त्रिवि शुल्क शोषणविरुद्ध आन्दोलनका क्रममा अखिल (क्रान्तिकारी)का नेताहरू पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का प्रमुख नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला समितिका अध्यक्ष दिनेश एर, उपाध्यक्षहरू तेज प्रकाश संज्याल र शिव भट्ट तथा सदस्य विक्की विष्ट रहेका छन् ।
संगठनका अनुसार भदौ १० गते त्रिवि प्रशासनसँग लिखित सहमति भएपछि ३४ दिनको आन्दोलन स्थगित गरिएको थियो । तर सहमति कार्यान्वयन नगरी प्रशासनले आन्दोलनका अगुवा नेताहरूलाई पक्राउ गर्नु निरंकुश र दमनकारी कार्य भएको अखिल (क्रान्तिकारी) ले आरोप लगाएको छ ।
उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका सबै नेताहरूलाई तत्काल बिना सर्त रिहा गर्न, सहमति पूर्ण कार्यान्वयन गर्न र शुल्क शोषण अन्त्य गरी विद्यार्थीका जायज माग पूरा गर्न माग गरिएको छ ।

यदि दमन जारी रहेमा आन्दोलनलाई उपत्यकाभरि र देशव्यापी बनाउने चेतावनी संगठनले दिएको छ । जिम्मेवारी त्रिवि प्रशासनले लिनुपर्ने उनीहरूको भनाइ छ ।
जेनजी युवाको हत्या गर्ने र नेपालका धरोहर जलाउनेहरूले देशको नेतृत्व गर्न सक्दैनन् : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी युवाको हत्या गर्ने र नेपालका धरोहर जलाउनेहरूले देशको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीले मात्रै देशको सही नेतृत्व गर्न सक्ने बताउनु भयो । उहाँले भ्रष्टाचारविरुद्ध, सुशासन र समृद्धिको पक्षमा दृढ रूपमा उभिने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै भएको कुरा जनतामाझ स्पष्ट रूपमा बुझाउन सके पार्टी पहिलो स्थानमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रचण्डले भन्नुभयो, “जेनजी आन्दोलनका नाममा कलिला बालबालिकाको हत्या गर्ने, राष्ट्रिय धरोहर जलाउने र सुरक्षाकर्मीको क्रूर हत्या गर्नेहरूले देशको नेतृत्व गर्न सक्दैनन् । सच्चा नेतृत्व दिन सक्षम पार्टी नेपाली कम्युनिष्ट पार्टी मात्र हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आफ्नो पार्टी संसद् पुनर्स्थापना वा सर्वदलीय सरकारको पछि नलागी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अन्य दलहरू पनि मन नलागे पनि चुनावमा होमिएका छन् । हामी भने सुरुदेखि नै यो अभियानमा थियौं । आम नागरिकको मत पनि चुनावकै पक्षमा छ ।” देशभर आयोजना गरिएका सन्देश सभामा जनताको उत्साहपूर्ण सहभागिता रहेको उल्लेख गर्दै उहाँले त्यसले पार्टीप्रतिको बढ्दो विश्वास झल्काएको बताउनुभयो । विगतका कमीकमजोरी सुधार्दै राष्ट्र बचाउने र देश विकास गर्ने चाहनालाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको उहाँको भनाइ थियो । प्रचण्डले पार्टीले कसैसँग पनि राजनीतिक समीकरण नगर्ने स्पष्ट धारणा रहेको बताउनुभयो । केही व्यक्तिहरूले पहिले नकार गरिएका पार्टी तथा व्यक्तिसँग नेपाली कम्युनिष्ट पार्टीको समीकरण बनेको भन्दै प्रचार गरिरहेको आरोप लगाउँदै उहाँले त्यसलाई असत्य र भ्रमपूर्ण भनेर खण्डन गर्नुभयो । पार्टी जनतामाझ आफ्नै कुरा राखेर अघि बढ्ने र कुनै समीकरणमा नजाने उहाँले स्पष्ट पार्नुभयो । विभिन्न भेटघाटका क्रममा नकारात्मक प्रचार भइरहेको र सामाजिक सञ्जालमा भ्रम फैलाइँदै आएको भन्दै उहाँले ती भ्रमलाई अस्वीकार गर्न तथा पार्टीका उम्मेदवारको पक्षमा सक्रिय रूपमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । देशभरबाट प्राप्त रिपोर्टका आधारमा नेपाली कम्युनिष्ट पार्टी नै सबैभन्दा बढी उत्साह र उमंगका साथ जनताको घरदैलोमा पुगेको तथा अहिले पार्टी एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । प्रचण्डले जेनजी आन्दोलनपछि जनतामाझ पुग्ने अभियानको सुरुवात नेपाली कम्युनिष्ट पार्टीले नै गरेको बताउनुभयो । जनताका मागलाई सम्बोधन गर्ने गरी पार्टीको घोषणापत्र अन्तिम चरणमा पुगेको तथा आजभोलिमै टुंगिने जानकारी पनि उहाँले दिनुभयो । उहाँले खुसी व्यक्त गर्दै विभिन्न पार्टी तथा नेताहरूसँग संवाद भइरहेको र उनीहरूको कुरा सुन्दा आम रूपमा सक्रियता नेपाली कम्युनिष्ट पार्टीकै देखिएको उल्लेख गर्नुभयो । जनताको साथ तारा चुनाव चिन्हमा रहेको तथा उभार पार्टीकै पक्षमा देखिएको उहाँले बताउनुभयो । अन्त्यमा, प्रचण्डले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई जनताको घर–घरमा पुगेर यी विषयहरू स्पष्ट रूपमा बुझाउन निर्देशन दिनुभयो । पार्टीभित्र रहेका साना असमझदारी निर्वाचनपछि समाधान गर्ने उल्लेख गर्दै हालका लागि सबै विषय थाँती राखेर एकताबद्ध रूपमा निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
नेपाली क्रिकेट टोलीले आज विश्वकपको तयारीका लागि दोस्रो वार्मअप म्याच क्यानडासँग खेल्ने
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को तयारीका क्रममा नेपालले आज आफ्नो अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईको प्रतिष्ठित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल दिउँसो १:१५ बजे (नेपाली समयअनुसार सवा १ बजेपछि) सुरु हुनेछ । नेपालले यसअघिको वार्मअपमा यूएईलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । त्यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ विरुद्ध दुवै अभ्यास खेल जितेको थियो भने श्रीलंकामा श्रीलंका ‘ए’ सँगको तीन खेलमध्ये एक मात्र जित हासिल गरेको थियो । फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल ग्रुप सी मा छ । उसले पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इंग्ल्यान्डसँग खेल्नेछ । नेपालको पूर्ण ग्रुप चरण तालिका यस प्रकार छ: फेब्रुअरी ८ (माघ २५): इंग्ल्यान्ड विरुद्ध (मुम्बई) फेब्रुअरी १२ (माघ २९): इटाली विरुद्ध (मुम्बई) फेब्रुअरी १५ (फागुन २): वेस्ट इन्डिज विरुद्ध (मुम्बई) फेब्रुअरी १७ (फागुन ४): स्कटल्यान्ड विरुद्ध (मुम्बई) यी वार्मअप खेलहरूले नेपाललाई विश्वकपमा बलियो सुरुवातका लागि महत्वपूर्ण आधार प्रदान गर्नेछन् । खेलको प्रत्यक्ष प्रसारण तथा अपडेट विभिन्न प्लेटफर्ममा उपलब्ध हुनेछ ।
चुनावी वातावरण बनाएर एकै चरणमा तोकिएको समयमा नै चुनाव हुनुपर्छ: संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा मुस्ताङ क्षेत्रका नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’को परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस् ।” हिमाली क्षेत्रमा हिमपातका कारण अप्ठ्यारो परिस्थिति आएमा दोस्रो चरणमा निर्वाचन गर्ने सम्भावना रहेको प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभएको सन्दर्भमा उहाँले एकै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले यो पटकको निर्वाचन सामान्य अवस्थाको नभई असाधारण परिस्थितिमा हुन लागेको उल्लेख गर्दै भन्नुभयो, “यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो । यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ ।” उहाँले अझै पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्का कायम रहेको बताउँदै थप्नुभयो, “अझै पनि कतिपय मान्छेहरूले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलामा पनि यस्तै अवस्था थियो । हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन् ।” उहाँले भन्नुभयो , “म तपाईंहरूलाई भन्न चाहन्छु– चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ ।”
