विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अब संगठनात्मक विवादको तह पार गर्दै वैधानिकता र अस्तित्वको प्रश्नमा प्रवेश गरेको छ । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षले आ–आफ्ना निर्णय निर्वाचन आयोगमा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा दुई शक्ति केन्द्रमा विभाजित देखिएको छ ।
संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेको निर्णयलाई वैधानिक ठहर गर्दै आयोगमा जानकारी गराएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति नै एकमात्र वैधानिक निकाय भएको संस्थापन पक्षको दाबी छ ।
तर, विशेष महाधिवेशन पक्षले १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय समिति भङ्ग भइसकेको दाबी गर्दै नयाँ नेतृत्व चयन भइसकेको घोषणा गरेको छ । भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भएको घोषणा गर्दै नयाँ केन्द्रीय समिति गठन गरिएको जानकारी निर्वाचन आयोगमा बुझाइएको छ ।
अब के हाेला ?
दुवै पक्षले आफूलाई वैधानिक दाबी गरेपछि अब कांग्रेसको आधिकारिक नेतृत्व, पार्टीको नाम, झन्डा र रुख निर्वाचन चिह्न कसको भन्ने प्रश्न निर्वाचन आयोगको निर्णयमा अड्किएको छ । आयोगले कुन पक्षलाई आधिकारिक मान्छ भन्ने निर्णयले कांग्रेस मात्र होइन, आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको समीकरणसमेत प्रभावित हुने देखिन्छ ।
विशेष महाधिवेशन पक्षले पार्टीभित्र लामो समयदेखि जमेको असन्तोष, ‘जेनजी आन्दोलन’ र संगठनात्मक जडताको परिणामस्वरूप विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेको छ । उनीहरू कांग्रेसलाई रूपान्तरणको नयाँ चरणमा लैजाने दाबी गर्छन् ।
उता, संस्थापन पक्षले यसलाई पार्टी कब्जा गर्ने असंवैधानिक प्रयासको संज्ञा दिँदै विधान विपरीत गरिएका सबै निर्णय अमान्य हुने चेतावनी दिएको छ । संकट समाधानका लागि सभापति देउवा, विशेष महाधिवेशन पक्ष र डा. शेखर कोइराला पक्षबीच भएको त्रिपक्षीय संवाद सहमतिविहीन रूपमा टुंगिएपछि तत्काल निकासको सम्भावना कमजोर देखिएको छ ।
नेपाली कांग्रेस अहिले नेतृत्व, वैधानिकता र राजनीतिक भविष्यको निर्णायक मोडमा उभिएको छ । निर्वाचन आयोगको फैसला र आगामी निर्वाचन परिणामले कांग्रेस एकीकृत रूपमा अघि बढ्ने कि स्थायी विभाजनतर्फ जाने भन्ने स्पष्ट गर्नेछ ।
संकटको बेला प्रचण्डको नाम आउँछ, कांग्रेस–एमाले भाग्छन् : राजेन्द्र श्रेष्ठ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र श्रेष्ठले राष्ट्रिय संकटको समयमा नेतृत्व दिन सक्ने एकमात्र नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा बुधबार आयोजित पार्टी एकता तथा समायोजन कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले संकटमा कांग्रेस र एमाले भाग्ने प्रवृत्ति रहेको भन्दै ती दलको पछि लागेर समस्याको समाधान नहुने बताए। उनले भने, “राष्ट्रिय संकटको बेला प्रचण्डको नाम आउँछ। जनयुद्ध र जनआन्दोलनलाई फ्युजन गर्नुपर्ने माधव र झलनाथ खनाल हुन्। जनतालाई समस्या नेतृत्व नदिने कांग्रेस र एमालेलाई भोट दिएर हुँदैन। स्याल जतिसुकै तन्नेरी भए पनि केही हुँदैन। कांग्रेस र एमाले गनाइसकेको छ।” संघीयता, राष्ट्रियता र समावेशिताको रक्षाका लागि सबैलाई नेकपामा समायोजन हुन श्रेष्ठले आग्रह गरे।
धेरै तुलना गरियो, जतिसुकै तुलना गरे पनि उहाँकै नाम आउँछ प्रचण्ड : पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य
