टिट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् ।

शेर पहिलोपटक नेपालको सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन् । यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा परेका छन् ।

विश्वकप एसिया ईएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने टोलीमा स्थान बनाउन सकेनन् ।

null

नेपालको टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा ।

तस्बिरमा हेर्नुस् टिट्वेन्टी विश्वकप क्रिकेटमा नेपालले लगाउने जर्सी

काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ का लागि नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ जर्सी अनावरण गरेको हो । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिताको दशौं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ । २० टिम सहभागी हुने यो प्रतियोगितामा कुल ५५ खेल हुनेछन् । भारतका पाँच र श्रीलंकाका तीन मैदानमा खेलहरू आयोजना हुनेछन् । नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।

डाक्टर र इन्जिनियरको नेतृत्वमा रौतहट र पर्साका दजनौँले रोजे नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । रौतहट र पर्साका तीन दर्जनभन्दा बढी महत्त्वपूर्ण व्यक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले उनीहरुलाई स्वागत गरेका छन् ।  डाक्टर सोहैल तैयब, इन्जिनियर साहनवाज, इन्जिनियर मिनाज, डाक्टर नैतिक श्रीवास्तव, डाक्टर आइशा सोहैल र रोशन सोहैलको नेतृत्वमा आएका उनीहरूलाई पार्टीका सहसंयोजक नेपालले पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित विशेष कार्यक्रममा स्वागत गरेका नेकपाले जनाएको छ ।  कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, राजेन्द्र श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो । नवप्रवेशीहरूले पार्टीमा आएर समाजवादी विचारधारा र राष्ट्रिय हितका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

टी-२० विश्वकप २०२६ का लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ का लागि नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ जर्सी अनावरण गरेको हो । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिताको दशौं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ । २० टिम सहभागी हुने यो प्रतियोगितामा कुल ५५ खेल हुनेछन् । भारतका पाँच र श्रीलंकाका तीन मैदानमा खेलहरू आयोजना हुनेछन् । नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालका सबै समूह चरणका खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछन् : फेब्रुअरी ८ : नेपाल विरुद्ध इंग्ल्यान्ड फेब्रुअरी १२ : नेपाल विरुद्ध इटाली फेब्रुअरी १५ : नेपाल विरुद्ध वेस्ट इन्डिज फेब्रुअरी १७ : नेपाल विरुद्ध बंगलादेश प्रतियोगिताका मुख्य मैदानहरूमा भारततर्फ नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई) र इडेन गार्डन्स (कोलकाता) तथा श्रीलंकातर्फ आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिङ्गालीज स्पोर्ट्स क्लब (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) रहेका छन् ।

सर्वोच्च अदालतले एकीकृत समाजवादीको दर्ता खारेज माग गर्ने ओलीको रिट खारेज गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को दर्ता खारेज हुनुपर्ने माग अस्वीकार गरेको छ । न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदन खारेज गरेको हो । माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले एमाले विभाजन गरी निर्वाचन आयोगमा एकीकृत समाजवादी दर्ता गराएलगत्तै ओलीले पार्टी दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदन खारेज गरे पनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी गरेको जनाइएको छ ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकार ओलीकै सिफारिसमा बनेको हो : संयोजक प्रचण्ड

नयाँ दिल्ली। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा भएको दाबी दोहोर्‍याउनु भएको छ । नयाँ दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताउनु भएको छ । प्रचण्ड सो कार्यक्रममा सहभागी हुन आइतबार भारत जानु भएको थियो । सोमबार उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रचण्डले भन्नु भएको छ, "२६ गते राति म र कमरेड माधवकुमार नेपाल, हामी दुईजनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहिनेत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै सामान्य अवस्थातिर फर्काउन मिहिनेत गर्‍यौं ।" प्रचण्डले भन्नुभयो, "अन्ततः अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ प्रधानमन्त्री केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।" त्यसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको प्रचण्डले बताउनु भएको छ । उनले भन्नु भएको छ, "तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ–आफ्ना सोच थिए । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो ।" नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम, लाजपत नगर (मूलचन्द मेट्रो स्टेशन नजिक) मा जनवरी ५, २०२६ मा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । उहाँले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्व तथा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा स्पष्ट, तथ्यपरक र दूरदर्शी विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाली समाज भारतका अध्यक्ष रामबहादुर डागीले गर्नुभएको थियो भने सञ्चालन महासचिव आर.बी. खड्काले गर्नुभएको थियो । नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । विशेष अतिथिहरूमा नेपाली समाज भारतका उपाध्यक्ष उषा थापा, उपमहासचिव राजु केसी, नागेन्द्र ढकाल, रवि कुमार, सचिवहरू कमला शर्मा, नारायण बीके, नवराज सेडाई, सोभाराम रसाली, कोषाध्यक्ष मानु श्रेष्ठ, सहकोषाध्यक्ष ठाकुर भुसाल, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष वेदप्रकाश भण्डारी तथा केन्द्रीय नेता नबल केसी, अर्जुन दयाल, बेल पून, राधा आर्यललगायत रहनुभएको थियो । यसबाहेक नेपाली समाज भारतका केन्द्रीय नेता–कार्यकर्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा नेपाली–भारतीय भाइचाराको प्रवर्द्धनमा संलग्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा भारतका विभिन्न राज्यबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाका विषयमा गहन छलफल गर्नुभएको थियो । नेपाली समाज भारतले यस्ता कार्यक्रममार्फत प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाल–भारत मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नयाँ दिल्लीमा रहेका संयोजक प्रचण्डले आज एकता सन्देश सभालाई सम्बोधन गर्ने

नयाँ दिल्ली । नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज नेपाली समाज भारतले आयोजना गरेको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो एक बजे लाजपतनगरमा आयोजित कार्यक्रमलाई संयोजक प्रचण्डसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली समाज भारतले कार्यक्रमलाई संयोजक प्रचण्डसहितका नेताले सम्बोधन गर्ने जनाएको छ । कार्यक्रममा विभिन्न पार्टीमा आवद्ध नेताहरु नेपाली कम्युनिष्ट पार्टी निकट नेपाली समाज भारतमा प्रवेश गर्ने तयारी छ ।  पार्टी एकताको सन्देश प्रवाहका लागि नेपाली समाज भारतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड हिजो बेलुकी नयाँ दिल्ली आइपुग्नु भएको थियो । आज नेपाली समाज भारतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर प्रचण्ड बेलुकी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ । 

निर्वाचन सफल पार्नु सबैको साझा कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहालको आह्वान

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरेका छन्। प्रमुख दलका नेताहरूले निर्वाचन हुनेमा आशंका व्यक्त गरिरहेका बेला अध्यक्ष दाहालले यो निर्वाचन सफल पार्नु सबै नेपालीको साझा कर्तव्य भएको बताएका हुन्। आइतबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनका दश वर्ष : उपलब्धि, समस्या, चुनौती र सुझाव’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन दुवैलाई सफल बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले संविधानको आवश्यक समीक्षा गरी इमानदारतापूर्वक संशोधन गर्न पनि सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। निर्वाचनप्रति प्रमुख दलहरूबाटै आशंका व्यक्त भइरहेका बेला राष्ट्रिय सभाका अध्यक्षको यो अभिव्यक्तिले निर्वाचनको तयारीलाई तीव्रता दिनुपर्ने सन्देश दिएको छ।

संयोजक प्रचण्ड नयाँ दिल्लीमा, नेपाली समाजको भव्य स्वागत

नयाँ दिल्ली । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली आइपुग्नु भएको छ । नेपाली समाज भारतको निमन्त्रणामा पूर्वप्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली आइपुग्नु भएको हो ।  जेनजी आन्दोलनपछिको राजनीतिक एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली भ्रमण हो । प्रचण्डले भोलि आयोजना हुने एकता सन्देश सभालाई सम्बोधन गर्नुहुनेछ ।  प्रचण्ड भोलि बेलुकी नै काठमाडौं फर्किने कार्यक्रम तय भएको नेपाली समाज भारतले जनाएको छ । दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य कुनै औपचारिक राजनीतिक भेटघाटको कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।

भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेपको नेकपाद्वारा कडा विरोध

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले भेनेजुएलामाथि अमेरिकाले हालै गरेको सैन्य कारबाही तथा हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको कडा विरोध गरेको छ । पार्टीले यस किसिमको कार्य अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको ठहर गरेको छ । पार्टीका कार्यालय सचिव गणेशमान पुनद्वारा जारी वक्तव्यमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता सैन्य आक्रमणहरूले सम्बन्धित क्षेत्रमा मात्र होइन, सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिइएको छ । वक्तव्यमा अमेरिकाद्वारा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिनु भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप भएको उल्लेख गरिएको छ । जनताबाट निर्वाचित नेतृत्वलाई बलपूर्वक अपदस्थ गर्ने, धम्की दिने वा हिरासतमा लिने कार्य लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा तथा सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य रहेको पार्टीको ठहर छ । नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रपति मादुरोलाई बिना सर्त तत्काल रिहा गर्न जोडदार माग गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफैं तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार रहेको स्पष्ट गर्दै बाह्य हस्तक्षेप, नाकाबन्दी, आर्थिक दबाब, सैन्य धम्की वा आक्रमणमार्फत कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु साम्राज्यवादी सोचको निरन्तरता भएको जनाएको छ । पार्टीले साम्राज्यवाद तथा सबैखाले नव–उपनिवेशवादी हस्तक्षेपको सधैं विपक्षमा रहँदै आएको उल्लेख गर्दै विश्वका सबै शान्तिप्रेमी शक्तिहरू, उत्पीडित राष्ट्र, वर्ग र समुदायका प्रगतिशील आन्दोलनहरू तथा सार्वभौमिकताको पक्षमा उभिने राष्ट्रहरूलाई भेनेजुएलाका जनताको समर्थनमा एकजुट हुन आह्वान गरेको छ । वक्तव्यमा नेपाल आकारमा सानो राष्ट्र भए पनि सार्वभौमिकता, आत्मनिर्णय, समानता र विश्व शान्तिको पक्षमा पञ्चशीलका सिद्धान्तहरूमा सधैं दृढतापूर्वक उभिँदै आएको स्मरण गराइएको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि यिनै मूल्य र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै भेनेजुएलामाथि गरिएको सबै प्रकारका हस्तक्षेप तत्काल रोक्न तथा कूटनीतिक र शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन अन्तर्राष्ट्रिय समुदायसँग जोडदार माग गरेको छ ।

प्रचण्ड र ओलीबीच भेट वार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ । स्राेतका अनुसार दुवै नेताबी देशकाे सामान्य राजनीतिक अवस्थाकाे बारेमा छलफल भएकाे हाे ।  नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको अवस्था भेट भएकाे हाे । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल जारी छ ।  राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दल मिलेर चुनाव लड्ने संकेत देखिएकाे छ । 

आज प्रचण्ड दिल्ली जानुहुँदै, भाेलि नेपाली समाज भारतकाे एकता सन्देश सभालाई सम्बाेधन गर्नुहुने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । जेनजी आन्दोलनपछिको राजनीतिक एकताबाट एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रामा लाग्नु भएकाे हाे ।  तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको संयुक्त नेपाली समाज भारतकाे एक सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लाग्नुभएकाे जानकारी दिइएकाे छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उक्त कार्यक्रम एक महिनाअघि नै तय भएको थियो ।  भाेलि साेमबार उक्त सन्देश सभा कार्यक्रमलाई प्रचण्डले सम्बाेधन गर्नुहुने छ । कार्यक्रमलाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार नै स्वदेश फर्किनुहुने  कार्यक्रम रहेको पनि आचार्यकाे भनाइ छ । ‘आज साँझ दिल्ली पुगेर भोलि साँझ फर्किने तालिका छ,’ उहाँले भन्नुभयाे ।  दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य कुनै औपचारिक राजनीतिक भेटघाटको कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।  

गणतन्त्र र संघीयता बारे रास्वपाको धारणा माग गरेको उज्यालोको बहुमत टिमसँग घन्टीघरमा वार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबीच वार्ता सुरु भएको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा दुई पक्षबीच वार्ता सुरु भएको हो । उज्यालोका नेताहरूले यसलाई पार्टी एकताको अन्तिम वार्ता भनेका छन् । केही बेरअघि सुरु भएको वार्तामा उज्यालो नेपालका तर्फबाट प्रा.डा. महेन्द्र लावती, पार्टीका प्रवक्ता राजु थापा, केन्द्रीय सदस्यद्वय जितराम लामा र रामेश्वर श्रेष्ठ सहभागी छन् । त्यस्तै, रास्वपाका तर्फबाट शिशिर खनालसहितको टोली सहभागी छ । आजको छलफलमा उज्यालो नेपालले पठाएका १४ जना समानुपातिक उम्मेदवार निर्वाचित हुने सुनिश्चितताको विषय, पार्टीमा उज्यालो नेपालबाट आएका व्यक्तिको प्रतिनिधित्व, संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पहिचानको सम्बन्धमा रास्वपाको धारणा लगायतका विषयमा छलफल हुने उज्यालोका एक नेताले बताएका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उज्यालोका तर्फबाट १४ जना छन् । त्यसमध्ये रीमा विश्वकर्मा बाहेक सबैको नाम क्लस्टरको पछिल्लो भागमा छ । वार्तामा उनीहरूलाई सूचीको माथिल्लो क्रममा ल्याउनुपर्ने माग असन्तुष्ट पक्षको छ । रास्वपाले कुलमान घिसिङलाई पहिलो वरियताको उपसभापति बनाउने गरी सहमति गरे पनि अन्य पदहरू कसलाई दिने भन्नेमा कुनै निर्णय गरेको छैन । उज्यालो पक्षले भने पदाधिकारीमा थप २ जना आफ्ना व्यक्ति हुनुपर्ने माग राखेको छ । आजको छलफलमा कुरा नमिले एकता नगर्ने रणनीति असन्तुष्ट पक्षको छ । उज्यालोको ५१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य रास्वपासँग गरिएको सहमतिविपक्षमा छन् । संरक्षक कुलमान घिसिङ र अध्यक्ष अनुप उपाध्यायले सहमति गरे पनि एकताका लागि केन्द्रीय समितिको निर्णय आवश्यक भएकाले रास्वपा छलफलमा बस्न तयार भएको हो ।

निर्वाचनको प्रक्रिया अघि बढिसकेकाले अब सर्वपक्षीय वा सर्वदलीय सरकार गठन हुँदैन: प्रचण्ड

सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अब निर्णायक रूपमा निर्वाचनतर्फ केन्द्रित भइसकेको बताउनु भएकाे छ । निर्वाचनको प्रक्रिया अघि बढिसकेको अवस्थामा अब सर्वपक्षीय वा सर्वदलीय सरकार गठन हुने कुनै सम्भावना नरहेको प्रचण्डले स्पष्ट पार्नु भएकाे छ ।  प्रेस सेन्टर नेपालले आज शनिबार सङ्खुवासभाको खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संयोजक  प्रचण्डले वर्तमान सरकारले नै प्रतिनिधिसभा निर्वाचन गराउने दाबी गर्नुभएकाे छ । दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेकाले देश औपचारिक रूपमा चुनावी प्रक्रियामा प्रवेश गरिसकेको प्रचण्डकाे भनाइ छ । उहाँले भन्नुभएकाे छ, “निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको छ । यस्तो अवस्थामा अर्को सरकार बनाउने वा सर्वपक्षीय सरकार गठन गर्ने कुरा अब सान्दर्भिक छैन । अहिलेकै सरकारले निर्वाचन सम्पन्न गराउन सक्छ र गर्नुपर्छ ।” संयोजक प्रचण्डले  जेन–जी युवापुस्ता निर्वाचन र राजनीतिक परिवर्तनका पक्षमा उभिएको उल्लेख गर्दै देशमा राजनीतिक अनिश्चितता रहने कुनै कारण नरहेको बताउनु भएकाे छ । “युवापुस्ताले स्पष्ट रूपमा निर्वाचनमार्फत नयाँ जनादेश चाहेको सन्देश दिएको छ । त्यसैले अब कुनै शङ्का, द्विविधा वा भ्रम फैलाउने आवश्यकता छैन,” प्रचण्डले भन्नुभयाे । काठमाडौँ फर्किनुअघि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले वर्तमान सरकार आगामी फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन पूर्ण रूपमा सक्षम रहेको दाबी गर्नुभएकाे छ । निर्वाचन प्रक्रिया सुरु भइसकेकाले संसद् पुनःस्थापना हुने सम्भावना नरहेको र अहिले कायम सरकारमार्फत नै निर्वाचन सम्पन्न गरिनुपर्ने प्रचण्डकाे भनाइ छ ।  संविधान संशोधनको विषयमा बोल्दै उनले संविधानसभाबाट संविधान निर्माण गर्दा गरिएको प्रतिबद्धता स्मरण गराउनु भएकाे छ । “संविधान बनाउँदै गर्दा हामीले १० वर्षपछि संविधानको समीक्षा गर्ने वाचा गरेका थियौँ । अब त्यही समय आएको छ । सकारात्मक पक्षलाई जोगाउँदै कमजोरी सच्याउँदै संविधान संशोधन र परिमार्जन गर्नुपर्छ,” उहाँले भन्नुभयाे ।  जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेका राजनीतिक दलहरूले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रचण्डले निर्वाचन नै वर्तमान राजनीतिक निकासको एकमात्र उपाय भएको बताउनु भएकाे छ । 

हेर्नुस् राजतन्त्रदेखि गणतन्त्रसम्म महिलाको प्रतिनिधित्व: ५० प्रतिशत सुनिश्चित गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं । तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धले नेपालमा समावेशीतालाई स्थापित गरेको छ । महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत पछाडि पाएका वर्ग तथा लिंकको प्रतिनिधित्वलाई सुनिश्चित गर्न जनयुद्धको बलमा स्थापित भएको गणतन्त्रपछि नै सम्भव भएको हो । तत्कालीन माओवादी पार्टी र यसका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा स्थापित समानुपातिक व्यवस्थाले राज्यका विभिन्न तहमा विभिन्न लिंक तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्वको सुनिश्चित भएको छ ।  जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रयासमा भएको समावेशीताको व्यवस्थाले नेपालमा महिलाको नेतृत्व सुनिश्चित गरेको छ । समानरुपमा ५० प्रतिशत पुर्याउने प्रचण्डको पहलमा भने नेपाली काँग्रेस, नेकपा एमालेलगायतका पुराना दल तथा नयाँ भनिएका पपुलर पार्टीहरुले अवरोध गर्दै आइरहेका छन् ।  महेन्द्र कालमा २०१५ को निर्वाचनमा कुल १०९ सांसदमध्ये जम्मा १ जना महिला मात्र थिइन्, जसले ०.९१% प्रतिनिधित्व गर्छ । विभिन्न आम निर्वाचनका तथ्याङ्कले महिलाको राजनीतिक उपस्थितिमा क्रमिक वृद्धि देखाए पनि व्यवहारमा पुरुषप्रधान संरचना अझै बलियो देखिन्छ। तथ्याङ्कअनुसार २०१५ सालको निर्वाचनमा संसदमा महिलाको प्रतिनिधित्व जम्मा ०.९१ प्रतिशत मात्रै थियो। कुल १०९ सांसदमध्ये महिलाको संख्या केवल १ जना सीमित रह्यो। यो अवस्था नेपाली संसदीय इतिहासकै न्यून प्रतिनिधित्व मानिन्छ। यसपछि २०३८ सालको निर्वाचनमा महिलाको सहभागिता १.४ प्रतिशत पुगेको देखिन्छ। कुल १४० सांसदमध्ये महिलाको संख्या २ जना रह्यो। यद्यपि वृद्धि भए पनि यो प्रतिनिधित्व अझै अत्यन्त न्यून थियो। २०४३ सालको निर्वाचनमा महिलाको प्रतिनिधित्व केही सुधार हुँदै ५.७ प्रतिशत पुग्यो। यस निर्वाचनमा कुल १४० सांसदमध्ये ८ जना महिला निर्वाचित भए। त्यसपछि २०४८ सालमा महिलाको सहभागिता २.९ प्रतिशत रह्यो, जहाँ कुल २०५ सांसदमध्ये ६ जना महिला संसदमा पुगे। २०५१ सालको निर्वाचनमा महिलाको प्रतिनिधित्व ३.४ प्रतिशत मात्र रह्यो। यस अवधिमा कुल २०५ सांसदमध्ये ७ जना महिला निर्वाचित भएका थिए। २०५६ सालको निर्वाचनमा भने महिलाको संख्या १२ जना पुग्दै प्रतिनिधित्व ५.८ प्रतिशत पुगेको देखिन्छ। माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्रपछिको अवस्था  महिलाको राजनीतिक सहभागितामा उल्लेख्य फड्को भने २०६४ सालको निर्वाचनपछि देखिएको छ। यस निर्वाचनमा महिलाको प्रतिनिधित्व एकाएक ३२.७ प्रतिशत पुग्यो। कुल ६०१ सांसदमध्ये १९७ जना महिला संसदमा पुगे, जसलाई नेपाली संसदीय राजनीतिमा ऐतिहासिक उपलब्धिका रूपमा लिइन्छ। यसपछि २०७० सालको निर्वाचनमा महिलाको प्रतिनिधित्व केही घट्दै २९.३ प्रतिशत रह्यो। कुल ६०१ सांसदमध्ये १७६ जना महिला निर्वाचित भए। तर २०७४ सालको निर्वाचनमा पुनः वृद्धि हुँदै प्रतिनिधित्व ३२.७ प्रतिशत पुग्यो, जहाँ कुल २७५ सांसदमध्ये ९० जना महिला संसदमा पुगे। सबैभन्दा पछिल्लो २०७९ सालको निर्वाचनमा महिलाको प्रतिनिधित्व अझै बढेर ३३.१ प्रतिशत पुगेको छ। कुल २७५ सांसदमध्ये ९१ जना महिला प्रतिनिधि सभामा छन्, जुन हालसम्मकै उच्च सहभागिता हो। संविधानले राज्यका हरेक तहमा महिलाको कम्तीमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यो लक्ष्य अझै पूरा हुन सकेको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार कानुनी व्यवस्था, समानुपातिक प्रणाली र सामाजिक चेतनाका कारण सुधार देखिए पनि प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता अझै कमजोर छ। राजतन्त्रमा : २०३८ मा १.४% (२ महिला, कुल १४०) २०४३ मा ५.७% (८ महिला, कुल १४०) २०४८ मा २.९% (६ महिला, कुल २०५) २०५१ मा ३.४% (७ महिला, कुल २०५) २०५६ मा ५.८% (१२ महिला, कुल २०५) गणतन्त्रपछि भने महिलाको प्रतिनिधित्वमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । संविधानसभाका निर्वाचनहरू र संघीय संसद्का निर्वाचनहरूमा यो प्रतिशत २९ देखि ३३ प्रतिशतसम्म पुगेको छ : गणतन्त्रमा : २०६४ मा ३२.७% (१९७ महिला, कुल ६०१) २०७० मा २९.३% (१७६ महिला, कुल ६०१) २०७४ मा ३२.७% (९० महिला, कुल २७५) २०७९ मा ३३.१% (९१ महिला, कुल २७५)

बुद्ध एयर जहाज दुर्घटना हुँदा कोपाइलटसहित ७ यात्रु घाइते

झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका छन् । घाइतेहरुमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए । उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो । जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्‍याएको थियो ।