विश्व क्यान्सर दिवसः नेकपा संयोजक प्रचण्डद्वारा क्यान्सर पीडितप्रति ऐक्यबद्धता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरपीडित व्यक्ति, उनीहरूको परिवार तथा क्यान्सर उपचार र सेवामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति गहिरो सम्मान र हार्दिक श्रद्धा व्यक्त गर्नु भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी सन्देशमा क्यान्सरलाई केवल एउटा रोग मात्र नभई पीडा, डर र मृत्युको सामना गर्दै गरिने निरन्तर संघर्षका रूपमा चित्रण गरिएको छ। सन्देशमा क्यान्सरसँग लडिरहेका प्रत्येक व्यक्तिको कथा फरक–फरक भए पनि उनीहरूको आँसु, आशा र जीवनप्रतिको संघर्ष साझा रहेको उल्लेख गरिएको छ। सन्देशमा क्यान्सरपीडितका परिवारजनले भोग्ने मानसिक, सामाजिक र आर्थिक पीडाको चर्चा गर्दै नेपालमा क्यान्सर गम्भीर चुनौतीका रूपमा रहेको औँल्याइएको छ। आर्थिक अभावका कारण धेरै नागरिक उपचारबाट वञ्चित हुनुपरेको यथार्थलाई स्वीकार गर्दै, सरकारको नेतृत्वमा रहँदा क्यान्सर उपचार सेवा विस्तार, उपचार संस्थाको विकास तथा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क प्रारम्भिक परीक्षणजस्ता कार्यक्रम अघि बढाइएको स्मरण संयोजक प्रचण्डले गर्नु भएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा किशोरी लक्षित एचपीभी खोप कार्यक्रमलाई नीतिगत पहलमार्फत अघि बढाइएको र त्यस अन्तर्गत १४ लाख ६० हजार किशोरीले खोप प्राप्त गर्न सफल भएको उल्लेख गरिएको छ। क्यान्सर उपचार मात्र पर्याप्त नभई समयमै जाँच, सचेत जीवनशैली, खोज तथा मानवीय संवेदनाको आवश्यकता रहेको सन्देशमा जोड दिइएको छ। क्यान्सरपीडित व्यक्तिले आफू एक्लो नभएको अनुभूति गराउन समाज, राज्य र सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको प्रचण्डले उल्लेख गर्नु भएको छ। सन्देशमा क्यान्सरका कारण जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यान्सरपीडित तथा उपचाररत सबैप्रति हार्दिक ऐक्यबद्धता व्यक्त तथा स्वास्थ्य लाभको कामना गरिएको छ। साथै उपचार पहुँचलाई अधिकारको विषय बनाउँदै समान र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्वास्थ्य प्रणाली निर्माण गर्न सबैलाई संकल्प गर्न आह्वान गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीप्रसाद मुखियाको निधन
रौतहट। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा यमुनामाई गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद मुखिया (चन्द्रिका) को असामयिक निधन भएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता मातृका प्रसाद यादवले दिएको जानकारीअनुसार, मुखियाको २०८२ साल माघ १९ गते राति करिब १२ बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । श्रीप्रसाद मुखिया रौतहट जिल्लाका पुराना कम्युनिस्ट नेता थिए । उनी जनयुद्धकालमा रौतहट जिल्ला सेक्रेटरीका रूपमा सक्रिय रहेका जनयुद्धका योद्धा थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र) को प्रदेश सदस्य समेत रहेका उनी यमुनामाई गाउँपालिकाको प्रथम अध्यक्षका रूपमा पनि निर्वाचित भएका थिए । जनताको हकअधिकारका लागि निरन्तर संघर्षरत रहँदै सरल स्वभाव, इमानदारी र दृढ प्रतिबद्धताका साथ पार्टी संगठन विस्तार तथा जनसेवामा समर्पित उनलाई मधेश प्रदेशको राजनीतिक क्षेत्रमा अनुभवी तथा दूरदर्शी नेतृत्वको रूपमा चिनिन्थ्यो । उनको निधनले यमुनामाई गाउँपालिका मात्र होइन, समग्र मधेश प्रदेशको कम्युनिस्ट आन्दोलन, पार्टी पंक्ति र आम जनताले एक समर्पित तथा संघर्षशील नेतृत्व गुमाएको छ । जनताको सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने उनको योगदान सदा स्मरणीय रहनेछ ।
राजनीतिमा कुनै पनि कुरा असम्भव त छैन, तर हामीले यस पटकको चुनावमा गठबन्धन गर्दैनौँ : संयोजक प्रचण्ड
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग यो अन्तवार्ता उनको चुनावी तयारी, एमाले अध्यक्ष केपी ओलीसँग भइरहेका पछिल्ला कुराकानी र सहकार्यको सम्भावनामा केन्द्रित छ । उनले जेनजी विद्रोहपछिको राजनीतिक विकासक्रमबारे यो वार्तामा खुलेर बताएका छन् । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले गरेको यो भिडियो वार्ता– चुनावी तयारी कस्तो छ ? मजाले लागिराखेको छ । जिल्ला जिल्ला जाने क्रम छ । जेनजी आन्दोलनपछि केन्द्रीय समितिबाट हामीले या त हामी धेरै पार्टीसँग एकता गर्छौं वा हामीले आफ्नै विशेष महाधिवेशन गर्छौं भन्ने निर्णय गरिएको थियो। तर यसबीचमा एकता अधिवेशन भयो । धेरै पार्टीहरु साना ठूला हामी एकीकृत भएका छौं । नेपाली कम्युनिस्ट पार्टी भएको छ । म त्यसको संयोजक भएको छु । कमरेड माधव कुमार नेपाल त्यसको सहसंयोजक हुनुभएको छ र अब हामी देशभरि एकता सन्देश सभा भनेर पनि हिड्यौं जनताको भावना मनस्थितिलाई हामीले नजिकबाट नियाल्ने कोसिस गर्यौं । धनगढीदेखि हामी जनकपुर, विराटनगर हुँदै सुर्खेत अनि लमही, काठमाडौँसम्म आउँदा जनताको आशा भरोसा विस्तारै नेपाली कम्युनिष्ट पार्टी प्रति यो एकताप्रति र हामीले गरेको आत्मसमीक्षाप्रति देश अहिले जस्तो अवस्थामा छ त्यसबारे हाम्रो धारणा र अब हामी कसरी नेपाललाई अगाडि बढाउन चाहन्छौं भन्ने बारे रुचि बढेको आशा बढेको भरोसा बढेको हामीले देखेका छौं । हामीले एकता सम्मेलन गर्दा हाम्रो दस्तावेजमा हाम्रा पनि केही त्रुटिहरू भए । त्यसको हिस्सा हामीले लिनुपर्ने छ । जनता र युवाहरुको भावना र आवश्यकतालाई बुझेर हामीले जे जति कामहरु तदारुकताका साथ गर्नु पर्थ्यो गरिएन भन्ने समीक्षा पनि हामीले गरेका छौं । र, हामीले फेरि पटक पटक समीकरण बनाउने बदल्ने गर्दा पनि जनतामा अलिकति कन्फ्युजन भयो भन्ने पनि हामीले समीक्षा गरेका छौं । सायद तपाईंहरूले पनि नोट गर्नुभयो होला यो पटक हामी कसैसँग पनि समीकरण गरेका छैनौं अहिलेको चुनावमा । हामी एक्लै सायद पहिलो पार्टी हो जो १६४ ठाउँमा हामीले उम्मेदवारी दिएका छौं । खाली एउटा मात्रै ठाउँ बाग्लुङ १ र २ मा हामीले राष्ट्रिय जनमोर्चासँग तालमेल गर्यौं । एउटा सिटमा बाँकी सबैमा हामी उठेका छौं । यो पनि हाम्रो आत्मसमीक्षा विगतको समीक्षाकै परिणाम हो । त्यसकारण हामीले त्यसको साथै पार्टी संगठनलाई जनतासँग जोड्ने कुरा अनि हामीले जसलाई प्रतिनिधित्व गर्थ्यौं नि । उत्पीड़ित वर्ग जाति क्षेत्र लिङ्ग समुदाय अनि तमाम सहिदहरुका परिवार अनि बेपत्ता योद्धाका परिवारसँगको हाम्रो संवाद सहकार्य अलि कम भएको हुनाले पनि चाहिँ कमजोरी भयो । हामीले कृषिको क्षेत्रमा या उद्योगको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, उर्जाको क्षेत्रमा हामीले केही गर्न पक्कै खोज्यौं तर त्यो पर्याप्त भएन । त्यसकारण हामीले त्यसको पनि रिभ्यू गर्नुपर्छ र अगाडिको लागि हामीले मार्गचित्र कोर्नु पर्छ भन्ने पनि गर्यौं । यसरी समग्रमा हामीले सबै पक्षमा समीक्षा गरेर नै नेपाली कम्युनिष्ट पार्टी बनाएको हो । कांग्रेस एमाले रास्वपाले प्रधानमन्त्री उमेदवार तोके । नेकपाले तोकेन किन ? हामीले अहिले कसैलाई पनि प्रधानमन्त्री या राष्ट्रपति या केही भन्नु उचित हुँदैन भनेर सचेत रुपले नै त्यो त भोलि जनताले कस्तो अभिमत दिन्छ ? त्यसको फैसला गर्ने त अन्तत: जनमतै हो । तर हामीले पहिले नै तोक्ने कुरा उचित हुँदैन भन्ने ठानेर हामीले गरेनौं । अरुले गरेका छन् । मैले यताकता भन्ने गरेको छु, जसले आफूलाई प्रधानमन्त्री भनेका छन् तिनी चाहिँ हुँदैनन् नभनेको चाहिँ हुन्छन् भन्ने गर्या छु मैले। जसले भनेका छैनन् ति चाहिँ बरु हुन सक्छन्। भनेकाहरु चाहिँ हुने देख्दिन । यो अलि अलि व्यङ्ग्य पनि हो। अलि अलि प्रतिकात्मक पनि हो। जनताले अहिले प्रधानमन्त्री को हुने भन्ने खोजिराखेको छैन। सिस्टमलाई नै कसरी व्यवस्थित गर्ने भन्ने कुरा खोजिराखेको छ। त्यसकारण जनताको भावना र मनोविज्ञानलाई हेर्दा अहिले म प्रधानमन्त्री त प्रधानमन्त्री भनेर अगाडि जाने बेला होइन। जनताका मुद्दाहरु, मागहरु सम्बोधन गर्ने गरी पार्टीहरुले आफूलाई जनतासँग जोड्ने बेला हो भन्ने मलाई लाग्छ। कुनै बेला नयाँ पार्टी भनेर तपाईंहरुलाई चिनिन्थ्यो । अहिले जनताले नयाँ खोज्दा तपाईंहरु पर्नुभएन है ? यो अलि धेरै गम्भीर प्रश्न जस्तो लाग्छ । ६४ सालमा तत्कालीन नेकपा माओवादी जसको म अध्यक्ष थिएँ त्यो पार्टीलाई नयाँ मान्यो नेपाली जनताले । गणतन्त्र संघीयता समावेशी समानुपातिक जस्ता मुद्दा थिए । तिनलाई संविधान संशोधन गरेर अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । त्यसकारण आज पनि विचारले राजनीतिक मुद्दाले जनताका आवश्यकता र भावना मर्मलाई सम्बोधन गर्ने हिसाबले हामी नै नयाँ हो। म जति पनि तर्क गर्न तयार छु। हामी नै नयाँ हो । गणतन्त्र नै नयाँ हो । संघीयता नै नयाँ हो । अनि समानुपातिक समावेशी प्रतिनिधित्व नै नयाँ हो । नेतृत्वमा लामो समय एउटै व्यक्ति बस्दिनुहुन्छ। पुस्तान्तरणको बाटोलाई विधिसम्मत ढंगले सहज बनाउनुहुन्न । अब पार्टीको हिसाबले तपाईंलाई २०४४ साल देखि निरन्तर नेतृत्वमा रहेको भनेर भन्ने गरिन्छ। यी त राजाभन्दा लामो शासन गर्न लागे भनेर एकथरीले कटाक्ष पनि गर्छन् हैन ? त्यसो भन्नेहरुले मुद्दा लिएर आउनुपर्यो । आइडियोलोजी ल्याउनु पर्यो । हामी जनतालाई यसरी उन्मुक्ति दिन्छौं भनेर विचार लिएर आउन पर्यो । हाम्रा यी मुद्दाहरु हुन् । यी पुराना पार्टी