम्पराले नेपाली मौलिकतामा आधारित समाजवाद निर्माण सम्भव रहेको धारणा राख्नुभयो। “समाजवाद बाहिरबाट आयात गर्ने होइन, नेपाली संस्कृति र मौलिकताबाटै निर्माण गर्ने हो। त्यो सम्भावना यहाँबाट देखिन्छ,” उहाँले जोड दिनुभयो।
जनताको सपना, हिमाल शर्माको प्रतिबद्धता: काठमाडौँ–६ बाट परिवर्तनको बत्ती बल्दै
काठमाडौं। काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधि सभा उम्मेदवार हिमाल शर्मा आफ्नो बाँकी जीवन देश, जनता र क्षेत्रको समग्र विकासका लागि समर्पित गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा सक्रिय भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा शर्मा मतदातासँगको प्रत्यक्ष संवाद, घरदैलो, र अन्तरक्रिया कार्यक्रममा जुटिरहेका छन्। तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा आयोजित घरदैलो कार्यक्रममा शर्मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, सामाजिक न्याय र समृद्धिको वाचा गरे। उनले भने, “अब जनताको फैसला अन्तिम हुन्छ। म हिजो जनयुद्धमा परिवर्तनका लागि लडेँ, राज्यदमनमा यातना भोगें। अरु केहि चाहिएको छैन। म केवल परिवर्तन, समृद्धि र विकास चाहन्छु। यस क्षेत्रको समृद्धि र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध छु। जनताको सपना पूरा नभएसम्म मेरो लडाइँ रोकिँदैन।” शर्माले आफ्नो जीवनको यात्रा र संघर्षलाई मात्र सम्झनासँग सीमित नगरी अब मतदानमार्फत जनताले विश्वासमाथि खेल्नेहरूको अन्त्य गर्ने अवसर आएको बताए। उनले जोड दिए, “समृद्धिको बाटो रोक्नेहरूलाई जनताले चिन्नेछन्। सम्झौता होइन, परिणाम खोज्ने बेला आएको छ। जनताको सपना रोक्नेहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन।” घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूले पनि शर्माप्रति विश्वास व्यक्त गरे। विष्णु महतले भनेकी छिन्, “क्षेत्रको विकास, राजनीतिक योगदान र संघर्षको आधारमा हिमाल शर्मा यस क्षेत्रका लागि सक्षम उम्मेदवार हुन्। आगामी निर्वाचनमा हामी उनलाई बहुमतले जिताउने वातावरण तयार गर्दैछौँ।” त्यस्तै, पशुपति मैनलीले मतदातामा राजनीतिक सचेतना बढाउने अभियान जारी रहेको उल्लेख गर्दै, “देशलाई स्थायित्व, शान्ति र विकासतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक छ। काठमाडौँ–६ का मतदाताले हिमाल शर्मालाई समर्थन गर्नेछन्,” भनिन्। स्थानीय विकास र पूर्वाधारमा जोड घरदैलो कार्यक्रमका क्रममा शर्मा स्थानीय मतदातासँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा छलफल गरे। उनले यस क्षेत्रका समस्याको समाधान र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनका अनुसार, विकास र समृद्धि केवल योजनामा सीमित नभई कार्यान्वयनमा देखिनुपर्छ, र यसका लागि समुदायसँग प्रत्यक्ष संवाद अपरिहार्य छ। निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारहरूसँग प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा शर्मा मतदातासँगको संवादलाई निरन्तरता दिँदै छन्। उनका घरदैलो कार्यक्रमहरूले मतदातामा प्रत्यक्ष पहुँच बढाउने मात्र होइन, युवापुस्तामा राजनीतिक सचेतना र सहभागिता पनि प्रवर्द्धन गर्दै छन्। को हुन् हिमाल शर्मा ? हिमाल शर्मा, जसलाई ‘जिउँदा सहिद’ को उपाधि दिइएको छ, युवा पुस्तामा शालिन, वैचारिक, बौद्धिक र बलियो नेतृत्वको प्रतीक मानिन्छ। उनले संघर्ष, प्रतिबद्धता र जनताको अधिकारका लागि अडिग भूमिका निर्वाह गर्दै आएका छन्। बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा जन्मेका शर्मा प्रारम्भिक जीवनदेखि सामाजिक न्याय, विद्यार्थी अधिकार र जनअधिकारका मुद्दामा सक्रिय थिए। परिवारिक परिवेशले उनको राजनीतिक चेतना र समाजसेवाको रुचिलाई थप बलियो बनाएको थियो। उनको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भयो। शर्मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का पूर्व महासचिव तथा केन्द्रीय अध्यक्ष हुन्। विद्यार्थी जीवनमा उनले शिक्षाको व्यापारीकरण विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका थिए र आम विद्यार्थीको हकहितको संरक्षणमा सक्रिय भूमिका निभाएका थिए। संगठनभित्र उनले युवा नेतृत्व हस्तान्तरणमा भूमिका खेले, जसले पार्टी र विद्यार्थी आन्दोलनमा नयाँ पुस्ताको सहभागिता मजबुत बनायो। जनयुद्धकालीन संघर्ष र राज्यदमन हिमाल शर्मा माओवादी जनयुद्धमा सक्रिय सहभागी बने। युद्ध कमाण्डरको रूपमा देशका विभिन्न क्षेत्रमा परिवर्तनको विगुल फुक्दै जीवन जोखिममा राखेका उनले पार्टीको नीति अनुसार काठमाडौं उपत्यका लगायतका क्षेत्रमा संगठन विस्तार र युवा मोर्चा संचालनमा योगदान दिए। २०६० कात्तिक ४ गते तत्कालीन संकटकालमा उनलाई काठमाडौं असनबाट सुरक्षा निकायले पक्राउ गर्यो। लगभग ५०० दिनसम्म भैरवनाथ गणमा हिरासतमा राखिँदा चरम शारीरिक र मानसिक यातना भोग्नु परेको थियो। यो घटनाले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा पनि ध्यानाकर्षण गराएको थियो। २०६२ मंसिरमा सर्वोच्च अदालतले हिरासत गैरकानुनी ठहर गर्दै रिहा गर्न आदेश दियो। शर्मा शान्ति प्रक्रियापछि मात्र सार्वजनिक जीवनमा फर्किए। शान्ति प्रक्रिया र पार्टी योगदान शान्ति प्रक्रियापछि शर्मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य बने। पार्टी भित्र एमसीसी, पार्टी एकता, सुशासन र युवा नेतृत्वका मुद्दामा सक्रिय भूमिका निभाए। उनले विभिन्न निर्वाचनहरूमा पार्टी प्रतिनिधित्व र चुनावी कमाण्डरको रूपमा अनुभव हासिल गरे। काठमाडौँको राजनीति क्षेत्रमा लामो समयदेखि आफ्नो प्रभाव स्थापित गर्दै उनले पार्टी योगदान, संघर्ष र नेतृत्व अनुभवको आधारमा बलियो छवि बनाएका छन्। हाल उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध छन् र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–६ बाट उम्मेदवारी दर्ता गरेका छन्। उनको चुनावी चिन्ह ‘तारा’ रहेको छ। चुनावी एजेन्डा र प्रतिबद्धता हिमाल शर्माको चुनावी एजेन्डामा मुख्य रूपमा युवा प्रतिनिधित्व, सुशासन, पूर्वाधार विकास, रोजगार सिर्जना, शिक्षा र स्वास्थ्य सुधार समावेश छन्। शर्मा उम्मेदवारी व्यक्तिगत पदको लागि नभई जनताको सेवा र राजनीतिक प्रतिबद्धतासँगै नयाँ पुस्ताले चाहेको शासनव्यवस्थाको लागि भएको बताएका छन्। उनी भ्रष्टाचार, कालोबजारी र घुसपैठको अन्त्य, बेरोजगारीको समाधान, निशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न, सहिदहरूको सपना साकार पार्न, देशको संविधान, लोकतन्त्र, राष्ट्रियता र स्वाधीनता रक्षाका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन्। युवा नेतृत्व र भविष्यको प्रतिबद्धता हिमाल शर्माको जीवन र राजनीतिक यात्रा विद्यार्थी नेतृत्व, जनयुद्धकालीन संघर्ष, पार्टी भूमिका, शान्ति प्रक्रिया योगदान र समाजसेवा र युवा नेतृत्वमा आधारित छ। उनी युवा पुस्तामा प्रभावशाली नेतृत्वको प्रतीक मानिन्छन्। आगामी निर्वाचनमा उनी अनुभव, पार्टी योगदान र स्थानीय जनताको विश्वास लिएर चुनावी मैदानमा छन्। शर्माको अभियान केवल चुनाव जित्ने लक्ष्यमा सीमित छैन। उनले विश्वास दिलाएका छन् कि जनताको सपना पूरा नभएसम्म, क्षेत्रको समृद्धि र विकास पूरा नभएसम्म उनको लडाइँ रोकिँदैन। तारकेश्वर–२ र काभ्रेस्थली क्षेत्रका मतदाताले यस सन्देशलाई स्वागत गर्दै, हिमाल शर्माको नेतृत्वमा आफ्नो क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्ने आशा व्यक्त गरेका छन्। शर्मा केवल राजनीतिमा होइन, संघर्ष र प्रतिबद्धतामा पनि युवापुस्ताका लागि प्रेरणास्त्रोत बनेका छन्।
राष्ट्रिय संकटको घडीमा लोकतन्त्र, स्थायित्व र समृद्धिको नेतृत्व लिन नेकपा तयार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश जटिल, संवेदनशील र ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध भविष्य निर्माणका लागि आफ्नो पार्टी नै सक्षम, जिम्मेवार र विश्वसनीय शक्ति भएको स्पष्ट गरेको छ । पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले वर्तमान राष्ट्रिय परिस्थितिमा स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रको मजबुतीका लागि अनिवार्य रहेको बताउनुभयो । उहाँले देशलाई संकटबाट बाहिर निकाल्दै स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। कठिन परिस्थितिमा पनि निर्वाचनको पक्षमा दृढ अडान पत्रकार सम्मेलनमा जारी वक्तव्यमा देश जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै युवापुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन पार्टीले जिम्मेवार र इमानदार भूमिका खेलेको बताइएको छ । सरकारले निर्वाचन घोषणा गरेपछि केही राजनीतिक शक्तिहरूले निर्वाचनको विरोध गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको अवस्थामा पनि आफ्नो पार्टीले संविधान र जनमतको सम्मान गर्दै निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट र दृढ अडान लिएको वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीले अहिलेको अवस्था आफ्नो निर्णयको सही मूल्यांकन भएको प्रमाण भएको बताउँदै लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि आफ्नो भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको जनाएको छ । संघर्ष, स्पष्ट विचार र कार्ययोजनाले जनविश्वास सुदृढ पार्टीले विगतदेखि नै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै संघर्ष, विचार र स्पष्ट कार्यदिशासहित अघि बढेको उल्लेख गरेको छ । पार्टीले आफ्ना कमी–कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै सुधारका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेको र यही कारण देशभर पार्टीप्रति जनविश्वास तीव्र रूपमा बढिरहेको दाबी गरेको छ । पार्टीको नेतृत्वमा भएको बलिदानीपूर्ण संघर्ष र नेपाली जनताको ऐतिहासिक आन्दोलनहरूको परिणामस्वरूप संविधान जारी भएको स्मरण गराउँदै त्यसपछि शासकीय सुधार, निर्वाचन प्रणालीको सुदृढीकरण, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणका एजेन्डाहरूलाई निरन्तर अघि बढाइएको उल्लेख गरिएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक स्वावलम्बन र राष्ट्रिय समृद्धिको स्पष्ट दृष्टिकोणसहित पार्टीले अघि सारेका एजेन्डाहरू आज राष्ट्रिय सहमतिका साझा एजेन्डा बन्न सफल भएको पार्टीको दाबी छ । लोकतन्त्रविरोधी अतिवादको स्पष्ट र सशक्त विरोध पार्टीले वर्तमान अवस्थामा देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय संस्थाको सम्मान अपरिहार्य रहेको बताएको छ । एकातर्फ सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ जनभावनाको दुरुपयोग गर्दै राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार तथा सर्वोच्च अदालत जस्ता राष्ट्रिय संस्थामाथि आक्रमण गर्ने गतिविधि दुवै लोकतन्त्रका लागि गम्भीर खतरा भएको पार्टीको स्पष्ट धारणा रहेको छ । पार्टीले हिंसा, अराजकता र राजनीतिक स्वार्थका लागि गरिने कुनै पनि गतिविधिलाई अस्वीकार्य ठहर गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र राष्ट्रिय एकताको रक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ । सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको आग्रह पत्रकार सम्मेलनमा केही सीमित सञ्चारमाध्यमहरूले भ्रामक र तथ्यहीन सूचना प्रवाह गरी पार्टीको छवि कमजोर बनाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । पार्टीले पत्रकारिताको मूल्य, मर्यादा र नैतिकताको सम्मान गर्दै तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ । यस सन्दर्भमा नेपाल प्रेस काउन्सिललाई निर्वाचन आचारसंहिताको निष्पक्ष र प्रभावकारी अनुगमन गर्न तथा पत्रकारिताको मर्यादा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न अपील गरिएको छ । निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आयोगको भूमिकामा जोड पार्टीले वर्तमान संवेदनशील परिस्थितिमा निर्वाचन आयोगको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न आयोगले कडा निगरानी, स्पष्ट निर्णय र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । निर्वाचन प्रक्रियामाथि जनविश्वास कायम राख्न आयोगले कुनै पनि प्रकारको आचारसंहिता उल्लङ्घनलाई कडाइका साथ नियन्त्रण गर्दै सबै दलप्रति समान व्यवहार गर्नुपर्ने पार्टीको धारणा रहेको छ । पार्टीले आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दै लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ । विवेकपूर्ण निर्णयका लागि जनतालाई भावनात्मक र ऐतिहासिक आह्वान पार्टीले आफ्नो प्रतिबद्धता, योजना र दृष्टिकोण सार्वजनिक गरिसकेको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा आगामी निर्वाचनलाई ग्रहण गर्न आग्रह गरेको छ । जनतालाई सबै राजनीतिक दलहरूको विगत, वर्तमान भूमिका, विचारधारा, कार्यशैली र भविष्यको स्पष्ट दृष्टिकोणको गहिरो मूल्यांकन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ । इतिहासका उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्र, स्थायित्व, विकास र समृद्धिको पक्षमा उभिन पार्टीले सबै नागरिकलाई आह्वान गरेको छ ।
मोरङ-३ यस्ता छन् नेकपा उम्मेदवार डा. देउमान सम्वाहाङफेको एजेण्डा र प्रतिबद्धता
काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. देउमान सम्वाहाङफेले स्थानीय मुद्दाहरुलाई प्राथमिकतामा राखेर आफ्नो एजेन्डा तय गरेका छन् । उनले किसानको समस्या समाधान, भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा भइरहेको माफियातन्त्रको अन्त्य लगायतका एजेन्डालाई प्रमुख बनाउँदै आफ्नो प्रतिवद्धता पत्र ल्याएका हुन् । सुधारका अभियानहरु सञ्चालन गरिने सम्वाहाङफेले किसानलाई तालिमको व्यवस्था गर्ने तथा समयमै मल, विऊ उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । साथै, उत्पादन लागत मुल्य र नाफा सुनिश्चित गर्न ‘उत्पादनमा किसान र बजारमा सरकार अभियान’ सञ्चालन गर्ने उनले घोषणा गरे । छोरीप्रतिको विभेद्, महिलाहिंसा अन्त्य, शिक्षामा छोरी पहिला, सिप विकास तालिम, रोजगार र व्यवसायमा अगाडि बढाउन महिला उद्यमशिल विकास अभियान सञ्चालन गर्ने उनको सङ्कल्प छ । त्यसैगरी, गुणस्तरीय शिक्षा, सिप र स्वरोजगार अभियान सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका युवाको पुँजी, सिप, ज्ञान र अनुभवको सहि सदुपयोग गरी पुँजी निर्माण, रोजगार र थप विदेश पलायन रोक्न स्वदेशमा नै काम गर्ने वातावरण बनाउने घोषणा पनि उनले गरेका छन् । गरिब र असहायको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने, निःशुल्क कानुनी उपचार पनि दिने उनले यस क्षेत्रमा रहेका वनपैदावार (घाँस, दाउरा, काठ, जडिवुटी, फलफूल) लगायतलाई सहुलियत मुल्यमा सबै उपभोक्ताले समान उपभोग गर्न पाउने व्यवस्था गर्ने पनि बताएका छन् । भूमि र आवास विहिन समुदायलाई जमिन र सुरक्षित आवासको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आफुले मासिक रुपमा पाउने सुविधाबाट सेवा कोष बनाई जेहेन्दार, गरिब, युवा युवतीलाई उच्च शिक्षाको व्यवस्था तथा गरिब र असहायहरूको स्वास्थ्य उपचारमा खर्च गर्ने पनि घोषणा गरेका छन् । त्यस्तै असहाय र महिला हिंसाका मुद्धामा निःशुल्क वहस पैरवी गर्ने पनि उनको भनाई छ । सबै धार्मिक समुदायसँग सम्बन्धित आस्थाका मन्दिर, गुम्वा, चर्च, मस्जिद, माडहिम र प्रकृति पुजकहरूका थान तथा देवस्थलहरूको प्रवद्र्धन र विकास गर्न धार्मिक, सांस्कृतिक, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्ने भनिएको छ । त्यस्तै, सबै समुदायका हजारौँ वर्ष पुराना संस्कृतिको संरक्षण गर्न, आय आर्जनसँग जोड्नु आवश्यक भको भन्दै सांस्कृतिक संग्राहलय बनाई आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने नीति ल्याई पुर्वाधार बनाउन पहल गर्ने बताए । सो क्षेत्रका नदीहरू चिसाङ, वक्राहा, डास, लोहोन्द्रा लगायत सबै खोलाहरूको डुवान, कटान नियन्त्रण गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ । नदी आसपासमा रहेका समुदायसँगको साझेदारीमा समुदायकै आम्दानी हुनेगरी नदीजन्य लगानी नीति बनाउन पहल गर्ने पनि उनको भनाई छ । शिक्षा र स्वास्थ्यमा भएको महंगी र माफियातन्त्र अन्त्य गरी निःशुल्क र गुणस्तरीय हुने कानुन बनाउन पहल गर्ने, ठूलासाना सडकहरू, कृषि पहुँचमार्गहरू, पुलपुलेसाहरू, विद्यालय, अस्पतालहरू बनाउन स्थानीय पालिका, प्रदेश र सङ्घमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ । त्यसैरी सो क्षेत्रमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सुविधा सम्पन्न ३ सय शैय्याको अस्पताल बनाउन, न्युरो, अर्थो, गाइनो लगायतका सुविधा सम्पन्न कार्यक्रम ल्याउन पहल गर्ने पनि जनाइएको छ । जङ्गली जनावर नियन्त्रण अभियान सञ्चालन गरी पिडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने, मजदुर वर्ग, दैनिक ज्यालादारी, कारखाना, सीटी मजदुर, गाडी चालक लगायतका श्रमिकहरूको समान ज्याला वृद्धि गर्न पहल गर्ने, सानाठूला सबै व्यवसायीहरूको हित प्रवद्र्धन गर्ने नीति बनाउन पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
महोत्तरी-१ मा विश्वासको उभार र विकासको संकल्प : घरदैलोमा जनसागर, पोखरेलप्रति बढ्दो जनसमर्थन
