सिन्धुपाल्चोकमा एमाले कांग्रेस परित्याग गरी दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बार्हबिसे–८ मा नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। एमाले, कांग्रेसलगायत विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रोज्दै पार्टी प्रवेश गरेका छन्।
पछिल्लो समय देशभर देखिएको राजनीतिक अस्थिरता र जनअपेक्षाको सम्बोधन गर्न सक्ने वैचारिक तथा संगठनात्मक शक्ति नेकपा नै रहेको विश्वासका साथ उनिहरूले पार्टी प्रवेश गरेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवेशी नेता–कार्यकर्तालाई टीका तथा खादा लगाएर पार्टीमा औपचारिक स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै सहभागीहरूले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, विकास र जनजीविकाको सवाललाई सही दिशामा अघि बढाउन नेकपाको भूमिका महत्वपूर्ण रहेको धारणा राखे। उनीहरूले पुराना दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै वैकल्पिक शक्तिका रूपमा नेकपाप्रति आकर्षण बढ्दै गएको बताए।
पार्टी नेतृत्वले नवप्रवेशी कार्यकर्तालाई संगठन सुदृढीकरण र जनस्तरमा वैचारिक अभियानलाई थप प्रभावकारी बनाउन आह्वान गरेको छ। यस घटनालाई स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नेकपाप्रतिको समर्थन र विश्वास बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय विभिन्न क्षेत्रबाट पार्टी प्रवेशको क्रम तीव्र बन्दै जानु नेकपाको संगठनात्मक विस्तार र जनआधार मजबुत हुँदै गएको प्रमाण हो। यसले आगामी दिनमा पार्टीको राजनीतिक प्रभाव र जनसम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
यसरी सिन्धुपाल्चोकमा देखिएको यो प्रवेश लहरले नेकपाको पक्षमा जनसमर्थन विस्तार भइरहेको स्पष्ट सन्देश दिएको छ।
यस पटक नेपाली कम्युनिस्ट पार्टी नै किन ?
काठमाडौं । बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमा देशले स्पष्ट दृष्टि, दृढ नेतृत्व र जनमुखी नीतिको आवश्यकता महसुस गरिरहेको छ। यही ऐतिहासिक घडीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र समतामूलक विकासका लागि स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता पत्र केवल चुनावी कागज होइन—यो राष्ट्र निर्माणको कार्ययोजना छ । तारा चुनाव चिह्नमा मतदान गरी व्यवस्था बदल्ने पार्टीलाई अब देशको अवस्था बदल्ने अवसर दिन नेकपाले जनतासँग आग्रह गरेको छ। यस्ता छन् दश मुख्य कारण १. राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको सुदृढ आधार नेकपाले राजनीतिक, आर्थिक र नीतिगत आत्मनिर्णयलाई सुदृढ गर्दै वैदेशिक हस्तक्षेप र परनिर्भरताको अन्त्य गर्ने स्पष्ट अडान लिएको छ। स्वाधीन राष्ट्रको निर्माण यसको पहिलो प्राथमिकता हो। २. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र परिमार्जन गणतन्त्रको रक्षा मात्र होइन, यसको प्रभावकारी कार्यान्वयन, सङ्घ–प्रदेश–स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँट र उत्तरदायित्व सुनिश्चित गर्दै शासन प्रणालीलाई जनमुखी बनाउने लक्ष्य नेकपाको छ। ३. समाजवादतर्फ अग्रसर समतामूलक समृद्धि देशको उत्पादन, वितरण र सेवामा जनताप्रतिको उत्तरदायित्व सुनिश्चित गर्दै सुशासन, सामाजिक न्याय र मानवीय मूल्यमा आधारित समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता नेकपाको मूल दर्शन हो। ४. संविधानको रक्षा र अग्रगामी संशोधन वर्तमान संविधानका सकारात्मक पक्षहरूको सुदृढीकरण गर्दै, शासकीय स्वरूप, निर्वाचन प्रणाली र सङ्घीय संरचनालाई समयानुकूल सुधार गर्ने साहस नेकपाले देखाएको छ—विशेषगरी युवा पुस्ताको भावना समेटेर। ५. समावेशी लोकतन्त्रको सुनिश्चितता बहुलतायुक्त समाजअनुकूल राज्यसत्तामा सबै समुदायको प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक संरचना निर्माण गर्ने प्रतिबद्धता स्पष्ट छ। ६. मौलिक हकको व्यवहारिक कार्यान्वयन भोक, रोग, गरिबी, असमानता र वर्गीय विभेदबाट मुक्ति दिलाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षालाई व्यवहारमा लागू गर्ने कार्यक्रम नेकपाको प्राथमिकतामा छ। ७. सीमान्तीकृत समुदायको समानुपातिक सहभागिता महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई राज्यका सबै निकायमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने स्पष्ट नीति नेकपाको छ। ८. श्रमिक, किसान र उत्पीडित वर्गको अधिकार महिला, मजदूर, किसान, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायको अधिकार र अवसरमा समानता सुनिश्चित गर्दै सामाजिक न्याय स्थापना गर्ने प्रतिबद्धता नेकपाले दोहोर्याएको छ। ९. सार्वभौमिकता र राष्ट्रिय एकता देशको भूअखण्डता र सार्वभौमिकताको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार—तीनै मोर्चाबाट सङ्घर्षरत रहने अठोट नेकपाको छ। १०. धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव धार्मिक स्वतन्त्रता, बहुसांस्कृतिक सम्मान र सामाजिक सद्भावलाई सुदृढ गर्दै विभेद र उत्पीडनको अन्त्य गर्ने स्पष्ट संकल्प नेकपाले अघि सारेको छ। परिवर्तनको भरोसायोग्य शक्ति नेपाली कम्युनिस्ट पार्टी केवल राजनीतिक दल होइन—यो परिवर्तनको आन्दोलन हो। यसले विगतका संघर्ष, वर्तमानका चुनौती र भविष्यका सम्भावनालाई जोडेर समृद्ध, न्यायपूर्ण र समावेशी नेपाल निर्माण गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। यस पटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया होइन—यो देशको दिशा तय गर्ने ऐतिहासिक अवसर हो। त्यसैले, व्यवस्था बदल्ने शक्ति अब देश बदल्ने संकल्पका साथ-नेकपा नै किन होइन ?
