रोल्पाबाट वर्षमान पुन 'अनन्त' नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा जिल्लाबाट नेता वर्षमान पुनलाई टिकट दिएको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पुनलाई टिकट हस्तान्तरण गरेको पुनको सचिवालयले जनाएको छ ।
रोल्पामा पुन उम्मेदवार नबन्ने हल्ला भ्रामक र तथ्यहीन भएको सचिवालयको भनाइ छ । पुन आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारिएको छ ।
उनी २०७४ र २०७९ को निर्वाचनमा पनि रोल्पाबाटै विजयी भएका थिए । रोल्पा तत्कालीन नेकपा माओवादीको प्रमुख आधार इलाका हो ।
गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार अधिकारी र न्यौपाने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा टिकट वितरण सुरु गरेको छ । नेकपाले गोरखा क्षेत्र नम्बर १ बाट हरिराज अधिकारी (कुमार) र क्षेत्र नम्बर २ बाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्दै क्षेत्र १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई समर्थन गरेको थियो भने क्षेत्र २ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीले जुम्लाबाट नरेश भण्डारीलाई उम्मेद्वार बनायो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार भण्डारीलाई टिकट हस्तान्तरण गरेका छन् । जिल्ला पार्टीले उनलाई एकल सिफारिस गरेको थियो । भण्डारीले सामाजिक सञ्जालमा टिकटको तस्वीर सार्वजनिक गर्दै उम्मेदवारीको जानकारी दिएका छन् । उनी यसअघि २०६४ मा जुम्लाबाट संविधानसभा सदस्य, २०७४ मा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका थिए र प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै संसद् पुनःस्थापनाको पछाडि नलाग्न जोड दिनुभयो । निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै पूर्वप्रधानमन्त्री दाहालले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले समान वैचारिक दृष्टिकोण भएका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्रै अन्य पार्टीसँग पनि एकता गरिने जानकारी दिनुभयो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढ्दै गएको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्यको नेतृत्वमा आएको टोलीलाई नेकपामा स्वागत गरिएको थियो ।
जसपा नेपालका केन्द्रीय उपाध्यक्षसहितका सयौँ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहित सयौँ नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले नवनियुक्त सदस्यहरूलाई स्वागत तथा अभिनन्दन गर्नुभयो । विद्युत बज्राचार्य जसपा नेपालको प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँसहित ठूलो सङ्ख्यामा नेता–कार्यकर्ताको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशले पार्टीको सङ्गठनलाई थप सुदृढ बनाउने विश्वास नेतृत्वले व्यक्त गरेको छ । यस प्रवेशले नेपाली कम्युनिस्ट पार्टीको चुनावी तयारी र सङ्गठन विस्तारमा नयाँ ऊर्जा थपिएको बताइएको छ ।
भरतपुरका लागि स्मरणीय काम गरेर विदा लिँदै महानगर प्रमुख रेनु दाहाल
चितवन । नौ वर्षअघि ‘प्रचण्डकी छोरी’का रूपमा चिनिएकी रेनु दाहालले भरतपुर महानगरपालिकाको प्रमुखको रूपमा दुई कार्यकाल पूरा गर्दै बिदा हुन लागेकी छन् । उनको नेतृत्वमा भरतपुरको मुहार फेरिएको छ र उनी विकास तथा समृद्धिको पर्याय बनेकी छन् । दाहालले भरतपुरलाई जीर्ण सडक, फोहर, बाढी र सुक्खाग्रस्त अवस्थाबाट मुक्त गर्दै आधुनिक, हरियाली र उज्यालो सहर बनाएकी छन् । प्रमुख उपलब्धिहरूमा : १,०७२ किमी नयाँ कालोपत्रे सडक निर्माण, छलेन सडक, बाइपास र रिङरोड विस्तार । सडक बत्ती, हाइमास्ट र भूमिगत विद्युत् तारबाट झिलिमिली सहर । नारायणी तटबन्ध, २६ किमी मेसजाली र भूमिगत सिँचाइबाट बाढी तथा जनावरको जोखिम हटाइएको । आन्तरिक आम्दानी १ अर्ब ४० करोड पुग्नु, करिब १०० नयाँ विद्यालय भवन र सार्वजनिक शिक्षामा सुधार । स्वास्थ्य क्षेत्रमा २९ वटै वडामा स्वास्थ्य संस्था, भरतपुर अस्पतालमा विशेष सुविधा र छोरीहरूका लागि जीवन बिमा । कृषिमा दूध अनुदान, सिँचाइ सुविधा र कृषि उपकरण वितरण । पर्यटन प्रवर्द्धनका लागि भरतपुर भ्रमण वर्ष २०२४, खोला सौन्दर्यकरण र सी–बीच विकास । रेनु दाहालले आफ्नो निजी जीवनलाई पन्छाएर भरतपुरको विकासमा निरन्तर खटिएको बताउँदै बदलिएको भरतपुरलाई आफ्नो जीवनको स्वर्णिम उपलब्धि मानेकी छन् । भरतपुरवासीले उनको योगदानलाई चिरस्मरणीय रूपमा स्मरण गर्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी चुनावी मैदानमा: टिकट प्राप्त गरेका उम्मेद्वारहरु निर्वाचन क्षेत्रमा
काठमाडौं । सबैजसो दल आन्तरिक विवादमा अल्झिएका बेला नेपाली कम्युनिस्ट पार्टी भने चुनावी मैदानमा पुगेको छ । अधिकांश उम्मेदवारले टिकट बुझेका र सम्बन्धित निर्वाचन क्षेत्रमा अभियानसमेत थालिसकेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र टिकट वितरणको विषयमा विवाद रहे पनि नेपाली कम्युनिस्ट पार्टीले भने सबैजसो उम्मेदवार टुंगो लगाएर फिल्डमा खटाइसकेको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार चितवनमा नेकपाबाट उम्मेदवार बन्नेलाई टिकट बाँडिसकेको बताउनुभएको थियो । “मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाँड्न सुरु पनि गरिसकेँ । हिजो काठमाडौंमा टिकट बाँडेर आएको,” उहाँले भन्नुभयो । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को निर्वाचनका लागि देशैभर अभियानात्मक कार्यक्रम सुरु गरिसकेको छ ।
भाेलिदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन हुँदै
काठमाडौँ । प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रियसभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । राष्ट्रिय सभाको १९औँ अधिवेशनको सञ्चालनका लागि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक र अधिवेशनका प्राथमिकताका सम्बन्धमा संसदीय दलका सम्बन्धित पदाधिकारीसँग छलफल गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनले अधिवेशनको सबै तयारी पूरा भएको र आवधिक कार्यतालिकको क्यालेण्डर शनिबार सार्वजनिक हुने बताए । प्रवक्ता गिरीका अनुसार पहिलो बैठकमा अधिवेशन आह्वानको पत्र पढेर सुनाइने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएका सात विधेयकमध्ये अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ मा सैद्धान्तिक छलफल भइसकेको छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विधायन समितिको प्रतिवेदन सभामा पेस भइसकेको छ । यसैगरी हाल सभा मातहतको विधायन समितिमा विचाराधीन रहेका विधेयकमा पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र सामाजिक सञ्जाल विधेयक, २०८१ छन् । राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएका सात विधेयक प्रतिनिधिसभा विघटन भएका कारण निष्क्रिय भएका छन् । ती विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९, मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१, नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ र पानीजहाज (सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ रहेका छन् । प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइएका जलस्रोत विधेयक २०८१, सङ्घीय निजामती सेवा विधेयक २०८० पनि निष्क्रिय भएको छ । दुवै सभाबाट पारित भई प्रमाणीकरणका लागि गएको तर राष्ट्रपति पुनः विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि निष्क्रिय हुन पुगेको छ । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ विधेयक पनि निष्क्रिय भएका छन् । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने २० सदस्यमध्ये १९ सदस्यका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन भइसकेको छ भने सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई कार्यारम्भ भइसकेको छ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सो बमोजिम निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ जना रहेको मतदाता नामावली स्वीकृत भएको छ । ती मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका एक र निलम्बनमा परेका चार गरी पाँच प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक र निलम्बनमा रहेका सात आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन । दुई सदनात्मक संसदीय व्यवस्था रहेको नेपालको संविधानबमोजिम राष्ट्रियसभाले विज्ञ सेवा प्रदान गर्ने, कानुन बनाउने, सरकारलाई उत्तरदायी बनाउने नियमन र निर्देशन गर्ने, संसदीय सुनुवाइ गर्ने मुख्य कार्य गर्दै आएको छ । गत भदौ २७ गते प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको सन्दर्भमा राष्ट्रियसभा एक्लैले विधेयक तर्जुमा गरे पनि तल्लो सदनको तत्काल अभाव हुने भएकाले कानुन निर्माण या संशोधनका प्रक्रियाले हाल मूर्त रूपमा पाउने स्थिति भने देखिँदैन ।
कांग्रेसमा गुटबन्दी अन्त्य, गठबन्धन संस्कृतिको पनि अन्त : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफ्नो नेतृत्वलाई वैधता दिएसँगै पार्टीमा गुटगत भागबण्डा र गुटबन्दी अन्त्य भएको घोषणा गरेका छन्। सार्वजनिक अपील जारी गर्दै सभापति थापाले भुईं तहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुने तथा कार्यकर्ताको चाहनाअनुसार निर्णय लिइने स्पष्ट पारेका छन्। उनले विधि, विधान र पद्धति स्थापित भएको भन्दै निर्वाचन आयोगप्रति आभार व्यक्त गरेका छन्। अपीलमा उनले भनेका छन्, “पार्टी नेताको मात्र होइन, आम सदस्यको चाहनाले चल्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरा, मूल्य–मान्यता र आदर्शमा फर्किएको छ।” सभापति थापाले विशेष महाधिवेशनलाई जय–पराजयको विषय नबनाउन आग्रह गरेका छन् र सबैमा संयम, जिम्मेवारी र एकताको अपील गरेका छन्। उनले कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको बाटोमा अगाडि बढेको तथा रिफर्मको यात्रा सुरु भइसकेको बताएका छन्। पूर्वसभापति शेरबहादुर देउवा लगायतका नेताहरूले यो प्रक्रियालाई सहज रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गर्दै थापाले विगतका कमजोरीको आत्मआलोचना गर्दै कांग्रेस बदलिएको र बदलिने संकल्प गरेका छन्। लोकतान्त्रिक तथा जनमुखी पार्टी बनाउने प्रतिबद्धता जनाउँदै उनले कांग्रेसको मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने तथा चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। चुनावी तालमेललाई अप्राकृतिक गठबन्धन भन्दै गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गरेका छन्।
निर्वाचन अयोगविरुद्ध आन्दोलन गर्न भन्दै देउवा पक्षीय केन्द्रीय समिति बैठक शनिबार बिहान
काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ ३ गते बस्ने भएको छ । पार्टीका कार्यवाहक सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार केन्द्रीय कार्यसमितिको बैठक माघ ३ गते शनिबार बिहान ८ बजे बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने पार्टीले जनाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बैठकमा सहभागी हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिएको छ ।
प्रधानमन्त्री र मन्त्रीबाटै युवालाई जिताउनु पर्छ भन्ने विचार आउनु आपत्तिजनक : वर्षमान पुन 'अनन्त'
