एमाले अछाम इञ्चार्ज भैरवबहादुर बोहराद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

काठमाडौं । नेकपा (एमाले) अछामका इञ्चार्ज भैरवबहादुर बोहराले पार्टी त्यागेको घोषणा गरेका छन् ।

सोमबार सार्वजनिक वक्तव्यमार्फत उनले एमाले नेतृत्वप्रति विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको जानकारी गराएका छन् । अछाम नेकपाका नेता डा. भीम रावलको गृहजिल्ला हो । पूर्वएमाले नेता रावल पछिल्लो समय नेकपामा समायोजन भएर प्रवेश गरेका थिए ।

एमाले त्यागेर नेकपा रोज्ने बोहरा एक अनुभवी तथा पुराना कम्युनिस्ट नेता हुन् । उनले वक्तव्यमा विगत ४५ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको उल्लेख गरेका छन् ।

‘अहिले राष्ट्रिय स्वाधीनता खतरामा परेको र जनताका आकांक्षा धुमिल हुन थालेको स्थिति देख्दा देशभक्तिपरक तथा जनमुखी बलियो कम्युनिस्ट पार्टीको आवश्यकता महसुस भएको छ,’ उनले भनेका छन्, ‘यस्तो आवश्यकता पूरा गर्नुभन्दा नेकपा (एमाले) को नेतृत्व सत्ता केन्द्रित, अहंकारी र स्वेच्छाचारी भएर विपरीत सिद्धान्त तथा व्यवहार भएकाहरूसँग साँठगाँठतर्फ लागेको देखियो ।’

बोहराले एमालेमा रहँदा देश र जनताको हितमा योगदान गर्न नसकिने अवस्था देखिएकाले सोमबारदेखि लागू हुने गरी पार्टी त्यागेको स्पष्ट पारेका छन् ।

रुकुममा पार्टी एकता सभा मात्रै होइन, धोकेवाज र गद्दारविरुद्ध खबरदारी हो – गोपाल शर्मा

रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल शर्माले रुकुम पश्चिममा पार्टीले आयोजना गरेको एकता सन्देश सभा धोकेबाजहरूविरुद्ध खबरदारी सभा पनि भएको बताउनुभएको छ । उहाँले सदरमुकाम मुसिकोटमा नेकपा रुकुम पश्चिमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । रुकुमका जनता क्रान्तिकारी एकताको पक्षमा र गद्दारको विरुद्धमा रहेको भन्दै उहाँले जनार्दन शर्माले जनतालाई धोका दिएको कारण आफूहरू एकताको पक्षमा उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको भाव बुझेको भए आज पूर्वकमरेड जनार्दन ‘प्रभाकर’ नै हुनुहुन्थ्यो, तर अब उहाँ जनार्दन मात्र हुनुहुन्छ ।” जनार्दनले बाटो बिराएर हिँडेको भन्दै उहाँले नेपाली कम्युनिस्ट पार्टीमै फर्कन आग्रह गर्नुभयो । रुकुमको विकास कुनै एक नेताले नभई जनता र सबैको सामूहिक नेतृत्वबाट भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनार्दनले चार पटक चुनाव लड्दा मैले धेरै योगदान गरेको छु । हामी सबैले गरेको विकास जनार्दनले नै गरेको भनेर हामीले प्रचार गर्‍यौं ।” कार्यकर्ताको भावना बुझेर पार्टीमा फर्कन आग्रह गर्दै उहाँले भन्नुभयो, “अब उहाँले मलाई भोट हाल्नुपर्छ ।”

देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ : वर्षमान पुन 'अनन्त'

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उहाँले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताउनुभएको हो । हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा परेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उहाँको भनाइ थियो । उहाँले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नै नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने राष्ट्रियता पक्षधरहरूबीच एकता र सहकार्य जरुरी रहेको पनि बताउनुभयो । ‘हजारौंको बलिदानपछि प्राप्त उपलब्धि खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डताका पक्षधर देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ ।’ मुलुकको राजनीति अत्यन्त अस्थिर र तरल अवस्थामा रहेको तथा कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको उहाँले औंल्याउनुभयो । ‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चितजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ,’ उहाँले भन्नुभयो । उहाँले राजनीतिसँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताउनुभयो । ०७२ को महाभूकम्प र कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्र तंग्रिन खोज्दै गर्दा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि फेरि सुस्ततामा गएको उहाँले उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा भएको विस्फोटका कारण निजी क्षेत्रको मनोबल गिरेको उहाँको भनाइ थियो । ‘भूकम्प र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र तंग्रिन खोजिरहेका बेला भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका विस्फोटहरूले लगानीकर्ताहरूको मनोबल गिरेको अवस्था छ । तंग्रिँदै गएको अर्थतन्त्र फेरि सुस्ताएको छ,’ उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाको चुनाव लड्न पूर्वी रुकुममा आउने करिब निश्चित भएको छ : प्रचण्ड