सिन्धुपाल्चो-२ मा युवराज दुलालको घरदैलोमा उत्साहजनक
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार युवराज दुलाल यतिबेला घरदैलो तथा जनसंवाद कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। यसैक्रममा हेलम्बु गाउँपालिका–६ इचोकमा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण र जनसहभागितामय बनेको छ। इचोकका टोल–टोलमा पुगेका उम्मेदवार दुलालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, खुला संवाद र आत्मीय छलफल गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए। दुलालले जनताको अपेक्षा र सुझावलाई आफ्नो प्राथमिक कार्यसूचीमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वासलाई कुनै पनि हालतमा निराश नपार्ने बताए। घरदैलोका क्रममा देखिएको जनउपस्थिति र उत्साहले आफू थप जिम्मेवार बनेको उल्लेख गर्दै दुलालले भने, “जनताबाट प्राप्त यही ऊर्जा नै हाम्रो समृद्धिको आधार हो। हामी विकासको साझा यात्रामा छौं, र यो यात्रा जनताको साथ र विश्वासले मात्र सफल हुन्छ।” उनले समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि सबै राजनीतिक आस्था र विचारभन्दा माथि उठेर साझा पहल आवश्यक रहेको धारणा राखे। कार्यक्रमका क्रममा विभिन्न समुदायका युवाहरू, महिला समूह तथा स्थानीय अगुवाहरूले नेकपाको नीति, कार्यक्रम र उम्मेदवार दुलालको स्पष्ट दृष्टिकोणप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए। विकास र परिवर्तनको अभियानमा साथ दिन तयार रहेको भन्दै केही स्थानीय युवाहरू पार्टीमा आबद्धसमेत भएका थिए। दुलालले आगामी दिनमा क्षेत्रका प्रत्येक वडा र बस्तीमा पुगेर जनसंवादलाई अझ सशक्त बनाउने योजना रहेको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य, सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको समापनमा उनले परिवर्तन र समृद्धिका लागि तारा चिह्नमा मतदान गर्न आग्रह गर्दै भने, “हाम्रो एकता नै परिवर्तनको शक्ति हो। अब समृद्ध भविष्यका लागि दृढ निर्णय लिनुपर्ने समय आएको छ।” इचोकमा देखिएको जनलहरले नेकपाको पक्षमा सकारात्मक वातावरण निर्माण भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन्।
ओखलढुंगामा परिवर्तनको लहर : सयौं युवाको रोजाइ नेकपा, अम्बिरबाबु गुरुङप्रति बढ्दो विश्वास
ओखलढुंगा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा परिवर्तन र विकासको पक्षमा जनलहर स्पष्ट देखिन थालेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरिएको छ। यसैक्रममा एमाले र कांग्रेस परित्याग गरी सयौं युवा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन्। काठमाडौंको जोरपाटीमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा चम्पादेवी र सुनकोशी गाउँपालिकाका युवाहरूले नेकपाप्रति आफ्नो आस्था प्रकट गरेका हुन्। नवप्रवेशीलाई उम्मेदवार गुरुङ, जिल्ला संयोजक चम्पा कार्की ‘आशा’ लगायतका नेताहरूले खादा–माला लगाएर स्वागत गर्दै पार्टीमा जिम्मेवारीसहित सक्रिय हुने आह्वान गरेका थिए। पलापु, चिप्लिङ, फेदीगुठ, सिस्नेरी र बिलन्दु क्षेत्रका युवाहरूले “विकास, सुशासन र स्पष्ट राजनीतिक दृष्टिकोण” को आधारमा नेकपा रोजेको बताएका छन्। कार्यक्रमको संयोजन चम्पादेवी–५ का पूर्व वडाध्यक्ष तथा समाजसेवी युवा नेता झलकमान तामाङले गरेका थिए। उनले ओखलढुंगाको समग्र विकासका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरे। अधुरा योजना पूरा गर्ने अठोट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले आफूले प्रदेश सांसदका रूपमा सुरु गरेका सयौं विकास योजनाहरू अझै अधुरा रहेको उल्लेख गर्दै ती योजनाहरूलाई पूर्णता दिन प्रतिनिधिसभामा आफ्नो उपस्थिती आवश्यक रहेको बताए। “ओखलढुंगाको समृद्धिका लागि सुरु गरिएका योजनाहरूलाई बीचमै रोकिन दिनु हुँदैन। जनताको विश्वास र समर्थनले ती सबै अधुरा योजना पूरा गरेर जिल्लालाई विकासको नयाँ उचाइमा पुर्याउनेछु,” गुरुङले दृढतापूर्वक भने। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सार्दै युवालाई केन्द्रमा राखेर विकासको खाका तयार पारेको बताए। जनआकांक्षाको प्रतिनिधि बन्दै नेकपा पार्टी प्रवेश कार्यक्रमलाई नेकपाले आगामी निर्वाचनमा जनआकांक्षा र परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेको छ। स्थानीय तहदेखि संघसम्म समन्वय गर्दै दीर्घकालीन विकासको आधार तयार पार्ने प्रतिबद्धतासहित गुरुङको उम्मेदवारीलाई व्यापक समर्थन प्राप्त भइरहेको दाबी गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा नयाँ राजनीतिक ध्रुवीकरण र शक्ति सन्तुलनको बहस तीव्र बन्दै गएको छ। यसबीच सयौं युवाको सक्रिय सहभागिता र समर्थनले नेकपा उम्मेदवार गुरुङको पक्षमा सकारात्मक माहोल सुदृढ हुँदै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ । बिहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अङ्कित झण्डा जलाएको विषयप्रति लक्षित गर्दै सङ्गठनले आज विज्ञप्ति जारी गरी राजनीतिक दलका झण्डा जलाउने, च्यात्नेलगायत गतिविधिले निर्वाचन बिथोलिने भएकाले यस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, “राजनीतिलाई गलत दिशातिर लैजान खोज्ने तत्वले झण्डा जलाउने, च्यात्ने, कार्यक्रम बिथोल्नेलगायत अराजनीतिक र उच्छशृङ्खल गतिविधि गर्नु लोकतान्त्रिक संस्कारविपरीत कार्य हो, लोकतन्त्रमा असहमति राख्न सकिन्छ, तर त्यसलाई हिंसात्मक बनाउनु