यी हुन् नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फका १३ महिला उम्मेदवार

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ विभिन्न १३ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छ।

पार्टीले देशका विभिन्न क्षेत्रबाट महिलाहरूलाई उम्मेदवार बनाएर लैङ्गिक समावेशीतर्फको सन्देश दिएको छ। उम्मेदवारहरूको सूची यस प्रकार छ :

  • झापा २ : धर्म शिला  चापागाईँ 
  • संखुवासभा १ : सरिता खड्का थापा
  • सुनसरी २ : रामकुमारी चौधरी
  • रौतहट ३ : पूनम देवी
  • काठमाडौं १ : मेनका भण्डारी
  • काठमाडौं ५ : कल्पना शर्मा
  • काठमाडौं १० : रुपा महर्जन
  • चितवन ३ : रेनु दाहाल
  • मनाङ १ : यशोदा सुवेदी गुरुङ
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ : डा. सिन्धु जलेसा
  • कञ्चनपुर १ : विना मगर
  • सप्तरी ४ : रुबी कुमारी कर्ण
  • काभ्रे २ : वसुन्धरा हुमागाईँ

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले गरे सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं — नेकपा नेता नारायणकाजी श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार हरिवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयनपत्र दर्ता गराएका हुन्। प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि मात्र राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका थिए। २०७९ को निर्वाचनमा यो क्षेत्रबाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती विजयी भएका थिए।

भूराजनीतिक अवस्थामा नेपाल जटिल अवस्थामा छ : वर्षमान पुन 'अनन्त'

रोल्पा — नेकपा नेता वर्षमान पुन (अनन्त) ले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने खतरा रहेको बताएका छन्। श्रीलंका र बंगलादेशपछि नेपालमा पनि विदेशी शक्तिहरूको खिचातानी देखिएको उनको भनाइ छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा पुगेको र अग्रजहरूले जोगाएको देश भावी पुस्तालाई सग्लो हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए। उनले २३ भदौको नवयुवा आन्दोलन जायज रहे पनि २४ भदौको विध्वंसमा देशी–विदेशी शक्तिको घुसपैठ भएको टिप्पणी गरे। राष्ट्रवादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। रोल्पा गणतन्त्र, संघीयता र समावेशीताका लागि सबैभन्दा बढी बलिदान गरेको जिल्ला भएको उल्लेख गर्दै पुनले यहाँको जग भत्काउन नदिने प्रतिबद्धता जनाए। आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको र रोल्पाली जनताको शिर नझुक्ने गरी काम गर्ने उनको भनाइ छ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक नेपालद्वारा रौतहट-१ बाट उम्मेदवारी दर्ता

रौतहट — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयनपत्र दर्ता गराएका हुन्।