र पुराना नेताहरुले यी मुद्दा द्वारा जनताको सेवा गर्ने, जनतालाई मुक्त गर्ने, जनभावना अनुसार काम गर्न सकेनन्। हामी गर्छौं भनेर मुद्दा सहित आउन पर्यो। पपुलिजमको विश्वव्यापी हावाहुरी छ । उदार पुँजीवाद भनेर जसलाई भनिन्छ नवउदारवाद भनेर जेलाई भनिन्छ, त्यो विश्वभरिका धन कुबेरहरु ठूला-ठूला चैं खर्बपति अर्बपति पुँजीपतिहरुको मान्यता अनुसार तथाकथित लोकप्रियतावाद नेपालमा मात्रै होइन बिना विचारधारा बिना सिद्धान्त बिना मान्यता सोसियल मिडियामा स्टन्टै गरेको भरमा जनताको दिमाग खराब गर्ने जो प्रवृत्ति छ । त्यो कुनै देशभक्त नेपालीको प्रवृत्ति हुन सक्दैन त्यो कुनै राष्ट्रप्रति माया गर्ने जनताप्रति माया गर्ने मानिसहरुको प्रवृत्ति हुन सक्दैन। तपाईं हेर्नुभयो भने नेपाल मात्रै होइन। दक्षिण एसियामा हिजो श्रीलंकामा के भयो ? अस्ति बंगलादेशमा के भयो ? अस्ति नेपालमा के भयो ? भन्ने हेर्नुभयो भने या मलेसियामा के भयो, अरु देशमा के भयो, फिलिपिन्समा के भयो भनेर हेर्नुभयो भने यो नवउदारवादी सिस्टम भित्रबाट ठूला ठूला पुँजीपतिहरुले विश्वभरि आफ्नो शासन सत्ता सुदृढ गर्ने उद्देश्यका साथ त्यस्ता भुइँफुट्टाहरुलाई अगाडि ल्याउने र तिनीहरु द्वारा आफ्नो स्वार्थ पूर्ति गर्ने एउटा प्रवृत्ति जो चलेको छ । मेरो दृष्टिमा अहिले त जसलाई नयाँ भन्ने गरिएको छ । स्टन्ट दिने गरिएको छ । ती नयाँ होइन सबभन्दा पुराना हुन् । तपाईलाई सबभन्दा पुराना हुन् भनेर म पुष्टि गर्न सक्छु । किनकी तिनीहरु विश्व साम्राज्यवादका रणनीतिका अंग बनेर देखा परेका छन् । मैले नेपालमा मात्रै भन्या छैन, विश्वभरि यो ट्रेन्ड देखा पर्दै छ । नेपाली राजनीतिमा नयाँ भनेको अहिले पनि हामी गणतन्त्रवादी नै हौं । संघीयतावादी, पहिचानवादी समावेशी समानुपातिक मान्यता वाला नै नयाँ हुन् । तपाईंले भर्खरै नौ उदारवादले सिर्जना गरेको विश्व साम्राज्यवादले सिर्जना गरेका भुइँफुट्टाहरु भनेर कसलाई भन्न खोज्या हो ? अहिले मैले नाम लिएर त्यो भन्या छैन । मैले त के देख्छु इतिहासमा जेलस्की युक्रेनमा कसरी जन्म्यो भन्ने हेरेको हो । मैले तपाईंले खाली नेपालको रास्वपा यस्ता भन्ने यो त सानो कुरा भयो । मेरो तर्कको अगाडि यसको केहि अर्थ छैन । विश्वव्यापी रुपमा जेलेन्स्की तयार पार्ने बंगलादेशमा के भयो ? कस्तो मान्छेलाई ल्याएर के गरियो कसले गर्यो भन्ने हेर्नु भयो भने विश्वभरि नै साम्राज्यवाद संकटमा छ । विश्व पुँजीवाद संकटमा छ भन्ने लाग्छ मलाई । त्यो संकटमा परेको पुँजीवादले यस्ता मान्छे खोजिराख्या छ पपुलिस्ट अथवा यस्तो विचार द्वारा उत्प्रेरित गरेर आफ्नो दलाल तयार पार्न खोज्दै छ । जसले उसको इशारामा जे पनि गर्न तयार होस्, जलाउन पनि तयार होस्, मार्न पनि तयार होस्, मर्न पनि तयार होस् भन्ने टाइपको। तपाईं हेर्नुभयो भने इजरायल र चाहिँ प्यालेस्टाइनको के भयो? हाम्रो अगाडि के देखियो? अस्ति भेनेजुएलामा के भयो ? के देखियो? अहिले इरान तिर के हुँदै छ, के देखिँदै छ भनेर हेर्नुभयो भने नेपाल पनि त्यो प्रवृतिबाट जाँदैछ । त्यो प्रवृत्ति जो विश्वव्यापी रुपमा विश्व पुँजीवादले साम्राज्यवादले फैलाउन खोजेको छ त्यसको बाछिट्टा त्यो हावाहुरी नेपालमा पनि आउन खोजेको त होइन ? प्रत्येक देशभक्त नेपालीले जसलाई राष्ट्रको माया छ जसलाई दशकौंदेखि गरेको संघर्ष विद्रोह आन्दोलन त्याग बलिदानबाट स्थापित भएका मूल्य मान्यता छन् रातारात रातारात विध्वंस गरेर चाहिँ सिध्याउन खोज्ने प्रवृत्ति कहीँ त्यस्तो त होइन भनेर पनि आम नेपाली जनताले निधार खुम्च्याएर राम्रैसँग सोच्नु पर्ने बेला आएको छ । रास्वपाको कुरा गर्दा, रवि लामिछाने मेरो क्याबिनेटमा दुई चोटी गृहमन्त्री हुनुहुन्थ्यो। मैले उहाँलाई उहाँको स्पिरिट अनुसार राम्रो होस्, देशमा भनेको हो भने ठिक छ भन्ने वाला हुँ। तपाईं बालेनको र हर्क साम्पाङको कुरा गर्नुहुन्छ भने लोकतन्त्रका नै हुन यिनी उपज लोकतन्त्र कै फूलबारीका फूल हुन्। तपाईंले त गणतन्त्रको बगेको त्यसकारण मेरो कसै प्रति व्यक्तिगत त्यसकारण मेरो व्यक्तिगत रिसइबी न बालेनसँग न रवि सँग न हर्कसँग कसैसँग नि छैन। मैले त यसलाई हामीले संघर्ष र बलिदान गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको लोकतन्त्रको फूलबारीमा फुलेका मान्छे भनेर सम्झेको हो मैले। तपाईंले अब उहाँहरु बिस्तारै त्यो बाट अर्को ठाउँमा जानुहुन्छ भने त्यो उहाँहरुको प्रोब्लम हो मेरो होइन। मेरो समस्या होइन यो। मैले त धेरै माथिबाट सोचेर चाहिँ डिल गर्न खोजेको थिएँ । तर मैले अहिले जे तपाईंको प्रश्नमा उत्तर दिन खोजिराख्या छु विश्वव्यापी रुपमा एउटा प्रवृत्ति कमजोर राष्ट्र माथि हैकम जमाउने र अनेक चल्खेल जालझेल गरेर जेलेन्स्की हरु तयार पार्ने जो प्रवृत्ति छ । लोकप्रियतावादको नाममा इतिहासलाई बदनाम गर्ने त्याग तपस्या र निष्ठा को राजनीतिलाई निस्तेज पार्ने केहि नि होइन त्यो भन्ने पुराना पार्टी नेताहरु जसले इतिहासमा धेरै संघर्ष गरेर अहिले यी नयाँ भन्ने साथीहरुलाई जन्माउने त तिनै हुन् । अनि तिनलाई नाम गरेर मैले भन्ने गर्छु आफ्नै आमाबाउलाई रुवाउने छोराछोरीले देश बनाउँछन् समाज बनाउँछन् भन्ने सोचियो भने त्यो पनि दुर्भाग्यपूर्ण हुन्छ । त्यसकारण म ती नयाँ भन्ने साथीहरुलाई पनि अभिभावकलाई अपमान गर्ने काम नगर्नुस् भन्छु । नेपाल अहिले जहाँ आइपुगेको छ, राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले या परिवर्तनको दृष्टिकोणले त्यसमा योगदान गर्नेहरुलाई अपमानित चाहिँ नगर्नुस् भन्ने मात्रै मेरो आग्रह छ । अभिभावकले छोड्दै छोड्नु भएन भन्नुहुन्छ नि त, पुस्तान्तरण नै गर्दिनु हुँदैन भनेर आलोचना भइरहेको छ । अभिभावकले छोडेन भनेर लगेर खाल्टामा हाल्ने त अभिभावकलाई? त्यो त झन ठिक हुँदैन नि त। जेलेन्स्की कलाकार थिए । टेलिभिजनलाई प्रयोग गरेर राजनीतिमा आएका थिए। नेपालमा यस्तो जेलेन्स्की को छ ? मैले अहिले कसैलाई यहिँ छ जेलेन्स्की भन्न खोजेको होइन। मेरो कुरालाई फेरि त्यसरी पनि नलियोस्। तर नेपालमा पनि जेलेन्स्कीको खोजी भइराख्या छ। विश्व पुँजीवादले म भन्छु विश्व साम्राज्यवादले कहिँ न कहिँ जेलेन्स्की खोज्छ नि । एउटै यही मात्रै जेलेन्स्की हुन्छ भन्ने हुँदैन गर्दै जाँदा हुनसक्छ त्यो कलाकार भित्रैबाट परोस् हुनसक्छ त्यो राजनीतिक चाहिँ परिवार भित्रबाटै परोस् तर जेलेन्स्की भनेको आखिरमा गएर तपाईंको चाहिँ विश्व पुँजीवादको दलाल भनेर नै चिनिन्छ। तपाईंहरू (प्रचण्ड, केपी ओली वा देउवा) ‘पुटिन’ जस्तो बन्न खोजेकाले यहाँ ‘जेलेन्स्की’हरूको उदय भएको त होइन? विल्कुल होइन, त्यस्तो कुरा केबाट पुष्टि हुन्छ र ? अझ मेरै हकमा भन्ने हो भने त, ‘जेन्जी’ आन्दोलन र युवाहरूका मुद्दा ठिक छन् भन्ने पहिलो नेता र पार्टी म नै हुँ । उनीहरूले उठाएका सुशासन र भ्रष्टाचार विरोधी मुद्दाहरूमा मैले सरकारमा हुँदा पनि अभियान चलाएको हो र प्रतिपक्षमा हुँदा पनि लडिरहेकै छु । युवाहरूको माग सही छ र सरकारले उनीहरूमाथि दमन नगरोस् भनेर वक्तव्य दिने नेपालको पहिलो नेता पनि म नै हुँ। सरकारले दुई-तिहाइको अहंकार नगरोस् र युवाहरूको आवाजलाई बल प्रयोग गरेर नदबाओस् भन्ने मान्छेलाई पनि ‘ती शासक जस्तै उस्तै हो’ भन्ने भाष्य कसले बनायो ? मलाई लाग्दैन कि सुशासन चाहने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भन्ने ती साना भाइबहिनी (जेनजी युवा) हरूले यो भाष्य बनाएका हुन् । ‘प्रतिपक्षमा भएको पनि उस्तै, भ्रष्टाचार विरुद्ध लड्ने पनि उही र भ्रष्टाचार गर्ने पनि उही’ भन्ने भ्रम कतैबाट नियोजित रूपमा फैलाइएको छ । तपाईंले यसलाई ठूलो षड्यन्त्र भन्न खोज्नुभएको हो ? प्रश्न गहिरो छ । हिजोका सामन्त राजा-महाराजा, राणा परिवार र पञ्चहरूका कोही ‘नेपो-बेबी’ वा ‘नेपो-किड्स’ नहुने, तर क्रान्ति र परिवर्तनका निम्ति लडेका नेताका सन्तानलाई मात्रै निसाना बनाएर प्रचार कसले र किन गर्यो ? प्रतिपक्षमा बसेर भ्रष्टाचार विरुद्ध लडिरहेकै मान्छेको घर र कार्यालय जलाउनुपर्ने वातावरण कसले बनायो ? यो सब किन भइरहेको छ भने— संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्ने नेताहरूलाई आक्रमणको सिकार बनाउने र राजा-महाराजाका आसेपासेलाई चाहिँ केही नगर्ने खेल भइरहेको छ। यसबाट प्रस्ट हुँदैन र कि नेपालमा निकै ठूलो षड्यन्त्र र अर्कै केही खेल भइरहेको छ? त्यसो भए नवयुवाहरूको त्यो