हुँदैन ।” लामो सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्रको मूल सुन्दरता अभिव्यक्ति स्वतन्त्रता, आफ्ना राजनीतिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्ने अधिकार र फरक विचारप्रति पारस्परिक सम्मान भएको उल्लेख गर्दै वाइसिएलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैको जिम्मेवारी हुनेमा जोड दिएको छ । विज्ञप्तिमा भनिएको छ, “निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु सम्पूर्ण राजनीतिक दल, राज्यसंयन्त्र तथा नागरिक समाजको साझा जिम्मेवारी हो । मतदाताको अधिकारको सम्मान गर्दै सबै पक्षले संयम, सहिष्णुता र कानुनी मर्यादाको पालना गर्नु अत्यावश्यक छ ।” निर्वाचन बिथोल्ने कार्य गर्नेलाई कारबाही गर्न वाइसिएलले सरकारसँग माग गरेको छ ।
रौतहटमा कर्फ्यु जारी केही घण्टाका लागि खुकुलो
काठमाडौं । दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार (फागुन १०) पनि जारी रहनेछ । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो । सो कर्फ्यु आज साढे ६ बजेसम्म रहनेछ । त्यसपछि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन । साढे ८ पछि अर्को आदेश नआउन्जेल कर्फ्यु निरन्तर रहने जिल्ला प्रशासनले जनाएको छ । कर्फ्यु गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म जारी गरिएको छ ।
मनले चाहेर विकास गर्ने हो भने असम्भव केही छैन: रेनु दाहाल
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहाल ले दृढ आत्मविश्वासका साथ भनिन्, “मनले चाहेर विकासको काम गर्ने हो भने असम्भव भन्ने केही हुँदैन।” घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्पष्ट धारणा राखिन्—इच्छाशक्ति, इमानदार नेतृत्व, योजनाबद्ध कार्यशैली र जनसहभागिता भए विकासका लक्ष्यहरू अवश्य हासिल गर्न सकिन्छ। उनले विकासलाई केवल नारामा सीमित नराखी व्यवहारमा उतारेर देखाएको दाबी गरिन्। उनका अनुसार राजनीतिक इच्छाशक्ति, पारदर्शिता र उत्तरदायित्व विकासका मूल आधार हुन्। “चुनौती त हरेक क्षेत्रमा हुन्छन्,” उनले भनिन्, “तर स्पष्ट लक्ष्य, निरन्तर मेहनत र जनतासँगको सहकार्यले पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेखनीय फड्को मार्न सकिन्छ।” भरतपुरको उदाहरण : विकासको प्रत्यक्ष अनुभूति आफ्नो कार्यकालतर्फ संकेत गर्दै उनले भनिन्, “उदाहरण हेर्न चाहनुहुन्छ भने भरतपुर हेर्नुस्।” भरतपुर महानगरपालिकाको प्रमुख रहँदा आफूले थालेका योजनाहरू आज जनताले प्रत्यक्ष अनुभूति गरिरहेको उनको दाबी छ। उनका अनुसार महानगरले पछिल्ला वर्षहरूमा सडक विस्तार, कालोपत्रे तथा स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, सार्वजनिक पार्क तथा सौन्दर्यीकरण, विद्यालय सुधार, स्वास्थ्य पूर्वाधार विस्तार लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। विकासका योजना जनताको आवश्यकता र सुझावका आधारमा तर्जुमा गरिएको उल्लेख गर्दै उनले पारदर्शी कार्यशैली र प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको बताइन्। “विकास कुनै एक व्यक्तिको प्रयासले सम्भव हुँदैन,” उनले जोड दिइन्, “जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको सहकार्य र विश्वास चाहिन्छ।” देशकै केन्द्रबिन्दुमा रहेको भरतपुर महानगरपालिका लाई आधुनिक, व्यवस्थित र अवसरयुक्त सहरका रूपमा विकास गर्ने दीर्घकालीन सोचका साथ आफू अघि बढेको उनले स्मरण गरिन्। अधुरा काम पूरा गर्ने अठोट दाहालले आफ्नो कार्यशैलीबारे उल्लेख गर्दै भनिन् कि जनताको समस्या, गुनासा र विकास निर्माणका काममा आफू दिनरात खटिएको अनुभव छ। “मैले जिम्मेवारी सम्हालेपछि कहीँकतै कमी हुन नदिने प्रयास गरेँ,” उनले भनिन्, “तर अझै केही काम बाँकी छन्। ती अधुरा योजनालाई निरन्तरता दिन र पूरा गर्नकै लागि म फेरि चितवन–३ बाट उम्मेदवार बनेकी हुँ।” उनले आफूले विगतमा गरेका प्रतिबद्धताहरू पूरा गरेको दाबी गर्दै भविष्यमा पनि जति पूरा गर्न सकिन्छ, त्यति मात्रै वाचा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “जनतासँग असम्भव सपना बाँड्ने होइन, पूरा गर्न सकिने योजना राख्ने मेरो नीति हो,” उनले स्पष्ट पारिन्। पर्यटकीय गन्तव्यका रूपमा भरतपुर उनले भरतपुर महानगरपालिका अहिले देशैभरबाट घुम्न आउने प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताइन्। सहरको पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, सार्वजनिक स्थलहरूको स्तरोन्नति र व्यवस्थापनमा आफ्नो नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ। चितवन–३ मात्र होइन, समग्र देशका लागि सक्षम, अनुभवी र दूरदर्शी जनप्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै उनले आफू त्यसका लागि योग्य रहेको दाबी गरिन्। “विकासको स्पष्ट दृष्टिकोण, अनुभव र परिणाम दिन सक्ने क्षमता मसँग छ,” उनले भनिन्, “त्यसैले मतदाताले मेरो विगतको कामको मूल्यांकन गरेर बहुमतका साथ विजय गराउनुहुन्छ भन्नेमा म विश्वस्त छु।” अनुभव, प्रतिबद्धता र निरन्तरताको आग्रह घरदैलो अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकासलाई निरन्तरता दिन स्थिर र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताइन्। अधुरा परियोजनाहरूलाई पूर्णता दिने, नयाँ सम्भावनाहरू पहिचान गर्ने र चितवन–३ लाई समृद्ध, आधुनिक र अवसरयुक्त क्षेत्रका रूपमा अघि बढाउने आफ्नो स्पष्ट योजना रहेको उनको दाबी छ। “मैले जति पूरा गर्न सक्छु, त्यति मात्रै वाचा गर्छु, र त्यो वाचा पूरा गर्छु,” उनले पुनः दोहोर्याइन्। विकासको मार्गमा इमानदारी, मेहनत र जनविश्वासलाई नै सबैभन्दा ठूलो शक्ति मान्दै उनले चितवन–३ का मतदातासँग साथ र समर्थनको आग्रह गरेकी छन्।