रुकुम पूर्वमा पूर्व नेकपा एमालेको ठूलो समूह नेकपामा प्रवेश, प्रचण्डलाई समर्थन

रुकुम पूर्व । रुकुम पूर्वमा पूर्व नेकपा एमालेको ठूलो समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ । आसन्न २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त समूहले नेकपाका संयाेजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहयाेग गर्न अपील पनि गरेकाे छ ।  पार्टी प्रवेश गर्ने समूहले जनआन्दोलन, जनविद्रोह तथा जेन्जी विद्रोहका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती बलिदानकै जगमा आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । उनीहरूले भ्रष्टाचारविहीन, सुशासनयुक्त र रोजगारमुखी विकासको आवश्यकता औँल्याउँदै नेकपाकाे राजनीतिक धारासँग आफूहरू एकमत हुँदै समाहित भएकाे स्पष्ट पारेका छन् । पार्टी प्रवेशसँगै सार्वजनिक गरिएको अपिलमा रुकुम पूर्वको विकास र समृद्धिका लागि विशेष पहल गर्न प्रचण्डसँग आग्रह गरिएको छ । दुर्गम भूगोलका कारण पछाडि परेको जिल्लाको जीवनस्तर परिवर्तनका लागि प्रभावकारी बजेट व्यवस्थापन र दीर्घकालीन योजनाको कार्यान्वयन आवश्यक रहेको उनीहरूको भनाइ छ । पार्टी प्रवेश गर्ने समूहले सात बुँदे मागसमेत अघि सारेको छ । जसमा राष्ट्रिय गौरवको सहिद मार्ग (होलेरी–घर्तीगाउँ–थवाङ–काँकी–तकसेरा–हुकाम–मैकोट–डोल्पा हुँदै चीन सीमा) को स्तरोन्नति तथा कालोपत्रे, देउखोला–जामाबगर–ढोरपाटन–म्याग्दी–मुस्ताङ हुँदै चीन सीमासम्म सडक निर्माण, रुकुमकोट–पोखरा–प्वाड–सिस्ने हुँदै डोल्पासम्म सुरुङमार्ग निर्माणको पहललगायतका माग छन् । त्यसैगरी भूमे–१ लुगुममा निर्माणाधीन बहुप्राविधिक शिक्षालय सञ्चालन, रुकुमकोटमा बी.एस्सी. कृषि अध्ययन सुरु गर्ने, राउण्ड पर्यटन मार्ग विकास, वृहत लिफ्ट सिँचाइ आयोजना, फलफूल खेती तथा चौरीगाई र भेडापालनलाई व्यवसायीकरण गरी स्वरोजगार सिर्जनामा जोड दिनुपर्ने माग गरिएको छ । नेकपामा प्रवेश गर्नेहरूमा पूर्व नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष टोपबहादुर ओली, लुम्बिनी प्रदेश सभा (ख) का पूर्व स्वतन्त्र उम्मेदवार नरहरि खड्का, एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनलगायत विभिन्न स्थानीय तहका नेता, कार्यकर्ता तथा युवाहरू रहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुकुम पूर्वबाट आज उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।   उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा प्रचण्डले यो जिल्लालाई क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला भएको उल्लेख गर्दै आफूले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभएको छ । उम्मेदवारी दर्ताका लागि प्रचण्ड हिजो त्यसतर्फ जानु भएको थियो । उम्मेदवारी दर्ता अघि नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्तासहितको जुलुस निस्किएको थियो ।  प्रचण्डले स्थानीय सहिद परिवारको आशीर्वाद लिएर मनोनयन पत्र दर्ताका लागि स्थानीय निर्वाचन कार्यालय पुग्नु भएको थियो । 

भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि तारा चिह्नमा अमूल्य मत दिन प्रचण्डको अपिल

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुकुम पूर्वबाट आज उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।   उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा प्रचण्डले यो जिल्लालाई क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला भएको उल्लेख गर्दै आफूले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभएको छ । उहाँले देशभर तारा चुनाव चिह्न लिएर मनोनयन दर्ता गराउनु भएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । साथै, भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पका साथ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा अमूल्य मत प्रदान गर्न हार्दिक अपील गर्नुभएको छ ।

चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले गरिन उम्मेदवारी दर्ता

चितवन । नेकपाबाट चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएकी हुन् । रेनुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरेकी थिइन् । यसअघि दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् ।

रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (नेकपा) का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तापछि सापकोटाले नयाँ–पुरानोभन्दा विचार महत्त्वपूर्ण रहेको बताउँदै समृद्धिसहितको विचारका साथ चुनावमा होमिएको जिकिर गरे । लामो समय भक्तपुरको जनताका लागि राजनीति गरेको र आवश्यक पर्दा सधैं जनताको साथमा उभिने उनको भनाइ छ । यो उनको पहिलो आम निर्वाचन हो । यो क्षेत्रमा नेकपा (एमाले) का सचिव महेश बस्नेत उम्मेदवार छन्, जसले ०७४ मा जितेका थिए तर ०७९ मा पराजित भएका थिए ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले दिउँसो १ बजे मनोनयन दर्ता गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गर्दै हुनुहुन्छ । रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफैं उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता  गर्ने उहाँका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ । मनोनयन दर्ताअघि उहाँ रुकुम पूर्वका सहिद परिवारसँग आशीर्वाद लिएर मनोनयन दर्ता गर्न जान लाग्नुभएको छ ।

झलनाथ खनाल र वामदेव गौतमले फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले आगामी फागुन २१ को प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन् । पूर्वप्रधानमन्त्री खनालले इलाम–१ बाट लड्दै आएको क्षेत्र युवाहरूलाई छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले इलाममा युवाहरूलाई छाडेँ । अन्यत्र पनि उम्मेदवार नलड्ने संयोजकलाई भनिसकेको छु । उमेर र कतिपय अरू कारणले म यसपटक उम्मेदवार नबन्ने भएँ ।’ खनाल २०४८ सालदेखि इलाम–१ बाट निरन्तर उम्मेदवार बन्दै आउनुभएको थियो । उहाँ २०५६ र २०७९ मा पराजित हुनुभएको थियो तर त्यसयता निरन्तर विजयी हुँदै आउनुभएको थियो । नेकपाले इलाम–१ मा रणबहादुर राई र इलाम–२ मा ओमबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, नेता वामदेव गौतम पनि उम्मेदवार नबन्ने भएका छन् । उहाँ यसअघि बर्दिया र प्यूठानबाट चुनाव लड्ने गर्नुहुन्थ्यो । नेकपाले बर्दिया–१ मा विष्णुप्रसाद थारू, बर्दिया–२ मा सुरेश पन्त र प्यूठानमा कृष्णध्वज खड्कालाई उम्मेदवार बनाएको छ ।