काठमाडौं । बागमती प्रदेशका पूर्वमन्त्री तथा देश विकास पार्टीका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता तथा समायोजन कार्यक्रममा सहभागी भएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बज्राचार्यले युवाहरूले व्यवस्था परिवर्तनसँगै अवस्थामा पनि परिवर्तन खोजेको बताए। नेकपाका एजेन्डा सही भए पनि जनताबीच विश्वास आर्जन गर्नुपर्ने र मिडियामा बोल्नेमात्र पर्याप्त नहुने उनको भनाइ थियो। उनले भने, “सुमन दाइलाई कुन पार्टीमा जाने भन्दा धेरै तुलना गरियो। जतिसुकै तुलना गरे पनि उहाँकै नाम आउँछ—प्रचण्ड। नारायणकाजी श्रेष्ठ 'प्रकाश'सँग पनि बेलाबेलामा कुरा हुन्छ। उहाँको काम हेरेर हो। अबको चुनावको प्रचार घरघरमा पुग्नुपर्छ।” गणतन्त्रले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउने जस्ता उपलब्धि दिएको स्मरण गर्दै उनले नेकपाका नेताहरूलाई सावधान रहन आग्रह गरे। “अब दुर्घटना गर्नेतिर नलाग्नुस्, नागरिकको हकहित र सोचलाई ख्याल गर्नुस्,” उनले भने। साधारण भएर अगाडि बढ्न र नेवार समुदायलाई धोका नदिन पनि उनको सुझाव थियो। बज्राचार्यले नवप्रवेशी सुमन सायमीलाई काठमाडौं क्षेत्र नं. ८ बाट आगामी निर्वाचन जित्न शुभकामना दिए। सायमी २०७९ को चुनावमा सोही क्षेत्रबाट उम्मेदवार बन्दा ६,१७९ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए।
केवल स्टन्टबाजीबाट यहाँ उभिएका होइनौं, हामी जनताको बीचबाट यहाँ आएका हौं : सुमन सायमी
काठमाडौं । काठमाडौं उपत्यकाका चर्चित नागरिक अभियन्ता तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा समायोजन कार्यक्रममा उनले यो निर्णय सार्वजनिक गर्दै भने, “हामी आँखा बन्द गरेर यहाँ आएका होइनौं। केवल स्टन्टबाजीबाट यहाँ उभिएका होइनौं, हामी जनताको बीचबाट यहाँ आएका हौं।” उनले थपे, “राज्यले माग र मुद्दालाई कहिल्यै गम्भीरतापूर्वक सुनेन। त्यसैले सडक र सदन दुवै ठाउँबाट जनताको आवाज उठाउन यहाँ आएका हौं। नयाँ आउने कुरा पुराना भन्दा धेरै खतरनाक पनि हुन सक्छ।” सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी निर्वाचन लड्ने तयारीमा छन्। उनीसहित सहकारी पीडित तथा बागमती किनार मापदण्डविरुद्धका अभियन्ताहरू पनि नेकपामा समाहित भएका छन्।
एक करोड खर्चेर राजावादीको आन्दोलनमा सहभागी हुन एसएमएस पठाउने निर्देश पक्राउ
काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक एसएमएस पठाएको आरोपमा चितवनका व्यवसायी निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी 'एटी अलर्ट' नाममा करिब ५० लाख एसएमएस पठाएका थिए। सेढाईंले दुई दूरसञ्चार कम्पनीसँग सम्झौता गरी एक करोड रुपैयाँ खर्चेर म्यासेज पठाएको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनी कार र पेट्रोल पम्पको व्यवसाय गर्छन्।
नेपाली कम्युनिष्ट पार्टी र नागरिक अगुवा सुमन सायमी नेतृत्वको एकता पक्षधर समूहबीच एकता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा सायमीसहितको समूहबीच एकता भएको हो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र चर्चित अभियन्ता सायमीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सायमीसँगै विभिन्न नेताहरु नेकपामा समायोजन भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी र सुमन सायमीसहितको समूहबीच एकता कार्यक्रम आज
काठमाडौं । चर्चित सामाजिक अभियन्ता सुमन सायमीसहितका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुँदैछन् । नेकपा र अभियन्ता सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो १ बजे भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा एकता सभा आयोजना गरिएको सुमन सायमीले जानकारी दिएका छन् । सायमी राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अलग भएर नेकपासँग एकता गर्न लागेका हुन् । उनी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्ने तयारीमा छन् । २०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए र दोस्रो स्थान प्राप्त गरेका थिए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भएका थिए । काठमाडौंको कालीमाटीका स्थानीय तथा रैथाने सुमन सायमी काठमाडौंका न्यूार समुदायमा चर्चित छन् । रैथानेका मुद्दा, संस्कृति संरक्षण तथा विभिन्न सामाजिक आन्दोलनमा उनले नेतृत्व गर्दै आएका छन् । पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आवद्ध भएका थिए र सो पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
भरतपुरको ८८.६ किमि लामो चक्रपथ उद्घाटन, देशकै सबैभन्दा लामो महानगरस्तरीय रिङरोड