गौरको तनावप्रति माधव कुमार नेपालको गम्भीर चिन्ता: ‘सामाजिक सद्भाव बिथोलिन नदिनुस्’
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौर क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्ला केही दिनयता गौर नगरपालिका–स्थित सबगढा लगायत आसपासका बस्तीमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले तनावको रूप लिँदा स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका नेता नेपालले शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, “हिन्दु होस् वा मुस्लिम, कुनै पनि नागरिकको जीवन र सुरक्षामाथि खतरा उत्पन्न हुनु लोकतान्त्रिक समाजका लागि लज्जास्पद विषय हो। आपसी अविश्वास र उक्साहटले समस्या झन् जटिल बनाउँछ, त्यसैले सबै पक्ष संयमित र जिम्मेवार बन्न आवश्यक छ।” उनका अनुसार गौरको सबगढा क्षेत्रमा सानो विवादका रूपमा सुरु भएको विषयले साम्प्रदायिक रंग लिन खोजेपछि स्थिति संवेदनशील बनेको हो। केही स्थानमा ढुंगामुढा र झडपका घटनासमेत भएको स्थानीय स्रोतले जनाएको छ। घटनापछि सर्वसाधारणले घरबाहिर ननिस्कने अवस्था बनेको, बजार आंशिक रूपमा बन्द भएको तथा सुरक्षाकर्मीको उपस्थिती बढाइएको जानकारी प्राप्त भएको छ। नेता नेपालले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको परम्परा रौतहटको पहिचान भएको उल्लेख गर्दै त्यसलाई कुनै पनि हालतमा कमजोर पार्न नदिन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा युवाहरूलाई संयम अपनाउन आग्रह गरे। “हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा बस्छौं। विविधता हाम्रो शक्ति हो, कमजोरी होइन,” उनले भने, “द्वन्द्व र विभाजनको राजनीति अन्त्य हुनुपर्छ।” उनले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। गृहमन्त्रीसँग टेलिफोन संवाद गरी शान्ति–सुरक्षा प्रभावकारी रूपमा कायम गर्न आवश्यक सबै कदम चाल्न सुझाव दिएको उनको भनाइ छ। “आवश्यक परे निषेधाज्ञा (कफ्र्यू) जारी गर्ने, सशस्त्र प्रहरी बलको परिचालन बढाउने तथा अवस्था गम्भीर भएमा नेपाली सेनासमेत तयारी अवस्थामा राख्ने विषयमा छलफल भएको छ,” उनले बताए। नेपालले घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। “उक्साहट फैलाउने, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गर्ने वा हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,” उनले भने, “दण्डहीनताले समस्या समाधान गर्दैन, झन् बढाउँछ।” यसैबीच, स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वपक्षीय बैठकको तयारी भइरहेको र समुदायबीच संवादमार्फत समाधान खोज्ने प्रयास जारी रहेको बताइएको छ। धार्मिक तथा सामुदायिक अगुवाहरूले पनि शान्ति कायम राख्न अपिल गरिरहेका छन्। नेता नेपालले अन्त्यमा सबै नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाको पछि नलाग्न तथा शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्। “हाम्रो साझा लक्ष्य शान्ति, सद्भाव र विकास हो। तनाव र हिंसाले कसैको भलो गर्दैन,” उनले भने, “गौरको शान्ति कायम राख्नु सबैको साझा जिम्मेवारी हो।”
हत्यारा र अराजकतावादी प्रवृत्तिलाई जनताले अस्वीकार गर्छन्: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले देखापरेका हत्यारा र अराजकतावादी राजनीतिक प्रवृत्तिलाई जनताले कदापि स्वीकार नगर्ने बताउनुभएको छ। उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत जनताको अभिमत व्यक्त हुने निर्वाचनलाई अवरोध गर्न खोज्ने शक्तिहरूविरुद्ध दृढतापूर्वक उभिन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै उहाँले इतिहासले अस्वीकार गरिसकेका र नेपाली जनक्रान्तिद्वारा किनारामा पुर्याइएका केही तत्वहरूले निर्वाचन हुन नदिने भ्रम फैलाइरहेको उल्लेख गर्नुभयो। “अझै पनि केही मानिसहरू चुनाव हुँदैन भन्दै हल्ला चलाइरहेका छन्,” उहाँले भन्नुभयो, “यो अत्यन्तै विचित्र र उद्देश्यपूर्ण प्रचार हो। यसखालको भ्रमको पछि नलागी सबै कार्यकर्ताहरू दृढतापूर्वक चुनावी तयारीमा जुट्नुपर्छ।” उहाँले प्रतिगामी शक्तिहरूको चलखेल क्षणिक मात्र हुने दाबी गर्दै जनताको राजनीतिक चेतना माथि विश्वास व्यक्त गर्नुभयो। “इतिहासले फ्याँकिसकेका प्रवृत्तिहरू फेरि फर्केर आउने कल्पना मात्रै हो,” उहाँले बताउनुभयो, “जनताको बलिदान र संघर्षले स्थापित गरेको व्यवस्था उल्ट्याउन कसैले सक्दैन।” उहाँले वर्तमान अवस्थामा देशमा तीनवटा राजनीतिक प्रवृत्तिहरू आमनेसामने भएको विश्लेषण गर्नुभयो। उहाँका अनुसार एउटा प्रवृत्ति शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउको ताकेर गोली हान्ने घातक सोच बोकेको छ भने अर्को प्रवृत्ति सिंहदरबार र राज्यका संरचनामाथि आक्रमण गर्दै देशलाई अस्थिरता र विध्वंसतर्फ धकेल्न खोजिरहेको छ। “यी दुवै हत्यारा र अराजकतावादी प्रवृत्तिका विरुद्ध नेकपा स्पष्ट रूपमा खडा भएको छ,” उहाँले भन्नुभयो, “यो चुनौतीपूर्ण घडीमा देशलाई जोगाउने ऐतिहासिक जिम्मेवारी हामीले लिएका छौं।” निर्वाचनलाई उहाँले जनतामा जाने सहज र प्रभावकारी माध्यमका रूपमा चित्रण गर्नुभयो। “निर्वाचन भनेको जनतामा पुग्ने, जनतालाई संगठित गर्ने र आफ्नो विचार राख्ने लोकतान्त्रिक प्रक्रिया हो,” उहाँले भन्नुभयो, “देशभर हाम्रो प्रचार अभियान तीव्र गतिमा अघि बढिरहेको छ। अब बाँकी १२ दिन युद्धस्तरमा खट्न सके नेकपा देशको पहिलो शक्ति बन्न सक्छ।” नयाँ राजनीतिक दलहरूप्रति संकेत गर्दै उहाँले क्षणिक लहरबाट भ्रमित नहुन आग्रह गर्नुभयो। “हावाहुरी केही दिन चलेजस्तो देखिए पनि सधैं चल्दैन,” उहाँले भन्नुभयो, “हुरी थामिन थालेको छ। जनताले स्थायित्व, एकता र स्पष्ट दिशा दिने शक्ति कुन हो भन्ने बुझिसकेका छन्।” दोलखामा नेकपाका उम्मेदवार खड्काको जित स्थानीय मात्रै नभई राष्ट्रिय रूपमा पनि गर्व गर्नलायक उपलब्धि हुने उहाँको विश्वास छ। उहाँले कार्यकर्ताहरूलाई एकता, अनुशासन र उत्साहका साथ घरदैलो अभियानमा जुट्न निर्देशन दिँदै आगामी निर्वाचन परिणामले देशमा नयाँ राजनीतिक परिस्थिति निर्माण गर्ने दाबी गर्नुभयो। सम्बोधनको अन्त्यमा उहाँले देशलाई अस्थिरता, हिंसा र अराजकताबाट जोगाउन जनताको निर्णायक भूमिका आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “हत्यारा र अराजकतावादी प्रवृत्तिलाई जनताले अस्वीकार गर्छन्। देशलाई सही दिशामा अघि बढाउने निर्णय जनताले नै गर्नेछन्, र नेकपा जनताको विश्वासको आधार बनेर उभिएको छ।”
काठमाडौँ–६ मा हिमाल शर्माको पक्षमा जनलहर बढ्दै, घरदैलोमा उत्साहजनक समर्थन
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हिमाल शर्माको पक्षमा जनलहर बढ्दो देखिएको छ। घरदैलो अभियान, टोलभेला तथा सार्वजनिक सभाहरूमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिताले उनको उम्मेदवारीलाई थप ऊर्जा दिएको छ। विद्यार्थी राजनीतिबाट उदाएका शर्मा पूर्वअध्यक्षका रूपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मा सक्रिय भूमिका निर्वाह गरिसकेका नेता हुन्। शिक्षा, मानवअधिकार र सामाजिक न्यायका सवालमा अग्रपंक्तिमा रहेर काम गरेको अनुभवलाई उनले अब संसद्मार्फत संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी अभियानका क्रममा उनले युवा सशक्तीकरण, गुणस्तरीय र सर्वसुलभ शिक्षा, सुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। विशेषगरी काठमाडौँ–६ भित्रका सडक, खानेपानी, ढल व्यवस्थापन, सार्वजनिक विद्यालयको स्तरोन्नति र युवाका लागि सीपमूलक कार्यक्रम सञ्चालन जस्ता विषयलाई उनले मुख्य एजेन्डा बनाएका छन्। “हामीले आन्दोलन र संघर्षबाट सिकेको पाठ अब नीतिगत तहमा रूपान्तरण गर्न चाहेका छौं,” शर्माले एक टोलभेलामा भने, “जनताको प्रत्यक्ष सरोकारका विषय संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता लिएको छु।” उनको अभियानमा युवाको उल्लेखनीय उपस्थिति देखिएको छ। सामाजिक सञ्जालमार्फत सक्रिय प्रचार, स्वयंसेवकहरूको परिचालन र दैनिक घरदैलो कार्यक्रमले चुनावी माहोललाई तातेको छ। विभिन्न टोलमा आयोजित छलफल कार्यक्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या राख्दै प्रत्यक्ष संवादको अवसर पाएको बताएका छन्। स्थानीय मतदाताहरूले परम्परागत राजनीतिक शैलीभन्दा फरक, संवादमुखी र सहभागितामूलक अभियानले आफूहरूलाई आकर्षित गरेको प्रतिक्रिया दिएका छन्। “हामीलाई भेट्न आफैं घरमा आउनु, समस्या सुन्नु र समाधानको स्पष्ट खाका प्रस्तुत गर्नु सकारात्मक संकेत हो,” एक स्थानीय मतदाताले बताए। निर्वाचन मिति नजिकिँदै जाँदा काठमाडौँ–६ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। तर, शर्माको सक्रियता, युवा पुस्ताको समर्थन र संगठित अभियानका कारण उनको पक्षमा जनमत क्रमशः सुदृढ बन्दै गएको समर्थकहरूको दाबी छ। समग्रमा, काठमाडौँ–६ मा हिमाल शर्माको चुनावी अभियानलाई नयाँ पुस्ताको प्रतिनिधित्व र परिवर्तनको आकांक्षासँग जोडेर हेरिएको छ। आगामी निर्वाचन परिणामले यस जनलहरलाई कति हदसम्म मतमा रूपान्तरण गर्छ, त्यो भने केही दिनमै स्पष्ट हुनेछ।
यस्ता छन् नेकपा डडेल्धुराका उम्मेदवार मान सिंह मालका मुख्य प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका डडेल्धुराका उम्मेदवार मान सिंह मालले शिक्षा, स्वास्थ्य, जलाधार तथा भूसंरक्षण, पूर्वाधार विकास, कृषि तथा पशुपालन, वन तथा पर्यटन प्रवद्र्धन, उद्योग, सञ्चार, सिँचाई र युवा तथा खेलकुलको एजेन्डालाई प्राथमिकता दिएका छन् । यि एजेन्डा बोकेर घरदैलो गरिरहेका मालको पक्षमा जनलहर बढ्दै गइरहेको छ । डडेल्धुराको विकासका लागि उनले बुँदागत रुपमा आफ्नो योजना प्रष्ट पारेका हुन् । स्थानीय आवश्यकता र जनचाहाना अनुसारको एजेन्डा बोकेसँगै डडेल्धुरामा यसपटक नेकपाको झण्डा फहराउने अवस्था बनेको छ । डढेल्धुरालाई प्राविधिक शिक्षाको हब बनाइने उम्मेदवार मालले डडेल्धुरा बहुमुखी क्याम्पसलाई सुदुरपश्चिमको शैक्षिक हव र त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढामा स्नातकोत्तर तह र प्राविधिक धार संञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । उनले आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीहरूलाई निशुल्क रूपमा पढ्ने व्यवस्था मिलाउने, ५ वर्ष भित्र प्रदेश निर्वाचन क्षेत्र स्तरीय प्राविधिक कलेजको स्थापना गरी डडेल्धुरालाई प्राविधिक शिक्षाको हव बनाउने उनको प्रतिबद्धता छ । ट्रमा सेन्टर र सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पहल गरिने उनले डडेल्धुरा अस्पताललाई सुविधासम्पन्न विशेषज्ञ सेवा केन्द्र बनाउँदै अविलम्ब एम.बि.बि.एस. कक्षा संञ्चालन गर्न पहल गर्ने उल्लेख गरेका छन् । पालिका स्तरीय अस्पतालको पूर्वाधार निर्माण तथा जनसक्ति व्यवस्थापनका लागि पहल गर्ने, सुविधा सम्पन्न ट्रमा सेन्टरको व्यवस्था गर्न पहल पर्ने र जोगबुडा अस्पताललाई विशेषज्ञ सेवा विस्तार संगै भित्रि मधेश क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पहल गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, प्रत्येक ३÷३ महिनामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न पहल गर्ने बताइएको छ । जोखिमपूर्ण बस्ती एक वर्षभित्र स्थान्तरण गरिने मालले बाढी र पहिरो प्रभावित क्षेत्रको जोखिम नक्सांकन र दीर्घकालीन नियन्त्रण योजना निर्माण गरी जोखिमपूर्ण वस्ती १ वर्ष भित्र स्थान्तरणका लागि पहल गर्ने बताएका छन् । महाभारत घनघश्य चुरे लगायत उच्च पहाडी भुभागमा पानिको मुहान रिचार्जको कार्यक्रमका लागि पहल गर्ने उल्लेख गरिएको छ भने तटबन्ध, ग्याबियन जाली र नदी नियन्त्रण संरचना निर्माण गरी डडेल्धुरा जिल्लाका ठुला नदीहरू महाकाली, रङ्गुन, पन्तुरा,सादनी, रडुव खोला, डोटी खोला, चामागाडमा तटबन्ध निर्माणका लागि पहल गर्ने उनको उद्घोष छ । महाकाली नदीमा मोटरेवल पक्की पुल तथा छोटी भन्सार नाका निर्माण,मुख्य नदीहरूमा पक्की पुल निर्माण र १ वर्ष भित्र डडेल्धुरा जिल्लालाई पूर्ण विद्युतीकरण र व्यवस्थीत विद्युत लाईन विस्तार गर्न पहल गर्ने उल्लेख गरिएको छ । दैजी जोगबुढा चिर्किट्टे घटालथान, बगरकोट रूपाल, घुम्ति चिर्किट्टे, उग्रतारा मेलौली र पोखरा बेलापुर, भत्काडा रेल सडकलाई धार्मिक पर्यटकीय सडकको रूपमा विकास गर्दै तत्काल स्तरोन्नती र कालोपत्रेका लागि पहल गर्ने लगायतका कुरामा उनको प्रतिबद्धता छ । मान सिंह मालले २०५५ सालमा विद्यार्थी संगठनमार्फत् आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । तत्कालिन नेकपा(माओवादी केन्द्र)को जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका उनी सशक्त उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । उनको उम्मेदवारीले डडेल्धुरामा नेकपाको विजय सम्मुखमा पुगेको छ ।
गोरखा–१ को समग्र विकासमा हरिराज अधिकारीको स्पष्ट दृष्टि: रणनीतिक कार्यक्रमसहित जनतामाझ
गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ का लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराज अधिकारी (कुमार) ले जिल्लाको समग्र र दिगो विकासलाई केन्द्रमा राखेर स्पष्ट रणनीतिक कार्यक्रमसहित चुनावी अभियान तीव्र बनाएका छन्। उनले भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, सामाजिक न्याय र समावेशी सहभागितालाई समेट्ने बहुआयामिक योजना सार्वजनिक गर्दै गोरखालाई समृद्ध र व्यवस्थित जिल्लाको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुढीगण्डकी आयोजना र पूर्वाधार विकासमा जोड अधिकारीले राष्ट्रिय गौरवको बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। आयोजना शीघ्र सम्पन्न गर्न संघीय तहमा सशक्त पहल गर्ने, डुबान प्रभावित नागरिकको न्यायोचित पुनर्वास र व्यवस्थापन सुनिश्चित गर्ने तथा स्थानीयलाई प्रत्यक्ष लाभको हिस्सेदार बनाउने उनले बताएका छन्। यससँगै बेनीघाट–सिउरेनिटार–आरुघाट–माछिखोला हुँदै लार्के (रुइला नाका) सम्मको सडक स्तरोन्नति तथा सम्पन्नता, सिउरेनीटार–बुट्टार–करनटार–रामशाहघाटसम्म पृथ्वी राजमार्ग को वैकल्पिक राजमार्ग निर्माण गर्ने योजना उनले अघि सारेका छन्। दुर्गम बस्तीलाई मुख्य व्यापारिक केन्द्रसँग जोड्ने रणनीतिले स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको विश्वास छ। साथै, बुढीगण्डकी करिडोरमा २२० केभी ट्रान्समिसन लाइन निर्माण, जडिबुटीको सम्भाव्यता अध्ययनसहित उत्पादन–संरक्षण–प्रशोधन उद्योग स्थापना र सीमावर्ती व्यापार प्रवर्द्धनलाई पनि उनले प्राथमिकतामा राखेका छन्। पर्यटन प्रवर्द्धन र गोरखाको पहिचान विस्तार गोरखालाई पर्यटन हबका रूपमा विकास गर्ने स्पष्ट योजनासहित अधिकारी चुनावी मैदानमा उत्रिएका छन्। गोरखा दरबार र मनकामना मन्दिर लाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने उनको प्रतिबद्धता छ। यसले अन्तर्राष्ट्रिय स्तरमा गोरखाको पहिचान विस्तार हुने र पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ। मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई गोरखा सदरमुकामबाट अनिवार्य अनुमतिपत्र लिने व्यवस्था गरी स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना उनले सार्वजनिक गरेका छन्। गोरखा बजारको व्यवस्थित विकासका लागि बृहत् गुरुयोजना तयार गरी पार्किङ, ढल निकास, खुला क्षेत्र संरक्षण र सहर व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाइने उनले बताएका छन्। सामाजिक न्याय र समावेशीतामा प्रतिबद्धता अधिकारीले विकासको लाभ सबै समुदायसम्म पुर्याउने लक्ष्य लिएका छन्। चेपाङ, बराम, कुमाल, दराई, माझी, मुस्लिम, भोटे–लामा लगायत सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न संरक्षित क्षेत्र निर्माणमा पहल गर्ने उनले बताएका छन्। जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, प्रत्येक वडामा जेष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने तथा राज्यका सबै निकायमा युवाको निश्चित प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्ने नीति निर्माणमा पहल गर्ने उनको योजना छ। उत्तरी गोरखालाई संवैधानिक व्यवस्था अनुरूप स्वायत्त वा विशेष क्षेत्र घोषणा गर्न सशक्त पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। नेपाल–तिब्बत जोड्ने दुई नाकालाई नियमित सञ्चालनमा ल्याएर सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि बढाउने उनको योजना रहेको छ। समग्रमा, हरिराज अधिकारीले गोरखा–१ को विकासका लागि स्पष्ट रोडम्यापसहित जनतामाझ आफूलाई प्रस्तुत गरेका छन्। ऊर्जा, पूर्वाधार, पर्यटन, सामाजिक समावेशीकरण र युवासशक्तीकरणलाई केन्द्रमा राखेको उनको कार्यक्रमले गोरखाको दीर्घकालीन समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ। जनताको विश्वास र समर्थन पाए यी योजनालाई व्यवहारमा उतार्ने उनको दृढ अठोट छ।
नेकपा बर्दिया-१ का उम्मेदवार विष्णु प्रसाद चौधरीको यस्ता छन् प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी बर्दिया क्षेत्र नं. १ का उम्मेदवार विष्णु प्रसाद चौधरीले आफु निर्वाचित भएमा ९ वर्ष अघि नै भत्केर अलपत्र रहेको जब्दीघाट, जुरपानी खोला, अछरिया खोलामा नयाँ पुलहरू निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नीतिगत सुधारका पहल गर्ने साथै मानव सुरक्षा योजना बनाई कार्यान्वयन गरिने बताएका छन् । बढैया ताल, सतखलुवा ताल संरक्षण, कृष्णसार संरक्षण केन्द्रको सम्बद्र्धन र विकासको गुरु योजना निर्माण तथा कार्यान्वयन गरी पर्यटकीय गन्तव्य बनाइने उनको प्रतिबद्धता छ । सिकलसेल ऐनिमिया पहिचान, नियन्त्रण र रोकथामको लागि सिकलसेल उपचार केन्द्र स्थापना गरिने उनको उल्लेख छ । वारबर्दियामा रहेको सहिद विष्णु–धनी बहुप्राविधिक शिक्षालयमा संकाय र प्रविधि थप गरी बर्दियाकै केन्द्र बनाइने प्रतिबद्धता छ । बबई, भादा, मानखोला लगायतका नदिहरूमा तटबन्धन कार्यलाई प्राथमिकता दिइने, निजी क्षेत्रलाई प्रोत्साहन गर्न बाँसगढीको पुर्वी भागलाई औधोगिक क्षेत्र घोषणा गर्ने, गुलरिया रजनवा नाकालाई मुख्य भन्सार बनाइने र लघुवित्त, मिटरव्याज पीडितलाई न्याय दिलाउन नीतिगत सुधारमा पहल गर्ने उनको प्रतिबद्धता छ । चौधरी थारु समयको हक र अधिकारका निम्ति लामो समयदेखि लड्दै आएका छन् । उनी पहिलो संविधानसभामा संविधानसभा सदस्य थिए भने थारु आयोगको अध्यक्ष समेत भइसकेका छन् । कमैया र कमलहरीको पुनस्र्थापना तथा पीडितका लागि कानुनी उपचार लगायतमा पनि उनले योगदान दिएका छन् । आफ्नो सम्पूर्ण जीवन राजनीतिक संघर्षमा बिताएका चौधरीले निर्विवाद व्यक्तित्वको छवि बनाएका छन् ।
यस्ता छन् नेकपाका ताप्लेजुङका उम्मेदवार खेलप्रसाद बुढाथोकीका प्रतिबद्धता
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङका उम्मेदवार खेलप्रसाद बुढाथोकी (पराग) बलियो दाबेदारका रूपमा उदाएका छन्। लामो राजनीतिक अनुभव, स्वच्छ राजनितिक छवि र स्थानीय जनतासँगको निरन्तर सम्बन्धका कारण उनलाई यस क्षेत्रका मतदाताले भरोसायोग्य र काम गर्ने नेताका रूपमा लिएका छन्। ताप्लेजुङ जिल्लामा जन्मिएर यहीँको सामाजिक र राजनीतिक परिवेशमा हुर्किएका बुढाथोकी शालीन, ईमानदार र जनमुखी व्यक्तित्वका रूपमा परिचित छन् । पार्टीभित्र “पराग” नामले चिनिने उनी विगतमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा सक्रिय रहँदै आन्दोलन र संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल उनी नेकपाको केन्द्रीय सदस्य हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङ–१ बाट उम्मेदवार बन्नुभएका बुढाथोकीले २१,७३५ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा योगेश भट्टराई ले २१,९४३ मत ल्याई २०८ मतको झिनो अन्तरले विजयी भएका थिए । उक्त परिणामले बुढाथोकीको बलियो जनाधार र लोकप्रियता स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ। झिनो मतान्तरको हारलाई यसपटक जितमा बदल्ने दृढ संकल्पसहित उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । २०८२ को निर्वाचनमा नेकपाको ‘तारा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरेका बुढाथोकीका मुख्य एजेन्डा सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोकथाम, भ्रष्टाचार नियन्त्रण तथा समावेशी विकास रहेका छन्। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्थानीय पूर्वाधार विकास आदिवासी जनजातिको हक अधिकार संरक्षण जस्ता मुध्दाहरुलाई प्राथमिकतामा राखेका छन् । ताप्लेजुङमा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरू चुनावी मैदानमा भएपनि बुढाथोकीको स्वच्छ छवि, विगतको अनुभव, झिनो हारबाट प्राप्त ऊर्जा र स्थानीयस्तरको सुदृढ संगठनका कारण उनी अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको राजनीतिक वृत्तमा चर्चा छ। स्थानीय मतदाताहरूका अनुसार बुढाथोकी विकासप्रेमी, इमानदार र प्रतिवद्ध नेता हुन्, जसले व्यक्तिगत लाभभन्दा जनताको हितलाई प्राथमिकता दिन्छन्। लामो समयदेखि सामाजिक न्याय, समावेशी विकास र सीमान्तकृत समुदायको अधिकारका पक्षमा आवाज उठाउँदै आएका उनलाई यस क्षेत्रको साझा आवाजका रूपमा पनि हेरिएको छ। ताप्लेजुङमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक भए पनि खेलप्रसाद बुढाथोकीको सशक्त उपस्थिति, जनसमर्थन र स्पष्ट एजेन्डाका कारण उनी विजयी हुने उच्च सम्भावना रहेको आकलन गरिएको छ। उनको सम्भावित जितले ताप्लेजुङमा सुशासन, विकास र सामाजिक न्यायको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।
यस्ता छन् आज फागुन ९ गते संयोजक प्रचण्डका चार कार्यक्रम