महाेत्तरी । नेपाली कम्युनिस्ट पार्टीका महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेलले घरदैलो अभियानलाई तीव्रता दिँदै दीर्घकालीन विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बर्दिवास क्षेत्रका विभिन्न टोलबस्तीमा घर–घर पुग्दै उनले जनताका आधारभूत समस्या पहिचान गरी परिणाममुखी र गुणस्तरीय विकासमार्फत वार्षिक हजारौं रोजगारी सिर्जना गर्ने स्पष्ट योजना प्रस्तुत गरे। घरदैलो अभियानका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पोखरेलले विगतमा सुरु गरिएका दीर्घकालीन पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिँदै अब विकासलाई ठोस उपलब्धिमा रूपान्तरण गर्ने समय आएको बताए। “जनताको वास्तविक आवश्यकता बुझेर योजना बनाउने र कार्यान्वयनमा दृढता देखाउने हो भने महोत्तरी विकासको नयाँ गतिमा अघि बढ्न सक्छ,” उनले भने। सडक सञ्जाल विस्तार, आधुनिक सिँचाइ प्रणाली, सुरक्षित खानेपानी, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा विस्तारलाई उनले प्राथमिकतामा राखेको उल्लेख गरे। अभियानका क्रममा स्वतःस्फूर्त रूपमा सहभागी भएका स्थानीयवासीको उल्लेखनीय उपस्थितिले आफू थप उत्साहित र जिम्मेवार बनेको पोखरेलले बताए। स्थानीयहरूले फूलमाला, स्वागत तथा उत्साहजनक नारासहित उनलाई समर्थन जनाएका थिए। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै विकासका आधार तयार भइसकेकाले अब समुन्नतिलाई निष्कर्षमा पुर्याउने चरण सुरु भएको बताए। “विश्वास जित्ने राजनीति र परिणाम दिने विकास, यही हाम्रो मूल प्रतिबद्धता हो,” उनले जोड दिए। निर्वाचन परिचालन समितिका संयोजक राजु खडकाका अनुसार घरदैलो अभियान केवल मत माग्ने कार्यक्रम नभई जनताको समस्या, अपेक्षा र सुझाव संकलन गर्ने प्रभावकारी माध्यम बनेको छ। मतदाताबाट प्राप्त सुझावलाई स्पष्ट कार्ययोजनासँग जोडेर कार्यान्वयन गर्ने तयारी भइरहेको उनले बताए। अभियान टोलीले प्रत्येक वडामा पुगेर विकास आवश्यकता, रोजगारी सम्भावना, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन र सामाजिक सेवा विस्तारका विषयमा तथ्य संकलन गरिरहेको जनाएको छ। स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन महिला, युवा र बुद्धिजीवी परिचालनलाई विशेष जोड दिइएको छ। मतदाता शिक्षा, सूचना संयन्त्र सुदृढीकरण तथा स्वतन्त्र मतदातासँग प्रत्यक्ष संवाद विस्तार गर्दै समुदायगत भेलाहरूलाई पनि तीव्र बनाइएको छ। जनताको व्यापक सहभागिता र सकारात्मक प्रतिक्रिया अभियानको सफलताको संकेत भएको परिचालन समितिले जनाएको छ।
गोरखा–२ मा लेखनाथ न्यौपाने: ‘हरित र दिगो विकास’को स्पष्ट खाकासहित परिवर्तनको अभियान
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखनाथ न्यौपाने गोरखाको समग्र विकासका लागि नयाँ दृष्टिकोणसहित चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका न्यौपाने राष्ट्रिय राजनीतिका चर्चित व्यक्तित्वका रूपमा परिचित छन् । नेकपाको किल्लाका रूपमा रहेको गोरखामा उनी नयाँ उम्मेदवारका रूपमा उभिएका छन् । यसअघि कुनै राजकीय जिम्मेवारी नलिएका न्यौपाने बौद्धिक व्यक्तित्व, साधारण जीवनशैली र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकाका लागि परिचित छन् । उनले गोरखाको दीर्घकालीन महत्वका एजेन्डा र योजनासहित चुनावी अभियान अघि बढाएका छन् । ‘हरित र दिगो विकास’को स्पष्ट दृष्टिकोण न्यौपानेले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा ‘हरित र दिगो विकास’को बृहत् अवधारणा अघि सारेका छन् । वातावरण विनाश गरेर गरिने विकासको विरोध गर्दै उनले वातावरण, मानिस र विकासबीच सन्तुलित समन्वय हुनुपर्नेमा जोड दिएका छन् । पर्यावरणीय विनाश, जलवायु परिवर्तन र त्यसले निम्त्याएको सङ्कटबाट विपन्न तथा निम्न वर्गका मानिसहरू बढी प्रभावित हुने उल्लेख गर्दै उनले पर्यावरणीय मुद्दालाई राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । हिमाली जिल्ला गोरखा जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले विकास निर्माणका सबै काममा उच्च संवेदनशीलता अपनाउनुपर्ने उनको धारणा छ । प्राकृतिक स्रोतको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै समृद्धिको आधार भएको उनको विश्वास छ । वातावरणीय सङ्कटप्रति सचेत रहँदै भावी पुस्ताका लागि पृथ्वी सुरक्षित राख्नुपर्नेमा आफू दृढ रहेको उनले बताएका छन् । “गोरखाको भौगोलिक संवेदनशीलता र पर्यावरण संरक्षण मेरो प्रमुख एजेन्डा हो,” उनले भने, “वातावरण र विकासबीच सन्तुलन कायम गर्ने हरित विकासको स्पष्ट खाकासहित अन्धाधुन्ध डोजरे विकासको विकल्पमा वैज्ञानिक भौतिक पूर्वाधार निर्माणको पहल गर्नेछु ।” शिक्षा, स्वास्थ्य र युवा स्वरोजगार प्राथमिकतामा न्यौपानेले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्न स्थानीय स्रोत र सीपको उपयोग बढाउँदै वैदेशिक निर्भरता घटाउने र आन्तरिक अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यका साथ प्राविधिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिने उनले बताएका छन् । यसले शैक्षिक सुधारसँगै गोरखाको समग्र सामाजिक–आर्थिक रूपान्तरणको आधार तयार गर्ने उनको विश्वास छ । युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्न स्थानीय सम्भावनाको विस्तृत अध्ययन गरी ठोस कार्यक्रम ल्याइने पनि उनले उल्लेख गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को उत्तरी भेगलाई पर्यटन केन्द्र, मध्य भेगलाई फलफूल तथा नगदे बाली उत्पादन केन्द्र र दक्षिणी भेगलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको उनले बताएका छन् । पारदर्शिता, सामाजिक न्याय र सुशासनमा प्रतिबद्धता न्यौपानेले राजनीतिलाई व्यापार नभई विशुद्ध समाजसेवाको माध्यम बनाउने सङ्कल्प गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, बोली र व्यवहारमा एकरूपता कायम गर्ने र पारदर्शी तथा जनमुखी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न डिजिटाइजेसनलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् । दलित, महिला, जनजाति, मुस्लिम तथा पछाडि पारिएका वर्गका अधिकारका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आफूलाई आधारभूत वर्गको साथीका रूपमा प्रस्तुत गरेका छन् । सीमान्तीकृत तथा अल्पसङ्ख्यक समुदायको सशक्तीकरणका लागि भुइँ तहदेखि नै कार्यक्रम तर्जुमा गर्ने उनको अठोट छ । ‘हरित विकास’, आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्यायलाई केन्द्रमा राख्दै न्यौपानेले गोरखाको दीर्घकालीन रूपान्तरणका लागि स्पष्ट नीति, योजना र प्रतिबद्धतासहित चुनावी मैदानमा आफ्नो अभियान तीव्र बनाएका छन् ।
धारिलो अभिव्यक्ति, बलियो जनसम्पर्क: संसद् प्रवेशको निर्णायक मोडमा भाेजपुरका अजम्बर राई काङमाङ
भोजपुर । स्पष्ट वैचारिक धारणा, धारिलो अभिव्यक्ति र जनतासँग गहिरो सम्बन्धका कारण भोजपुरको राजनीतिमा विशिष्ट पहिचान बनाएका नेपाली कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अजम्बर राई काङमाङ यतिबेला प्रतिनिधिसभा सदस्यका रूपमा निर्णायक प्रतिस्पर्धामा उभिएका छन् । लामो राजनीतिक संघर्ष, वैचारिक दृढता र संगठन निर्माणको समृद्ध अनुभव बोकेका काङमाङ यसपटक संसद् प्रवेशको ऐतिहासिक अवसरको संघारमा छन् । दुई पटकको चुनावी प्रतिस्पर्धामा पराजय बेहोरेका काङमाङका लागि यो निर्वाचन केवल जित–हारको सामान्य प्रतिस्पर्धा मात्र होइन, बरु दशकौँ लामो राजनीतिक समर्पणको मूल्यांकन पनि हो । उनले जित हासिल गरे संसद्मा प्रवेश गर्नेछन्, र हार बेहोरेमा पराजयको ‘ह्याट्रिक’ हुनेछ । तर, राजनीतिक विश्लेषकहरूका अनुसार अहिले भोजपुरमा देखिएको जनसमर्थन, संगठनको मजबुत संरचना र पार्टीको स्पष्ट एजेन्डाले काङमाङको पक्षमा बलियो आधार तयार गरिरहेको छ । विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म २०२४ मंसिर १ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४, नागीमा जन्मिएका काङमाङको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । २०३५ सालमा अनेरास्ववियु अन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयको सह–प्राक सदस्य बनेर औपचारिक राजनीतिक जीवन सुरु गरेका उनले सुरुवातदेखि नै असाधारण नेतृत्व क्षमता प्रदर्शन गरेका थिए । उनको राजनीतिक उचाइ तीव्र गतिमा बढ्दै गयो । २०४० सालमा अखिल जिल्ला कमिटी भोजपुरको सचिव बनेका उनी २०४४ सालमा अखिल सुनसरी जिल्ला कमिटीको अध्यक्ष र अखिल अञ्चल कमिटी सदस्य बने । त्यसपछि उनले पार्टी राजनीतिमा प्रवेश गर्दै २०४६ सालमा नेकपा एमाले भोजपुर जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाले । युवा नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिएका काङमाङ २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक जिल्ला संयोजक बने । उनले संगठन विस्तार र युवालाई वैचारिक रूपमा सशक्त बनाउने अभियानमा अग्रणी भूमिका खेले । यही योगदानको कदर गर्दै २०६५ सालमा उनी सोही संगठनको केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेको केन्द्रीय सदस्य बने । उनको राजनीतिक यात्रा केवल पद प्राप्तिको लक्ष्यमा सीमित थिएन, बरु वैचारिक स्पष्टता र जनताको पक्षमा दृढ अडान लिनु नै उनको प्रमुख विशेषता रह्यो । वैचारिक अडान र विद्रोही चेत अजम्बर राई काङमाङलाई नेपाली राजनीतिमा एक वैचारिक र विद्रोही चेत भएका नेताका रूपमा चिनिन्छ । उनले समय–समयमा पार्टीका गलत नीतिहरूको विरोध गर्दै वैचारिक अडान कायम राखेका छन् । २०६९ सालमा अशोक राईसँगै एमालेबाट अलग्गिएर संघीय समाजवादी पार्टी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका उनी अहिले पार्टीको स्थायी कमिटी सदस्यका रूपमा सक्रिय छन् । उनले आफ्नो दल परिवर्तनलाई अवसरवाद नभई वैचारिक विद्रोहको रूपमा व्याख्या गर्दै आएका छन् । “मैले अवसरका लागि होइन, सिद्धान्त र जनताको पक्षमा उभिने क्रममा विद्रोह गरेको हुँ,” उनले भने । महाकाली सन्धिको विरोध, पहिचान र संघीयताको पक्षमा लिएको अडान तथा संघीयताको सुदृढीकरणका लागि उठाएको आवाज आज सही सावित भइरहेको उनको दाबी छ । राजनीतिक विश्लेषकहरूका अनुसार काङमाङको यो वैचारिक दृढता नै उनलाई अन्य नेताभन्दा