रुकुमपश्चिम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले रुकुमपश्चिमको मुसीकोटमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने करिब करिब निश्चित भएको बताउनुभएको छ । सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “म अब रुकुम आउने करिब करिब निश्चित भएको छ । पूर्वी रुकुममा आउने करिब निश्चित भएको छ ।” उहाँले जनयुद्धको सिंगो त्याग र बलिदानलाई कायम राख्दै विकास निर्माणलाई नयाँ सिराबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रचण्डले १७ वटा पार्टीको एकता कायम गरेर नयाँ इतिहास रचेको उल्लेख गर्दै पार्टी एकताको सन्देशलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा ५ बजेसम्म धैर्यता कायम गरेर बसेका कार्यकर्ताहरूको प्रशंसा गर्नुभयो ।  जनार्दन शर्माप्रति लक्षित गर्दै प्रचण्डले भन्नुभयो, “भिरबाट खस्नेलाई रामराम मात्र भन्न सकिन्छ । काँध थाप्न सकिँदैन ।” उहाँले रुकुम क्षेत्रबाट नेकपाका उम्मेदवार गोपाल शर्मालाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गर्दै भन्नुभयो, “पहिलेको भन्दा अत्यधिक बहुमत ल्याएर गोपाल शर्मालाई विजयी गराउन अपिल गर्दछु ।” सभामा सहसंयोजक माधवकुमार नेपाललगायत अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा दश हजारभन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित यो सभा पार्टी एकताको सन्देश प्रवाह गर्न र संगठन सुदृढीकरण गर्न महत्त्वपूर्ण रहेको नेताहरूले बताएका छन् ।

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं। गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उहाँहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनुभएको हो । काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गर्नुभयो । समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका), आर.डी. यादव, पिताम्बर आचार्यलगायत हुनुहुन्छ । स्वतन्त्र वाम समूह मार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने छ।

मुन्ना भाई एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक  तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताउनुभएको छ । दत्तसँगको भेटको फोटो सेयर गर्दै उहाँले कुराकानी निकै रमाइलो भएको बताउनुभएको छ । चर्चित बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मा दत्तको अभिनयको आफू सधैं प्रशंसक रहेको उहाँले बताउनुभएको छ । दत्तले बिहीबार बेलुका हात्तीवन पुगेर प्रचण्डलाई भेट्नुभएको थियो ।   प्रचण्डले लेख्नुभएको छ, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो । मुन्ना भाई एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो । मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ ।’  

नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक : शिक्षा, रोजगार, सुशासन र समृद्धि प्राथमिकतामा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको मस्यौदा समितिको बैठकमा शिक्षा, रोजगार, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गर्ने विषयमा छलफल भएको छ । बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थिति रहेको थियो । नेकपाले विज्ञहरूको सहभागितामा घोषणापत्र निर्माण गर्ने भएको छ । घोषणापत्रलाई कार्यान्वयनयोग्य बनाउने र देशलाई विकासको बाटोमा अघि बढाउने गरी तयार पारिने समितिले जनाएको छ ।

संयोजक प्रचण्डलाई भेट्न बलिउड सुपरस्टार दत्त हात्तीवन निवासमा

काठमाडौं — भारतीय बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवासमै पुगेर भेट्नु भएको छ । हिजो बेलुकी काठमाडौं आएका दत्तले हात्तीवनस्थित प्रचण्ड निवास पुगेर भेटवार्ता गर्नु भएको हो ।  नेपाली राजनीतिमा संयोजक प्रचण्डको योगदान विशेष रहेको भन्दै प्रचण्डलाई भेट्न दत्त निवास पुग्नु भएको छ । दत्तले प्रचण्ड परिवारको सुखदुखमा साथ दिँदै आउनु भएको छ ।   सञ्चार माध्यमका अनुसार, सञ्जय दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आउनु भएको हो ।  

नेकपा एमालेका प्रभावशाली नेता होम पाठकद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