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज फागुन ९ गते राजधानीका विभिन्न स्थानमा आयोजना हुने चार वटा कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रचण्डकाे सचिवालयका अनुसार अनुसार उहाँले उम्मेदवारसहित विभिन्न जिल्लागत भेला तथा बुद्धिजीवी–पेशाकर्मीहरूसँग अन्तरक्रिया गर्नुहुनेछ। निर्धारित कार्यक्रमअनुसार दिउँसो १२:०० बजे बनस्थलीस्थित मदर्श सभा भवनमा गोरखाली भेला आयोजना गरिएको छ । उक्त भेलामा सम्बन्धित क्षेत्रका उम्मेदवारसमेत सहभागी रहने जनाइएको छ । दिउँसो १:०० बजे गौशालास्थित अनुपम भोजनालयमा दोलखाली भेला आयोजना हुनेछ । कार्यक्रममा उम्मेदवारसहित स्थानीय समर्थक र कार्यकर्ताको उपस्थिति रहनेछ । दिउँसो २:०० बजे जडिबुटीस्थित रायल सभा भवनमा काभ्रेली भेला आयोजना गरिएको छ । सो कार्यक्रममा पनि उम्मेदवारसहित प्रचण्डको सम्बोधन रहने कार्यक्रम तय गरिएको छ । दिउँसो ३:०० बजे राष्ट्रिय सभा गृह मा बुद्धिजीवी तथा पेशाकर्मीहरूसँग घोषणा पत्रबारे बृहत् छलफल कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा पार्टी प्रवेशसमेत गराइने जनाइएको छ । पार्टीले चुनावी अभियानलाई तीव्रता दिँदै विभिन्न समुदाय र पेशागत समूहसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको जनाएको छ ।
बैतडीलाई आत्मनिर्भर बनाउने नेकपाको स्पष्ट खाका, भट्टको सशक्त प्रतिबद्धता
बैतडी । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा बैतडीबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार परमानन्द भट्टले जिल्लाको समग्र विकासका लागि स्पष्ट, कार्यान्वयनयोग्य र दीर्घकालीन दृष्टिकोणसहितको चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। जिल्ला सदरमुकाम गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले बैतडीलाई स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पर्यटन र उद्योगको क्षेत्रमा आत्मनिर्भर र समृद्ध जिल्लाका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे। नेकपा एमाले बैतडीका संस्थापक तथा तत्कालीन जिल्ला विकास समितिका सभापतिसमेत रहेका भट्ट लामो राजनीतिक अनुभव र विकास निर्माणको व्यावहारिक पृष्ठभूमि बोकेका नेता हुन्। एमाले विभाजनपछि समाजवादी पार्टी हुँदै हाल एकीकृत नेकपामा आबद्ध भट्ट अहिले प्रतिनिधि सभाका उम्मेदवारका रूपमा जनतामाझ प्रस्तुत भएका छन्। छ भेगमा सुविधा सम्पन्न अस्पताल र गुणस्तरीय शिक्षा उम्मेदवार भट्टले बैतडीका मुख्य छ वटा भेगमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने घोषणा गर्दै स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको दरबन्दीसहित स्तरोन्नति गरी दक्ष जनशक्ति, उपकरण र विशेषज्ञ सेवासहित सुदृढ बनाइने उनले बताए। त्यसैगरी, बसाइँसराई रोक्न गुणस्तरीय शिक्षा र रोजगारीमुखी पाठ्यक्रम विकासमा जोड दिइने उल्लेख गर्दै युवालाई जिल्लामै अवसर सिर्जना गर्ने स्पष्ट योजना प्रस्तुत गरे। कालोपत्रे सडक र महाकाली करिडोरसँग रणनीतिक जोड भट्टले आफ्नो अघिल्लो कार्यकालमा सुरु गरिएका अधुरा सडक योजनाहरूलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने योजना अघि सारेका छन्। च्वाँगढ क्षेत्रको बिप्याकटाल–ढुङ्गाढ सडक, दुदिलाखान–गाँजरी–थलाकाँडा सडक, श्रीभावर–बचपानी–शिवलिङ सडकलाई स्तरोन्नति गर्ने उनले बताए। दोगडाकेदार क्षेत्रको खोचलेक–रिम सडक, देहिमाण्डौं–गिरेगाडा, देहिमाण्डौं–सलेना सडक र सतबाँझ–श्रीभावर सडकलाई महाकाली करिडोरसँग जोडेर बैतडीलाई सुदूरपश्चिमकै व्यापारिक तथा रणनीतिक नाकाका रूपमा विकास गर्ने लक्ष्य उनले सार्वजनिक गरे। जडीबुटी उद्योग, खानी उत्खनन र रोजगारी रोजगारीका लागि युवाहरू बाहिरिनु पर्ने अवस्थाको अन्त्य गर्ने संकल्पसहित भट्टले बैतडीमै रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरे। ग्वाल्लेक र सिगास संरक्षित क्षेत्रका जडीबुटी तथा वनपैदावरमा आधारित उद्योग स्थापना गरिने उनले बताए। साथै, फस्फोराइट खानी, फलामखानी र चुनढुङ्गा उत्खनन तथा अन्वेषणलाई अघि बढाएर स्थानीय स्तरमै औद्योगिक आधार तयार पारिने उनको प्रतिबद्धता छ। धार्मिक पर्यटन र कृषि विविधीकरण पातालभूमेश्वर क्षेत्रमा विगतमा गुरुयोजनाअनुसार गरिएको विकासले अहिले भारतीय पर्यटक आकर्षित गर्न थालेको अनुभव सुनाउँदै उनले धार्मिक पर्यटनलाई अझ व्यवस्थित र विस्तार गरिने बताए। सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रलाई कृषि होमस्टेमा रूपान्तरण गरी कृषि पर्यटन प्रवर्द्धन गरिने योजना पनि उनले सार्वजनिक गरे। बाँदर आतंकका कारण किसान विस्थापित हुने अवस्थालाई अन्त्य गर्न कृषि विविधीकरणमा जोड दिँदै टिमुर, बेसार, अदुवा र अमिलो जातका फलफूल खेतीलाई प्राथमिकता दिइने उनले बताए। विपद् व्यवस्थापन र सुशासनमा जोड ढुङ्गाड, ढिक, सलेना र गोकुलेश्वर क्षेत्रमा पहिरो तथा भू–क्षय नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याइने भट्टको प्रतिबद्धता छ। सुशासनका लागि स्रोतको न्यायोचित वितरण, पारदर्शी कार्यप्रणाली र जनउत्तरदायी नेतृत्वमार्फत बैतडीलाई विकासको नयाँ उचाइमा पुर्याउने उनको दाबी छ। “बैतडीलाई स्वास्थ्य, शिक्षा, सडक, उद्योग र पर्यटनको आधारमा आत्मनिर्भर र समृद्ध जिल्ला बनाउने स्पष्ट योजना लिएर जनतामाझ आएको छु,” उम्मेदवार भट्टले भने। उनको प्रतिबद्धता पत्रले बैतडीको समग्र विकासका लागि ठोस मार्गचित्र प्रस्तुत गरेको भन्दै स्थानीय स्तरमा सकारात्मक चर्चा सुरु भएको छ।