फरक बनाउने प्रमुख विशेषता हो । स्पष्ट दृष्टिकोण र विकासको गुरुयोजना काङमाङले विकासलाई केवल नारा नभई योजनाबद्ध रूपमा अघि बढाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । उनका अनुसार भोजपुरको समग्र विकासका लागि दीर्घकालीन गुरुयोजना आवश्यक छ, जसअन्तर्गत भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखिनेछ । “हामीले प्राथमिकतालाई अलग–अलग नम्बरमा बाँड्ने होइन, समग्र विकासको गुरुयोजनाअन्तर्गत सबै क्षेत्रलाई अघि बढाउने योजना बनाएका छौँ,” उनले भने । अधुरा योजनाहरूलाई संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पूरा गर्ने र विकासलाई दिगो र परिणाममुखी बनाउने उनको प्रतिबद्धता छ । उनले जनतालाई असम्भव आश्वासन दिने भन्दा यथार्थपरक र व्यवहारिक विकासको मोडेल प्रस्तुत गर्ने बताएका छन् । “प्रतिनिधिसभा सदस्य हुनासाथ चामत्कारिक परिवर्तन हुन्छ भन्ने भ्रम फैलाउनु गलत हो । हामी योजनाबद्ध, जिम्मेवार र दीर्घकालीन विकासको पक्षमा छौँ,” उनले स्पष्ट पारे । युवाका आशा र सम्भावनाका प्रतिनिधि युवा आन्दोलन र जनआन्दोलनबाट नेतृत्वमा पुगेका काङमाङ युवाका मुद्दाप्रति विशेष संवेदनशील छन् । उनले भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन सुदृढीकरण, युवा रोजगार र उद्यमशीलताको विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । उनका अनुसार “एक पालिका, एक उत्पादन” को अवधारणामार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता सुनिश्चित गरिनेछ । युवालाई विदेश पलायन हुन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने उनको लक्ष्य छ । उनको विश्वास छ कि बलियो राजनीतिक इच्छाशक्ति, स्पष्ट नीति र जनताको सहभागिताबाट मात्र समृद्ध समाज निर्माण सम्भव छ । जनसम्पर्क र संगठनमा बलियो पकड भोजपुरमा काङमाङलाई एक जनप्रिय, सहज र पहुँचयोग्य नेताका रूपमा चिनिन्छ । गाउँ–गाउँ, टोल–टोलमा पुगेर जनताका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्ने उनको शैलीले उनलाई जनतामाझ लोकप्रिय बनाएको छ । उनको लामो राजनीतिक अनुभव, संगठन निर्माणको क्षमता र जनताको बीचमा स्थापित विश्वासले उनलाई भोजपुरको राजनीतिमा बलियो प्रतिस्पर्धी बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीको सशक्त संगठन संरचना र कार्यकर्ताको सक्रियता पनि उनको पक्षमा महत्वपूर्ण आधार बनेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार भोजपुरमा काङमाङको उम्मेदवारी केवल व्यक्तिगत प्रतिस्पर्धा मात्र नभई वैचारिक राजनीति, जनसम्पर्क र विकासको स्पष्ट दृष्टिकोणको प्रतिनिधित्व हो । निर्णायक क्षणमा जनताको भरोसा दशकौँदेखि जनताको पक्षमा संघर्षरत काङमाङका लागि यो निर्वाचन निर्णायक मोड हो । राजनीतिक जीवनको लामो अनुभव, स्पष्ट विचार, संगठनात्मक क्षमता र जनताको विश्वासका कारण उनलाई भोजपुरको भविष्यको नेतृत्वका रूपमा हेरिएको छ । नेपाली कम्युनिस्ट पार्टीले अघि सारेको समृद्धि, सुशासन र जनमुखी विकासको एजेन्डालाई कार्यान्वयन गर्ने सक्षम नेतृत्वका रूपमा काङमाङलाई प्रस्तुत गरिएको छ । पार्टीका नेता–कार्यकर्ताहरूका अनुसार भोजपुरमा परिवर्तन, स्थायित्व र विकासका लागि काङमाङ नै उपयुक्त नेतृत्व हुन् । स्पष्ट विचार, दृढ अडान, जनताप्रतिको समर्पण र विकासप्रतिको प्रतिबद्धताका कारण अजम्बर राई काङमाङ यतिबेला भोजपुरमा आशा, भरोसा र परिवर्तनका प्रतीक बनेका छन् । आगामी निर्वाचनले उनको लामो राजनीतिक संघर्षलाई संसद्मार्फत नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
कल्पना शर्माः स्थानीय विकास र पारदर्शितामा केन्द्रित उम्मेदवार
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ५ कि उम्मेदवार कल्पना शर्माले स्थानीय आवश्यकतामा आधारित प्रतिवद्धता सार्वजनिक गरेसँगै उनीप्रतिको जनआकर्षण बढ्दै गइरहेको छ । यस क्षेत्रबाट पटक–पटक निर्वाचित सांसदहरु पार्टी र राज्यसत्ताको केन्द्रमा रहँदै आएपनि पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका काममा जनताले राखेका अपेक्षा पुरा हुन सकेको छैन । राजनीतिको अलावा कानुनी र सामाजिक आन्दोलनमा समेत स्थापित शर्मालाई युवा उम्मेदवारको रुपमा नेकपाले काठमाडौँ ५ मा उम्मेदवार बनाएसँगै तारा चुनाव चिन्हप्रतिको आकर्षण बढेको हो । शर्माले विधायकी भुमिकाका साथासाथै स्थानीय आवश्यकतामा आधारित विकास निर्माणको काम गर्ने प्रतिवद्धता जनाएकी छन् । सक्षम, योग्य र नयाँ युवा उम्मेदवारको रुपमा शर्मा उदाएसँगै काठमाडौँ ५ मा विजयको झण्डा फहराउने अपेक्षा नेकपाले गरेको छ । ४ असाढ २०३४ मा जन्मिएकी शर्मा कानुन व्यवसायमा समेत आवद्ध छिन् । उनले उनले एलएलएम÷एमपिए सम्मको शैक्षिक योग्यता हासिल गरेकी छन् । स्कुले जीवन देखि नै बामपन्थी आन्दोलनमा सक्रिय रहेकी उनी हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन् । २०७४ सालको स्थानीय तहको चुनावमा उनी टोखा नगरपालिकाको मेयर पदको प्रतिस्पर्धि समेत बनेकी थिइन् । काठमाडौँ क्षेत्र नं. ५ का विकास निर्माणको काममा विगत देखि नै उनले योगदान दिदैँ आएकी छिन् । सामाजिक अभियान, कानुन व्यवसायको क्षेत्रमा दर्जनौँ असहायहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएकी उनले भ्रष्टाचारको विरोध र सुशासनका लागि सशक्त आवाज उठाउँदै आएकी छिन् । यस्तो छ विधायिकी कार्यमा उनले देखेको प्राथमिकता शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचित सांसद मन्त्री बन्न नपाउने व्यवस्थासहित जनचाहना अनुसार वर्तमान संविधानमा समयसापेक्ष संशोधनको पक्षमा दृढतापूर्वक उभिने बताएकी छिन् । कानूनहरूको समय सापेक्ष संशोधन, नयाँ कानून निर्माण तथा चुस्त, पारदर्शी र प्रविधिमैत्री कानूनी कार्यविधि तर्जुमा र कार्यान्वयन उनको प्राथमिकतामा परेको छ । कृषि, ऊर्जा, पर्यटन र वन राष्ट्रिय अर्थतन्त्रको आधार भएको भन्दै उनले आधुनिक कृषि र कृषि उत्पादनको सहज बजारिकरण, ऊर्जा व्यापार, बन्द भएका उद्योगहरूको पुनः संचालन र नयाँ उद्योग स्थापनाको लागि सहजीकरण गर्ने उनको प्राथमिकता छ । स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन, विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण र प्रविधिमैत्री सेवा र जवाफदेही राष्ट्रसेवक आफ्नो प्रतिवद्धता रहेको उनले बताइन् । एउटै पदमा २ कार्यकालभन्दा बढी रहन नपाउने र कुनै पनि पदमा ३ पटकभन्दा बढी प्रतिस्पर्धा समेत गर्न नपाउने गरी पुस्तान्तरण सम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न जोड दिने उनको एजेन्डा छ । त्यस्तै, समुदायको सामूहिकतामा योजना चयन र समुदायकै अनुगमनमा कार्यान्वयन, प्रतिभा पलायनको न्यूनिकरण र युवा स्वदेश फिर्ती अभियान, जेनजी आन्दोलनले औंल्याएका मुद्दाहरूको दिर्घकालिन समाधान गरी विधि र प्रविधिमैत्री राज्य सञ्चालन आफ्नो एजेन्डा रहेको उनले बताइन् । स्थानीय मुद्दाहरुमा उनको प्रतिबद्धता शर्माले स्थानीय उत्पादनको प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरेकि छिन् । चुस्त, दुरुस्त र प्रविधिमैत्री सरकारी सेवा, सांस्कृतिक सम्पदा र ऐतिहासिक संस्कृतिको संरक्षण र विकास, क्षेत्र नं. ५ लाई लाई शिक्षा र स्वास्थ्य उपचारको हबको रूपमा विकास गर्ने र समदाय लक्षित खेलकुुद व्यायाम र योग समेतका कार्यक्रमहरूको सञ्चालन गर्ने प्रतिवद्धता गरेकी छिन् । त्यस्तै, पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका कार्यलाई पूर्णता दिई दूरसंचार र इन्टरनेट सेवामा सर्वसुलभता गराउने घोषणा उनको छ । स्थानीय मठमन्दिर, पाटीपौवा, धाराहरूको संरक्षण, जिर्णोद्वार र नयाँ निर्माण, सरकारी जग्गाहरूको संरक्षण र सार्वजनिक उपयोग, आदिवासी, जनजाति, दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन, निःशुल्क आधारभूत स्वास्थ्य सेवा र व्यवसायिक र प्राविधिक शिक्षा लगायतमा जोड दिइएको छ । शर्माले राज्यका सबै निकायमा आर्थिक पारदर्शिता र जवाफदेहिता, न्यायमा सहज पहुँच र सबैखाले हिंसाको अन्त्य, सुकुम्बासी, नदी किनार तथा सडक मापदण्ड पीडितका समस्याको दीर्घकालिन समाधान, श्रमको सम्मान र व्यवसायको संरक्षण, स्थानीय रोजगारीको सृजना र स्थानीय श्रमलाई प्राथमिकता, क्षेत्र नं. ५ भित्रका अस्पताल, विद्यालय लगायतका संस्थाहरूमा स्थानीय बासिन्दाहरूलाई सहुलियतको व्यवस्था गर्ने प्रतिबद्धता गरेकी छिन् । त्यसैगरी, स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन र विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण बनाउने कुरामा पनि उनले जोड दिएकी छिन् ।
रुकुमपूर्वको जीवन परिवर्तन गर्ने सडक, मेरो प्रस्तावबाट बनेको: प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र शहिदमार्ग आफ्नो प्रस्तावमा बनेको बताउनुभएको छ। सोमबार रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१२, कोलमा आयोजित जनभेटघाटमा उहाँले यस्तो जानकारी दिनुभयो। पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण जोड्ने शहिदमार्गको योजना आफू प्रधानमन्त्री हुँदा सुरु गरेको प्रचण्डले बताउनुभयो। यी दुई सडकले रुकुमपूर्वलाई छोएकोले यहाँको जनजीवनमा ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो। साथै, यी दुई सडकलाई सुधार्ने आफ्नो मुख्य योजना रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। शहिदमार्गलाई डोल्पासँग जोडेर चीनसँग जोड्ने योजना रहेको प्रचण्डले जानकारी दिनुभयो। यी सडकले हाल धेरै पहाडी जिल्लाको मेरुदण्डको रुपमा विकास भइसकेको उहाँले उल्लेख गर्नुभयो। यसैगरी, ‘व्यवस्था क्रान्तिको किल्ला’ मानिने जिल्लामा अब अवस्था परिवर्तन गर्ने क्रान्ति गर्ने प्रतिवद्धता प्रचण्डले जनाउनुभयो। जनयुद्धकालमा यी जिल्लामा बसेर लडाइँ लडेका कारण गणतन्त्र व्यवस्था आएकोले अब समाजवाद क्रान्ति कार्यान्वयनमा सहयोग गर्नु जनता सबैसँग उहाँले आग्रह गर्नुभयो। जनयुद्धकालमा यी जिल्लामा बसेर लडाइँ लडेको स्मरण गराउँदै आफू हाल यस जिल्लाको नयाँ प्रतिनिधि नभएको पनि प्रचण्डले स्पष्ट पार्नुभयो। त्यसैले हालको भेटघाटका क्रममा आएका योजनालाई गम्भीर रूपमा लिएको र बाचा पूरा गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो। सोमबार प्रचण्डले पुथाउत्तरगङ्गाका विभिन्न वडाका गाउँमा जनभेटघाट गर्नु भएको छ। आजै सिस्ने गाउँपालिका–२, नायगाडमा बस्न आउनुभएको छ भने मङ्गलबार नायगाडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
जनताका सारथीको परिचय बनाएका राजन दाहालको अपुरा काम पुरा गर्ने प्रतिवद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल(राजन)ले आफ्नो कार्यकालमा सुरु भएका अधुरा विकास निर्माणको कामलाई पूर्णता दिने प्रतिबद्धता गरेका छन् । गत २०७९ मा आफु प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै जिल्लामा प्रशस्त विकास निर्माणका कामहरु गरिएको भन्दै उनले बाँकी रहेका कामलाई पूर्णता दिनका लागि आगामी २१ फागुुनको चुनावमा निर्वाचित गराउन अपील गरेका हुन् । साथै उनले केही नयाँ आयोजनाहरुको पनि थालनी गर्ने प्रतिबद्धता गरेका छन् । जनताको सुख, दुुःखमा सधैँ उपस्थित भएर जनताको सारथीको परिचय बनाएका दाहालले नेपाली कम्युनिष्ट पार्टीको किल्लाको रुपमा रहेको सिन्धुली २ बाट सहज जित हासिल गर्ने विश्वास पार्टी पंक्तिले गरेको छ । चुनावी अभियानमा हिडिरहेका उनले दैनिक सयौँको संख्यामा अन्य पार्टीबाट नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराइरहेका छन् । राष्ट्रिय प्राथमिकताको आयोजनाहरु सम्पन्न गर्नमा जोड दाहालले सिन्धुलीमा अवस्थित राष्ट्रिय प्राथमिकताको आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि जोड दिने बताएका छन् । सुनकोशी–मरिण ड्राइभर्सन, कोखाजोर जलासययुुक्त आयोजना, चियाबारी–खुर्कोट सुुरुङमार्ग र मरिणमा अवस्थित राँगाको मासु निर्यात गर्ने योजना समयमै सम्पन्न गर्ने पहल गर्ने प्रतिवद्धता उनले गरेका छन् । विकास निर्माणको कामलाई निरन्तरता दिइने दाहालले पालिका सदरमुकामदेखि वडा सदरमुकाम सम्मको सडकहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता गरेका छन् । निर्माणाधिन सडकहरुको लागि आवश्यक वजेट विनियोजन गर्न पहल गर्ने, संघीयताको मर्म अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा ग्रामीण सडकहरु निर्माणको लागि पहल गर्ने, कमलामाई नगरपालिका लगायत अन्य पालिकाहरुको आवश्यक ठाउँमा चक्रपथ निर्माण गर्ने बताइएको छ । त्यस्तै, दुम्जा–लालबन्दी सडक निर्माण कार्य सम्पन्न गर्ने, आफ्नो क्षेत्रभित्रका विभिन्न ठाउँमा आवश्यकता अनुसार पक्की पुल निर्माण गर्ने तथा खोला, खहरे र नदी नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ । कमलामाईमा ट्रमा सेन्टर, मरिण र हरिहरपुरगढीलाई औद्योगिक जोन बनाउने योजना उम्मेदवार दाहालले कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमा मिनि ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् । ट्रमा सेन्टर स्थापना गरेर विपन्न नागरिकहरुलाई सहुलियतपूर्ण उपचार गर्न पहल गर्ने उनको भनाई छ । उनले विगतमा प्रतिनिधि सभा सदस्य हुँदा सिन्धुलीमा ट्रमा सेन्टरको माग गर्दै संसदमा पटक–पटक बोलेका थिए भने सरकारी निकायलाई पनि घच्घच्याएका थिए । त्यस्तै, मरिण र हरिहरपुरगढी क्षेत्रमा लगानीकर्ता भित्रयाएर औद्योगिक जोन निर्माण गर्न पहल गर्ने पनि उनको योजना छ । त्यस्तै, एक घर एक धारा योजना अन्तरगत स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, सुनकोशी–मरिण ड्राईभर्सन मार्फत् कमलामाई नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा खानेपानी समस्याको समाधान गर्ने, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरणको माध्यमवाट स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा पालिकामा उत्पादन हुने अन्न, तरकारी, जडिबुुटी लगायत बस्तुहरुको पहिचान र पकेट क्षेत्र निर्धारण गरि व्यवसायिकतामा जोड दिने पनि उनले योजना बनाएका छन् । शैक्षिक हब र पर्यटन हबको रुपमा सिन्धुलीलाई बिकास गर्ने अर्को योजना सिन्धुुली जिल्लालाई शैक्षिक हब र पर्यटन हबको रुपमा विकास गर्ने दाहालको अर्को योजना रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक हव निर्माण गर्न पहल गर्ने, सिन्धुलीको पुरातात्विक, धार्मिक, साँस्कृतिक कला केन्द्रहरुको संरक्षण, सम्बर्धन गर्न पहल गर्ने र सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, माइस्थान मन्दिर लगायत संरचनाहरुको निर्माण तथा पुनः निर्माण गरि पर्यटन हबको रुपमा विकास गर्न पहल गर्ने उनको योजना सार्वजनिक भएको छ । त्यसैगरी, ग्रामिण विद्युतीकरणको व्यवस्था गर्न पहल गर्ने, आवश्यक ठाउँमा टेलिकमका टावर निर्माणमा पहल गर्ने, भुमिहिन सुकुम्वासी, अव्यवस्थित वसोवास गर्ने र किसान मजदुरको समस्या समाधान गर्न पहल गर्ने उनको योजना छ । कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दाहालले कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने र संसदमा प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संविधानको मर्म र भावना अनुसार ऐनहरुको निर्माण, विद्यमान ऐनहरुको प्रभावकारी कार्यान्वयन र समयानुकुल संशोधन गर्न पहल गर्ने उनको भनाई छ । संविधानमा व्यवस्था भएको मौलिक हकहरुको व्यवहारिक कार्यान्वयका लागि आवश्यक कानुन निर्माणमा जोड दिने, संघीय शिक्षा ऐन, निजामति कर्मचारी ऐन लगायत अन्य आवश्यक ऐन, नियमावली निर्माण, कार्यान्वय र संविधानको मर्म अनुसार संशोधन गर्न पहल गर्ने दाहालले बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार: गोपाल शर्माको प्रतिबद्धता
काठमाडाैं । रुकुम पश्चिम–१ को राजनीतिक परिदृश्यमा यस चुनावी सत्रमा एउटा विशेष नामले ध्यान तानिरहेको छ- गोपाल शर्मा । तीन दशकभन्दा लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता, र सरकारी जिम्मेवारीको अनुभव बोकेको यो नेता पहिलोपटक संघीय संसदमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रुकुम पश्चिममा जन्मिएका गोपाल शर्मा स्थानीय राजनीति र विकाससँग गहिरो रूपमा सम्बन्धित नेता हुन्, जसले विगतमा पार्टीको विश्वासपात्र र निर्वाचन नेतृत्वकर्ता भएर जनताको सेवा गर्दै आएका छन् । गोपाल शर्मा १२ पुस २०३४ मा चौरजहारी नगरपालिका–५, रुकुम पश्चिम मा जन्मिएका थिए । बाल्यकालदेखि नै उनी राजनीति र सामाजिक गतिविधिमा रुचि राख्थे । यसैले उनी ‘अनल’ उमेरमै विद्यार्थी राजनीतिमा लागे । २०४६ सालमा चौरजहारीस्थित शीतल माध्यामिक विद्यालयको सह–इकाइ कमिटीको सह–सचिव बने । विद्यार्थी जीवनमै उनी नेतृत्व क्षमता देखाउने गरे । त्यसको दुई वर्षपछि, २०४८ मा सोही विद्यालयको अनेरास्ववियुको इकाइ अध्यक्ष बने । २०५१ मा उनले अनेरास्ववियुको रुकुम जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । विद्यार्थी संगठनमा सक्रियताबाटै गोपालले नेतृत्वमा आफ्नो स्थान बनाएका थिए । २०५३ सालमा उनले अनेरास्ववियु रुकुम जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि २०५४ मा अखिल (क्रान्तिकारी) को राप्ती अञ्चल इन्चार्ज बने भने, २०५६ मा अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष तथा पश्चिम उपकेन्द्र इञ्चार्ज पद सम्हाले । २०५३ सालमै गोपाल शर्मा नेकपा (माओवादी) का सदस्य बने । पार्टीमा उनी चाँडै नै सक्रिय भए । २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य तथा एरिया कमिटी इन्चार्ज, २०५७ मा विशेष उप–क्षेत्रीय ब्युरो सदस्य, २०५८ मा भेरी–कर्णाली उप–क्षेत्रीय ब्युरोमा स्थानान्तरण, २०६०–०६२ मा बाँके र बर्दिया जिल्ला इन्चार्ज, र २०६४ सम्म रुकुम जिल्ला सेक्रेटरी बने । २०६५ मा एकीकृत नेकपा (माओवादी) रुकुम जिल्ला इन्चार्ज, र २०६६–०६९ सम्म मगरात राज्य कार्यालय सचिवका रूपमा काम गरे । २०७१ मा गोपाल रुकुम जिल्ला अध्यक्ष बने र त्यही वर्ष माओवादीको केन्द्रीय सदस्यमा चयन भए । २०७३ मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, २०७५ मा एमालेसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा रुकुम पश्चिम जिल्ला अध्यक्ष बने । २०७७ मा पार्टी विभाजनपछि पुनर्गठन हुँदा २०७८ सम्म केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति संयोजकका रूपमा काम गरे । २०७९ देखि हालसम्म पनि उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् । गोपाल शर्मा निर्वाचन व्यवस्थापन र संगठन निर्माणमा दक्ष छन् । उनी २०६४ र २०७० का संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा जिल्ला निर्वाचन परिचालन समिति संयोजक भएर काम गरेका थिए । यी चारवटै निर्वाचनमा उनले तत्कालीन माओवादी नेता जनार्दन शर्मालाई विजयी गराउने जिम्मेवारी सफलतापूर्वक निभाएका थिए । यस अर्थमा उनी विगतमा पार्टीका लागि सधैं “ब्याक बोन” बनेका नेता हुन् । तर यसपटक राजनीतिक परिदृश्यमा एउटा नयाँ मोड आएको छ । गोपाल शर्मा अब आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । विगतमा विश्वासपात्रका रूपमा जनार्दन शर्मालाई निर्वाचन जिताउन भूमिका खेलेका उनी अहिले आफैं चुनावी मैदानमा छन् । जनार्दन यसपटक प्रलोपाबाट उम्मेदवार छन् । यसले स्थानीय निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाएको छ । गोपाल शर्मा संसदीय अनुभव पनि बोकेका छन् । २०७४ मा उनी कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भए । २०७८ मा कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनले नीति निर्माण, बजेट व्यवस्थापन र विकास परियोजनाहरूमा अनुभव हासिल गरेका छन् । यी सबै अनुभवले उनलाई प्रतिनिधिसभामा विश्वसनीय, अनुभवी र जनमुखी नेता बनाउँछ । राजनीतिक विश्लेषकहरूका अनुसार, गोपालको संगठनात्मक क्षमता र स्थानीय नेतृत्वमा स्थापित सञ्जालले उनलाई ठूलो सहयोग पुर्याउनेछ । शर्माका निर्वाचन एजेन्डा: रुकुम पश्चिमको समृद्धि १. पूर्वाधार विकास सडक र पुल: पालिका केन्द्रदेखि वडा–वडा र बस्ती–बस्ती सम्म सडक विस्तार र स्तरोन्नति । चौरजहारी विमानस्थल विस्तार, पर्यटन प्रवर्द्धन र आर्थिक गतिशीलता जलविद्युत: स्यार्पू हाइड्रोपावर निर्माण र सेयर वितरण मार्फत आम्दानी सुनिश्चित खानेपानी र सिंचाई: “एक घर, एक धारा” अभियान पूरा गर्दै कृषि योग्य जमिनमा सिंचाई सुविधा २. सामाजिक विकास शिक्षा: गुणस्तरीय शैक्षिक केन्द्र, प्राविधिक तथा व्यवसायिक तालिम स्वास्थ्य: जिल्ला अस्पताल स्तरोन्नति, मोबाइल अस्पताल, टेलिमेडिसिन सेवा सामाजिक न्याय: जातीय, लैङ्गिक समानता; सहिद परिवार, जेष्ठ नागरिक, दलित र विपन्न वर्गको संरक्षण संस्कृति संरक्षण: मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन युवा तथा खेलकुद: खेलमैदान र रंगशालाको निर्माण ३. आर्थिक विकास पर्यटन: स्यार्पुताल, मेरी नदी, डिग्रेशाईकुमारी मन्दिर, गुरिल्ला ट्रेल, वारास्थित जनयुद्ध संग्रहालय कृषि उत्पादन र पशुपालन: आधुनिक प्रविधि, व्यवसायिक पशुपालन, कृषि उद्योग विस्तार रोजगारी: साना उद्योग स्थापना, युवालाई व्यवसायिक सीप विकास ४. संस्थागत विकास र सुशासन कानून सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता संघ–प्रदेश–स्थानीय तहबीच समन्वय ५. वातावरण र विपद व्यवस्थापन वन, जलस्रोत र जैविक विविधता संरक्षण भूकम्प र प्राकृतिक प्रकोपबाट जोखिम व्यवस्थापन गोपाल शर्माको स्थानीय प्रभाव रुकुम पश्चिममा गोपाल शर्मा तीव्र रूपमा परिचित अनुहार हुन्। उनी पार्टीमा मात्र होइन, स्थानीय जनसमुदायमा पनि विश्वास र सम्मानका पात्र हुन्। उनी विगतमा जनताको सेवा र पार्टीका काममा सक्रिय रहेर योगदान पुर्याएका छन्। विगतका चुनावमा जनार्दन शर्माको सफलतामा उनको नेतृत्व निर्णायक साबित भएको थियो। उनको नारा “शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार – आत्मनिर्भर रुकुम पश्चिमको आधार” स्थानीय जनताको आकांक्षा र विकास दृष्टिकोणसँग मेल खान्छ। उनले विगतका अनुभव र आगामी योजनाहरूलाई व्यवहारिक र लक्षित तरिकाले अघि सारेका छन्। निष्कर्ष गोपाल शर्माको यात्रा स्पष्ट रूपमा देखाउँछ कि उनी विश्वसनीयता, अनुभव र विकासशील सोच बोकेको नेता हुन्। विद्यार्थी राजनीति देखि पार्टी नेतृत्व, निर्वाचन व्यवस्थापन, र सरकारी जिम्मेवारीसम्म उनको यात्रा उनलाई संघीय संसद् सदस्यको लागि योग्य उम्मेदवार बनाउँछ। रुकुम पश्चिम–१ का जनताले अब निर्णायक क्षणमा आफ्नो भोटमार्फत अनुभवी, प्रतिबद्ध र विकासमुखी नेतृत्व छान्ने मौका पाउँछन्। गोपाल शर्मा आफ्नो तीन दशकको अनुभव, संगठनात्मक दक्षता र विकास योजनाहरू लिएर चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनावी एजेन्डा स्पष्ट छ — शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासन। यदि जनताले उनलाई समर्थन गरे, रुकुम पश्चिमले आगामी दशकमा आत्मनिर्भर, समृद्ध र सामाजिक न्याययुक्त जिल्ला बन्ने मार्ग तय गर्न सक्छ। गोपाल शर्माको कथा केवल राजनीतिक करियरको कथा मात्र होइन, यो रुकुम पश्चिमका लागि विकास र नेतृत्वको सम्भावनाको कथा हो।
जनतामा विश्वास, संसद्मा आवाज: सिन्धुपाल्चोक-१ का उम्मेदवार माधव सापकोटा
सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा सक्रिय छन् । उनी ४४ वर्षका, स्पष्ट वैचारिक धार, दीर्घ अनुभव र जनतासँग नजिकको सम्बन्ध भएका नेता हुन् । आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि जनयुद्ध, संगठन निर्माण र संसदीय अभ्याससम्म फैलिएको सापकोटा क्षेत्रका जनताका लागि विश्वासिलो र जिम्मेवार नेतृत्वको प्रतीक बनेका छन् । सापकाेटाकाे जीवन र राजनीतिक यात्रा २० चैत २०३७ मा चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविन्डेमा जन्मिएका सापकोटा १३ वर्षको उमेरमा अखिल (क्रान्तिकारी) बाल इकाइमा प्रवेश गर्दै संगठित राजनीतिक जीवनमा आएका थिए । उनले विद्यालय इकाइ अध्यक्ष, क्षेत्रीय सदस्य, जिल्ला सदस्य र जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यार्थी राजनीतिमा खरो र तार्किक वक्ताको रूपमा आफूलाई स्थापित गरे । जनयुद्धका समयमा उनी भूमिगत भई १४औं बटालियनका कमिसार बने । २०६३ वैशाख १० मा चौतारा आक्रमणमा उनी कमान्डर थिए र घाइते भए । शान्तिपूर्ण परिस्थितिमा फर्किएर संगठन निर्माणमा जुटेका सापकोटा २०७१ मा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष बने र २०७३ मा नेकपाका केन्द्रीय सदस्य चयन हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भए । हाल सापकाेटा नेकपाकाे केन्द्रीय सदस्य छन् । विपत्तिमा नेतृत्व र जनताको विश्वास सापकोटा संकटमा अग्रपंक्तिमा उभिने नेता हुन् । उनले जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी र नागपुजे पहिरो, कोभिड–१९ महामारी र २०८१ असोजको भीषण वर्षा–बाढीमा जनताको सेवा र राहत–उद्धारमा निर्णायक भूमिका खेले। यी घटनामा देखाएको साहस, समर्पण र नेतृत्व क्षमताले उनी जनताको विश्वास जित्न सफल भए । सिन्धुपाल्चोकका स्थानीयहरूले भन्छन्, "सापकोटा जस्तो नेता विपत्तिमा मात्र होइन, विकासका योजनामा पनि निरन्तर अग्रसर छन् । उनी जनताको नजिक रहँदै वास्तविक समस्याहरू समाधानमा जुट्छन् ।" संसदीय अनुभव र उपलब्धि २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित सापकोटाले ३०,३७४ मत ल्याएर आफ्नो क्षेत्रमा जनताको भरोसा सुनिश्चित गरे । संसद्मा उनी विकास, सुशासन, जलवायु, शिक्षा, स्वास्थ्य र न्यायका विषयमा स्पष्ट दृष्टिकोण राख्ने, निर्भीक र जिम्मेवार जनप्रतिनिधि मानिन्छन् । सापकोटाले ३३ महिनाको संसदीय यात्रामा किसान, युवा, विद्यार्थी र स्थानीय मुद्दालाई प्राथमिकता दिएका छन् । ‘विद्यालयमा सांसद, संसदमा विद्यार्थी’ अभियानबाट सयौँ विद्यार्थीलाई संसदीय प्रक्रियासँग जोडेको उल्लेखनीय पहल पनि उनका कार्यहरूमा पर्छ । शिक्षा र व्यक्तित्व सापकोटाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिमा खरो वक्ता र रणनीतिकारका रूपमा परिचित उनी केन्द्रीय जिम्मेवारीपछि अझ परिपक्व, समन्वयकारी र बौद्धिक नेताका रूपमा स्थापित भए । जनताको भावना बुझ्ने क्षमता, संगठन संचालन र नीति निर्माणमा स्पष्ट दृष्टिकोण उनीका विशेषताहरू हुन् । उम्मेदवारका विशेषता जनतासँग नजिकको सम्बन्ध र वास्तविक अनुभव स्पष्ट वैचारिक धार र राजनीतिक स्थिरता संगठन, संघर्ष र संसदीय अभ्यासमा खरो नेतृत्व विपत्तिमा अग्रपंक्तिमा उभिने साहस र समर्पण सिन्धुपाल्चोकका स्थानीय र पार्टी कार्यकर्ताहरू सापकोटालाई ‘जनताको आवाज संसद्मा’ को प्रतीक मान्छन् । सापकाेटाका प्रतिवद्धता पत्रका मुख्य एजेन्डा जीवन्त संसद र गुणात्मक कानुन निर्माण स्थानीयदेखि राष्ट्रिय महत्त्वका विषय प्राथमिकताका साथ उठाउने गुठी समस्या, विद्यालय शिक्षा विधेयक, ढुङ्गाखानी र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोग सुनिश्चित पर्यटन र पूर्वाधार विकास: 'काठमाडौंबाट एकै दिनमा जुगल' आगामी २ वर्षभित्र काठमाडौंबाट जुगल हिमालको फेदीसम्म पुग्ने सडक र पूर्वाधार निर्माण जुगल हिमाल, सुकुटे, तातोपानी, भैरवकुण्डलाई व्यावसायिक पर्यटन हबमा विकास हाई-अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुटको विकास पाँच वर्षमा पाँच हजार युवालाई प्रत्यक्ष रोजगार कृषि मार्फत आर्थिक क्रान्ति सिँचाइ, बीउ, मल, मूल्य र बजार सुनिश्चित न्यूनतम समर्थन मूल्य र भण्डारण व्यवस्थापन जडीबुटी उद्योग प्रवर्द्धन र प्राविधिक सेवा विस्तार शिक्षा र स्वास्थ्य नमुना विद्यालय, स्मार्ट कक्षा र नि:शुल्क गुणस्तरीय