दोलखा — नेकपा एमाले दोलखाका पुराना तथा प्रभावशाली नेता कमरेड होम पाठकले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ। लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएका पाठकको पार्टी परिवर्तनलाई दोलखाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उहाँको प्रवेशसँगै नेपाली कम्युनिस्ट पार्टीले जिल्लामा संगठन विस्तार र आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। कमरेड पाठकले मुलुकको समसामयिक राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको दिशा तथा कार्यदिशाबारे गम्भीर सोचका साथ नयाँ यात्राको सुरुवात गरेको बताउनुभएको छ। पार्टी प्रवेश कार्यक्रमका क्रममा नेकपाका नेताहरूले उहाँको अनुभव र योगदानले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ प्रारम्भ गर्न लागिएको हो ।  समानुपातिक र प्रत्यक्षतर्फका नमुना मतपत्र छपाइ सम्पन्न भएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रक्रिया सुरु गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छपाइ कार्य सञ्चालन गरिने छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल मतदाताको संख्याभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छापिने छ । सरदर दुई करोड मतपत्र समानुपातिक प्रणालीका लागि छापिने अनुमान गरिएको छ । फागुन २१ गते हुने निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने आयोगले जनाएको छ । आयोगबाट स्वीकृत डिजाइनअनुसार समानुपातिक मतपत्र सेतो कागजमा कालो रङ प्रयोग गरी छापिने छ । समानुपातिक निर्वाचनमा सहभागी हुने गरी बन्दसूची पेस गरेका राजनीतिक दलका ५८ वटा निर्वाचन चिह्न मतपत्रमा समावेश हुने छन् । समानुपातिकतर्फ देशभर एउटै प्रकारको मतपत्र प्रयोग गरिने छ भने प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्र रहने छन् । समानुपातिकतर्फ राजनीतिक दलहरूले पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । ती सूचीको जाँचबुझ गर्दा सबै दलका बन्दसूचीमा कुनै न कुनै त्रुटि फेला परेपछि आयोगले सच्याउनका लागि सम्बन्धित दलहरूलाई पत्राचार गरिसकेको छ । पुस २७ गतेसम्म बन्दसूची सच्याउन समय दिइएको छ भने पुस २८ गते उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । माघ ४ गते अन्तिम बन्दसूची सार्वजनिक गरिने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि सुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्ष प्रणालीका लागि पनि करिब दुई करोड मतपत्र छापिने अनुमान गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै गरी करिब चार करोड मतपत्र छपाइ हुने छन् । नमुना मतपत्र छपाइ सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदाता शिक्षा प्रयोजनमा प्रयोग हुने नमुना मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमुना मतपत्र छपाइ कार्य सकिएको आयोगले जनाएको छ । नमुना मतपत्रमा समानुपातिकतर्फ सेतो कागजमा कालो रङ तथा प्रत्यक्षतर्फ रातो रङ प्रयोग गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै तर्फ गरी १० लाख नमुना मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कांग्रेस-एमालेको प्रस्ताव अस्वीकार गर्दै राष्ट्रियसभा चुनावमा नेकपाले गर्यो एकल उम्मेद्वारी दर्ता

काठमाडौं — राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन प्रस्ताव अस्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टीले एकल रूपमा उम्मेदवारी दर्ता गरेको छ। मतभारअनुसार सर्वसम्मत उम्मेदवारी नभए गठबन्धन नगर्ने पार्टी नीतिअनुसार नेकपाले आज उम्मेदवारी दर्ता गरेको हो।

अमेरिकी भिसाका लागि नेपालीले अब ५ हजारदेखि १५ हजार डलर धरौटी राख्नुपर्ने

काठमाडौं — अमेरिकी विदेश मन्त्रालयले नेपाललाई भिसा बन्ड पाइलट कार्यक्रममा समावेश गरेसँगै नेपाली नागरिकले बी१ (बिजनेस) र बी२ (भिजिट) भिसा प्राप्त गर्न धरौटी राख्नुपर्ने भएको छ। यो नियम आउँदो जनवरी २१ (माघ ७) देखि लागू हुनेछ। यो नियमअनुसार भिसा अन्तर्वार्तामा योग्य ठहरिएका आवेदकले कन्सुलर अफिसरको निर्णयबमोजिम ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर (करिब ७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार नेपाली रुपैयाँ) धरौटी बुझाउनुपर्नेछ। धरौटी बुझाउन अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसिई) को फाराम आई-३५२ भरी आधिकारिक पोर्टल Pay.gov मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। तेस्रो पक्षको वेबसाइटबाट भुक्तानी स्वीकार गरिने छैन। धरौटी रकम भिसा अवधि सकिएर समयमै अमेरिका छाडेमा वा यात्रा नगरेमा वा भिसा अस्वीकृत भएमा फिर्ता हुनेछ। तर भिसा अवधि बढाएर ओभरस्टे गरेमा, अन्य प्रकारको भिसा आवेदन दिएमा वा शरणार्थी प्रक्रियामा गएमा धरौटी जफत हुनेछ। यसैगरी, धरौटी बुझाउनेहरूले अमेरिका प्रवेश र प्रस्थान तोकिएका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमात्र प्रयोग गर्नुपर्नेछः बोस्टन लोगान इन्टरनेसनल एयरपोर्ट, न्यूयोर्कको जोन एफ. केनेडी इन्टरनेसनल एयरपोर्ट र वासिङ्टन डुलिस इन्टरनेसनल एयरपोर्ट। अन्य विमानस्थलबाट प्रवेश वा प्रस्थान गरेमा प्रवेश अस्वीकृत हुन सक्नेछ। यो पाइलट कार्यक्रम भिसा ओभरस्टे दर उच्च भएका देशहरूलाई लक्षित गरी लागू गरिएको हो। धरौटी बुझाउँदा पनि भिसा प्राप्तिको ग्यारेन्टी नहुने र कन्सुलर अफिसरको निर्देशनबिना बुझाएको रकम फिर्ता नहुने अमेरिकी मन्त्रालयले स्पष्ट पारेको छ।