काठमाडौं । नेकपाका नेता वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्रीबाट आएको 'युवा पुस्ता (जेनजी) लाई निर्वाचनमा जिताउनुपर्छ' भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ। शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले प्रधानमन्त्री तथा विभिन्न मन्त्रीहरूबाट सार्वजनिक रूपमा यस्ता अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई विशेष ध्यान दिन सुझाव दिनुभयो। साथै, आचारसंहिताको प्रभावकारी अनुगमनका लागि भरपर्दो संयन्त्रको व्यवस्था गर्न पनि उहाँले आयोगलाई आग्रह गर्नुभयो।
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्, तर विभाजनकै कारण चुनाव रोकिनु हुन्न : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसको विभाजनका कारण आगामी निर्वाचनमा कुनै असर नपर्ने बताउनुभएको छ। शुक्रबार चितवनको भरतपुर महानगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उठेको उल्लेख गर्दै चुनाव प्रभावित हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “निर्वाचनको मुखमा ठूलो पार्टीको विभाजन हुनु कसैका लागि पनि राम्रो होइन। तर यसैलाई देखाएर निर्वाचन रोकिने अवस्था छैन।” प्रचण्डले सरकारका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायसँग छलफल गर्दा कांग्रेसको विभाजनका कारण निर्वाचनमा असर नपर्ने जवाफ आएको जानकारी दिनुभयो। सबै दलहरू निर्वाचनमा केन्द्रित भइसकेकाले निर्वाचन हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो। साथै, आफ्नो दलले प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरण प्रक्रिया सुरु गरिसकेको पनि उहाँले बताउनुभयो। प्रचण्डले वर्तमान अवस्थामा निर्वाचनबाहेक अन्य कुनै विकल्प नभएको उल्लेख गर्दै अन्य विकल्पतर्फ सोच्न थालिए देशमा दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिनुभयो। सोही कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जीर्ण भवनबाट सेवाग्राहीहरूलाई सेवा दिन असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताउनुभयो। महानगरपालिकाका अनुसार ६ तले यो प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
भरतपुरको विकासबाटै 'विकास प्रेमी रेनु' को रूपमा जनताले नै स्थापित गरे : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भरतपुर महानगरपालिका की प्रमुख रेनु दाहाललाई 'विकासवादी' वा 'विकास प्रेमी रेनु' को रूपमा जनताले नै स्थापित गरेको बताउनुभएको छ। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले रेनु दाहालको विकासप्रतिको योगदान आफूहरूले नभई स्थानीय जनताले नै मान्यता दिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “रेनुको नाम अब विकासवादी रेनु, विकास प्रेमी रेनु भनेर तपाईंहरूले नै स्थापित गर्नुभएको हो। मैले वा हामीले होइन, तपाईंहरूले स्थापित गरेको हो। यसलाई आदर्श मान्दै अगाडि बढ्न जरुरी छ।” प्रचण्डले सामाजिक सञ्जालमा हुने स्टन्टबाजीको कडा आलोचना गर्नुभयो र यसैको कारण गत २४ भदौमा राष्ट्र झन्डै खरानी हुन पुगेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “सोसल मिडियामा स्टन्ट गरेकै भरमा मानिसहरूको दिमाग भ्रमित पार्ने प्रक्रिया चलिरहेको छ। कहिलेकाहीँ यस्तो स्टन्टबाजीले मानिसहरूलाई भ्रममा पार्ने खतरा हुन्छ। हाम्रो राष्ट्र झन्डै २४ भदौमा खरानीजस्तै भएको थियो। यो कुनै विचार, सिद्धान्त वा आदर्शका कारण होइन, स्टन्टबाजहरूकै कारण भएको हो।” अहिले पनि सतर्क नभए देश दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै प्रचण्डले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र निष्ठाहीन होहल्लाको पछि नलाग्न सबैमा अपिल गर्नुभयो। उहाँले थप्नुभयो, “अहिले पनि हामी सबै सतर्क भएनौं र एकताबद्ध भएर सिद्धान्तहीन, विचारहीन, आदर्शहीन तथा निष्ठाहीन होहल्लाको पछि लाग्यौं भने देश दुर्घटनामा पर्न सक्छ। म चितवनकै नागरिक भएको नाताले पनि यो कर्तव्य सम्झन्छु र सबैलाई अपिल गर्छु।”
रास्वपामा चर्को असन्तुष्टि : उम्मेद्वार छनोटमा विधि, पद्दती मिचेर नेतृत्वको मनलाग्दी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक बन्दसूची तयारीलाई लिएर ठूलो विवाद उत्पन्न भएको छ। पुस १४ गते निर्वाचन आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा उच्च अंक ल्याउनेहरूलाई पछाडि पारेर कमजोर अंक प्राप्तकर्ता तथा बाहिरबाट आएकाहरूलाई अगाडि राखिएको आरोप लागेको छ। मुख्य गुनासा: आदिवासी जनजाति कोटामा पहिलो नम्बरकी टासी ल्याजो शेर्पाको नाम हटाएर बसुमाया तामाङलाई राख्न खोजिएको। रञ्जु दर्शना, कुसुम श्रेष्ठलगायत योगदान गरेका नेताहरूमाथि अन्याय भएको। सुम्निमा उदासजस्ता प्रक्रियामा सहभागी नभएकालाई अगाडि राखिएको। प्रश्न उठाउने सदस्यहरूलाई नेतृत्वबाट “पार्टी छोड्न” धम्की आएको आरोप। पार्टीका एक सदस्यले अनुशासन आयोगमा १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्, जसमा उम्मेदवार छनोट प्रक्रियालाई अपारदर्शी, पहुँच र शक्तिको दुरुपयोग भएको तथा मेरिटोक्रेसी र पारदर्शिताको सिद्धान्त विपरीत भएको उल्लेख छ। सहमहामन्त्री विपिनकुमार आचार्यले छनोटमा त्रुटि नभएको दाबी गरे पनि आफैं संयोजकबाट राजीनामा दिएर बन्दसूचीको पहिलो नम्बरमा परेका थिए। विवाद बढेपछि आचार्यसहित टासी शेर्पा, रञ्जु दर्शना लगायतले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएको घोषणा गरेका छन्।
जेनजी मुभमेन्टद्वारा रवि लामिछानेलाई उन्मुक्ति दिने निर्णयको विरोध
काठमाडौं — जेनजी मुभमेन्ट नेपालले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले अभियोग फिर्ता लिन स्वीकृति दिएकोप्रति मुभमेन्टले शक्तिको दुरुपयोग भएको आरोप लगाउँदै महान्यायाधिवक्ता सविता भण्डारीलाई बर्खास्त गर्न माग गरेको छ। प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा जेनजी आन्दोलन र शहीदहरूको बलिदानबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले नै अपराधीको संरक्षण गरेको भन्दै कानूनको सर्वोच्चता कमजोर पारिएको उल्लेख छ। मुभमेन्टले यस्तो उन्मुक्तिलाई जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको अपमान ठहर गर्दै प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता भण्डारीको सार्वजनिक बहिष्कार गर्न आह्वान गरेको छ।
शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्छ: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी तथा मकर संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। माघ १ गते जारी गर्नुभएको विज्ञप्तिमा उहाँले थारु समुदायको मुख्य पर्व माघी र समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले हर्षोल्लासका साथ मनाउने माघे संक्रान्तिले नेपाली समाजको विविधताभित्रको एकता झल्काउने उल्लेख गर्नुभयो। प्रचण्डले माघी र माघे संक्रान्ति नेपालका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानका जीवन्त प्रतीक भएको बताउनु भयो। यी पर्वहरूले आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश बोकेको उल्लेख गर्नुभयो। उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने जस्तै राष्ट्रिय जीवनमा पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु होस् भन्ने कामना गर्नुभयो। विज्ञप्तिमा उहाँले आज तराईदेखि पहाड र हिमालसम्मका नेपालीहरूले परिवारसँगै बसेर खिचडी, घिउ, चाकु, तरकारीलगायत परिकार साटासाट गर्दै सुख–दुःख बाँडेर पर्व मनाइरहनुभएको बताउनु भयो। यस्ता आत्मीयता, एकता र सामूहिकताले समाजलाई थप सुदृढ र बलियो बनाउने उहाँको भनाइ छ। यो अवसरले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारी इमानदारीपूर्वक वहन गर्न प्रेरणा दिने प्रचण्डले उल्लेख गर्नुभयो। उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