शिक्षा SEE उत्तीर्ण विद्यार्थीलाई करियर काउन्सेलिङ स्वास्थ्य सेवा र बीमा प्रणालीमा पहुँच सुनिश्चित युवा, रोजगारी र डिजिटल सिन्धुपाल्चोक गाउँ बस्तीमा उच्चगतिको इन्टरनेट र डिजिटल साक्षरता केन्द्र युवा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन सुशासन र भ्रष्टाचारविरुद्ध अभियान सम्पत्ति छानबिन, डिजिटल प्रशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित विपद् व्यवस्थापन र जलवायु न्याय जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती जलवायु परिवर्तनको असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आवाज सामाजिक न्याय र समावेशिता सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सुविधा महिला, दलित, आदिवासी, मजदुर, किसान र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व जलस्रोत र ऊर्जा विकास स्थानीयलाई प्राथमिकता, रोजगारी र रोयल्टी सुनिश्चित विदेशमा रहेका नेपालीको अधिकार सुनिश्चितता मताधिकार र युवाको क्षमता उपयोग सुनिश्चित सापकोटाको चुनावी सन्देश "हिजो जस्तै आज पनि म सहिद, घाइते र आमजनताका अधुरा सपनाहरूको संवाहक बनेर उभिएको छु। सिन्धुपाल्चोक-१ को सामूहिक सपनालाई म सदैव शीरमा राख्नेछु। फागुन २१ मा ‘तारा’ चिन्हमा मतदान गरी यो यात्रालाई निरन्तरता दिनुहोस्।" उनका समर्थकहरू विश्वास गर्छन् कि सापकोटाको नेतृत्वमा सिन्धुपाल्चोकको समृद्धि, सुशासन र विकासको नयाँ युग सुरु हुनेछ।
सल्यानको भविष्यको नायक: अनुभव र दृढता बोकेका रमेशकुमार मल्ल
सल्यान । जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवनदेखि शान्ति प्रक्रियापछिका दुई दशक लामो राजनीतिक यात्रासम्मको अनुभव बोकेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेशकुमार मल्ल यतिबेला संसदीय राजनीतिमा जनताबाट प्रत्यक्ष परीक्षित हुने ऐतिहासिक मोडमा उभिएका छन् । तीन दशक लामो त्याग, समर्पण र संगठन निर्माणको यात्राबाट खारिएका मल्ल सल्यानमा परिवर्तन, स्थायित्व र नयाँ पुस्ताको नेतृत्वको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन् । ४७ वर्षीय मल्ल विद्यार्थी आन्दोलनबाट उदाएका प्रतिबद्ध, अध्ययनशील र दूरदर्शी नेता हुन् । २०३५ माघ २८ गते सल्यानको कुमाख गाउँपालिका–५, बाल्लेमा जन्मिएका उनले युवावस्थामै राजनीतिक चेतना र सामाजिक रूपान्तरणको अभियानलाई आफ्नो जीवनको उद्देश्य बनाएका थिए । २०५० सालमा अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका मल्लले छोटो समयमै संगठन निर्माण, नेतृत्व विकास र आन्दोलन परिचालनमा असाधारण क्षमता प्रदर्शन गरेका थिए । २०५६ सालमा क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको जिल्ला अध्यक्ष बनेका मल्लले संगठनलाई जिल्लाको प्रभावशाली शक्ति बनाएका थिए । त्यसपछि केन्द्रीय सदस्य, क्षेत्रीय संयोजक, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले राष्ट्रिय स्तरमै सक्षम नेतृत्वको परिचय दिएका थिए । मल्लको राजनीतिक जीवन केवल विद्यार्थी आन्दोलनमै सीमित रहेन । २०५४ सालमा पूर्णकालीन कार्यकर्ता बनेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका उनले कठिन भूमिगत जीवन व्यतीत गर्दै संगठन विस्तार, जनचेतना निर्माण र वैचारिक नेतृत्वमा महत्वपूर्ण भूमिका खेले । उनी २०६० मा सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्य, २०६१ मा पश्चिम केन्द्रीय कमान्ड अन्तर्गत स्कूल विभाग सदस्य, २०६५ मा राज्य समिति सदस्य हुँदै क्रमशः पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भएका थिए । २०७३ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य बनेका मल्लले संगठनात्मक सुदृढीकरण, नीतिगत स्पष्टता र जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । हाल उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा पार्टीको नीति, संगठन र आन्दोलनलाई सशक्त बनाउने जिम्मेवारीमा छन् । मल्लले सरकार सञ्चालनको केन्द्रमै रहेर पनि महत्वपूर्ण अनुभव हासिल गरेका छन् । २०७३ देखि २०७४ र पुनः २०७९ देखि २०८१ सम्म तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवका रूपमा काम गर्दै उनले राज्य सञ्चालन, नीति निर्माण र प्रशासनिक समन्वयको प्रत्यक्ष अनुभव हासिल गरेका थिए । यसले उनलाई केवल आन्दोलनका नेता मात्र होइन, शासन सञ्चालनको व्यवहारिक ज्ञान भएका सक्षम राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ । शैक्षिक रूपमा पनि मल्ल सशक्त छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक मुद्दामा स्पष्ट धारणा राख्ने अध्ययनशील नेताका रूपमा पहिचान बनाएका छन् । चीन, भारत र बंगलादेशलगायत देशको भ्रमण गर्दै उनले नेपालको प्रतिनिधित्व गरेका छन् भने आफ्ना अनुभवलाई ‘छिमेक यात्रा’ पुस्तकमार्फत सार्वजनिक पनि गरेका छन् । यस क्षेत्रमा विगतका निर्वाचनमा विभिन्न कम्युनिष्ट धारका नेताहरू निर्वाचित भए पनि यसपटक नेपाली कम्युनिष्ट पार्टीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, संगठनमा खारिएका र जनतासँग प्रत्यक्ष जोडिएका मल्ललाई उम्मेदवार बनाएको छ । पार्टीभित्र समेत लामो छलफलपछि मल्ललाई उम्मेदवार बनाइएको थियो, जसले पार्टीभित्रको विश्वास र उनको नेतृत्व क्षमताको पुष्टि गरेको छ । पूर्व विजेता प्रकाश ज्वालासमेत मल्लको पक्षमा उभिँदै चुनावी अभियानमा सक्रिय हुनु पार्टी एकता र बलियो आधारको संकेत मानिएको छ । मल्लको उम्मेदवारीले सल्यानमा नयाँ ऊर्जा र उत्साह सिर्जना गरेको छ । लामो संघर्ष, वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र शासन सञ्चालनको अनुभवले उनी अन्य प्रतिस्पर्धीभन्दा अब्बल उम्मेदवारका रूपमा उभिएका छन् । जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिएको जीवन, परिवर्तनका लागि समर्पित राजनीतिक यात्रा र समृद्ध सल्यान निर्माणको स्पष्ट दृष्टिकोणसहित मैदानमा उत्रिएका रमेशकुमार मल्लले अब जनताको विश्वास जित्दै परिवर्तनको विरासतलाई संस्थागत गर्ने विश्वास गरिएको छ ।
सल्यानमा नेकपाको घरदैलो आँधी, दार्मादेखि कुमाखसम्म मल्ललाई अभूतपूर्व जनसमर्थन
सल्यान । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदाता केन्द्रित घरदैलो अभियानलाई अभूतपूर्व रूपमा तीव्र बनाएको छ । दार्मा गाउँपालिकादेखि कुमाख गाउँपालिकासम्म विस्तार गरिएको अभियानले गाउँ–गाउँमा चुनावी माहोललाई उत्साहजनक बनाउनुका साथै उम्मेदवार रमेश कुमार मल्लको पक्षमा स्पष्ट जनसमर्थन देखिन थालेको छ । स्थानीय बस्तीहरूमा उम्मेदवार मल्ल र नेकपाका नेता–कार्यकर्ताको सक्रिय उपस्थितिले ग्रामीण क्षेत्रमै चुनावी लहर सिर्जना भएको छ भने मतदाताहरूमा आशा, भरोसा र उत्साह झन् बढेको देखिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले दार्मा गाउँपालिकाका मैदान, मौलेईखाली, फारुलाचौर, मौलाहाले लगायत आधा दर्जनभन्दा बढी बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । प्रत्येक घर–घरमा पुगेर उम्मेदवार मल्लले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । स्थानीय आमा समूह, युवा क्लब, कृषक समूह, महिला समूह र जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया गर्दै उहाँले उनीहरूका सुझाव, गुनासा र अपेक्षालाई गम्भीरतापूर्वक सुन्नुभएको थियो । घरदैलो अभियान दार्माबाट थप सशक्त रूपमा अघि बढ्दै छिमेकी कुमाख गाउँपालिकामा प्रवेश गरेको छ, जहाँ पनि स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक स्वागत गरेका छन् । घरदैलोका क्रममा धेरै स्थानमा उम्मेदवार मल्ललाई स्थानीयहरूले फूलमाला, खादा र टीका लगाएर स्वागत गरेका थिए । स्थानीय बासिन्दाहरूले नेकपाको नेतृत्वमा मात्र विकास सम्भव भएको विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरेर मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कतिपय स्थानमा स्वतःस्फूर्त रूपमा स्थानीय युवाहरू अभियानमा सहभागी हुँदै घरदैलो अभियानलाई थप व्यापक बनाएका थिए, जसले नेकपाको अभियान जनआन्दोलनको स्वरूप लिँदै गएको संकेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले निर्वाचन जित्नु मात्र लक्ष्य नभई जनताको विश्वास जित्नु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको साथ, समर्थन र भरोसाले आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको उल्लेख गर्दै स्थानीय विकासलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गर्नुभयो । “यो चुनाव केवल पद प्राप्त गर्ने प्रतिस्पर्धा होइन, यो जनताको भविष्य निर्माण गर्ने अभियान हो,” उहाँले भन्नुभयो, “जनताको साथ र विश्वासले हामीलाई विकासको नयाँ अध्याय सुरु गर्ने शक्ति दिएको छ ।” उहाँले विशेषगरी सडक विस्तार, खानेपानीको सुनिश्चितता, सिंचाइ प्रणालीको विकास, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँचलाई प्राथमिकतामा राखिने बताउनुभयो । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गरी दुर्गम बस्तीलाई सहज आवागमनसँग जोड्ने, प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने र कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले कृषिमा उत्पादन लागत घटाउने, मल, बीउ र प्रविधिको सहज उपलब्धता सुनिश्चित गर्ने तथा उत्पादित कृषि वस्तुको बजार सुनिश्चित गर्ने नीति अवलम्बन गरिने बताउनुभयो । उम्मेदवार मल्लले युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र साना तथा घरेलु उद्योग विस्तारमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो । “युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै अवसर सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो, “कृषि, पर्यटन र उद्यमशीलतालाई जोडेर आर्थिक समृद्धिको आधार निर्माण गरिनेछ ।” त्यसैगरी समानुपातिक उम्मेदवार शारदा परियारले पनि घरदैलो अभियानका क्रममा मतदातासँग व्यापक अन्तरक्रिया गर्नुभएको थियो । उहाँले महिला, दलित, जनजाति, पिछडिएका वर्ग तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नु नेकपाको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले समावेशी, समानतामूलक र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि नेकपाले स्पष्ट नीति र कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो । “राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समान सहभागिता सुनिश्चित नगरी समृद्धि सम्भव छैन,” उहाँले भन्नुभयो, “नेकपा सबै समुदायको समान अधिकार र सम्मानका लागि प्रतिबद्ध छ ।” घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्नो मुख्य प्राथमिकता भएको बताएका थिए । धेरै मतदाताले नेकपाको नेतृत्वमा मात्र दीगो विकास सम्भव भएको विश्वास व्यक्त गर्दै उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कतिपय स्थानमा स्थानीय बासिन्दाहरूले नेकपाले विगतमा गरेको विकास कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी काम हुने अपेक्षा व्यक्त गरेका थिए । गाउँस्तरमै पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने नेकपाको रणनीतिले चुनावी अभियानलाई अत्यन्त प्रभावकारी बनाएको छ । दार्मादेखि कुमाखसम्म विस्तार भएको घरदैलो अभियानले उम्मेदवार मल्लको पक्षमा जनलहर सिर्जना गरेको स्थानीयहरू बताउँछन् । अभियानमा देखिएको जनसहभागिता, उत्साह र समर्थनले आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित हुने विश्वास पार्टीका नेता तथा कार्यकर्ताले व्यक्त गरेका छन् । नेकपाले आगामी दिनमा पनि सल्यानका अन्य गाउँपालिका र बस्तीहरूमा घरदैलो अभियानलाई अझ व्यापक र तीव्र बनाउँदै लैजाने जनाएको छ । जनताको घरदैलोमै पुगेर उनीहरूको भावना, अपेक्षा र आवश्यकता बुझ्ने अभियानलाई निरन्तरता दिँदै नेकपा उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने लक्ष्यका साथ अभियान थप सशक्त रूपमा अगाडि बढाइएको पार्टीले जनाएको छ ।
रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताउनुभएको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२, कोलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले दलित समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा दलित तथा मगर समुदायको समग्र विकासका लागि विशेष कार्यक्रम ल्याइने बताउनुभयो। प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गर्नुभएको छ। “हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं,” उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं, तर सरकार ढलेपछि त्यो काम अगाडि बढ्न सकेन। अब म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गर्दछु।” उहाँले दलितहरूको बाहुल्य रहेका क्षेत्रहरूलाई संरक्षित क्षेत्रका रूपमा विकास गरी सो समुदायलाई विशेष अधिकार प्रदान गर्न सकिने पनि बताउनुभयो। यसैगरी, उहाँले रुकुमपूर्वलाई सडक सञ्जालमार्फत प्रभावकारी रूपमा जोड्ने महत्वपूर्ण योजनाप्रति पनि प्रतिबद्धता जनाउनुभयो। “हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं। अब त्यसको स्तरउन्नति गर्नेछौं। तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्डलाई विस्तार गरी आवतजावत सहज बनाउनेतर्फ मेरो विशेष ध्यान रहनेछ,” उहाँले भन्नुभयो। निर्वाचित भएपछि उक्त सडकलाई बेनीसम्म विस्तार गरी स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गरिने उहाँको भनाइ थियो। जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै प्रचण्डले संविधानले दलित, जनजातिलगायत सबै समुदायलाई अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो। “अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि नयाँ अभियान सुरु गर्नुपर्छ,” उहाँले थप्नुभयो।
रुकुमपूर्वका गाउँ–गाउँमा ‘प्रचण्ड’: जनताको उत्साहजनक सहभागिता र बलियो विश्वास
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्वका गाउँ–गाउँमा पुग्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । माघ २९ गते जनभेटघाट कार्यक्रमका लागि रुकुमपूर्व आउनुभएका प्रचण्डले यतिबेला दुर्गम बस्ती, पहाडी गाउँ र जनताको घरदैलोमै पुगेर जनताको अवस्था, समस्या र सम्भावनाको प्रत्यक्ष अध्ययन गरिरहनुभएको हो । रुकुमपूर्वको भूमे गाउँपालिका–२ खाबाङ बगर, वडा नं. ६ महत, ७ लाबाङ, ८ कोर्जा र ९ चुनबाङमा उहाँले व्यापक जनभेटघाट गर्नुभएको छ । त्यस्तै पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोट, १३ विर्गुम, पदमी, पिपलतुङ, ५ हुकाम, ६ मयाङ, १० र ११ तकसेरा, दमचन र तुप्पा लगायतका गाउँमा पुगेर उहाँले स्थानीय नागरिकसँग आत्मीय भेटघाट गर्नुभएको नेकपा रुकुमपूर्वका संयोजक कुमारी बरालले जानकारी दिनुभयो । यसैक्रममा अहिले पुथाउत्तरगङ्गा–१२ गर्खानी, कोल, खोल्खाडा, वडा नं. १४ राङ्सी, नाखा र जाङ बगर लगायतका बस्तीमा जनभेटघाट कार्यक्रम तय गरिएको छ । फागुन ६ गतेसम्म निरन्तर चल्ने यो अभियानमार्फत प्रचण्डले जिल्लाका अधिकांश गाउँ समेट्ने योजना रहेको बरालले बताउनुभयो । जनताका समस्या सुन्दै समाधानको प्रतिवद्धता प्रचण्डको जनभेटघाट कार्यक्रम केवल औपचारिक कार्यक्रम नभई जनताको घरदैलोमै पुगेर उनीहरूको जीवनस्तर, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने अभियानका रूपमा अघि बढेको छ । उहाँले स्थानीय किसान, मजदुर, युवा, महिला, ज्येष्ठ नागरिक र बुद्धिजीवीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्नुका साथै समाधानका लागि ठोस योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनतासँगको संवादमा उहाँले रुकुमपूर्व केवल भौगोलिक रूपमा मात्र नभई ऐतिहासिक रूपमा पनि क्रान्तिको केन्द्र रहेको उल्लेख गर्नुभयो । “रुकुमपूर्व क्रान्तिको भूमि हो । यही भूमिबाट जनताको अधिकारका लागि ऐतिहासिक जनयुद्ध सुरु भयो । अब राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिको नयाँ चरण सुरु गर्न म फेरि जनतामाझ आएको छु,” उहाँले भन्नुभयो । विकासका नयाँ सम्भावनाको ढोका खाेलिदै प्रचण्डले आफू प्रधानमन्त्री रहँदा मध्यपहाडी लोकमार्ग, शहीद मार्ग लगायतका रणनीतिक महत्वका सडक योजना अघि बढाएको स्मरण गराउँदै ती योजनालाई पूर्णता दिन र नयाँ पूर्वाधार विकासका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सञ्चार, पर्यटन र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेर रुकुमपूर्वलाई विकासको नमुना जिल्ला बनाउने योजना सुनाउनुभएको छ । उहाँले विशेष गरी युवा रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, जलस्रोतको उपयोग र स्थानीय स्रोत–साधनको परिचालनमार्फत जिल्लाको आर्थिक समृद्धि सम्भव रहेको उल्लेख गर्नुभयो । “रुकुमपूर्वलाई आत्मनिर्भर र समृद्ध बनाउन हामीसँग स्पष्ट योजना छ । जनताको सहयोग र विश्वासले यो सम्भव हुन्छ,” उहाँले भन्नुभयाे । जनताको उत्साहजनक सहभागिता र विश्वास गाउँ–गाउँमा आयोजित जनभेटघाट कार्यक्रममा स्थानीय जनताको उल्लेखनीय उपस्थिति देखिएको छ । दुर्गम बस्तीका नागरिकहरूले प्रचण्डलाई नजिकबाट भेट्न र आफ्ना कुरा राख्न पाउँदा उत्साह व्यक्त गरेका छन् । धेरै स्थानीयले प्रचण्डले विगतमा व्यवस्था परिवर्तनमा खेलेको ऐतिहासिक भूमिका स्मरण गर्दै अब विकास र समृद्धिको नेतृत्व पनि उहाँबाटै सम्भव हुने विश्वास व्यक्त गरेका छन् । स्थानीय मतदाताले “व्यवस्था परिवर्तन गर्ने नेतृत्वले अब जनताको जीवन परिवर्तन पनि गर्नेछ” भन्ने अपेक्षा राखेका छन् । जनताले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक अवसरका क्षेत्रमा ठोस काम हुने आशा व्यक्त गरेका छन् । जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने संकल्प प्रचण्डले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै जनताको जीवनस्तर उकास्ने दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले रुकुमपूर्वलाई विकास, समृद्धि र अवसरको केन्द्र बनाउने लक्ष्यसहित आफ्नो अभियान अघि बढिरहेको स्पष्ट पार्नुभयो । जनताको व्यापक समर्थन, उत्साहजनक सहभागिता र सकारात्मक अपेक्षाले रुकुमपूर्वमा प्रचण्डको जनभेटघाट कार्यक्रमले नयाँ राजनीतिक र विकासात्मक ऊर्जा सिर्जना गरेको छ । गाउँ–गाउँमा जनतासँग प्रत्यक्ष संवाद गर्दै उहाँले आर्थिक समृद्धि, सामाजिक न्याय र समुन्नत भविष्यको स्पष्ट मार्गचित्र प्रस्तुत गरिरहनुभएको छ ।