अपराधीहरूलाई कारबाही नगरी चुनाव हुन सक्दैन : झलनाथ खनाल

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारी सम्पत्ति जलाउनेहरूलाई कारबाही नगरी देशमा निर्वाचन हुन नसक्ने बताएका छन्। बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका नाममा सरकारी सम्पत्ति जलाउनेहरूलाई अपराधी करार गरे। “सरकारी सम्पत्ति जलाउनेहरू अपराधी हुन् कि होइनन्? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन? ती अपराधीहरू दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ?” उनले प्रश्न गरे। उनले अन्तरिम सरकारले यस्ता अपराधीहरूमाथि के कारबाही गर्छ भन्दै प्रश्न उठाएका छन्। निर्वाचन देशलाई आवश्यक रहे पनि त्यसका लागि आधारभूत पूर्वाधार तयार नभएको उनको भनाइ छ। “चुनाव चाहिएको छ, गर्नुपर्छ भनेर हामी लागेका छौँ। तर पूर्वाधार तयार गर्नुपर्छ। ९० हजार बुलेट कब्जा भएका छन्, फर्काइएका छैनन्। १२ हजार राइफल कब्जा भएका छन्। १४ हजार बन्दी बाहिर गएका छन्, ६ हजार आएका छैनन्,” खनालले भने।

राष्ट्रियसभा निर्वाचनः आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं — राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ। आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको छ। फागुन २० गतेदेखि राष्ट्रियसभाका १८ सदस्यको पदावधि सकिने भएकाले ती रिक्त पदहरूका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन तालिका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दर्ता, पुस २७ गते नाम फिर्ता तथा सोही दिन अन्तिम नामावली प्रकाशन र पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिनेछ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता नामावली र मतभार सार्वजनिक गरिसकेको छ। यस निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरू मतदाता हुन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले कुनै पनि दलसँग गठबन्धन गर्ने विषयमा कुरा नभएको र नहुने बताउनुभयो । उहाँले भन्नुभयो, 'कुनै पनि दलसँग गठबन्धन गर्ने कुरा भएको पनि छैन । हुँदैन पनि ।'  उहाँले आफू पार्टी कामका लागि भारत भ्रमणमा गएको बताउँदै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक छलफल भएको जानकारी दिनुभयो । प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्भावित एकताबाट आफूहरू नडराएको बताउनुभयो । उहाँले आफू नेतृत्वको सरकारमा रास्वपा सभापति रवि लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको  टिप्पणी गर्नुभयो । पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले रविलाई धेरै अफ्ठ्यारा स्थितिमा पनि साथ दिएको बताउनुभयो । ‘बालेन र रविको गठबन्धनबाट हामी विल्कुल डराएका छैनौँ । रविलाई धेरै अफ्ठ्यारा स्थितिबाट मैले साथ दिँदै आएको हो । मेरो क्याबिनेटमा दुई पटक गृहमन्त्री पनि बनाएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण उहाँहरू गठबन्धन भएर म किन डराउने ? उहाँहरूसँग कुरा गर्न मलाई केही आइतबार पर्खिनुपर्ने पनि छैन । डर पनि छैन ।’ प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तालमेलको निर्णय अझै नभइसकेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सभामा तालमेल हुनु अनौठो नभएको र मतभारअनुसार त्यो अधिकार पनि रहेको बताउनुभयो ।

टिट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् । शेर पहिलोपटक नेपालको सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन् । यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा परेका छन् । विश्वकप एसिया ईएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने टोलीमा स्थान बनाउन सकेनन् । नेपालको टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा ।