संखुवासभामा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, संयोजक प्रचण्डसहितका नेताले सम्बोधन गर्ने

खाँदबारी । नेपाली कम्युनिस्ट पार्टीले संखुवासभामा आज पार्टी एकता सन्देश सभा आयोजना गर्दैछ। दिउँसो सुरु हुने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

सम्बोधनका लागि प्रचण्डसहितका शीर्ष नेताहरू संखुवासभातर्फ प्रस्थान गरेको पार्टी स्रोतले जनाएको छ। सभामा अन्य दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूलाई प्रचण्डसहितका नेताहरूले स्वागत गर्ने कार्यक्रम पनि रहेको छ।

राजनीतिक तथा आर्थिक संकट समाधानका लागि राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान राजनीतिक तथा आर्थिक संकट समाधानका लागि राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य रहेको बताउनुभएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गत भदौमा भएको जनजीविका आन्दोलनले राजनीतिक नेतृत्व तथा समाजका स्थापित संघसंस्थाहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारेको बताउनुभयो। “यो आन्दोलनले हामीलाई दुई वटा विकल्प दिएको छ— कि त आफ्ना कमजोरीहरू सच्याएर नयाँ सङ्कल्पका साथ अघि बढ्ने, कि इतिहासको मञ्चबाट पन्छिने,” उहाँले भन्नुभयो। आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने उहाँले जोड दिनुभयो। उहाँले आफ्ना कमजोरीहरू कहाँ छन् र तिनलाई कसरी सच्याउने भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो। जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा इतिहासमा आफ्नो औचित्य सकिएको मान्दै पन्छिने बेला आएको उहाँको भनाइ थियो। मुलुक अन्योलबाट मुक्त हुँदै निर्वाचनको दिशामा अघि बढेको भन्दै उहाँले सरकारको कदमको प्रशंसा गर्नुभयो। निर्वाचन नै देशको निकास र स्थायित्वको मुख्य आधार भएको उहाँले बताउनुभयो। “स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ जनादेश प्राप्त गर्नु र त्यसैमार्फत संविधान तथा कानुनका सीमा र कमीहरूलाई सच्याउनु नै आजको मुख्य आवश्यकता हो,” उहाँले भन्नुभयो। निजी क्षेत्रको सुरक्षा र प्रोत्साहनबिना समृद्धि सम्भव नभएको उहाँले स्वीकार गर्नुभयो। संविधानमा निजी, सार्वजनिक र सहकारी क्षेत्रको तीन खम्बे अर्थनीति उल्लेख भए पनि व्यवहारमा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा कमी–कमजोरी रहेको उहाँले बताउनुभयो। “निजी क्षेत्रलाई प्रोत्साहित गरिएन र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिका कुरा केवल भाषणमा मात्र सीमित हुनेछन्,” उहाँले थप्नुभयो। निर्वाचनमा जान वा अन्य निकास खोज्नका लागि राजनीतिक दल, सरकार, निजी क्षेत्र र नागरिक समाजबीच साझा सहमति आवश्यक रहेको उहाँले बताउनुभयो। संविधान जारी भएको १० वर्ष पुगेको अवसरमा यसको समीक्षा गरी नयाँ संसद्बाट आवश्यक संशोधन गर्दै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ थियो। गत भदौको प्रदर्शनमा भएको घुसपैठ र विध्वंसप्रति सङ्केत गर्दै उहाँले मुलुकको संवेदनशीलतालाई बुझेर सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

विध्वंश मच्चाउनेलाई कारबाही नगरेको प्रति प्रधानमन्त्रीलाई नेकपाका सहसंयोजक नेपालको प्रश्न