भरतपुर । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको देशकै सबैभन्दा लामो ८८ दशमलव ६ किलोमिटर चक्रपथ आज उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गर्नुभयो । सात वर्षअघि सुरु भएको यो सडक राष्ट्रिय राजमार्ग (एनएच–७७) मा सूचीकृत भएको छ । अधिकांश खण्डमा कालोपत्र सम्पन्न भइसकेको छ भने केही स्थानमा अलाइनमेन्ट मिलाउने काम बाँकी रहेको महानगरले जनाएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको अर्बौं लगानीमा निर्माण भएको यो सडकलाई जनतालाई मर्का नपर्ने गरी व्यावहारिक ढंगले बनाइएको प्रमुख दाहालले बताउनुभयो । उहाँले आगामी दिनमा सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने र भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गर्दै अब सामाजिक विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताउनुभयो । उपप्रमुख अधिकारीले चक्रपथले भरतपुरको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । यसैबीच, आजै ३० दशमलव २ किमि लामो केरुङ्गा खोलाको सौन्दर्यीकरणअन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न कामको पनि प्रमुख दाहाल र उपप्रमुख अधिकारीले संयुक्त उद्घाटन गर्नुभयो । महानगरले खोलाहरूलाई चरणबद्ध सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढाएको छ ।
चुनाव अर्को हाम्रो अग्निपरीक्षा हो, चुनाव हुँदैन कि भनेर चुप लागेर बस्ने होइन : माधवकुमार नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पार्टीका लागि अग्निपरीक्षा भएको बताउनुभयो । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “चुनाव अर्को हाम्रो अग्निपरीक्षा हो । चुनाव हुन्छ नै भन्ने लागेको छ । चुनाव हुँदैन कि भनेर चुप लागेर बस्ने होइन, तयारीमा जुट्ने हो ।” नेता नेपालले चुनावी घोषणापत्र कमिटी नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाउने तय भइसकेको र निर्वाचन परिचालन कमिटी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनसँग जोडिएका अन्य कामका साथै आर्थिक संकलनमा धेरै सहयोग गर्नेहरूलाई प्रोत्साहन गरिने पनि बताउनुभयो ।
युवा पुस्ताले चाहेको नेपाल र समृद्ध समाज निर्माणका लागि पार्टीले काम गर्छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चल्तेको ढंगले विकसित परिस्थितिको सामना गर्न नसकिने भएकाले पार्टी एकता र रूपान्तरण गरिएको बताउनुभयो । मंगलबार केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनआन्दोलनपछि पार्टी एकता तथा रूपान्तरण जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा नयाँ पुस्ताले जस्तो नेपाल, जस्तो सामाजिक न्याय र समृद्धि चाहेका छन्, भ्रष्टाचारमुक्त समाजको परिकल्पना गरेका छन्, त्यो समाज बनाइछाड्ने प्रतिबद्धता हामीले व्यक्त गरेका छौं । पहिला सांगठनिक संरचना निर्माण गरेर नेता–कार्यकर्ताहरूलाई कार्यक्षेत्रमा खटाउने प्रयास गर्नेछौं ।” संयोजक प्रचण्डले पार्टी एकतासँगै राष्ट्रिय एकता र वाम एकतालाई पनि सुदृढ गर्नुपर्नेमा जोड दिँदै सबैले आ–आफ्नो ठाउँबाट त्यसका लागि योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि, रोजगारी र प्राकृतिक स्रोत–साधनको सदुपयोग गरेर उत्पादन बढाई आत्मनिर्भर बन्दै समाजवादतर्फ अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो ।
पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको शपथ, देशैभर भर्चुअल पनि (तस्बिरमा हेर्नुस्)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जेष्ठ सदस्य नन्दकुमार प्रसाइँमार्फत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । केन्द्रीय समितिका सदस्यहरुले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरिएको छ । शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् । त्यस लगत्तै केन्द्रीय सदस्यहरूले पनि शपथ गरेका छन् । २४९९ केन्द्रीय सदस्यले केहीबेरअघि सपथ लिएका हुन् । नेपाली कम्युनिष्ट पार्टीले देशैभरका कार्यालयमार्फत भर्चुअल शपट लिएको जनाएको छ । गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १९ वटा पार्टी तथा वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । काठमाडौंमा उपलब्धहरू केन्द्रीय कार्यालयमा उपस्थित भएका छन् भने जिल्लामा रहेकाहरूले भर्चुअल माध्यमबाट जिल्ला कार्यालय तथा पालिकास्तरमा शपथ लिएका छन् ।