आन्दोलन ‘हाइज्याक’ भएको हो भन्न खोज्नुभएको ? ती किशोर-किशोरीहरूको मन पवित्र थियो र छ। त्यसैले मैले भन्ने गरेको छु— तपाईंहरूको अभिभावक हामी हौँ। तपाईंहरूको माग र चाहनाका लागि लड्दै आएका र ती मुद्दा सही छन् भन्ने पनि हामी नै हौँ। तर २३ गते जसरी त्यहाँ नरसंहार भयो, हामी त प्रतिपक्षमा थियौँ। हामीले नै सबैभन्दा पहिला त्यसको विरोध गर्यौँ र सरकारले अविलम्ब राजीनामा दिनुपर्छ भन्यौँ । मारिएका ती युवाहरूलाई सहिद घोषणा गर्नुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ भनेर वक्तव्य जारी गर्ने पनि हामी नै हौँ। यति हुँदाहुँदै पनि हामीलाई पनि एउटै घानमा हाल्ने काम कसले गर्यो? त्यो नेपाली मानसिकता वा राजनीतिक चेतना हुनै सक्दैन, त्यो अर्कै केही शक्ति हो। तपाईंले २०८१ भदौ १२ गते संसद्मै उभिएर ‘नेपाल बंगलादेश वा श्रीलंका जस्तो बन्न सक्छ’ भनेर संकेत गर्नुभएको थियो। त्यसको केही समयमै भदौमा त्यस्तै प्रकृतिका घटनाहरू देखिए। तपाईंले त नेपालमा यस्तो विद्रोह हुन सक्छ भनेर पहिले नै देख्नुभएको रहेछ, हैन? अहिले चाहिँ तपाईं बंगलादेश वा श्रीलंकामा जे भयो, त्यसको विरुद्धमा हो ? पहिलो कुरा, त्यसबेला मैले सरकारलाई सजग र सचेत गराएको मात्र हो। संसद्को रोस्टमबाट बोल्दा पनि मैले भनेको थिएँ- ‘तपाईंहरूको मत धेरै छ, संख्या धेरै छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने नठान्नुहोस्।’ म प्रतिपक्षमा पुगेपछि ‘नेपाल बंगलादेश हुनुपर्छ’ भनेको चाहिँ बिल्कुलै होइन। यो कुरा तपाईंको लोकप्रिय सञ्चारमाध्यमबाट प्रस्ट पारिदिनुहोला। मैले त्यस्तो सोचेको पनि छैन र भनेको पनि छैन । मैले त सरकार जुन गलत बाटोमा हिँड्दै थियो, त्यसप्रति मात्र सचेत गराएको हुँ। दुईवटा पार्टी मिलेर बहुमत छ, हामी दुई-तिहाइ नजिक छौँ भन्ने भ्रममा नबस्नुहोस्। बंगलादेशमा शेख हसिनाको पार्टीको पनि दुई-तिहाइ थियो, तर के भयो? त्यो प्रवृत्तिलाई हेरेर सचेत हुनुहोस्, नेपाललाई बंगलादेश हुनबाट बचाउनुपर्छ भन्ने मेरो भाव र ‘स्पिरिट’ हो। तपाईंले उत्पीडित वर्गको कुरा गर्नुभयो, तर के तपाईं लगायत ठूला दलका नेताहरू यही वर्गबाट काटिँदै गएकाले जनताले नयाँ नेता खोजेका हुन् ? यो कुरा अरू पार्टीहरूको हकमा होला, तर मेरो नेतृत्वको पार्टीको हकमा यो बिल्कुल गलत हो। हामीले सरकारबाट बाहिर आइसकेपछि सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति आत्मसमीक्षासहित जनतासँग जोडिने अभियान चलायौँ। तराई-मधेसमा डेढ महिना लगाएर झापादेखि कञ्चनपुरसम्म गरिब, मजदुर, किसान, व्यापारी र बुद्धिजीवीका कुरा सुन्यौँ। सहिद र बेपत्ता परिवारका घरमा पुग्यौँ, उनीहरूले जे खान्छन् त्यही खायौँ र जहाँ सुत्छन् त्यहीँ सुत्यौँ। त्यस्तै, मध्यपहाडी लोकमार्गको यात्रामा बैतडीदेखि पोखरा र लमजुङदेखि गोरखासम्म पुग्दा हाम्रो पार्टीको पक्षमा एउटा नयाँ लहर, भरोसा र आशा देखिएकै थियो। मलाई त के शंका छ भने- संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी र यसको नेताले आत्मसमीक्षासहित जनतासँग जोडिन थालेपछि पुँजीपति, दलाल र तिनका मालिकहरू आत्तिए। त्यसपछि एउटा नयाँ नाटक मञ्चन गरियो। नाटक भन्नाले, तपाईंले २४ गतेको विध्वंसलाई भन्न खोज्नुभएको हो ? हो, मलाई त गम्भीर शंका छ। जसले सिंहदरबार, सर्वोच्च अदालत, र संसद भवन जलायो, देशभरका प्रहरी चौकी जलायो, हतियार लुट्यो र पार्टी कार्यालयहरू जलायो- त्यो विध्वंस कतै षड्यन्त्र त थिएन? म फेरि एकचोटि जनताका लागि समर्पित भएर अगाडि बढ्छु भन्दा तराई-मधेस र पहाडमा जुन उभार देखिएको थियो, त्यसबाट अतालिएकाहरूले गरेको षड्यन्त्र त होइन यो? यो शंका म नेपाली जनताको मनमा दर्ज गर्न चाहन्छु। म फेरि पनि भन्छु- २३ गतेसम्मका युवाहरूको पवित्र मनलाई म सम्मान गर्छु, त्यहाँ जो सहिद भए उनीहरूलाई सलाम गर्छु। तर २४ गते जे भयो, त्यो सलाम गर्न लायक काम होइन। त्यो त दुत्कार्न लायक काम हो। त्यो नेपाललाई विध्वंस गर्ने र राष्ट्रको स्वाधीनता एवं आत्मनिर्णयको अधिकारलाई सिध्याउने षड्यन्त्रको परिणाम हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको विध्वंसको विषयलाई जसरी उठाइरहनुभएको छ, तपाईंका कतिपय तर्कहरू पनि उहाँसँगै मिल्न खोजेका देखिन्छन्। के यो बीचमा चुनावलाई लिएर तपाईंहरूबीच कुनै राजनीतिक समझदारीका लागि छलफल चलिरहेको हो ? होइन, तपाईंले भनेजस्तो कुरा मिलेर यसो भएको होइन। २४ गतेको विध्वंसको पहिलो दिनदेखि नै ‘यो गलत हो र आन्दोलन हाइज्याक भयो’ भन्नेमा म प्रस्ट थिएँ। स्वयं ‘जेन्जी’ युवाहरूले नै २४ गते नै आफ्नो आन्दोलनमा घुसपैठ भयो भनेका थिए। १०-११ गतेपछि त वास्तविक युवाहरूले ‘यो आन्दोलन अर्कैले लगे, अब घर फर्कौँ’ भनेको तपाईं-हामीले सुनेकै हौँ। त्यसैले मैले त यो कुरा त्यति बेलैदेखि भन्दै आएको छु। अहिले तपाईंले लगेर जोसँग जोड्न खोज्नुभयो, त्यतिबेला उहाँसँग हाम्रो कुरा मिलेकै थिएन। तर, एउटा कुरा के हो भने-संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अनि विध्वंस गर्ने प्रवृत्तिलाई परास्त गर्न जो-कोहीसँग पनि छलफल हुन सक्छ। यसमा हामी अहिले पनि खुला छौँ । केपी ओलीसँग चुनावलाई लिएर सहकार्य हुने कुनै ठाउँ छ त ? म तपाईंलाई एकदम स्पष्ट भन्छु-मेरो कुरा रास्वपासँग पनि भइरहेको छ, कांग्रेसका नेताहरूसँग पनि भइरहेको छ। हिजो शेरबहादुर देउवाजीसँग भयो, आज गगन थापासँग पनि भइरहेकै छ । केपी ओलीसँग कुरा गर्दैमा जातै जाने भन्ने त होइन। कुरा सबैसँग भइराखेको छ र हुन्छ। तर, यो पटक हामीले कुनै एउटा पार्टीसँग समीकरण गरेर आफ्नो ठाउँ छाड्ने सोचेका छैनौँ। मैले अघि नै भनेँ-हामी १६४ ठाउँमा आफ्नै उम्मेदवार उठाएर अगाडि बढिसकेका छौँ। १६५ मध्ये किन १६४ भन्नुभयो भने, बागलुङमा नेकपा (मशाल) को खुल्ला संगठन राष्ट्रिय जनमोर्चासँग हाम्रो तालमेल भएको छ। त्यहाँ एक नम्बर क्षेत्र उहाँहरूलाई दियौँ, दुई नम्बर हामीले लियौँ। योबाहेक अन्यत्र कतै तालमेल भएको छैन। सबैसँग कुरा गर्नु मेरो विशेषता नै हो, म सहज ढंगले सबैसँग संवाद गर्छु। जनमोर्चालाई बागलुङमा छाडेजस्तै केपी ओलीलाई झापामा छाड्ने वा कांग्रेसलाई सर्लाहीमा सघाउने जस्तो खालको सहकार्य हुन सक्छ कि सक्दैन ? यो असम्भव कुरा चाहिँ होइन, तर अहिलेसम्म त्यस्तो कुरा भएको पनि छैन। म एकदम क्लियर भन्छु-राजनीतिमा असम्भव भन्ने त हुँदैन, तर अहिले नै त्यस्तो भइसकेको छैन। केपी ओलीसँग कहिले फोनमा त कहिले प्रत्यक्ष भेटेर छलफल भइरहेकै छ। यो बीचमा भेट पनि भएको छ ? भएको छ। तपाईंलाई किन ढाँट्ने र? शेरबहादुरजीसँग पनि भेट भएको छ, केपीजीसँग पनि भएको छ। दुवैतर्फ संवाद छ। रवि लामिछानेसँग पनि भएको छ। बालेनका बुवा बितेका बेला म उहाँको घरमै गएर कुरा गरेको छु। त्यसैले मलाई कसैसँग छलफल गर्न अप्ठ्यारो छैन। राष्ट्र अप्ठ्यारोमा भएको बेला यो परिवर्तनको मुख्य वाहक हुनुको नाताले मैले जिम्मेवारी सम्झेर धेरैसँग संवाद गरेको छु। रुकुम पूर्वको प्रसंगमा कुरा गर्दा-मैले केपीजीसँग कुरा गरेँ। त्यसपछि उहाँले हत्तपत्त पूर्वी रुकुममा जनार्दन (शर्मा) द्वारा समर्थित र मेरा विरुद्ध खडा भएका एक युवालाई समर्थन गरिदिनुभयो। केपी ओलीजीले रुकुम पश्चिममा पनि (तपाईंविरुद्ध) अरूसँग तालमेल गर्नुभयो। उहाँको सोच्ने तरिका कस्तो रहेछ भन्ने यसले देखाउँदैन र ? देखाउँछ नि। मैले उहाँलाई भनेँ पनि- ‘यस्तो पनि गर्ने हो? एकातिर देश अप्ठ्यारोमा छ भन्ने, अर्कोतिर प्रचण्डलाई नै हराउन यत्रो हतारो गर्ने?’ जुन प्रचण्डले देश कसरी एकताबद्ध गर्ने र राष्ट्रको स्वाधीनता कसरी रक्षा गर्ने भनेर सोचिरहेको छ, उसैलाई सिध्याउन लाग्ने ? मेरो कुरा सुनेपछि बल्ल उहाँ त्यो सहमतिबाट एक स्टेप पछाडि हटेर, पूर्वी रुकुममा अरूलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै उम्मेदवार कायम गर्नुभयो। तर, त्यो पनि प्रचण्डलाई समर्थन गरेको चाहिँ होइन। केपी ओलीले तपाईंलाई भन्नुभयो कि भएन- ‘प्रचण्डजी, म यत्रो संकटका विरुद्ध लडिरहेको छु, तपाईंले चाहिँ मेरो विरुद्ध झापामा रञ्जित तामाङलाई उठाउने?’ रञ्जितलाई उठाउने त स्वाभाविक कुरा हो। पार्टीले उम्मेदवार उठाउने कुरालाई मैले गल्ती भनेको होइन। मेरो आलोचना त के हो भने- उहाँले पूर्वी रुकुममा मेरा विरुद्ध किन उम्मेदवार उठाउनुभयो भन्ने मात्र होइन, मेरा विरुद्ध उठाइएको अर्को पात्रलाई समर्थन गर्न आफ्नो उम्मेदवार किन पछि हटाउनुभयो भन्ने हो। यो कुरा तपाईंले बुझ्नुपर्छ। मान्छेको स्वभावलाई प्रतिशतमा नाप्न त मिल्दैन, तर आजको दिनमा तपाईं केपी ओलीलाई १०० मा कति प्रतिशत विश्वास गर्नुहुन्छ? राजनीति सम्भावनाको खेल हो भनेर मैले धेरै पटक संसद्को रोस्टमबाटै बोलेको छु। राजनीतिमा वास्तवमा कतिबेला के हुन्छ भन्ने कुरा पूर्वनिर्धारित गरेर हिँड्न सकिँदैन। परिस्थिति र आवश्यकता अनुसार धेरै हेरफेरहरू भइरहन्छन्। त्यसैले ‘हुँदै हुँदैन’ त म भन्दिनँ, तर अहिले उहाँलाई प्रतिशत तोकेर विश्वास गर्ने बेला होइन। मैले धेरै पहिलेदेखि ‘स्वर्ग र नर्क’का कुरा गरेकै छु। अहिलेको मुख्य कुरा के हो भने, विश्व पुँजीवादले नेपालमाथि विभिन्न रूपले चिथोर्न खोजिरहेको छ। केपी ओलीले तपाईंको घरमै आएर ‘कमरेड हामी मिलौँ, नत्र नेपालमा वामपन्थी सखाप हुन्छन् र हामी पश्चिम बंगालको नियति भोग्छौँ’ भनेको कुरा साँचो हो? हो नि। एकदिन मात्र भनेको भए त हुन्थ्यो, चार-पाँच महिना लगातार भनेपछि म त सोझो मान्छे, पग्लिएँ। यसपालि विश्व साम्राज्यवादले खडा गरेका चुनौतीबारे केपी ओलीलाई पक्कै जानकारी होला। उहाँले तपाईंलाई यसबारे केही भन्नुभएको छ? उहाँले कुरा त त्यस्तै गर्नुहुन्छ, तर मैले एउटै उदाहरणबाट त्यसको खण्डन गरिसकेँ। यदि उहाँ साच्चै गम्भीर हुनुहुन्थ्यो भने रुकुममा मेरो नेतृत्वको पार्टीविरुद्ध अर्को पक्षसँग तालमेल गर्नुहुने थिएन। यही एउटै कुराबाट तपाईं बुझ्नुस्, मलाई अब त्यतातिर धेरै नलाग्नुस्। केपी ओलीसँग पछिल्लो भेट कहिले भएको थियो? कहिले फोनमा कुरा हुन्छ, कहिले कतै भेट हुन्छ । तर अहिले ठ्याक्कै यही दिन भेट भयो भनेर भन्नुपर्ने गरी केही भएको छैन । अहिले तपाईंले २२-२३ वटा घटकहरूलाई जोड्नुभयो, ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाउनुभयो। तर यो पार्टी अहिले ठूलो हुँदै हुँदैन। यो नेकपा बढ्दै बढेन नि? के भएको हो? बढिराख्या छ। त्यो तपाईंहरूलाई लागेको मात्रै हो। तपाईंहरूलाई पनि बेलाबेलामा अलिअलि ‘पपुलिजम’को हावाले छुन्छ, त्यसो भएर हो। हाम्रो पार्टी त बढेको बढेकै छ। हामीले अहिले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्छ भनेका छौँ। निर्वाचन होस्, हेर्नुहोला हामी एक नम्बर पार्टी हुन्छौँ। यसपालि तपाईंहरूलाई अनौठो लाग्नेछ, एक नम्बर हुने पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ नै हो। मलाई त्यस्तो लाग्छ र मैले यो कुरा भनेको पनि छु। अब हेरौँ । एमालेसँग मिलेर फेरि एक नम्बर बन्ने सम्भावना कति छ ? होइन, होइन, होइन। अहिले न एमालेसँग, न कांग्रेससँग- नो समीकरण । क्लियर । तपाईं फेरि यो विषयमा जनतालाई केही पनि कन्फ्युजन नपार्दिनुहोला। न कांग्रेससँग, न एमालेसँग- हाम्रो कुनै समीकरण हुँदैन। हामी एक्लै जान्छौँ। ‘नेपाली कम्युनिस्ट पार्टी’ नै भएर जान्छौँ, १६४ ठाउँमा लड्छौँ। र, मलाई विश्वास छ, हामी यसपालि फेरि एकचोटि राम्रो नतिजाका साथ एक नम्बर पार्टीको सम्भावना हाम्रो नै छ । तपाईंलाई आफैँसँग अचम्म लागिरहेको होला- २०७४ सालमा, २०७९ मा पनि गठबन्धन गरेको हो। तर यो पल्ट केही गठबन्धन छैन। यो पल्ट गगनसँग गठबन्धनका लागि कुरा गर्नुपर्ने अवस्था पनि बनेन। केपी शर्मा ओलीसँग पनि कुरा गर्नुपर्ने अवस्था रहेन। नयाँ परिस्थिति सिर्जना भयो है ? मलाई त अहिले बडो आनन्द आइरहेको छ। बल्ल हामी सक्कली एजेन्डावाला-जसले संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति नीतिगत लडाइँ लड्यो, संविधानसभाको निम्ति त्यत्रो बलिदान गरेको, जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने पार्टीहरू एकताबद्ध भएर आफ्नै खुट्टामा उभिएर जाँदै छौँ। म बडो प्रफुल्ल छु। खुसीको कुरा छ । पार्टीभित्रका हिजोका बहुमूल्य ‘हिरा’लाई मिल्काएर कताकताबाट ‘कोइला’हरू जम्मा गरेर एकता गरेजस्तो भएको त छैन नि? विल्कुल भएको छैन। मान्छेहरूले त्यस्तो भन्ने गर्छन्, तर त्यो त इतिहास र घटनाक्रमले पुष्टि गरिसक्यो नि! को हिरा हुन्, को किरा हुन् र को के हुन् भन्ने कुरा देखिइसक्यो। यदि उनीहरू साँच्चै हिरा थिए भने त जनताको नजरमा एकदम राम्रो भएर स्थापित हुनुपर्ने थियो, तर के भयो? त्यसो पनि नभनौं । बाबुराम भट्टराईले यत्रो त्याग गरिदिइराख्नुभएको छ ? बाबुरामजीको बारेमा अहिले म धेरै बोल्न चाहन्न। म यति मात्र भन्छु-अस्ति मेरो भेट भएको थियो, कुराकानी भयो। उहाँले ‘मिल्छ भने हामी फेरि पनि मिलेर जाऔँ’ भन्नुभएको थियो। मैले अहिले ढिलो भयो भनेँ । तर, मैले ग्राउण्डमा साथीहरूले के सोचेका छन् हेर्छु भनेको छु । ग्राउण्डमा बुझ्दा ‘अब बाबुरामजीलाई जोड्न सकिँदैन’ भन्ने कुरा आएपछि मैले उहाँलाई फोन गरेर ‘अहिले सम्भव छैन बाबुरामजी’ भनेँ। त्यसपछि उहाँले ‘त्यसो भए म नै ढोका खोलिदिन्छु, म छोडिदिन्छु’ भन्नुभयो। उहाँ त्याग गर्न बाध्य हुनुभएको हो र ? अब बाध्य हुनुभयो कि के हुनुभयो, त्यो अर्कै विषय हो। तर उहाँले मलाई ‘मैले फेरि हाम्रा बीचमा सहकार्य र संवादको ढोका खोलिदिएँ’ भन्नुभयो, मैले ‘धन्यवाद’ भनेँ। पछिल्लो कुरा यही हो। अनि, अहिले एउटा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ भन्ने पनि बनेको छ। त्योसँग तपाईंहरूको सहकार्यको ढोका कतै खुला छ कि छैन? के को हुनु ! त्यो त हाम्रै विरुद्ध गतिविधि गरेर बनाइएको हो। त्यसको बारेमा म धेरै भन्न चाहन्न, धेरै नसोध्नु न ! धेरै सोध्दिनँ, एउटै प्रश्न- त्यो पार्टी के उद्देश्यले खोलिएको हो त? त्यसको एउटै मात्र उद्देश्य ‘प्रचण्डलाई कसरी सिध्याउने’ भन्ने प्रतिक्रियावादी डिजाइनलाई ‘फुलफिल’ गर्नु हो भन्ने मेरो विश्लेषण छ। तर मेरो विश्लेषण सबैले मान्नैपर्छ भन्ने छैन, भोलि परिणामले नै देखाउँछ। अहिलेसम्म तपाईंहरूको घोषणापत्र आएको छैन । यसपालीको नारा के छ? तपाईंहरूसँग’तारा’ मात्रै छ यसपाली ? हामीसँग नारा पनि छ, तारा पनि छ। घोषणापत्र आज टुङ्गिँदै छ। सम्भवतः भोलि बेलुकासम्म हामी त्यसलाई सार्वजनिक गरिसक्छौँ। हाम्रो प्रतिबद्धता पत्रमा धेरै कुरा आउँछन्। हामीले अब समुदायमा आधारित समाजवादको निर्माण कसरी गर्ने भन्ने कुरा ल्याउँछौँ। कृषिमा आधुनिकता, ऊर्जा क्षेत्रमा क्रान्ति, पर्यटन विकासका निम्ति स्थानीय स्तरबाटै पूर्वाधार निर्माण, र भौतिक पूर्वाधारको विकासमा तीव्रता दिने कुराहरू त्यसमा छन्। अन्तर्राष्ट्रिय सम्बन्धहरू कसरी राम्रो बनाउने भन्ने कुरा आउँछ र अन्तिममा मूल कुरो- उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित हुन्छौँ। सुशासन, उत्पादन र रोजगारी नै मुख्य कुरा हुन्। भ्रष्टाचारविरुद्धको अभियान हाम्रो अभियान हो। नेपाली युवाहरूलाई देशभित्रै बस्ने वातावरण बनाउने र विदेशमा गएकालाई पनि नेपाल फर्काउने उद्देश्यका साथ आउँछ । कुरा त राम्रा आउन लागेछन्, तर ल्याउन अलि ढिलो भयो भन्ने लाग्दैन? छैन, ढिलो भएको छैन। हामीले आखिरमा एकता सन्देश सभाकै बेला जनतालाई भनिसकेका छौँ। हाम्रो एकता राष्ट्रिय सम्मेलनमा तयार पारेको दस्तावेजमा पनि यी कुराहरू आएका छन्। हामीले भन्न त बाँकी राखेका छैनौँ, तर चुनावी घोषणापत्रको रूपमा यो तुरुन्तै आउँदै छ। गगन थापा कांग्रेसको सभापति बनेर आएपछि तपाईंको कुराकानी भएको छ ? हो, भएको छ, फोनमा । उहाँ सभापति हुनेबित्तिकै सर्लाहीतिर जानुभयो । मैले फोन गरेर बधाई दिएको थिएँ। उहाँले त्यहाँको स्थितिबारे बताउनुभयो। ‘फर्केर आएपछि हामी एकचोटि भेट्नुपर्छ’ भन्ने कुरा भएको थियो, म पर्खेर बसिरहेको छु। कांग्रेसले विशेष महाधिवेशन गरेर पार्टीभित्रको अन्योल चिर्दै ‘पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बाटो सहज गराउँछौँ’ भनेर एउटा निर्णय लियो, यसलाई कसरी हेर्नुभएको छ? अब यो नेपाली कांग्रेसभित्रको आन्तरिक मामिला हो। त्यो कसरी भयो भन्ने बारेमा म धेरै जान चाहन्नँ। अन्ततः उहाँहरूले विशेष महाधिवेशन गर्ने कुरा सर्वसम्मतले नै टुङ्ग्याउनुभएको थियो, पहिला त । पुसको अन्त्यतिर गर्ने सबैको सहमति थियो, पछि फेरि अलि भिन्न रूपले भयो। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दियो र त्यसले निर्वाचित गरेको केन्द्रीय समिति र सभापतिलाई पनि मान्यता दियो। तर, अहिले त्यो विषयलाई लिएर कांग्रेसकै एउटा पक्ष अदालत र निर्वाचन आयोगमा पनि गएको देखिएको छ। त्यसकारण यो विषय अझै ‘क्लियर’ भएजस्तो लाग्दैन। म गगनजीसँग पनि कुराकानी गर्न चाहन्छु। यो राष्ट्रको निम्ति, परिवर्तनको निम्ति र जनताको आवश्यकता अनुसार देशलाई राजनीतिक स्थायित्व र विकासतिर लानका लागि शेरबहादुर देउवाजी र अरूसँग पनि कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण मैले अहिले यो वा त्यो पक्ष भनेर किट्ने स्थिति छैन र मेरो दृष्टिकोणमा अहिले त्यसो गर्नु उचित पनि छैन। म सबैसँग समदुरीमा कुरा गरिरहेको छु। तर, कांग्रेसमा के भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तपाईंको लागि ? अझै स्पष्ट भइसकेको छैन । मैले बुझ्न बाँकी नै छ। त्यसैले गगनजी र शेरबहादुरजीसँग बसेर अलि लामो कुरा गर्न चाहेको छु। वास्तविक कुरा के हो भन्नेबारे अहिले नै ‘यस’ वा ‘नो’ मा उत्तर दिन सक्ने स्थिति छैन। यो बीचमा देउवासँग त भेट भएको छ नि, हैन? देउवाजीसँग बेलाबेलामा भेट भइरहन्छ। कहिले उहाँकोमा गएर भेट हुन्छ, कहिले राष्ट्रपति कार्यालयमा, त कहिले प्रधानमन्त्रीकहाँ-भेटघाट त भइराखेकै छ। तपाईंलाई छक्क लाग्दैन ? तपाईं शान्ति प्रक्रियामा आउँदै गर्दा नेविसंघको महामन्त्री भएर हिँडिरहेको केटो (गगन थापा) अहिले नेपालको सबैभन्दा पुरानो पार्टीको सभापति भइदियो । के अब ‘हाम्रो पनि बेला आएछ, बाटो खाली गरेर युवाहरूलाई ठाउँ छोड्नुपर्ने भएछ’ भन्ने लागेको छ कि छैन? होइन, त्यो त सबै पार्टीहरूको आफ्नो विकासक्रम र आन्तरिक ‘डाइनामिक्स’ हुन्छ। यो नेपाली कांग्रेसको आन्तरिक कुरा हो। गगन थापाजी कोही नयाँ ‘जेनजी’ चाहिँ होइन। उहाँ ५० वर्ष वरिपरिको हुनुहुन्छ। उहाँ दशकौँदेखि नेपाली कांग्रेसको आन्दोलनमा लागेको नेता हो। त्यसैले ‘जेनजी’ आयो भनेजसरी बुझ्नु र सोच्नुहुँदैन। उहाँहरू आफ्नो आन्तरिक कारणले नेतृत्वमा आउनुभयो, तर त्यही कुरा हामीले पनि सिक्नुपर्छ भन्ने छैन। तर, युवाहरूको भावनालाई सम्बोधन गर्ने पहिलो पार्टी त हामी नै भयौँ नि! यो कुरा पनि नोट गर्नुहोला। परिवर्तन चाहने युवाहरूको भावना कदर गर्नुपर्छ भनेर अघि बढ्ने पार्टी हामी हौँ। रवि लामिछाने तपाईंको पुरानो जिल्ला चितवनबाट लड्ने उम्मेदवार पनि हुन्। उहाँसँग के कुरा भइरहेको छ ? रविसँग के कुरा भइरहेको छ भन्ने तपाईंहरूलाई थाहा नै छ। रविविरुद्ध अलि बढी राजनीतिक प्रतिशोध लियो भन्ने कुरा मैले हिजो पार्लियामेन्टको रोस्टमबाटै बोलेको छु र बाहिर जनताका बीचमा पनि भनेको थिएँ। यो कुरा तपाईंहरूले पक्कै रेकर्ड गरिराख्नुभएकै होला। उनी जेलमा हुँदा मैले भेट्न गएर ‘के छ, कसो छ, सहज-असहज के छ?’ भनेर संवाद गरेको थिएँ। त्यो कुरा मैले मिडियाका अगाडि पनि भनेको थिएँ । मेरो क्याबिनेटको दुई-दुई पटक गृहमन्त्री भएको नाताले पनि उनीसँग संवाद गरेको हो। अर्को कुरा, जतिबेला हामी सुशासनको पक्षमा अगाडि बढ्दै थियौँ र हामीलाई सरकारबाट हटाउने प्रपञ्च भयो त्यतिबेला । रवि र मेरो आवाज र भाषा एउटै थियो। तपाईंहरूले हेर्नुभयो होला, मैले रविलाई धन्यवाद पनि दिएको थिएँ। उहाँलाई फकाउन ठूला पार्टीहरूले कम मिहिनेत गरेका थिएनन्, तर रवि त्यस्तो अप्ठ्यारोमा पनि मेरो पक्षमा उभिए। मैले यसलाई सानो आँट ठानेको छैन। त्यही नाताले मैले बेलाबेलामा उहाँको स्वास्थ्य स्थितिबारे सोधखोज गर्ने गरेको छु। अस्ति अस्पताल हुँदा पनि मैले फोन गरेर बिमारीबारे सोधेको थिएँ। उहाँले सामान्य पनि हो, अलि जटिल पनि रहेछ भन्नुभयो । अहिले डिस्चार्ज हुनुभएको छ, मलाई कुरा गर्न कुनै असहज छैन। चुनावअघि कुनै पनि खाले सहकार्यको कुरा भयो भने तपाईंको निकटता वामपन्थीहरूसँग होला जस्तो देखिन्छ ? त्यस्तो मात्रै होइन। केही नेताहरूको हकमा संरचनागत समायोजन गरिने सम्भावना छ ? त्यो असम्भव त छैन, तर अहिले हामीले त्यतातिर छलफल केन्द्रित गरेका पनि छैनौँ। यो बेलामा तपाईंलाई फेरि एमालेसँग सहकार्यको आवश्यकता बोध भएको छ ? केपी ओलीसँग होस् वा उनीपछि विद्या भण्डारी वा अरू कोही नेतृत्वमा आउँदा-एमालेसँग फेरि एकताको अध्याय सुरु हुन सक्छ ? हुन सक्छ। मैले ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाउने बेलामा नै हाम्रो लक्ष्य देशका सबै वामपन्थी, कम्युनिस्ट र देशभक्तहरूलाई एकै ठाउँमा ल्याउने हो भनेको छु। एमाले पनि त्यसभित्र पर्छ भन्ने कुरा त मैले एकता राष्ट्रिय सम्मेलन र एकता सन्देश सभाहरूमै भनिसकेको छु। सबै वामपन्थी एक ठाउँमा आएर राष्ट्र बचाउनुपर्छ भन्ने मेरो धारणा छ। त्यसकारण सिद्धान्ततः तपाईंको प्रश्नको उत्तर ‘पोजिटिभ’ छ। यो असम्भव छैन, तर अहिलेको चुनावमै त्यस्तो हुने स्थिति भने देखेको छैन। चुनाव आउन अब एक महिना बाँकी छ। कताकता ‘संसद् पुनस्थापना गर्नुपर्छ’ भन्ने चर्चा पनि सुनिन्छ। यसमा एमालेका नेताहरू पनि हुनुहुन्छ र कांग्रेसको एउटा टोली अदालततिर गइरहेको छ। तपाईं के भन्नुहुन्छ ? जतिबेला अन्तरिम सरकार बनेर निर्वाचनको मिति घोषणा भयो, हामीले भन्यौँ-हामी संसद् पुन:स्थापनाको विरोधी होइनौँ तर अब त्यो सम्भव छैन। अब नयाँ जनमतमा जानु नै उचित हो भनेर हामी निरन्तर निर्वाचनको प्रक्रियामा अगाडि बढिरहेका छौँ। एमाले र कांग्रेसका कतिपय साथीहरूले हस्ताक्षर संकलन गरेर अदालत जानुभयो, तर हामीले त्यसो गरेर पनि समस्या समाधान हुँदैन भन्यौँ। हुन्थ्यो भने त दुई तिहाइको संसद् छँदै थियो नि, किन भएन त? त्यसैले नयाँ जनमतद्वारा नै वातावरण सहज हुन्छ भनेर हामी यसमा सहभागी भएनौँ। आज खुसीको कुरा, कांग्रेस, एमाले लगायत सबै निर्वाचनमै लाग्नुभएको छ। तर, आजभोलि फेरि संसद् पुनस्थापनाको चर्चा चल्न थालेको छ। म के सम्झाउन चाहन्छु भने, २७ भदौमा निर्वाचन घोषणा हुँदा हामीले संविधान ‘डिरेल’ भयो भनेका थियौँ। सँगै सरकारलाई सघाएर निर्वाचनको वातावरण बनाउन पनि लाग्यौं । लगत्तै संसद् पुनस्थापना पनि एउटा विकल्प हो भनेर आठ पार्टीको संयुक्त वक्तव्य पनि आएको थियो। तर, आज देश चुनावमा होमिसकेको अवस्थामा फेरि संसद् पुनस्थापनाको सम्भावना पनि देखिँदैन र यो समस्याको समाधान पनि होइन। संसद् पुन:स्थापनाका बारेमा अब राजनीतिक तहमा पार्टीहरूले बहस गरिरहनु जरुरी छैन। यो विषय अदालतमा छ। सर्वोच्च अदालतले समग्र स्थितिलाई विचार गरेर ‘यस’ वा ‘नो’ मा जवाफ दिने अधिकार राख्छ। मेरो सुझाव के छ भने- यस्तो संवेदनशील विषयमा अदालतले छिटो बोलिदिनु राम्रो हुन्छ। यसलाई अँध्यारोमा राख्नु राम्रो हुँदैन। यो राष्ट्रको गम्भीर मुद्दा भएकाले अदालतले गर्ने निर्णय मान्य र वैध हुन्छ। जनताले त्यसलाई वैध ठान्छन् । अदालतले यो अवसर गुम्न दिनु हुँदैन भन्ने मेरो सुझाव छ । भनेपछि, तपाईंको ध्यान चुनावतिर छ, तर संवैधानिक प्रश्न भएकाले अदालतले जुनसुकै फैसला (पुनस्थापना नै भए पनि) गरेमा तपाईंलाई मान्य हुन्छ? अदालतले गर्यो भने त हामीले सधैँ स्वीकार गरेकै छौँ नि! तर, यसमा कसैले कन्फ्युजन नपार्नुहोला- हामी चुनावमा गइसकेका छौँ र चुनावमै जाने हो। संसद् पुनस्थापनाको मुद्दा अदालतमा छ, राजनीतिक दलहरूले अब यसमा टेन्सन लिन जरुरी छैन। चुनावकै तयारीमा सबै लाग्नैपर्छ। तर, यो संसद् पुनस्थापनाको हल्ला कहाँबाट चलिरहेको छ ? यो त जसले अदालतमा मुद्दा हालेका छन्, उनीहरूले नै बढी चलाएको कुरा हो। अदालत जाने पक्षले तपाईंलाई पनि अनौपचारिक रूपमा साउती मारिरहेका होलान् नि- ‘हामी अगाडि बढेका छौँ, तपाईंहरू यसलाई नरोक्नुस्’ भनेर ? प्रत्यक्ष-परोक्ष कुरा त एउटा होला, तर हामीले क्लियर गरेका छौँ। अहिले पुन:स्थापना भइहाल्ने सम्भावना पनि हामीले देखेका छैनौँ र देश चुनावी प्रक्रियामा अगाडि बढिसक्यो। अब त्यसबाट पछि हट्ने स्थिति पनि छैन। त्यसैले हामी हस्ताक्षर लिएर अदालत जाने पक्षमा छैनौँ। फागुन २१ गतेको चुनाव त सर्दैन नि ? सर्दैन। मैले बुझेसम्म एकछिन पनि सर्दैन। हिजो प्रधानमन्त्रीजीले तीन दलका नेताहरूलाई बालुवाटार बोलाउँदा वा शीतल निवास बोलाएको बेला राष्ट्रपतिजीले ‘अलि हतार भयो, कम्तिमा उम्मेदवार मनोनयन ५-७ दिन सारौँ’ भन्नुभएको थियो। तर न सरकार, न निर्वाचन आयोग- कोही पनि एक दिन सार्न तयार भएनन्। हामीले त्यति नै हतार हतार गरेर बन्दसूची बुझायौं । प्रत्यक्षतर्फको पनि त्यसै गर्यौं । त्यसैले चुनाव फागुन २१ मै हुन्छ भन्नेमा स्पष्ट छु। म तमाम उम्मेदवार साथीहरूलाई कुनै दुविधामा नपरी चुनावी तयारी घनीभूत बनाउन अपिल गर्दछु। कानुनी हिसाबले कुनै उम्मेदवारले फिर्ता लिन त मिल्दैन तर राजनीतिक हिसाबले कसैको उम्मेदवारी स्थगन गराएर कसैलाई सघाउने काम त हुन्न नि ? अहिले हाम्रो ध्यान कसैसँग समीकरण गर्ने वा अर्को पार्टीलाई सघाउन उम्मेदवारी स्थगित गराउनेतिर बिल्कुलै छैन। राजनीतिमा असम्भव भन्ने त हुँदैन तर अहिले हामी कसैसँग समीकरण गर्नेमा छैनौं । तपाईंलाई चुनावपछिको जनमतले अहिलेको संविधान वा प्रणालीलाई नै तलमाथि पार्ला भन्ने डर छ कि ? त्यस्तो डर त छैन, तर म के भन्न चाहन्छु भने- राष्ट्र अहिले पनि संकटमा छ। २४ गतेका दिन केही घण्टाभित्र देशमा जुन विध्वंस देखियो, त्यसलाई हरेक नागरिकले गम्भीरतापूर्वक लिनुपर्छ। यो निर्वाचन ‘रामबाण’ भइहाल्छ र सबै समस्या समाधान हुन्छ भन्ने भ्रममा बस्नु हुँदैन। अहिले केही मिडिया र सोसल मिडियामा नियोजित ढंगले प्रचारबाजी भइरहेको देख्दा म चिन्तित छु। जनतामा आधार नै नभएकाहरूको रेटिङ ९८-९९ प्रतिशत देखाइएको छ, तर हजारौँ जनता साथमा भएका नेताहरूको रेटिङ जिरो देखाइएको छ। कतिपयले ‘हाम्रो बहुमत आइसक्यो, चुनाव त देखाउन मात्रै हो’ भन्दै हिँडेका छन्। सोसल मिडिया राम्रो उद्देश्यको लागि प्रयोग गर्दा राम्रो पनि हो र गलत उद्देश्यले प्रयोग गर्दा भयानक पनि। म विज्ञानको विद्यार्थी भएकाले यसप्रति मेरो नकारात्मक धारणा छैन, तर चुनाव अघि नै यसले जित्छ भनेर प्रचार जसले जहाँबाट गरेकव छ, यसले मलाई लाग्छ- दाल मे कुछ काला है । अमेरिका युरोपकै चुनावमा पनि यस्तो हुन्छ नि ? यस्तो हुन्छ । जब म ‘फेक’ र झुटो प्रचार देख्छु, त्यहाँनेर शंका गर्ने ठाउँ छ । म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, सबै पार्टी-जनसंगठन र नागरिक समाज सबैसँग अपिल गर्छु- यो निर्वाचनलाई कसैको नियोजित परिणाम ल्याउने थलो बन्न नदिन हामी सबैले गम्भीर, जिम्मेवार र संवदेनशील भूमिका खेलौं । यो राष्ट्रको जीवन-मरणको प्रश्न जस्तो छ । यदि निर्वाचनमा २४ गतेजस्तै कताबाट आयो, कताबाट भनेजस्तै बनाउन खोजियो भने यो राष्ट्र र जनताका लागि भयावह हुनेछ। म यो संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सबैभन्दा बढी त्याग, बलिदान र संघर्ष गरेको पार्टी र नेताको हैसियतले सुरक्षा निकाय र जनतालाई आग्रह गर्छु- सबै सजग हुनुहोला । म नेपाली सेना र हाम्रो सुरक्षा निकायप्रति विश्वास गर्छु । नेपालका राजनीतिक दल र जनता सोसल मिडियाको ‘स्टन्ट’बाट मुक्त हुनुहोला। छातीमा हात राखेर ‘यो राष्ट्र कसले बनाउन सक्छ’ भनेर १० पटक विचार गरेर मात्रै भोट हाल्नुहोला। तपाईंले ‘नियोजित परिणाम’को आशंका गरेर सुरक्षा निकायलाई अपिल गर्नुभयो, के हामी कुनै दुर्घटनाको नजिक छौँ? त्यसरी नै बुझ्नुस् भन्न खोजेको होइन। मैले त राष्ट्रप्रतिको जिम्मेवारी र जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न सबैले आ-आफ्नो ठाउँबाट मेहनत गरौं मात्रै भनेको हो। यदि हामी सजग भएनौँ भने देश अर्को दुर्घटनामा जान पनि सक्छ भनेको हुँ, गइहाल्छ भनेको होइन। अन्तिममा, मान्छेको राजनीतिक जीवनको पनि अवकाश हुन्छ। तपाईंको सक्रिय राजनीतिको अवकाश कहिले हुन्छ ? मैले धेरै ठाउँमा भनेको छु- अहिले राष्ट्र, मेरो पार्टी, परिवार, देश र आन्दोलन अप्ठ्यारोमा छ। मैले परिवार, देश र राजनीतिका धेरै उतारचढाव र पारिवारिक पीडा भोगिसकेको छु। मेरा लागि अब पार्टीको अध्यक्ष वा संयोजक पद महत्त्वको छैन। तर, जबसम्म मेरो साहस रहन्छ, म जनताको पक्षमा लडिरहनेछु। त्यसका लागि मलाई पद चाहिँदैन। म नेपाल राष्ट्र र जनतालाई नयाँ ढंगले सेवा गर्न चाहन्छु। त्यो नयाँ ढंग भनेको के हो? त्यो भनेको हाम्रो विशेषतासहितको ‘नयाँ समाजवादी आन्दोलन’ हो। म रुकुम पूर्व जानुको तात्पर्य पनि त्यही हो-तलैबाट सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गर्नु। तपाईंले निर्वाचन क्षेत्र धेरै फेर्नुभयो-रोल्पा, काठमाडौं, सिरहा, चितवन, गोरखा र अहिले रुकुम। यसलाई मान्छेले कसरी बुझ्ने ? यसलाई म यसरी स्पष्ट पार्छु: रोल्पा र काठमाडौँबाट उठ्नुको अर्थ जनयुद्ध र जनआन्दोलन जोडेर नयाँ संविधान बनाउने प्रक्रियाको सुरुवात थियो । सिरहामा गएर चुनाव जितेँ र प्रधानमन्त्री भएँ । त्यसको तात्पर्य मधेस र पहाडलाई दरोसँग जोड्नु थियो । संविधान निर्माणको बेला जस्तो परिस्थिति देखियो, प्रधानमन्त्रीको हैसियतले मधेसी जनता र पार्टीहरूको विश्वास जितेर निर्वाचनितर देश लगेको थिएँ । मेरो उद्देश्य बुझिदिनुस् । त्यसपछि म आफ्नो गृह जिल्लामा विकासको मोडल दिन गए । परिवार र गृहजिल्लावासीको आग्रहपनि थियो । त्यसपछि जनयुद्धको तयारी गरेको ऐतिहासिक ठाउँ भएकाले गोरखामा योगदान दिन गएँ । अहिले म नयाँ समाजवादी आन्दोलनको आधार इलाका बनाउन रुकुम गएको हुँ । अहिले त अरूले पनि क्षेत्र सार्न थालेका छन्। गगनजी सर्लाही जानुभयो, बालेनजी झापा जानुभयो। उहाँहरू पनि प्रचण्डकै लाइनमा विस्तारै विस्तारै आउन थालेका छन्। झापामा बालेन गएको कुरालाई कसरी हेर्नुभएको छ ? यसबारे अहिले धेरै नबोलौं । अन्तिम प्रश्न, तपाईंको एउटा चर्चित भनाइ छ-‘म नमर्दासम्म उथलपुथल भइराख्छ’। अब यो देशमा के उथलपुथल हुँदैछ? उथलपुथल भइरहेकै छ । ‘नेपाली कम्युनिस्ट पार्टी’ बन्नु र ‘तारा’ चुनाव चिह्न आउनु नै एउटा उथलपुथल हो। मेरा कुराहरूलाई नकारात्मक अर्थमा नबुझिदिनुहोला, मैले रचनात्मक र सकारात्मक कुरा गरेको हुँ। म जमेको पोखरी जस्तो फोहोर भएर बस्न चाहन्न, देशलाई गति दिन चाहन्छु। पहिला मैले ‘म्याजिक नम्बर’ भनेको थिएँ, तर अब म्याजिकले काम दिएन, अब मलाई जनताबाट स्पष्ट बहुमत चाहिएको छ। (संयोजक प्रचण्डसँगको कुराकानी अनलाइनखबरबाट साभार ।)
निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोटिङ राख्नुभयो । रिपोटिङ सुनेपछि संयोजक प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा राख्नुभयो। बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गरेको छ। साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू बैठकले गरेको छ। बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकिएको छ। जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ। त्यसैगरी, बैठकले नेता तथा कार्यकर्ताको परिचालन सम्बन्धमा ठोस निर्णय लिँदै निर्वाचनका लागि अपिल छिट्टै प्रकाशित गर्ने र घोषणापत्रलाई सम्पादन गरी छिट्टै प्रकाशन गर्ने निर्णय गरेको छ। निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउँनका लागि अग्नि साप्कोटाको नेतृत्वमा जगतनाथ खतिवाडा, गोविन्द आचार्य रहेको केन्द्रिय प्रचार समिति गठन गरेको छ। केन्द्रिय प्रचार समितिले अन्य विभिन्न पक्षसँग आवश्यक परामर्शसहित प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ।
सुर्खेत-२ मा नेकपा उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ले गरे चुनावी एजेन्डा सार्वजनिक
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत क्षेत्र नम्बर २ का उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्ना मुख्य चुनावी एजेन्डा तथा प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । यो क्षेत्रमा अन्य उम्मेदवारहरूले अझै एजेन्डा सार्वजनिक नगरेको अवस्थामा मल्लले युवा तथा जनताको आशालाई सम्बोधन गर्ने गरी विभिन्न विकासमुखी योजना अघि सारेका छन् । माओवादी जनयुद्धका पूर्व लडाकु तथा कमान्डर रहिसकेका मल्लले भने, “जनयुद्धबाट प्राप्त गणतन्त्र र समावेशितालाई पूर्णता दिन अब हामीले नै नेतृत्व लिनुपर्छ । व्यवस्था बदलिए पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएकोमा अब रूपान्तरणसहित जनतामा आएका छौं ।” उनले पश्चिम सुर्खेतमा युद्धकालमा सुरु गरेका विकास आयोजना (जस्तै गुटु बजार व्यवस्थापन र जनमुक्ति मार्ग सडक) लाई पूर्णता दिने तथा क्षेत्रमा पहिलो पटक आफ्नै पार्टीबाट उम्मेदवार बनेकोमा मतदाता खुसी भएको बताए । मल्लका प्रमुख चुनावी एजेन्डा तथा प्रतिबद्धताहरू संक्षेपमा: प्रत्येक स्थानीय तहमा आइटी कलेज स्थापना गरी गुणस्तरीय, प्रविधिमैत्री र रोजगारमुखी शिक्षा सुनिश्चित गर्ने । प्रदेश अस्पताललाई राष्ट्रियस्तरको बनाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने; पालिकास्तरमा विशेषज्ञ स्वास्थ्य संस्था स्थापना । टोल–टोलमा सडक, सिँचाइ, घरघरमा बिजुली र खानेपानी पुर्याउने । स्थानीय पर्यटन, उद्यमशीलता र औद्योगिक विकासमार्फत स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना । प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक नमुना सहर बनाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने; बराहताल, पञ्चपुरी र चौकुनेमा व्यवस्थित सहरीकरण । विमानस्थल तथा रत्न राजमार्ग स्तरोन्नति र पूर्व–पश्चिम/उत्तर–दक्षिण सडक सञ्जाल विस्तार । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता कार्यान्वयन; जातीय विभेद अन्त्य र सामाजिक न्याय सुनिश्चित । मल्लले क्षेत्रका गाउँबस्ती पुगेर जनताको आशा बुझेको र युवा तथा फ्रेस फेसका रूपमा आफूप्रति विश्वास बढेको दाबी गरेका छन् ।
सल्यानको खलंगामा अटो दुर्घटना: १० जना घाइते, दुईको अवस्था गम्भीर
सल्यान । सल्यानको शारदा नगरपालिका–२ खलंगामा सोमबार दिउँसो भएको अटो दुर्घटनामा १० जना घाइते भएका छन्। श्रीनगरबाट खलंगाबजारतर्फ जाँदै गरेको रा१ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटना दिउँसो करिब २ बजे भएको प्रहरीले जनाएको छ। अटोमा सवार ११ मध्ये चालकबाहेक १० जना यात्रु घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको छ। अन्यको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्णबहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल छन्। प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ। घाइतेहरूको विवरण तथा अवस्था निम्नानुसार छ: १. टरबहादुर रेउले (७८ वर्ष, सिद्धकुमाख गा.पा.–१) – गम्भीर २. सृष्टि बि.क. (३ वर्ष, बनगाड कुपिण्डे न.पा.–९) – गम्भीर ३. दीपक बि.क. (३५ वर्ष, सिद्धकुमाख गा.पा.–२) – मध्यम ४. रेशमबहादुर नेपाली (१९ वर्ष, शारदा न.पा.–११) – मध्यम ५. दीपक बि.क. (७ वर्ष, बनगाड कुपिण्डे न.पा.–९) – मध्यम ६. संगीता बि.क. (२३ वर्ष, बनगाड कुपिण्डे न.पा.–९) – सामान्य ७. कृष्णा बुढाथोकी (२३ वर्ष, दाङ बबई गा.पा.–६) – सामान्य ८. स्मृति बुढाथोकी (३ वर्ष, दाङ बबई गा.पा.–६) – सामान्य ९. धनि सुनार (३८ वर्ष, सिद्धकुमाख गा.पा.–२) – सामान्य १०. पुष्पा सुनार (३९ वर्ष, सिद्धकुमाख गा.पा.–२) – सामान्य प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।
एमाले छोडे पूर्व सांसद नरपति लुवार सुनारले, नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध
सुर्खेत — नेकपा एमाले कालिकोटका प्रभावशाली नेता तथा राष्ट्रिय सभाका पूर्वसांसद नरपति लुवार सुनारले पार्टी परित्याग गरेका छन्। आइतबार आयोजित एक विशेष कार्यक्रमबीच उनले नेकपा एमाले छोडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन्। पूर्वसांसद सुनारले एमाले अब पार्टी नभई 'कम्पनी' मा रूपान्तरण भएको आरोप लगाउँदै भने, “कसैको दास बनेर वा कम्पनीको करार कर्मचारीजस्तै भएर राजनीति गर्न नसकिने भएकाले पार्टी छोडेको हुँ।” स्थानीयदेखि केन्द्रीय तहसम्म प्रभाव राख्ने नेता मानिएका उनको यो निर्णयले कालिकोटको राजनीतिमा नयाँ तरंग ल्याएको छ, विशेष गरी निर्वाचन नजिकिँदै गर्दा।
म ती पुराना नेताहरूको भीडमा छैन, सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सामेल हुने छैन : प्रचण्ड
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूलाई सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडबाट अलग राखेको स्पष्ट पारेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको भिडियो सन्देशमा उनले भने, “धेरैलाई लाग्न सक्छ कि म पनि अन्य पुराना नेताहरू जस्तै हुँ। तर म स्पष्ट रूपमा भन्न चाहन्छु— म ती पुराना नेताहरूको भीडमा छैन। म त्यस्तो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सामेल हुने छैन, जसले देशलाई बन्धक बनाइराखेको छ। म फरक छु र यो कुरा प्रमाणित गरेरै छाड्नेछु। मेरो काम र निष्ठालाई आज होइन, आगामी इतिहासले प्रमाणित गर्नेछ।” प्रचण्डले आफूले जीवनमा एउटा व्यक्तिले गुमाउन सक्ने सबै गुमाइसकेको उल्लेख गर्दै थपे, “यो संघर्ष मेरो व्यक्तिगत होइन, हजारौं सहिदहरूको सपना पूरा गर्ने यात्रा हो। आफन्त र कमरेडहरूको बलिदान खेर जाने छैन भन्ने मलाई थाहा छ। परिवर्तन अनिवार्य छ र भएरै छाड्नेछ।” उनले भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारको मुद्दा जनयुद्धकालदेखि नै उठाउँदै आएको बताए। मुलुकमा राजनीतिक स्थिरता तथा विकासका लागि वर्तमान व्यवस्थाभन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उत्तम हुने उनको दाबी छ। “मेरो र युवाहरूको माग समान छ। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ। खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन,” उनले भने। प्रचण्डले हार नमान्ने अठोट व्यक्त गर्दै थपे, “म हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छु। तर हरेक चम्किलो वस्तु हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ। म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको हुँ, भोट माग्न होइन।” प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
वाइसिएलको अर्ध सैन्य संरचना एक्टिभ : शान्तिपूर्ण निर्वाचन गराउन सहयोग गर्ने
काठमाडौं – योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) ले आफ्नो अर्ध सैन्य संरचना पुनः ब्यूँताएको छ। वाईसीएल नेपालको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। बैठकपछि वाईसीएलका अध्यक्ष पुष्प ओलीले दिएको जानकारीअनुसार, देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा सुनिश्चित गर्न स्पेसल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरी राखिने छ। यसका लागि आवश्यक तयारी तीव्र पारिएको छ। यसैगरी बैठकले अन्तरपार्टी युवा, विद्यार्थी तथा जेनजी युवा संयोजन गर्न विशेष समन्वय संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ। सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेताहरू सम्मिलित कमाण्ड सेन्टर स्थापना गर्ने पनि तयारी छ। वाईसीएलले निर्वाचन लक्षित थप रणनीति पनि बनाएको छ। प्रत्येक मतदान केन्द्र (बुथ) मा एक सय युवा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी प्रचार प्रसार गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवालाई नै सोही क्षेत्रमा परिचालन गर्ने। बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले आगामी निर्वाचनलाई सफल बनाउन वाईसीएलले विशेष भूमिका निर्वाह गर्नुपर्ने निर्देशन दिएका थिए।
गोरखा आरुघाटका २०० भन्दा बढी युवा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौँ । गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका २०० भन्दा बढी युवाले नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरू आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार राजन गुरुङको संयोजनमा एकै गाउँपालिकाबाट २०० भन्दा बढी युवालाई पार्टी संयोजक प्रचण्डले स्वागत गरेका छन् । प्रवेश गर्ने युवाहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (एमाले) तथा नेपाली कांग्रेस जस्ता दलहरू परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका हुन् । पार्टी प्रवेश गर्नेहरूमा भुजन गुरुङ, रोनिस बराम, दीपक तामाङ, इन्द्रबहादुर गुरुङ, सुपेन्द्र गुरुङ, सञ्जीव गुरुङ, टेकबहादुर बराम, गणेश बरामलगायत २०० जना युवा रहेका छन् । कार्यक्रममा बोल्दै पार्टी संयोजक प्रचण्डले गोरखाको आरुघाट क्षेत्रमा कमजोर रहेको पार्टी अब यी युवाहरूको प्रवेशले सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको एकता पक्षधर समूहले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । धनकुमारी सुनारको नेतृत्वमा रहेको उक्त एकता पक्षधर समूहलाई आज पार्टी कार्यालय पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा समायोजन गरेका छन् । उक्त समूह र नेपाली कम्युनिस्ट पार्टीबीच ८ बुँदे सहमति पनि भएको छ । यो समायोजनले वामपन्थी एकतालाई थप सुदृढ बनाउने उद्देश्य राखिएको बताइएको छ ।
पत्रकार विजय कुशवाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौँ । मधेस प्रदेशका स्थापित पत्रकार तथा विजयपथ डटकमका प्रधान सम्पादक विजय कुशवाहले माघ १७ गते पार्टी कार्यालयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक प्रवेश गरेका छन् । नेपाली कांग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टेलिभिजन र हिमालय टेलिभिजनका मधेस ब्यूरो प्रमुखसमेत रहनुभएका कुशवाहलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।