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जनजीविका आन्दोलनका क्रममा तोडफोड र विध्वंसमा उत्रिनेहरूमाथि कारबाही नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्रीकै सामुन्नेमा विध्वंस मच्चाउनेहरूलाई किन कारबाही नगरेको भनी सोधेका हुन्। ‘जनजीविका आन्दोलनमा विध्वंस मच्चाउने, लुटपाट गर्ने जुन काम भएको छ, यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘यसप्रति सरकार गम्भीर देखिएको छैन। सबै कुरा भिडियोमा कैद भएको छ, तोडफोड गर्नेहरू को को हुन् स्पष्ट देखिएको छ। किन पक्राउ गरिँदैन? किन सजाय दिइँदैन? यसकारण म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’

निर्वाचन आयोगद्वारा ब्ल्याक लिस्ट सम्बन्धी भ्रामक समाचार असत्य भएको स्पष्ट

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का केही पदाधिकारीहरू चुनाव लड्न नपाउने भन्ने प्रकाशित तथा प्रसारित समाचार सत्य नभएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले प्रचारित विषय सत्य नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा कांग्रेस महामन्त्री गगन कुमार थापा, नेकपा (एमाले) का सचिवद्वय डा. राजन भट्टराई र शेरधन राईसहित १०८० जना ‘ब्ल्याक लिस्ट’मा परेको चर्चा चलिरहेको छ। गत २०७९ सालको निर्वाचनमा तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेका उम्मेदवारहरूलाई आयोगले जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो। निर्वाचन खर्च नबुझाउने वा बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारहरू आयोगको कालोसूचीमा परेको भन्ने चर्चा भइरहेको छ। सहायक प्रवक्ता जिसीले निर्वाचन आयोगले कसैलाई पनि ब्ल्याक लिस्टमा नपारेको र कानुनमा त्यस्तो व्यवस्था नरहेको बताएका छन्। ‘यो सूचना पूर्ण रूपमा गलत हो। निर्वाचन आयोगले कसैलाई ब्ल्याक लिस्टमा पारेको छैन र कानुनमा पनि त्यस्तो व्यवस्था उल्लेख छैन,’ उनले भने। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयभित्र निर्वाचन खर्च विवरण बुझाई सार्वजनिक गर्न २०८० वैशाख ४ गते निर्देशन दिएको थियो। सोही क्रममा तोकिएको समयभित्र खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।

ओलीको विरोध गरेको भन्दै अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष बर्खास्त

सुनसरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त गरिएका छन्। जेनजी आन्दोलनका क्रममा सिग्देलले नेकपा (एमाले) का अध्यक्ष ओलीको आलोचना गरेका थिए। अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित सिग्देलले जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउँदा विद्यार्थीको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए। ओलीले हत्याको जिम्मेवारी लिनुपर्ने र विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री बनेर बस्नु लाजमर्दो भएको टिप्पणी उनले गरेका थिए। जेनजी आन्दोलनलाई समर्थन गर्दै आएका सिग्देलले ओली प्रवृत्तिको विरोध गरिरहेका छन्। सोही आरोपमा सिग्देललाई अध्यक्ष पदबाट हटाइएको हो। सुनसरीको धरानमा विशेष भेला आयोजना गरी शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ। अधिवेशनमा रेग्मीले पनि अध्यक्षको दाबी गरेका थिए तर पार्टी र बहुमत प्रतिनिधिहरूले सिग्देललाई चुनेका थिए। अब सिग्देललाई हटाएर रेग्मीको नेतृत्वमा ५१ सदस्यीय नयाँ समिति गठन भएको छ। समितिमा उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरी तथा सहसचिवहरूमा इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ चयन भएका छन्। कोषाध्यक्षमा सज्नु खड्का तथा कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला चयन भएको अनेरास्ववियुले जनाएको छ। बर्खास्तीमा परेपछि सिग्देलले अनेरास्ववियु ओलीलाई भगवान् मान्ने गुटको सङ्गठन बनेको आरोप लगाएका छन्। विद्यार्थी हत्याको विरोध गर्न नसक्ने अवस्थामा सङ्गठनलाई पुर्‍याउनु गलत भएको भन्दै उनले व्यक्तिवादी चरित्रको विरोधमा सदैव लागिरहने उल्लेख गरेका छन्।

देशमा एकता बलियो बनाउन, शान्ति र समृद्धितर्फ अगाडि बढाउन नेकपाको विकल्प छैन: माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लागि सबैभन्दा उपयुक्त रहेको र यसको विकल्प नरहेको बताउनुभएको छ। रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘नेकपाको विकल्प छैन। देशमा एकता बलियो बनाउन, शान्ति र समृद्धितर्फ अगाडि बढाउन तथा राजनीति र समाजका विकृति–विसंगति हटाउन नेकपाको विचार र समाजवादी क्रान्तिको कार्यक्रम नै विकल्प हो। अर्को बाटो छैन।’ उहाँले पार्टीमा दिनप्रतिदिन उत्साह थपिँदै गएको र एकीकृत हुने दल तथा नेता–कार्यकर्ताको संख्या बढिरहेको बताउनुभयो। साथै, सबै वर्ग, तह र उमेर समूहका जनताको आशा र भरोसाको केन्द्र नेकपा बनेको उल्लेख गर्नुभयो। नेपालले रावलको पैदलयात्राले राष्ट्रिय एकता र पार्टीभित्रको एकता बलियो बनाउन ऊर्जा प्रदान गरेको पनि बताउनुभयो।

सोसल मिडियामा विचारविहीनहरूले देश कब्जा गरिसक्यौं भनेजस्तो होहल्ला चलाए : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारविहीन, इतिहासविहीन तथा त्याग, तपस्या र बलिदान नभएकाहरूले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजस्तो हल्ला चलाएको बताउनुभयो। रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो। प्रचण्डले भन्नुभयो, ‘अहिले सोसल मिडिया हेर्‍यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ। सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्। दशकौं लडाइँ लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ।’ प्रचण्डले सोसल मिडियामा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजस्तो सहरबजारमा हल्ला चलाइएको पनि बताउनुभयो। उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिए भन्ने हल्ला जनताले नपत्याएको बताउँदै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले अँगालेको विचारप्रति आकर्षण रहेको जिकिर गर्नुभयो। प्रचण्डले अहिलेको समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताउनुभयो। प्रचण्डले भन्नुभयो, ‘हामीले विचार गर्नुपर्छ। यो समय आईटीको हो। एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइरहेको छ। तर, त्यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ। उनीहरूले जस्तो चाह्यो, त्यस्तै प्रयोग गरिरहेका छन्। हामीलाई लाग्छ— मोबाइल आफैँ चलाइरहेको छु, समाचार आफैँ पोस्ट गरिरहेको छु। तर, त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै हातमा छ। उनीहरूले आफू अनुकूल नै बनाएका छन्।’

प्रचण्डद्वारा राष्ट्रिय च्याउ दिवसको शुभकामना : च्याउ खेतीलाई प्राथमिकता दिन सरकारसँग आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय च्याउ दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण च्याउ किसान, उद्यमी र नेपाली दिदीबहिनी–दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।   उहाँले फेसबुकमार्फत शुभकामना सन्देश पोस्ट गर्दै च्याउ खेती पछिल्लो समय आत्मनिर्भर कृषि विकास, रोजगारी सृजना तथा आयात प्रतिस्थापनको महत्वपूर्ण आधार बनेको बताउनुभयो । प्रचण्डले भन्नुभयो, “कम लगानीमा छोटो समयमै उत्पादन दिन सक्ने, पोषणयुक्त र स्वास्थ्यका दृष्टिले उपयोगी खाद्य वस्तुका रूपमा च्याउको महत्व बढ्दै गएको छ ।” उहाँले च्याउ खेतीको अपार सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न राज्यबाट थप सहयोग, प्राविधिक तालिम, अनुदान, बजार सुनिश्चितता तथा निर्यात प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । साथै, सरकारले च्याउ खेतीलाई प्राथमिकतामा राखी अघि बढाउने प्रतिबद्धता जनाउन जरुरी रहेको उहाँको भनाइ छ । यो दिवसले च्याउ खेतीप्रति सबैमा उत्साह र प्रेरणा जगाओस् तथा समृद्ध नेपाल निर्माणमा थप योगदान पुगोस् भन्ने कामना पनि प्रचण्डले व्यक्त गर्नुभएको छ ।

दाउन्नेमा शीतलहरले सडक चिप्लो बनाउँदा १५ घण्टादेखि राजमार्ग अवरुद्ध

बर्दघाट । शीतलहरका कारण सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ । दाउन्ने खण्डको उकालो र ओरालो भागमा शीतलहरले बाटो भिजेपछि गाडीहरू चिप्लिएर अड्किएका छन् । फलस्वरूप १५ घण्टादेखि सवारी साधन चल्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले यो जानकारी दिए । सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्कीबासतर्फ लामो लाइन लागेको छ । प्रहरीका अनुसार शीतलहर कम भएपछि मात्र सडक खुला हुने सम्भावना छ । निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डका अन्य भागमा यातायात सहज भए पनि दाउन्ने क्षेत्रमा अझै काम बाँकी रहेकाले समस्या बढेको छ ।

तमु ल्होसार र म्हैप्रु नकुमा पर्वले राष्ट्रिय एकता सुदृढ बनाउँछ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायको सांस्कृतिक पर्व म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएकाे छ । तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै संयोजक प्रचण्डले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएकाे छ ।  प्रचण्डले संस्कृति र संस्कारहरू समाजको पहिचानका आधारस्तम्भ भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव र सहअस्तित्व नेपाली समाजको सांस्कृतिक जीवनको सुन्दर विशेषता भएको बताउनु भएकाे छ । तमु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चरित्रलाई स्पष्ट रूपमा उजागर गर्दै आएको प्रचण्डकाे भनाइ छ । संयोजक प्रचण्डले  बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल नेपालमा सबै जाति तथा समुदायको समानता, समावेशिता र सहअस्तित्वमा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो अर्थमा राष्ट्रिय एकता मजबुत हुने उल्लेख गर्नुभएकाे छ ।  परिवर्तनका हरेक आन्दोलनमा उल्लेख्य योगदान पुर्‍याएका समुदाय तथा तिनका संस्कृतिहरूलाई गणतन्त्रको मर्मअनुसार संरक्षण, सम्मान र प्रवर्द्धन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याउनु भएकाे छ ।  अन्त्यमा, प्रचण्डले ल्होसार तथा म्हैप्रु नकुमा पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यी पर्वहरूले सम्पूर्ण नेपालीबीच पारस्परिक सद्भाव, सहिष्णुता र आपसी सम्मानको भावना अझ गहिरो बनाओस् भन्ने कामना व्यक्त गर्नुभएकाे छ ।    तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको हार्दिक शुभकामना नेपाली तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायले मनाउने म्हैप्रु नकुमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। हाम्रा संस्कृति र संस्कारहरू हाम्रो पहिचानका स्तम्भ हुन्। तिनैले समाजलाई विविधताभित्र पनि एकताबद्ध बनाउँदै आएका छन्। आपसी सद्भाव र सहअस्तित्व हाम्रो सांस्कृतिक जीवनको सुन्दर आधार हो। तमु समुदायले श्रद्धा र हर्षका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त रूपमा उजागर गर्दै आएका छन्। बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल रहेको नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो अर्थमा राष्ट्रिय एकता सुदृढ हुन्छ। परिवर्तनका हरेक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका यी बहुल समुदाय तथा उनीहरूका संस्कृतिहरूलाई गणतन्त्रको छहारीमा संरक्षण, सम्मान र प्रवर्द्धन गर्दै फक्रिन दिने वातावरण बनाउनु आजको आवश्यकता हो। अन्तमा, ल्होसार पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ गहिरो र मजबुत बनाओस् भन्ने कामना गर्दछु। १५ पुष,२०८२ ने.सं.११४६, पोहेलाथ्व नवमी                                                                                                                                  .................................. पुष्पकमल दाहाल 'प्रचण्ड'   संयोजक नेपाली कम्युनिष्ट पार्टी