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) परित्याग गरी सो पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका प्रशिक्षक सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल तथा नेता वर्षमान पुनले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीमा हार्दिक स्वागत गर्नुभयो । सुवेदी यसअघि विप्लव माओवादीमा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
चर्चित सामाजिक अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै
काठमाडौं । चर्चित सामाजिक अभियन्ता सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा छन् । निर्वाचनको केही समयअघि उनी नेकपामा समाहित हुन लागेका हुन् । सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिएका छन् । ‘भोलि एकता हुँदैछ,’ सायमीले भनेका छन् । एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । त्यसबेला उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए । निर्वाचनपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भएका थिए र स्वतन्त्र तथा वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा लागेका थिए । त्यही वर्षको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनले उम्मेदवारी दिएका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा उनले ६ हजार १७९ मत प्राप्त गरेका थिए । पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए र सो पार्टीमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्न लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अघि बढ्ने तयारीमा छन् । ५२ वर्षीय सायमी काठमाडौंको कालीमाटीका बासिन्दा हुन् । उनी काठमाडौंका रैथानेहरूबीच निकै चर्चित छन् ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुको शपथ आज, उपस्थित हुन नसक्नेले भर्चुअल लिनसक्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १९ वटा पार्टी तथा वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । काठमाडौंमा उपलब्धहरू केन्द्रीय कार्यालयमा उपस्थित हुनेछन् भने जिल्लामा रहेकाहरूले भर्चुअल माध्यमबाट जिल्ला कार्यालय तथा पालिकास्तरमा शपथ लिने तयारी भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच पार्टी एकता
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टीबीच पार्टी एकताको सहमति भएको छ। मार्क्सवाद–लेनिनवाद तथा वैज्ञानिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै लिम्बुवान पहिचानको मुद्दालाई नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत अघि बढाउने सहमतिसहित दुवै पार्टीबीच एकता भएको हो। सहमतिअनुसार लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित हुने भएको छ। एकतापछि लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समिति र संरचनाहरूलाई समान हैसियतसहित उपयुक्त ढङ्गले नेकपाभित्र समायोजन गरिनेछ। दुवै पार्टीबीच भएको यस एकतालाई वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने तथा पहिचानका मुद्दालाई वैचारिक र संगठनात्मक रूपमा अघि बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपाका उपाध्यक्ष शिवलाल थापामगरसहित केन्द्रीय सदस्यहरू नेकपा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (उपेन्द्र यादव पक्ष) का केन्द्रीय उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टोली नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा थापामगरसहितको टोलीले नेकपामा प्रवेश गरेको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूले थापामगर नेतृत्वको टोलीलाई पार्टीमा हार्दिक स्वागत गरेका छन् ।