नेकपाले बारा–४ बाट बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहालाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बारा क्षेत्र नम्बर ४ बाट अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी तथा युवा नेता अजय कुशवाहालाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ । अजय कुशवाहा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बास्केटबल खेल्दै आएका चर्चित खेलाडी हुन् । नेकपाले उनलाई बारा जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको लागि टिकट दिएको हो । यसअघि खेल क्षेत्रमा सक्रिय कुशवाहा पछिल्लो समय राजनीतिमा पनि सक्रिय थिए । पार्टीले युवा पुस्तालाई प्राथमिकता दिँदै उनलाई उम्मेदवार बनाएको जनाइएको छ ।

यी हुन् नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन अन्तरगत सबैजसो निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । एक दुईबाहेक केन्द्रीय कार्यालयमा बाँकी उम्मेदवार टुंगो लगाइएको नेकपाका नेताहरुले बताएका छन् ।  एक दुई ठाउँको पनि वितरण मात्र बाँकी रहेको नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय स्रोतले एभरेष्ट दैनिकलाई जानकारी दिएको छ ।   

नेकपाले सल्यानमा युवा नेता रमेश मल्ललाई टिकट दियो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सल्यान क्षेत्रबाट युवा नेता रमेश मल्ललाई उम्मेदवारी टिकट दिएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्न लागेका हुन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रकाश ज्वालाले दाबी छोडेपछि मल्लले टिकट पाएका हुन् । जिल्लाबाट मल्लसहित पूर्वमन्त्री प्रकाश ज्वाला र टेकबहादुर बस्नेतको नाम सिफारिस भएको थियो तर पार्टीले दुई पूर्वमन्त्रीलाई छोडेर मल्ललाई छनोट गरेको हो । २०७९ को निर्वाचनमा गठबन्धनबाट ज्वाला विजयी भएका थिए । उनी अहिले पनि नेकपाकै नेता छन् । मल्ल यसअघि पार्टी संयोजक प्रचण्डको स्वकीय सचिव भएर काम गरेका थिए । नेकपाले अन्य क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको भए पनि सल्यानलगायत केही क्षेत्रमा ढिलो निर्णय गरेको थियो ।

चुनाव सामान्य लिनुपर्छ, कार्यसम्पादनको हिसाबले जनताले मूल्यांकन गर्छन् : रेनु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेकी छिन् । उनी सामान्य चुनावमा आफू नडराउने बताएकी छिन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मेयर दाहालले भन्नुभयो, ‘कसै न कसैसँग त भिड्नैपर्छ । हिजो पनि काठमाडौं–१ मा हेभिवेट प्रकाशमान सिंहसँग भिडेरै आएको हो । पराजित भएँ तर भिड्नसँग डराउँदिन । सामान्य चुनावमा डराउने कुरा होइन ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोही क्षेत्रबाट नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको चर्चा चलिरहेका बेला दाहालले भन्नुभयो, ‘सोबिता कि रेणु भन्ने कुराहरू आइरहेका छन् । यहाँका दुई नारीलाई यसरी भिडाउन नहुने भन्ने कुरा पनि आएका छन् । सबै जना तरंगित भएजस्तो देखिन्छ तर म चाहिँ कत्ति पनि तरंगित छैन । कार्यसम्पादन र कर्मको हिसाबले जनताले मूल्यांकन गर्ने हो ।’

विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरु चुनाव नलड्ने

काठमाडौँ । नेकपा (माओवादी) का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन् । सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने निर्णय गरेको एक नेताले बताउ ।  ती नेताका अनुसार एक सिट पनि सहज तरिकाले जित्ने आधार नभएपछि चुनाव नउठ्ने मनस्थितिमा पार्टी पुगेको हो । अब सचिवालयबाहेकका नेताहरु चुनाव लड्ने भएका छन् ।  रोल्पामा एमालेले साथ नदिएपछि पार्टी महासचिव विप्लव पनि चुनाव नउठ्ने भएका छन् ।