यी हुन् नेपाली कम्युनिष्ट पार्टीका समानुपातिक ११० उम्मेद्वार (सूचीसहित)

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीले एकतामा आएका विभिन्न  घटकलाई समेटेर समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ। पार्टीका प्रतिनिधिहरू सूची लिएर निर्वाचन आयोगमा दर्ता गर्न लागेका छन्। नेकपाका एक नेताका अनुसार यो सूची संशोधन हुन सक्छ। जिल्लाबाट सिफारिस भएका १,८०० उम्मेदवारमध्ये ११० जना छानिएको उनले बताए। उनले भने, ‘यसअघि मन्त्री, सांसद बन्न अवसर नपाएका व्यक्तिहरू, विज्ञ र युवाहरूलाई समानुपातिक क्लस्टर अनुसार प्राथमिकता दिइएको छ।’ एकतामा आएका दलहरूको भावनालाई सम्मान गर्दै समानुपातिक सूची तयार पारिएको नेकपाको दाबी छ।   नेकपाको समानुपातिक उम्मेदवारहरूको सूची: करुणा बस्नेत उमा अधिकारी सीता दाहाल पञ्चा सिंह निशा न्यौपाने कमला नहर्की गंगा खड्का बोगटी निर्मला साउद दिलकुमारी पन्त मन्जु कोइराला उषाकुमारी पोखरेल भगवती नेपाल निरा ढुंगाना जयानन्द कार्की रावल ज्ञानु आचार्य यमुना गुरागाईं सावित्री पोखरेल प्रमेशकुमार हमाल महेन्द्रबहादुर कार्की प्रेम बयक नहेन्द्र खड्का जितेन्द्र दाहाल सुजाता काफ्ले डम्बरबहादुर क्षेत्री विनोद कटुवाल राममणि पोखरेल तीर्थबहादुर बुढा विष्णु लम्साल भीमबहादुर भण्डारी कृष्णबहादुर बुढा गोविन्दराज पौडेल विष्णु खनाल दीपक जंगम कैसर जहाँ जरिना बेगम जामिया खातुन अमरुल निसा ताज मोहम्मद मियाँ मिराशा चौधरी अन्जु दहित सस्मति चौधरी उषाकुमारी चौधरी भुवनकुमार थारु राम अवतार राना लक्ष्यबहादुर चौधरी तारा विश्वकर्मा सुमारिया देवी पासवान कमला ज्ञवाली गणेश विश्वकर्मा मित्र परियार शरद रसाइली शंकर दुलाल ठाकुर विक कृष्ण नेपाली गोपाल परियार कमलराज यादव श्रीप्रसाद साह छेदी रजक अभिमन्यु यादव अरविन्द दास गीता गहतराज पार्वती विक विनिता विक रेखा राम शारदा दमाई भीमकुमारी बुढा सामति गुरुङ शर्मिला लामा ममता राजवंशी अञ्जिता श्रेष्ठ विष्णुकुमारी थापा मेनुका थुलुङ सुनिता बुढामगर निर्मला श्रेष्ठ रामदेवी तामाङ सुनिता घले गीता श्रेष्ठ सनिम लामा नलिनी सिंह सबिता तामाङ जमुना गाइजु कल्पना लिम्बू परशुराम तामाङ दिलीप प्रजापति झक्कु घर्ती खेमकुमार राई बखानसिंह तमु पासाङ शेर्पा भरतककुमार श्रेष्ठ वीरबहादुर बुढाथोकी दंगध्वज दयाहाङ शेरबहादुर तामाङ मंगलसिंह प्रजा चेतबहादुर पुन रुकुम पाख्रिन रहलसिंह तामाङ पुष्प राजकर्णिकार तारा महतो रामसखी देवी सुनितादेवी यादव पूर्ण झा जयरानी सहनी पुनम जयसवाल संगीता यादव सुधा सिंह कल्पना यादव जोगकुमार बर्बरिया सुरेन्द्र जयसवाल घनश्याम रजक किसुन मण्डल

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता सहमति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण भएको छ । सोमबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि दुवै पार्टीबीच १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । एकीकरणपश्चात् पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह ‘तारा’ कायम रहने सहमति भएको छ । दुवै पार्टीका संघ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन् ।

नेपाली कम्युनिष्ट पार्टीले बुझायो समानुपातिक उम्मेद्वारको बन्दसूची, सांसद र मन्त्री भइसकेकाहरु परेनन्

  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डेसहितको टोलीले सोमबार साँझ सूची बुझाएको हो। यसअघि अवसर पाएका नेता तथा कार्यकर्तालाई समानुपातिक सूचीमा नराखिएको नेकपा नेता पाण्डेले बताए। निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले ११० जनाको सूची पेश गरिएको जानकारी दिए। ‘हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, मन्त्री भइसकेका र प्रत्यक्षतर्फबाट सांसद भइसकेकाहरूलाई समानुपातिकमा नदोहोर्याउने निर्णय गरेका छौं,’ पाण्डेले भने, ‘युवा पुस्तालाई पनि प्राथमिकता दिएका छौं।’ आदिवासी जनजाति, महिला, दलित, मधेसी, थारू र खस आर्य सबै क्लस्टरमा संविधान र निर्वाचन कानुनले तोके बमोजिम उम्मेदवार छनोट गरिएको उनले बताए। सञ्चारकर्मीको प्रश्नको जवाफमा नेता पाण्डेले सबै दलसँग सहकार्य हुन सक्ने बताए। उनले देश, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि आगामी निर्वाचनमा सहकार्य गरेर अघि बढ्न सकिने धारणा राखे। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १६ वामपन्थी घटकहरूबीच एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो।

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ।  पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट  निर्वाचित भएकाहरूलाई सिफारिस गरिने छैन।  आज समानुपातिकको बन्द शुचि बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले मात्रै गरेको हो ।

देशलाई निकास दिन निर्वाचन नै एकमात्र विकल्प : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताउनुभएको छ । पूर्वनिर्धारित मितिमा निर्वाचन गराउनेबाहेक अन्य विकल्पबारे सोच्न नहुने उहाँको भनाइ छ । आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो देशलाई निकास दिने अब निर्वाचन मात्रै सबभन्दा राम्रो विकल्प हो । अन्य विकल्पतिर सोचियो भने फेरि देश अर्को दुर्घटनामा पर्छ ।” निर्वाचनबाटै देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा लैजान सकिने उहाँले बताउनुभयो । सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको पनि उहाँले बताउनुभयो । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको पनि उहाँले बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयहरू राज्यको दायित्वभित्र पर्नुपर्छ र अन्ततः ती निःशुल्क हुनुपर्छ भन्ने आफूहरूको चाहना रहेको पनि बताउनुभयो । “आउने दिनमा हामी त्यसका निम्ति आफ्नो ठाउँबाट प्रयास गर्ने विश्वास पनि म तपाईंहरूलाई दिलाउन चाहन्छु,” उहाँले भन्नुभयो ।

आचारसंहिता : उम्मेद्वारले २ भन्दा धेरै गाडी प्रयोग गर्न नपाउने, राष्ट्रिय झण्डा १० वटा मात्र (पूर्णपाठ)

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ । सार्वजनिक भएको आचारसंहिताअनुसार एक उम्मेद्वारले प्रचार प्रसारका क्रममा दुई भन्दा धेरै गाडीको प्रयोग प्रतिबन्ध लगाएको छ ।  त्यस्तै चुनावी प्रचार प्रसारका क्रममा दश भन्दा धेरै राष्ट्रिय झण्डाको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको आयोगले सार्वजनिक गरेको आचारसंहितामा उल्लेख छ ।  हेर्नुस् निर्वाचन आचारसंहिता